Tag: तीज

  • श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

    श्रीमानको गोडाको पानी, नखाँदा के हानि ?

    युगौ‌देखि मनाइँदै आएको तीज फेरि हाम्रो घर–आँगनमा आइसकेको छ । आज राति अबेरसम्म ‘दर’को रुपमा मीठो–मसिनो परिकार खाने र भोलि पतिको दीर्घायूको कामनासहित ब्रत बस्ने चलन छ ।

    पतिलाई परमेश्वर मान्ने र पितृसत्ताको जयजयकार गरिने यो पर्व विगतदेखि वर्तमानसम्म उस्तै छ । रुप बदलिए पनि सार बदलिएको छैन । समय धेरै पर पुगे पनि चिन्तन बदलिँदो रहेनछ ।

    बाहिर जतिसुकै समानताको चर्को–चर्को आवाज उठे पनि मन र मस्तिष्कभित्र बसेका चिन्तनहरु अनेक बहानामा बाहिर छरपस्ट हुँदा रहेछन् ।

    तीजमा श्रीमानको गोडा धोएर पानी पिउने चलन अझसम्म जिउँदै छ । हिन्दू धर्ममा यो त सामान्य कुरा हो भन्ने गरिन्छ । श्रीमान–श्रीमतीबीच आपसमा प्रेम तथा आत्मीयता प्रदर्शन गर्न गोडा धोएर जल खाने प्रचलन रहेछ ।

    यो परम्परा सायद हिन्दूको पनि आर्य खस जातिमा मात्र हुन्छ कि जस्तो लाग्छ । स्तम्भकारले आफ्नो परिवारमा न हजुरआमाले यस्तो गरेको देख्नुपर्यो, न आमाले ।

    आमाले न आफुले त्यस्तो गरिन् न छोरीलाई यस्तो संस्कार सिकाइन् । न छुइ हुँदा छोइछिटो गरिन् न छोरीलाई छोइछिटो गर्न सिकाइन् । मात्र सफा हुन र आराम गर्न सिकाइन् ।

    कसैले नुहाएको पानी शीरमा छर्केको र गोडाको पानीले नुहाउने गरेको पनि देखिन्छ, सामाजिक सञ्जालहरुमा । यो एउटा आस्था र परम्परा नै हो भनिन्छ । श्रीमानको गोडा धोएर पानी खाने परम्परा सदियौंदेखिको भएकाले धेरैलाई स्वीकार्य भएको हु्न सक्छ । तीजपछि गोडा धोएको पानी खानु श्रीमानप्रतिको उच्च सम्मान हो र विरोध गर्नेहरु संस्कारविरोधी हुन् भनेर चित्रण गर्ने गरिएको छ । तर त्यो होइन ।

    हामीले हाम्रा पितृसत्तात्मक चिन्तनहरु हरेक क्षेत्रमा पाउने गर्छौं । घर भित्रदेखि घर बाहिरका धेरै क्षेत्रहरुमा र यो संस्कारले पुरुष बर्चस्वको जयजयकार हुन्छ । अहिले त झन् मज्जाले आरती नै भएको देखिन थालेको छ ।

    तीजमा गोडा धुने सन्दर्भमा हामीकहाँ चार प्रकारका पुरुषहरु भेटिन्छन् । पहिलो– हाम्रो सदियौंदेखि चलिआएको संस्कार हो, खाउ न त भनेर गोडा तेर्साउने । दोस्रोे, गोडाको पानी पनि खान्छन् ? अहिलेको युगमा पनि कहाँ यस्तो गर्न मिल्छ भन्दै पन्छिने । तेस्रो– व्रत बसे पनि फलाहार खाएर बस, व्रत बसेर मेरो आयु लम्बिने होइन, स्वास्थ्य बिग्रेर तिम्रो चाहिँ आयु छोटिन सक्छ भनेर सम्झाउने । र, चौंथो– व्रत नबसे पनि सदियौंदेखि चलिआएको चलन हो, रातो सारी चाहिँ लगाउ है भन्ने ।

    यसरी चार प्रकारको चिन्तन भएका पुरुषहरु पाइन्छन् । अहिले सामाजिक संजाल फेसबुकमै पनि दुईखाले पुरुषहरु देखिन्छन् । पहिलो– आफू बिवाहित हो कि अबिवाहित भन्ने जानकारी दिन नै हिच्किचाउने, श्रीमतीको फोटो सार्वजनिक नगर्ने । दोस्रो– श्रीमतीलाई खुशी राख्न बेलाबखत फोटो सार्वजनिक गर्ने ।

    कसलाई कस्तो सहज लाग्छ त्यही गर्ने हो र गरिरहेका छन् । कति मानिसहरु वैवाहिक जीवनलाई नै विसर्जन गरेर एकल बसेका हुन्छन् । कोही पनि ब्यक्तिले आफ्नो हुँदाहुँदैको दाम्पत्य जीवन छुटाएर एकल हुन चाहेको हुँदैनन् । तर, कोही पनि व्यक्ति रहरले बेघर हुँदैनन् ।

    गोडा धोएरै बसेका पनि कतिको दाम्पत्य जीवन टुक्रिएको देखिन्छ । गोडा नधोएका कतिको जीवन सरल र राम्रो पनि देखिन्छ । यसर्थ, श्रीमानको गोडाको पानी नखाँदैमा दाम्पत्य सम्वन्धमा केही हानि होला भन्ने लाग्दैन ।

    हामी यो पितृसत्तात्मक समाजमा महिलामाथि मात्र हिंसा हुन्छ र त्यो पनि पुरुषले नै गर्छन् भन्ने मानसिकतामा छौं । यहाँ महिलाहरु हिंसामा परे भने समाचार बन्छ, तर पुरुषहरु पनि महिला हिंसामा परेका थुप्रै घटना भेटिन्छन् । तर ती सार्वजनिक हुँदैनन् ।

    किनकि श्रीमतीको दबदबा सहेर बस्ने श्रीमानलाई समाजले हेयका दृष्टिले हेर्छ । जोइटिङ्ग्रेको संज्ञा दिन्छ । तर, श्रीमानको दबदबा सहेर बस्ने श्रीमतीलाई ‘पोइटिङ्ग्रे’ भनिँदैन । बरु, संस्कारी बुहारी, संस्कारी श्रीमती भनिन्छ ।

    हामीले एकाइसौं सताब्दीको युगलाई समानताको युग बनाउनै पर्छ । यो पुरुषले महिलालाई र महिलाले पुरुषलाई हेप्ने, हिंसा गर्ने युग होइन ।

    तसर्थ एकले अर्कालाई देखावटी मात्र होइन, पर्वमा मात्र होइन, सधैंभरी सम्मान गर्न सकौं । कसैलाई देखाउनको लागि आडम्बरी होइन, हृदयबाट नै प्रेम गरौं । अनि बन्ने छ समतामूलक समाज ।

  • तीजको अघिल्लो दिन आज दर खाइँदै

    तीजको अघिल्लो दिन आज दर खाइँदै

    काठमाडौं । नेपाली हिन्दू महिलाको मुख्य पर्व तीजको अघिल्लो दिन आज, दर खाएर मनाइँदैछ । भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ ।

    विभिन्न मीठा मिठा परिकारका साथ चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

    दर खाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ ।

    पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने पछिल्लो समय एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

    हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ ।

    परापूर्वकालमा देवी पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै भोलि ब्रत बस्ने चलन रहेको छ ।

    चिकित्सक र स्वास्थ्यकर्मीले भने आफ्नो स्वास्थ्यको ख्याल गरेर मात्र ब्रत वस्न अनुरोध गर्छन् । निरहार व्रत वस्ता स्वास्थ्यमा गम्भीर समस्या आउनसक्ने उनीहरुको भनाइ रहने गरेको छ ।

  • सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

    सेलेव्रिटी तीज : घरमै दर खानेदेखि भर्चुअल गेट-टुगेदरसम्म

    काठमाडौं । कोरोनाभाइरस महामारीले चाडपर्व मनाउने स्टाइलमा परिवर्तन आएको छ । भीडभाड गर्ने, दर खाने, नाचगान गर्नेजस्ता विगतका शैलीमा यसपटक बदलाव देखिएको छ । सीमित संख्यामा उपस्थित भएर नाचगान गर्नेदेखि भर्चुअलरुपमा तीज मनाउने ट्रेन्ड कोरोना महामारीपछि देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले भीडभाड नगरी तीज मनाउन आग्रह गरेको छ । महामारीले गर्दा पर्व मनाउने विगतको शैली खलबलिएको छ । कुनैबेला नेपाली फिल्म र संगीत क्षेत्रमा धुमधामपूर्वक तीज मनाउने, दर खाने र नाचगान गर्ने कार्यक्रम आयोजना हुन्थे । तीजमा फिल्म रिलिज गर्न निर्माताहरुबीच होड हुन्थ्यो । तर, महामारीले गर्दा यसबेला तीज सुस्ताएको छ ।

    फिल्म क्षेत्रको यसवर्षको तीज भर्चुअलदेखि सीमित आयाममा खुम्चिएको छ । कुनैबेला आफ्नै घर र ब्यांक्वेटमा तीज कार्यक्रम आयोजना गर्ने सेलेव्रिटीसँग अहिले कुनै योजना छैन । विगतका तीजमा करिश्माको गोदावरीस्थित घरमा भव्य जमघट हुन्थ्यो । सेलेव्रिटी भेला भएर दर खान्थे र हर्षोल्लास मनाउँथे । यसपटक करिश्मासँग न त तीजको योजना छ न त तीज सेलिव्रेसन गर्ने परिस्थिती पनि ।

    नेपाल प्रेससँग कुरा गर्दै कलाकारले आफूहरुको तीज योजना सामान्य रहेको र घरपरिवारमै सीमित भएर मनाउने बताएका छन् । कतिपयले भर्चुअलरुपमा मनाउने योजना बुनेका छन् । कोरोना कहरमा तीजको रौनकतमा उत्साह आउन नदिन कलाकारले सानोतिनो गेट-टुगेदर पनि बोलाएका छन् । तीज मनाउनेबारे केही सेलेव्रिटीले नेपाल प्रेससँग कुरा गरेका छन् ।

    करिश्मा मानन्धर

    यसअघि तीजमा करिश्माले गोदावरीस्थित घरमा कलाकार र नजिकका साथीहरुलाई बोलाएर तीज मनाउँथिन् । प्रायः पर्वमा उनको घरमा कलाकारको जमघट हुन्थ्यो । यसवर्ष भने उनले तीज मनाउने कुनै योजना बनाएकी छैनन् । भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तयारीमा करिश्मा जुटेकी छिन् । बिजनेसको जिम्मा छोरी कविता र घरको काम पति विनोदलाई दिएर करिश्मा अहिले परीक्षा तयारीमा छिन् । तीजको दिनमा आफू निकट साथीभाइलाई बोलाउने र दर खाने उनको तयारी छ ।

    दीपाश्री निरौला

    महामारीको कारण घरपरिवारसँगै तीज मनाउने दीपाश्रीको योजना छ । विराटनगरबाट उनका बुवा र दिदी काठमाडौं आइपुगेकाले यसपटक घरमै रहेर मनाउने दीपाको तयारी छ । नेपाल प्रेससँग कुरा गर्दै उनले यसपाली भर्चुअल माध्यमबाट तीज मनाउने बताइन् । ‘पशुपतिनाथको दर्शन गरेर तीज मनाउने योजना गरिरहेकी छु । पहिला तीज आउनु अगाडि नै दर खाने कार्यक्रम आयोजना गरिन्थ्यो भने यस वर्ष भर्चुअलमा सीमित हुनेछौं’ दीपाश्रीले बताइन् ।

    वर्षा शिवाकोटी

    कोरोना महामारीले गर्दा वर्षाले तीजको कुनै योजना बनाएकी छैनन् । घरमा बसेर आफन्तसँग भेट्घाट गरेर तीज मनाउने उनको योजना छ । ‘विगतको जस्तो भेटघाट गर्ने समय पनि छैन । त्यसकारण कतै नगई परिवारसँग बसेर सेलिब्रेट गर्ने योजना रहेको छ’ उनले भनिन् ।

    टीका प्रसाईं

    तीज मनाउने तयारी नगरे पनि परिवारसँग दर खाने, व्रत बस्ने र आफन्तसँग भेटघाट गर्ने तयारीमा गायिका टीका छिन् । ‘धेरैजनासँग भेटघाट गर्ने योजना छैन । कोरोना महामारीले गर्दा टाढा जान सक्ने अवस्था पनि छैन । जो जहाँ छौं त्यही बसेर भर्चुअल माध्यमबाट कुराकानी गरेर तीज मनाउने योजना छ’ नेपाल प्रेससँग उनले भनिन् ।

  • यसपालिको तीज घरमै परिवारसँग मनाउन एभरेष्ट बैंकको आग्रह

    यसपालिको तीज घरमै परिवारसँग मनाउन एभरेष्ट बैंकको आग्रह

    काठमाडौं । तीजको अवसरलाई मध्यानजर गर्दै एभरेष्ट बैंकले यस वर्षको तीज घरमै परिवारसँग मनाउन आग्रह गरेको छ ।

    कोभिडका कारण अहिलेको परिस्थिति जोखिमपुर्ण रहेकाले घरपरिवारसँगै सुरक्षितरुपमा चाडबाड मनाउन बैंकले बिज्ञापन मार्फत आग्रह गरेको हो ।

    बैंकले आफ्नो १०५ शाखा सञ्जाल मार्फत १२ लाख ग्राहकलाई बैंकिङ सेवा उपलव्ध गराउदै आएको छ । यसका साथै १३७ एटीम सहित विश्वव्यापी नेटवर्क मार्फत डिजिटल बैंकिङ सेवा समेत प्रदान गर्दै आएको छ ।

    नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत बैंकले सेवा दिदै आइरहेको छ ।

  • तीजको सानिमा बैंकको महिला लक्षित योजना

    तीजको सानिमा बैंकको महिला लक्षित योजना

    काठमाडौं । सानिमा बैंकले महिला ग्राहकलाई लक्षित गर्दै तिज विशेष योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत नारी बचत खाता खोल्दा नि:शुल्क डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ रूपैयाँ सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

    यसका साथै पहिलो कारोबारमा १०५ वा रु ५०० सम्मको ‘क्यास ब्याक’ प्रदान गरिनेछ। यसका अतिरिक्त ५०० रूपैयाँ बराबरको एनसेल सिमकार्ड उपलब्ध गराउनुका साथै अमेरिकी डलर ई-कार्ड नि:शुल्क जारी समेत बैंकले जनाएको छ । भाद्र ३१ गतेसम्म सानिमा नारी बचत खाता खोल्ने महिला ग्राहकले उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

    सानिमा बैंकले प्रत्येक नारी बचत खाता बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी सामाजिक कोषमा रकम जम्मा गरी सामाजिक कार्यमा खर्च गर्दै आएको छ । उक्त कोष अन्तर्गत हाल पाटन अस्पतालबाट निम्न आर्थिक अवस्था भएका महिलाहरूका उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।

    सानिमा बैंकको मुलुकभरमा १०४ वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।