Tag: थ्री नेसन्स कप

  • खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    खेलाडीको जोश, दर्शकको खुशीः रंगशालामा यस्तो देखियो

    काठमाडौं । नेपालले ३७ वर्ष लामो खडेरी तोड्दै आज घरेलु मैदानमा फुटबलको उपाधि उचाल्यो । यो क्षण आफैंमा विशेष थियो, नेपाली फुटबल फ्यानहरुका लागि । नेपाली टिमलाई साथ दिन महंगो टिकट काटेर उल्लेख्य सख्यामा दर्शक उपस्थित भएका थिए । समर्थकहरुकै बीचमा थिए प्रधानमन्त्री केपी ओली । उनी त्यहाँ आफ्नो उपस्थित जनाउन मात्र होइन, खेल हेर्नलाई नै आएका थिए ।

    उनी सुरुदेखि अन्त्यसम्म रंगशालामा बसेर खेलाडीलाई हौसला दिए । नेपाली टोलीले पनि निराश बनाएन । यस प्रतियोगिताका दुई खेलमा गोलको खाता खोल्न नसकेको नेपालले फाइनलमा दुई गोल गर्यो । बंगलादेशले उत्तराद्र्धमा एक गोल फर्काए पनि नेपालको जित रोक्न सकेन । नेपालले गोल गर्दा दर्शकदर्घामा ठूलै रौनक छाएको थियो । प्रधानमन्त्रीले उठेर ताली बजाएका थिए । खेलाडीहरुले पनि जमेर खुशी मनाए । जितपछिको माहोल झन् अविस्मरणीय थियो । आजको फाइनलका केही क्षणहरुलाई तस्वीरमा हेर्नुस

             
    
    
    
    
  • थ्री नेसन्स कप फाइनल: बंगलादेशविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन

    थ्री नेसन्स कप फाइनल: बंगलादेशविरुद्ध नेपाली टोलीमा दुई परिवर्तन

    काठमाडौं । थ्री नेसन्स कपको फाइनलमा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुआती-११ मा दुई परिवर्तन गरेका छन् । दशरथ रंगशालामा ५: ३० बजे बंगलादेशविरुद्ध हुने खेलका लागि प्रशिक्षक महर्जनले अभिषेक रिजाल र रविशंकर पासवानको स्थानमा सुनिल बल र विशाल राईलाई मौका दिएका छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताका नेपाल , बंगलादेश र किर्गिस्तान यु २३ गरी तीन टोली सहभागी छन् । एक जित र एक बराबरीसहित चार अंक जोडेको बंगलादेश शीर्ष स्थान तथा दुई बराबरीबाट २ अंक जोडेको नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

    नेपाली टोली

    गोलकिपर: किरण चेम्जोङ

    डिफेन्डर: रन्जित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, रोहित चन्द

    मिडफिल्डर: त्रिदेव गुरुङ, तेज तामाङ, संजोग राई, विशाल राई, सुनिल बल

    फरवार्ड: अञ्जन विष्ट

  • दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    दोस्रो बराबरी खेल्दै नेपाल थ्री नेसन्स कपको फाइनलमा

    काठमाडौं । पहिलो चरणका दुई खेलमा जित तथा गोलविहीन रहँदै नेपाल थ्री नेसन्स कपको फाइनलमा पुगेको छ । पहिलो खेलमा किर्गिस्तान यु २३ सँग गोलरहितमा रोकिएको नेपाल आज बंगलादेशविरुद्ध कम्तिमा बराबरी खेल्नै पर्ने बाध्यतासहित मैदानमा उत्रिएको नेपालले सोही नतिजा दोहोर्‍यायो ।

    दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि फिनिसिङमा चुक्दा गोल हुन सकेन ।

    आक्रामक शैलीमा प्रस्तुत भएको नेपालका लागि २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अञ्जन विष्टले १८ यार्ड बक्स भित्रबाट प्रहार गरेको हेडर क्रसबारमाथिबाट बाहिरिएको थियो ।

    त्यसको तीन मिनेट नबित्दै त्रिदेवले २४औं मिनेटमा प्रहार गरेको भली फ्रेममा परेको थिएन ।

    नेपाली रक्षापंक्तिलाई व्यस्त राखेको बंगलादेशका फरवार्ड राकिब होसेनमाथि ३९औं मिनेटमा खराब फाउल गरेका संजोग राईले पहेँलो कार्ड पाएका थिए ।

    सोही फाउलमा पाएको फ्रि किकमार्फत बंगलादेशका कप्तान जमल भुयाको प्रहार पोस्टको नजिकबाट बाहिर गएको थियो ।

    विपक्षी खेलाडीमाथि फाउल गरेका नेपाली डिफेन्डर रन्जित धिमालले पनि ४४औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

    प्रतिस्पर्धात्मक दोस्रो हाफको ५४औं मिनेटमा बंगलादेशी कप्तानले ४० यार्ड टाडाबाट प्रहार गरेको फ्रि-किक नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले सहजै बचाउ गरेका थिए ।

    त्यसको पाँच मिनेट नबित्दै सब्टिच्युट खेलाडी सुनिल बलले पेनाल्टी एरिया भित्र दिएको पासलाई अञ्जनले सदुपयोग गर्न नसक्दा नेपालले अग्रता लिने सुन्दर मौका गुमाएको थियो । अञ्जनले गरेको फितलो प्रहार बंगलादेशका गोलकिपर मोहम्मद सहिदुल आलमले सहजै रोकेका थिए ।

    रन्जित धिमालले सब्टिच्युट हुनुभन्दा तीन मिनेट अगाडि ६२औं मिनेटमा बाँयातर्फबाट गरेको क्रसमा अभिषेक रिजालले ६ यार्ड बक्स नजिकबाट प्रहार गरेको हेडर फ्रेममा परेन ।

    पहिलो खेलमा किर्गिस्तान यु २३ लाई १-० ले पराजित गरेको बंगलादेश एक खेल अगावै फाइनलमा पुगिसकेको छ । दुई खेलमा दुई अंक जोडेको नेपाल पहिलो चरणबाट दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

    बिहीबार भएको पहिलो खेलमा किर्गिज युवा टोलीसँग गोलरहित बराबरीमा रोकिएको नेपालले आज सोही नतिजा दोहोर्‍यायो ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको सोमबार हुने फाइनलमा नेपाल र बंगलादेश नै आमनेसामने हुनेछन् ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएबल प्लेयरले ५०० डलर तथा प्रत्येक खेलका प्लेयर अफ दी म्याचलाई २५० डलर प्रदान गरिने एन्फाले बताएको छ ।

  • नेपालविरुद्ध किर्गिस्तान यु २३: पहिलो हाफ गोलरहित बराबरी

    नेपालविरुद्ध किर्गिस्तान यु २३: पहिलो हाफ गोलरहित बराबरी

    काठमाडौं । फिनिसिङमा चुक्दा नेपाली राष्ट्रिय फुटबल टोली थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा किर्गिस्तान यु २३ सँग पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको छ ।

    करिब ६ वर्षपछि दशरथ रंगशालामा पहिलो खेल खेलिरहेको नेपाली सिनियर टोलीले गोलका लागि केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन ।

    खेलको तेस्रो मिनेटमा अञ्जन विष्टले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार फ्रेममा परेको थिएन । भ्रमणकारी किर्गिस्तान यु २३ माथि हाबी बनेको नेपालका लागि तेज तामाङको क्रसमा चौथो मिनेटमा अञ्जनले हेडरमार्फत गरेको प्रहार पनि बाहिरिएको थियो ।

    अग्रताका लागि निरन्तर प्रयासरत नेपालका लागि १०औं मिनेटमा डेब्युटेन्ट त्रिदेव गुरुङको कर्नरमा डिफेन्डर अनन्त तामाङले ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गरेको प्रहार पनि आउट हुँदा घरेलु टोली दुर्भाग्यशाली साबित भयो ।

    त्यसको चार मिनेट नबित्दै अञ्जनको क्रसमा किर्गिस्तानका कप्तान ताशेभ कामोलिदिनले बचाउन खोज्दा बल पोलमा लागेर फर्केको थियो ।

    मंगलबारदेखि सुरु भएको प्रतियोगितामा आयोजक नेपालको यो पहिलो खेल हो ।

  • किर्गिस्तान यु-२३ विरुद्ध त्रिदेव र संजोगले डेब्यु गर्दै

    किर्गिस्तान यु-२३ विरुद्ध त्रिदेव र संजोगले डेब्यु गर्दै

    काठमाडौं । थ्री नेसन्स लिगको पहिलो खेलमा नेपालले आज किर्गिस्तान यु २३ को सामना गर्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलका लागि नेपालबाट संजोग राई र त्रिदेव गुरुङले डेब्यू गर्ने भएका छन् ।

    पहिलो पटक राष्ट्रिय टोलीमा परेका संजोगसँगै मिडफिल्डमा त्रिदेवले पनि पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । दुई डेब्युटेन्टसँगै तेज तामाङ, रवि पासवान र अञ्जन विष्टले मिडफिल्ड सम्हाल्नेछन् ।

    अग्रपंक्तिको जिम्मेवारी भने अभिषेक रिजालले सम्हाल्दा डिफेन्सलाइनमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ र दिनेश राजवंशीले सुरुआती ११ मा स्थान बनाउँदा कप्तान किरण चेम्जोङले गोलपोष्ट सम्हाल्ने छन् ।

    पहिलो खेलमा बंगलादेशसँग पराजित भएको किर्गिस्तान यु २३ आज गर या मरको दबाबमा छ । प्रतियोगितामा पहिलो खेल खेल्न लागेको नेपाल सुखद् सुरुआत गर्न चाहन्छ ।

    नेपाली राष्ट्रिय टोलीले करिब ६ वर्षपछि पहिलो पटक दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

  • दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान

    दशरथ रंगशालामा फुटबल खेल्न ‘सुपर एक्साइटेड’ छन् फुटबल कप्तान

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज थ्री नेसन्स कपमा किर्गिस्तान यु २३ विरुद्ध प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे नेपाली राष्ट्रिय टोली मैदानमा उत्रिँदा ६ वर्षदेखि घरेलु मैदानमा सिर्जित अन्तर्राष्ट्रिय फुटबलको खडेरीमा आनन्ददायी वर्षा हुनेछ ।

    नहोस् पनि किन ? नेपालको सर्वाधिक लोकप्रिय खेल हो, फुटबल । र, नेपाली फुटबलको पर्याय हो, दशरथ रंगशाला । सन् २०१५ को मार्चमा नेपालले विश्वकप छनोटमा भारतविरुद्ध अन्तिम अन्तर्राष्ट्रिय खेल रंगशालामा खेलेको थियो । तर, सोही वर्षको अप्रिलमा गएको विनाशकारी भूकम्पले तहसनहस भएको रंगशाला पुन:निर्माण हुनै चार वर्ष लागेको थियो । र, करिब दुई वर्ष कोरोना महामारीले रंगशलामा फुटबल नसिब हुन दिएन । अन्तत: अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री नेसन्स कपको आयोजना गरेर प्रतियोगिता नै सुरु गरिसकेपछि ६ वर्षको अनावृष्टिमा पूर्णविराम लाग्दै छ ।

    र, भूकम्पपछि रंगशालामा अन्तर्राष्ट्रिय फुटबलको नयाँ अध्याय सुरु हुँदैछ । सोही नयाँ अध्यायका लागि नेपाली टोलीको कप्तानी जिम्मेवारी पाएका गोलकिपर किरण चेम्जोङ आजको खेलका लागि ‘सुपर एक्साइटेड’ रहेको बताउँछन् । व्यावसायिक फुटबलका लागि भारतमा रहेका किरण सोमबार नेपाल आएका थिए । राष्ट्रिय टोलीसँग आजसँगै रंगशालामा अभ्यास गरेका किरणले आजको खेलका लागि पुरै टोलीमा रहेको उत्साह, जोश र योजना यसरी सुनाए ।

    रंगशालामा यतिका वर्षपछि खेल्न हामी ‘सुपर एक्साइटेड’ छौं । करिब ६ वर्ष भयो दशरथ रंगशालामा समर्थकको ‘क्राउड’ अगाडि हामीले खेल्न नपाएको त्यसैले ‘सुपर एक्साइटेड’ ।

    किर्गिस्तान र बंगलादेश उत्तिकै राम्रा टोली छन् । म सँधै भन्ने गर्छु बंगलादेश राम्रो टोली छ । हामीले प्रत्येक पटक खेल्दा बंगलादेशले एकदमै प्रतिस्पर्धा दिन्छ ।

    त्यसैले हामीले कसैलाई पनि ‘अन्डरस्टिमेट’ गर्नुहुन्न । र, हामी दुवै टोलीलाई फेस गर्न तयार छौं ।

    प्रशिक्षकलाई टोली छनोट गर्न एकदमै कठिन थियो । किनभने, ‘स्क्वाड’ निकाल्न एकदमै चुनौतीपूर्ण हुन्छ । कति कुराहरूमा गाली पनि खानुपर्छ । सामाजिक सञ्जालमा पनि आलोचना सहनुपर्छ । समर्थकहरूको आफ्नो आफ्नो मन पर्ने खेलाडी हुन्छ, तर फाइनल स्क्वाड त भन्नै पर्छ । त्यहाँ सबैको मनपर्ने खेलाडी नहुन सक्छ ।

    कप्तानको हैसियतले भन्दा प्रशिक्षकले उत्कृष्ट टोली छनोट गर्नुभएको छ । कसैलाई पनि व्यक्तिगत रुपमा नराम्रो गर्नु भएको छैन ।

    यो कुरा हामी सबैले र फ्यानहरूले पनि स्वीकार्नु पर्छ । उहाँहरूले ‘बेस्ट अफ दी बेस्ट’ खेलाडीलाई समेटेर टोली बनाउनुभएकोमा म विश्वस्त छु ।

    पछिल्लो ६ महिनादेखि कोचले हेरिराख्नु भएको छ, र त्यसैको आधारमा छनोट गर्नु भएको छ । र, फुटबल भनेको सधैँ प्रतिस्पर्धा हो, यसमा नामले मात्रै हुँदैन पफर्मेन्स पनि दिन सक्नुपर्छ ।

    त्यसैले मलाई कोही खेलाडी छुटेको जस्तो पनि लाग्दैन । सम्भवत: सबैको ‘पफर्मेन्स’मा ‘अस्प एन्ड डाउन्स’ हुन्छ । हामीले त्यो कुरा स्वीकार गर्नुपर्छ ।

    म पनि नियमित रूपमा फुटबल खेलेर आएको छु, र नेपालमै भएका खेलाडी पनि नोभेम्बरदेखि नियमित अभ्यासमा छन् । र, म पनि आफ्नो बेस्ट दिन तयार छु । टोलीलाई सहयोग गर्छु । मेरो क्षमताअनुसारको ‘पफर्मेन्स’ दिन्छु ।

    मलाई सानैदेखि राष्ट्रिय टोलीबाट खेल्ने शौख थियो । तर, कहिल्यै पनि कप्तान बन्छु र टोलीको नेतृत्व गर्छु भन्ने सोचेको थिइँन । तर, यो सबै समयको खेल हो ।

    हामी समयअनुसार अगाडि बढ्नु पर्छ । र, आज मलाई राष्ट्रिय टोलीको नेतृत्व गर्न र ‘ग्रो अप’का लागि मौका दिनु भएको छ, म यसलाई अवस्य स्वीकार गर्छु र आफूले गर्न सक्ने सबै कुरा गर्छु र टोलीलाई सहयोग गर्छु ।

    यस्तै प्रशिक्षक बाल गोपाल महर्जन पनि पहिलो खेलका लागि तयार रहेको र आवश्यकता अनुसारको टोली निर्माण गरेको बताउँछन् । आफ्नो २३ जनाको टोलीमा अपेक्षित नामहरू– नवयुग श्रेष्ठ, विकाश खवास, विशाल श्रेष्ठ, आशिष लामा लगायतका खेलाडीलाई समावेश नगरेका प्रशिक्षक महर्जन प्रदर्शनको आधारमा खेलाडी छनोट गरेको बताउँछन् ।

    किर्गिस्तान यु २३ र बंगलादेशबीचको खेल हामीले पनि हेर्‍यौं, किर्गिस्तान यु २३ लाई हामीले अझै माथिल्लो स्तरको सोचेका थियौं । तर, बंगलादेशविरुद्धको खेलमा त्यस्तो देखिएन ।

    पहिलो खेल भएकाले पनि हुन सक्छ । त्यसैले किर्गिस्तान यु २३ विरुद्धको खेलमा हामी ‘अन्डरस्टिमेट’ गरेर खेल्दैनौं ।

    विश्वकपका लागि तयारी गरिरहेको टोलीले अभ्यास खेलमा खेलेको जस्तो मात्रै खेल्यो भने पनि नतिजा हाम्रो पक्षमा आउनेमा म विश्वस्त छु ।

    तर, कुनै टोलीलाई कमजोर आँकेको होइन, हिजोको खेलमा त्यो भन्दा माथिल्लो स्तरको खेल्नु पर्ने थियो । त्यो पहिलो खेल भएर पनि हुन सक्छ ।

    हामीविरुद्ध उनीहरूका लागि ‘डु अर डाइ’ छ, त्यसैले उनीहरू ‘आक्रामक फर्मेसन’मा खेल्न आउँछन् । त्यसका लागि हामी तयार हुनुपर्छ र कुनै पनि हालतमा अंक गुमाउनु हुँदैन ।

    तर, मसँग भएका खेलाडीले जुन स्तरको खेलिरहेको छ त्यति मात्रै खेले पनि हामी अंक हासिल गर्छौं जस्तो लाग्छ ।

    दबाब सबै खेलमा हुन्छ । चाहे जितोस् वा हारोस् । खेल्नुभन्दा अगाडि पनि हुन्छ र पछाडि पनि हुन्छ । त्यो दबाबलाई थेग्न सक्ने क्षमता हुनुपर्छ ।

    किर्गिस्तानविरुद्धो खेलमा नै फोकस गर्नुपर्ने देखिन्छ । त्यसपछि मात्रै बंगलादेशको बारेमा सोच्नु राम्रो हुन्छ ।

    तीन महिनाको दौरानमा उत्कृष्ट प्रदर्शनको आधारमा टोलीमा राखेका छौं । जो, उत्कृष्ट छ, जो क्षमतावान् छ, जो अफोर्डेबल छ, जो टिमलाई आवश्यक छ, त्यो अनुसार नै टोली छनोट गरेको हो ।

    त्यसमा म लगायत मेरो टेक्निकल टोलीको पनि भूमिका छ ।

    यो विश्वकप छनोट तयारीका लागि मैत्रीपूर्ण खेल मात्रै हो । अहिले यो थ्री नेसन्समा परिणत भयो । तर, हामीले अन्तत: खेल्ने भनेको विश्वकप छनोटका खेलहरू नै हो । त्यसमा अस्ट्रेलिया, जोर्डन चाइनिज ताइपेइसँग खेल्नुपर्छ । त्यो आधारमा मैले टोलीका लागि आवश्यक खेलाडीहरूलाई प्राथमिकता दिएको छु ।

    अहिले टोलीबाट हटाइएका खेलाडीहरूलाई यो टोलीको प्रदर्शनको आधारमा एक महिनापछि फेरि बोलाइने छ । र, यो भन्दा राम्रो खेलाडी आयो भने त्यसले पनि टोलीमा मौका पाउन सक्छ ।

    टोलीमा समावेश भएका खेलाडीप्रति विश्वस्त र आशावादी छु । उनीहरूसँग जुन क्षमता छ, त्यसमा म सन्तुष्ट छु ।

    आवश्यकताअनुसार टोलीमा समेटिएका नयँ खेलाडीले सुरुआतदेखि नै र सब्टिच्युटमा पनि खेल्न सक्छन् ।

    मिडफिल्ड, डिफेन्स र अट्याकिङमा पनि हामीले बलियो बनाएका छौं । जस्तै दर्शन गुरुङ युवा खेलाडी हो, डेब्यू गरेर पनि राम्रो प्रदर्शन गरिसकेको छ ।

    पछिल्लो तीन महिनाको दौरानमा पनि उसले आफूलाई राष्ट्रिय टोलीमा स्वागत योग्य साबित गरेको छ । त्यस्तै अञ्जन विष्टले पनि राम्रो प्रदर्शन गरिरहेको छ । संजोग पनि राम्रो छ ।

    अनन्त तामाङ पूर्ण रूपमा फिट छ । इन्जुरी भएको हो । तर, उसलाई ट्रायल गरिसकिएको छ । फिजियोसँग सल्लाह गर्दा पनि उसको फिटनेसमा केही समस्या नभएको कुरा छ ।

    अनन्तले  किर्गिस्तानविरुद्धको खेलमा सुरुआती ११ मै स्थान बनाउने पनि सम्भावना छ । त्यो अवस्था हेरेर हुन्छ ।

    फर्मेसन्सभन्दा पनि हामी अंक हासिल गर्नका लागि खेल्छौं ।

    रंगशालामा घरेलु समर्थक अगाडि खेल्दा दबाबभन्दा पनि ‘मोटिभेसन’ हुन्छ । किनभने धेरै पछि खेल्न पाइरहेका छौं । तसर्थ केही हदसम्म दबाब पनि हुन्छ । तर, धेरै हदसम्म टोलीलाई ‘मोटिभेसन’ पनि हुन्छ ।

    तीन कि एक अंक हासिल गर्ने भन्ने कुरा चाहिँ पहिलो खेलको नतिजामा भरपर्छ ।

    नेपालको टोली

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    ६ वर्षपछि दशरथ रंगशालामा फर्किँदै राष्ट्रिय फुटबल टोली, भोलि किर्गिस्तानसँग आमनेसामने

    काठमाडौं । हुन्छ कि हुँदैन…भन्ने द्विविधा र अन्योल चिर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले ६ वर्षपछि दशरथ रंगशालामा बिहीबार पहिलो म्याच खेल्दै छ । थ्री नेसन्स कप अन्तर्गत नेपालको राष्ट्रिय टिम र किर्गिस्तानको यु २३ टिम आमनेसामने हुँदैछन् ।

    दशरथ रंगशाला र नेपाली फुटबल एक–अर्काका पर्याय झैं बनेका थिए । तर, २०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्काएपछि पाँच वर्षसम्म रंगशालाले फुटबलको मुख देख्न पाएन । पुनर्निमाणपछि १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन र समापन दशरथ रंगशालामा भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीले चाहिँ भूकम्पयता पहिलोपटक रंगशालामा अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको हो ।

    अभ्यासमा रोहित चन्द । तस्वीर: एन्फा ।

    सागमा नेपालको यु–२३ फुटबल टोलीले रंगशालामा खेलेको थियो र स्वर्ण पदक जितेको थियो । त्यसयता कोरोना महामारीका कारण रंगशालामा अन्तर्राष्ट्रिय फुटबल फेरि बिरानो भयो । त्यसअघि शहीद स्मारक ‘ए’ डिभिजन लिग रंगशालामा भएको थियो । लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मच्छिन्द्र क्बलले पहिलोपटक लिग जितेको थियो ।

    मच्छिन्द्रले लिग जितेकै दिन साँझ तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले विश्वकप छनोटको प्रशिक्षणका लागि प्रारम्भिक टोलीसमेत बोलाएका थिए । तर, कोरोना भाइरसको महामारीका कारण ती सबै खेल एक वर्षपछि सरे । र, फेरि पनि रंगशालामा अन्तर्राष्ट्रिय फुटबल भएन ।

    त्यसपछिको कोरोना महामारी सम्झिँदा एक वर्षअघि यति छिट्टै रंगशालामा फुटबल फर्कने सम्भव देखिएको थिएन । तर, करिब एक वर्षपछि राष्ट्रिय महिला लिगमार्फत् रंगशालामा फुटबल फर्कियो । त्यसले चाँडै नेपालले अस्ट्रेलिया र चाइनिज ताइपेईविरुद्ध विश्वकप तथा एसियन कप छनोट खेलेको हेर्ने आशा पुनःजिवित गरेको थियो ।

    अभ्यासमा विराज महर्जन । तस्वीर: एन्फा ।

    तर, उही कोरोनाको महामारीले फेरि एकपटक ती सबै खेल स्थगित भएपछि नेपाली राष्ट्रिय टोली र दर्शक निराश भए । तर, करिब ६ वर्षको खडेरी तोड्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कपको आयोजना गर्‍यो ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको अर्को लहर चलेपछि फेरि यो प्रतियोगिता पनि अन्योलमा परेको थियो । तर, हिजो थ्री नेसन्स लिगको पहिलो खेल सम्पन्न भइसकेपछि बिहीबार हुने नेपाल र किर्गिस्तान यु–२३ बीचको खेललाई लिएर फुटबलप्रेमी र समर्थक दुवै उत्साहित छन् ।

    कप्तान भन्छन्- यो दिनका लागि धेरै पर्खिनुपर्‍यो

    नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रंगशालामा नेपालको प्रतिनिधित्व गरेर खेल्ने दिन फर्किँदा विछट्टै खुशी लागेको बताउँछन् ।

    ‘रंगशालामा हामीले अन्तिम पटक २०१५ मा भारतविरुद्ध खेलेका थियौं, त्यसपछि के–के भयो के–के…. फुटबल हुन्छ भन्यो, फेरि हुँदैन । हुन्छ भन्यो फेरि हुँदैन…’ उनले भने, ‘तर, अब फाइनल्ली टुर्नामेन्ट सुरु भएको छ । यो दिनका लागि हामीले एकदमै धेरै पर्खिनु पर्‍यो ।’

    भोलिको खेल र समग्र प्रतियोगिताका लागि कप्तान आफू र टोली पनि एकदमै उत्साहित रहेको गोलकिपर किरणको भनाइ छ ।

    ‘हामी एकदमै धेरै उत्साहित छौं । हाम्रा लागि यो एकदमै महत्त्वपूर्ण पनि थियो । किनभने, विश्वकप छनोटअन्तर्गत हामीले अझै तीन खेल खेल्न बाँकी छ । अब सबै खेल नेपालमै होस् भन्ने आशा पनि छ ।’

    नेपाली राष्ट्रिय टोलीले गत नोभेम्बरमा बंगलादेशविरुद्ध खेलेका दुई मैत्रीपूर्ण खेलमा एक हार र एक बराबरीको नजिता निकालेको थियो । त्यो नै नेपालले खेलेको अन्तिम अन्तर्राष्ट्रिय खेल हो ।

    फिफा बरियताको १७१औं स्थानमा रहेको नेपालले भोलि किर्गिस्तान यु–२३ सँग खेल्दै छ । सिनियरतर्फको बरियतामा नेपालभन्दा ७५ स्थान माथि भएको किर्गिस्तानको यु–२३ टोलीविरुद्ध विजयी सुरुवात चाहन्छ नेपाल ।

    ‘इलेभेन भर्सेज इलेभेन’को तथ्यायङ्कअनुसार नेपालले यसअघि २००९ र २००३ मा दुईपटक किर्गिस्तानससँग खेलेको छ । तीमध्ये २००३ मा २–० गोलको पराजय भोगेको नेपालले २००९ मा दोस्रो खेलमा १–१ गोलको बराबरी खेलेको थियो ।

    तर, ओलम्पिक टोली अर्थात् यु–२३ सँग पहिलो पटक खेल्न लागेको नेपाल ६ वर्षपछि घरेलु समर्थकासामु जितको खुशी साट्न चाहन्छ ।
    ‘हामी लामो समयदेखि तयारी गरिरहेका छौँ,’ नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जन भन्छन्, ‘त्यसैले खेलाडीहरूले प्रतिस्पर्धामा राम्रो गर्ने विश्वास छ ।’

    नोभेम्बरमा भएका खेलमा नेपालको नतिजा सन्तोषजनक नहुनुको कारणमा तयारी नपुगेको र सबै खेलाडी उपलब्ध नभएको उनले औंल्याए ।

    ‘त्यो बेला धेरै खेलाडीले विभिन्न कारणले खेलेका थिएनन् । एक हप्ता मात्रै अभ्यास गरेका थियौं । त्यो पनि पनि राम्ररी गर्न पाएका थिएनौँ । त्यसैले नतिजा राम्रो भएन,’ प्रशिक्षक महर्जनले भने ।

    तर, अहिले अवस्था फरक रहेको र सबै कुरा अनुकुल रहेको उनले दावी गरे ।

    बिहीबार साँझ ५ः३० बजे नेपाल र किर्गिस्तान यु २३ टोली भिड्नेछन् । दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले सामान्यतर्फ ७ सय र भीआइपी प्यारापिटतर्फ १ हजार ५ सय गरी १२ हजार टिकट बिक्री गरिरहेको छ ।

    नेपाल, बंगलादेश र किर्गिस्तान यु २३ सहभागी प्रतियोगिता राउन्ड रोबिन पद्धतिको हो । र, पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, मोस्ट भ्यालुएबल प्लेयरले ५०० तथा प्लेयर अफ दी म्याचले २५० डलर प्राप्त गर्नेछन् ।

    अभ्यासमा नवयुग श्रेष्ठ । तस्वीर: एन्फा ।

    नवयुग, विकाश, आषिश र विशाल परेनन् टोलीमा

    र, यो प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

    प्रशिक्षक महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् ।

    विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ‘ए’ डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

    नेपालको टोली

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की

    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ

    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • थ्री नेसन्स कपका लागि नेपाली टोली घोषणा, नवयुगसँगै सन्तोष, आशिष र विकाश परेनन्

    थ्री नेसन्स कपका लागि नेपाली टोली घोषणा, नवयुगसँगै सन्तोष, आशिष र विकाश परेनन्

    काठमाडौं । थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् ।

    प्रतियोगिताको दोस्रो खेलमा भोलि किर्गिस्तान यु २३ को सामना गर्ने तयारीमा रहेको नेपालका लागि प्रशिक्षकले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो ।

    नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ परेका छैनन् । विकाश खवास, विशाल श्रेष्ठ, सन्तोष तामाङ र ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामा पनि टोलीमा परेका छैनन् ।

    नेपालको टोली:

    गोलकिपर: किरण लिम्बु, बिकेश कुथु, दीप कार्की
    डिफेन्डर: रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज महर्जन, छिरिङ गुरुङ
    मिडफिल्डर: त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, संजोग राई, बिशाल राई, सुनिल बल, रविशंकर पासवान

    फरवार्ड: अन्जन विष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास

  • थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    थ्री नेसन्स कपमा बंगलादेशको विजयी सुरुआत

    काठमाडौं । बंगलादेशले थ्री नेसन्स कपको पहिलो खेलमा मंगलबार किर्गिस्तान यु-२३ लाई १-० गोलको नतिजामा पराजित गरेसँगै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    दशरथ रंगशालामा भएको खेलको २९औं मिनेटमा किर्गिज डिफेन्डर कुमारबाज युलु बैमानले गरेको आत्मघाति गोलसँगै बंगलादेशले अग्रता लिएको थियो ।

    पहिलो हाफमा लिएको १-० को अग्रताको बचाउ गर्दै बंगलादेशले कठिन जित सुनिश्चित गर्‍यो । २०१३ पछि पहिलो पटक दशरथ रंगशालामा आयोजित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा घरेलु टोली नेपालसहित किर्गिस्तान यु-२३ र बंगलादेश सहभागी छन् ।

    राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको पहिलो चरणबाट शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् । आयोजक टोली नेपालले आफ्नो पहिलो खेलमा बिहीबार किर्गिस्तान यु-२३ को सामना गर्नेछ ।

    विश्वकप छनोट अन्तर्गतको पूर्व निर्धारित खेल पुन: स्थगित भएपछि एन्फाले थ्री नेसन्स कपको अयाोजना गरेको हो ।

    १५ हजार क्षमताको दशरथ रंगशालामा १२ हजारमात्र टिकट बिक्री गरिने एन्फाले बताएको छ । प्रत्यक्ष खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ७ सय र भीआईपी प्यारापिटका लागि १५ सय रुपैयाँ टिकट निर्धारण गरिएको छ ।

    प्रतियोगिताको विजेताले ५ हजार तथा उपविजेताले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरले ५ सय डलर तथा म्यान अफ दी म्याचले २५० डलर प्राप्त गर्ने आयोजकले बताएको छ ।