Tag: तनहुँ

  • विवादित गाउँपालिका भवन उद्‍घाटन गर्न तनहुँ जाँदै प्रधानमन्त्री देउवा

    विवादित गाउँपालिका भवन उद्‍घाटन गर्न तनहुँ जाँदै प्रधानमन्त्री देउवा

    तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन् ।

    बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । देउवा स्याङजाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए ।

    ‘तनहुँ आएपछि सुरुमा प्रधानमन्त्रीज्यूले तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम छ’, उनले भने । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

    प्रधानमन्त्री देउवाले आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने गैरेले जानकारी दिए । बिहीबार नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् ।

    प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालले भने बहिष्कार गर्ने भएको छ । सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए । गाउँपालिकाको केन्द्र परिवर्तनको अनुमति समेत नलिएर भवन बनाइएको उनले उल्लेख गरे ।

    २०७६ असोज दोस्रो साता भवन शिलान्यासको बखतमा तत्कालीन नेकपाले अवरोध गरेको थियो । भवन शिलान्यास गर्न आएका नेपाली कांग्रेसका नेता डा।मिनेन्द्र रिजालमाथि आक्रमण गरिएको थियो । विवाद र अवरोधकैबीच शिलन्यास गरिएको भवन प्रधानमन्त्री देउवाले उद्घाटन गर्दैछन् ।

  • मन्दिर नजिकै बेवारिसे शव फेला

    काठमाडौं । तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

    अन्दाजी ३५/३६ वर्ष उमेरका व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । मन्दिर नजिकैको प्रतीक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

    शव दमौली अस्पतालमा राखिएको छ । ‘मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ’, उनले भने ।

  • तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

    तनहुँका स्थानीय तहको बेरुजु ३४ करोड

    दमौली । तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ मा ३४ करोड रूपैयाँभन्दा बढी बजेट अनियमित तवरले खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका दश स्थानीय तहले ३४ करोड ४९ लाख एक हजार अनुशासनविपरीत खर्च गरेको उल्लेख छ । दश स्थानीय तहको १२ अर्ब ३० करोड ३३ लाख ८७ हजार रूपैयाँको लेखापरीक्षण गर्दा २.८० प्रतिशत बेरुजु देखिएको हो ।

    व्यास नगरपालिकामा दुई अर्ब ६४ करोड तीन लाख ८७ हजारको लेखापरीक्षण गर्दा १३ करोड पाँच लाख १८ हजार बेरुजु देखिएको छ । आँबुखैरेनी गाउँपालिकामा ९५ करोड ४६ लाख ४७ हजारको लेखापरीक्षण गर्दा दुई करोड ४७ लाख ३६ हजार, बन्दीपुर गाउँपालिकामा ८५ करोड १३ लाख ४४ हजारको लेखापरीक्षण गर्दा दुई करोड २१ लाख २७ हजार, भानु नगरपालिकामा एक अर्ब ५७ करोड ९७ लाखको परीक्षण गर्दा ७६ लाख ८८ हजार बेरुजु देखिएको छ ।

    शुक्लागण्डकी नगरपालिकामा एक अर्ब ८० करोड ५० लाख छ हजारको लेखापरीक्षण गर्दा सात करोड १३ लाख ३५ हजार, ऋषिङ गाउँपालिकामा ९९ करोड पाँच लाख ६७ हजारको लेखापरीक्षण गर्दा चार करोड ३४ लाख ७९ हजार र घिरिङ गाउँपालिकामा ७१ करोड ८५ लाख ३८ हजारको लेखापरीक्षण गर्दा दुई करोड ८० लाख आठ हजार बेरुजु देखिएको छ ।

    यस्तै म्याग्दे गाउँपालिकामा ८५ करोड १४ लाख ६२ हजारको लेखापरीक्षण गर्दा ३८ लाख १७ हजार, देवघाट गाउँपालिकामा ७७ करोड ५५ लाख ९० हजारको लेखापरीक्षण गर्दा ५५ लाख ९८ हजार र भिमाद नगरपालिकामा एक अर्ब १३ करोड ६१ लाख ४६ हजारको लेखापरीक्षण गर्दा ७५ लाख ९५ हजार बेरुजु देखिएको छ ।

    व्यास नगरपालिकाले उक्त आर्थिक वर्षमा एक अर्ब ३० करोड ६४ लाख १२ हजार, आँबुखैरेनी गाउँपालिकाले ४५ करोड ६५ लाख, बन्दिपुर गाउँपालिकाले ३८ करोड ४३ लाख दुई हजार, भानु नगरपालिकाले ७४ करोड २६ लाख, शुक्लागण्डकी नगरपालिकाले ८४ करोड १४ लाख चार हजार, ऋषिङ गाउँपालिकाले ४७ करोड ८० लाख ९८ हजार, घिरिङ गाउँपालिकाले ३४ करोड ८४ लाख ६५ हजार, म्याग्दे गाउँपालिकाले ४० करोड २७ लाख नौ हजार, देवघाट गाउँपालिकाले ३५ करोड ९३ लाख १४ हजार र भिमाद नगरपालिकाले ५४ करोड ४५ लाख ९० हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख छ ।

    स्थानीय तहले पूर्वतयारी विनाका आयोजना बजेटमा समावेश गरेको, आयोजनाको प्राथमिकीकरण गरी आयोजना बैंक बनाउने कार्य प्रभावकारी नभएको, कानूनले तोकेको सीमा नाघी रकमान्तर गरेको लगायतका सुधार गर्नुपर्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    आव २०७५/७६ मा दश स्थानीय तहको बेरुजु ३८ करोड २२ लाख रहेको थियो । उक्त आवभन्दा २०७६/७७ मा बेरुजु रकम घटेको छ तर आव २०७४/५ मा भने जिल्लाका स्थानीय तहको बेरुजु रु १५ करोड मात्रै थियो । विगत दुई आवमा जिल्लाका स्थानीय तहमा बेरुजु रकम बढ्दो अवस्थामा छ ।

    रासस

  • यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

    यी अपवाद सांसद जो प्रतिनिधिसभा विघटनपछि फर्किए आफ्नै खेतबारीमा

    ‘अहो तपाईं, यस्तो अवस्थामा !’ शीरदेखि पाउसम्म नजर डुलाएपछि उनका मतदाताले जिल खाँदै जिब्रो टोके ।

    पहिले सुटेडबुटेडमा ठाँटिने आफ्ना जनप्रतिनिधि यतिबेला मैलो सर्ट, झन् मैलो टोपी र थोत्रो हाफ पेन्टमा उभिएका छन्, आफ्नै अघिल्तिर । हातमा खुर्पा लिएर बारीतिर लम्किरहेका उनलाई मुस्किलले चिन्न सकिन्थ्यो ।

    ‘माननीयले खुर्पा भिरेको सुहाएन,’ भोटरले अनुहार खुम्च्याउँदै भने, ‘मन्त्री हुनुपर्ने मान्छे । मन्त्रालय धाएर प्रधानमन्त्री भेट्नुपर्ने बेला कहाँ खेतबारीतिर बरालिनुभएको ?’

    खेतबारी गर्दा जम्काभेटहरूमा यी प्रश्नले केदार सिग्देललाई घेरिरहे । यो उनका मतदाताको प्रश्न मात्र नभई सद्भाव पनि थियो । त्यसैले उनले मुस्कुराउँदै धन्यवाद दिए ।

    ०००

    प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि सिग्देल पदमुक्त भए । कतिपय सांसद अवसरको दौडधुपमा काठमाडौं ढुकेर बसे । तर उनी बसेनन्, सोझै तनहुँ हुँइकिए । आफ्नो पुर्ख्यौली घर पुगे, भिमाद नगरपालिका-१ को बाेमा, किमुमा ।

    घरमा बस्दा उनको आँखा रित्तो गोठमा पर्‍यो । कानमा वर्षौंअघि कराएका गाईवस्तुको आवाज गुन्जिए । मन चस्स भयो । घर वरिपरीका बारी नियाले । जमिन झाडीहरूले छोपिएका थिए । खेतमा ओर्लिए । माटोहरू चट्टानजस्तै साह्रा भइसकेका थिए । उनी चिन्तित हुँदै सोचे, ‘सेवामा लाग्दालाग्दै पेशा छाडेछु ।’

    २० वर्षअघिसम्म खेतमा लहलह धान झुलेका हुन्थे । अन्न फलेका हुन्थे । जब केदार २०६५ मा एमाले जिल्ला अध्यक्ष बने, पूर्णकालीन राजनीतिले उनको किसानी छवि बदल्यो । सदरमुकाम बसेर पार्टी र सामाजिक काममा व्यस्त भए । त्यसपछि फर्किएर खेतबारीको काम गर्ने मौका मिलेन पनि । ०७४ मा प्रतिनिधिसभाको सांसद भए । त्यसपछि काठमाडौंमै उनको व्यस्तता चुलियो ।

    लामो अवधिपछिको यो फुर्सदमा गाउँ बसेपछि उनले पुराना दिनहरू सम्झिए । कुटो, कोदालो बोकेर डल्ला फोरेको सम्झिए । ‘अब फेरि यी बाँझा जमिनलाई उर्बर बनाउनुपर्‍यो,’ उनले निर्णय गरे ।

    तर गर्ने कसरी ? मरूभूमि बनिसकेका जमिन पल्टाउन चट्टान फुटाउनुसरी थियो ।

    ‘खाडी भासिनेहरूले योभन्दा कठिन काम गर्छन् । यति त सकिन्छ,’ उनले अड्डी कसे ।

    घरका ३/४ जना जुटाएर उनी झाडी उखेल्नेतिर गए । उखेलेका झाडीमा आगो लगाएर पोले । त्यसपछि जोत्ने र खन्ने काम गरे । केहीदिनको अथक मेहनतले जमिन योग्य भयो । मकैका बीउ छरे ।

    सुक्नै लागेका सुन्तला र कागतीका बोटहरू गोडमेल गरे । त्यतिले मात्र पुगेन । केही नयाँ बिरुवा पनि रोप्नु थियो । कृषि र वन कार्यालयमा सम्पर्क गरेर फलफूलका डेढ सय बिरुवा मगाए । र धमाधम काम थाले ।

    रित्ता गोठमा गाईवस्तु थपे । गोठलाई मर्मत गरे । र पूर्णकालीन राजनीतिमा होमिएका केदार अहिले किसानको भेषमा खेतबारीमा दौडिरहेका छन् ।

    यी किसानसँग आफ्नो भोटरले चाहेजस्तो मन्त्री बन्ने उस्तो रहर छैन । बरु ‘खेतबारीमा किन’ भन्ने प्रश्नमा उनको जवाफ छ, ‘म यही श्रमबाटै हुर्किएको हुँ । मलाई उत्पादनसँग जोडिनु छ । मन्त्री बन्न मन्त्रालय घुमेर भन्दा श्रम गरेर मैले क्षमता देखाउने पो हो ।’

    सुरु सुरुमा आश्चर्य मान्नेहरू अहिले उनका किसानी कर्मबाट प्रभावित छन् । भन्छन्- तपाईंले त प्रेरणा दिनुभयो ।

    ०००

    उनी ६० वर्षका भए । कृषि नगरेको लामो समयको ग्याप । सुरुका दिनहरूमा निकै गाह्रो भयो । जिउ दुख्यो । ‘राजनीतिमा शारीरिक भन्दा मानसिक श्रम बढी हुन्थ्यो । तर किसानले न घाम भन्न पाउँछ न वर्खा । म डटेरै लागेँ,’ केदार सुनाउँछन् ।

    १० रोपनी बारी, १० रोपनी खेत र पाखो घाँसको लागि १५ रोपनी खरबारी छ उनको । बारीमा मकै, तोरी, कोदो, मास उब्जनी हुन्छ । उनले अहिले भएको जमिनको आधामात्र ठाउँमा काम गरेका छन् । अब पूरै जमिनमा गर्ने सोच बनाएका छन् ।

    केदारलाई अहिले काम गर्न पनि बानी परिसक्यो । जिउ दुख्न पनि छाडिसक्यो । घाममा आङहरू पोल्न छाडिसके । बरु बाँझो जमिन देख्दा पोलेका मन अहिले शीतल भए । झनै शितल त बिर्सिएका कामहरूमा अभ्यस्त हुँदा भए । खेतबारीको काममा डोको र नाम्लो चाहिन्थ्यो । लकडाउनका कारण किन्ने अवस्था थिएन । साथीभाइसँग डोका बुन्न, नाम्लो बुन्न र चोया निकाल्न सिके ।

    कागती र सुन्तलाहरू कसरी रोप्ने, ज्ञान थिएन । कृषिविज्ञसँग सोधेर कसरी रोप्ने, कति दुरी र गहिराइमा रोप्ने भन्नेबारे ज्ञान लिए । आधुनिक कृषि प्रणाली अबलम्बन गर्न सिके ।

    केदारको ध्यान सार्वजनिक चौतारा र बगैंचामा पनि पुग्यो । गाउँमा पहिला सार्वजनिक ठाउँमा आँप रोप्ने चलन थियो । त्यसरी रोपिएका बगैंचा नासिएको र केही बोट रोग लागेर बिग्रिएको देखे । लगत्तै टोल छिमेकमा पनि साथी भाइ जम्मा गरे ।

    ‘यसको संरक्षण गनुपर्छ, बोट बिरुवा जोगाउनुपर्छ, सार्वजनिक सम्पत्तिको पनि रक्षा गर्नुपर्छ’ भनेर छलफल चलाएपछि ती काममा पनि उनी जोसिएका छन् ।

    ०००

    योसँगै राजनीति र सामाजिक काममा पनि सक्रियता छ उनको । कोभिडको रोकथामका लागि आफ्नो तर्फबाट भूमिका खेलेकै छन् ।

    ‘स्वास्थ्यसामग्री जुटाउन जिल्लामा रहेका सबै स्वास्थ्य संस्था र स्थानीय तहसँग, कार्यकारीसँग समन्वय गरेर पहल गरेको छु । कोभिड नियन्त्रणका लागि सक्दो भूमिका खेलेको छु,’ उनी भन्छन् ।

    नेकपा एमालेका जिल्ला अध्यक्ष पनि हुन् केदार । पार्टीका संगठनात्मक काम टेलिफोन र भर्चुअलबाट गरिरहेका छन् ।

    प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा चलिरहेको छ । यदि संसद पुनःस्थापना भयो र नियमित सम्हाल्नुपर्ने काम भयो भने के गर्ने ?

    त्यसबारे नसोचेका हैनन् ।

    तर फेरिएको उनको दैनिकीले नयाँ पाठ सिकाएको छ । बिहान पाँच बजे उठेर कुँडो, घासँपानी गर्दा होस् वा दिउँसो खेतबारी जोत्दा । किसानको समस्या उनी किसान भएर सोचिरहेका छन् । उत्पादनबारे नागरिक भएर सोचिरहेका छन् ।

    यिनै सोचाइले उनको मनसाय बनेको छ- अब सांसद बनुँ, या मन्त्री । तर खेतबारी बाँझो हुन दिन्न !

    तस्बिरहरु : प्रकाशचन्द्र भट्टराई ।

  • राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

    राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

  • तनहुँका एमाले र युवा संघका नेताहरु नेपाल पक्षको समानान्तर कमिटीबाट अलग

    तनहुँका एमाले र युवा संघका नेताहरु नेपाल पक्षको समानान्तर कमिटीबाट अलग

    तनहुँ । नेकपा एमालेमा माधव नेपाल पक्षले समानान्तर कमिटी अभियान चलाइरहेका बेला नेपाल पक्षका नेताहरु त्यसबाट अलग हुँदै संस्थापन पक्षमा खुल्ने क्रम चलेको छ ।

    एमाले तनहुँका जिल्ला उपसचिव बिष्णुभक्त सिग्देल र युवा संघको केन्द्रीय सदस्यहरुले मंगलवार एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतको उपस्थिति रहेको कार्यक्रमबाट आफूहरु माधव नेपाल पक्षमा नरहेको घोषणा गरेका छन् ।

    बस्नेत तनहुँ पुगेका छन। तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमशभामा सम्बोधन गर्न उनी आएका हुन।

    सो कार्यक्रममा एमाले तनहुँका जिल्ला उपसचिव बिष्णुभक्त सिग्देल र नरेस साहीको नेतृत्वको युवा संघको केन्द्रीय सदस्यहरु नारायण थापा र सुशील सिग्देल ले माधव नेपाल पक्षको साथ छाडेको घोषणा गरेका छन।

    आबुखैरेनी, डुम्रे,भिमाद, शुक्लागण्डकी लगाएत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो। युवा इन्चार्ज महेश बस्नेत, केन्द्रिय अध्यक्ष वचन बहादुर सिं, सह अध्यक्ष किरण पौडेल लगाएतको टिम तीनवटा अभियान लिएर हिडेको छ। केपी ओलीको पक्षमा माहौल बनाउने र साइबर सेना तयार पार्ने भन्दै युवा संघका नेताहरुलाई लिएर बस्नेले अभियान चलाएका छन् ।