Tag: डोनाल्ड ट्रम्प

  • ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप जनवरीमै लगाएको पुष्टि

    ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप जनवरीमै लगाएको पुष्टि

    वासिङ्टन –अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले कोरोनाविरुद्धको खोप पहिले नै लगाएको तथ्य सार्वजनिक भएको छ ।

    उनीहरुले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भएकै बेला गत जनवरीमा खोप लगाएको तथ्य अहिले मात्रै सार्वजनिक भएको हो ।चिकित्सकहरुको सल्लाहमा नै ट्रम्प दम्पतीले त्यतिबेला नै खोप लगाएको उनका सल्लाहकारले सोमबार जानकारी दिएका छन् ।

    “राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले गत जनवरीमै कोरोना विरुद्धको खोप लगाएका थिए’ उनका सल्लाहकारले भने । उनले अरु विवरण भने नबताएको समाचारमा उल्लेख गरिएको छ ।

    तत्कालीन राष्ट्रपति ट्रम्पले कोरोनाको महामारी चलिरहेका बेला खोप र मास्कको प्रयोग आवश्यक नभएको बताउने गरेका थिए । त्यसको विरोध गर्ने व्यक्तिले नै भित्री रुपमा खोपको प्रयोग गरेको तथ्य सार्वजनिक भएको हो ।

    उनी राष्ट्रपति भएका बेला विश्वभरि नै कोरोनाभाइरसको महामारी फैलिएको थियो । अन्य देशहरुले भाइरसको महामारी नियन्त्रणका लागि मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेमा जोड दिएपनि ट्रम्पले भने त्यसको बेवास्ता गरेका थिए ।

    ट्रम्पले गत जनवरी २० सम्म अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि अहिले जो बाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुन्छ । उहाँले भने कोरोनाविरुद्धको खोप लगाउनुका साथै भाइरस नियन्त्रणका लागि अपनाउनुपर्ने मापदण्डको पालना गर्न सबै अमेरिकीलाई आह्वान गर्दै आउनुभएको छ ।

    कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गर्न विश्व स्वास्थ्य संगठन लगाएका आधिकारिक र जिम्मेवार निकाय तथा वैज्ञानिकहरुले सुझाव दिएका हुन् ।

  • ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई शुरु

    ट्रम्प विरुद्ध महाभियोगको सुनुवाई शुरु

    वासिङ्टन- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमाथि अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा मङ्गलबारदेखि सुनुवाई शुरु हुँदैछ ।

    अमेरिकाका राष्ट्रपतिमाथि एकै कार्यकालमा दुई पटक महाभियोग दर्ता भएको यो पहिलो घटना हो । पूर्वराष्ट्रपति ट्रम्पका तर्फबाट सिनेटमा जवाफ दिन नियुक्त वकीलहरुले सिनेटमा विचाराधीन महाभियोग प्रस्ताव राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको आरोप लगाएका छन् ।

    तर महाभियोग दर्ता गरेको डेमोक्रेटिक पार्टीले भने अमेरिकी संसद भवनमा गत जनवरी ६ का दिन आक्रमण गर्न आफ्ना समर्थकलाई उक्साएर सत्ताविद्रोह गर्न खोजेको बताएका छन् । उक्त घटनामा एक प्रहरी अधिकृत सहित पाँच जनाको मृत्यु भएको थियो भने संसद भवनभित्र व्यापक तोडफोड र क्षति पुगेको थियो ।

    ट्रम्प समर्थकको उक्त आक्रमणपछि अमेरिकी तल्लो सदनले तत्कालीन राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोगको प्रस्ताव पारित गरी सिनेटको अनुमोदनका लागि पठाएको थियो । यद्यपी राष्ट्रपति ट्रम्पको कार्यकाल गत जनवरी २० मै समाप्त भई नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरिसकेका छन् ।

    तर अमेरिकी संविधान बमोजिम पहिल्यै सिनेटमा दर्ता भइसकेको महाभियोगको प्रस्तावमाथि मङ्गलबारदेखि सुनुवाई शुरु हुन लागेको हो । सिनेटमा रिपब्लीकन पार्टीका केही सदस्यले ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा महाभियोग प्रस्तावलाई अगाडि बढाउन उचित नहुने तर्क गरिरहेका छन् ।

    सिनेटका केही रिपब्लीकन सदस्यले भने महाभियोग सही र उपयुक्त रहेको बताए पनि अन्तिम मतदानमा सहभागी हुने वा नहुने स्पष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपतिमाथिको महाभियोग प्रस्ताव पारित हुन सिनेटको दुई तिहाई मत आवश्यक पर्दछ ।

    एक सय सदस्य रहने अमेरिकी सिनेटमा हाल डेमोक्रेट र रिपब्लीकन पार्टीको बराबर अर्थात् ५०-५० स्थान रहेको छ । राष्ट्रपति जो बाइडेनले ट्रम्पमाथिको महाभियोगका बारेमा आफूले कुनै पक्ष नलिने बरु सिनेटले नै यसबारेमा निर्णय गर्ने विचार व्यक्त गरे ।

    ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले राष्ट्रपति बाइडेनले यसअघि चुनावकै दिनहरुमा राष्ट्रपतिका रुपमा ट्रम्प उपयुक्त व्यक्ति नभएको भनाई सार्वजनिक गरेकी छिन् ।

    सिनेटमा महाभियोग पारित भए सिनेटको सामान्य बहुमतले भावी दिनमा ट्रम्पले राष्ट्रपतिका रुपमा उम्मेदवार हुनबाट रोक्नेछ ।

  • ट्रम्पका चार वर्ष : निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

    ट्रम्पका चार वर्ष : निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

    सोमनाथ लामिछाने
    समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेका छन् । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन विजयी भएका थिए । रिपब्लीकन पार्टीबाट उम्मेदवार रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भएसँगै दोस्रो कार्यकालका रुपमा राष्ट्रपतिमा निर्वाचित हुन पाएनन् ।

    निकै प्रतिस्पर्धात्मक यस चुनावमा धाँधली भएको भन्दै घाइते बाघ झैं देखिएका राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालका अन्तिम दिनहरुमा अमेरिकी लोकतन्त्रकै आधारमाथि प्रहार गरे । अमेरिकी निर्वाचन प्रणालीलाई तेस्रो विश्वका देशसँग तुलना गरेका उनले  औपचारिक रुपमा हार स्वीकार नगर्ने मात्र होइन, आफ्ना प्रतिद्वन्द्वी बाइडेनलाई जितका लागि बधाई समेत नदिई ह्वाइट हाउस समेत छाडे । ह्वाइट हाउसको प्राङ्गणमा भएको भव्य सपथ कार्यक्रममा पूर्व राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई बधाई दिएर आफू विदा हुने परम्परा यसपटक तोडिएको छ ।

    हुनत, राष्ट्रपति ट्रम्पको चार वर्षे कार्यकाल निकै आरोह अवरोहबाट गुज्रिएको थियो । मध्यरातमा गर्ने धाराप्रवाह ट्वीटबाट उनले नीतिगत निर्णय लिनुका साथै ह्वाइट हाउसका आफ्नै मन्त्रीहरु रातारात कोपभाजनमा पर्ने गरेका थिए । आज के होला र? भोलि के होला ? भन्ने अनुमान कसैले गर्न सक्दैनथे । आफ्नो कार्यकालभरि निकै विवादित छवि बनाएका ट्रम्पको मुख्य ध्यान “अमेरिका पहिलो” भन्ने नै थियो । यो मूल नीतिभित्र अनेक विषय समेटिएका थिए । अमेरिकालाई विश्वमै प्रथम अर्थात अति शक्तिशाली बनाउने अभियानको शुरुवात नै विवादमा परेको थियो ।

    अमेरिकी प्रेस समेत सर्वत्र आक्रामक शैली अपनाएका अस्थिर स्वभावका राष्ट्रपति ट्रम्प अब फेरि चार वर्षपछि सन् २०२४ मा राष्ट्रपतिमा उम्मेदवार बन्नुपर्छ भन्ने समर्थकको नाराले अमेरिकी समाजमा अझै सन्त्रास फैल्याएको अमेरिकी मुलधारका सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।

    नीतिगत हलचल, पहिलो असफल पाइला
    राष्ट्रपति ट्रम्पले सन् २०१६ मा सत्ता सम्हाले लगत्तै इरानसँगको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गर्दै इरानमाथि कठोर आर्थिक नाकाबन्दी गरेका थिए । त्यसबाहेक पेरिस जलवायु सम्झौता र ट्रान्स-प्यासिफिक व्यापार सम्झौता खारेज गरेका थिए । यी सम्झौताले अमेरिकी रोजगारमाथि धावा बोलेको उनको भनाई थियो । अमेरिकाभित्रै विवादको घेरामा परेको विषय थियो, आप्रवासी र मुस्लिम विरोधी मामिला । ट्रम्पले दक्षिण अमेरिकी मुलुकहरुबाट मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने व्यक्तिहरुलाई “पशु” को संज्ञा दिँदै उनीहरुलाई रोक्न पर्खाल निर्माण गर्ने मुख्य मुद्दा थियो जसका लागि आवश्यक बजेट व्यवस्था गर्न ट्रम्पकासामु फलामको च्यूरा चपाएसरह भएको थियो । कट्टरपन्थी मुस्लिम राष्ट्रबाट अमेरिका प्रवेशमा रोक लगाउने ट्रम्पका प्रयासलाई अदालतले उल्ट्याइदिएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा कैयौं व्यक्तिलाई सल्लाहकार समूह र मन्त्री पदबाट बर्खास्त समेत गरेका थिए ।

    कोरोनाबाट आक्रान्त अमेरिका
    कोभिड–१९ को महामारी नियन्त्रणमा ट्रम्पले गरेका कैयौं दाबी पानीका फोका सरह सावित भएका थिए । “चाइना भाइरस” भनेर कोभिड-१९ का सन्दर्भमा राष्ट्रपति ट्रम्पले गरेका मनगढन्ते भनाईलाई पत्याएर धेरै अमेरिकीको ज्यान गएको अध्ययनहरुले देखाएका छन् । कोरोना नियन्त्रणमा प्रभावकारी मानिएका उपायहरु मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता सामान्य नियमलाई उपहास गरी उनले हजारौंलाई आफ्ना चुनावी सभाहरुमा आमन्त्रण गरेका थिए । र आखिरमा उनी आफैं कोभिड–१९ को शिकार समेत भए । महामारीको सर्वाधिक ठूलो चपेटामा परेको अमेरिकामा राष्ट्रपतिको कार्यकाल सकिने दिन जनवरी १९ सम्ममा चार लाखभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । यस संक्रमणले अमेरिकीको ज्यान मात्र लिएन ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । राहत प्याकेजको पर्खाइमा लाखौं अमेरिकी लामबद्ध छन् र बेरोजगारको संख्या दिनहुँ बढ्दो छ ।

    चीनसँगको व्यापार युद्ध
    चीनसँग व्यापार युद्ध छेडेका राष्ट्रपति ट्रम्पसामु यसलाई टुंगोमा पुर्‍याउनु अर्को सबैभन्दा ठूलो टाउको दुखाई भएको थियो । विश्वका दुई ठूला अर्थतन्त्र रहेका दुई मुलुकबीचको व्यापार असन्तुलन बढेको भन्दै राष्ट्रपति ट्रम्पले अर्बौं डलर बराबरका चिनियाँ सामानमा करवृद्धि गरेका थिए र त्यसको बदलामा चीनले पनि करवृद्धि गरेको थियो । करवृद्धिको कोपभाजनमा हुवावे, जेडटिई समेतका चिनियाँ प्रविधि कम्पनीहरु परेका थिए । चौतर्फी घेराबन्दी गरिए पनि चीन र अमेरिकाबीचको व्यापार असन्तुलन ट्रम्पको कार्यकालमा पनि घटेन । चीनको भन्सार प्रशासनले सार्वजनिक गरेको पछिल्लो विवरणमा सन् २०२० मा पनि अमेरिकासँगको व्यापार अन्तर झण्डै ११ प्रतिशत वृद्धि भएर ३०० अर्ब डलर बचतमा रहेको उल्लेख छ ।

    उत्तर कोरियाली नेतासँग प्रत्यक्ष वार्ता
    राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ अनसँग दुई पटक प्रत्यक्ष वार्ता गर्नुका साथै उत्तर–दक्षिण कोरियाको सीमावर्ती शहर पामनुमजोङ पुगेर उत्तर कोरियाको भूमि टेके । र दुई नेताबीच अनौपचारिक कुराकानी भए । तर कोरियाली द्वीपलाई आणविक निःशस्त्रीकरण गर्ने सम्बन्धी दुई देशबीच हुने भनिएका कैयौं वार्ता प्रयत्न र अन्तिम सम्झौता हुन सकेन । अझ कोभिड–१९ को हालको परिस्थितिमा वार्तामा खासै प्रगति नभइरहेको अवस्थामा उत्तर कोरियाले हालै सम्पन्न वार्षिक समारोहमा अझ नयाँ र शक्तिशाली हतियार प्रदर्शन गरेको छ ।

    सर्वोच्च अदालतमा न्यायाधीशको नियुक्ती
    राष्ट्रपतिको चुनाव हुनु एक महिनाअघि अमेरिकी सर्वोच्च अदालतमा न्यायाधीशको मनोनयन र नियुक्ति पनि अर्को विवादास्पद विषय बन्यो । आम प्रचलन विपरीत राष्ट्रपति ट्रम्पले मनोनयन गरेको न्यायाधीश एमी कोने ब्यारेटलाई डेमोक्रेटको विरोधका बाबजूद रिपब्लीकनको बहुमत रहेको सिनेटले छोटो सुनुवाईमै अनुमोदन गरिदिएको थियो ।

    जातीय विभेदको आरोप
    राष्ट्रपति ट्रम्पको कार्यकालभर जातीय अल्पसंख्यकमाथि अत्याचार गरेको आरोप लागिरह्यो । अमेरिका गोराहरुको हो ‘ह्वाइट सुप्रिमेसिस्ट’ भन्ने धारणाले अमेरिकी समाजभित्र गहिरो विभाजनको रेखा कोर्दै थियो । यही सिलसिलामा गोरा प्रहरीको कारबाहीमा जर्ज फ्लोएड समेतका केही अश्वेत व्यक्तिको मृत्युले पूरै अमेरिकालाई हल्लाइदिएको थियो । अश्वेतको जीवनको महत्व छ अर्थात् ब्लाक लाइभ्स म्याटर भन्ने आन्दोलन देशव्यापी चर्कियो, तोडफोड र हुलदंगाहरु भए । यो आन्दोलन अमेरिकामा मात्र सीमित भएन, युरोपका बेलायत र फ्रान्स सहित अन्य मुलुकमा फैलियो ।

    मध्यपूर्व र अफगानिस्तान
    ट्रम्पको कार्यकालमा मध्यपूर्वको नीति निकै चर्चित रह्यो, तर यो नीति राष्ट्रपति ट्रम्पको कार्यकालको अन्त्यतिर सार्वजनिक गरिएको थियो । यस नीतिको प्रमुख पक्ष भनेको छुट्टै राज्यको माग गरी लामो समयदेखि संघर्षरत प्यालेस्टिनीको मुद्दालाई बेवास्ता गरी इजरायलसँग युनाइटेड अरब इमिरेट्स, बहराइन र सुडानको कुटनीतिक सम्बन्ध कायम गर्नु थियो । यसको आगामी दिनमा कस्तो असर पर्नेछ यसै भन्न सकिन्न । मध्यपूर्वमा टाउको दुखाई बनेको अर्को विषय हो, इस्लामिक स्टेटका नेता अबुबाकर अल बग्दादीको सन् २०१९ मा मृत्यु । अमेरिकी सैनिक कारबाहीमा उनी मारिनुका साथै जिहादी क्यालिफेट ध्वस्त पारिएको थियो । साथै इरानका सैन्य कमान्डर सुलेमानीको अमेरिकी कारबाहीमा इराकमा भएको हत्याले पनि मध्यपूर्वमा तनावको वातावरण बनाइरह्यो ।

    द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानबाट सबै अमेरिकी फौज फिर्ता लैजाने गरी अफगानिस्तानमा संघर्षरत तालिबान समूहसँग अमेरिकाको सम्झौता नै भयो । हाल अफगानिस्तानमा सीमित संख्यामा अर्थात् २५०० मात्र सैनिक राख्ने सहमति भएको छ । अफगान सरकार र तालिबानबीच वार्ता जारी छ, तर युद्धविराम गर्ने वा शान्तिको मार्गचित्र बनाउन यी वार्ताहरु अझै सफल हुन सकेका छैनन् ।

    दुई पटक महाभियोग
    अमेरिकी इतिहासमै एकै राष्ट्रपतिमाथि एक कार्यकालभर दुई पटक महाभियोगको सामना गर्ने राष्ट्रपति ट्रम्प एक्ला राष्ट्रपति हुन् । डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि कारबाही गर्नेगरी ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमर जेलेन्स्कीलाई दबाब र प्रभावमा पारेको समाचार बाहिरिएपछि ट्रम्पमाथि पहिलो पटक महाभियोग लगाइएको थियो । तर डेमोक्रेट पार्टीको बहुमत रहेको हाउसले पारित गरेको यो प्रस्तावलाई रिपब्लीकनको बहुमत रहेको सिनेटले अस्वीकृत गरेको थियो । तर दोस्रो महाभियोग निकै गम्भीर प्रकृतिको छ ।

    संसदमा ट्रम्प समर्थकको उपद्रो
    चुनावमा धाँधली भएको ट्रम्पको दाबीलाई अमेरिकाका अदालत, जाँच निकायहरु, र अन्य सरकारी निकाय सहित महान्यायाधीवक्ताले अस्वीकार गरेपछि पनि ट्रम्पलाई चित्त बुझेका थिएन । ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडेनलाई संसदले प्रमाणीकरण गर्ने दिन ह्वाइट हाउसमा आफ्ना समर्थकलाई भेला गराए , र त्यहाँ उनले दिएको भाषणबाट उत्तेजित भएका व्यक्तिहरुले अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरे जुन घटनामा एक प्रहरी सहित पाँच जनाको मृत्यु भयो ।

    हिंसाका लागि उक्साएको र चुनावमा धाँधली भएको भन्ने मनगढन्ते आरोप भन्दै अमेरिकी प्रविधि कम्पनीहरु ट्वीटर, फेसबुक, युट्युब समेतका सामाजिक सञ्जालले ट्रम्पका खाताहरु नै बन्द गरिदिए । अमेरिकी इतिहासमै लज्जाजनक अप्रजातान्त्रिक भनी चित्रण गरिएको संसदमाथिको हमलापछि ट्रम्पमाथि पुनः महाभियोग प्रस्ताव तल्लो सदनमा दर्ता भयो, र त्यो पारित पनि भयो । अब त्यसको सुनुवाई ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाइट हाउस छाडेपछि सिनेटमा हुनेछ । सिनेटले यो प्रस्ताव पारित गरे ट्रम्पको राजनीतिक करिअर नै समाप्त पनि हुन सक्नेछ ।

    संसदमा आक्रमण भएलगत्तै राष्ट्रपति निर्वाचित जो बाइडेनले प्रतिक्रिया दिँदै भने , “विगत चार वर्षदेखि जसले हाम्रो प्रजातन्त्र, हाम्रो संविधान र कानुनी शासनको अवहेलना गरे हिजो ती सबै कुराको एकीकृत रुप देखियो ।” अमेरिकी प्रेस समेत सर्वत्र आक्रामक शैली अपनाएका अस्थिर स्वभावका राष्ट्रपति ट्रम्प अब फेरि चार वर्षपछि सन् २०२४ मा राष्ट्रपतिमा उम्मेदवार बन्नुपर्छ भन्ने उनका समर्थकको नाराले अमेरिकी समाजमा अझै सन्त्रास फैल्याएको अमेरिकी मुलधारका सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् ।

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई पटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति डोनाल्ड ट्रम्प बन्नुभएको बताइएको छ ।

    उहाँ विरुद्धको महाभियोगको प्रस्ताव अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्बाट पारित पनि भएको बताइएको छ । अघिल्लो हप्ताको बुधवार अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरुले आक्रमण गरेपछि उहाँका विरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए ।

    उक्त महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको बताइएको छ । महाभियोग पारित हुन २१७ मत आवश्यक थियो । यहाँको हाउस अफ रिपे्रजेन्टेटिभ्स्मा डेमोक्र्याट पार्टीका २२२ जना सदस्य रहेका छन् ।

    तर त्यो भन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा नै मतदान गरेको अमेरिकी सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभएको छ । महाभियोगको प्रस्तावको विपक्षमा भने १९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्स्ले सन् २०१९ मा पनि उहाँ विरुद्ध महाभियोग पारित गरेको थियो ।

    तर पनि त्यस समयमा भने उहाँको दल रिपब्लिकनका एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन् ।अमेरिकी संसदको तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुनका लागि सिनेटको मतको दुई तिहाइ आवश्यक हुन्छ ।

    यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनु पर्नेछ । तर यो सम्भावना भने निकै कम देखिन्छ ।

  • डोनाल्ड ट्रम्पको स्नापच्याट अकाउन्ट सधैँका लागि बन्द

    डोनाल्ड ट्रम्पको स्नापच्याट अकाउन्ट सधैँका लागि बन्द

    काठमाडौं । गतसाता धेरै सामाजिक सञ्जालले आफ्नो प्लेटफर्मबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउन्ट ब्लक गरे । सोही क्रममा स्नापच्याटले पनि ट्रम्पको अकाउन्ट ब्लक गरेको जानकारी दिएको थियो ।

    स्नापच्याटले आफ्नो प्लेटफर्ममा ट्रम्पको अकाउन्ट सधैँका लागि बन्द गरिएको जानकारी दिएको छ । “गतसाता हामीले राष्ट्रपति ट्रम्पको अकाउन्टमाथि अस्पष्ट प्रतिबन्ध लगाएका थियौं ।

    त्यो विषयमा दीर्घकालिन समाधान के हुन्छ भन्नेबारे मूल्याङ्क गरेर स्थायी रूपमा बन्द गरेका छौं,” स्नापच्याटले भनेको छ, “सार्वजकि सुरक्षा, गलत सूचना फैलाउने उनको प्रयास, घृणात्मक भाषण, उत्तेजित पार्ने गतिविधि हाम्रो नीति नियमभन्दा विलकुल विपरीत भएकाले उनको अकान्ट स्थायी रूपमा बन्द गरिएको हो ।”

  • ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित, यूट्यूवले पनि लगायो रोक

    ट्रम्पलाई महाअभियोग लगाउने प्रस्ताव तल्लो सदनबाट पारित, यूट्यूवले पनि लगायो रोक

    काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने अधिकार उपराष्ट्रपति माइक पेन्सलाई हस्तान्तरण गर्नेबारेको प्रस्तावलाई अमेरिकाको तल्लो सदन प्रतिनिधि सभाले पारित गरेको छ ।

    अमेरिकी संविधानमा २५ औं संसोधन गर्दै प्रक्रिया अघि बढाउने अधिकार पेन्सलाई दिइएको हो तर, महाअभियोग लगाउन सभामुख न्यान्सी पेलोसीले गरेको आग्रहलाई भने पेन्सले अस्वीकार गरेका छन् ।

    पेन्सले स्वीकार गरेको खण्डमा राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाइनसक्छ । तर, रिपब्लिकन पार्टीकै तर्फबाट उपराष्ट्रपति भएकाले महाअभियोग प्रस्ताव के हुन्छ भन्ने बारे अन्यौल छ । जनवरी २० मा निर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिँदैछन् ।

    ट्रम्पलाई महाअभियोग लगाउने डेमोक्र्याटको पक्षमा एकजना रिपलिब्कन सिनेटर एडम किंगजिंगर पनि उभिएका छन् । तर, यस्तो प्रस्तावको कानूनी मान्यता नहुने भएकाले यसलाई सांकेतिकरुपमा महत्वपूर्ण रुपमा लिइएको छ । ननबाइन्डिङ प्रस्तावलाई सिनेटको अनुमति जरुरी पर्दैन । उपराष्ट्रपति पेन्सले पनि २५ औं संसोधन गर्ने विपक्षमा उभिएको प्रष्ट सन्देश सभामुख पेलोसीलाई दिएका छन् ।

    ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भन्ने मतमा स्वयम रिपब्लिकन सिनेटरहरु बलियो भन्दै गर्दा यस्तो प्रस्ताव पारित भएको हो । केही रिपब्लिकन सांसदहरु लिज कोने, आर वेइ लगायत ट्रम्पलाई हटाइहाल्नुपर्छ भन्ने पक्षमा छन् ।

    गत साता अमेरिकी संसद भवनमा भएको तोडफोडमा ट्रम्पको हात रहेको आरोप उनीहरुको छ । न्यूयोर्क टाइम्सका अनुसार सभामुख पेलोसीले पाँचजना डेमोक्र्याट सांसदहरु महाभियोग लगाउने प्रक्रियाको गृहकार्यमा जुटेको बताएकी छन् ।

    फेसबक, ट्वीटर र इन्स्टाग्रामले ट्रम्पलाई अनिश्चितकालका लागि रोक लगाएका छन् । यो सूचिमा गुगलको भिडियो साझेदारी साइट यूट्यूव पनि थपिएको छ । यूट्यूवले एक साता भिडियो पोस्ट गर्न नपाउने गरी ट्रम्पलाई रोक लगाएको छ ।

  • ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द, बाइडेनको शपथग्रहणमा नजाने

    ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द, बाइडेनको शपथग्रहणमा नजाने

    काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । ट्रम्पको ट्वीटले अमेरिकामा हिंसा भड्किएको भन्दै ट्वीटरले उनको अकाउन्ट बन्द गरिदिएको हो ।

    यसअघि केही समयका लागि मात्रै प्रतिबन्ध लगाएको उनको एकाउन्ट सधैंका लागि बन्द भएको हो ।

    अकाउन्ट बन्द हुनुअघि ट्रम्पले ट्वीट गर्दै नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रममा नजाने जनाएका थिए ।

  • डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    डीभी भिसामा लगाइएको रोक तीन महिना थपियो, डीभी जितेका ४०० नेपाली रोकिए

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी लोटरी एवं कामदार भिसाको माध्यमबाट अमेरिकामा आउन लगाइएको रोकलाई थप तीन महिना लम्ब्याएका छन् । ट्रम्पले कार्यकारी आदेशमार्फत गत डिसेम्बर ३१ सम्म कामदार र आप्रवासी भिसामा रोक लगाएका थिए । अब यो रोकावट मार्च ३१ सम्म रहने भएको छ ।

    तर, जनवरी २० देखि राष्ट्रपतीय अफिस सम्हाल्ने तयारीमा रहेका जो बाइडेनले चाहिं ट्रम्पको यो कदमको निन्दा गरेका छन् । उनले आफू ह्वाइट हाउसमा पुगेपछि ट्रम्पले लगाएका सबै खराब अध्यागमन नीतिलाई सच्याउने बताएका छन् । बाइडेनले यसो भनेपछि जनवरी २० सम्म यो रोकावट चाहिं कायमै रहने भएको छ ।

    ट्रम्पले प्रतिबन्ध लगाएपछि नेपालबाट डीभी पर्नेहरु अमेरिका जान पाएका छैनन् । २०२१ को लागि डीभी परेकाहरुले भिसा पाएका छैनन् भने २०२० मा डीभी परेका र गएको सेप्टेम्बरमा भिसा पाएका पनि अमेरिका जान पाएका छैनन् । सेप्टेम्बरमा भिसा पाएकाहरु मार्चभित्र अमेरिका पुगिसक्नुपर्नेछ । नभए उनीहरुको भिसाको अवधि समाप्त हुनेछ । यस्तो बेला उनीहरुको भिसा के हुन्छ भन्नेबारे खुलाइएको छैन ।

    ट्रम्पले यस्तो निर्णय गर्दा डीभी परेका ४०० नेपाली नेपालमै रोकिएका छन् । मार्चभित्र अमेरिका नगए भिसा स्थगित हुने जनाइएको छ । अदालतको आदेशपछि डीभी परेका नेपालीको संख्या ४०४ रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।