Tag: डाक्टर

  • इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

    इन्टर्नसिप नगराउनुको जवाफ खोज्दै चीनमा डाक्टर पढेर आएकाहरू (तस्बिरहरू)

    काठमाडौं । चीनमा डाक्टर पढेर आएकाहरू लामो समयसम्म इन्टर्नसिप गर्न नपाएको विरोधमा राजधानीमा प्रदर्शन गरेका छन् ।

    सात वर्षअघि (सन् २०१४) मा एमबीबीएस कोर्स पूरा गरेको भए पनि चिकित्सा शिक्षा आयोगले इन्टर्नसिप नगराएको उनीहरूको गुनासो छ । माइतीघरमा भेला भएका उनीहरूले आफूहरूको इन्टर्नसिपमा भएको ढिलाइबारे जवाफ मागेका छन् ।

    उनीहरूले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ बारे पनि ध्यानाकर्षण गराएका छन् ।

     
     
     

    तस्बिरहरू : उमेश कार्की ।

  • जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    जो चीन फर्किन पाएनन्- डाक्टर बन्ने सपनामा कोरोनाको तगारो

    लहान ।

    • सिरहाको लहान नगरपालिका- १ गोरछारीका निरज नारायण महतो चीनबाट एमबीबीएस. गर्दैछन् । १७ महिनाअघि अर्थात् २०७६ पुस २४ गते ३५ दिनको जाडो बिदामा घर आएका उनी फर्कन पाएका छैनन् ।
    • झापा दमककी अस्मिता शाह चीनको चाङ्सा मेडिकल युनिभर्सिटीमा डाक्टरी पढ्दै छिन् । उनी पनि विदामा घर आएपछि फर्किन पाएकी छैनन् ।
    • महोत्तरीको वलवा नगरपालिका- ५ का सुनिज यादव चीनको छिन्छियाङ मेडिकल युनिर्भसिटीमा एमबीबीएस पढ्दैछन् । विदामा घर आएका उनी पनि फर्केर चाइना जान पाइरहेका छैनन् ।

    महतो, शाह र यादव जस्तै सन् २०१४ र २०१५ को शत्रमा चीनमा एमबीबीएस गर्दै गरेका नेपालका लगभग ३ सय विद्यार्थी विदाको समयमा नेपाल आए, तर कोरोना कहरका कारण उनीहरु चीन फर्कन पाएका छैनन् । जसकारण उनीहरुको पढाइ प्रभावित भएको छ ।

    उनीहरुले पटक-पटक नेपाल सरकारसंग चीन फर्कने वातावरण बनाइदिन गुहार मागिसके । तर उनीहरुको कुरा कसैले सुनेको छैन । जसकारण धेरै लगानी गरेर डाक्टर पढ्न गएका विद्यार्थी र उनीहरूका अभिभावक चिन्तामा छन् ।

    छुट्टीमा नेपाल आएका महतो फर्कने तरखर गरिरहेका बेला चीनमा लकडाउन भयो । कोरोना महामारी विश्वव्यापी भएपछि चीनले बाहिरका नागरिकलाई प्रवेशमा रोक लगाएपछि उनी चीन फर्कन नपाएका हुन् । उनले ‘ईनटर्नसीप’ पनि गर्न पाएका छैनन् ।

    सन् २०१४ को व्याचका विद्यार्थीले पढाइ सकेर ६ महिनासम्म ईनटर्नसीप गरेका छन् । तर सन् २०१५ को शत्रका विद्यार्थीले ‘थेउरी’ कक्षासमेत लिन नपाएको महतोको भनाइ छ ।

    ३५ दिने जाडो बिदामा घर फर्केकामध्ये केहीको ६ महिना ‘थेउरी’ क्लाससमेत बाँकी थियो । उनीहरुले कोरोना कहरबीच नै अनलाईनमार्फत् सैद्धान्तिक कक्षा पूरा गरे । महतोले भने, ‘अहिले जुन महिनाबाट ईनटर्नसीप शुरू हुनुपर्ने तर चीन फर्कन नपाउँदा १७ महिनासम्म त्यत्तिकै बिताउनु परेको छ ।’

    महतोका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि तत्काल आउने वातावरण नभएकाले नेपालमा इन्टर्नसीप गर्न मिल्ने भए कलेजले आवश्यक सबै कागजात पठाउने भनेको छ । उनले भने, ‘चीनका कलेजहरूले आफ्नै देशमा मिल्छ भने इन्टर्नसीप गर्नू भनेर नेपाली विद्यार्थीलाई पत्राचार गरेको छ, तर नेपाल सरकारले त्यसमा चासो नै दिएको छैन ।’

    कोरोना महामारीको दोस्र्रो भेरियन्ट आइसकेको र तेस्रो भेरियन्ट आउने विज्ञले चेतावनी दिइरहेका कारण तत्काल चीन फर्कन सक्ने अवस्था नभएकोप्रति विद्यार्थी चिन्तित छन् । ‘हामीले यो बिषम परिस्थितिमा नेपालमै ईन्टर्नसीप गर्न पाउनु पर्दछ’, महतोले भने, ‘हामीले मेडिकल काउन्सिलको ढोका पनि ढक्ढक्यौं, तर काउन्सिलले पनि केही गरेन ।’

    चीनस्थित दूतावासले आफ्नो देशमा ‘इन्टर्नसीप’ गर्न भनेपछि थप प्रतिक्रिया दिन नचाहेको विद्यार्थीको भनाइ छ । ‘हामीलाई निकै गाह्रो भइसक्यो’ महतोले दुखेसो पोखे, ‘हाम्रो लगानी र भविष्य नै अन्योलमा परिसक्यो, अझै कति दिन यसरी बस्ने ?’

    जग्गा बेचेर कलेजलाई बुझाएको पैसा डुब्ने चिन्ता

    एमबीबीएस अध्ययनका गर्नका लागि प्रत्येक नेपाली विद्यार्थीले चीनको कलेजलाई मात्रै ३० देखि ४० लाख रूपैयाँ कलेज अनुसार बुझाएका छन् । जग्गा जमिन बेचेर सयकडा पाँच रुपैंया ब्याजमा ऋण लिएर कलेजलाई बुझाएका विद्यार्थी र अभिभावक ‘डिप्रेशन’को अवस्थामा पुगेको महतो बताउँछन् ।

    ‘म किसानको छोरा, लहान बजारको जग्गा बेचेर र ऋण काडेर डाक्टर बन्ने सपना पूरा गर्न बुबा आमाले मलाई विदेश पठाउनु भयो’, उनले थपे, ‘तर हामी १७ महिनादेखि अलमलको अवस्थामा छौं । दिनमा भोक र रातमा निद्रा लाग्दैन ।’ बुवाआमाको पीडा सम्झेर झन् चिन्ता थपिएको उनको भनाइ छ ।

    ‘छोराछोरी पढाएर डाक्टर बनाउने सपना नै अन्यौल भएपछि कुनै पनि बेला जे सुकै गर्न सक्ने अवस्थामा पुगेका छौ’, उनले भकानिँदै पीडा पोखे, ‘ऋणको भारीले थिचिएको छ । साहु दिनहुँ घरमा आउछन्, के भनेर टार्ने ?’

    अस्मिता शाहको पीडा पनि उस्तै छ । ‘चर्को ब्याजमा ऋण लिएर अनि जग्गा जमिन बेचेर चीनमा एमबीबीएस गर्न परिवारले पठाए । छोराछोरीले पढाइ पूरा गरेपछि कमाउनेछन् भन्ने आशा सबै अभिभावकलाई हुनु स्वभाविक हो’ अस्मिता भन्छिन्, ‘पढाइ सकेर कमाउने कुरा अन्योलग्रस्त छ, महिनैपिच्छे ब्याज तिर्नै नसक्ने स्थिति आइसक्यो ।’

    सरकारले अनुमति दिएर नेपालमै ईन्टर्नसीप मात्रै गर्न पाए पनि ठूलो राहत मिल्ने उनको भनाई छ ।

    महोत्तरीको यादवको पीडा पनि महतो र शाहको जस्तै छ । डाक्टर बन्नका लागि लिएको ऋणले भतभती पोलिरहेको उनी बताउँछन् । ‘पढाइका लागि भएको जग्गा जमिन पनि बेच्यौं, अहिले जिन्दगीनै अन्धकारमय भएको छ’, यादवले भने, ‘नियमित पढाई चलेको भए यतिबेला हामी ‘इन्टर्नसीप’ गरेर डाक्टरको लाइसेन्स लिइसकेका हुन्थ्यौं । अब कहिलेसम्म यसरी थन्किएर बस्नुपर्ने हो केही टुंगो छैन ।’

    छिमेकी र आफन्तलाई दिने जवाफ पनि हुन छाडेको यादवको भनाइ छ । ‘कहिले त ब्यर्थै एमबीबीएस पढ्न चीन गइएछ जस्तो लाग्छ’, पछुताउँदै उनले भने, ‘डाक्टर बन्ने सपनाले जिन्दगी नै सकिएला भन्ने डर लाग्न थालेको छ ।’

    नेपालमै ईन्टर्नसीप गर्न पाउनुपर्ने माग

    विद्यार्थीहरुले कि चीन जान कि त नेपालमै ईन्टर्नसीप गर्ने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् । यसका लागि उनीहरुले नेपाल मेडिकल काउन्सिलमा निबेदन दिएका छन् । तर काउन्सिलले मेडिकल शिक्षा आयोग भक्तपुरले स्वीकृति दिनुपर्ने जवाफ दिएको विद्यार्थीहरु बताउँछन् ।

    महोत्तरीका विद्यार्थी यादव भन्छन्, ‘अहिले कोरोनाका कारण आयोगसम्म हामी जान सकेका छैनौ ।’ उनीहरुले नेपालस्थित चिनियाँ दूतावासमा फोन र ईमेल गर्दा त्यसको जवाफ नपाएको गुनासो गरेका छन् । दमकी छात्रा शाहले नेपालमा पनि लकडाउन भएकोले अहिले चुपचाप बस्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘तर हामी लकडाउन खुकुलो हुनेबित्तिकै सरकारलाई थप दबाब दिन्छौ ।’

    अहिले कारोनाका कारण नेपालमा धेरै स्वस्थ्यकर्मीको खाँचो परेको भन्दै उनीहरुले जतिसुकै अफ्ठेरोमा गएर भए पनि ईन्टर्नसीप गर्न तयार रहेको बताएका छन् ।

  • मन्त्रालयले खटाएका ३ डाक्टर बेपत्ता !

    मन्त्रालयले खटाएका ३ डाक्टर बेपत्ता !

    जनकपुरधाम । महोत्तरीको जलेश्वर अस्पतालका लागि प्रदेश २ सामाजिक विकास मन्त्रालयले पठाएका डाक्टरहरू हाजिर हुन गएका छैनन् ।

    मन्त्रालयले प्रादेशिक अस्पताल जनकपुरका डा. रविरंजन प्रधान (फिजिसियन), डा. सन्तकुमार यादव (मेडिकल अधिकृत) र शैलेन्द्रकुमार यादव (एनेस्थेसिया) लाई काजमा खटाएको थियो ।

    अस्पताल विकास समितिका अध्यक्ष सुरेश पाण्डेले ती चिकित्सकलाई ६ दिनअघि पत्राचार गरेपनि सम्पर्कमा नआएको बताए । अहिले अस्पतालमा कोरोनाका १० संक्रमितको उपचार भइरहेको छ ।

    भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितलाई बाहिर पठाउने गरेको उनको भनाइ छ । उनले मन्त्रालयले पठाएको डाक्टर सम्पर्कमा नरहेको र हाजिर हुनका लागि आवश्यक पहल गरिदिन सम्बन्धित निकायसँग आग्रह समेत गरे ।

    यता, प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. प्रमोद यादवले मन्त्रालयले जलेश्वर पठाएका तीनैजना हिँडिसकेको बताए । उनले भने, ‘यहाँबाट गइसकेको छ । हाजिर भएको छैन भने अस्पतालले सम्पर्क गर्नुपर्‍यो नी ।’ उनले उनीहरुको ड्यूटी समेट काटिसकेको उनको भनाइ छ ।

    अस्पतालमा ५ भेन्टिलेटर छ । तर दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर अलपत्र परेको छ ।

  • जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    जो बिरामी हुँदा पनि कोरोना संक्रमितको ज्यान जोगाउन लागे

    काठमाडौं । मंगलबारको कोरोना रिपोर्टले डा. पुरुषोत्तम वर्मालाई ढुक्क बनायो । ढुक्क यसकारण कि, रिपोर्ट नेगेटिभ आएको थियो । अस्पतालमा काम गर्दा गर्दै कमजोरीले गालेको थियो उनलाई । कोरोनासँग मिल्दो लक्षण पनि देखिएको थियो ।

    सामाजिक सञ्जालमा पनि संक्रमित भनेर हल्ला फिँजियो । जे होस्, नतिजा भने सुखद् आयो ।

    डा. वर्माको फोटो सामाजिक सञ्जालमा केहीदिन यता भाइरल बनेको थियो । कोरोना महामारीमा दिलोज्यान दिएर बिरामीको उपचारमा तल्लीन कतिपय स्वास्थ्यकर्मी आफैं संक्रमित छन् । तै पनि पेसागत धर्म मात्र हैन, मानवीयताको मूल्य निभाइरहेका छन् भन्ने प्रमाणस्वरूप उनको कारुणिक फोटो देखा परेको थियो सामाजिक सञ्जालमा ।

    फोटोमा डाक्टर वर्मा हातमा सलाइन लगाएर अस्पतालमा काम गरिरहेका देखिन्थे । स्वयम् बिरामी भएर संक्रमितको उपचारमा खटिएको डाक्टर देख्दा तस्बिरले धेरैको हृदय पगाल्यो ।

    कोरोना ‘हटस्पट’ बाँकेको नेपालगञ्ज मेडिकल कलेजको कोरोना वार्डमा उनी यतिबेला पनि बिरामीको हेरचाहमा लागिरहेका छन् ।

    डेढ वर्षदेखि त्यहाँ कार्यरत डा. वर्मालाई यस्तो चाप कहिल्यै परेको थिएन । सँगै काम गर्ने तीन साथी कोरोना संक्रमित भए । र होम आइसोलेसनमा गए । थेग्नै नसक्ने थियो बिरामीको चाप । त्यही क्रममा आफैं पनि बिरामी परे उनी ।

    ‘मलाई आराम चाहिएको थियो । संक्रमण भयो भन्ने लागेको थियो । यस्तै बेलामा त हो काम देखाउने । विकल्प पनि थिएन । स्लाइन लगाएर काममा खटिएँ म,’ उनी सुनाउँछन् ।

    त्यति नै बेला एक जना सहकर्मीलाई लाग्यो- यो त पछिसम्म मेमोरी हुन्छ ।’ अनि उनले दृश्यलाई फोटोमा कैद गरे । अर्का सहकर्मीले फेसबुकमा राखिदिए । डा. वर्माले पछिमात्र थाहा पाए त्यो कुरा ।

    अघिल्लो वर्षको भन्दा धेरै गाह्रो बनाएको छ यसवर्ष कोरोनाले । दोस्रो लहरमा ‘हटस्पट’ बनेको बाँकेमा अघिल्लो सालको तुलनामा अस्पताल आउने बिरामीको संख्या मात्र बढेको छैन । समस्या पनि गम्भीर बन्दै गएको छ ।

    बिरामीमा अक्सिजन लेभल घट्ने र सास फेर्न गाह्रो हुने समस्या निकै छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएका कारण स्वास्थ्यकर्मीको अहोरात्र खटिनुपरेको छ । यसरी खटिँदा थुप्रै अनुभव व्यहोरिसकेका छन् डा. वर्माले ।

    उनको आग्रह छ- कोरोनासँग नआतिऔं । ‘भीडभाडमा नबस्ने, सही तरिकाले मास्क लगाउने र हातलाई निरन्तर साबुनपानीले धुने वा स्यानीटाइजर लगाउने मात्र गरे पनि संक्रमणबाट जोगिन सकिन्छ । फैलिन पनि कम हुन्छ,’ उनी सुझाउँछन् ।