Tag: ट्रायल

  • ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारको प्रष्टोक्ति (भिडिओ)

    ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारको प्रष्टोक्ति (भिडिओ)

    काठमाडौं । सवारी चालक अनुमति पत्र र प्रयोगात्मक परीक्षामा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था सर्वोच्चले रोकेको सरकारले जवाफ दिएको छ ।

    प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले उपभोक्ताको सजिलोको लागि गरिएको निर्णय सर्वोच्च अदालतको आदेशले रोकिएको प्रष्टीकरण दिए ।

    केही दिनअघि नियमावली संशोधन गर्दै सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि लिइने परीक्षामा ७० प्रतिशत नम्बर ल्याउनेलाई १ वर्षको परीक्षणकालको व्यवस्था हुने गरी अनुमति पत्र दिन सकिने व्यवस्था राखिएको थियो । त्यस्तै आफ्नै सवारीसाधन प्रयोग गर्न पाइने नियमावलीमा उल्लेख थियो ।

    प्रयोगात्मक परीक्षा परीक्षण गर्ने ठाउँमा यातायात व्यवस्था विभागले ठेक्कामा दिइसकेको र सर्वोच्च अदालतले ठेक्कामा दिए अनुसार नै गर्नु भनेर आदेश दिएकाले तत्काल रोक्न सरकार बाध्य हुनु परेको सचिव श्रेष्ठले बताए ।

    सचिव श्रेष्ठले ट्रायल (प्रयोगात्मक परीक्षा) पास गरेकै दिन सवारी चालक अनुमति पत्र दिन सकिने जानकारी गराए ।

  • सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि सुरु हुने, नयाँ आवेदन अझै अनिश्चित

    सवारी चालक लाइसेन्सको ट्रायल शुक्रबारदेखि सुरु हुने, नयाँ आवेदन अझै अनिश्चित

    काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ।

    लाइसेन्सको लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका २१ वटा यातायात कार्यालयलाई पत्राचार गरेको छ।

    काठमाडौँ उपत्यकामा यही भदौ १८ गते चालक अनुमतिका लागि ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए ।

    ‘काठमाडौँमा रहेको यातायात कार्यालयले १८ गतेबाट लाइसेन्सको लागि (ट्रायल)ं परीक्षा सञ्चालन गर्नेछन्’ उनले भने, ‘बाहिरका कार्यालयले दुईसाताभित्र सञ्चालन गर्छौ भनेका छन् ।’

    पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो ।

    यससँगै करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

    पुसदेखि वैशाखसम्म फारम भरेका झण्डै ६ लाख परीक्षार्थी ट्रायलको प्रतिक्षामा छन् । ६ लाख परीक्षार्थीले ट्रायल दिन कम्तीमा ५ देखि ६ महिना लाग्ने विभागको अनुमान छ । यससँगै अब प्रतिक्षामा रहेका परीक्षार्थीहरुले सम्बन्धित यातायात कार्यालयमा सम्पर्क गरी आफ्नो पालो बुझ्नुपर्नेछ ।

    नयाँ आवेदन अनिश्चित

    झन्डै ६ लाखको परीक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा विभागले नयाँ आवेदन भने तत्काल लिने सम्भावना कम देखिन्छ। पुराना परीक्षार्थीको संख्या ६ लाखको हाराहारीमा रहेकाले नयाँ कहिलेबाट खुलाउने भन्ने निश्चत नभएको विभागका महानिर्देशक नमराज घिमिरे बताउँछन् ।

    ‘हामीले यातायात कार्यालयलाई डबल सिफ्टमा काम गराउन भनेका छौं संख्या घट्दै गएपछि नयाँका लागि अनलाइन फारम खोल्ने तयारी गर्नेछौं’, उनले भने।

    त्यस्तै विभागले लिखित परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्दै परीक्षा हलको उपलब्धता अनुसार एक सिफ्टमा सय जना परीक्षार्थीको परीक्षा गराउने व्यवस्था गरेको छ । एउटा कोठामा कम्तीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गर्नुपर्नेछ ।