Tag: टेबल टेनिस

  • टेबल टेनिसको माध्यमबाट लैंगिक चेतना

    टेबल टेनिसको माध्यमबाट लैंगिक चेतना

    काठमाडौं । खेल खेल्नकै लागि मात्र हुन्न, यो एक सामाजिक जनचेतनाको माध्यम पनि हो । अहिले काठमाडौंको लैनचोरको टेबल टेनिस प्रशिक्षण केन्द्र र विराटनगरको टेबल टेनिस हलमा साँझ केही किशोरी टेबल टेनिसको विशेष प्रशिक्षणमा छन् ।

    यो प्रशिक्षणमा खेलबारे जानकारी मात्र दिने काम हुँदैन, लैंगिक जनचेतना पनि दिइनेछ, अनि भविष्यमा महिला नेतृत्वका लागि प्रेरित पनि गरिनेछ । एक साता लामो यस कार्यक्रमको नाम नै रहेको छ, ‘माइ जेन्डर माइ स्ट्रेन्थ’ ।

    अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भइरहेको यो कार्यक्रम विश्व टेबल टेनिस संघको सहयोगमा भएको हो । यस कार्यक्रममा काठमाडौंमा ३० र विराटनगरमा २० किशोरीको सहभागिता रहेको छ । विराटनगरमा प्रशिक्षक विकेन थापा र काठमाडौंमा प्रशिक्षकद्वय सन्ध्या शाक्य र मुना बासुकलाले कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    सन्ध्या र मुना दुवै पूर्वनेसनल च्याम्पियन हुन् र उनीहरूकै नेतृत्वमा टेबल टेनिसको माध्यमबाट लैंगिक जनचेतनाबारे जानकारी पाउँदा किशोरी खुसी र उत्साहित छन् । त्यति मात्र होइन, पूर्वराष्ट्रिय खेलाडी तथा खेलविज्ञ रिता प्रजापति तथा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदकधारी सुलोचना सिजख्वाःले उनीहरूलाई समाजमा खेलकुदको महत्वबारे विशेष कक्षा सञ्चालन गरेका थिए । त्यस अवसरमा सहभागीलाई पछि नेतृत्व तहमा जान प्रेरित गरिएको थियो ।

    यस्तै किशोरीहरूले सागकै पूर्व स्वर्ण पदक विजेता तथा नेपाली टेबल टेनिसका लेजेन्डरी खेलाडीद्वय सिजरिन शाह र गीता क्षेत्रीबाट अन्तरक्रियाको अवसर पनि पाए । कार्यक्रमको अवसरमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले यस प्रकारको कार्यक्रमले किशोरीहरूलाई टेबल टेनिसमा सहभागी भएर आफ्नो व्यक्तिगत जीवनको हरेक मोडमा सफल हुन प्रेरित गर्ने बताए ।

    त्यसै अवसरमा राखेप प्रशासन विभागका विभागीय प्रमुख तथा कुलबहादुर थापाले किशोर खेलाडीलाई अनुशासनको महत्वबारे जोड दिएका थिए ।

  • एसियाली टेबलटेनिस प्रतियोगिता खेल्न कतार जाने खेलाडीको टुङ्गो लाग्यो

    एसियाली टेबलटेनिस प्रतियोगिता खेल्न कतार जाने खेलाडीको टुङ्गो लाग्यो

    काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघले कतारमा हुने २५औं एसियाली टेबलटेनिस प्रतियोगिताका लागि ६ खेलाडी छनोट गरेको छ ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने छनोट प्रतियोगिताबाट तीन/तीन जना महिला-पुरुष खेलाडी छनोट गरिएको संघका प्रथम उपाध्यक्ष धम्रमान बज्राचार्यले जानकारी दिए ।

    पुरुषमा नेपाल प्रहरीका बिनेश खनियाँ, काठमाडौंका अमरलाल मल्ल र प्रहरीका स्यान्टु श्रेष्ठ छनोट भएका छन् । वैकल्पिकमा एभीएम टेबलटेनिस क्लबका सन्योग कपाली र विलोश श्रेष्ठ रहेको बज्राचार्यले बताए ।

    महिलातर्फ एपीएफकी सिक्का सुवाल, एभीएमकी इभाना थापा मगर र प्रहरीकी एलिना महर्जन छनोट भएका छन् । वैकल्पिकमा नेपाल आर्मीकी रविना महर्जन र एभीएमकी वियंका राई छन् ।

    छनोटमा समान ९/९ पुरुष-महिला खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता दोहामा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुनेछ ।

  • देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ गतेदेखि

    देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ गतेदेखि

    काठमाडौं । देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत २ देखि ७ गतेसम्म हुने भएको छ ।

    स्पिन इभेन्ट्स प्रालिको आयोजनामा हुन लागेको प्रतियोगितामा देशभरका विभिन्न वडाबाट एक हजारभन्दा धेरै खेलाडी सहभागी हुने आयोजकले बताएको छ ।

    अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा मेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल वुमेन्स टिम, मेन्स भेट्रान सिंगल ४० वर्षमाथि र मेन्स भेट्रान्स सिंगल्स ५५ वर्षमाथि गरि ६  प्रतिस्पर्धा हुने बताएको छ ।

    प्रतियोगितामा शीर्ष १६ राष्ट्रिय खेलाडीबाहेक अन्य खेलाडीहरूले सहभागिता जनाउन पाउने आयोजकले जानकारी दिएको छ ।

    प्रतियोगितामा मेन्स÷वुमेन्स सिंगल्स स्पर्धामा प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट)हरूहरूलाई क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सयय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    त्यस्तै, भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमिफाइनलिष्ट)हरूलाई क्रमशः १० हजार, ५ हजार र २५ सय नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    प्रतियोगितामा पदक तालिका अनुसार शीर्ष स्थान हासिल गर्ने वडालाई ५० हजार नगदसहित रनिङ शिल्ड प्रदान गरिने आयोजकले बताएको छ ।

    कूल लागत १९ लाख ५० हजार रूपैयाँ रहेको प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर सञ्चालन हुनेछ ।