Tag: टाेपबहादुर रायमाझी

  • टोपबहादुरको प्रष्टोक्ति- विघटनको घोषणा गर्न बाँकी रहेको माओवादीमा फर्किदैनौं

    टोपबहादुरको प्रष्टोक्ति- विघटनको घोषणा गर्न बाँकी रहेको माओवादीमा फर्किदैनौं

    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझीले नेकपा माओवादी औपचारिक रुपमा विघटनको घोषणा गर्न बाँकी रहेको भन्दै आफूहरु त्यस पार्टीमा फर्किने सम्भावना नरहेको बताएका छन् ।

    रायमाझीले सोमवार साँझ विज्ञप्ति जारी गर्दै माओवादी अध्यक्ष प्रचण्डमा कुर्सीमोह, अस्थिरता, परिवारवाद र भ्रष्ट आचारण रहेको भन्दै सिंगो पार्टीलाई विघटन गरेर कांग्रेस सभापतिको शरणमा पुगेको आरोप लगाएका छन् ।

    आफू माओवादीमा फर्किन लागेको भन्ने भ्रम प्रचण्ड पक्षबाटै फैलाइएको भन्दै उनले आफूहरु केपी ओलीको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टीसँग एकता र सहकार्यको प्रक्रियामा रहेको बताएका छन् ।

  • सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    सांसद पदबाट मुक्त भएका मन्त्री आज सिंहदरवार नजाने, पुनः सपथग्रहणको तयारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्री आजदेखि मन्त्रालय नजाने भएका छन् ।

    उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

    प्रतिनिधिसभा सदस्य नरहेपछि मन्त्रीबाट स्वतः पदमुक्त हुने भएकाले पुनर्नियुक्ति नहुन्जेल मन्त्रालय नजाने शहरी विकासमन्त्री प्रभु साहले बताए । उनीहरुले पुनः मन्त्री पदमा नियुक्त भएर सपथग्रहण गर्नुपर्ने हुन्छ ।

    प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइने नेम्वाङले बताए । सोही व्यवस्था अनुसार मणि थापा र दावा लामा मन्त्री कायम छन् ।

    ६ महिनाभित्र उपचुनाव हुनुपर्ने भएकाले टोपवहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी त्यतिन्जेल मन्त्री हुन पाउँछन् । उपचुनावमा उनीहरु एमालेबाट उम्मेदवार बन्ने निश्चित नै छ ।

    उनीहरुले प्रतिनिधिसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध कानूनी उपचार खोज्नेबारे समेत छलफल गरिरहेको स्रोतले जनाएको छ । यसबारेमा टुंगो भने लागेको छैन ।

    माओवादीले गृहमन्त्री रामवहादुर थापाको राष्ट्रियसभा सदस्य पदबाट खारेज गर्ने सूचना दिइ नसकेकाले बादल समेत पदमुक्त भएपछि एकैपटक पुनर्नियुक्ति गर्नेबारे पनि छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

    ढिलोमा आइतवारसम्म पुनःनियुक्ति र सपथग्रहण हुने स्रोतले जनाएको छ ।

    ‘छबिलाललाई प्रचण्ड बनाउने इतिहास’

    यसैबीच प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेका एमाले केन्द्रीय सदस्य सूर्य थापाले रायमााझी, भट्ट, प्रभु साह र गौरीशंकरले पद प्रतिष्ठाका लागि नभएर निष्ठाको राजनीति गरेकाले सबथोक हैसियत त्याग गर्ने स्पिरिटका साथ लामो यात्रामा अघि बढेको बताएका छन् ।

    थापाले भनेका छन्, ‘उहाँहरुले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ ।’

  • उल्फा विद्रोहीसँग युद्ध सिक्न पठाइएका रायमाझीले किन गरे प्रचण्डसँग विद्रोह ?

    उल्फा विद्रोहीसँग युद्ध सिक्न पठाइएका रायमाझीले किन गरे प्रचण्डसँग विद्रोह ?

    रुपन्देही । टोपवहादुर रायमाझी अहिले राष्ट्रिय चर्चामा छन् । माओवादी जनयुद्धको एक संस्थापक रायमाझीले प्रचण्डको साथ छाडेर केपी ओलीतिर लागेदेखिनै उनको चर्चा चुलियो ।

    यसबीचमा कहिले एमसीसीबारे बोलेर त कहिले प्रचण्डको बारे बोलेर चर्चामा आइरहेका रायमाझीलाई लक्षित गर्दै विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोशपूर्ण भाषण गरिरहेका छन् । उनले रायमाझी लगायत ओलीतिर लागेका पूर्व माओवादीहरुलाई नयाँ जोगी भनेका छन् ।

    रायमाझीले भने प्रचण्डलाई कहिल्यै कार्यकर्ताबाट निर्वाचित हुन नचाहने,३३ वर्षद देखि टीके अध्यक्ष (पार्टी)प्रमुख भएको र अहिले केपी ओलीलाई कु गरेर देशमा अस्थिरता सिर्जना गर्न खोजेको जस्ता आरोप लगाउँदै आफूले प्रचण्ड छाड्नुको औचित्य पुष्टि गरिरहेका छन् ।

    प्रचण्डले उल्फासँग युद्ध सिक्न पठाएका रायमाझी

    टोपवपहादुर रायमाझीको लिगेसी मोहनविक्रम सिंह,चित्रवहादुर केसी र बाबुराम भट्टराई हुँदै बाबुरामले माओवादी छाडेपछि प्रचण्डसँग जोडिएको थियो । संयोगनै मान्नुपर्छ टोपवहादुर, प्रभु साह लगायतका बाबुरामसँग लिगेसी जोडिएका नेता नेकपा विभाजनसँगै ओलीसँग जोडिएका छन् ।

    रायमाझी तत्कालिन नेकपा मसालको विद्यार्थी संगठन अनेरास्ववियु छैटौं र युवक संगठनको अध्यक्ष हुँदै २०४८ मा मसाल छाडेर प्रचण्ड बाबुरामको पार्टी नेकपा एकता केन्द्र हुँदै माओवादी जनयुद्धको शुरु हुने बेलाको ३१ सदस्यीय नेतृत्वका एक नेता थिए ।

    जनयुद्धकालमा उनले प्रायः मध्यक्षेत्रको कमाण्ड गरेका थिए ।

    रायमाझीको जीवनको अर्को रोचक पाटो के हो भने, युद्ध शुरु नहुँदै प्रचण्डले उनलाई युद्धकला सिक्न भारतको आसामका उल्फा विद्रोहीसँग पठाएका थिए । मार्सल आर्टका खेलाडी भएकाले पनि उनी प्रचण्डको रोजाइमा परेका हुनसक्छन् ।

    जनयुद्ध शुरु भएको केही समयपछिनै टोपवहादुर प्रवास इन्चार्ज बनेर दिल्ली गएका थिए । माओवादीका तत्कालिन महामन्त्री प्रचण्डसहित पार्टी हेडक्वार्टरको व्यवस्थापन र सुरक्षाको जिम्मा उनको थियो । उनको ससुराली पनि दिल्लीमा भएकाले यो जिम्मा दिइएको थियो ।

    जनयुद्ध उत्कर्षमा पुगेकै बेला माओवादीमा झण्डै विभाजन आयो । प्रचण्डले बाबुराम भट्टराई सहित मसालबाट विद्रोह गरेर आएका अधिकांश नेताहरुलाई कारवाही गरे । टोपवहादुर रायमाझीले कारवाहीको विरोध गरे ।

    तर एक अर्कालाई सिध्याउनै लागेका प्रचण्ड र बाबुरामलाई मिलाउन उहाँलेनै निर्णायक भूमिका खेलेका थिए, जसको प्रशंसामा प्रचण्डले चुनवाङ बैठकमै २ घण्टा खर्च गरेका थिए ।

    माओवादी जनयुद्धको अन्तिम चरणमा टोपवहादुर रायमाझी दुस्मनको ढाडमा टेकेर टाउकोमा हान्ने अभियानको नेतृत्वमा थिए । त्यसबेला माओवादीको परिभाषामा गण्डक ढाड थियो, जसको इन्चार्ज रायमाझी थिए ।

    ३० वर्षपछि रायमाझीको यू-टर्न

    प्रचण्डसँगको करीव ३० वर्षको सहयात्रा छाडेर ओलीतिर लागेका रायमाझी यसबीचमा देशव्यापी अभियानमा छन् । बुटवलको भाषणपछि लुम्विनीमा अझ चर्चामा रहेका रायमाझीले शनिवार गृहजिल्ला अर्घाखाँचीमा शक्ति प्रदर्शन गरे ।

    २०६४ पछि लगातार तीनपटक चुनाव जितेका रायमाझी ओली पक्षमा लागेपछि अर्घाखाँचीमात्र होइन लुम्विनीकै नेकपाको समीकरणमा फेरबदल आएको छ । रायमाझी अ‍ोलीतिर लाग्नुको फाइदा लुम्विनीका मुख्यमन्त्री शंकर पोखरेललाई पनि भएको छ,जसका कारण लगभग प्रदेश सरकार सुरक्षित बनेको छ ।

    माओवादी जनयुद्धको बेला बाबुराम भट्टराईको निकट भएर काम गरेका रायमाझी भट्टराइले पार्टी छाडेपछि प्रचण्डसँगै रहे । तर पछिल्लो समय पार्टी एकताका लागि दोस्रो तहका नेताहरुबाट सक्रिय भएका रायमाझी अहिले नेकपा विभाजनपछि ओलीको विश्वासपात्र बनेका छन् ।

    पार्टी विवादपछि एकसाता जिल्लामा रहेका ६ वटा पालिकामा भेला गरेर काठमाण्डौं फर्किएका नेता रायमाझी आफ्नो समूहको जिल्लास्तरीय शक्ति प्रदर्शनमा पुनः अर्घाखाँची आए । उनी २०७० सालमा लुम्विनीबाट माओवादीको एकमात्र चुनाव जित्ने नेता बनेका थिए ।

    त्यसबेला प्रचण्ड-बाबुरामले मतगणना बहिस्कार गर्ने निर्णय गर्दा अर्घाखाँचीबाटै उनले नेतृत्वलाई त्यसो नगर्न सुझाव समेत दिएका थिए । जनमत स्वीकार गर्नुपर्ने भन्दै उनले आफ्नो क्षेत्रमा मतगणना जारी राख्न लगाएर प्रचण्डको विरोध गरेका थिए ।

    रायमाझीले व्यक्तिगत रुपमा मत दिनेहरु पनि अर्घाखाँचीमा धेरै छन् । अर्घाखाँचीमा सबैभन्दा पहिले सबै स्थानीय तहमा सडक पुु¥याउने देन पनि रायमाझीलाई जान्छ ।

    जिल्लाको अवस्था

    नेकपा विभाजनसँगै अर्घाखाँचीको अवस्थालाई लिएर दुवै समूहले आ-आफ्नो बहुमत भएको दावी गरेपनि बाहिरबाट हेर्दा ओली समूहकै बहुमतजस्तो देखिने नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष बीरेन्द्र केसी बताउँछन् ।

    उनका अनुसार जिल्लामा साबिकको नेकपामा १३५ सदस्यीय जिल्ला कमिटीमा अध्यक्षसहित ८६ जना ओली समूहमा रहेकाले पनि बहुमत उतै देखिएको छ । यद्यपि समूह फेरिइरहने भएकाले केही सदस्यको दोहोरो भूमिका पनि देखिने गरेको छ ।

    तर प्रचण्ड माधव समूहका जिल्ला नेता प्रेम गैरेले आफ्नो भेलामा ६७ जना जिल्ला सदस्य आएको दावी गरेका छन् । उनको दावीलाई ओली समूहका नेता बालकृष्ण आचार्यले हावादारी भने ।

    रायमाझीका आलोचकहरु अर्घाखाँचीमा प्रचण्ड-माधव नेपाल समूह कमजोर रहेको ठानेर आफ्नो राजनीति सुरक्षित गर्न उनी ओली समूहमा लागेको टिप्पणी गर्छन् । प्रचण्ड पक्षधरहरुले मन्त्रीको लोभमा उनी ओली समूहमा लागेको भन्न पनि थालेका छन् ।

    प्रचण्ड माधव नेपाल समूहका जिल्ला नेता प्रेम गैरे भन्छन्, ‘उहाँको कुनै भर छैन मन्त्रीको लोभमा जानुभयो, उहाँको बारेमा जिल्लावासी प्रष्ट छन् । भोलिको चुनाव हेरेर पनि जानुभएको होला ।’

    तर, रायमाझी निकट जिल्ला नेताहरू भने टोपबहादुरलाई अर्घाखाँचीमा निर्वाचन जित्न बलियो समूहतर्फ लाग्न आवश्यक नपर्ने बताउँछन् । रायमाझी दूरदर्शी नेता भएकोले नेकपामा अहिले ओलीले लिएको नीति सही ठोर सो समूहका लागेको अर्घाखाँचीका जिल्ला कमिटी सदस्य नेता शोभाखर पन्थी बताउँछन् ।

    उनी भन्छन, ‘नेकपा विभाजन भएपछि ओली समूहले देशभर चुनाव हारे पनि अर्घाखाँचीमा टोपबहादुरले चुनाव जित्नुहुन्छ । उहाँले अर्घाखाँचीमा धेरै विकास गर्नुभएको छ । पूर्वमाओवादीका नेता रायमाझीसँगै ओली समूहमा नआउँदा पनि उहाँलाई केही फरक पर्दैन ।’

    मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जिल्लाभर सबै ओली समूहको प्रभाव रहेका दावी गरे । ‘हाम्रो पालिकाका दुई जनाबाहेक सबै ओली समूहमा छौं, जिल्लामा हाम्रो बर्चश्व छ, केही साथीहरु बाटो बिराएर जानुभएको छ, पछि महशुस गरेर आउनुहुन्छ‘ उनले भने ।

    कुन नेता कुन समूहमा ?

    नेता रायमाझीसँगै पूर्व माओवादीबााट जितेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, क्षेत्र नम्बर १ का अध्यक्ष प्रकाश ज्ञवाली, कार्यालय सदस्य जाकिर हुसेन ओली समूहमा लागेका छन् ।

    त्यस्तै नेकपा जिल्ला अध्यक्ष तथा प्रदेशसभा सांसद चेतनारायण आचार्य, अर्का प्रदेशसभा सांसद रामजी घिमिरे र प्रदेशसभाकी समानुपातिक सांसद जाल्पा भुसाल पनि ओली समूहमै छन् ।

    जिल्लामा नेकपाको राजनीतिक विभाजन हेर्दा ८० प्रतिशत पूर्वएमाले ओली समूहतर्फ र पूर्वमाओवादी ४० प्रतिशत टोपबहादुरसँगै ओली समूहमा आएको नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।

    यसरी विश्लेषण गर्दा ६० प्रतिशत पूर्व माओवादी प्रचण्ड नेपाल र २० प्रतिशत पूर्वएमाले प्रचण्ड समूहमा लाग्दा जिल्ला नेकपाको राजनीति रोचक हुने देखिन्छ ।

    रायमाझी ओली समूहमा लागे पनि अर्घाखाँचीका पूर्वमाओवादी नेताहरू नेकपा जिल्ला सचिव ठाकुरकुमार विक, केन्द्रीय सदस्य सुशिला श्रीपाली, प्रदेश सदस्यद्धय छमकुमारी खनाल, धर्म भुसाल, छत्रदेव गाउँकमिटी अध्यक्ष रामलाल पराजुली नेकपा (प्रचण्ड-नेपाल) समूहमै छन् ।

    पूर्व एमालेका प्रदेश कमिटी सदस्य पिताम्बर भुसाल, पिताम्बर सारू, कुलदीप भुसाल, सरोज भुसाल लगायतका नेताहरू प्रचण्ड नेपाल समूहमा खुलेका छन् ।

    ६ वटा स्थानीय तहमध्ये भूमिकास्थान नगरपालिकाका मेयर केशव थापा, मालारानी गाउँपालिकाका प्रमुख बालकृष्ण आचार्य, उपप्रमुख प्रमिला क्षेत्री, पाणिनि गाउँपालिकाका उपप्रमुख लक्ष्मी गौतम ओली समूहमा लागेका छन् ।

    शीतगंगा नगरपालिकालका उपमेयर टिका रेश्मी र सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुर बिक प्रचण्ड नेपाल समूहमा लागेका छन् ।