Tag: डोटी

  • डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेसले धोका दिएको आरोप

    डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेसले धोका दिएको आरोप

    कैलाली । आगामी स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

    ९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए ।

    माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ ।

    त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

    यसअघि हिजो नै तीन दलीय सहमति गर्ने अन्तिम तयारी भइरहेको थियो । ९ स्थानीय तहमध्ये, कांग्रेसले चार, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई दुई स्थानीय तह दिने गरी सहमतिको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसले धोका दिएको वलीले बताए ।

    ‘ड्राफ्ट फाइनल भएर कांग्रेसहरु हस्ताक्षर गर्न पनि तयार हुनु भएको थियो’ उनले भने, ‘पछि उहाँहरू १० मिनेटमा सल्लाह गरेर आउँछौँ भनेर जानुभयो आउँदै आउनु भएन ।’

    कांग्रेस नेताहरू नआएपछि माओवादी र एकीकृत समाजवादी तालमेल गर्ने सहमति भएको हो ।

  • डोटीमा भाइरल ज्वरोका बिरामी बढे

    डोटीमा भाइरल ज्वरोका बिरामी बढे

    डोटी । जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भाइरल ज्वरोका बिरामीहरू बढेका छन् ।

    टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका हुन ।

    गाउँपालिकाका पालिकाका सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था नभएको स्थानीय चक्रबहादुर कठायतले बताए ।

    गाउँमा ज्वरो भाइरल रूपमा फैलिन थालेपछि कोरोना पो हो कि भन्ने चिन्ता थपिएको कठायतले बताए । उनले भने, ‘पालिकाभर केही दिनदेखि भाइरल ज्वरो तथा रुघाखोकीका बिरामी बढ्दै गएका छन्, उपचार पनि छैन र कोरोना परीक्षणसमेत नगर्दा हामीलाई चिन्ता हुन थालेको छ ।’

    यहाँका स्वास्थ्य संस्थामा दैनिक जसो टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका बिरामी आउने गरेको पूर्वीचौँकी गाउँपालिका–२ का स्वास्थ प्रमुख भक्त ओलीले बताए ।

    उनले भने ‘भाइरल ज्वरोका दैनिक बिरामी स्वास्थ्य संस्था आउन थालेका छन्, हामीसँग कोरोना परीक्षण गर्ने उपकरण छैन, सामान्य ज्वरोको औषधी दिएर र जाँच गर्दा बिरामी निको हुँदैन ।’

    कोरनासँग मिल्दोजुल्दो खालको लक्षणका बिरामी दिनहुँ यहाँका स्वास्थ संस्थामा उपचारका लागि आउने गरे पनि कोरोना परीक्षण गर्ने किट नभएका कारण आजसम्म परीक्षण गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य प्रमुख राम पाठकले बताए ।

    रासस