Tag: डडेलधुरा

  • देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

    देउवाको गृहजिल्लामा कांग्रेस किचलो : सानेपामा अनसन, डडेलधुरामा अधिवेशन

    कैलाली । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नेपाली कांग्रेसको किचलो बढ्दै गएको छ । डडेलधुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन गरिरहेका बेला उता डडेलधुरामा भने नयाँ नेतृत्व चयन भएको छ ।

    सोमबार भएको कांग्रेस डडेलधुराको सातौँ जिल्ला अधिवेशनबाट ७ सय ३४ मत ल्याएर भीमबहादुर साउद सभापतिमा निर्वाचित भएका हुन् ।

    परशुराम नगरपालिकाका मेयरसमेत रहेका साउदको पुरै प्यानल नै विजयी भएको छ । साउदले सभापतिका अर्का प्रत्यासी चूडामणि ठकुराठीलाई ६ सय ५८ मतले पराजित गरेका हुन् । निर्वाचनमा विजेता भएका र पराजित भएका दुवै पक्षका हुन् ।

    यस्तै सचिवमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन् । उपसभापतिमा लक्ष्मीप्रसाद अवस्थी र डिल्लीराज जोशी, सहसचिवमा प्रेमराज महर र गोविन्दराज बोहरा निर्विरोध निर्वाचित भइसकेका छन् ।

    निवर्तमान सभापति कर्ण मल्ल समूहले उक्त निर्वाचन अवैध भनेको छ । साउद देउवानिकट हुन् भने सभापति देउवासँग हालै टाढिएका छन् ।

    ‘म सभापति हुँ मलाई बाहिर राखेर कांग्रेसको अधिवेशन हुन्छ ?’ उनले भने ‘त्यो गुटको भेला हो कांग्रेसको अधिवेशन होइन । ’

    डडेलधुरा कांग्रेसका निवर्तमान सभापति मल्ल र निर्वाचित सभापति साउद ।

    उनले यसअघि भएका अधिवेशनहरू पनि अवैध भएको भन्दै स्थगनको माग गरेका छन् । डडेलधुरामा कांग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो । मल्ल समूहले क्रियाशील विवाद टुङ्गो नलागेको भन्दै अधिवेशन स्थगित गरेको थियो । तर, केन्द्रीय सभापतिले बल प्रयोग गरेर अधिवेशन गराएको उनको दाबी छ ।

    ‘हरेक तहको सभापति र जिल्लाको समितिलाई बाहिर राखेर कहीँ अधिवेशन हुन्छ । केन्द्रीय सभापतिले शक्तिको दुरुपयोग गरेर आफ्नो गुटको अधिवेशन गर्नुभएको हो’, मल्लले भने ।

    मल्ल समूहले वडा सभापतिको सिफारिसमा गएका क्रियाशील सदस्यमध्ये ४ सय ६० जनाको नाम केन्द्रले काटेर थप ३ सय १२ जनाको नाम समावेश गरेको आरोप लगाउँदै आएको छ ।

    ‘सदस्यता पाउन वडा सभापतिको सिफारिस चाहिन्छ । वडा सभापतिले सिफारिस गरेको नाम काटेर आधिकारिक उम्मेदवारलाई हराउन लागेकाहरूको नाम समावेश गर्न पाइदैन । हामी यो अधिवेशन स्वीकार गर्दैनौ’, मल्लले भने । ५२ वडा मध्ये ४३ वडामा विवाद रहेकोले अधिवेशन स्थगित गरेको उनले जानकारी दिए । मल्ल समूहले सानेपामा अनसन जारी राखेको छ भने केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएको छ । पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।

    यता मल्ल पक्षले आन्दोलन जारी राखेकै बेला जिल्लामा भएको अधिवेशनले थप किचलो बढ्ने देखिएको छ । यसको समाधान सभापति देउवाबाट मात्रै सम्भव रहेको मल्लको दाबी छ । ‘आफ्नै गृहजिल्लामा समस्या राखेर उहाँले पार्टी सुधार्न सक्नुहुन्न । अभिभावक बनेर उहाँले नै समाधानको पहल गर्नुपर्छ’, मल्लले भने ।

    उता देउवा पक्षले भने निर्वाचनमा पराजित हुने डरले मल्ल समूहले विवाद झिकेको आरोप लगाएको छ । ‘सभापतिलाई बदनाम गर्ने उद्देश्यले उहाँहरू लाग्नु भएको छ’ देउवा पक्षका एक नेताले भने ‘निर्वाचनमा हार्ने डरले उहाँहरूले निर्वाचन बहिष्कार गर्नुभएको हो ।’

  • पर्यटनमन्त्री आलेको प्रतिबद्धता -डडेलधुरामा एयरपोर्ट बन्छ, चाहिए जति बजेट छुट्टिन्छ

    पर्यटनमन्त्री आलेको प्रतिबद्धता -डडेलधुरामा एयरपोर्ट बन्छ, चाहिए जति बजेट छुट्टिन्छ

    डडेलधुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले डडेलधुरामा एयरपोर्ट बन्ने बताएका छन् । सदरमुकाममा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एयरपोर्ट निर्माणका लागि आफूले बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

    उनले डडेलधुराको अजयमेरू गाउँपालिका-१ पुइलेकमा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री आलेले मंगलबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक नलविक्रम थापाको प्राविधिक टोलीले सर्भे गरिरहेको जानकारी गराए ।

    उनले आफू काठमाडौं फर्किएलगत्तै वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) का लागि २५ लाख बजेट विनियोजन गर्ने पनि बताए । ईआईएको काम सकिएलगत्तै विमानस्थल निर्माणका लागि जति बजेट चाहिए पनि मन्त्रालय त्यसको व्यवस्थापनमा लाग्ने आलेको भनाइ छ ।

    उनले भने भने, ‘प्रधानमन्त्रीज्यूले छिटोभन्दा छिटो काम अघि बढाउनुपर्‍यो भन्नुभएको छ । तपाईंहरू ढक्क हुनुहोस् डडेलधुरामा एयरपोर्ट बन्छ ।’

  • विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन शुरू, जिल्ला सभापतिलगायतको बहिष्कार

    विवादकै बीच देउवाको गृहजिल्लामा वडा अधिवेशन शुरू, जिल्ला सभापतिलगायतको बहिष्कार

    कैलाली । क्रियाशील सदस्यता विवादकै बीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा वडाअधिवेशन शुरू भएको छ ।

    केही दिनअघि उपसभापति विमलेन्द्र निधि, नेता शेखर कोइरालाले डडेलधुराबाट सर्वसम्मत आएका सदस्यको नामावली जिल्ला नेतृत्वसँग समन्वय नै नगरी हटाएर माथिबाट थपेर पठाएको भन्दै पहिला क्रियाशील विवाद टुंग्याएर अधिवेशन गर्न देउवाको ध्यानाकर्षण गराएका थिए ।

    यो पनि पढ्नुस् :

    शुक्रबार बिहान ८ बजे देखि ५ गाउँपालिका र २ नगरपालिकामा एकैसाथ अधिवेशन शुरू भएको निर्वाचन अधिकृत लोकेन्द्र बमले बताए । उनले केही वडामा सर्वसम्मत नेतृत्व चयन समेत भइसकेको जानकारी दिए ।

    ‘जिल्लामा केन्द्रको निर्देशन अनुसार अधिवेशन सुरु भइसकेको छ’ उनले नेपाल प्रेससँग भने, ‘जिल्लाका ५२ वडामध्ये केही वडाहरूमा त सर्वसम्मत नेतृत्वसमेत चयन भएको जानकारी पाएको छु । ’ सर्वसम्मत हुन नसकेका वडाहरूमा निर्वाचन प्रक्रिया शुरू गरिएको छ ।

    वडाअधिवेशनलाई जिल्ला नेतृत्वसहित देउवाइतरका नेताहरूले वहिष्कार गरेका छन् । ‘क्रियाशील सदस्यको विवादका कारण हामीले स्थगित गरेका हौँ’ कांग्रेस डडेल्धुराका सभापति कर्ण मल्लले भने, ‘उहाँ एकपक्षीय रूपमा राज्यको शक्ति दुरुपयोग गरेर अधिवेशन गराउने पक्षमा हुनुहुन्छ । ’

    मल्लले तल्लो तहबाट पठाएका करिब ५०३ जना क्रियाशील सदस्य हटाएको र केन्द्रबाट ३१३ जनाको नाम समावेश गरेको आरोप लगाए ।

    ‘म पार्टी जिल्ला सभापति हो । मसँग सल्लाह पनि भएको छैन । म अहिले पनि पार्टी कार्यालय नजिक छु मलाई केही जानकारी छैन’ उनले भने, ‘५२ वडा सभापतिले सार्वजनिक सूचना गर्नुपर्ने हो तर कतै भएको छैन । केन्द्रीय सभापतिबाटै अलोकतान्त्रिक काम भइरहेको छ । ’

    उनले सशस्त्र र जनपथ पठाएर निर्वाचन गराउन लगाएको आरोप लगाए । आजै रामचन्द्र पौडेल पक्षका नेताहरूले बालुवाटारमा देउवालाई भेटेर पार्टीको निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न सचेत गराएका थिए ।

    क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सभापति मल्ल पक्षले अधिवेशन स्थगितको घोषणा गरेको थियो । तर, जिल्लाको निर्णयलाई काउन्टर दिएर निर्वाचन अधिकृतले जबर्जस्ती अधिवेशन अघि बढाएको गुनासो मल्लको छ ।

    अमरगढी नगरपालिका- २ का वडा सभापति मनोरथ खडायतले पनि केन्द्रीय सभापतिले बल प्रयोग गरेर अधिवेशन आयोजना गर्न लागेको बताए ।

    ‘एउटा गुटको पावरको आधारमा अधिवेशन भइएको छ । पार्टीको पद्धति मिचिएको छ’ उनले भने, ‘मैले पनि कार्यक्रम स्थगित गरेर आएको । तर, उनीहरू अधिवेशन गर्न लागेको बताए । ’

    देउवानिकटका नेता तथा पर्शुराम नगरपालिकाकाका मेयर भीमबहादुर साउदले भने जिल्लामा क्रियाशील सदस्यताको विवाद नरहेको जिकर गरे ।

    ‘क्रियाशील सदस्यताको सूची जिल्ला सभापतिले केन्द्रमा पठाउनु भएको हो केन्द्रमा छानविन भयो । छानविनपछि सूची सार्वजनिक गरेको हो अब त्यसमा विवाद गर्न मिल्दैन’ उनले भने, ‘जिल्लामा केही ठाउँमा विवाद भएको होला यहाँ भइरहेको अधिवेशनमा सबै सहभागी छन् । ’

    उनले प्रधानमन्त्री तथा पार्टी सभापतिको जिल्ला भएको हुँदा अनावश्यक बखेडा झिकिएको बताए ।