Tag: टप न्यूज

  • महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल सिफारिस

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता तथा नेपाल बारकी पूर्व कोषाध्यक्ष सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेकी छन् ।

    राष्ट्रपति कार्यालयमा सिफारिस पुगेपछि उनको नियुक्ति हुनेछ । आजै निवर्तमान महान्यायाधिवक्ता रमेश बडालको राजीनामा शीतल निवासबाट स्वीकृत भएको थियो ।

    सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।

  • ‘पाका जेनजी’ को तमासा- जंगीअड्डा बाहिर ब्याण्डेज हातले कुटे, रिपोटर्स क्लबमा कुटिए

    ‘पाका जेनजी’ को तमासा- जंगीअड्डा बाहिर ब्याण्डेज हातले कुटे, रिपोटर्स क्लबमा कुटिए

    काठमाडौं । हामी नेपालका संस्थापक सुधन गुरुङले जेनजी आन्दोलनका सहिद परिवारसँगै उभिएर आयोजना गरेको पत्रकार सम्मेलनमा रडाको भएको छ । रिपोर्टस् क्लबमा आएको पत्रकार सम्मेलनमा होहल्ला मात्र होइन, कुटपिट समेत भयो ।

    गुरुङ बोल्दाबोल्दै बाहिरबाट घुसपैठ गरेका केही व्यक्ति प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको मुद्दा छोडेकोदेखि संसद विघटनसम्मको विषयलाई लिएर उत्तेजितरुपमा प्रस्तुत भएका थिए । गुरुङ पनि आवेशमा चिच्याए । पत्रकार सम्मेलन भाँडियो । गुरुङले पोडियम छाडे ।

    तर, प्रेस मिट सकिए पनि लफडा भने सकिएन, बरु झन् चर्कियो । भित्र कोलाहलपूर्ण बनेको स्थिति बाहिर झनै असामान्य बनेर गयो । लामो कपाल पालेका एक व्यक्तिलाई पार्टीको झोले भन्दै आक्रमण हुन थाल्यो । उनलाई युवाहरुले लछारपछार गर्दै भकुरे । उनी भूइँमा भक्लक्कै ढले ।

    केही युट्युबर पनि मिसिएर ती व्यक्तिमाथि कुटपिट भइरहेको सार्वजनिक भएका भिडिओमा देखिन्छ । ती लामो कपालधारीले पनि प्रतिकार गर्न खोजे । तर, भिडसँग नसकेपछि भागे ।

    यसरी कुटाइ खाने व्यक्तिको नाम प्रेम लामा रहेको खुलेको छ । उनी कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंको स्थायी बासिन्दा हुन् । आरआर क्याम्पसमा पढेका उनी अहिले पनि आरआरतिरै भेटिने गरेका छन् । एमाले निकट लामा अखिलका विद्यार्थी नेताहरुसँग हिँड्ने गर्छन । एमाले महासचिव शंकर पोखरेलसँग लामाले खिचेको फोटो पनि अहिले सामाजिक संजालमा भेटिन्छन् ।

    जेन जीको आन्दोलनमा उनी सुरुवातदेखि नै देखिएका थिए । आन्दोलनकै क्रममा हातमा चोट लागेको लामाको दाबी छ । हातमा ब्यान्डेज पनि लगाएका छन् । ब्याण्डेज लगाएरै उनी जंगीअड्डा अघि पनि पुगेका थिए ।

    जतिवेला जेन जीका प्रतिनिधिहरुसँग नेपाल आर्मीले छलफल गरिरहेको थियो । जंगी अड्डाबाहिर भने ठूलो भिड तैनाथ हुने गरेको थियो । जुन भिडमा लामा पनि सहभागी हुने गरेका थिए ।

    त्यसवेलाका भिडियोहरुमा उनी देखिएका छन् । एउटा भिडियोमा उनले जेन जीका प्रतिनिधिहरुलाई प्रश्न गरिरहेका छन् । जेन जीले वास्तविक जेनजी नभएको बताएपछि लामा बम्किँदै सोध्छन्, ‘तैंले पाल्छस् मलाई ? तँ जेनजी होइन ? मलाई जिन्दगीभरि पालेर देखा !’

    लामा यतिमै रोकिँदैनन् । उनी थप प्रश्न गर्छन्, ‘आन्दोलनमा बुढापाकाहरु मरेका छन् । आइमाइहरु मरेका छन् । तैंले भनेर हुन्छ ? धेरै नबोल्, अहिले पड्काइदिन्छु । जिन्दगीभर गोली बोकेर बस्ने म हो । अहिले पनि मेरो औंला चल्दैन । तैंले मलाई पाल्छस् ?’

    यसपछि यिनै प्रेम लामाको अर्को भिडियो पनि सार्वजनिक भएको छ । चार दिनअघिको भिडियोमा प्रेम लामाले त्यही ब्याण्डेज गरिएको हातले एक जेनजी युवालाई भ्वाक्क मुक्काले हान्छन् । अनि ती युवालाई लखेट्छन् ।

    जेनजीलाई पिट्ने तिनै घाइते प्रेम लामाले आज रिपोर्टस् क्लब बाहिर पिटाइ खाएका हुन् । लामा जेन जीको प्रतिनिधि बनेका सुधन गुरुङलाई डिस्टर्व गर्न उनी रिपोर्टस् क्लबमा पुगेको बुझिएको छ ।

     

     

  • देउवा र प्रचण्ड निवासकाे भग्नावशेषमा प्रवेश निषेध

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको निवासमा मिडियासँगै सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।

    बुढानिलकण्ठस्थित देउवा निवासमा भदौ २३ र २४ गते भएको विध्वंसात्मक जेन–जी आन्दोदनका क्रममा जेन–जीकै एक समूहले तोडफोड र आगजनी गरेको थियो । आन्दोलन भएको करिब पाँच दिनपछि उक्त घरलाई कसैले नदेखुन् भनेर जस्ताको पाताले तारबार गरिँदैछ ।

    देउवाको घरमा काम गरिरहेका एक कामदारका अनुसार, ‘देउवा निवासमा नेपाली आर्मी खटिएको छ। त्यहाँ अहिले कुनै पनि मानिसहरुलाई प्रवेश गर्न दिएको छैन । हेर्ने निहुँमा मानिसहरुले सामान लिएर गएका कारण अहिले तारबार गरिँदैछ । भित्र जलेर केही पनि छैन । भएको सामानलाई संरक्षण गरिरहेका छौं ।’

    देउवाको घरको संरक्षणमा आफन्त र नेपाली आर्मी रहेको ति कामदारको भनाइ छ । तर आफन्त र सुरक्षाकर्मीको नाममा पार्टीका कार्यकर्ताहरुले लोभका कारण जान नदिएको त्यहाँ हेर्न आएका मानिसहरुको आरोप छ ।

    जेन जीको आन्दोलन पहिलो १९ जना प्रदर्शकारीको मृत्यु भएपछि आन्दोलनरत जेन-जीहरुले दोस्रो दिन बिहानैदेखि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत शिर्ष नेताहरुको घरमा आगजनी गरेका थिए ।

    आगजनी गरेको भोलिपल्टदेखि नै सर्वसाधारण केही ‘पैसा, सुन चाँदी’ वस्तु पाइन्छ कि भनेर खोज तलासी गर्न नेताका जेलेका घर धाइरहेको सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती आइएको थियो । यद्यपी उक्त क्रम अझै रोकिएको छैन् । देउवाको निवास हेर्न सामाखुसी, महाजगञ्ज लगायतका ठाउँबाट ट्याक्सी बुक गरेर समेत आइरहेका छन् ।

    यस्तै, खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को निवासमा पनि प्रवेश निषेध गरिएको छ। प्रचण्डका आफन्तहरुले नै घरको गेड नै सिल गरेर प्रवेश निषेध गरेको स्थानीयको भनाइ छ ।

     

  • माओवादीले भन्यो- आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस्

    माओवादीले भन्यो- आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस्

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी,तोडफोड वा लुटपाटमा आफ्नो पार्टी सम्बन्धित कसैको संलग्नता देखिए कडा कारवाही गर्ने प्रष्ट पारेको छ ।

    उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै त्यस्ता तथ्य प्रमाण फेला परे सरकारले सख्त कारवाही गरोस् भनी आग्रह गरेका छन् ।

    सापकोटाले आफ्नै नेताहरुको घर र कार्यालय आगजनी भएको तथ्य हुँदा हुँदै केही व्यक्ति र समूहले ध्वंसात्मक क्रियालापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरेको प्रचारले ध्यानाकर्षण भएको ताएका छन् ।

  • ‘राष्ट्रपति कार्यालयका सचिवलाई थर्काउँदै भनेँ- तपाईंसित वार्ता गर्दिनँ, बाजे खोइ ?’

    काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइदिएको बताएका छन् । उनले राष्ट्रपति कार्यालयको पानीसमेत पिउन नमानेको र बाहिरबाट मगाएकोसमेत सुनाए ।

    रिपार्ट्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा गुरुङले वार्ताका लागि शीतल निवास जाँदाको अनुभव सुनाएका हुन् । उनले आफू चप्पल लगाएरै शीतलनिवास पुगेको भन्दै राष्ट्रपति कार्यालयका सचिवले सुट लगाएको देखेपछि रिस उठेको बताए ।

    गुरुङको भनाइ जस्ताको तस्तैः

    मलाई वार्तामा एक्लै बोलायो । म त जान्न भनेँ । केही नगर्दा त यस्तो छ, म एक्लै गए कस्तो हुन्छ ? हाम्रो वकिल ओमप्रकाश सरलाई सोध्न सक्नुहुन्छ ।

    मैले रमण कर्णलाई पनि लिएर गएँ । आर्मीले १ जनालाई पठाउने आदेश छ भन्यो । अहँ म त जान्न भनेपछि आर्मीले भित्र कुरा गरे । अनि उहाँलाई पनि छिर्न दिएँ ।

    म त चप्पल लगाएर गएको थिएँ । त्यहाँ कुर्सीमा हामी ३ जना बसिरहेका थियौं । राष्ट्रपति आउनुहुन्छ भन्ने सोचेको, तर दुईजना कर्मचारी आए । एकजना ढाका टोपी र सुट लगाएका थिए । उनी सचिव रहेछन् । थुचुक्क पलेटीँ मारेर बस्नुभयो । रमणजी के छ ? भनेर सोध्नुभयो । म जुरुक्क उठेर भनेँ– के छ रे ? कसलाई भनेको ? ताल यही हो, सुट लगाएर बस्ने ? यसरी बोलाउने हो ? लाज लाग्दैन ?

    मैले कतिसम्म थर्काएको छु राष्ट्रपति निवासमा । म त लड्ने नै हो । म त मर्ने नै भनेको हो । जेसुकै भनोस । मलाई राष्ट्रपति, प्रधानमन्त्री थाहा छैन । देशको इज्जत फालेको मान्छेलाई सम्मान गरिँदैन । मैले उहाँलाई बाजे खोइ भनेँ । यही भनेँ । मलाई आउँदैन के हो प्रेजिडेन्ट । म त तपाईंहरुसित कुरा गर्दिनँ जानुस भनेँ । एकदम ठूलो सचिव रैछ । अहिलेको राष्ट्रपति लिएर आउनुस, अनि मात्रै वार्तामा बस्छु भनेँ ।

    बिहानको ८ बजेदेखि ५ बजेसम्म बस्यौं । हामी जानेवित्तिकै पानी दिनुभयो । पानी अफर गरेपछि यहाँको पानी खान्न भनेँ । राष्ट्रपति निवासको पानी एक थोपा खान्न भनेँ । घाँटी सुक्या थियो । चिया खानुस भन्नुभयो । म त अशुद्ध हुन्छु खान्न भनेँ । उहाँहरु हाँस्नुभयो । पछि एकजना दाइलाई बाहिरबाट पानी ल्याउन लाएर खाएकँ । कसले खान्छ विदेशी पानी ? लाज सरम नभएको ।

    हाम्रो फस्र्ट माग नै संसद विघटन थियो । राष्ट्रपतिसँग कुरा पुग्यो । आर्मीको चिफ आउनुभो । तपाईंले भनेकै हुने भयो, बधाइ छ भन्नुभयो । एकदम खुशी भएँ । जेनजी साथीहरुलाई हतार–हतार फोन गरेर को–को हुन्छ तिमीहरु आउ भनेँ ।

    हाम्रो आन्दोलन अझै जारी छ । एक्लै भए पनि जारी छ । तँलाई साथ दिन्न भने पनि म त लड्ने बाला छु । म यस्तै हो । बानी यस्तै हो । जति जेसुकै भन्नु । इन्डियन, चाइनिज, चानचुङ जे भन्नुस आइ डन्ट केयर । फर मि माइ कन्ट्री इज एवभ एभ्रिथिङ । यत्रो बलिदान गरेका छन् हाम्रा भाइहरुले । ८० वर्षमा नभएको परिवर्तन हो । यो त हाम्रो सरकार हो । पब्लिकको सरकार हो । माग पुरा नभए सरकार फेरि ढल्छ ।

  • सुदन गुरुङको पत्रकार सम्मेलनमा हंगामा, झण्डै हात हालाहालको स्थिति

    काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले रिपोर्टर्स क्लवमा गरेको पत्रकार सम्मेलनमा हंगामा भएको छ ।

    गुरुङको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरु खनिएपछि झण्डै हात हालाहालको स्थिति उत्पन्न भयो ।

     

  • ‘मलाई लाज लागेको छ, यस्तो काम गर्नेलाई कसरी नेपाली भन्ने ?’

    ‘मलाई लाज लागेको छ, यस्तो काम गर्नेलाई कसरी नेपाली भन्ने ?’

    आज मलाई यहाँ उपस्थित भई आज पदभार ग्रहण गर्ने मौका अवसर मिल्यो । सचिवज्यूहरु लगायत सम्पूर्णले मेरो कार्यकालको सफलताको काम कामना गर्नुभएको हुनाले म सबैलाई धन्यवाद दिन चाहन्छु ।

    यहाँहरु सबैलाई जानकारी छ कि कुन परिस्थितिमा यो अन्तरिम सरकार आवश्यकता पर्न आयो । २७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन गएको छ। युवा युवतीहरुले मृत्युवरण गर्नु पर्‍यो । सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै सम्पूर्ण जिल्ला अदालतलगायत सिंहदरबार समेत विभत्स तरिकाले जलेर गयो ।

    हाम्रा जति पनि रेकर्डहरु,  प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरू नष्ट भयो । ठूलो समस्या भौतिक भवनको क्षतिले त केही हुनु रहेनछ, त्यो त बनाउन पनि सकिन्छ। तर, ती रेकर्डहरु, ती जमानाका फाइलहरु, ती विवरणहरु सम्पूर्ण हाम्रो नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौँ। हाम्रा सुरक्षा कर्मीहरूको पनि देहावसान भयो। देशभरिका सुरक्षाकर्मीलाई दिएको बाहनहरु अर्को खरिद नगरी नहुने अवस्था विद्यमान छ।

    र, यस घडीमा मलाई अलिकति लागेको कुरा के हो भने- यो जुन हत्या, हिंसा भयो, चाहे हत्या होस् चाहे यो आगजनीका कुराहरु भएका छन्, यो टिपिकल कस्तो भने मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी-छानी प्रहार भएको छ। प्रहरीहरु सुरक्षाको लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो, ती बिटहरु सम्पूर्ण र प्रहरीका चाहिँ जुन चौकी, थानाहरु सबै जले। अदालतका फाइलहरु सम्पूर्ण नष्ट भएर गयो। हाम्रै सिंहदरबारभित्रका पनि कयौँ त्यस्तो पुराना फाइलहरु ती सबै नष्ट भएर गयो।

    बडो आश्चर्यको कुरा अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरु र ती मिसिल, ती कागजहरु नष्ट भयो । अलिकति त मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने, तीनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला, बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटि भएको हो ।

    यस किसिमबाट अहिले हाम्रो अनुहार देखाउनै नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा षड्यन्त्रै भएको हो कि भन्ने लाग्छ। यो अनुसन्धान हुन बाँकी छ । र अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई,  यसरी नोक्सान गर्नेहरूलाई, अत्यन्त आवश्यक कुराहरुको नामोमेट गराएकाहरूलाई छोड्नुपर्ने अवस्था चाहिँ छैन। यसको खोजबिन, तलास हुनुपर्ने अवस्था छ।

    अर्कोतिर जुन परिस्थितिमा म आएँ, कुनै रहरले म आएको होइ न। सडकबाट जताततैबाट सुशीला कार्कीलाई जिम्मा देऊ भनेर आवाज उठ्यो । मैले पनि विवश हुनुपर्‍यो । जहाँसम्म, मेरो जुन टीम छ, हामी कुनै यो सत्ताको, यो पदको रसस्वादन गर्न आएको होइन। मेरो उमेर पनि होइन त्यो। हामीले के चाहेको हो भने- ठिक छ, हामीलाई खोजियो, हामीले यो बेलामा किन सेवा नगर्ने ? हामीले के गर्‍यौँ भने ६ महिनामात्रै अवधि, त्यो भन्दा बढी नबस्ने, कुनै हालतमा पनि आफ्ना काम कारबाही गरेर हामी चाहिँ मुक्त हुने । र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई यो जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरुको साथ नपाइकन सम्भव चाहिँ छैन । सुरक्षा निकायले पनि हामीलाई साथ नदिई यो सम्भव छैन । मलाई सहयोग गर्नुस् ।

    बडो आश्चर्यको कुरा अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले चाहिँ यो देशको शासन चलाएको छ, ती भवनहरु र ती मिसिल, ती कागजहरु नष्ट भयो । अलिकति त मलाई त यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको हो भने, तीनलाई नेपाली कसरी भन्ने ? मान्छेले ज्यान मार्छ, भवनहरु लुट्ला, भत्काउला, बेग्लै, तर यो घटना त मलाई लाग्छ यो देशमा पहिलो चोटि भएको हो ।

    हाम्रो जति नोक्सान भएको छ, क्षति भएको छ,  सचिवज्यूलाई,  मुख्य सचिवज्यूलाई पनि हिजोअस्ति नै मैले भनेँ, हामी आफैँ आफ्नै तर्फबाट, आफ्नै मुलुकका जनताबाट पहल गरेर त्यो कुराहरु पूरा किन नगर्ने ? सानोतिनो भएपनि । तराईमा किन हामी बाँसका भाटा जोडेर प्रहरीको बिट नबनाउने ? सस्तो, हामीलाई कामचलाउ भए त पुग्छ । त्यो हामी किन नगर्ने ?

    नेपालीहरुलाई जतिकै जस्तो भूकम्प आयो ७२ को, मलाई थाहा छ, यो सिंहदरबार रेट्रोफिट भएको कयौँ रुपैयाँ खर्च भएर, अस्तिको कुरा हो । त्यसमा मुलुकको पैसा खर्च भएको छ । सर्वोच्च अदालतमा म थिएँ, त्यो कति दुःख गरेर रेट्रोफिट भएको, आज त्यो भवनलाई राम्रोसँग युज पनि नगरेर, उपयोग पनि नगरेर अहिले जलेर भस्म भयो ।

    यो हाम्रा लागि अपराधीहरुले गरेको हामीमाथिको चुनौती हो। यो मुलुकको विरुद्ध गरेको चुनौती हो। त्यो चुनौतीलाई चाहिँ तपाईं हामी सबैजना मिलेर, जुटेर एउटा एकताको भावना राखेर आफ्नो तर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ बनाउनुपर्छ । म हिजो चक्रपथनेरको भाटभटेनी, त्यहाँनिरको प्रहरी बिटमा गएको थिएँ। माथि चढेँ, हेरेँ । उत्रिँदा व्यापारीहरुको ठूलो समूह त्यहाँ भेला भयो । उनीहरुले सम्माननीयज्यू ! यसमा कुनै चिन्ता लिनुपर्दैन, हामी छौँ । सुरक्षा हामीलाई चाहिने हो। यति ठूलो फट्याइँ भएको छ। हामी यसलाई पूरा गर्दिन्छौँ। तपाईंहरुले धन्यवाद… धन्य मान्नु पर्दैन। यो हाम्रो जिम्मा भो, हामी गर्छौँ भनेर भनेपछि, मैले पनि उहाँहरुलाई धन्यवाद दिएँ किनभने कमसेकम राज्यको एउटा सानो कोष त बच्यो।

    उहाँहरुले तपाईं त वकिलबाट आएको सर्वोच्च अदालत बनाउनलाई वकिलहरुलाई भन्नुस् न। रातदिन त वकिल खट्ने हो भने । भनेर हुने त होइन, सर्वोच्च अदालत बन्नलाई त धेरै पैसा लाग्ने अवस्था छ। त्यसकारण जे होस्, हामी सबैजना मिलौँ। एकले अर्काको आलोचना नगरौं । हामी युनिट चाहिँ होऔँ।

    यो जो एउटा मुभमेन्ट आयो, यो बडो अचम्म वर्ल्डमा कहीँ पनि भएको छैन। २७ घण्टाको आन्दोलनमा चाहिँ कायापलट गरेको मलाई थाहा छैन। त्यसैले यो समूहले मागेको कुरा के हो भने, भ्रष्टाचारको अन्त्य, सुशासन, गुड गभर्नेन्स, र एउटा समान आर्थिक समानताको माग पूरा गर्न हामी तपाईंहरुले अठोट गर्नुपर्छ अवस्था छ।

    मैले मृत्युवरण गरेका नाबालकहरु, साना-साना स्कुले र कलेजका विद्यार्थी, छात्र-छात्राहरुका परिवारहरुलाई मैले भेट्ने काम गरेँ। उहाँहरुको आँसु देखेर बहुतै दुःख लाग्यो। अनि मलाई के फिल भयो भने, एउटा परिवारको एउटा चाहिँ परिवारको सदस्यको अन्त्य भएको छ। राज्यसँग हात थापेर मलाई केही सहयोग गर, मेरो घरमा यत्रो नोक्सान भो, ज्यानधन गयो भनेर भन्नुभन्दा पहिले, राज्यले नै पुर्ताल किन नगर्ने? मर्न त उहाँहरुको परिवारको मर्यो, त्यसपछि आर्थिक अवस्थाले उहाँहरुमा विपन्नता आउँछ। त्यसैले हामीले मुख्य सचिवज्यू र म ९-१० बजेसम्म सरसल्लाह गर्‍यौँ। र, यहाँ आएर उहाँहरुलाई शहीद घोषणा गरेको निर्णयमा हस्ताक्षर गरेँ।

    यहाँको सिस्टमै अब देश अनुसारको हुन्छ, मुलुक अनुसारको, १० लाखको एउटा लिमिटेसन छ । त्यो १० लाख प्रदान गर्ने हामीले निर्णय चाहिँ गर्‍यौँ । घाइतेहरुलाई पनि उपचार र केही राहतको निर्णय गरेका छौँ। अहिले मृतकका परिवारहरु काठमाडौँ भ्यालीमै छन्। उनीहरु बसेको, उठेको, खाएको, यहाँ बसेको, त्यो खर्च हेरिदिने। शवहरू आफ्नो स्थानीय क्षेत्रमा पुर्‍याउने हो भने, कसैले चाहन्छ भने सवारी साधनको लागि पनि व्यवस्था गरिदिने । र पछि सम्म, अपाङ्गको परिभाषाभित्र कोही परेछन् भने, उपचारको एउटा सुविधाको व्यवस्था गरेका छौँ। प्राइभेट सेक्टरमा पनि बाट पनि केही गर्न सकिन्छ कि भनेर हाम्रा मित्रहरुले कोसिस गरिरहनुभएको छ।

    एउटा चोट परेको व्यक्तिलाई हामीले मलम लगाउनैपर्छ। किनभने यो हाम्रै इस्यु हो, हाम्रै मामिला हो, हाम्रै छोराछोरी हुन्, हाम्रै सन्तान हुन्। अन्यथा मान्ने, दुःखी बनाउने हाम्रो कहिल्यै सोच रहेन। त्यसैले हठात् नै यो निर्णय गर्‍यौँ। अब क्रमशः सद्‍गदको लागि तयारी हुन्छ। पोस्टमार्टम भइसकेको जसको शव छ, उनीहरुको लान चाहने, आफ्नो घरको क्षेत्रमा लान चाहनेहरुलाई व्यवस्था पनि गरिदिने,  यतैको शव छ भने दाहसंस्कारको बाटो खुल्छ । त्यसैले अब सबै पक्ष मिलेर नेपालको निर्माण गर्नु पर्‍यो ।

    अर्को दु:खान्त घटना- व्यक्तिको सम्पत्तिको, व्यापारीहरुको, इन्टरप्रेनरहरुको, उद्योगीहरुको सम्पत्ति पनि डडाउने, नास्ने, मास्ने कामहरु भएको छ। तीनलाई जसरी उभिन्छौ, उभ्यौ भनेर सोच्न भएन। किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसमा पनि राज्यले विचार गर्छ,  हामी विचार गर्छौँ कि उनीहरुलाई कसरी उठाउने ? कुन सहयोग दिने ?

    हामी एकदम विषम आर्थिक परिस्थितिमा छौँ। जनता पनि विषम आर्थिक परिस्थितिमा छ। हाम्रो सरकार पनि विषम आर्थिक परिस्थितिमा छ। के कसो गर्न सक्छौं त्यहीअनुसार प्रयासहरू गर्छौं । सबभन्दा दुःखको कुरा यो एउटा आतंक जस्तो २४ गते फैलाइयो, हरेक व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि लिएर, सिंहदरबार, अदालतहरु जस्तो निकाय जलाउने काम भयो ।

    अर्को दु:खान्त घटना- व्यक्तिको सम्पत्तिको, व्यापारीहरुको, इन्टरप्रेनरहरुको, उद्योगीहरुको सम्पत्ति पनि डडाउने, नास्ने, मास्ने कामहरु भएको छ। तीनलाई जसरी उभिन्छौ, उभ्यौ भनेर सोच्न भएन। किनभने कतिपय व्यापारी त उठ्न नसक्ने अवस्थामा पुगेका छन्। त्यसमा पनि राज्यले विचार गर्छ,  हामी विचार गर्छौँ कि उनीहरुलाई कसरी उठाउने ? कुन सहयोग दिने ? बैंकको सफ्ट लोनहरुबाट हुन्छ कि । साना-साना सटर खोलेका व्यापारीहरु पनि लुटिएका छन्।

    आज मैले बिहान न्युजमा पढेँ कि जो व्यापारीहरुको नोक्सान भएको छ, उहाँहरुले भन्नुभएको छ, हामी उठ्ने कोसिस गर्छौँ, हामी हार्दैनौँ। आन्तरिक बल देखाउनु भएकोमा धन्यवाद पनि दिन्छु। र शुभकामना पनि दिन्छु। आतंक जस्तो जलाएर खरानी बनाउने काम गरियो, त्यसको बाबजुद पनि म उठ्छु भन्ने उहाँको, उहाँहरुले जुन किसिमको अठोट गर्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ। र, राज्यको तर्फबाट उहाँहरुलाई सल्लाह चाहिने हो कि,  कुन किसिमबाट सहयोग गर्ने हो, त्यो हामी विचार गर्नेछौँ।

    (अन्तरिम प्रधानमन्त्रीले पदभार ग्रहणपछि गरेको सम्बोधनको पूर्णपाठ)

    प्रधानमन्त्री कार्कीको सम्बोधन यहाँबाट हेर्न/सुन्न सकिनेछ ।

  • अर्थ मन्त्रालयमा क्षति कम, नयाँ मन्त्रीले मन्त्रालयबाटै गर्न सक्नेछन् काम

    अर्थ मन्त्रालयमा क्षति कम, नयाँ मन्त्रीले मन्त्रालयबाटै गर्न सक्नेछन् काम

    काठमाडौं । नयाँ प्रधानमन्त्रीको रुपमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले आइतबार पदभार पनि सम्हालिसकेकी छन् । तर, नयाँ मन्त्रिपरिषद् गठनको लागि छलफल भए पनि मन्त्रीको नाम भने टुङ्गो लागेको छैन । त्यसमा महत्वपूर्ण मानिएकाे अर्थमन्त्री को हो भन्ने पनि टुङ्गो लागेको छैन ।

    जनेजी प्रदर्शनका क्रममा तहसनहस भएकाे सिंहदरबारभित्र अर्थ मन्त्रालय भने तुलनात्मक रुपमा जाेगिएकाे छ । नयाँ बन्ने अर्थमन्त्रीले पुरानै मन्त्रालयमा गएर काम गर्न सक्ने अवस्थामा अर्थ मन्त्रालय रहेकाे छ ।

    जेनजीको भदौ २३ र २४ गतेकाे भएकाे प्रदर्शनका क्रममा सरकारी संरचनामा धेरै क्षति पुगेको छ । देशभरका सरकारी भवनमा आन्दोलनको दिन आगजनी, तोडफोड र लुटपाट भएको थियो । अर्थ मन्त्रालयको भुइतलामा केही मात्रामा क्षति भए पनि अन्य स्थान सुरक्षित रहेकाे छ । अर्थ मन्त्रालयको पछाडिबाट मन्त्रालय छिर्ने भवनसँगै जोडेर पार्किङ गरेका गाडी र बाइक जलेका छन् भने मन्त्रालयमा कालो धूँवा लागेको देखिन्छ ।

    अर्थ मन्त्रालयले विद्युतीय गाडी चार्ज गर्न राखेको दुई वटा चार्जिङ स्टेसनमा भने केही क्षति भएको छैन । अर्थ मन्त्रालयको पछाडि भएको केही गाडीहरु जलाइएका छन् । मन्त्रालयको क्यान्टिनसँग जोडेर राखिएको एक लाइन गाडीको सिसा मात्रै फुटेको छ । केही गाडीको अगाडिको, केहीको पूरै सिसा फुटेको छ ।

    मन्त्रालय भित्र छिर्ने मेन गेट र ढोकामा कुनै क्षति भएको छैन । मन्त्रालयको मेन गेटबाट भित्र छिरेपछि पार्किङमा राखिएका सरकारी नम्बर प्लेट प्लेट भएको धेरै गाडीको सिसा फुटाइएको छ । कूटनितीक नियोगको नम्बर प्लेट भएको धेरै गाडीको सिसा फुटाइएको छ । भने, मन्त्रालयको मेन गेटबाट भित्र छिरेपछि सबैभन्दा कुनामा रहेका ५ वटा गाडीमा कुनै क्षति भएको छैन । मेन गटबाट भित्र रहेको रहेको बाइकमा कुनै क्षति भएको छैन ।

    मन्त्रालयकाे भुइतलाबाट माथि प्रदर्शनकारी गएका छैनन् ।

    कसरी जोगियो अर्थ मन्त्रालय ?

    अर्थ मन्त्रालयभन्दा बायाँ साइडमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जल्दा त्यहाँको धूँवाले अर्थ मन्त्रालय पनि जल्यो भन्ने लागेर क्षति नभएको त्यहाँ रहेका एक सुरक्षाकर्मीले बताए ।

    उनले नाम र आफ्नो फोटो सार्वजनिक नगर्ने शर्तमा अर्थ मन्त्रालयको भुइतलाका केही भागको भिडियो गर्न दिए ।

    उनले भने, ‘२४ गते आगजनी हुनुभन्दा पहिले पनि म यही मन्त्रालयमा थिए । तर, हामी पनि यहाँबाट हिँड्नु पर्ने अवस्था आयो । म सिंहदरबार नजिकै बस्छु । मैले म बसेको घरबाट सिंहदरबार बेला बेलामा हेरिरहेको थियो । धूँवा उडेको देख्दा कुनै पनि मन्त्रालय बाँकी रहेन जस्तो लागेको थियो । तर, पहिले प्रधानमन्त्री कार्यालयमा आगजनी भएपछि त्यहाँको धूँवा अर्थ मन्त्रालय आयो । प्रदर्शनकारीले त्यो धूँवाको कारण अर्थ मन्त्रालयको मेन गेटबाट भित्र जान नसकेकाले नै ठूलो क्षतिबाट जोगिएको हो । अर्थ मन्त्रालयको भवन र त्यो भवन भित्र भएको धेरै सामाग्रीहरू सुरक्षित रहेको छ । यहाँ मिडियालाई भित्र छिर्न खनिनु भन्ने आदेश रहेको छ ।’

    सिंहदरबारमा सबैभन्दा कम क्षति भएको मन्त्रालय अर्थ मन्त्रालय देखिन्छ । भने, अर्थ मन्त्रालयको भुइतलाको विभिन्न कोठा भने पछाडिबाट केही झ्यालको सिसा भने फुटाइएको छ । मेन गेटबाट अर्थ मन्त्रालय छिर्दा त्यस्तो धेरै क्षति भएको देखिँदैन ।

     

  • प्रिय ‘मासुम’ जेन-जी ! आन्दोलन हाइज्याक भो, सम्भावित ठूलो उपलब्धि गुम्यो

    प्रिय जेनजी भाइ-बहिनीहरू, एउटा प्रश्न सोध्छु है,

    ५१ जनाको साहदत प्राप्त गरेको तिमीहरूको अगुवाइमा भएका विद्रोहले के दियो ?

    सुशीला कार्कीलाई प्रधानमन्त्री र अनिश्चित निर्वाचनको मिति अनि ६ दर्जन मान्छेको जीवन र खर्बौंको सार्वजनिक निजी संरचना ध्वस्त । यति मात्र होइन ? अब केहीलाई मन्त्री बनाउला, त्यही त हो ।

    तिमीहरूको ऐतिहासिक विद्रोहले अभूतपूर्व राजनीतिक उपलब्धि दिन्छ । र, त्यसलाई तत्काल संस्थागत गर्न सकिन्छ भन्ने मेरो ठम्याइ थियो । यसको विधि र प्रक्रियाबारे मैले २६ गते यही नेपाल प्रेसमा लेखेको पनि थिएँ कि, आन्दोलनका मागलाई संसदमा इन्डोर्स गराउन सकिएन भने केही पनि राजनीतिक उपलब्धि हुँदैन भनेर । आज भयो त्यस्तै, होइन?

    कमजोरी कहाँ-कहाँ भयो समीक्षा गर्नुपर्छ कि ? समीक्षा गर्‍यौ भने राजनीति कति सुझबुझपूर्ण हुनुपर्छ भन्ने खुल्छ । तिमीहरू राजनीतिक रूपमा परिपक्व भएनौं भन्नेमा होइन तिमीहरूलाई व्याकअप गर्नेहरू पनि यतिधेरै हुस्सु भएकोमा चाहिँ खेद छ ।

    प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपतिको वार्ता आह्वानपछि आन्दोलनको म्याण्डेटलाई वैधानिक रूपमा संस्थागत गर्ने बाटोतर्फ लाग्नु पथ्र्यो। तर, अन्तरिम सरकारलाई मात्रै मुख्य माग बनाइयो ।

    आन्दोलनको म्याण्डेट र जनताको भावनाअनुसार गर्नुपर्ने कामको सूची अर्थात् आफ्ना माग लिएर आन्दोलनकारी पक्षले राष्ट्रपतिसँग राजनीतिक वार्ता गर्नुपथ्र्यो। तर, एक थान प्रधानमन्त्रीको मागमा त्यो पनि सेनासँग वार्ता थालियो।

    विजयी उन्मादका कारण होला । राजनीतिक दलहरूको अस्तित्व स्वीकारै गरिएन । राष्ट्रपति सँगसँगै राजनीतिक दलहरूसँग पनि संवाद गर्नुपर्थ्यो । किनकि, आन्दोलनले कमजोर बनाए पनि उनीहरू एक शक्ति थिए । संसदमा रहेका दलहरूलाई विश्वासमा नलिई वा बाध्य नपारी आन्दोलनको पहिचान र उपलब्धि संस्थागत गर्न सकिदैन्थ्यो । यो पक्ष आन्दोलनकारीले पक्षले बुझ्दै बुझेन ।

    सुशीला कार्कीले आन्दोलनको राप र तापका कारण निरीह बनेका राष्ट्रपति र राजनीतिक दलहरूसँग हात्ताहात्ती संविधान संशोधनसहितका राजनीतिक एजेण्डामा अडान कस्नुपर्थ्यो । उनले पनि आन्दोलनको उपलब्धि संस्थागत गर्नुलाई भन्दा प्रधानमन्त्रीको कुर्सीलाई प्राथमिकता दिइन् । कार्कीले आन्दोलनको म्याण्डेटलाई धोका दिइन् र अनिश्चयतर्फ धकेलिदिइन् ।

    आन्दोलनको राप र तापले राष्ट्रपति र राजनीतिक दलहरूलाई केही न्यूनतम राजनीतिक सहमतिमा पुर्याउथ्यो नै । जस्तैः अन्तरिम सरकार, संविधान संशोधन र निर्वाचन । मुख्य यी तीन विषयमा राष्ट्रपति, राजनीतिक दल (संसदमा रहेका) र आन्दोलनकारी पक्षबीच सहमति गर्न सकिन्थ्यो । सहमतिका लागि दलहरू बाध्य हुन्थे । राजनीतिक कोर्स अर्कैतर्फ मोड्न सक्छौं भनेर उनीहरूलाई बाध्य पार्न सकिन्थ्यो। राजा फर्काउला कि भन्ने डरले उनीहरू व्यवस्थाको निरन्तरताको सर्तमा जुनसुकै सम्झौता, सहमति गर्न तयार हुन्थे।

    आन्दोलनको म्याण्डेटअनुसार भएको राजनीतिक सहमतिलाई संसदमार्फत घोषणा गराउनु पर्थ्यो । यो अभ्यास हामीले यसअघि गरिसकेका थियौं । २०६२/०६३ को आन्दोलनको म्याण्डेटअनुसार भएका राजनीतिक सहमतिलाई पुन:स्थापना गरेर संसदमार्फत घोषणा गराइएको होइन ? त्यहीअनुसार संविधानसभाको चुनाव भएर राजनीतिक कोर्ष यहाँसम्म आइपुगेको होइन ? यसपटक पनि त्यसो गर्न सकिएको भए अन्तरिम सरकार, संविधान संशोधन र निर्वाचनमा दलहरू जबरजस्त भए पनि अपनत्व लिन बाध्य हुन्थे । र, तत्काल संविधान संशोधन संभव हुन्थ्यो ।

    धेरै विषय होइन, संविधानमा शासकीय स्वरूप र निर्वाचन प्रणाली मात्र परिवर्तन गर्न सकेको भए, ठूलो संवैधानिक र राजनीतिक फड्को मारिन्थ्यो । फागुन २१ म घोषणा गरिएको चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी चुन्न सकिन्थ्यो । अहिले जेनजीहरू प्रश्न गर्न थालेका छन्, अब हुने चुनाव कार्यकारी प्रमुखको कि संसदीय ? हैट !

    घोषित मितिमा त चुनाव सम्भवै छैन । राजनीतिक दलहरू सकारात्मक भए, केही ढिला भए पनि होला । चुनावै भएन भने के हुन्छ भन्ने प्रश्न अधिकांशको मनमा उठिसकेको छ । लौ भयो रे, चुनाव हुने भनेको प्रतिनिधिसभाको हो । त्यो प्रतिनिधिसभाको शक्ति सन्तुलनका आधारमा संविधान संशोधन हुन्छ कि हुन्न भन्न सकिन्छ ।

    नयाँ आए र लागत पुर्‍याए भने वा पुरानाको पनि प्रतिनिधित्व भयो र ती पनि तयार भए हुने हो, संविधान संशोधन । अझ, राष्ट्रियसभामा पुरानै दलको बर्चश्वको निरन्तरताले पनि अल्झाउन सक्ला । राष्ट्रियसभाको एक तिहाइ सदस्यका लागि माघमा हुनुपर्ने चुनाव के हुन्छ भन्ने अन्योल त छँदैछ ।

    आन्दोलनका राजनीतिक उपलब्धि संस्थागत गर्नुपर्ने र गराउन सकिने संसदलाई पहिलो निसाना बनाउनुको उद्देश्य के थियो, थाहा भएन । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनासाथ संसद विघटन र सेनासँग वार्ताको दुई बुँदे शर्त जेनजीको थियो कि काठमाडौंका मेयरको ? जेनजी भाइबहिनीहरू त्यसै दिन फ्रडमा परिसकेका थिए । अब पछुताउनु र हाम्रो आन्दोलन हाइज्याक भयो भनेर कुनै सुधन गुरुङहरूतिर औंला ठड्याउनुले केही हुन्न ।

    हुँदा-हुँदा संविधान बुझेकी र आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नुपर्ने दायित्वमा पुग्न खट्टा उचालेर बसेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले समेत संसद विघटनको ढिपी कसिन् । सुशीला कार्कीले आन्दोलनको राप र तापका कारण निरीह बनेका राष्ट्रपति र राजनीतिक दलहरूसँग हात्ताहात्ती संविधान संशोधनसहितका राजनीतिक एजेण्डामा अडान कस्नुपर्थ्यो । उनले पनि आन्दोलनको उपलब्धि संस्थागत गर्नुलाई भन्दा प्रधानमन्त्रीको कुर्सीलाई प्राथमिकता दिइन् । कार्कीले आन्दोलनको म्याण्डेटलाई धोका दिइन् र अनिश्चयतर्फ धकेलिदिइन् ।

    घोषित मितिमा त चुनाव सम्भवै छैन । राजनीतिक दलहरू सकारात्मक भए, केही ढिला भए पनि होला । चुनावै भएन भने के हुन्छ भन्ने प्रश्न अधिकांशको मनमा उठिसकेको छ । लौ भयो रे, चुनाव हुने भनेको प्रतिनिधिसभाको हो । त्यो प्रतिनिधिसभाको शक्ति सन्तुलनका आधारमा संविधान संशोधन हुन्छ कि हुन्न भन्न सकिन्छ ।

    हुन त जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल खुला भन्ने थियो क्यारे । राजनीतिक माग नै नभएका कारण आन्दोलनकारी पक्ष त्यसतर्फ नलागेको हुन् कि ? तर, आज उनीहरू आफ्नो आन्दोलनका कारण ठूलै राजनीतिक परिवर्तन भए जसरी चर्चा गरिरहेका छन् ।

    सारमा, अन्तरिम प्रधानमन्त्री, अनिश्चित निर्वाचनको मिति र केहीलाई मन्त्री बनाउनेबाहेक आन्दोलनले राजनीतिक उपलब्धि त दिने भएन नि, होइन ?

    आन्दोलनपछिको समग्र राजनीतिक रोडम्याप र सुधारका मुद्दामा राजनीति सहमति गर्न सकिएको भए यही आन्दोलनले थुप्रै परिवर्तनको ढोका खोल्थ्यो । ध्यान नपुगेको हो कि डिजाइनरले स्क्रिप्ट नै यतिसम्म मात्रै लेखेको थियो, थाहा भएन ।

    दलहरूलाई राजनीतिक सहमतिका लागि बाध्य पार्न नसक्दा दुई दिन नबित्दै उनीहरूले टाउको मात्र उठाएनन्, आन्दोलनप्रति नै खिसिट्युरी गर्न थाले। आन्दोलनको म्यान्डेट र परिवर्तको जनचाहनालाई संस्थागत गर्न उनीहरूलाई बाध्य पार्न सकिन्थ्यो, हुन्थे। आन्दोलनकारी पक्ष यसमा नराम्रोसँग चुक्यो। अब बिस्तारै तिनै दलले अन्तरिक सरकार र आन्दोलनकारी पक्षलाई साइजमा राख्न सामूहिक बल लगाउन सक्छन्। चुनावमा भाग लिन्नौं भन्ने घुर्की देखाएर सौदाबाजी गर्न सक्छन्।

    प्रिय जेनजी ! तिमीहरूको सुझबुझ नपुगेर हो वा आन्दोलनको नेतृत्व हाइज्याक भएर हो वा कथा नै त्यति मात्र लेखिएर हो, संभावित ठूलो राजनीतिक उपलब्धीबाट तत्कालका लागि विमुख भइयो । यस्तो अवस्था फेरि नआउन सक्छ ।

    विधि होइन कुर्सी प्यारो हो भन्ने फेरि पनि स्थापित भयो । होइन भन्ने देखाउन सुशीला कार्की नेतृत्वको सरकारले लोकप्रियताका लागि केही निर्णय गर्ला । तर, तिनले राजनीतिक उपलब्धि हुन्न है हुन्न ।

    (लेखक राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा राजनीतिक विश्लेषण गर्ने वरिष्ठ पत्रकार हुन्)

  • जेनजी आन्दोलनलाई बदनाम नगर्न सुमनाको चेतावनी, पार्टीका युवालाई ‘हट्न वा हटाउन’ सुझाव

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाहिरिएकी नेतृ सुमना श्रेष्ठले आफू पार्टीबाट अलग भए पनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । अहिलेको जेनजी आन्दोलनप्रति कट्टर समर्थन जनाउँदै उनले यसलाई बदनाम गर्ने कोशिष नगर्न आग्रह गरिन्

    फेसबुक लाइभमा बोल्दै श्रेष्ठले जेनजी आन्दोलनलाई भविष्यले गरेको विद्रोहको संज्ञा दिइन् ।

    उनले भनिन्, ‘यो भविष्यले गरेको आन्दोलन हो । यो परिवर्तनका लागि गरिएको आन्दोलन हो । सबैलाई भन्न चाहन्छु मैले परिवर्तनको एजेन्डा छोडेको छैन । भित्र बसेर गर्न सकिनँ, अब तपाईंहरुमाझ आएर गर्नेछु ।’

    श्रेष्ठले नयाँ सरकारमा मन्त्री खान नजाने प्रष्ट्याइन् । सरकारलाई बाहिर बसेर सघाउने उनको प्रतिवद्धता छ । युवतहरुको बलिदानलाई खेर जान नहुने पनि उनी बताउँछिन् ।

    ‘७२ जनाको ज्यान गइसकेको छ । उहाँहरुको बलिदानलाई कसैले पनि बदनाम गर्न पाउनुहुन्न । युवाको बलिदान यत्तिकै खेर जान नदिनुहोला । यो परिवर्तनका लागि युवापुस्ताले गरेको विद्रोह हो ।’ उनले भनिन् ।

    पुराना राजनीतिक दलका युवा नेताहरुलाई उनले पार्टी छोड्न वा पुरानालाई विस्तापित गर्न सुझाव दिइन् ।

    श्रेष्ठले भनिन्, ‘पुराना दलहरुको तेस्रो, चौंथो, पाचौं पुस्तालाई म आह्वान गर्न चाहन्छु, कति डराउने रु किन डराउने रु आखिर हामी सबैले चाहेको परिवर्तन हो । कि हट्नुस कि हटाउनुस । तर एउटा पार्टीभित्र बसेर जेनजीको रेभुलुसनलाई बदानम गर्ने अभियानलाई साथ नदिनुहोला ।’

  • दशैंका लागि सुकिला नोट साट्न सुरु, छैन सर्वसाधारणमा उत्साह (तस्बिरहरु)

    दशैंका लागि सुकिला नोट साट्न सुरु, छैन सर्वसाधारणमा उत्साह (तस्बिरहरु)

    काठमाडौं । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही शुरु गरेका छन् । नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही शुरु गरिएको हो ।

    राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिए ।

    उनले नेपालप्रेससँग भने, ‘दशैंलाई लक्षित गर्दै हामीले आजदेखि सर्वसाधारणलाई सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका छौँ । राष्ट्र बैंकसहित बैंकहरुले तोकेको कार्यालयमा गएर नोट साट्न सकिन्छ ।’

    बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।

    दशैंका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    राष्ट्र बैंक बाहेक बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण तथा वित्तीय संघसंस्थाले नोट सटही सुविधा पाउने राष्ट्र बैंकले जनाएको छ ।

    आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएका बैंकहरुले असोज १० गतेसम्म सटही सुविधा उपलब्ध गराउने भएका छन् । तर, नयाँ नोट सहटी शुरु गरिएको पहिलो दिन भने सर्वसाधारणमा खासै उत्साह देखिएको छैन ।

    राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीमा फाट्टफुट्ट सर्वसाधारण मात्रै नोट सटहीका लागि पुगेका छन् । यसअघिका वर्षहरूमा भने पहिलो दिन नै सर्वसाधारणको भिड लाग्ने गरेको थियो । यस वर्ष भने आन्दोलनका कारण नोट सहटी गर्न सर्वसाधारणको आकर्षण घटेको हुनसक्ने सूचना अधिकारी सुमन न्यौपानेले बताए ।

    ‘आन्दोलनका कारण नोट सटहीमा सर्वसाधारणले कम चासो देखाएका हुन् की जस्तो देखिन्छ’, उनले भने, ‘आज पहिलो दिन पनि हो । भोलिदेखि बढ्न पनि सक्छन् ।’

    उनका अनुसार बैंकहरुले प्रतिव्यक्ति ५ रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ । जसमा ५ रुपैयाँ दरका नोट भने नयाँ दिइरहेको छ ।

  • मन्त्रिपरिषद् विस्तारको चासो- शीतल निवासमा छैन आज शपथको सुरसार

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो मन्त्रिपरिषद् विस्तार गर्ने सम्भावना झिनो देखिएको छ । अहिलेसम्म शीतल निवासमा मन्त्रीहरूलाई शपथ खुवाउने कुनै पनि सुरसार छैन ।

    प्रधानमन्त्री कार्की बहालीलगत्तै विभिन्न प्रशासनिक काममा व्यस्त रहेको तथा उनले मन्त्रीहरूको नियुक्तबारे कुनै सोधखोज नगरेको स्रोतले बतायो ।
    ‘आज मन्त्रीपरिषद विस्तारको सम्भावना क्षीण छ,’ स्रोतले भन्यो ।

    प्रधानमन्त्री कार्यालय स्रोतको भनाइलाई राष्ट्रपतिको सचिवालयले पनि पुष्टि गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीकाले आज यतिबेलै प्रधानमन्त्रीले मन्त्रीहरुको नाम सिफारिस गर्दा पनि शपथको सम्भावना नरहेको बताए । त्यसमाथि सिफारिस नै आएको छैन ।

    मन्त्रीहरुको शपथ गराउने हल आगलागीले ध्वस्त छ । पानी पर्ने मौसम भएका कारण टेन्ट टाँग्दा पनि समस्या हुने स्थिति छ । राष्ट्रपति कार्यालयका विभिन्न कोठामध्ये कतै शपथ हुन त सक्ने भए पनि तयारीको लागि समय चाहिने कार्की बताउँछन् ।

    ‘प्रधानमन्त्रीज्यूले नाम पठाइहाल्नु भएछ भने पनि आजको आजै शपथ गराउने स्थिति छैन’, उनले भने ।

    राष्ट्रपति कार्यालयजत्तिकै बिजोग छ, सिंहदरबारमा । शपथ लिएपछि मन्त्रालयमा बहाली हुनुपर्ने सबै मन्त्रीका कार्यालय दुरुस्त छैनन् । आगलागी नभएका मन्त्रालयमा पनि केही न केही क्षति भएको छ । सबै जनशक्तिलाई नवनिर्मित गृह मन्त्रालयको भवनमा प्रधानमन्त्री कार्यालय स्थापनाका लागि खटाइँदा अन्य मन्त्रालयको सरसफाई हुन सकेको छैन ।

    सरसफाई शुरु भए पनि सकिन अझै केही दिन लाग्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

    तर, प्रधानमन्त्री एक्लैबाट सबै कार्यसम्पादन सम्भव नहुने कारण केही सीमित संख्यामा भए पनि मन्त्री नियुक्त गर्नुपर्ने दबाब छ ।

    स्रोत भन्छ, ‘शायद बेलुकीसम्म २-३ जना भए पनि मन्त्रीको नाम सिफारिस गर्नुहुन्छ कि ?

  • सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

    सकुसल माडी : Gen-Z समूहको विद्रोह यसरी जोडियो विकासमा

    चितवन । जेन-जी समूहको २३ र २४ गते गरेको आन्दोलनमा चितवनका सातमध्ये ६ वटा स्थानीय तहका भवन जले । प्रशासनिक निकायहरू अधिकांश तोडफोड, आगजनी र लुटपाटको निशानामा परेका छन् ।

    जनप्रतिनिधि, राजनीतिक दलका अगुवाका घर पनि फोडिए, सामान पनि जलाइयो । यतिसम्म कि, यहाँका केही पत्रकारका घरसहित सञ्चारसंस्था समेत तोडफोड र आगजनी भए ।

    आज आइतबारदेखि सेवा सञ्चालन गर्ने भनिए पनि जिल्ला मालपोत कार्यालय जस्ता कतिपय प्रशासनिक केन्द्र त केही महिना नै सेवा दिन नसक्ने गरेर क्षतिग्रत अवस्थामा पुगेका छन् । तर, जिल्लाको एक मात्रै स्थानीय तह माडी नगरपालिकाको भौतिक संरचनामा सानो चोट समेत लागेन ।

    माडीमा प्रदर्शन नै नभएर भौतिक संरचना नभत्किएको भने होइन । यहाँका ५ सय बढी जेनजी समूहले २३ गते जिल्ला प्रशासन कार्यालयमा १ घण्टा हुने धर्ना कार्यक्रमलाई समर्थन गरे । केही युवा माडीबाट भरतपुर आएर उक्त कार्यक्रममा सहभागी पनि भए ।

    २३ गते काठमाडौं तथा इटहरीमा प्रहरीको गोली लागेर आन्दोलनकारी मारिएपछि २४ गते बिहानैदेखि माडीका जेन-जी समूह पनि तात्तिए । प्रदर्शनका लागि लागि स्वस्फूर्त सडकमा निस्किए । जसको नेतृत्व गरेका थिए पदम पन्तले, उनीहरूलाई साथ दिन जेन वाई समूह पनि सडकमा आएको थियो ।

    देशभर आगजनी र तोडफोडको खबर आइरहँदा माडीमा पनि आन्दोलनको तयारी भइरहेको थियो । माडी सानो नगरपालिका भएकोले स्थानीय जनप्रतिनिधि घरघरसँग चिनजान र सम्पर्कमा छन् । माडी नगरकी मेयर ताराकुमारी काजी महतोले पनि अगुवाइ गर्ने युवाहरूलाई सम्पर्क गरेर भर्खरै नागरिककै करबाट बनाइएको सरकारी भवन क्षति नगर्न शान्तिपूर्ण प्रदर्शन गर्न पटक-पटक अनुरोध गरेकी थिइन् ।

    युवाहरू सडकमा आउने सूचना पाएपछि उनले सर्वपक्षीय बैठक बोलाइन् । बिहानै बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले जेनजीको आन्दोलनलाई समर्थन गर्ने, उनीहरूको आन्दोलनमा हस्तक्षेप नगर्ने तर भौतिक क्षति गर्न नदिन सम्झाउने निर्णय गर्‍यो ।

    ‘त्यति निर्णय अनुसार मैले चिनेका केही भाइहरूलाई फोन गरेर तपाइँहरू आन्दोलनमा हामी रोक्ने काम गर्दैनौँ । कहाँ प्रदर्शन गर्नुपर्छ बरु म चाबी दिन्छु तर बल्ल बल्ल हामीले आन्तरिक स्रोत जुटाएर बनाएको सरकारी भवनहरू चाहिँ नजलाउनुस् भनेर अनुरोध गरेँ’, उपमेयरले नेपाल प्रेससँग भनिन् ।

    बिहान १० बजेसम्म सडक तातिसकेको थियो । उनीहरूले नगरपालिका पुगेर मेयर, उपमेयर, प्रशासकीय अधिकृतको कोठाको ताला फुटाएर भित्तामा झुण्ड्याइएको प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए ।

    त्यसपछि वडाहरूको पनि प्रधानमन्त्री र राष्ट्रपतिको फोटो झिके, फोडे र जलाए, माडी क्याम्पसमा राखिएको सबै राजनीतिक दलका विद्यार्थी संगठनको बोर्ड हटाए, राजनीतिक दलका पार्टी कार्यालयको बोर्ड निकालेर जलाइदिए ।

    एउटा फेसबुक पोष्टले बदलेको आन्दोलनको स्वरुप

    यो बीचमा जेन-जीको आन्दोलनलाई कसरी रचनात्मक बनाउने जेन-वाई पुस्ताले सँगसँगै छलफल गरिरहेका थिए । चारैतिरबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको माडी नगरपालिकाका नागरिकलाई भरतपुर सदरमुकाम जोडिने सडक राम्रो छैन ।

    साँघुरो, कच्ची सडकमा आवतजावत गर्नुपर्दा सँधै माडीबासीले प्रश्न उठाउने र निकुञ्ज प्रशासनहुँदै अदालतसम्मले बाटो राम्रो बनाउन नदिने शिलशिला निकुञ्ज निर्माण भएदेखि नै चलिरहेको छ ।

    निकुञ्जको सास्ती भोगिरहेका माडीका नागरिकलाई मूल समस्या माडीसम्म पुग्ने बाटो हो । आन्दोलन चलिरहँदा जेनजी पुस्तालाई साथ दिएका जेन वाइ पुस्ताले यो विषय कसरी जोड्न सकिएला भनेर हतारमा छलफल चलाइरहेको थियो ।

    त्यसको समन्वय जेनजी आन्दोलनमा होमिएका विद्यार्थीले ज्यान गुमाएपछि एमाले परित्यागको घोषणा गरेका टीकाराम सुवेदी (टीआर सुवेदी), नेकपा माओवादी माडीका अगुवा सन्तोष पनेरु लगायतले गरिरहेका थिए ।

    छलफलकै बीचमा सुवेदीले एउटा फेसबुक पोष्ट राखे ‘मेयर साब आजै निर्णय गर्नुस्, नगरपालिकाको स्रोत साधन प्रयोग गरेर भोलिबाटै जङ्गगलको बाटो पीच सुरु हुन्छ । नसक्ने हो भने मार्गप्रशस्त गर्नुस् ।’

    हामी सबैले कसरी आन्दोलनमा क्षति हुन नदिने चर्चा गरिरहँदा मेरो त्यो पोष्टले सबैलाई विषयवस्तु मोड्ने बाटो दियो, युवाहरू नगरलाई दबाब दिन लाग्यौँ, सुवेदीले भने ।

    त्यतिमात्रै होइन युवाहरूलाई समन्वय गरिरहेका अन्य युवाहरुले पनि निकुञ्जको कसरा हुँदै वनकट्टासम्म पुग्ने सडक कसरी राम्रो बनाउन सकिन्छ भन्ने एजेण्डामा सहमति जुटाए । माडीका माओवादी अगुवा युवा सन्तोष पनेरु भन्छन्, – म जेन–जी पुस्तासँगै मेयरसापसँग पनि निरन्तर संवादमा थिएँ । अन्ततः युवाहरूले पनि यो विषयम सहमति जनाए ।

    आन्दोलनको अगुवाइ गरेका पन्तले जेन जी आन्दोलनले जसरी हुन्छ परिवर्तन चाहेको र दलहरूलाई बोर्ड जलाएर सुध्रिन चेतावनी दिएर निकुञ्ज हुँदै माडी पुग्ने बाटो स्तरउन्नतिको लागि दबाब दिन तयार भएको बताए ।

    ‘हामीले सार्वजनिक सम्पत्ति जोगायौँ, दलहरूको पनि बोर्ड जलाएर सुध्रिन चेतावनी दियौँ । मुख्य कुरा निकुञ्जको बाटो स्तरोन्नती गर्नु थियो त्यसमा आन्दोलन केन्द्रित गर्‍यौं ।’

    तीन घण्टा भित्र विशेष नगरसभा, बाटो स्तरोन्नति गर्ने निर्णय

    निकुञ्जको बाटो केन्द्रित आन्दोलन गर्ने ह्वीम भएपछि आन्दोलन गर्ने जेन-जी समूह नगरपालिकामा केन्द्रित भए । उनीहरूले मेयर र दलका स्थानीय अगुवाहरूलाई पनि सम्पर्क गरे । त्यसपछि तत्कालै नगरपालिका बैठक बसेर भरतपुर आवत जावत गर्ने सडकको काम अघि बढाउन दबाब दिए ।

    नगरपालिकाले पनि युवाहरूको कुरा सुन्यो । तुरुन्तै मेयरले कार्यपालिका बैठक बोलाइन् । विशेष नगरसभा बोलाउने निर्णय भयो । माडीमा नै भएकाले नगरसभामा सबै सदस्य एकैछिनमा उपस्थित भए । एकघण्टा नगरसभा बसेर एकमतले केही ऐजेण्डा पास गरे ।

    युवाहरूलाई कार्यपालिकाको निर्णय सुनाउँदै मेयर ।

    जसमा २३ गते जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय गर्‍यो । दोस्रो नम्बरमा तत्कालै माडी नगरको मर्मतसम्भार कोषको ५० लाख रकमले सडक मर्मत गर्ने निर्णय गर्‍यो भने ९ वटा वडाको विकासको रकम र नगरको आन्तरिक आन्तरिक स्रोत गरि ५ करोड २५ लाख रूपैयाँ रकमान्तर गरेर सडक चौडा, स्तरोन्नति गर्ने लगायतका निर्णय पारित गरियो ।

    मेयरले युवाहरूमाझ बैठकको निर्णय सुनाइन् । महतो भन्छिन्- हामीले जेन जीका कुरा सुन्यौँ । उहाँहरूले हामीलाई साथ दिनुभयो । माडीमा सबै जनता एक भयौँ । हामी अहिले सडक स्तरोन्नति गरिरहेका छौँ ।

    माडीका पूर्वमेयर तथा बागमती प्रदेश सांसद ठाकुर ढकाल पनि सबै माडीबासीको आवश्यकताको विषय भएकोले माडीको आन्दोलन बुद्धिमतापूर्ण रुपले विकासको काममा अघि बढेको बताउँछन् । सबैको साथले माडीमा भौतिक क्षति हुन नपाएको उनीहरूको भनाइ छ ।

  • बालुवाटारको मूल भवन सुरक्षित, प्रधानमन्त्री कार्की त्यहीँ बस्न थालिन्

    काठमाडौं । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की शपथ ग्रहणपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्न थालेकी छन् ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मंगलबार भएको आगजनीका क्रममा बाहिरी भागमा क्षति पुगे पनि मूल भवन सुरक्षित रहेका कारण त्यहिँ बस्न थालेको मुख्यसचिव एकनारायण अर्यालले नेपाल प्रेससँग बताए ।

    उनका अनुसार प्रदर्शनकारीले गाडीमा आगजनी र केही भवनमा तोडफोड गरे पनि प्रधानमन्त्री बस्ने मूल भवनमा क्षति पुगेको छैन ।

    प्रधानमन्त्री कार्कीले आफ्नो निजी निवासमै बस्ने बताए पनि सुरक्षा व्यवस्थामा खटिएका सुरक्षाकर्मी लगायतको व्यवस्थापनका लागि समस्या हुने भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्नुपर्ने भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

  • सन्दूक रुइतले भने- ‘हामी नेपाल’ संस्थासँग बारबरा फाउन्डेसनको अहिले सम्बन्ध छैन

    काठमाडौं । बारबरा फाउन्डेसनले जेनजी आन्दोलनको क्रममा आफ्नो संस्थाको नाम जोडेर भ्रामक र अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।

    फाउन्डेसनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका विषयमा हामी नेपाल नामक संस्थासँगको सम्बन्धबारे अनर्गल प्रचार भएको भन्दै आपत्ति जनाएको हो ।

    कोभिड महामारीको बेलामा सहकार्य गरिएको तर सो संस्था वा संस्थाका पदाधिकारीसँग कुनै पनि आर्थिक सम्वन्ध नरहेको फाउन्डेसनले जनाएको छ । नागरिकलाई मूल मुद्दाबाट भड्काउने मनशायले फाउण्डेशनको चरित्र हत्या नगर्न फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले आग्रह गरे ।

    उनले गत एक वर्षदेखि हामी नेपाल नामक संस्थासँग कुनै पनि कार्यक्रममा सहकार्य नरहेको स्पष्ट पारे । आन्दोलनका लागि हामी नेपाल नामक संस्थालाई आर्थिक सहयोग गरिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

    पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण पनि सार्वजनिक गर्दै फाउण्डेशनले विगत ८ वर्षमा ब्याज आम्दानीलगायत कुल करिब ७ करोड ८२ लाख प्राप्त गरेको जनाएको छ । हाल करिब ३ करोड ९५ लाख बैंकमा मौज्दात रहेको समेत फाउन्डेसनले जानकारी गराएको छ ।

     

  • प्रधानमन्त्री कार्की भन्छिन्- म सत्ताको रसस्वादन गर्न आएको होइन, ६ महिनामा छोड्छु

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभएर विवशतापूर्वक यो पदमा आएको बताएकी छन् । ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उनको भनाइ छ ।

    आज सिंहदरबारमा सचिवहरूसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कार्कीले यस्तो बताएकी हुन् ।

    उनले भनिन्, ‘म रहरले आएको होइन । सडकबाट, जताततैबाट फलानालाई, सुशीला कार्कीलाई जिम्मा दिऊँ भनेर आवाज उठ्यो । मैले विवश हुनुपर्‍यो । म कुनै सत्ताको रसस्वादन गर्न आएको होइन । मेरो उमेर पनि होइन त्यो ।’

    ६ महिना भन्दा बढी नबस्ने अठोट गरेर आएको उनले बताइन् ।

    ‘हामीले यो बेलामा किन सेवा नगर्ने भनेर हो । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी नबस्ने भनेका छौँ । ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ । यो अठोटमा यहाँहरूको साथ नपाईकन सम्भव छैन । सुरक्षा निकायले पनि साथ नदिईकन सम्भव छैन । हेर्नुस्, मलाई सहयोग गर्नुस्,’ कार्कीले भनिन् ।

  • सार्वजनिक यातायात देशभर सञ्चालन गर्ने निर्णय, दसैँको बुकिङ टिकट कहिलेदेखि ?

    काठमाडौं । जेनजी प्रदर्शनपछि सिर्जित अवस्थाका कारण रोकिएका सार्वजनिक सवारीसाधन देशभर सञ्चालन गरिने भएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सरोकार भएका निकायको बैठकमा प्रदर्शनका कारण रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

    बैठकमा प्रदर्शनका कारण एक सातादेखि काठमाडौंसहित विभिन्न स्थानमा रोकिएका सार्वजनिक सवारीसाधनलाई देशव्यापी रूपमा सञ्चालन गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

    उनका अनुसार बैठकले ढुवानीका मालवाहक सवारीसाधनलाई सहजीकरण गर्ने निर्णय गरेको छ । दसैँ, तिहार छठ पर्व नजिकिएसँगै घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गर्न यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा यातायात व्यवसायी, मजदुर तथा ट्राफिक प्रहरी रहनेगरी समिति गठन गरिएको छ ।

    उक्त समितिले सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा शीघ्र बैठक बसेर अग्रिम टिकट बुकिङ खुला गर्नेछ । यसवर्ष असोज ६ गते घटस्थापना र १६ गते बडा दसैँ परेको छ ।

  • सुरक्षाकर्मीबाट लुटिएका गोलीगठ्ठा र पोशाक फिर्ता गर्न एपीएफको आग्रह

    काठमाडौं । सशस्त्र प्रहरी बलले हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न अनुरोध गरेको छ ।

    आज एक सूचना जारी गर्दै जेनजी आन्दोलनका क्रममा केही व्यक्ति तथा समूहले नियन्त्रणमा लिएका सुरक्षा निकायका हात हतियार, गोलीगठ्ठा, पोशाक, संचार साधन लगायतका सुरक्षासँग सम्बन्धित सामग्रीहरु फिर्ता गर्न अनुरोध गरेको हो ।

    पोशाक लगायतका सुरक्षा सामग्रीहरु दुरुपयोग गरी विभिन्न सामाजिक सञ्जालहरुमा अझै फोटो/भिडियो देखिएकाले कहीं कतै प्रयोग गरेको/ लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरीको कार्यालयमा सम्पर्क गर्न भनेको छ ।

    आन्दोलनमा नियन्त्रणमा लिएका सामनहरु फिर्ता हुने क्रममा रहेको जनाउँदै फिर्ता गर्नेहरुलाई सशस्त्रले धन्यवाद समेत दिएको छ।

    बाँकी रहेका सामग्रीहरु कहीं कतै प्रयोग गरेको/लुकाई राखेको खबर र सूचना पाएमा नजिकको सशस्त्र प्रहरी बल, नेपालको कार्यालयमा सम्पर्क गर्न अथवा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्रि नं। १११४ वा अन्य सुरक्षा निकायहरुमा जानकारी गराई सहयोग गर्न अनुरोध गरेको छ ।

  • Gen-Z आन्दोलन प्रभाव : सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

    Gen-Z आन्दोलन प्रभाव : सवारी लाइसेन्स वितरण अनिश्चितकालका लागि बन्द

    काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्स छपाइ र वितरण अनिश्चितकालीन बन्द गरेको छ ।

    जेनजी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी/लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति भएकाले सवारी चालक अनुमतिपत्र तथा विद्युतीय सवारी साधन दर्ता (EDLVRS ) सम्बन्धी सेवा अवरुद्ध भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।

    विभागले अर्को सूचना नभएसम्मका लागि सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली बन्द रहने जानकारी गराएको हो ।

  • आगजनीमा संलग्न प्रमाण बाहिरिन थालेपछि रास्वपा नगर सभापति र इन्चार्जले पार्टी छाडे

    काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाभित्र निजी र सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोडमा संलग्न रहेका भिडिओ फोटो बाहिर आउन थालेपछि रास्वपाका नगर सभापति र नेताले पार्टी छाडेको घोषणा गरेका छन् ।

    भदौ २४ गते पनौती नगरपालिकाका पूर्व मेयर भीम न्यौपाने, उपमेयर गीता बन्जारा,कांग्रेस नेता शिव हुमागाईँ, क्याप्टेन रामेश्वर थापालगायतका नेता तथा व्यवसायीको घरमा आगजनी भएको थियो ।

    आगजनीका घटनामा संलग्नमध्ये रास्वपाका नगर सभापति विवेक भट्टराई र इन्चार्ज सुदर्शन तिमल्सिनाको संलग्नताका प्रमाण बाहिरिएपछि उनीहरूले गल्ती भयो भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।

    पनौतीमा तोडफोड र आगजनीको कमान्ड नै रास्वपा नगर सभापति भट्टराई र वडा इन्चार्ज सुदर्शन तिमल्सिनाले सम्हालेका थिए । भट्टराई काठमाडौँ विश्वविद्यालय कुप्स विद्यालयका स्थायी शिक्षक समेत हुन् । विद्यालयले भट्टराई स्थायी शिक्षकका रूपमा कार्यरत रहेको स्वीकार गरेको छ ।

    पनौती २ कुशादेवीका सुदर्शन तिमल्सिना जो इन्चार्ज समेत हुन्,उनले आन्दोलनका क्रममा आफूहरूबाट कमजोरी भएको स्वीकार गरेका छन् ।

    उनले आफूहरू त्यसरी देखिने गरी आन्दोलनमा उपस्थित भएका कारण सबै दोष लगाउन खोजिएको भन्दै सभापतिले नै राजीनामा दिएपछि आफू पनि उक्त पार्टीबाट अलग भएको बताएका छन् । उनले अब आफ्नो सात पुस्ताले राजनीति नगर्ने भन्दै सोही घटनापछि आफूलाई खोजी गर्नेहरूबाट ज्यान असुरक्षा भएको पनि बताएका छन् ।

  • तस्बिरमा यस्तो देखियो सुशीला कार्कीको सिंहदरबार इन्ट्री

    तस्बिरमा यस्तो देखियो सुशीला कार्कीको सिंहदरबार इन्ट्री

    काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पदभार ग्रहण गरेकी थिइन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना जलाइएकाले गृह मन्त्रालयको नयाँ भवनबाट उनले उनले कार्यभार सम्हालेकी छन् ।

    कार्कीले जेनजी आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने पहिलो निर्णय गरिन् । साथै घाइतेहरूको निशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिएकी छन् ।

    कार्कीको स्वागतमा मुख्यसचिव एकनारायण अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्द कार्की, सचिवहरू, सुरक्षा प्रमुखहरू उपस्थित थिए ।

  • सुमना श्रेष्ठद्वारा रास्वपा परित्यागको घोषणा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्यागको घोषणा गरेकी छन् ।

  • अत्यावश्यक संस्थाहरूमाथि छानिछानि प्रहार भयो, योजनावद्ध षडयन्त्रको आशंका छः प्रधानमन्त्री कार्की

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै कुराहरु सिध्याएर देशलाई शून्यतामा पुर्‍याइएको टिप्पणी गरेकी छन् । आज पदभार ग्रहणपछि बोल्दै कार्कीले यो घटना योजननावद्ध षडयन्त्र हो कि भन्ने आफूलाई आशंका रहेको बताइन् ।

    उनले भनिन्, ‘२७ घन्टाको आन्दोलनबाट जनधनको व्यापक क्षति भएको छ । सबै सरकारी विवरणहरू जलेर नष्ट भएका छन् । नेपाली नै भएर यो काम गरेको हो भने कसरी नेपाली भन्ने ?’

    कार्कीले अत्यावश्यक संस्थाहरुमा छानिछानि प्रहार भएकाले आशंका उत्पन्न भएको बताइन् ।

    ‘प्रहरी, अदालत, सिंहदरबारजस्ता देशका अत्यावश्यक संस्थाहरुमाथि छानि छानि प्रहार भयो । मलाई त योजनतावद्ध रुपमा षडयन्त्र भएको हो कि जस्तो लागेको छ,’ उनले भने ।

    कार्कीले यो सबै घटनाको छानबिन हुनुपर्ने बताइन् ।

  • प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण (LIVE)

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार सम्हालेकी छन् ।

  • जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । आज प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो ।

    प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जना सहिद भएका छन् भने प्रहरीतर्फ ३ जनाको निधन भएको छ ।

    यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । यसैगरि, १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेका छन् । प्रहरीहरु ५७ जना उपचाररत छन् ।

  • जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा गरेर १०-१० लाख क्षतिपूर्ति दिने निर्णय

    काठमाडौं । जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०-१० लाख रूपैयाँ क्षतिपूर्ति दिइने भएको छ । घाइतेहरुको सरकारले निशुल्क उपचार व्यवस्था गर्न प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् ।

  • सुशीलाले सम्हालिन् अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी

    काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी छन् ।

    सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्नुअघि उनले माल्यार्पणसहित शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।

    कार्कीले सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हालेकी हुन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

  • सिंहदरबार छिर्नुअघि शहीद स्मारक पुगिन् सुशीला (तस्बिरहरू)

    सिंहदरबार छिर्नुअघि शहीद स्मारक पुगिन् सुशीला (तस्बिरहरू)

    काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की लैनचौरस्थित शहीद स्मारक पुगेकी छन् ।

    सिंहदरबारमा पदभार ग्रहण गर्नुअघि उनले शहीदको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

    कार्कीले केही बेरमा सिंहदरबारको गृहमन्त्रालयको नयाँ भवनबाट जिम्मेवारी सम्हाल्दै छिन् । जेनजी आन्दोलनको बलमा कार्की शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

  • बौद्ध भाटभटेनीभित्र भेटिए ४ पुरुषको शव

    काठमाडौं । बौद्धमा रहेको भाटभटेनी सुपर स्टारमा ४ वटा शव भेटिएको छ ।

    प्रहरीका अनुसार शनिबार बेलुकी शव फेला परेका हुन् । डढेको कारण शव पहिचान भएको छैन । सबै मृतक पुरुष भएको प्रहरीले जनाएको छ ।

    शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

    जेनजी आन्दोलनका क्रममा भाटभटेनी लगायत देशका विभिन्न स्थानमा रहेका सरकारी र निजी संरचनाहरुमा आगजनी भएको थियो ।

  • प्रधानमन्त्रीले ११ बजे सिंहदरबारमा पदभार ग्रहण गर्दै

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज ११ बजे पदभार ग्रहण गर्ने भएकी छन् ।

    उनी गत शुक्रवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथग्रहण गरेकी थिइन् ।

    कार्कीले सिंहदरबारभित्रै रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालय बनाइएको छ । सोही कार्यालयमा कार्कीले पदभार ग्रहण गर्न लागेकी हुन् ।

  • शान्तिपूर्ण निकासमा अहम् भूमिका निभाएको भन्दै अमेरिकाले गर्‍यो प्रधानसेनापतिको प्रशंसा

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा गत साताको दुखद घटनाक्रमपछि शान्ति-सुरक्षा पुनर्बहाली भएकोप्रति खुसी व्यक्त गरेको छ ।

    अमेरिकी दूतावासले एक विज्ञप्ति जारी गर्दै अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग सहकार्य गर्न चाहेको समेत बताएको छ ।

    दूतावासको विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूले प्रजातान्त्रिक समाधानका निम्ति प्रतिबद्धता प्रस्तुत गरेको भन्दै सराहना गरिएको छ । यस्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको उच्च प्रशंसा गरिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘शान्ति बहाली गर्ने र नागरिक सरकार गठनमार्फत शान्तिपूर्ण निकास निकाल्न सहजीकरण गर्ने कार्यमा नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलको महत्त्वपूर्ण भूमिकाको हामी उच्च कदर गर्छौँ ।’

  • रेशम चौधरीले छोडे नाउपा, नाउपा नेपाल घोषणा

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले उक्त पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।

    सामाजिक सञ्जाल मार्फत उनले उक्त पार्टी छोडेको घोषणा गरेका हुन् । त्यासँगै नागरिक उन्मुक्ति पार्टी नेपाल घोषणा गरेका हुन् ।

  • जेनजी क्रान्ति र नयाँ नेपाल निर्माणको बाटो

    दशकौँको राजनीतिक सङ्क्रमण, पटक-पटकको व्यवस्था परिवर्तन र असंख्य आन्दोलनले एउटा कठोर सत्य देखाएका छन्, केवल सत्ता फेरिँदा देश फेरिँदैन। संविधानको पाना बदल्दा मात्र जनताको भाग्य बदलिँदैन। जबसम्म राज्यको संरचना र शासनको आचरण नै नयाँ हुँदैन, हाम्रा सपना कागजमै कैद रहन्छन्।

    निम्न कुरासँग अहिलेको क्रान्तिलाई जोड्ने हो भने केही सम्भावना रहला कि ?

    १. निष्पक्ष अन्तरिम सरकार: नयाँ सुरुवातको आधार

    दलहरूको पुरानो खेल र व्यक्तिगत स्वार्थको जाल तोड्न, सर्वदलीय सहमतिको आधारमा निष्पक्ष अन्तरिम सरकार गठन गरिनु आवश्यक छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीजस्ता निर्भीक व्यक्तित्वको नेतृत्वमा विभिन्न विषयका विज्ञ समेटिएको मन्त्रिपरिषद् नै नयाँ सुरुवातको पहिलो कदम बन्नसक्छ। यो सरकार कुनै दलको होइन, सम्पूर्ण जनताको सरकार हुनुपर्छ।

    २. कानूनी बाटोबाट नयाँ जनादेश

    अन्तरिम सरकारले संसद बैठक बोलाई आवश्यक संशोधन गरी सांसदको सिफारिसमा राष्ट्रपतिमार्फत् संसद विघटन गरी नयाँ जनादेशको बाटो खोल्नुपर्छ। परिवर्तनको यात्रा शान्तिपूर्ण र संविधानमैत्री हुनैपर्छ।

    ३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र नयाँ शासकीय संरचना

    छ महिनाभित्रको चुनावमार्फत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था ल्याउनु आवश्यक छ। समानुपातिक प्रणालीको जटिलता हटाई सांसदबाट मन्त्री बन्ने परम्परा अन्त्य गरिनुपर्छ, ताकि संसद नीति निर्माणको मञ्च होस् र कार्यकारीतन्त्र दक्ष विज्ञको हातमा सुम्पन सकियोस्। प्रधानमन्त्रीले योग्य विज्ञलाई मन्त्रीमा छनोट गर्न पाउने व्यवस्था नै उत्तरदायी शासनको आधार बन्न सक्छ।

    ४. कर्मचारीतन्त्रमा डिजिटल क्रान्ति

    राजनीतिक हस्तक्षेपले जकडिएको कर्मचारीतन्त्रलाई प्राविधिक दक्षता र परिणाममुखी प्रशासनमा रूपान्तरण गर्नुपर्छ। डिजिटल सेवा प्रवाह र पारदर्शी प्रणालीले मात्रै जनताको भरोसा पुनः स्थापित गर्नसक्छ।

    ५. दलभित्र पुस्तान्तरणको सुनिश्चितता

    पुरानो पुस्ताले पाएका विशेष सुविधाभन्दा बाहिर, नयाँ पुस्ताले कम्तीमा एकपटक चुनाव लड्न पाउने कानूनी व्यवस्था गरिनु जरुरी छ। नेतृत्वको स्वाभाविक पुस्तान्तरणबिना लोकतन्त्र बाँच्न सक्दैन।

    ६. योजना आयोग र राष्ट्र बैंकको पुनर्जागरण

    राष्ट्रिय योजना आयोग र राष्ट्र बैंकलाई प्रविधिमैत्री, पारदर्शी र विदेशी लगानीमैत्री कानूनले सबल बनाउनुपर्छ। दिगो आर्थिक विकासको नक्सा यिनै संस्थाले कोर्छन्।

    ७. शिक्षा र स्वास्थ्य: मौलिक अधिकारको प्रत्याभूति

    शिक्षा र स्वास्थ्यलाई राज्यको मातहत राख्दै पर्याप्त लगानी बढाउनुपर्छ।

    शिक्षकहरूलाई हरेक पाँच वर्षमा योग्यता परीक्षण गरेर सेवा थप्ने व्यवस्था गर्नुपर्छ, ताकि शिक्षा गुणस्तरमा निरन्तर सुधार होस्।

    स्वास्थ्य सेवा विपन्न र गरिब नागरिकको सहज पहुँचमा पुर्‍याउने नीति राज्यले सुनिश्चित गर्नुपर्छ। उपचार नागरिकको अधिकार हो, पैसाले मात्रै नापिने वस्तु होइन।

    ८. अर्थतन्त्र र प्राकृतिक स्रोतको सदुपयोग

    देशका प्राकृतिक स्रोत—जल, ऊर्जा, खानी, वन—पारदर्शी र दिगो ढङ्गले प्रयोग गर्दै विदेशी लगानी आकर्षित गर्न राज्यले सक्रिय भूमिका खेल्नुपर्छ।

    ९. ठूला उद्योग र कलकारखाना– रोजगारी र समृद्धिको बाटो

    देशभित्र ठूला–ठूला उद्योग र कलकारखाना स्थापना गर्नु आर्थिक पुनरुत्थानको मेरुदण्ड हो। चाहे स्वदेशी पूँजी होस् वा विदेशी लगानी, राज्यले लगानीको सुरक्षा र ग्यारेन्टी गर्न तयार हुनुपर्छ। यस्तो वातावरण बनेमा युवा विदेशिनुपर्ने बाध्यता घट्छ र आफ्नै मातृभूमिमा रोजगारी सिर्जना हुन्छ।

    १०. कृषिमा प्राविधिक जागरण

    अनुदानको अस्वस्थ संस्कृति हटाउँदै कृषकलाई प्रविधि र तालिमको पहुँच दिनुपर्छ। राज्यले कृषकको उत्पादन बजारसम्म पुर्‍याउने स्पष्ट जिम्मेवारी लिनुपर्छ, ताकि किसान आत्मनिर्भर र गर्विलो पेशामा रहोस्।

    ११. खेलकुद, मनोरञ्जन र सांस्कृतिक सम्पदा

    देशको पहिचान केवल आर्थिक विकासले मात्र बनिँदैन, खेलकुद, कला र संस्कृति पनि त्यत्तिकै शक्तिशाली धरोहर हुन्।

    विद्यालयदेखि स्थानीय तहसम्म खेलकुदलाई प्रोत्साहित गर्दै प्रतिभावान् युवालाई विश्वस्तरीय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउनु आवश्यक छ।

    फिल्म, संगीत, नाटक जस्ता मनोरञ्जनका माध्यमलाई प्राविधिक र वित्तीय सहयोग पुर्‍याई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने वातावरण तयार गर्नुपर्छ।

    लोपोन्मुख परम्परा, मठ–मन्दिर, पुरातात्त्विक स्थल र सांस्कृतिक उत्सवहरूको संरक्षणलाई राज्यले प्राथमिकता दिनुपर्छ।

    १२. पर्यटन– सुन्दरता र संस्कृतिको विश्वमञ्च

    हिमाल, पहाड र तराईको अनुपम सुन्दरता, जातजातिको बहुल संस्कृति—यी केवल पहिचान होइन, समृद्धिको स्रोत पनि हुन्। पर्यटकीय पूर्वाधारमा लगानी, सेवा गुणस्तरको सुधार र विश्वव्यापी प्रचारले नेपाललाई विश्वकै अग्रणी गन्तव्य बनाउनसक्छ।

    केवल सत्ता फेरिनु पर्याप्त छैन। राज्यको आत्मा, संस्थागत संस्कार र शासनको चरित्र नै रूपान्तरण गर्न आवश्यक छ। हिम्मत, स्पष्ट दृष्टि र सामूहिक संकल्पले मात्र नयाँ नेपाल निर्माण सम्भव छ। २०८२ को अपेक्षित परिवर्तन नारामा होइन, कर्ममा परिणत हुनुपर्छ, यही हाम्रो भविष्यको असली नक्सा हुनेछ।

  • अनमोलको आँट : जसले जलाउन लागिएको विराटनगरको गौरवलाई भिडबाट जोगाए

    विराटनगर । भदौ २४, जेनजी आन्दोलनको मौका छोप्दै अराजक समूहले देशभरका सरकारी, निजी र ऐतिहासिक संरचनालाई निशाना बनाए । आगो झोसे, तोडफोड गरे, लुटपाट मच्चाए । यही बीचमा जोगिन सफल भयो विराटनगरको गौरव वीरेन्द्र सभागृह । र, भिडलाई सम्झाउने साहस गरे अनमोल सुब्बाले । अहिले उनको चौतर्फी तारिफ भइरहेको छ ।

    कोशी प्रदेशको राजधानी विराटनगरमा पनि यसको बाछिटा पर्‍यो । प्रदेशसभा, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी भइरहेको थियो । धुवाको मुस्लोले ढाकिएको थियो विराटनगरको आकाश ।

    त्रासमै थियो विराटनगर । दिउँसै खुलेआम लुटपाट हुँदा र जेनजीको आवरणमा आपराधिक गिरोहले विध्वंश मच्चाउँदा सुरक्षामा खटिएका प्रहरी ज्यान जोगाएर भागिसकेका थिए ।

    कोशी प्रदेशको प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालय र दर्जनौं संरचना ध्वस्त पार्दै अघि बढेको समूह ‘जिन्दावाद’ र ‘मुर्दावाद’ को नारा लगाउँदै विराटनगर-७ को वीरेन्द्र सभागृहमा पुग्यो ।

    जिल्ला प्रशासन र हुलाक कार्यालयमा लगाइएको आगोको धुवाँले ढाकेको सभागृहमा एक उत्तेजित हुल मूलगेटको ताला फुटाउँदै भित्र छिरेर जलाउने तयारीमा लाग्यो ।

    जेनजी आन्दोलनको अग्रपंक्तिमा थिए २३ वर्षीय अनमोल । काँधमा राष्ट्रिय झण्डा बोकेका उनले भिडलाई सम्झाइ बुझाइ गर्न थाले । विराटनगर-६ का सुब्बा सोमबारदेखि नै आन्दोलनमा सक्रिय थिए । शान्तिपूर्ण आन्दोलनको नेतृत्वमा रहेका उनी दोस्रो दिनको प्रदर्शन हिंसात्मक बनेपछि पछि हटेका थिए । सभागृह जलाउने प्रयास भएपछि हतास अनुहारसहित उनी त्यहाँ आए ।

    अनमोललाई तेजनारायण चौधरीसहितका केही युवाले साथ दिए । त्यत्तिकैमा खन्ती, फरुवा बोकेर भित्र छिरेका २-४ जनाले भित्रबाट सामान ल्याएर मोटरसाइकलमा राख्दै ओसार्न थाले ।

    अनमोलले बिन्तीभाउ गरेर माहोल नियन्त्रण बाहिर जान दिएनन् । उनले सभागृह बचाउन गरेको हरदम प्रयास अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

    भिडलाई अनमोलले सम्झाउँदै भनेका छन्, ‘यो हाम्रै सम्पत्ति हो । हामीलाई नै चाहिन्छ । केही पनि गर्न हुँदैन । यति राम्रो बनेको छ । दाइ यस्तो केही नगर्नु न ! यो जेनजीको आन्दोलन हो । यसमा केही नगरिदिनु न । बाहिरका सामान लैजानु, बरु भित्र नगइदिनू ।’

    उनले आग्रह गरिरहँदा प्रधानमन्त्रीको राजीनामा नआएसम्म तोडफोड र आगजनी नरोक्ने भन्दै आक्रोशित भिडले उनलाई धम्की दिन्छ । तर, हार नमानि उनी सम्झाउँछन्, ‘ओली (प्रधामन्त्री केपी शर्मा ओली) ले छोडिसक्यो । यस्ता काम छाडौं ।’

    केहीबेर अनुनय विनय गर्दै आक्रोशित भिडलाई मत्थर पारेर बाहिर निकाल्न अनमोल सफल बने । तर, केही लुटपाट र चोरी भने भयो ।

    आगजनीबाट सभागृह जोगाएपछि उनले भनेका छन्, ‘हामीले बचाउन सफल भएका छौं, यति राम्रो ठाउँलाई ।’

    सभागृह बचाउन भिडलाई ‘कन्भिन्स’ गर्न सफल अनमोलको अहिले चौतर्फी प्रशंसासमेत भइरहेको छ । त्यसदिन आफूलाई रातभर निद्रा नलागेको बताउँदै सुब्बा भोलिपल्ट बिहानै पुगेर हेर्दा सभागृह सुरक्षित देखेपछि मन शान्त भएको सुनाउँछन् ।

    ‘रातभर मनमा चिन्ता भयो । के भयो होला ? भनेर निदाउनै सकिनँ । भोलिपल्ट बिहानै दौडेर सभागृह पुगेँ । जस्ताको तस्तै देख्दा ढुक्क भएँ । राज्यको सम्पत्ति जोगाउन पाउँदा सन्तोष मिल्यो ।’

    जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्लू तेस्रो सेमेस्टरका विद्यार्थी अनमोल सामाजिक सञ्जालमा सक्रिय छन् ।
    सभागृह जोगाउँदाको दृश्य पनि उनले सामाजिक सञ्जालमा राखेका छन् । जुन छोटो समयमै भाइरल भयो ।

    उनी वीरेन्द्र सभागृहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै स्कुल पढ्दा त्यहाँ कार्यक्रम गरेको सम्झिन्छन् । भन्छन्, ‘त्यो सम्झनाले पनि जोगाउन बल मिल्यो ।’

    २०३० सालमा बनेको वीरेन्द्र सभागृह विराटनगरको गौरव मानिन्छ । विराटनगर महानगरपालिकाले पुरानो आकृति सुरक्षित राख्दै करिब २३ करोड रूपैयाँ खर्चेर ‘रेट्रोफिटिङ’ गरी पुनः प्रयोगमा ल्याएको छ ।

    गतवर्ष रेट्रोफिटिङ पूरा भएपछि सभागृहलाई पुन: खुला गरिएको थियो ।

  • महानगरका विद्यालय आजदेखि खुल्ने, कक्षा सञ्चालन भने भोलिबाट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ ।

    महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको हो ।

    विद्यालयमा कुनै क्षति भएरनभएको एकिन गर्न, अभिभावकसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न अवस्था सामान्य नहुञ्जेलसम्म बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न अनुरोध गर्न महानगरले सूचनामार्फत अनुरोध गरेको छ ।

    महानगरको शिक्षा विभागले विभिन्न चार बुँदामा सबै विद्यालयलाई कक्षा सञ्चालन, यही भदौ २३ र २४ गतेदेखि देशमा सिर्जित अवस्थाका कारण विद्यालयमा क्षति भए/नभएको एकिन गर्न र कक्षा सञ्चालनका लागि आवश्यक तयारी गर्न सूचित गरेको हो ।

    महानगरले यही भदौ ३० गते सोमबारदेखि भने मनोसामाजिक परामर्शसँगै भौतिक रूपमा कक्षा सञ्चालन गर्न, विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीका हकमा श्रव्यदृश्यका माध्यमबाट कक्षा सञ्चालन गर्न आग्रह गरेको छ ।