Tag: टोटेनह्याम

  • केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

    केन टोटेनह्यामको ट्रेनिङमा फर्किए

    काठमाडौं । इङ्लिस स्ट्राइकर ह्यारी केन टोटेनह्यामको फुल ट्रेनिङमा फर्किएका छन् । उनी नवनियुक्त प्रशिक्षक नुनोको नेतृत्वमा मंगलबार पहिलो पटक ग्रुप सेसनमा सामेल भएका हुन् ।

    प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी जाने हल्ला चलेका इङ्लिस कप्तान केन यसअघि ट्रेनिङमा थिएनन् । तयारी नपुगेकाले केनले म्यानचेस्टर सिटीविरुद्धको पहिलो खेल पनि गुमाएका थिए ।

    टोटेनह्यामले लिग च्याम्पियन सिटी विरुद्धको खेलमा १–० गोलको नतिजामा जित निकालेको थियो । टोटेनह्यामको जितमा सन हेयुङ मिनले खेलको ५५औं मिनेटमा गोल गरेका थिए । सिटीले अझै केनलाई भित्र्याउने प्रयास गरिरहेको छ । तर, ट्रेनिङमा फर्किएसँगै केन नर्थ लन्डन क्लब टोटेनह्याममै बस्ने सम्भावना बढेको छ ।

    केनले हालसम्म स्पर्सबाट खेलेका २ सय ४५ खेलमा १ सय ६६ गोल गरेका छन् । प्रिमियर लिगमा आफूलाई प्रमाणित गरिसकेका २८ वर्षीय केन तीन पटक गोल्डेन बुट विजेता बनेका छन् ।

    केनको नेतृत्वमा इङ्ल्यान्डले १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिता– यूईएफए युरो २०२० को फाइनलसम्मको यात्रा तय गरेको थियो । फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इङ्लिस टोली उपाधि जित्नबाट वञ्चित भएको थियो ।

    केनको ट्रेनिङमा पुनरागमनसँगै उनी आगामी आइतबार हुने वुल्भ्सविरुद्धको खेलमा उपस्थित हुने सम्भावना बढेको छ ।

  • टोटेनह्यामको प्रशिक्षकमा नुनो नियुक्त

    टोटेनह्यामको प्रशिक्षकमा नुनो नियुक्त

    काठमाडौं । टोटेनह्यामले वुल्भ्सका पूर्व प्रशिक्षक नुनो स्पिरितोलाई क्लबमा भित्र्याएको छ । गत सिजनको बीचमै जोसे माउरिन्होलाई बर्खास्त गरेको टोटेनह्याले रायन म्यासनलाई केयर टेकर प्रशिक्षकमा नियुक्त गरेको थियो ।

    चार सुन्दर सिजन वुल्भ्समा बिताएका नुनोले क्लबलाई युरोपा लिगमा छनोट गराएसँगै गत मे महिनामा क्लब छाडेका थिए । उनले वुल्भ्सलाई इङ्लिस फुटबलको दोस्रो डिभिजनदेखि बढुवा गराएर युरोपा लिगको क्वार्टरफाइनलसम्म पुर्‍याएका थिए ।

    ‘टोटेनह्यामको प्रशिक्षकको हुनु मेरालागि एकदमै खुशीको कुरा हो,’ नुनोले भनेका छन्, ‘म एकदमै खुशी छु, र काम सुरु गर्नका लागि पनि तयार छु ।’

    ‘हामीले गुमाउनका लागि एक दिन पनि छैन, प्रि-सिजन सुरु भएसँगै काम थाल्नुपर्छ,’ उनले भने ।

    नुनोले आफूले छोडेर आएको वुल्भ्सविरुद्धको खेलका लागि धेरै कुर्नुपर्ने छैन । टोटेनह्यामले २२ अगस्टमा वुल्भ्सको मैदानमा खेल्ने छ ।