Tag: त्रिभुवन विमानस्थल

  • त्रिभुवन विमानस्थलको सर्चमा केही भेटिएन, आन्तरिक उडानका यात्रुलाई भित्र पठाइयो

    त्रिभुवन विमानस्थलको सर्चमा केही भेटिएन, आन्तरिक उडानका यात्रुलाई भित्र पठाइयो

    काठमाडौं । अज्ञात व्यक्तिले बम राखेको सूचनापछि बन्द भएको त्रिभुवन विमानस्थलमा आन्तरिकतर्फको हवाइ उडान पुनः सुचारु हुँदैछ । बम राखिएको सूचनापछि सर्च गर्दा कुनै शंकास्पद वस्तु नभेटिएपछि यात्रुलाई आन्तरिक उडानका लागि भित्र पठाउन थालिएको हाे ।

    विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । र, उनले बम राखिएको सूचना दिएका थिए ।

    सूचनापछि यात्रुलाई बाहिर निकालेर सर्च गरिएको थियो ।

  • अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि यस्तो छ त्रिभुवन विमानस्थलको दृश्य (तस्बिरहरु)

    अज्ञात व्यक्तिले बम राखेको सूचना दिएपछि यस्तो छ त्रिभुवन विमानस्थलको दृश्य (तस्बिरहरु)

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको फोन आएपछि उडान प्रभावित भएका छन् । अहिले सुरक्षाकर्मीले आन्तरिक उडानतर्फका यात्रुलाई बाहिर निकालेर शंकास्पद वस्तुको खोजी गरिरहेको छ ।

    विमानस्थल सुरक्षाका एक उच्च अधिकारीका अनुसार एक्सजेन्चमा अपरिचित फोन आएको थियो । विस्तृत विवरण आउन बाँकी छ ।

    हेर्नुहोस्, बम राखिएको फोन आएपछि विमानस्थलको अवस्था

     

  • त्रिभुवन विमानस्थलबाट सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

    त्रिभुवन विमानस्थलबाट सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुनको विस्कुट आकारको वस्तु, चेनरोल, औँठी र चुरासहित पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेहरुमा ३० वर्षीय तौहिदुल तनविर, एमडि युनुस अलि, ५० वर्षीय सोभान तालुकदार, २५ वर्षीय जाहिदुल इस्लाम र ३७ वर्षीय एमडि मिराजुल इस्लाम रहेका छन् ।

    पक्राउ परेकामध्ये तौहिदुलको साथबाट २१६ ग्राम, युनुसको साथबाट २३३ ग्राम, सोभानको साथबाट १०० ग्राम, जाहिलदुलको साथबाट ३३२ ग्राम र मिराजुलको साथबाट ४३० ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

    हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं हुँदै मंगलबार बङ्गलादेश जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोला परीक्षण गर्दा उक्त  सुन फेला परेपछि नियन्त्रणमा लिइएको हो ।

    उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

  • मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

    मन्त्री आलेले थालेको सुधारः रोकिएला विमानस्थलभित्र ट्याक्सीको ठगी ?

    काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थलभित्र अनेकन बेथितिका चाङ छन् । तीमध्ये यात्रुहरूले भोग्नुपरेको साझा समस्या हो, ट्याक्सीको ठगी ।

    विमानस्थलबाट ओर्लिएर बाहिरी सडकसम्मको दूरी मुस्किलले ५ सय मिटर छ । लगेजसहित आउनेहरूलाई १०-१५ मिनेट पैदल हिँडेर त्यहाँसम्म आइपुग्न कठिन हुन्छ । त्यसैले ट्याक्सी प्रयोग गर्नुपर्ने वाध्यता पर्छ । र, यस्ता यात्रुहरूबाट ट्याक्सीहरूले मनोमानी भाडा असुल्ने गरेका छन् ।

    यही जनगुनासोलाई सम्बोधन गर्दै आजबाट सरकारले विमानस्थलभित्रै यात्रुवाहक बस सेवा सञ्चालनमा ल्याएको छ । त्यो पनि नि:शुल्करूपमा । अब ट्याक्सीलाई महंगो भाडा नतिरिकन विमानस्थल टर्मिनलबाट सडकको गोल्डेन गेटसम्म आइपुग्न सकिन्छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले २० दिनभित्र विमानस्थलको आन्तरिक टर्मिनलबाट यात्रुवाहक बस सेवा सुरू गर्न निर्देशन दिएका थिए । त्यसबमोजिम आजदेखि नि:शुल्क यात्रु बोक्न ३ वटा हायसहरू सञ्चालन गरिएका छन् । सेवा शुभारम्भका क्रममा मन्त्री आले आफैं विमानस्थलमा पुगेर हायस चढेका थिए ।

    पहिले पनि ट्याक्सीले यात्रु ठगेको भन्दै विमानस्थलले प्रहरीलाई संचालनका लागि एउटा हायस दिएको थियो । मन्त्री आलेको निर्देशनपछि प्रहरीलाई दिएको सो हायससमेत फिर्ता ल्याएर सेवा सुरु भएको हो । सार्वजनिक खरिद ऐन अनुसार बस खरिद गर्न समय लाग्ने भएकाले आफैंसँग भएको हायस चलाइएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए ।

    ‘प्रहरीलाई विमानस्थलभित्र आवतजावत गर्न सहज होस् भनेर दिएको हायस फिर्ता ल्याएर विमानस्थलको आन्तरिक टर्मिनलभित्रै सेवा दिएका हौं,’ उनले भने ।

    अब नि:शुल्क बस सेवा संचालनमा आएपछि यात्रुहरू ट्याक्सीबाट नठगिने ठाकुरको दाबी छ ।

    ‘सबै ट्याक्सी चढ्न सक्षम हुँदैनन् । धेरै यात्रुहरू आफूले ल्याएको भारी बोकेर नै बाहिरी सडकसम्म आउने गरेका थिए । अब यात्रुले नि:शुल्क हायस चढ्न पाउँनेछन्,’ उनले भने ।

    हायसको अगाडिको सिट सामान हाल्नका लागि झिकिएको छ । एउटा हायसमा १० जना यात्रु हटाउँछन् । अब अन्तर्राष्ट्रिय विमानबाट आएर झरेका यात्रुहरू आन्तरिक टर्मिनलमा आउन चाहे भने पनि त्यसैले ओसार्ने व्यवस्था मिलाउने तयारीमा विमानस्थल लगेको छ ।

    पछिल्लो समय विदेशबाट आउने यात्रुहरूलाई तातो र चिसो पिउँने पानीको पनि व्यवस्था गरिएको छ । मन्त्रीको निर्देशनमा नै विदेशबाट आउने यात्रुलाई पिउँने पानी र बस्ने व्यवस्था गरेको ठाकुरले बताए ।

  • ३ केजीभन्दा बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

    ३ केजीभन्दा बढी सुनका गहनासहित त्रिभुवन विमानस्थलबाट दुईजना पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ३ सय ६० ग्राम सुनको विभिन्न गहनासहित २ जना पक्राउ पक्राउ परेका छन् ।

    विमानस्थलको आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जना पक्राउ परेका हुन् ।

    पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका-१ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका-२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेका छन् ।

    श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक भन्सार छलेर लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुईलाई विमानस्थलबाट सोमबार बिहान प्रहरीले पक्राउ गरेको विमानस्थल प्रहरीले जनाएको छ ।

    उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

     

  • अफगानिस्तानबाट फर्केकाहरूले भने- हामीलाई अमेरिकाले ल्यायो, अरुको पनि उद्धार होस्

    अफगानिस्तानबाट फर्केकाहरूले भने- हामीलाई अमेरिकाले ल्यायो, अरुको पनि उद्धार होस्

    काठमाडौं । अफगानिस्तानबाट पहिलो लटमा ११८ जना नेपालीहरू सुरक्षित नेपाल फर्किएका छन् । अमेरिकी दूतावासमा सुरक्षा गार्डको काम गर्ने उनीहरूलाई अमेरिकाले नै नेपाल फर्काइदिएको थियो ।

    काबुलबाट कतार र कुवेत हुँदै उनीहरू नेपाल आइपुगेको प्युठान घर भएका लालबहादुर पुनले बताए ।

    ‘हामीलाई दूतावासले सुरक्षित तरिकाले राखेको थियो, कुनै समस्या भएन,’ उनले भने, ‘अरु पनि धेरै नेपाली दाजुभाइहरू हुनुहुन्छ, उहाँहरुको पनि सुरक्षित उद्धार होस् ।’

    त्रिभुवन विमानस्थबाट बाहिरिने क्रममा अधिकांश नेपालीहरू मलिन अनुहारमा देखिएका थिए । पत्रकारहरूसँग उनीहरू त्यतिधेरै खुल्न चाहेनन् । उनीहरूले आफूहरू सुरक्षित फर्किन सफल भएकोमा खुशी व्यक्त गरे ।

    आफ्नो नाम बताउन नचाहने एकजनाले भने, ‘त्यहाँको अवस्था दर्दनाक छ । हामी बाध्यताले गएका हौं । अरुलाई त्यस्तो ठाउँ नजानुस् भन्न चाहन्छौं ।’

    उनले आफू १४ वर्षदेखि अफगानिस्तानमा काम गर्दै आएको बताए । अर्का एक युवाले चाहिँ काबुलमा सोचेजस्तो डरलाग्दो अवस्था नभएको बताए । ‘सोचेजस्तो खराब अवस्था छैन, सामान्य छ,’ उनले भने ।

  • दुबई उड्न नपाएपछि त्रिभुवन विमानस्थल तनावग्रस्त

    दुबई उड्न नपाएपछि त्रिभुवन विमानस्थल तनावग्रस्त

    काठमाडौं । दुबई उड्न ठिक्क परेका यात्रु कोरोना परीक्षण नभएको कारण देखाउँदै रोकिएपछि त्रिभुवन विमानस्थल परिसरमै प्रदर्शनमा उत्रिएका छन् ।

    यात्रुहरूको विरोधका कारण विमानस्थलको बाह्य टर्मिनल क्षेत्र तनावग्रस्त छ । दुबईले केही दिनअघिमात्र नेपाली कामदारलाई आफ्नो देश आउन अनुमति दिएसँगै त्यहाँ जाने करिब २ सय कामदार टिकट काटेर विमानस्थल पुगेका थिए ।

    २ सयभन्दा बढी यात्रुको कोरोनाको आरडीटी परीक्षण नभएको भन्दै फर्काइपछि उनीहरू अलपत्र परेका हुन् । दुबईले केही दिनअघि दिएको अनुमतिमा एयरपोर्टभित्र रहेको आरडीटी मेसिनबाट ४ घण्टा अघिमात्र चेक गरेका कामदारलाई दुबई प्रवेशको अनुमति दिएका कारण यो समस्या आएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्री बताउँछन् ।

    उनका अनुसार धेरै संख्यामा आरडीटी जाँच गर्न सीमित मेसिनले अपुग भएकोले समस्या देखिएको हो । आज साँझ ७ बजेको फ्लाइटका लागि यात्रुहरू त्रिभुवन विमानस्थल पुगेका थिए ।

    विमानस्थल प्रशासनले पहिला दुबई जाने कामदारलाई बानेश्वरस्थित रहेको टीआईएको आरडीटी चेक गर्ने ठाउँमा पठाए पनि सो ठाउँमा जाँदा भीड भएको भन्दै सबैको एकैपटक जाँच गर्न नसकिने बताइएपछि उनीहरूलाई परीक्षण नगरी एयरपोर्ट पठाइएको थियो ।

    यसअघि तीन दिन पहिला दुबईका लागि १ सय ५० भन्दा बढी युवा गएका थिए । उनीहरु जाँदा भने टीआईएको बानेश्वरस्थित रहेको मेसिन एयरपोर्ट लगेर आरडीटी जाँच गरेर पठाइएको थियो । टीआईएमा यात्रु अलपत्र परेपछि अहिले टीआईएका पदाधिकारी तथा ट्राभल एजेन्सीका पदाधिकारीले पर्यटन मन्त्रालयमा गएर छलफल गरिरहेका छन् । आजको फ्लाइट भने स्थगित गरिएको छ ।

    दुबई जान पोखराबाट आएका यात्रु राजन केसीका अनुसार अहिले सबै यात्रुलाई होटलमा राख्ने वा नराख्ने सम्बन्धमा टीआईएमा छलफल भइरहेको छ । उनी चार दिनअघि काठमाडौं आएर होटलमा बसिरहेका छन् । उनका अनुसार आजको फ्लाइट क्यान्सिल भएर अर्को फ्लाइट कहिले हुने भन्ने विषयमा अन्योल हुँदा चिन्ता थपिएको छ ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    तस्बिरहरू : सरोज बैजु ।
  • काठमाडौंको हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

    काठमाडौंको हवाई यात्रुलाई हरियो नम्बर प्लेटको ट्याक्सी

    काठमाडौं । निषेधाज्ञा अवधिमा त्रिभुवन विमानस्थल भएर हवाई यात्रा गर्ने यात्रुले हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने भएका छन् । विमानस्थल कार्यालयले आज सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने जनाएको हो । यस्तो सुविधा विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने जनाइएको छ ।

    हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्नेछन् । यसका लागि सवारी साधनको सुविधा आवश्यक भएमा प्रिपेड ट्याक्सी बोलाउन सकिने छ । विमानस्थल कार्यालयका अनुसार प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने छन् । उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ । यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन् ।

    कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ ।

    विमानस्थलको निर्णयबाट यात्रु तथा एयरलाइन्सलाई निकै राहत भएको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयर र यती एयरका अधिकारीले निषेधाज्ञाको पहिलो दिन यात्रु विमानस्थलसम्म लैजान सहजीकरण भएको बताए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला र बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले विमानस्थलसम्म यात्रु आवतजावत गर्न पहिलो दिन खासै समस्या नभएको जानकारी दिए ।

    आज दिनभर आन्तरिक तथा अन्तरराष्ट्रिय उडान विमानस्थल कार्यालयको विवरणमा बुधबार आन्तरिकतर्फ सर्वाधिक १५ हजार २६३ यात्रु आवतजावत गरेका छन् । त्यसअघि मङ्गलबार १२ हजार २५१ यात्रुले सेवा लिएका थिए । विगत दुई दिनको तुलनामा आज उडान सङ्ख्या करिब आधा मात्रै हुने विमानस्थलले तालिका निर्धारण गरेको छ । सरकारी निर्णयअनुरुप हवाई सेवा प्रदायक कम्पनीले निषेधाज्ञाका बीच आन्तरिक उडान सञ्चालन गरिरहेका छन् । अन्तरराष्ट्रियतर्फ पनि नियमित उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

  • त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

    त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

    काठमाडौं । कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौंमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आजबाट सुरु भएकाले निषेधाज्ञाका कारण काठमाडौंका सडक सुनसान छन् । तर, यही बेला देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै माहोल देखिन्छ । आज बिमानस्थलभित्र छिर्दा नियमितभन्दा पनि बढी भिडभाड देखिन्थ्यो । सामाजिक दुरीको गुञ्जायस थिएन । सरकारले सडकमा गुड्ने सवारीसाधनको आवागनमा रोक लगाए पनि आन्तरिक उडानलाई भने खुला छोडेको छ । आन्तरिक र बाह्य दुवै हवाइ सेवा सुचारु छन् । त्यसैले काठमाडौं आउने वा काठमाडौबाट बाहिरिनेहरुको भिड बढेको हो ।

    सार्वजनिक सवारीसाधन नचलेकाले बिमानस्थल आउने वा बिमानस्थलबाट बाहिरिनेहरुलाई बाटोमा भने सास्ती खेप्नु परिरहेको छ । हेर्नुहोस नेपाल प्रेसको भिडियो रिर्पोट ।

  • साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    साउदीबाट काठमाडौं आएको हिमालय एयरको जहाजमा कोरोना संक्रमित फेला

    काठमाडौं । हिमालय एयरलाइन्सको जहाज चढेर साउदी अरबियाको दमाङबाट काठमाडौं आएका एक यात्रुलाई कोरोना संक्रमण देखिएको छ ।

    विमानबाट ओर्लिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्दा संक्रमण पाइएपछि उनलाई अस्पताल लगिएको छ ।

    दिउँसो १२:३९ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइट नम्बर एच ९-५६६ कलसाइनको सो जहाजमा १३७ यात्रु रहेको बताइएको छ ।

    संक्रमितको वरपरका पाँचवटा रोको सिटमा रहेका २२ जनालाई आइसोलेसनका लागि सीधै होटल लगिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

  • आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

    आफन्त बिदाइ र स्वागतका लागि त्रिभुवन विमानस्थलमा जान बन्देज

    काठमाडौं । कोरोना जोखिम तीब्र बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अत्यावश्यक कामबाहेक विमानस्थल प्रवेश नगर्न अनुरोध गरेको छ ।

    साथै स्वदेश तथा विदेशबाट आउनेजाने आफन्तजनलाई बिदाइ र स्वागतमा पनि बन्देज लगाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय नागरिक उड्डयन कार्यालयले सूचना निकालेर कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न र आफ्ना कर्मचारीलाई सुरक्षित राख्नका लागि सो अनुरोध गरेको हो ।

    विमानस्थल प्रवेश गर्दा सरकारले जारी गरेको निर्देशन तथा स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न पनि  विमानस्थल प्रशासनले अनुरोध गरेको छ ।

    विमानस्थल आवात-जावत गर्दा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, शरीरको तापक्रम मापन गराउने, सेनिटाइजरको प्रयोग, लाइनमा तोकिएको सांकेतिक पाइलामा उभिनु पर्ने, आन्तरिक तथा वाह्य जाने यात्रुले ट्राभलर डिर्पाचर फर्म भर्नु पर्नेलगायतका नियम कार्यान्यवन गर्न पनि भनिएको छ ।

  • आमासँगै विमान चढ्न लागेका युवक ५० थान गोली सहित पक्राउ

    आमासँगै विमान चढ्न लागेका युवक ५० थान गोली सहित पक्राउ

    काठमाडौं । प्रहरीले पेस्तोलमा प्रयोग हुने ५० थान गोली सहित त्रिभुवन विमानस्थलबाट एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

    विमानस्थल प्रहरीका एसएसपी राजेशनाथ बास्तोलाका अनुसाार झापाका बद्रीहाङ राई ९ एमएम पेस्तोलमा प्रयोग हुने ५० थान गोली सहित पक्राउ परेका हुन् ।

    मध्यान्ह १२ बजेर ३५ मिनेटको श्री एयरलाइन्सको विमानबाट झापाको भद्रपुर जाँदा थिए । आमा छोरा सँगै जान लागेका बेला पक्राउ परेका राईले गोली आफूले नबोकेको र कसैले फसाउन खोजेको प्रारम्भिक वयान दिएको प्रहरीले जनाएको छ ।