Tag: त्रिभुवन विश्वविद्यालय

  • टीयूमा चुनौती चुलिदै गयो, तत्काल समाधान हुनुपर्छ: मन्त्री भुसाल

    टीयूमा चुनौती चुलिदै गयो, तत्काल समाधान हुनुपर्छ: मन्त्री भुसाल

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिदै गएको बताएकी छन्।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा उनले विश्वविद्यालय सम्बद्ध पक्षले गम्भीर समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् ।

    व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको लाइन हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले गम्भीर भएर जवाफ दिने अवस्था आएकोे बताइन् । उनले ‘एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ’, भनिन्।

    जनताको कर र जनताका छोराछोरीले तिरेको ‘फि’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुुसालले साधन र स्रोतको सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताइन्।

    उनले भनिन्, ‘भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि बिलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।’ एकपछि अर्को समस्या त्रिभुवन विश्वविद्यालयबाटै उत्पन्न हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले शिक्षाले पार्ने प्रभाव व्यक्तिको जीवनभर र राष्ट्रको लागि सयौं वर्षसम्म पर्ने भएकाले उत्पन्न चुनौतीको व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन् ।

    त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति टीयूकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।’

    उनले त्रिभुवन विश्वविद्यालयको कर्मचारी हुनुमा गर्व गर्न सुझावसमेत दिइन् । कार्यक्रममा त्रिभुन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि त्रिभुवन विश्वविद्यालयको सुधार हुनुपर्ने बताइन् ।

  • दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने शिक्षक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

    दलको उम्मेदवार तथा प्रतिनिधि बन्ने शिक्षक र कर्मचारीलाई कारबाही गर्ने त्रिविको चेतावनी

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न शिक्षक तथा कर्मचारीलाई चेतावनी दिएको छ ।

    महाधिवेशन वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिएको भनी समाचारहरू सार्वजनिक भएको भन्दै त्रिविले त्यस्ता कर्मचारी तथा शिक्षकलाई विभागीय कारबाही अघि बढाउने चेतावनी दिएको हो ।

    त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवासम्बन्धी नियमले राजनीतिक निर्वाचनमा उम्मेदवार हुन वर्जित गरेको त्रिवि कर्मचारी प्रशासन महाशाखाले सार्वजनिक सूचनामार्फत सचेत गराएको हो ।

    ‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, प्रचलित कानूनअनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकोले त्यसरी निर्वाचनमा वा महाधिवेशनमा वा विधान अधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीतिक दलसम्बन्धी ऐनको विपरीत हुने भएकोले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन हुन सूचित गरिन्छ’, त्रिविले भनेको छ, ‘अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुन आएमा त्रि.पि. नियम अनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

  • त्रिविका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित (तस्बिरहरू)

    त्रिविका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित (तस्बिरहरू)

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका २९ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमा ४७औँ दीक्षान्त समारोहमार्फत उनीहरू दीक्षित भएका हुन् ।

    विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा दीक्षान्त समारोह गरिएको हो ।

    २०७७ असार १ देखि २०७८ जेठ मसान्तसम्मका चिकित्साशास्त्र, इन्जिनियरिङ, विज्ञान तथा प्रविधि, कृषि र पशुविज्ञान, वन विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र, मानविकी तथा सामाजिकशास्त्र, कानून संकायतर्फका विद्यार्थीहरू दीक्षित भएका छन् ।

  • त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित

    त्रिविको जालझेल : सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी स्वर्णपदकबाट वञ्चित

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमफील र स्नातकोत्तर तहका सर्वोत्कृष्ट विद्यार्थीहरूलाई भोलि पुस ५ गते स्वर्ण पदकसहित विभूषित गर्दैछ । तर, समाजशास्त्रतर्फ सर्वोत्कृष्ट नतिजा ल्याएका आमिर राजा त्रिविको स्वर्णपदक पाउने सूचीमा छैनन् ।

    त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले गत मंसिर २८ गते गोरखापत्रमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीहरुको सूची प्रकाशित गरेको थियो । उक्त सूचीमा नाम भएका विद्यार्थीहरूले त्रिविको ४७ औं दीक्षान्त समारोहमा पदक प्राप्त गर्नेछन् । समाजशास्त्रतर्फ स्वर्णपदक पाउनेको सूचमा एलिशा पौड्यालको नाम छ । जबकी परीक्षाको नतिजामा एलिशाले भन्दा आमिरले बढी जीपीए ल्याएका थिए । यस्तो किन भयो ?

    यही प्रश्नको जवाफ खोज्दै आमिर अहिले डिन कार्यालदेखि परीक्षा नियन्त्रण कार्यालयसम्म धाइरहेका छन् । गोरखापत्रको सूचनामा आफ्नो नाम नदेखेपछि अन्यायमा परेको महसुस गरेका उनले चित्तबुझ्दो जवाफ पाउन सकेका छैनन् ।

    २०७६ (२०१९) मा आमिरले समाजशास्त्र विषयमा मास्टर्सको परीक्षा दिएका थिए । उनको चौथो सेमेस्टरको रिजल्ट २०७६ फागुनको १५ गते आयो । उनी डिपार्टमेन्ट टपर भए ।

    स्नात्तकोत्तरको समाजशास्त्रतर्फ आमीरले ३.९४ जीपीए ल्याएका थिए । सोही ब्याचकी एलिशाको जीपीए ३.८७ मात्रै छ । आमीरको भन्दा एलिसाको ७ प्वाइन्ट कम छ । आफूभन्दा कम अंक ल्याउनेलाई पदक दिन विभागकै शिक्षकदेखि डिनसम्मले जालझेल गरेको आमिरले आरोप लगाएका छन् ।

    सामान्यतया विभागबाट सबैभन्दा बढी अंक ल्याउने विद्यार्थी नै गोल्ड मेडलको हकदार हुन्छन् । मार्स्टर्समा ४ वटा सेमेस्टरको परीक्षा दिनुपर्ने हुन्छ । ती चारवटैको नतिजा आउँदा समग्रमा जसले बढी जीपीए ल्यायो उसैले टीयूको गोल्डमेडल प्राप्त गर्ने ‘स्ट्रेटफरवार्ड’ नियम हो । तर, कसरी आमिर गोल्ड मेडलबाट वञ्चित गरिए त ?

    ०००

    स्नातकोत्तर तहमा चौंथो सेमेस्टरको रिजल्ट आइसकेपछि तीन महिनाभित्र थेसिस बुझाउनुपर्ने निण्म छ । त्यसअनुसार थेसिस सबमिट गर्नका लागि आमिरको ब्याचका विद्यार्थीलाई जेठ-असारसम्म समय थियो । तर, २०७६ चैत ११ गतेदेखि कोरोना महामारीको कारण पहिलो चरणको लकडाउन भयो । लकडाउनको बीचमा विभाग खुलेको थिएन । र कुनै काम पनि हुन सकेको थिएन ।

    आमिरले तत्कालीन हेड अफ डिपार्टमेन्ट टीकाराम गौतमलाई फोन गरेर आफू गोल्ड मेडलको दाबेदार रहेको जानकारी गराए र भाइवा लिइदिन अनुरोध गरे ।

    आमिर सुनाउँछन्, ‘त्यसबेला हेड अफ डिपार्टमेन्ट टीका सरले मलाई कोरोनाकालमा तीन महिनाभित्रै सक्नुपर्छ भन्ने हुँदैन, पछि हेर्छौं भनेर आश्वासन दिनुभएको थियो ।’

    लकडाउन खुकुलो हुन थालेपछि आमिरले फिल्डमा गएर काम गरे । र, केही ढिला गरी थेसिस बुझाए ।

    गौतमपछि डिपार्टमेन्ट हेड बनेका डा. युवराज लुइटेलसँग पनि उनले कुरा गरे । आमिरको कुरामा सहमत भएर लुईंटेलले डीन कार्यालयलाई पत्रसमेत पठाएका थिए । उनले लेखको पत्रमा कोभिडको असाधारण समयका कारण थेसिसको समयावधिबारे ‘कन्सिडर’ गर्न सिफारिस गरेका छन् ।

    आमिर डिन कार्यालयमा पनि पुगे ।

    उनी सुनाउँछन् ‘त्यतिबेला उहाँहरुले यो हामी मिटिङ गरेर यो ३ महिनावाला मिति संशोधन गर्छौं भनेर आश्वासन दिनुभयो ।’

    तर, दुई महिनासम्म डिन कार्यालयले यसमा कुनै निर्णय गरेन । तर, अचानक चारदिनअघि गोरखापत्रमा कन्भोकेसनको सूचना प्रकाशित गरिएको थियो ।

    सूचना देखेपछि आमिर फेरि विभागमा पुगे । त्यसपछि सुरू भयो यता र उताको दौडधुप । उनी डिन कार्यालय पनि पुगे । डिन कार्यालयले परीक्षा नियन्त्रण कार्यालयले तीन महिनावाला नियम संशोधन गर्न नमानेको जवाफ दियो । उनी परीक्षा नियन्त्रण कार्यालय बल्खु पनि पुगे । त्यहाँका अधिकारीहरूले उनलाई यो सबै डिन कार्यालयकै जिम्मेवारी भएको भन्दै पन्छाए ।

    अहिले त उनी आफैं डिपार्टमेन्टको हेड छैनन् । सरसँग भएको कुरा हामीसँग भने,‘मैले भनेको सर अब चिठी लगेर दिएको हो । खै त हामी गरेको हुम सर भने उहाँले पनि तपाईले नै पाउनुपर्छ भनेर आश्वासन दिनुभयो ।’

    यो पनि पढ्नुहोस् : त्रिविका तरमाराको यस्तोसम्म सेटिङ- योग्यलाई आउन नदिन प्रतिस्पर्धामै अघोषित प्रतिबन्ध

    अहिले डिन कार्यालयको प्रमुख प्रा. डा. कुसुम शाक्य छन् । त्यही दिन उनी डिन कार्यालयमा जाँदा प्रमुख शाक्यले मिटिङ राखेर निर्णय लिने बताएका थिए ।

    उनी शुक्रबार फेरि गए । त्यसबेला शाक्यले परीक्षा नियन्त्रण कार्यालयले नियम संशोधन गर्न नमानेको जवाफ दिएर फर्काए ।

    आमिरले भने, ‘हामीले भनेकै हो, मानेन भन्नुभयो । म त पेलिएँ नि ।’

    आफूलाई मेडल नदिने चलखेलको कारण समयमा थेसिस नलिइएको उनको आरोप छ ।

    उनले भने, ‘त्यतिखेर मेरो मात्र होइन, धेरै विद्यार्थीको लकडाउनले गर्दा थेसीस डिस्टर्ब भएको थियो । तर, सजाय मैले मात्रै भोगेँ ।’

    अहिले स्वर्णपदकमा नाम आएकी एलिशा पौड्यालले भने तीन महिनाभित्रै थेसीस बुझाएकी थिइन् । कोरोनाकालमै विदेश जानुपर्ने भनेपछि समयमै उनको भाइवा लिइएको थियो ।

    आमिरले भने, ‘उसको भाइवा लिइहाल्यो तर मेरो चाहिँ कोरोना छ भनेर लिन मानेन ।’

    थेसिस बुझाउन केही ढिलाइ भए पनि गोरखापत्रमा गोल्ड मेडल पाउनेमा आफ्नो नाम आउने ढुक्क थिए आमिर । सूचना आएपछि उनी स्तब्ध बने ।

    उनी भन्छन्, ‘गोरखापत्रमा नाम नदेखेपछि म फेरि युवराज सर (डिपार्टमेन्ट हेड) कहाँ गएँ । उहाँले मेरै अगाडि तारा सरलाई फोन गर्नुभयो । उताबाट परीक्षा नियन्त्रकले नै नमानेको जवाफ आयो ।’

    अहिले आमिर र एलिशा दुवै एमफील पनि सँगै पढिरहेका छन् । दुवैको समाजशास्त्र नै हो । एमफीलको इन्ट्राममा पनि आमिर र एलिशा पहिलो र  नवाै‌ं भएका छन् । स्नात्तकाेत्तरकाे परीक्षामा आमिरको जिपीए ३.९४ र एलिशाको ३.९३ आएको छ ।

    शुक्रबार गोरखापत्रमा दोस्रोपटक त्रिभुवन विश्वविद्यालयको दीक्षान्त पदकको सूचना प्रकाशित भएको थियो । उक्त सूचनामा एलिशाको जीपीए झनै बढेर आएको छ । अघिल्लो सूचनामा ३.८८ रहेकोमा अहिले ३.९३ देखाइएको छ । यसले झनै शंका बढाएको आमिरले बताए ।

    आमिरले गोरखापत्रको सूचनाप्रति आपत्ति जनाउँदै पदक दाबीको मागसहित शुक्रबार परीक्षा नियन्त्रणमा निवेदन दिएका छन् । तर, यसको सुनवाइ हुने आशा कमै छ ।

    ‘मलाई पहिला न्याय पाउने आशा थियो, तर अहिले मर्दै गएको छ । सिस्टमबाटै विश्वास उठेको छ,’ उनले भने ।

    विभाग भन्छ- गोल्ड मेडलमा हाम्रो हात हुँदैन

    त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका अधिकारी विभागसित गोल्ड मेडलको खासै सम्बन्ध नहुने बताउँछन् ।

    विभागका प्रा. डा. तुलसीराम पाण्डेले भने, ‘परीक्षाका रेकर्डहरू परीक्षा नियन्त्रण कार्यालयसँग हुन्छ । अमिर राजाले टप गरेको हो भने शिक्षा मन्त्रालयमा निवेदन दिन जानुपर्‍यो । त्यहाँ उच्च शिक्षा शाखामा निवेदन दिएपछि उनीहरुले केही डकुमेन्ट माग्छन् । त्यसपछि उनीहरुको प्रोसेस हुन्छ ।’

    डिपार्टमेन्टले होइन जसले रिजल्ट निकाल्छ त्यही निकायले यो ब्याचको टप हो भनेर लेखदिनुपर्ने उनको भनाइ छ ।

    पाण्डेले भने, ‘विभागले त अरुलाई पनि लेखिदेला, किनभने रिजल्ट त विभागले निकाल्ने होइन । विभागसित गोल्डमेडलको खासै सम्बन्ध हुदैन ।’

    यस विषयमा बुझ्न हामीले पटकपटक डिन कार्यालयका प्रमुख प्रा. डा. कुसुम शाक्यसँग सम्पर्क गर्न खोज्यौं । तर, उनी सम्पर्कमा आइनन् ।

  • त्रिविले मातहतका क्याम्पसलाई भन्यो– भौतिक उपस्थितिमा कक्षा संचालन गर्नू

    त्रिविले मातहतका क्याम्पसलाई भन्यो– भौतिक उपस्थितिमा कक्षा संचालन गर्नू

    काठमाडौं । विभुवन विश्वविद्यालयले मतहतका सबै क्यापस, विभाग र विद्यालयलाई आजदेखि सकेसम्म भौतिक उपस्थितिमा नियमित कक्षा सञ्चालन गर्न सूचना जारी गरेको छ । विश्वविद्यालयले स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शिक्षक, विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न भनेको हो ।

    कोरोना कहरका कारण लामो समयदेखि विश्वविद्यालय मातहतका क्याम्पस तथा विद्यालयहरुमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन भएको थिएन । कतिपय क्याम्पसहरुले अनलाईनमार्फत कक्षा सञ्चालन गरेका थिए । तर अनलाईन कक्षाको प्रभावकारितामाथि निरन्तर प्रश्न उठिरहेको थियो ।

    त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले सकेसम्म भौतिक उपस्थितिमा कक्षा गर्ने–गराउने निर्णय गरेको हो ।

  • आईएमई बैंकसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण

    आईएमई बैंकसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालय परिसरमा वृक्षारोपण

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षारोपण गरिएको छ ।

    विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आइएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले कार्यक्रम उद्घाटन गरे ।

    विभागीय भवनदेखि मूल सडकसम्म करिब १०० चाँप, धुपीलगायतका प्रजातीका बिरूवाहरू रोपिएको छ ।

  • बल्खुमा प्रदर्शन : विद्यार्थी हामी पनि हौं, कोरोना हामीलाई पनि सर्न सक्छ (तस्बिरहरू)

    बल्खुमा प्रदर्शन : विद्यार्थी हामी पनि हौं, कोरोना हामीलाई पनि सर्न सक्छ (तस्बिरहरू)

    काठमाडौं । पूर्वनिर्धारित परीक्षा नरोक्ने त्रिभुवन विश्वविद्यालयको निर्णयविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

    कोरोना महामारीको जोखिमका बीच परीक्षा संचालन गर्न लागिएकोमा भौतिक उपस्थितिमा परीक्षा दिन नसकिने भन्दै विद्यार्थीले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध जनाएका छन् ।

    विद्यार्थीको जीवनसँग संवेदनशील विषय भएको भन्दै विद्यार्थीहरूले परीक्षा स्थगित हुनुपर्ने, अनलाइन परीक्षा संचालन गरिनुपर्ने, डिजिटलाइज्ड सिट योजना र परीक्षा केन्द्र निर्मलीकरणलगायतका माग राखेका छन् ।

    त्रिभुवन विश्वविद्यालयले भदौ ५ सम्म निर्धारण गरिएको परीक्षालाई स्थगित नगर्ने भएको छ । त्यसपछिको परीक्षा भने परिस्थिति हेरेर निर्णय गरिने विश्वविद्यालयले जनाएको छ ।

     
     
     
     
     
     
  • त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय पढाइ हुने

    त्रिविमा अब सुशासन तथा भ्रष्टाचार निवारण विषय पढाइ हुने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो ।

    विश्वविद्यालयले आउँदो भदौ १६ गतेदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन शुरु गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा योगेश रञ्जितले जानकारी दिए । दुई वर्षे यो विषय पढ्नका लागि एक लाख ७३ हजार लाग्ने जनाइएको छ ।

    विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक छ भन्दै शंकाय डिन डा कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

    नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सघंसस्था समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनिकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियन्ता भरत जङ्गमले पाँच दशक पछि आफ्नो सपना साकार भएकामा खुशी व्यक्त गरे । भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उजको जिकिर थियो ।

    अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास व्यक्त गरे ।

  • विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

    विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

    विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था सुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

    यही असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा. डा. पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।

    सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे । रासस

  • त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति

    त्रिवि र आङ्शिक प्राध्यापकबीच सहमति

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

    विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा एक शैक्षिक सत्र पूरा गरेका आंशिक शिक्षकलाई सम्बन्धित क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, अनुभव र कक्षाभारका आधारमा शिक्षण सहायक सरह ९करार०मा नियुक्ति दिने सहमति भएको छ ।

    यसरी नियुक्त शिक्षकले क्याम्पसको आन्तरिक स्रोतबाटे पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने र त्यस्ता शिक्षकले त्रिविको प्राज्ञिक अध्ययन तथा अनुसन्धानमा पनि समावेश हुन पाउने भएका छन् । सङ्घका प्रचार विभाग सदस्य सुरेश भट्टराईका अनुसार एक शैक्षिकसत्र अध्यापन गरेका आंशिक शिक्षकलाई त्रिवि सेवा आयोग प्रवेशमा उमेर हद नलाग्ने गरी नियम संशोधन गर्न विश्वविद्यालयले प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ ।

    सहमतिमा विश्वविद्यालयका तर्फबाट वार्ता समितिका संयोजक सहप्रा। विष्णुप्रसाद खनाल र सङ्घका तर्फबाट मोहनप्रसाद घिमिरेलगायतको हस्ताक्षर रहेको छ । हाल त्रिविमा करीव दुई हजार आंशिक प्राध्यापक छन् ।