Tag: तुवाँलो

  • वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने

    वायुप्रदूषण देशभर, मौसम तत्काल सुधार नहुने

    काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ ।

    मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।

    हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो ।

    देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ ।

    तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ ।

    आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ ।

    मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरुले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ ।

    विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरु हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।

    हुम्लामा तुवाँलोले दुई दिनदेखि हवाई सेवा प्रभावित

    हुम्लाको मुख्य यातायातको साधनका रूपमा रहेको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ । जिल्लामा लागेको बाक्लो तुवाँलोका कारण सिमकोट विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको हो ।

    आइतबार बिहानदेखि देखिएको धुवाँजस्तो देखिने तुवाँलोका कारण दुई दिनदेखि नेपालगञ्ज तथा सुर्खेतबाट हुने सम्पूर्ण हवाई सेवा बन्द भएको छ । तुवाँलोको कारण दई दिनमा दुई दर्जनभन्दा बढी उडान रद्द भएका छन् । तुवाँलोले सोमबार साँझसम्म पनि जिल्लाभर छोपेकाले आज पनि उडानको सम्भावना कम रहेको छ । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

    काठमाडौंसहित देशभर असर गरेको वायुप्रदूषणले जिल्लाको हवाई सेवा प्रभावित बनाएको हो । आइतबार बिहानदेखि जिल्लामा दृश्य क्षमता (भिजिबिलिटी) नपुग्दा दुई दिनदेखि हवाई सेवा प्रभावित बनेको हो ।

    जिल्लाको एक मात्रै अन्तर जिल्ला जोड्ने हवाई सेवा प्रभावित हुँदा निर्माण सामग्रीदेखि दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समेत समस्या भएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्न ढुवानीमा समेत बाधा पुगेको छ ।

  • वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदूषण ?

    वायुमण्डलको अवस्था आज पनि नाजुक, कुन ठाउँमा कति प्रदूषण ?

    काठमाडौं । लगातार चौंथो दिन पनि सोमबार उपत्यकासहित मुलुकका विभिन्न सहरको वातावरणीय अवस्था स्थिर देखिएको छ ।

    शुक्रबारयता देशव्यापी रुपमा लागेको डढेलोले काठमाडौंसहितका ठाउँमा बाक्लो तुवाँलो लागेको छ । जसले गर्दा घाम लाग्न सकेको छैन भने बढेको प्रदूषणले आँखा पोल्ने समस्या भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले सोमबार पनि काठमाडौंको वातावरणीय अवस्थामा सुधार नआउने जनाएको छ । ‘देशव्यापीरुपमा आगो फैलिएको छ । मौसममा आजै सुधार आउने सम्भावना छैन’ मौसमविद् मीनकुमार अर्यालले नेपालप्रेससँग भने, ‘भोलिबाट हावाको गति बढ्न सक्छ । सुधार हुने आशा राखेका छौं ।’

    पहाडी भूभागमा हल्का बदली भएपनि तत्काल पानी पर्ने सम्भावना नरहेको उनले जनाए ।

    सोमबार बिहानसम्म पनि काठमाडौको वायुको गुणस्तर (एक्यूआइ) घातक देखिएको छ । झम्सिखेल ललितपुरको एक्यूआइ सबैभन्दा बढी ४३४ पीएम देखिएको छ । अमेरिकी दूतावासको एक्यूआइ ३१९ पीएम, दरबारमार्गको ३५४, रत्नपार्कको १५२, भैंसेपाटीको ३३६ देखिएको छ ।

    वीरेन्द्र स्कुल भक्तपुरको एक्यूआइ ३०३, शंखपार्क काठमाडौंको ३१९ पीएम देखिएको छ । पोखराको एक्यूआइ १४७, नेपालगंजको १५९, दाङको १६२ प्राप्त भएको छ ।

    एयर क्वालिटी इन्डेक्सको १० बजेसम्म काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ ।

  • कहिले हट्छ काठमाडौंको तुवाँलो ?

    कहिले हट्छ काठमाडौंको तुवाँलो ?

    काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ ।

    स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताइन्। उनका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायुप्रदूषण बढेको हो । प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।

    यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।