Tag: डाेनाल्ड ट्रम्प

  • राजनीतिक पार्टी खोल्ने योजना छैन– ट्रम्प

    राजनीतिक पार्टी खोल्ने योजना छैन– ट्रम्प

    एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनीतिक पार्टी खोल्ने आफ्नो कुनै योजना नरहको प्रष्ट पारेका छन् । फ्लोरिडामा कन्जरभेटिभ सम्मेलनका क्रममा उनले पार्टी खोलेर रिपब्लिकनको मत बिभाजित हुन नदिने बताएका हुन् ।

    डेमोक्रेटिक पार्टीका जो बाइडेनले सत्ता संहालेपछि ट्रम्पले पहिलोपल्ट सार्वजनिक भाषण गरेका हुन् । उनले सन् २०२४ को चुनावमा पुनः राष्ट्रपतिको उम्मेदवार हुने संकेतसमेत दिएका छन् ।

    बाइडेनको चर्को आलोचना गर्दै उनले भनेका छन्, ‘अमेरिकी नीति अमेरिका फर्स्टबाट अमेरिका लास्टमा पुगेको छ ।’ अमेरिकी सिनेटले महाअभियोगको खतराबाट मुक्ति दिएको एक सातापछि ट्रम्पको यो भाषण आएको हो ।

    आइतबार कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फेरेन्स (सीपीएसी)मा उनको उपस्थितिले रिपब्लिकन पार्टीमा उनको निरन्तर प्रभावको प्रतिनिधित्व गरेको थियो ।

    बिहीबारदेखि नै सुरु भएको सम्मेलनमा ट्रम्प मुख्य आकर्षण थिए । सम्मेलनका अधिकांश सहभागी ट्रम्पको प्रतीक्षामा थिए । सम्मेलनलाई टेक्ससका सिनेटर टेड क्रुज र उनका छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि सम्बोधन गरेका थिए ।

    जनवरीमा चुनावी नतिजा प्रभावित पार्न अमेरिकी संसद भवनमा गरिएको सांघातिक आक्रमणमा जिम्मेबार देखाउँदै ट्रम्पलाई सबै प्रकारको सामाजिक सन्जालमा प्रतिबन्ध लगाइएको छ ।

  • ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान सिनेटको अनुमति

    ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान सिनेटको अनुमति

    एजेन्सी । अमेरिकी सिनेटले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता गरिएको महाभियोग प्रक्रिया संवैधानिक भएको निष्कर्ष निकाल्दै यसलाई प्रक्रियामा लैजान अनुमति दिएको छ ।

    ट्रम्पका प्रतिरक्षा टिमले भने ह्वाइट हाउस छाडिसकेपछि महाभियोग सामना गर्नु नपर्ने तर्क गरेको छ ।

    सिनेटमा ५६-४४ को बहुमतले ट्रम्पविरुद्धको अभियोग प्रस्ताव प्रक्रियामा लैजान मिल्ने गरी निर्णयमा पुगेको हो । केही रिपब्लिकनले प्रस्ताव फिर्ता हुनुपर्ने जोड गरेका थिए ।

    पछिल्लो महिना अमेरिकी कंग्रेसको मुख्यालय क्यापिटल हिलमा भएको सांघातिक आक्रमणको मुख्य जिम्मेवार ट्रम्पलाई देखाइएको छ । जनवरी ६ मा ट्रम्पले गरेको भाषणको भिडियो र उनका केही समर्थकले क्यापिटल हिलमा देखाएको उग्र व्यवहारको प्रमाण पेश गरी डेमोक्रेटिक सिनेटरले मंगलबार महाभियोगबारे छलफलको सुरुआत गरेका थिए ।

    ‘यो एक उच्च अपराध र दुष्कर्म हो’ मेरिल्याण्डका सिनेटर जेमी रस्किनलले भने, ‘यदि यो महाभियोगका लागि उपयुक्त अपराध होइन भने मेरो भन्नु केही छैन ।’

    ट्रम्पका वकिलले भने एक पूर्व राष्ट्रपतिमाथि महाभियोगको प्रक्रिया सुरु गर्नु असंवैधानिक हुने र डेमोक्रेट सिनेटरहरु राजनीतिक पूर्वाग्रहका कारण यस्तो निर्णय गरिरहेको आरोप लगाएका छन् ।

    ५६-४४ को अर्थ के हो भने, ६ जना रिपब्लिकन सिनेटरले महाभियोगको पक्षमा मतदान गरेका छन् । आफ्ना पार्टीका पूर्व राष्ट्रपतिमाथिको महाभियोग प्रमाणित हुन नदिन अहिले पनि अधिकांश रिपब्लिकन सिनेटरहरु एकसाथ छन् ।

    डेमोक्रेट र रिपब्लिकनहरु समान ५०-५० को आँकडामा रहेको अमेरिकी सिनेटमा ट्रम्पलाई दोषी ठहर्‍याउन कम्तीमा दुई तिहाइ मतको आवश्यकता पर्छ ।

  • ट्रम्पको बिदाइ सम्बोधनमा छोरीहरूको आँसु

    ट्रम्पको बिदाइ सम्बोधनमा छोरीहरूको आँसु

    एजेन्सी । अन्तिम समयसम्म आफ्नो उत्तेजक र कठोर छवि कायम राख्दै निवर्तमान अमेरिकी राष्ट्रसित डोनाल्ड ट्रम्प हिजो ह्वाइट हाउसबाट विदा भए । उनको बहिर्गमनमा अमेरिकाभित्र र बाहिर त्यति ठूलो सहानुभूति नदेखिए परिवारजनको लागि पक्कै यो भावुक क्षण थियो ।

    ट्रम्पले आफ्नो बिदाइ सम्बोधन गर्दै गर्दा उनका सन्तानले आफ्नोे संवेदना लुकाउन सकेनन्, खास गरी छोरी इभान्काले । उनी आँसु खसालेरै रोइन् । उनी सुँक्सुकाएको दृष्यले अरुलाई पनि भावुक बनायो ।

    चुनावी नतिजा उल्टाउन अन्तिम समयसम्म गरेको कसरत असफल भएपछि ट्रम्पले ह्वाइट हाउस छोड्नुपरेको थियो । अराजनीतिक चरित्र देखाउँदै उनी नवनियुक्त राष्ट्रपति जो बाइडेनको सपथग्रहणमा समेत सहभागी भएनन् । आफ्नो निजी बिमानको फ्लोरिडातर्फ उड्नुअघि उनले ह्वाइट हाउसमा बिदाइ सम्बोधन गरेका थिए ।

    ट्रम्पका तीन श्रीमतीबाट पाँच छोराछोरी र १० नाति-नातिना छन् । उनको बिदाइ सम्वोधनमा समर्थकहरूका अतिरिक्त परिवारजन उपस्थित थिए । इभान्का ट्रम्पकी पहिलो श्रीमती इभानातर्फी छोरी हुन् र उनका एक दाजु डोनाल्ड जुनियर र भाइ एरिक छन् । दोस्रो श्रीमतीबाट एक छोरी टिफानी ट्रम्प छन् भने हालकी श्रीमती मेलानियाबाट एक छोरा बारोन छन् ।

    ३९ वर्षिया इभान्का आफ्ना श्रीमान र छोराछोरीसँग थिइन् । दाजु डोनाल्ड जुनियर र सौतेनी बहिनी टिफानी पनि उनीसँग थिए । इभान्का भावविव्हल हुँदा टिफानी (२७) ले उनलाई सम्हालेकी थिइन् । तर, उनको आँखा पनि आँसुले भरिएका थिए । कार्यक्रममा सहभागी हुँदा उनीहरू कसैले पनि अनुहारमा मास्क लगाएका थिएनन् । इन्भान्काका तीन छोराछोरीले चाहिँ अनुहार र नाक छोपिने लुगा लगाएका थिए ।

    बिदाइको क्षणमा पनि टिफानीले आफ्नो फेसन सेन्स देखाउन कुनै कसर छोडिनन् । उनले बाहुला नभएको कोट लगाएकी थिइन् । एक दिनअघि मात्रै आफ्नो प्रेमी मिचाइल बोलससित विवाह गर्न लागेको घोषणा गरेकी उनले आफ्नो ईगेजमेन्ट रिंग पनि देखाइन् ।

    जेठा छोरा डोनाल्ड जुनियर (४३) एयरफोर्स बेसमा आफ्नी गर्लफ्रेन्ड किम्बर्ली गुइलफोइलसँग बसेर बाबुलाई सुनिरहेका थिए । अर्का ३७ वर्षीय छोरा एरिकले श्रीमती लाराको हात समातेका थिए । जब ट्रम्प उनीहरु नजिक आए त्यतिबेला भने एरिकले ‘अकवार्ड मोमेन्ट’ को सामना गर्नुपर्यो ।

    ट्रम्प र लाराले गालामा चुम्बन आदानप्रदान गरे, तर जब एरिकले बुबालाई गालामा किस गर्न मुख उघारे, ट्रम्प भने अगाडि बढिसकेका थिए । उनी मुख बाएको बायै भए । उक्त तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

    आफ्नो अन्तिम सम्बोधनमा ट्रम्प आफैँ भने भावुक देखिएनन् । उनले आफ्ना समर्थकहरूसामू पहिलेकै शैलीमा आत्मविश्वासी कुरा गरे ।

    ट्रम्पले भने, ‘म सधैँ तपाईंहरूका लागि लड्ने छु । म हेरिरहेको हुनेछु र सुनिरहेको हुनेछु । म भन्न चाहन्छु कि यो देशको भविष्य योभन्दा उज्ववल कहिल्यै थिएन । म नयाँ प्रशासनलाई सफलताको शुभकामना दिन चाहन्छु । उनीहरुलाई केही गर्नका लागि आधारशीला बनेको छ जुन पहिले थिएन ।’

    उनले थपे, ‘यो चार वर्ष निकै शानदार रह्यो । हामीले मिलेर धेरै कुराहरू हासिल गर्यौं । म आफ्नो परिवार, साथीहरू, कर्मचारी र अन्य मानिसहरूलाई धन्यवाद दिन चाहन्छु ।’

    त्यसपछि उनले आफ्नै बखान गरे ।

    ‘मानिसहरूलाई थाहा छैन कि यो परिवारले कति कडा मिहिनेत गरेको छ । उनीहरुले तपाईंका निम्ति काम गरेका छन् । उनीहरूको जीवन योभन्दा सहज हुनसक्थ्यो । तर, उनीहरुले… उनीहरूले गज्जब गरे । सबैलाई धन्यवाद दिन चाहन्छु ।’

    ट्रम्पले टेलिप्रोम्प्टर प्रयोग नगरी अनौपचारिक तवरमा भाषण गरेका थिए । उनले आफ्नो सरकारले हासिल गरेका उपलब्धिहरू सुनाउन पनि समय खर्चिए ।

    ‘हाम्रा जनता खुशी छन्, सेना दंग छ । हामीले करमा भारी कटौती गर्यौं । आशा छ कि अब उनीहरूले बढाउँदैनन्,’ उनले भने ।

    ट्रम्पले चुनावमा आफूले पाएका भोटहरू उल्लेख गरे, तर अर्थपूर्ण रूपमा यसपालि विजेता भएको दावी गरेनन् ।

    ‘अनेकन व्यवधानका बाबजुद बहालवाला राष्ट्रपतिको इतिहासमा हामीले ७ करोड ५० लाख भोट ल्यायौं । यो अहिलेसम्मै उच्च रेकर्ड हो । मेरो लागि ठूलो सम्मान हो,’ ट्रम्पले भने ।

    उनले आफू फर्किने दावी गरे, तर कहाँ भन्ने प्रष्ट्याएनन् ।

    ‘हामी फर्किने छौं, कुनै रूपमा । तपाईंहरूको जीवन राम्रो होस्,’ ट्रम्पले भने ।

    (डेलीमेलको समाचारमा आधारित)

  • ट्रम्पको बिदाई वक्तव्य– हामी जे गर्न आएका थियौं, त्यो गर्‍यौं

    ट्रम्पको बिदाई वक्तव्य– हामी जे गर्न आएका थियौं, त्यो गर्‍यौं

    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नुअघि बिदाई सम्बोधन गरेका छन् । नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले आज औपचारिक रुपमा पदभार ग्रहण गर्नुअघि ट्रम्पले यूट्यूवमार्फत बिदाई बक्तव्य सार्वजनिक गरेका हुन् ।

    सम्बोधनमा उनले भनेका छन्, ‘हामीले त्यही गर्‍यौं, जे गर्नका लागि आएका थियौं । अझ त्यो भन्दा पनि बढी गर्‍यौं ।’

    ‘यो कठिन लडाई थियो र कठिन भिडन्त रह्यो । तर मैले सामना गरें किनभने तपाईंहरुले मलाई यही गर्नका लागि निर्वाचित गर्नुभएको हो,’ भिडियोमा ट्रम्प अगाडि भन्छन ।

    ट्रम्प अझै पनि नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा आफ्नो हार स्वीकार गर्न सकिरहेका छैनन् । जहाँ उनी डेमोक्र्यटिक पार्टीका बाइडेनसँग पराजित भएका थिए । बाइडेन नेपाली समयअनुसार आज मध्यरातमा सपथ लिँदैछन् ।

    ट्रम्पको कार्यकालका अन्तिम २ साता संसद भवन (क्यापिटल हिल)मा भएको हिंसात्मक दंगाले प्रभावित बन्यो । उनका समर्थकले अमेरिकी कंग्रेसमाथि ६ जनाको ज्यान जाने गरी आक्रमण गरे, उनीहरु चुनावी परिणाम उल्टाउन चाहन्थे ।

  • अमेरिकी संसदमा आक्रमण गर्नेमध्ये १७० को पहिचान– एफबीआई

    अमेरिकी संसदमा आक्रमण गर्नेमध्ये १७० को पहिचान– एफबीआई

    एजेन्सी । अमेरिकी सुरक्षा तथा गुप्तचर एजेन्सी एफबीआईले गत साता अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण गर्नेमध्ये १ सय ७० जनाको पहिचान भइसकेको जानकारी गराएको छ ।

    उसका अनुसार तीमध्ये ७० जनाबिरुद्ध मुद्धा दायर गरिसकिएकोछ । एफबीआईले संसद भवनमा आक्रमण गर्नेहरुका लागि एक लाखभन्दा बढी डिजिटल सुराक मानिसहरुले पठाएको जनाएको छ ।

    एफबीआईले संसद भवनमा आक्रमण गर्नेहरु आफैं आएर आत्मसमर्पण गर्न भनेको छ । ‘यदि तपाईंहरु वाशिंटन छाडेर गइसक्नुभएको छ भने पनि हाम्रा एजेन्टले खोजेर निकाल्नेछन्,’ एफबीआईले भनेको छ ।

    संसद भवनमा भएको आक्रमण राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थित जत्थाबाट भएको आरोप लाग्दै आएको छ । मंगलबार मेक्सिकोको सीमामा लगाएको पर्खालको निरीक्षण गर्न टेक्सास पुगेका ट्रम्पले आफूले योभन्दा अगाडि अभिव्यक्ति स्वतन्त्रता हनन् भएको कहिल्यै नदेखेको बताएका छन् ।

    राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने विषयमा सिनेटमा छलफल भइरहेका बेला ट्रम्पले आफ्नो अभिव्यक्ति जायज भएको दावी गरेका छन् ।

  • ट्रम्पलाई महाअभियोग लाग्न सक्ने, रिपब्लिकनका सिनेटर भन्छन्- राजीनामा दिनु उत्तम

    ट्रम्पलाई महाअभियोग लाग्न सक्ने, रिपब्लिकनका सिनेटर भन्छन्- राजीनामा दिनु उत्तम

    एजेन्सी । अमेरिकाको डेमोक्र्याटिक पार्टीका एक नेताले राष्ट्रपति डोनाल्ड ट्रम्पको बिरुद्धमा महाअभियोगका लागि हाउस हफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा)मा मंगलबारसम्म मतदान हुन सक्ने बताएका छन् ।

    प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने डेमोक्र्याट्सहरुले अमेरिकी संसद भवन क्यापिटोल हिलमा भएको हिंसात्मक दंगामा राष्ट्रपतिको भूमिका रहेको ठहर गर्दै महाअभियोगको विधेयक ल्याउनुपर्ने पक्षमा छन् ।

    सभाका सचेतक जेम्स क्लिबर्नले यसै साता महाअभियोगबारे छलफल हुने सीएनएनलाई बताएका छन् । यो प्रक्रिया ढिला भयो भने राष्ट्रपछि जोए बाइडेनको कार्यकाल सुरु भएसँगै १ सय दिनसम्म पार्टीले कुनै पनि बिधेयक सभामा प्रस्तुत गर्न पाउने छैन ।

    ‘राष्ट्रपति बाइडेनलाई हामीले १ सय दिनको समय दिनुपर्ने हुन्छ ता कि उनले आफ्नो एजेन्डा कार्यान्वयन सुरु गर्न सहज होस,’ सचेतक क्लिवर्नले भनेका छन् ।

    यसो भयो भने सभाले बाइडेनलाई उनको मन्त्रिपरिषद पू्रा गर्न र कोरोना भाइरसबिरुद्धका मुख्य नीतिहरु सुरु गर्न अनुमति दिनेछ ।
    शुक्रबार ट्वीटर लगायत सबै सामाजिक सन्जालका एकाउन्ड स्थायी रुपमा बन्द गरिएपछि ट्रक्पले अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

    तर राष्ट्रपति कार्यालय ह्वाइट हाउसले राष्ट्रपति ट्रम्प मंगलबार टेक्सास जाने र उनको प्रशासनमा मेक्सिकोको सीमामा पर्खाल लगाउने कामको प्रगति विवरण लिनेछन् ।

    डेमोक्र्याटिक पार्टीका सांसदहरुले गएको बुधबार पाँच जनाको ज्यान जाने गरी अमेरिकी संसदमा भएको आक्रमणमा मुख्य जिम्मेबार राष्ट्रपति ट्रम्पलाई लगाउँदै आएका छन् । ट्रम्पलाई दोषी मान्नेमा उनकै पार्टी रिपब्लिकका पनि उल्लेख्य सांसदहरु छन् ।

    तर अहिलेसम्म कुनै रिपब्लिकन सिनेटरले घोषणा गरेका छैनन् कि उनीहरु ट्रम्पबिरुद्ध महाअभियोग प्रस्ताव आएको खण्डमा पक्षमा मतदान गर्नेछन् ।

    रिपब्लिकन पार्टीका एकजना सिनेटर प्याट टूमीले राष्ट्रपटि ट्रम्पलाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । ‘मेरो बिचारमा यो देशका लागि सबैभन्दा उत्तम तरिका हो । राष्ट्रपतिले छिटोभन्दा छिटो राजीनामा दिनुपर्छ,’ पत्रकार सम्मेलनमा टूमीले भने, ‘म स्वीकार गर्छु कि यो संभावना नहुन सक्छ । तर मेरो बिचारमा यो नै उत्तम विकल्प हो ।

  • हिंसा प्रेरित पोष्ट गरेपछि ट्वीटरद्वारा डोनाल्ड ट्रम्पको एकाउन्ट बन्द

    हिंसा प्रेरित पोष्ट गरेपछि ट्वीटरद्वारा डोनाल्ड ट्रम्पको एकाउन्ट बन्द

    एजेन्सी । अमेरिकी संसद भवन क्यापिटल हिल्समा आक्रमण र तोडफोडमा उत्रिएका आफ्ना समर्थकलाई अझै उत्तेजित पार्ने आशयको ट्वीट गर्न थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट बन्द गरिएको छ ।

    स्थानीय समय अनुसार मंगलबार साँझ ६ बजे आसपास ट्रम्पले एउटा ट्वीट गरे जहाँ उनले चुनावमा धोका भएको झूटो दावीका अलावा आफ्ना समर्थकलाई ‘यस दिन याद राख्नु’ भन्दै अझै उत्तेजित हुन प्रोत्साहित गरे ।

    उनले लेखेका थिए, ‘यस्ता घटनाहरु भइरहन्छन् जब एउटा पवित्र निर्वाचनमा बिभिन्न धोखाधडीबाट एकजना सच्चा देशभक्तलाई हराइन्छ । लामो समयदेखि उसलाई खराव र एकपक्षीय व्यवहार गरिन्छ । शान्तसँग घर जानुहोस तर यो दिनको हमेशा याद राख्नुहोस ।’

    ट्वीटरले लगत्तै यो ट्वीटलाई हटाएको छ र ट्रम्पको एकाउन्ट नै निलम्बनमा राखेको छ । उनको यो ट्वीटले आफ्नो कम्पनीको नियमको उल्लंघन भएको ट्वीटरको प्रष्टोक्ति छ ।

    राष्ट्रपति ट्रम्पले धोखाधडीका कारण चुनाव हारेको आधारहीन टिप्पणीसहितको भिडियो ट्वीटर, फेसबुक र युट्युबमा लगातार पोष्ट गरिरहेका थिए । तीनै सामाजिक सन्जालबाट ट्रम्पका त्यस्ता सबै भिडियो हटाइएको छ । फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाइ २४ घण्टाका लागि कुने अपडेट गर्न राेक लगाएकाे छ ।

  • ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    ट्रम्पले निर्वाचन अधिकारीसँग भोटका लागि आग्रह गरेको अडियो सार्वजनिक

    एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि निर्वाचित हुन असफल डोनाल्ड ट्रम्पले जर्जिया राज्यको प्रमुख निर्वाचन अधिकारीसँग आफूलाई जितका लागि आवश्यक मतको व्यवस्था गर्न आग्रह गरेको अडियो टेप सार्वजनिक भएको छ ।

    वाशिङटन पोस्टले यो टेलिफोन संवाद सार्वजनिक गरेको हो जहाँ राष्ट्रपति ट्रम्पले रिपब्लिकन सेक्रेटी अफ स्टेट ब्राड राफेन्सपर्गरसँग भनेका छन्, ‘म मात्र ११ हजार ७८० भोटको खोजी चाहन्छु ।’

    जवाफमा राफेन्सपर्गरले ट्रम्पसँग भनेका छन् कि जर्जियाको नतिजा ठीक छ ।

    डेमोक्रेटिक उम्मेद्वार जोय बाइडेनले जर्जियामा जित हासिल गरेका थिए । उनले कुल ३०६ इलेक्टोरल मत जितेका थिए भने ट्रम्पले २३२ ।

    मतदान सकिएपछि नै ट्रम्पले चुनावमा ठूलो मात्रामा घोटाला भएको आरोप लगाएका थिए । तर सर्वोच्च पदमा आसीन उनले आफ्ना आरोपको ठोस प्रमाण पेश गर्न सकेनन् ।

    आउने बुधबार अमेरिकी कंग्रेसले चुनावको परिणाम स्वीकार गर्नेछ भने जनवरी २० मा जोय बाइडेनले राष्ट्रपति पदको शपथ लिनेछन् ।