Tag: ताप्लेजुङ

  • ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा कुखुराको मासुको मूल्य वृद्धि

    ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा कुखुराको मासुको मूल्य वृद्धि

    ताप्लेजुङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो ।

    फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम ४८० रुपैया पुगेकाे छ  । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।

    इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको र हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको  फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले  बताए ।  जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको व्यवसायीको भनाइ छ । अहिले जिल्लामा लोकल कुखुराको मासु प्रतिकिलोग्राम  ७०० रुपैयाँ ले बिक्री गर्ने गरिएको छ ।

    फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा ब्राेइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन् । सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन् । सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ ।  मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार ब्राेइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन् ।

  • ताप्लेजुङ एमालेमा निर्वाचनः योगेश समर्थित उम्मेदवारलाई पराजित गर्दै थेबे बने अध्यक्ष

    ताप्लेजुङ एमालेमा निर्वाचनः योगेश समर्थित उम्मेदवारलाई पराजित गर्दै थेबे बने अध्यक्ष

    ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको निर्वाचनबाट अध्यक्षमा भुपेन्द्र थेबे निर्वाचित भएका छन् । सहमतिको प्रयास असफल भएपछि थेबे र बलबहादुर साम्सोहाङबीच चुनावी प्रतिस्पर्धा भएको थियो ।

    अध्यक्षमा निर्वाचित थेबेले ३२९ मत प्राप्त गरेका छन् भने साम्सोहाङ २७३ मतमा रोकिए । त्यस्तै उपाध्यक्षमा सन्तोष खतिवडाले ३३१ मत पाएर निर्वाचित हुँदा,योगेशका सहोदर दाइ मात्रिका भट्टराई २४६ मतमा रोकिए । सचिवमा केशरले २९६ मत पाएर निर्वाचित हुँदा थेबे टिमका मंगलसिंह मादेन १६ मतले पराजित भए ।

    एमाले केन्द्रीय कमिटीका सचिव योगेश भट्टराईको गृहजिल्ला ताप्लेजुङमा निवर्तमान जिल्ला कमिटीका अध्यक्ष साम्सोहाङलाई भट्टराईको समर्थन थियो भने थेबेलाई पासाङ शेर्पा, तिलकुमार मेन्याङ्बो लगायतका नेताको समर्थन थियो ।

    प्यानल नै बनाएर भएको निर्वाचनमा उपाध्यक्ष सन्तोष खतिवडा र उपसचिव दिपेन्द्र पोमुले थेबे टिमबाट जितेका छन् । साम्सोहाङको टिमका सचिव केशर मेन्याङ्बो र उपसचिव मणि पोमु निर्वाचित भएका छन् ।

    अध्यक्षमा निर्वाचित थेबे संविधासभाका सदस्य हुन् । गत वर्ष नेकपा विभाजनपछि अध्यक्ष बलवहादुर साम्सोहाङ प्रचण्ड–माधव समूहमा उभिएपछि थेबेलाई केपी ओली पक्षले अध्यक्ष बनाएको थियो ।

    पछिल्लो पटक १० बुँदे सहमतिपछि बलवहादुरलाई संयोजक र थेबेलाई सहसंयोजक बनाएर जिल्ला अधिवेशन आयोजक कमिटी गठन भएको थियो ।

    विगतमा माधव नेपाल पक्षको एकल वर्चश्व रहेको ताप्लेजुङमा तत्कालीन नेकपाको अन्तरविरोध उत्कर्षमा पुगेका बेला तिलकुमार मेन्याङ्बो,पासाङ शेर्पा,टंक आङ्बोहाङ, डम्बर तुम्बाहम्फे लगायतका नेताहरुले केपी ओली पक्षलाई साथ दिएपछि १० बुँदेबाट एमालेमा बसेको समूह कमजोर बनेको हो ।

  • योगेशको गृहजिल्लाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

    योगेशको गृहजिल्लाबाट १३ जना महाधिवेशन प्रतिनिधि चयन

    काठमाडौं। नेपाकपा (एमाले) को १० औं महाधिवेशनका लागि ताप्लेजुङ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् ।

    योगेश भट्टराईको गृहजिल्ला समेत रहेको ताप्लेजुङ्बाट प्रतिनिधि चयन हुनेहरुमा बलबहादुर साम्सोहाङ, भूपेन्द्र थेबे, डम्बरध्वज तुम्बाहाङफे,गोपाल थोप्रा, छत्रपति प्याकुरेल , ओङदी शेर्पा, दीपेन पोमुर आशिस केदेम रहेका छन् ।

    त्यस्तै महिला तर्फबाट उर्मिला थेबे, भीमादेबी ओझा, मीनाकुमारी केदेम, टीकादेबी दाहाल रहेका छन् भने दलित तर्फबाट मनकुमार नेपाली रहेका छन्।

  • ताप्लेजुङको ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व (सूचीसहित)

    ताप्लेजुङको ७ स्थानीय तहमा एमालेको सर्वसम्मत नेतृत्व (सूचीसहित)

    ताप्लेजुङ । ताप्लेजुङको ७ स्थानीय तहमा नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । हालै सम्पन्न पालिका अधिवेशनबाट एक नगरपालिका र ६ वटा गाउँपालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

    यी हुन् ताप्लेजुङको पालिकाहरूमा एमालेका नयाँ अध्यक्ष :

    १. फुङलिङ नगरपालिका : भरत गुरुङ

    २. फक्तालुङ गाउँपालिका : सरोज एभेङ

    ३. सिरिजङ्घा गाउँपालिका : सन्तोष चम्लिङ

    ४. मिक्वाखोला गाउँपालिका : दिवस लिवाङ

    ५. आठराइ त्रिवेणी गाउँपालिका : सूर्यमान याक्सो

    ६. पाथिभरा याङवरक गाउँपालिका : विक्रम मेन्याङबो

    ७. मैवाखोला गाउँपालिका : लालकाजी वनेम

  • ताप्लेजुङमा जिप दुर्घटना, १८ जना घाइते

    ताप्लेजुङमा जिप दुर्घटना, १८ जना घाइते

    ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका-८ दोखुको ल्याङ्बा सडक खण्डमा मे. १ ज २०५६ नम्बरको जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेमध्ये एक गर्भवतीसहित ९ जना गम्भीर छन् ।

    सरदमुकाम फुङ्लिङदेखि सिरिजङ्घा गाउँपालिका केन्द्र तेल्लोकतर्फ गइरहेको जिप आज दिउँसो ब्रेकफेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता इन्सपेक्टर राकेश यादवका अनुसार घाइते हुनेमा बालबालिकाहरू पनि छन् । सबै घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको र गम्भीर घाइतेहरूलाई जिल्लाबाहिर रेफर गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।

    क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • तेल्लोकमा दश शय्या अस्पताल बन्दै

    तेल्लोकमा दश शय्या अस्पताल बन्दै

    फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा बन्न लागेको अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिका केन्द्र तेल्लोकमा बन्ने दश शय्या क्षमताको आधारभूत अस्पतालका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु गरिएको हो ।

    आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सोवर्ण/हिमालयन जेभीसँग ठेक्का सम्झौता भएसँगै निर्माणको कार्य सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार केही दिन अघिदेखि निर्माण कार्य सुरु भएकामा हालसम्म भवन निर्माण गर्ने ठाउँको जग्गा सम्याउने काम करिब सम्पन्न भएको छ । निर्माण कम्पनीले कामलाई निरन्तरता दिइरहेका पनि घिमिरेले बताए ।

    दश शय्याको अस्पताल भवनसहित चिकित्सक, नर्सिङ आवास, चमेनागृह (क्यान्टिन), शवगृह, पार्किङलगायतका संरचना निर्माण हुने गाउँपालिकाले जनाएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेको ग्रामीण क्षेत्रका नागरिकलाई सहज सेवा पुर्‍याउने उद्देश्यले आधारभूत अस्पताल निर्माणलाई प्राथमिकता दिएर जुटेको गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङले बताए । अस्पतालले सदरमुकामबाट टाढा रहेका याम्फुदिन, मामाङ्खे, खेबाङ, सुरुम्खिमलगायत पूर्व क्षेत्रका बासिन्दालाई सुविधा पुग्ने अध्यक्ष गुरुङको भनाइ छ ।

    उक्त अस्पताल भवनसहितका संरचना रु १५ करोड ८५ लाख बराबरको लागतमा निर्माण हुने पनि गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु १० करोड ८६ लाख र बाँकी गाउँपालिकाको बजेट रहेको छ । अस्पतालका संरचना १३ रोपनी क्षेत्रफल बराबरमा निर्माण हुने र सो जग्गा तेल्लोकका स्थानीय दामोदर भट्टराई र उहाँका परिवारले निःशुल्क उपलब्ध गराएका हुन् ।

    रासस

  • कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई गृहजिल्लाबाट ६ लाख प्राेत्साहन पुरस्कार

    कमेडी च्याम्पियनका प्रतिस्पर्धी भरतमणिलाई गृहजिल्लाबाट ६ लाख प्राेत्साहन पुरस्कार

    काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भतरमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको छ । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश भट्टराईको अग्रसरता र संयोजनमा पुरस्कार दिइने भएको हो ।

    भट्टराईले व्यक्तिगत रुपमा १ लाख रुपैयाँ, ताप्लेजुङ सरोकार समाजले २ लाख, ताप्लेजुङ सरोकार केन्द्रले २ लाख तथा रेडियो तमोरको तर्फबाट १ लाख रुपैयाँ गरी ६ लाखको पुरस्कार घोषणा गरिएको हो । पुरस्कार पौडेलको च्याम्पियन यात्रा सकिएपछि प्रदान गरिनेछ ।

    ताप्लेजुङका कलाकार पौडेल अहिले कमेडी च्याम्पियनको शीर्ष ६ मा प्रतिस्पर्धा गरिरहेका छन् । प्रस्तुतिका आधारमा उनी च्याम्पियनको यस सिजनमा सबैभन्दा उत्कृष्ट देखिएका छन् । दुई साताअघिकाे एपिसाेडमा भरतमणिले भट्टराईकै पनि क्यारिकेचर गरेका थिए । जिल्लाको उदाउँदो कलाकारलाई प्रोत्साहनस्वरुप पुरस्कार घोषणा गरिएको सांसद भट्टराईले बताए ।

    उनकै संयोजनमा काठमाडौंमा उपलब्ध ताप्लेजुङका संघ संस्थाका प्रतिनिधिहरुको भेलामा छलफल भएपछि पुरस्कार दिने निर्णय गरिएको हो । कलाकारिताको सम्मान गर्न सकियो भने संस्कृतिको सम्मान हुने धारणा राख्दै नेता भट्टराईले नव प्रतिभालाई अघि बढ्ने वातावरण बनाउन सदैव अग्रसर हुने बताए ।

  • दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

    दोभानको आगलागी पीडित परिवारलाई ५०-५० हजार दिने मुख्यमन्त्री राईको घोषणा

    विराटनगर । प्रदेश १ सरकारले ताप्लेजुङको मेरिङदेन-३ दोभानका आगलागी पीडितलाई प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने भएको छ । बिहीबार आगलागी पीडितहरूको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले राहतको घोषणा गरेका हुन् ।

    आगलागीले खरानी भएको बस्तीमा पुगेर प्रदेश नं. १ सरकारका मुख्यमन्त्री राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेजसमेत घोषणा गरेका हुन् ।

    बिहीबार नै प्रदेश सरकारको पक्षबाट मुख्यमन्त्री राईले आगलागी पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, २५० केजी दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

    मुख्यमन्त्री राईले पीडितहरूको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने बचन दिएका थिए । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताएका थिए ।

    आगलागीमा परी घाइते भएका मेरिङदेन-३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको पहलमा थप उपचारका लागि काठमाडौं पठाइएको छ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रूपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको थियो ।

    आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको थियो । नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा एक करोड बराबरको क्षति भएको आङ्देम्बेले जानकारी दिएका छन् । मङ्गलबार भएको आगलागीबाट ४९ वटा घर जलेर नष्ट भएका थिए ।

  • राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

    राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन अभियान

    फुङ्लिङ । फागुन अन्तिमदेखि ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन अभियान सञ्चालन गरिने भएको छ ।

    ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार अहिलेसम्म एक हजार ३५२ पुरुष र एक हजार १० महिला गरी दुई हजार ३६२ ले राष्ट्रिय परिचयपत्रको विवरण भरेका छन् । फागुन मसान्तबाट एउटा पालिकाका बढीमा १५ दिन बस्ने गरी राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य शुरु गर्ने कार्ययोजना तयार भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णुहरि उपाध्यायले बताए । विवरण सङ्कलन कार्य प्रत्येक वडामा गरिने छ ।

    विभागका अनुसार वडाभित्रको जनसङ्ख्याको आकारअनुसार एउटा वडामा १ देखि बढीमा ६ वटासम्म विवरण सङ्कलन स्टेशन तोकिने भएको छ । एउटा स्टेशनबाट दैनिक न्यूनतम ४० सम्मको विवरण सङ्कलन गर्ने विभागको तयारी रहेको निर्देशक उपाध्यायले बताए । वडास्तरमा दर्ता अभियान सञ्चालन, रुजु र राष्ट्रिय परिचय नम्बर जारी र केन्द्रीय प्रणालीमा डाटा अपलोड अबका कार्य हुनेसमेत विभागले जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधबार ताप्लेजुङ सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृतसँग विवरण सङ्कलन कार्यमा सहयोगसमेत माग गरेको छ ।

    कार्यक्रममा सबै स्थानीय तहका प्रमुखले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन कार्यमा स्थानीय तहबाट सक्दो सहयोग पुग्ने विश्वास दिलाए । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले राष्ट्रिय महत्वको महान पर्वझैँ भएकाले यो अभियान सफल बनाउनु स्थानीय तहको प्रमुख उपलब्धि हुने बताए ।

    परिचयपत्रको विवरण सङ्कलनका लागि सरकारले अर्को कार्यक्रम र बजेट खर्च नगर्ने स्पष्ट पार्दै यही एउटै मौकामा आफ्नो विवरण भर्न सबैलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले आग्रह गरे । सङ्कलन गरिएका नागरिकका विवरण निर्वाचन प्रयोजनका लागि र मतदाता नामावली र परिचयपत्रलाई मतदाता परिचयपत्रको रुपमा प्रयोग गर्न सकिने बनाउने तयारी भइरहेको महानिर्देशक बस्नेतले बताए ।

    रासस