Tag: तेस्रो लहर

  • भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा उचाईमा पुग्ने, सतर्क रहन भारतीय गृहमन्त्रालयको निर्देशन

    भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा उचाईमा पुग्ने, सतर्क रहन भारतीय गृहमन्त्रालयको निर्देशन

    दिल्ली । भारतमा कोरोना महामारीकोको तेस्रो लहर आगामी अक्टोबरसम्ममा उचाईमा पुग्नसक्ने त्यहाँको भारतीय गृहमन्त्रालयले जनाएको छ । सोहीअनुसार तयारी गर्न भारतीय गृहमन्त्रालयले पूर्वतयारी गर्न प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएको छ ।

    राष्ट्रिय विपद् व्यवस्थापन संस्था (एनआईडीएम)ले अक्टोबरमा कोरोनाको तेस्रो लहरको संक्रमण उत्कर्षमा पुग्ने जानकारी दिएपछि गृह मन्त्रालय सतर्क भएको हो । तेस्रो लहरले बच्चाहरुमा उच्च संक्रमण हुने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।

    भारतमा आइतबार २५ हजार ४२० जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने ४४ हजार १०३ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा ३८५ जनाको मृत्यु भएको छ । हालसम्म ३ करोड १६ लाख भन्दा बढी संक्रमण मुक्त भएको भारतिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    भारतमा एक साता अधि ७ हजार सक्रिय संक्रमित थिए भने पछिल्लो २४ घण्टामा १९ हजार सक्रिय संक्रमित रहेका छन् । यहाँ पछिल्लो एक साता देखि संक्रमितको संख्या बढीरहेको भारतीय संचार माध्यमले जनाएको छ ।

     

  • काेराेना संक्रमण बढ्न थालेपछि भरियाे अस्पताल बेड

    काेराेना संक्रमण बढ्न थालेपछि भरियाे अस्पताल बेड

    काठमाडौं । वीर अस्पतालका निर्देशक डा. प्राध्यापक भूपेन्द्र बस्नेतले पछिल्लो केही दिन यता कोरोना भाइरसका बिरामीहरु बढ्दै गएकोले अस्पतालमा बेडहरु भरिन थालेको बताएका छन् ।

    कोरोनाको तेस्रो लहरको तयारीको छलफलका लागि मंगलबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको बैठकमा निर्देशक बस्नेतले अस्पतालहरुमा कोरोना संक्रमितहरु बढिरहेकोले बेडहरु भरिन थालेको बताएका हुन् ।

    उनले अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु कोरोना संक्रमितले बढी भरिएको बताए । कोरोनाको तेस्रो लहरबाट बच्नका लागि वीर अस्पतालले ४५ वटा कोभिड डेडिकेट आइसीयू सञ्चालन गरिरहेको र अन्य २० वटा आइसीयूहरु १÷२ दिनमै चलाउने बताए । उनले कोरोनाबाट बचाउनका लागि अन्य आवश्यक कुराहरु थप्दै जाने बताए ।

    उनले भने, ‘कोरोनाको केस बढ्दै जाँदा अस्पतालका बेडहरु भरिन थालेको छ, संक्रमित बढ्न थालेका छन्, अस्पतालका आइसीयू र सघन उपचार कक्षहरु बढी भरिएका छन् । वीर अस्पतालमा हाल ४५ वटा कोभिड डेडिकेट आइसीयूहरु छ, त्यस्तै अरु २० वटा आइसीयू १÷२ दिनभित्रै चल्ने गरी निर्माण भइरहेको छ, सबै जडान भइसकेको छ ।’

    निर्देशक बस्नेतले तेस्रो लहरको कोरोनाबाट बच्नका लागि सरकारले काठमाडौं उपत्यकामा १४ वटा र हरेक प्रदेशमा १÷१ गरी २१ वटा अस्पताल छुट्याएको बताए ।

    उनले भने, ‘कोभिड १९ हेर्नका लागि सरकारले काठमाडौंमा वीर अस्पतालसहित १४ वटा अस्पताल छुट्याएको छ, त्यस्तै हरेक प्रदेशका १÷१ वटा गरी ७ वटा अस्पताल छुट्याएको छ, आवश्यक परे निजी अस्पतालहरुसँग पनि समन्वय गरेर काम अघि बढाइनेछ ।’

    निर्देशक बस्नेतले कोरोना संक्रमितको संख्या बढ्दै गइरहेकोले आवश्यक्तालाई हेरेर निजी अस्पतालहरुसँग समन्वय गर्दै काम अघि बढाउने बताए ।

  • सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड

    सुदूरपश्चिममा तेस्रो लहरको कोरोना नियन्त्रण तयारी सुरु, सेती अस्पतालले माग्यो ५ करोड

    कैलाली । तेस्रो लहरको कोरोना संक्रमण फैलिनसक्ने खतरालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले नियन्त्रणका लागि तयारी थालेको छ ।

    प्रदेश सरकारले तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुनसक्ने भन्दै अस्पतालहरूलाई त्यहीं अनुसारको व्यवस्थापन गर्न परिपत्र गरेको छ ।

    प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको व्यवस्थापन गर्न भनिएको छ ।

    कञ्चनपुरको महाकाली र टिकापुर अस्पतालमा बलमैत्री छुट्टै अस्पताल निर्माण कार्यसमेत सुरु भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    सेती अस्पतालमा भने दुई वटा अस्थायी कोरोना अस्पताल तयार हुने भएका छन् । एउटा हाल सञ्चालनमा रहेको छ भने अर्काे थप हुने भएको छ ।

    ‘निर्माणाधीन कोरोना अस्पतालमा अन्य कोरोनाका विरामीलाई राखिने छ ’ सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने, ‘पहिले तयार भइसकेको कोरोना अस्पतालमा बालबालिकाको लागि व्यवस्थापन गरिने छ ।’

    सेती अस्पतालले माग्यो ५ करोड

    सेती प्रादेशिक अस्पतालले तेस्रो लहरको कोरोनाबाट जोखिम कम गर्न प्रदेश सरकारसँग ५ करोड रकम माग गरेको छ ।

    मन्त्रालयले असार ६ गते तेस्रो लहरको कोरोनाबाट बालबालिका बढी प्रभावित हुने भन्दै सेती अस्पताललाई आवश्यक संरचनाको अवस्था र लागत रकमबारे परिपत्र मगाएको थियो ।

    जवाफमा अस्पतालले २५ शय्याको आइसोलेसन भवन, सीसी क्यामेरा, अक्सिजन पाइपलाइन, आवश्यक जनशक्ति र उपकरणको लागि ४ करोड ९६ लाख २५ हजार ५८० रुपैयाँ माग गरेको हो । उपचार कक्ष निर्माण र उपकरण जडान गर्न रकम माग गरिएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    अस्पतालमा ९ बेडको एनआईसीयू रहेको छ । उक्त संख्या बढाएर २५ बनाउने लक्ष्य रहेको उनले बताए ।

    सामाजिक विकास मन्त्रालयले कम्तीमा ४० शय्याको बनाउन परिपत्र गरेको छ । तर अस्पतालले ५० शय्यासम्मको व्यवस्था गर्ने तयारी गरेको छ ।

  • भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    भारतमा संक्रमण घट्दो, तर विज्ञहरु भन्छन् : यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ

    दिल्ली । भारतमा पछिल्ला केही हप्तामा कोरोना संक्रमणदर घट्दो क्रममा देखिएको छ । यहाँ संक्रमणदर घटे पनि भारतका जनस्वास्थ्यविद्हरुले भने  यहाँ तेस्रो लहर आउन सक्ने भन्दै खतराको घन्टी थिच्न थालेका छन् ।

    पछिल्लो समयमा भारतमा यसरी घट्दो क्रममा संक्रमित देखिन थालेपछि यहाँको सरकारले यसअघि लगाएका प्रतिबन्धहरुलाई केही खुकुलो बनाएको छ । यसरी खुकुलो बनाएपछि नागरिकहरु सडकमा निस्किन थालेका छन् ।

    उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन् । जसका कारण फेरि भारतमा अर्को खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन् ।

    पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ८४८ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्ममा ३ करोड भन्दा बढी संक्रमित पुगेका हुन् ।

    त्यस्तै यहाँ यो संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पनि झण्डै चार लाखको नजिक पुग्दैछ । भारतमा कोरोनाभाइरसका संक्रमितहरुमध्ये ३ लाख ९० हजार ६६० जनाको ज्यान गएको छ । तर अहिले यहाँ मृत्युदरमा भने  कमी आएको छ । 

    पछिल्लो समयमा निको हुने दरमा पनि बृद्धि भएको छ । भारतमा पछिल्ला हप्ताहरुमा संक्रमितहरुको निको हुने दरमा बृद्धि भएर ९६.५६ प्रतिशत पुगेको छ ।

    यो अवस्थाले यहाँको केन्द्र सरकार तथा राज्य तथा स्थानीय सरकारहरुलाई पनि शान्तिको सास फेर्न त दिएको छ तर पनि यो अवस्था भनेको महामारी सबै घटेको तथा सबै संक्रमितहरु नै निको भएको अवस्था भने नभएको विज्ञहरुले चेतावानी दिएका छन् । उनीहरुले भनेका छन् कि- यसरी पछिल्ला दिनहरुमा संक्रमितहरु घट्दै जाँदा अब सबै ठिक भयो भनेर सरकारहरुले प्रतिबन्धहरु सबै फुकुवा गर्ने र नागरिकहरुले पनि जनस्वास्थ्यका मापदण्डहरु पालना नै नगर्नु भने मुर्खता हुनेछ, यसले अर्को सङ्कटलाई निम्ता दिन सक्छ ।

    यसको मतलब भारत हाल जारी नै रहेको यो दोस्रो लहर कति खतरनाक थियो, कति जना मानिसले सास फेर्न नपाएर अर्थात् अक्सिजन नै नभएर मृत्युवरण गर्नुपर्‍यो, चिकित्सकहरुले पनि कसरी आफैले र विरामीका लागि अक्सिजनको मात्रा आपूर्ति गर्न पाएनन् भन्ने कुरा भने सबैलाई छर्लङ्गै थाहा छ । अक्सिजन मात्र होइन कि आवश्यक औषधीहरु, अस्पतालका शय्या तथा अरु आवश्यक पूर्वाधारका लागि अस्पतालको उपलब्धता नै हुन नसकेको अवस्था पनि सबैलाई र खासगरी नीति निर्माताहरुलाई पनि थाहा नै छ ।

    यो अवस्था आफूहरुले देखेकै भएकाले पनि अब आउन सक्ने सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर हाल विज्ञहरुले गरेका अनुरोधहरुलाई खासमा यहाँको सरकारका प्रतिनिधि र नीति निर्माताहरुले बेवास्ता गरेको बताएका छन् । स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिँदा दिँदै पनि सरकारले विगतमा विभिन्न राज्यमा निर्वाचन गर्ने, कुम्भ मेलाजस्तो आममानिसहरु जम्मा हुने कार्यक्रमलाई अनुमति दिने गरेकाले यो दोस्रो लहरको लागि बल पुर्‍याएको र अहिले पनि अब केही समयमै सरकारले यस्ता क्रियाकलापहरुलाई अनुमति दिनसक्ने भन्दै त्यसको विरोध गरिरहेका छन् ।

    सतर्कताका लागि आग्रह

    यता संक्रमित घटेका समाचारहरु आउन थालेदेखि नै पछिल्लो समयमा यहाँका केन्द्रीय तथा स्थानीय सरकारहरुले प्रतिबन्ध हटाउने काममा उदार भएका छन् । जसका कारण यहाँका रेलमार्ग, होटल रेष्टुरेन्ट, सपिङ मलहरु आदिमा ठूलो भिडभाड लाग्न थालेको छ । नयाँ दिल्लीको रेल स्टेसनमा पनि हालैका दिनमा हजारौँ जनाको भिडभाड नै देखिन थालेको छ । सपिङ मलहरुको अवस्था त्यस्तै छ । यो देखेर पनि यहाँका जनस्वास्थ्य विज्ञहरुले अर्को लहरको सम्भावना झन् नजिकिँदै गरेको भनेर चेतावनी दिएका छन् ।

    दिल्लीको उच्च अदालतले गत हप्ता मात्र पछिल्लो समयमा देखिएको यस्तै भिडभाडपछि जनस्वास्थ्यका मापदण्डहरु कडाइका साथ पालना गराउन सरकारका नाममा आदेश दिएको छ । सो अदालतले जनस्वास्थ्य विज्ञहरुले हाल देखाइरहेको सम्भावित तेस्रो लहरलाई रोक्नका लागि स्वास्थ्यका मापदण्डहरु पालना गराउने नै एकमात्र विकल्प देखिएको भन्दै सरकारका नाममा यो आदेश जारी गरेको थियो । यदि यी मापदण्डहरु पालना गराउन सकिएन भने मानिसहरुकै कारण हामी धेरै ठूलो समस्यामा पर्नेछौँ पनि भनेको छ ।

    अहिले त दिल्लीमा पनि व्यापार व्यवसाय खुलेको छ । जसका कारण ठूलो जनसंख्या रहेको भारतका नागरिकहरुको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ । यो देखेर यहाँका चिकित्सकहरुले त भारतले दोस्रो भन्दा पनि तेस्रो लहरमा झन् ठूलो समस्या भोग्नुपर्ने अवस्था आउने बताइरहेका छन् । उनीहरुले मानिसहरुको बढ्दो जमघट नै ठूलो समस्या भएर आउने चेतावनी दिएका छन् ।

    अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स् (एआइएमएस) का निर्देशक रन्दिप गुलरियाले गत हप्ता भनेका थिए- भारतमा कोभिड-१९ को तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र यो दोस्रो लहरजत्तिकै र अझ त्यो भन्दा पनि बढी हुनसक्छ ।

    उनले गतहप्ता मात्र भनेका थिए- तेस्रो लहर आगामी ६ देखि ८ हप्तासम्ममा आउन सक्छ र सामान्यतया त्यो भन्दा थोरै ढिला हुन पनि सक्छ । तर त्यसको आगमन भने हामीले अब गर्ने व्यवहार र आगामी दिनमा गरिने जनस्वास्थ्यका मापदण्डहरुको पालनाले पनि निर्धारण गर्नेछ ।

    उनले भनेका थिए- हामीले पहिलो र दोस्रो लहरको महामारीबाट कति दुःख पायौँ भन्ने कुरा सबैले बुझ्नुपर्ने हो । हामीले त्यसबाट भएको जनधनको क्षतिबाट पनि धेरै सिक्नुपर्ने हो । तर पछिल्ला दिनहरुमा बढ्दो भिडभाड र सरकारले एकपछि अर्को गरी प्रतिबन्धहरु फुकाउँदै गएकोले विगतबाट हामीले पाठ सिक्यौँ जस्तो लाग्दैन । मलाई लाग्छ अब आउने सम्भावित तेस्रो लहरुले हामीलाई अझ बढी क्षति दिनसक्छ भन्ने डर मलाई लागिरहेको छ ।

    विश्व स्वास्थ्य संगठनको क्षेत्रीय अधिकारी प्रकास नारायणको धारणा पनि त्यस्तै छ । उनले संक्रमितहरुको संख्या केही घटेका समाचारहरु आउँदैमा युद्ध नै जितेजस्तो गरेर सरकारले पनि लकडाउन हटाउने र नागकिहरु पनि हजारौँको संखयामा सडकमा निस्किने गर्नु दुःखद छ भन्दै समयमै सतर्कता अपनाउन आग्रह पनि गरे ।

    सुस्त खोप अभियान

    हुनत भारतको जनसंख्या पनि यहाँको कोरोना विरुद्धको खोप अभियानका लागि एक चुनौती नै हो । भारतको स्वास्थ्यसँग सम्बन्धित एक थिंक ट्याङ्क संस्था नेसनल इन्स्टिच्युट फर ट्रान्सफर्मिङ् इन्डियाका सदस्य भि के पाउलले कोरोना विरुद्धको खोपले ९४ प्रतिशतसम्म सुरक्षा दिएको अनुसन्धानले देखाएको बताउछन् । साथै कोरोनाको खोप दिएपछि यसका संंक्रमितहरुमध्ये कम्तीमा पनि ७८ देखि ८० प्रतिशत मानिसलाई अस्पताल भर्ना गर्नु नपर्ने देखिएको पनि उनले बताए ।

    भारतमा यसैवर्षको जनवरी १६ देखि कोरोना विरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिएको हो । तर अहिलेसम्ममा यहाँका जम्मा पाँच करोड वयस्क मानिसलाई मात्र दुवै मात्रा खोप दिइएको छ । खोपको दुवै मात्रा लिने यो संख्या भारतको वयस्क उमेरको जम्मा पाँच प्रतिशत मात्र हुन आउँछ । यो भारतको स्वास्थ्य मन्त्रालयलकै तथ्याङ्क हो । सो मन्त्रालयले जनाएअनुसार तर देशव्यापी रुपमा २९ करोड ४० लाख मानिसलाई पहिलो मात्रा मात्र खोप दिइएको छ ।

    उता भारतले यसै वर्षको अन्त्यसम्ममा देशका सबै नागरिकलाई खोप दिइसक्ने लक्ष्य भने लिएको छ । तर सरकारको खोप अभियानको अहिलेको गति अति सुस्त भएकोले विज्ञहरुले त्यो सम्भव देखेका छैनन् । उनीहरुका अनुसार यदि सरकारले यो लक्ष्य पूरा गर्ने हो भने यहाँ हरेक दिन कम्तीमा पनि १० लाख मानिसलाई खोप लगाउनुपर्छ ।
    रासस

  • तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

    तेस्रो लहरमा बालबालिका जोगाउन पूर्वतयारी युद्धस्तरमा भइरहेको छ : मन्त्री त्रिपाठी

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोपसँगै आगामी तेस्रो लहरको कोभिड-१९ संक्रमण रोकथामको पूर्वतयारीमा सरकार प्राथमिकताका साथ लागिरहेको बताएका छन् ।

    आगामी असोजमा आउन सक्ने भनिएको तेस्रो लहरको कोभिड–१९ ले बालबालिकालाई बढी असर पर्ने अनुमान गरिएकाले बालबालिका केन्द्रित उपचारका लागि आवश्यक पूर्वाधार विकासको तयारी युद्धस्तरमा भइरहेको उनले बताए ।

    फरक प्रसङ्गमा उनले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जानकारी दिए । जसपाको ठाकुर र आफ्नो समूह मिलेर नयाँ पार्टी गठन गर्न लागेको भनेर गलत प्रचार गरिएको उनले बताए ।

    मन्त्री त्रिपाठीले यही जेठ ५ गते नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर मृत्यु भएका युवकको सशस्त्र प्रहरीले हत्या गरेको बताए । उक्त घटनामा सशस्त्र प्रहरीको ज्यादती र गैरजिम्मेवारपन देखिएको बताए ।

    सुस्ता गाउँपालिका–५ वनकट्टीस्थित भारतीय सीमा क्षेत्रमा स्थानीय र सशस्त्र प्रहरीबीच विवाद हुँदा स्थानीय २२ वर्षीय अविनाश राजभरको मृत्यु भएको थियो । मन्त्री त्रिपाठीले मृतकको घरमा पुगी पीडित परिवारसँग घटनाबारे जानकारी पनि लिएका थिए ।

    आइसीयू उद्घाटन

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रोटरी क्लब अफ नवलपरासीले आइसीयू कक्ष निर्माण गरेको छ । जिल्लामा आइसीयू कक्ष नहुँदा यहाँका बिरामी बुटवल, भैरहवा, चितवनलगायतका स्थानमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै रोटरी क्लबले चार शय्याको आइसीयू कक्ष स्थापना गरेको क्लबका अध्यक्ष सुमन गोपाल आचार्यले जानकारी दिए ।

    रोटरी क्लबका सदस्यहरुले व्यक्तिगत सहयोगबाट निर्माण गरेको आइसीयू सञ्चालनपछि जिल्लाका गम्भीर प्रकृतिका बिरामीलाई उपचारमा सहज हुने आइसीयू कक्ष निर्माण संयोजक वीरेन्द्र अग्रहरीले विश्वास व्यक्त गरे । नवनिर्मित आइसीयू कक्ष आजै अस्पताललाई हस्तान्तरण गरिएको छ ।

    नवनिर्मित आइसीयू कक्षको आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले उद्घाटन गरे । मन्त्री त्रिपाठीले कोभिड-१९ को संक्रमणबाट जिल्लाबासीलाई जोगाउन उक्त अस्पतालका लागि अक्सिजन प्लान्ट, एचडीयू सेवा, भेन्टिलेटरसहितको आइसीयू कक्ष स्थापनाका लागि रकम पठाउनुका साथै पीसीआर मेसिन पनि आफूले मन्त्रालयबाट पठाएको जानकारी दिए ।

    यद्यपि उनले अस्पताल व्यवस्थापन पक्षले पीसीआर मेसिन पठाएको एक महिना बितिसक्दा पनि जडान गर्न नसकेको भन्दै असन्तुष्टि जनाए । उनले तत्काल पीसीआर मेसिन जडान गरी सञ्चालनमा नल्याए अन्यत्र पठाउने चेतावनी दिए ।

    मन्त्री त्रिपाठीका अनुसार अस्पतालका लागि अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड, एचडीयू सेवाका लागि एक करोड नौ लाख ७५ हजार, भेन्टिलेटरसहितको आइसीयू कक्षका लागि तीन करोड तथा एक थान पीसीआर मेसिन उपलब्ध गराइएको छ ।

    अस्पताल विकास समितिका अध्यक्ष जगदीश चौधरीले पूर्वाधार अभावका कारण पीसीआर मेसिन समयमै सञ्चालन गर्न नसकेको तर अब छिटो सञ्चालनमा ल्याउने गरी काम अघि बढेको बताए । उनले एचडीयू र अक्सिजन प्लान्ट निर्माणका लागि टेन्डर आह्वान गरिएको जानकारी दिए ।