Tag: टप न्यूज

  • जेनजी आन्दोलनका शहीद परिवारले १५ लाख पाउने

    काठमाडौ । सरकारले जेनजी आन्दोलनमा शहिद भएका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ । आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

    यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएको थियो । मन्त्रीपरिषद वैठकले थप ५ लाख रुपैया दिने निर्णय गरेको हो ।

  • असोज १ मा शोक विदा दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ । जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन विदा दिने निर्णय आज बसेको मन्त्रीपरिषद वैठकले गरेको हो ।

     

  • अर्थमन्त्री खनाललाई पत्रकारले ‘जेनजी हजुरबा’ भनेपछि…

    काठमाडौं । राजनीतिक दलबाट मन्त्री नियुक्ति हुँदाभन्दा आज अर्थ मन्त्रालयमा फरक माहोल थियो । नयाँ मन्त्रीलाई स्वागत गर्न कार्यकर्ताको भिडभाड र अनावश्यक तामझाम थिएन ।

    डा. रामेश्वर खनाल आफ्नै निजी गाडी चढेर अर्थ मन्त्रालय प्रवेश गरे । यो पनि नौलो दृष्य हो । खनालले आफू मन्त्री नियुक्त भएलगत्तै पनि सरकारी गाडी नलिने घोषणा गरेका छन् । आन्दोलनका क्रममा सयौं सरकारी गाडीहरु जलाइएकाले मन्त्रीको यो निर्णयले सांकेतिक अर्थसमेत राख्छ ।

    मन्त्रालयको द्वारमा सचिव लगायत केही उच्च पदस्थ कर्मचारीहरु हातमा फुलगुच्छा लिएर स्वागतमा उभिएका थिए । यसमा मन्त्री त्यति खुशी देखिएनन् । ‘फुलले स्वागत नगरेको भए हुन्थ्यो’ भन्दै उनी भित्र पसे ।

    अघिल्ला मन्त्रीहरु बसेको कुर्सीमा नै गएर नवनियुक्त अर्थमन्त्री खनालले पदभार ग्रहण गरे । अर्थमन्त्रीको कुर्सीमा बसेपछि उनले पहिलो निर्णयमा हस्ताक्षर गरे– टुक्रे आयोजनाहरु खारेज गर्ने ।

    राजनीतिक दबाबमा बजेटमा पारिएका, समय सकिएपछि योजना बैंकबाट बजेटमा हालिएका, तयारी नपुगेका आयोजनाहरु हटाउने निर्णय उनले लिएका हुन् । बजेटमा भएका कार्यक्रम कटौतीका लागि उनले बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गरेका छन् ।

    पदभार सम्हालेपछि मन्त्रीले आफूलाई ‘माननीय’ नभन्न पत्रकालाई अनुरोध गरेका थिए । त्यहाँ उपस्थित एक पत्रकारले कटाक्षा गर्दै सोधे, ‘जेनजी भन्ने हो ?’ अर्का पत्रकारले भने– जेनजी बुवा भनौं । फेरि अर्काले ‘बुवा होइन हजुरबा’ भन्दा अर्थमन्त्रीको कार्यकक्षमा हाँसो गुञ्जिएको थियो ।
    मन्त्रीले पदभार सम्हालेपछि सुवर्ण हलमा कर्मचारीहरु र पत्रकार राखेर अन्तरक्रिया सुरु भयो । अर्थमनत्रीले आफुभन्दा पहिले गभर्नर डा. विश्वनाथ पौडेललाई बोल्न दिए । पौडेलले मेरो भन्नु खासै केही छैन भनेर पन्छिन खोजे ।

    अर्थमन्त्रीले कर गरेपछि उनले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरुमा आक्रमण भयो । ६९ वटा एटिएममा केही असर परेको छ । अहिले बैंक सिस्टममा केही समस्या छैन । मनोबल बढाउनु पर्ने बेला भएकाले त्यसै अनुसार काम गर्नुपर्ने छ ।’

    अर्थमन्त्रीले पदभार ग्रहणपछि टुक्रे आयोजनाहरु कटौती गरेर ६ महिनामा निर्वाचन गर्नका लागि १ सय अर्ब रुपैयाँ स्रोत जुटाउने सोच प्रस्तुत गरे ।

    उनले भने, ‘६ महिनापछि निर्वाचन गर्नु पर्ने छ । त्यसका लागि टुक्रे आयोजना कटौती गर्दा १ सय अर्ब पैसाको स्रोत जुट्ने छ । राजस्व उठाउन पनि हामी लाग्नु पर्ने छ ।’

    मन्त्रालयका धेरै कर्मचारीसँग आफूले विगतमा काम गरेको अर्थमन्त्री खनालले सम्झिए । उनले भने, ‘मैले पहिले पनि यो मन्त्रालयमा १४ देखि १८ घण्टासम्म काम गरेको अनुभव छ । राम्रो कामका लागि मसँग जसरी र जुन बेला आएपनि हुन्छ । काम हुने फाइल बोकेर आउँदा अब अर्थ मन्त्रालयबाट फर्किनु पर्दैन । तर, गलत मनसाय बोकेर नआए हुन्छ ।’

    अर्थमन्त्रीले आफुलाई सवारी चालकबाहेक दुई जना कर्मचारीमात्र चाहिने बताएका छन् । उनले भने, ‘गाडीमा हिँड्दा फोन आउँछ । त्यसैले मलाई एक जना सवारी चालक चाहिन्छ । मेरो निजी सचिवालय हुने छैन । मन्त्रालयले मलाई काम गर्न सक्ने दुई जना कर्मचारी दिए पुग्छ ।’

    मन्त्रीले पदभार सम्हालेर हलमा छलफल गर्दै गर्दा पर्वतका शालिग्राम शर्माले केहीबेर चर्का कुरा गरेर माहोल तताएका थिए । उनलाई सुरक्षाकर्मीले बाहिर निकाले ।

     

  • संसद् विघटनको विपक्षमा उभिएका दलहरू तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा

    काठमाडौं । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएका दलहरूले फागुन २१ को निर्वाचनमा भाग लिन तयार देखिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गरेपछि चर्को विरोधमा उत्रिएका दलहरूले निर्वाचनमा भाग लिन तयार देखिएका हुन् ।

    जेन जी आन्दोलनले ल्याएको उथलपुथलपछि राजनीतिक निकासको लागि निर्वाचनको विकल्प नभएकाले दलहरू तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका हुन् । उनीहरूले तोकेकै समयमा निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन् ।

    एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई संविधान फर्काउन अविलम्ब तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए ।

    आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि उनले भने, ‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जाने छ ।’

    नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने आफूहरूको बुझाइ रहेको बताए । सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन नसक्ने भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी रहेको बताए ।

    कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनुपर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ। प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिश्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो। निर्वाचन सम्पन्न भएसँगै चार पुस्ताको सङ्घर्षबाट निर्माण भएको संविधान फेरि पुर्णरुपमा क्रियाशील हुनेछु ।’

    यस्तै, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि अन्तरिम सरकारले तोकेको मितिमा निर्वाचन नभएका देश भयावह संकटमा जाने बताए । सरकारलाई घोषित मितिमा निर्वाचन गराउने वातावरण बनाउनेतिर सबै लाग्नुपर्ने बताए ।

    उनले भने, ‘अन्तरिम सरकार बनिसकेको छ, निर्वाचनको मिति घोषणा भइसकेको स्थितिमा अब हामीले त्यही बाटोबाट छिटोभन्दा छिटो घोषित मितिमा निर्वाचन गर्नुपर्छ भनेर एकजुट भएर जानु आवश्यक छ। घोषित मितिमा चुनाव गर्न सरकार असफल भयो भने देशमा भयावह अवस्था आउँछ ।’

    उनले सबैको आवश्यकतालाई ध्यान दिएर जेनजी आन्दोलनको उपलब्धिलाई गुम्न नदिने गरी अन्तरिम सरकारलाई सफल बनाउनु लाग्नुपर्ने बताए ।

    रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि तोकिएको समयमा निर्वाचन हुनुपर्ने बताएका छन् । तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरणका साथै लोकतान्त्रिक हक अधिकारको निर्बाध उपभोग गर्नुपर्ने उनको भनाइ छ ।

    महामन्त्री बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विधिमा बाँधिएको असल शासन अनुरूप चरम भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध एवं विकासमा गुणस्तरीय द्रुतताको अपेक्षा यस अन्तरिम सरकारबाट राखिएको छ । यी घोषित लक्ष्यहरूबाट सरकार च्युत हुँदा प्रतिरोध हुनेमा रास्वपा स्पष्ट रहँदै समग्र राष्ट्रिय हित, एकता र सौहार्दताको प्रवर्द्धनमा हाम्रो दल सदा सहयोगी भूमिकामा रहनेछ ।’

    त्यसो त आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै तोकिएको समयमा नै निर्वाचन गराउन केन्द्रित हुन दलहरूलाई आह्वान गरेका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् । तसर्थ, बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’

    रास्वपाले त पहिल्यै पनि ताजा जनादेशमा जान माग गरेको थियो। असहमतिका बीचमा पनि सरकारले संसद् विघटन गरेको भएपनि अन्तिम दलहरू बाध्य भएर निर्वाचनमा जान तयार देखिन्छन् ।

     

  • यातायात विभागमा भिडिओ टुर- लाइसेन्स छाप्ने देशकै एकमात्र मेसिनसहित सबै विवरण खरानी

    यातायात विभागमा भिडिओ टुर- लाइसेन्स छाप्ने देशकै एकमात्र मेसिनसहित सबै विवरण खरानी

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा अराजक समूहको निशानामा परेको बानेश्वरस्थित यातायात व्यवस्था विभाग भग्नावशेषमा परिणत भएको छ ।

    संघीय संसदको भवननजिकै रहेको विभागमा आन्दोलनकारीहरूले आगो लगाएसँगै छापिएका हजारौँ लाइसेन्स, इम्बोस्ड नम्बर प्लेटको स्टोरेज, इम्बोस्ड छाप्ने मेसिन र लाइसेन्स छाप्ने अत्याधुनिक मेसिन ध्वस्त भएका छन् ।

    लाइसेन्स, हार्डडिक्स प्रिन्टर, ल्यापटप र जेनरेटरका ब्याट्रीहरूसहितका महत्वपूर्ण वस्तुहरू चोरी भएका कर्मचारी बताउँछन् ।

    विभागका सिभिब इन्जिनियर प्रेमकुमार यादवका अनुसार, ‘भवनको पहिलो तला र दोस्रो तलामा रहेको सामाग्री सहित कागजपत्र (डकुमेन्ट) र भौतिक संरचना जलेर ध्वस्त भएका छन् भने तेस्रो तलामा आगोको मुस्लोले फोहोर भएपनि कागजपत्र र भौतिक वस्तु सकुसल छन् । काम चलाउनका लागि तेस्रो तलामा काम भइरहेको छ ।’

    आन्दोलनमा विभागको ७ अर्ब लगानी खरानी भएको उनले सुनाए । अहिले विभागमा भएको क्षति र लुटिएका सामग्रीको विवरण संकलन गर्न टेन्टमुनि बसेर काम गरिरहेको सूचना अधिकारी गणेशमान सिंह राईले सुनाए ।

    उनले भने, ‘अहिले कति क्षति भएको छ ? कति सामाग्रीहरू चोरी भएका छन् ? त्यसको डाटा निकाल्न विभागको टोली खटिएको छ । ड्युटीमा खटिएका कर्मचारीहरूले आफ्नो व्यवस्था आफैँ गरेका छन् । अहिले यस्तो विषम परिस्थितिमा विभागले केही गर्न सकेको छैन । बस्ने कुर्सी नाडाले दिएको छ र आगोबाट बचेखुचेको टेवल प्रयोग गरिरहेका छौँ ।’

    उनले विभाग भौतिक तथा यातायात मन्त्रालयअन्तर्गत रहेकाले क्षतिको विवरण संकलन गरेर मन्त्रालयमा बुझाउने बताए । अहिले अर्को सूचना नआउँदासम्म सेवाग्राहीलाई कुनै सेवा दिन नसकिने उनको भनाइ छ ।

    यातायातले हिजै सार्वजनिक सूचना निकालेर लाइसेन्स छपाइ, वितरणलगायतका काम अनिश्चितकाललाई बन्द गरेको छ ।

  • खाली हात धरान फर्किए हर्कः प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

    खाली हात धरान फर्किए हर्कः प्रधानमन्त्री माग्दै आएका थिए, जेनजीले मन्त्रीसमेत पत्याएनन्

    काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङ काठमाडौंबाट खाली हात फर्किएका छन् । प्रधानमन्त्री बन्ने इच्छा राख्दै काठमाडौं आइपुगेका उनलाई जेनजीले मन्त्रीमा पनि पत्याएनन् ।

    ६ दिनअघि काठमाडौं आइपुगेका हर्कले सुरूवातमै आफू जेनजीको तर्फबाट प्रधानमन्त्री बन्न आएको स्वघोषणा गरेका थिए । मिनेट मिनेटमा स्टाटसहरु लेखेर प्रेसर दिन खोजे । भिडियोहरु ठेलिरहे । ‘जेन जेडको तर्फबाट काठमाडौं आइपुगेको र घुसपैठ नहोस्’ भन्दै आफ्नो सम्पर्क नम्बर समेत सार्वजनिक गरे ।

    कुनै बच्चाले ललिपपका लागि झगडा गरेजसरी प्रधानमन्त्रीका लागि मरिहत्ते गरेका थिए हर्कले । काठमाडौं आएपछि तारन्तर स्टाटस लेखिरहे उनले । एक दिनमै ३ दर्जनसम्म स्टाटस उनको टाइमलाइनमा देखापरे । यतिले नपुगेर युट्युवरहरू बोलाएर आफूलाई प्रधानमन्त्री बनिदिन भन्दै दैनिक लाखौं फोनहरू आइरहेको दाबी गरे । जंगी अड्डामै समर्थकहरू उतारेर हो-हल्ला गर्न लगाए ।

    हर्क काठमाडौं आएकै दिनबाट जेनजीहरूले भने प्रधानमन्त्रीमा सुशीला कार्कीको नाम लगभग फाइनल गरिसकेका थिए । हजारौं जेनजीहरूले डिस्कर्ड मिटिङमा बसेर छलफल गरी प्रजतान्त्रिक तवरबाट निर्णय लिएका हुन् । भोटिङमा सुशीला कार्कीले सबैभन्दा बढी मत पाएकी थिइन् ।

    तर, जेनजीहरूले गरेको यी गतिविधिलाई हर्कले त्यति रुचाएनन् । आफू प्रधानमन्त्री बन्नुपर्ने हठ गरिरहे । तर, सफलता हात लागेन । सुशीला कार्की नै प्रधानमन्त्री बनिन् । त्यसपछि फेरि चर्चा सुरू भयो हर्क मन्त्री बन्ने । उनले गृहमन्त्री मागेको अपुष्ट खबरहरू सुनिए । तर, त्यो पनि उनले पाएनन् । र, हर्क घर रित्तो हात घर फर्किन बाध्य भए ।

    हर्कले यता प्रधानमन्त्री ताकिरहँदा उनले नेतृत्व गरेको धरान उपमहानगर भने लथालिंग छ । उनकै हठका कारण आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन सकेको छैन । स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार १० गतेभित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

    तर, भदौ सकिँदासम्म पनि धरानले बजेट पाएको छैन । नयाँ बजेट पारित नहुँदा उपमहानगरमा विकास निर्माण, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार ठप्प छन् ।

    ‘बजेट होलिडे’ को एक महिनापछि २ अर्ब २० करोडको बजेट ल्याउने सुरमा रहेको धरान उपमहानगरलाई लथालिंग छाडेर हर्क भने प्रधानमन्त्री हुनलाई काठमाडौं आइपुगेका थिए । स्रोतका अनुसार उनी उपमहानगरकै गाडी चढेर काठमाडौं आएका हुन् ।

    काठमाडौं आएपछि हर्कले जेनजीका अगुवाहरूसँग भेट गरेनन् । अन्तरिम प्रधानमन्त्रीको दायरा के कति हुन्छ भन्नेतिर ध्यान पुर्‍याएनन् । उनलाई जसरी पनि प्रधानमन्त्री बन्नु थियो । जसै प्रधानमन्त्रीको रूपमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम जेन जीहरूले सिफारिस गरे, हर्कले विरोध गरे । उनको विरोधमा आफू जतिको योग्य व्यक्ति अरु कोही नभएको आशय व्यक्त हुन्थ्यो । केही युट्युबरहरूलाई त उनले आफू र काठमाडौं महानगरपालिकाको मेयरले प्रधानमन्त्रीको रूपमा कार्कीलाई स्वीकार नगरेको समेत बताए ।

    पछि काठमाडौं महानगरका मेयर बालेन्द्र साहले स्टाटस लेखेरै हर्कलाई सम्झाउनुपर्‍यो । बालेन्द्रले स्टाटसमा हर्कको नाम उल्लेख नगरी लेखेका छन्, ‘अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने-तपाईंहरूको जोश, तपाईँहरूको सोच, तपाईहरूको इमानदारिता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।’

    र, पनि हर्क टसमस भएनन् । प्रधानमन्त्री हुने दाबी छाडेनन् । एकातिर हर्क प्रधानन्मन्त्री बन्ने कसरतमा (स्टाटसमार्फत) लागेका थिए, अर्कातिर हामी नेपालका सुधन गुरुङ जेनजीको प्रतिनिधि बनेर शीतल निवासको वार्ताको टेबलमा बसिरहेका थिए ।

    सुधन विगतमा मयर हर्कलाई धरानको श्रमदानमा सहयोग गरेका युवा हुन् । पछि उनले पाँच महिनासम्म ‘सेभ घोपा’ आन्दोलन चलाए । उक्त आन्दोलनमा साथ दिँदै भाषण गरिदिन सुधनले हर्कलाई अनुरोध गरे । तर, हर्क आइदिएनन् । यसपछि सुधनले एक पोडकास्टमा गएर भँडास पोखे । ढुंगा बोकेर विकास नहुने, मेयर साम्पाङ काम नलाग्ने भन्दै सक्ने भए राम्रो विधि बनाएर धरान उपमहानगर चलाएर देखाउन चुनौति दिए । सुधन अभिव्यक्तिको क्लीप संजालमा भाइरल भयो ।

    यसपछि त के चाहियो, आलोचनाको ‘आ’ समेत सुन्न नचाहने मेयर साम्पाङ सुधनसँग क्रुद्ध भए । यसपछि नै उनीहरूबीच जुँगाको लडाइँ सुरू भयो । एकले अर्काको अस्तित्व नमान्ने अवस्था आएपछि दुवैबीच पानी बाराबारको स्थिति छ । अहिले दुवै आ-आफ्नो बाटो लागेको र बोलचाल नै बन्द भएको बताइन्छ ।

    भेटघाट तथा संगठन विस्तारका लागि केही दिनअघि काठमाडौं आएका हर्क ।

    फेरि संयोग कस्तो भइदियो भने प्रधानमन्त्री बन्न आएका हर्क र प्रधानमन्त्री बनाउनलाई वार्ताको टेबलमा बसिरहेका सुधन एक ठाउँमा आइपुगे । हर्कले प्रधानमन्त्री बन्ने चाह राखेका थिए, सुधनले प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका थिए । तर, जेनजीको प्रतिनिधि बनेर निर्णायक वार्तामा बसिरहेका सुधनसँग हर्कले सम्बन्ध नवीकरण गर्न चाहेनन् । सम्बन्ध नवीकरण गरेको भए पनि हर्क प्रधानमन्त्री हुने सम्भावना थिएन ।

    बरु युट्युवरहरूलाई भेला गरेर गुरुङविरुद्ध खनिए । उनले भने, ‘उहाँले पाँच, सात महिना आन्दोलन गर्नुभयो, म त १०/१५ वर्षदेखि एक्लै वेथितिको विरुद्धमा आन्दोलन गरेको मान्छे । हाम्रो लेभल नै फरक छ । सेभ घोपामा हर्क साम्पाङले सघाओस् भन्ने रैछ । म चाहिँ ढुंगा बोक्नतिर लागेँ ।’

    मेयर हर्कले स्टाटस ठेलिरहँदा यता सुशीला कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनिसकेकी थिइन् । हर्कले सुशीलालाई स्वीकार गरेनन् । बरु देशमा घुसपैठ भएको र विदेशी शक्तिको चलखेल भएको भन्दै अपुष्ट आरोप लगाउँदै स्टाटस दन्काइरहे ।

    सुशीला कार्कीले प्रधानमन्त्री बन्ने हर्कको महत्वकांक्षाको च्याप्टर क्लोज गरिदिएपछि उनी अब मन्त्रीमा झरे । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान सात बजेदेखि एक बजेसम्म प्रधानमन्त्री कार्कीको दर्शन भेटका लागि कुरेर बसे । तर, कार्कीले भेट दिइनन् ।

    प्रधानमन्त्रीले भेट नदिएपछि मन्त्रीसम्म भए पनि खाने हर्कको आकांक्षामा धक्का लाग्यो । आज प्रधानमन्त्री बन्न काठमाडौं आएका हर्क मन्त्री पनि बन्न नसकेपछि धरान नै फिरेको खुलेको छ । साँझसम्ममा धरान पुग्ने स्रोतले बतायो । अब धरान पुगेपछि उनले फेरि दनादन स्टाटस ठोक्नेछन् ।

  • मनाङ प्रदेश सभाको उपचुनाव तोकिएकै मितिमा हुने, रुपन्देहीको रद्द

    काठमाडौं । रूपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा तोकिएको उपनिर्वाचन रद्द भएको छ ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार उपनिर्वाचन गर्ने निर्णय भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्ने मिति तोकेपछि उपनिर्वाचनका बाँकी सम्पूर्ण कार्यक्रम रद्द गरिएको आयोले जनाएको हो ।

    निर्वाचन आयोग सोमबार बसेको बैठकले उक्त निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

    मनाङको निर्वाचनकाे विषयमा अहिले कुनै निर्णय नभएकाे निर्वाचन आयोगले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटनको निर्णय भए पनि प्रदेश सभाबारे कुनै निर्णय नभएका कारण अहिलेसम्म मनाङको निर्वाचन मिति कायमै रहेको आयोगका सचिव महादेव पन्थले नेपाल प्रेसँग बताए ।

    यद्यपी उक्त निर्वाचनको विषयमा सरकारसँग छलफल गरेर आयोगले निर्णय गर्ने उनको भनाइ छ ।

  • मुख्यमन्त्री आचार्यकी श्रीमतीको बिलौना- २८ वर्षे जागिरबाट बचाएको घर खरानी बनाए (भिडियाे)

    मुख्यमन्त्री आचार्यकी श्रीमतीको बिलौना- २८ वर्षे जागिरबाट बचाएको घर खरानी बनाए (भिडियाे)

    रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यकी पत्नी दीपाले आफ्नै श्रम र लगनले २८ वर्ष मेहनत गरेर बनाएको घर आगलागीमा जलेर खरानी भएको दुःख व्यक्त गर्दै समाजमा उक्साउने प्रवृत्तिविरुद्ध कडा आवाज उठाएकी छन् ।

    दीपाले बिहेपछि काम गरेर बचत, बैंक र सहकारीबाट ऋण लिएर बनाएको उक्त घर भदौ २३ र २४ गतेपछि भएको निद्रा नभएको पीडा सुनाइन् ।

    आँखामा आँसु लिएर उनले भनिन्, ‘अहिले म खरानीको थुप्रोमा उभिएको छु। त्यो पनि आफ्नै पसिना र मेहेनतले उभ्याएको घरको। मन भतभती पोलिरहेको छ। मैले खाजा-नास्ताको पैसा बचाएर बनाएको घर आज यो अवस्थामा पुग्दा मेरो मन रिस र शोकले भरियो’, दीपाले सोधिन्, ‘यो मेरो घरले कसकाे के नै बिगारेको थियो र ? हामीले के नै गरेका थियौं र रिस साँध्नुपर्ने ?’

    दीपाका अनुसार २०४८ सालमा जग्गा किनेर पहिलेको पुरानो घर बेचेर र लामो समय जागिर गरेर उनीहरूले नयाँ घर बनाएका थिए । उनको श्रीमान् चेतनारायण राजनीतिक काममा पूर्णकालीन लाग्ने भएकाले घर र परिवारका लागि दीपाले मेहनत गरी पूरै जिन्दगी खर्च गरेकी थिइन् ।

    उनले मुख्यमन्त्री भएपछि समेत दुवैले भ्रष्टाचारविरुद्ध र सार्वजनिक खर्चमा संयम कायम राख्ने नीति अपनाएका रहेकाले अहिलेको घटनाले परिवारमा थप पीडा थपिएको बताइन् ।

    दीपाले आफ्नो श्रीमानमाथि भएको स्वास्थ्य सङ्घर्षको स्मरण गर्दै भनिन्, ‘श्रीमान् क्यान्सरबाट पीडित हुनुभयो, मृत्युको मुखमा पुगेका उहाँ उपचारपछि निको हुनुभयो। जीवनका यी पाटाहरू हामीले भोग्यौं र समाजका लागि अहोरात्र काम गर्यौं ।’

    उनले आफूहरू काटेको तर्क र त्यागका उदाहरण प्रस्तुत गर्दै भनिन् कि मुख्यमन्त्री भएता पनि उनले महँगो कार्यक्रम-भोज वा होटलमा भब्य कार्यक्रम नगर्ने नीति अपनाएका छन् र आफूले हजारभन्दा बढी मूल्यको साडी समेत लगाएकी नभएको दाबी गरिन् ।

    आगो हानेर घर जलेको घटनालाई लक्षित गर्दै दीपाले सामाजिक सञ्जाल तथा उक्साउने प्रवृत्तिको निन्दा गरिन् । उक्साउने र विभिन्न स्ट्याटसहरू देखिरहेका छौं । उफार्नलाई मजा आउँछ, तर पछि त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ’, उनले  यस घटनालाई ‘जेन्जी’ जेनेरेसन–झन्डा ? जेन–जी को नाममा घुसपैठ र षडयन्त्रको नतिजा बताइन् । उनले दाबी गरिन्, ‘जेन्जीको नाममा गरिएको यो तहको कार्य कलंक हो।’

    दीपाले शहीद भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको स्वास्थ्यलाभको कामना गरिन् र दोषीहरू पहिचान गरिए कानुनी कारबाही गर्नुपर्ने माग राखिन् । साथै उनले आँट देखाउँदै पुनर्निर्माणको प्रतिवद्धता व्यक्त गरिन्, ‘हामी धुलो टकटक्याउँदै फेरि उठ्नेछौं । हाम्रो घर जलेको मात्र हो, ढलेको होइन। हामी तिनै संरचनाहरू जस्तै पुनर्निर्माण गर्नेछौं ।’

    दीपाले स्थानीय समुदाय र प्रशासनलाई शान्ति कायम राख्न र सत्यनिष्ठ अनुसन्धानद्वारा घटना बारे तथ्याङ्क स्पष्टता ल्याउन आग्रह गरिन्। उनले बालबालिकालाई गलत कामतर्फ प्रेरित गर्नु राष्ट्रिय दुर्भाग्य हुनसक्ने भएकाले अभिभावक र समाजले सचेत हुनुपर्ने आवश्यकता रहेको बताइन्।

    हेर्नुस् भिडियाे 

  • आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्षलाई पाँच प्रश्न (भिडिओ) 

    आईपीओ निष्कासनको तयारीमा रहेको राष्ट्रिय खाद्य बैंकका अध्यक्षलाई पाँच प्रश्न (भिडिओ) 

    विशुद्ध खाद्य सम्बन्धित काम गर्ने नेपालको पहिलो बैंक हो, ‘राष्ट्रिय खाद्य बैंक’ । करिब चार वर्षको गृहकार्यपछि २०७७ सालमा स्थापना भएको यस बैंकले अर्ग्यानिक कृषि उपजहरू उत्पादन, भण्डारण र बजारीकरणसम्मको काम गर्दै आएको छ । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म आफैँले काम गर्दै आएको यस बैंकले बिचौलियाको उपस्थितिलाई निरुत्साहित गर्ने प्रयास गरिरहेको छ । पाइलट प्रोजेक्टको रूपमा राष्ट्रिय खाद्य बैंकले, किसान, सहकारी र विभिन्न कम्पनी मिलेर कृषि कर्म गरिरहेको छ । कृषि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेको यस बैंकले साधारण शेयर आईपीओ ल्याउँदै छ । बैंकले ल्याउन लागेको आईपीओ, कम्पनीको अवस्था र लगानीबारे अध्यक्ष शंकरनाथ उप्रेतीसँगको कुराकानी नेपाल टकमा-

    –सुरुवातमा राष्ट्रिय खाद्य बैंकबारे स्पष्ट पारिदिनुस्, यो कस्तो बैंक हो र यसले के गर्छ ?   

    राष्ट्रिय खाद्य बैंक नेपालीहरूको प्राण रक्षाका लागि सञ्चालनमा आएको बैंक हो । हामीले स्वास्थ्य वर्द्धक खानेकुराहरू नेपालीहरूलाई खुवाइरहेका छौँ । हामीले स्थानीय तहमा रहेर उत्पादनमा जोडिएकाहरुसंग मिलेर काम गरिरहेका छौँ । राष्ट्रिय खाद्य बैंकले स्थानीय सरकार, सहकारी र उत्पादनमा लागेका उत्पादकहरू मिलेर कृषि मोडलमा काम गरिरहेका छौँ ।

    उत्पादनदेखि बजारीकरणसम्मको काम राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । सुरूमा हामी स्थानीय तहमार्फत स्थानीय तहहरूसँग किसानहरूलाई सम्पर्क गर्छौँ । हाम्रो रोहबरमा तपाईँहरूले उत्पादन गरेका स्वास्थवद्र्धक उत्पादनको हामी मूल्य निर्धारण गर्छौँ । सोही मूल्य अनुसार हामीले उनीहरूको उत्पादन खरिद गर्छौँ । उत्पादनमा जसले जाँगर गरिरहेका छैनन् उनीहरूका लागि हामीले जाँगर गरेर उत्पादन गर्ने गरी मूल्य दिएका छौँ ।

    विषयगत विज्ञहरूसँग जोडिएर राष्ट्रिय खाद्य बैंकले काम गरिरहेको छ । नेपाल सरकारले गर्नुपर्ने कामहरू राष्ट्रिय खाद्य बैंकले गरिरहेको छ । जिडिपीमा योगदान पुर्याउनेगरि उत्पादनदेखि बजारीकरणसम्मको काम गरिरहेका छौँ ।

    खाद्य बैंकले उत्पादकको काममा पाइलट प्रोजेक्टबाट अरूलाई सिकाउँदै कृषि उपजहरूलाई बैंकको आफ्नो च्यानलबाट भण्डारण गरी प्रशोधन प्याकेजिङ गरी बिक्री वितरण गर्छ । एउटै संस्थाले उत्पादन, भण्डारण र बिक्री वितरण लगायतका सम्पूर्ण कार्य गर्ने हुँदा यसमा अरू कसैको भर परिरहनु पर्दैन । बिचौलियाको आवश्यकता नरहने हुँदा उत्पादकले पनि राम्रो मूल्य पाउँछन् ।

    अहिले हामीले दाना उत्पादनमा पनि लागेका छौँ । पशु पालन, माछा पालन, कुखुरा पालनका लागि सहयोग पुगिरहेको छ । कोसी प्रदेशमा रहेको यस्तो दाना उद्योग हामीले विस्तारै सातै प्रदेशमा स्थापना गर्ने तयारी गरिरहेका छौँ ।

    –खाद्य बैंकले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ, किन निष्काशन गर्दै हुनुहुन्छ आईपीओ ?  

    राष्ट्रिय खाद्य बैंकले आउँदो असार २५ गते वार्षिक साधारण सभा हुँदैछ । उक्त सभाले ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दैछ । एक अर्ब पुँजी जुटाउनका लागि ७० करोड प्रमोटरको तर्फबाट र बाँकी ३० करोड सर्वसाधारणबाट पुर्‍याउने तयारीमा छौँ ।

    आईपीओ निष्काशन तथा बिक्री गर्नका लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता भइसकेको छ । आईपीओका लागि सबै तयारी पुरा भइरहेको छ । सभाले पारित गर्ने वित्तीकै हाम्रो आईपीओ निष्काशन हुन्छ ।

    –आईपीओ ल्याउन लागेको कम्पनीको अवस्था कस्तो छ भनेर लगानी गर्नु अगाडी चासोका साथ हेरिन्छ । तपाइको कम्पनी वित्तीयरुपमा कति स्वस्थ हो ?  

    २०७७ सालमा स्थापना हुँदा राष्ट्रिय खाद्य बैंकको अधिकृत पुँजी दुई अर्ब रुपैयाँ थियो । हामी अहिले धेरै अगाडी पुगिसकेका छौँ । पहिलेदेखि नै हाम्रो वित्तीय अवस्था राम्रो रहेकोले अहिले पनि स्वस्थ अवस्था छौँ । सरकारको कानुनमा रहेर सञ्चालन भइरहेको राष्ट्रिय खाद्य बैंकले सर्वसाधारणले समेत हेर्न, बुझ्न र जान्नसक्नेगरि हामीले हाम्रो कामहरू गरिरहेका छौँ । त्यसको मूल्यांकन गर्न सक्नेगरि हाम्रो अवस्था र गतिविधिबारे जानकारी समेत दिइरहेका छौँ ।

    –राष्ट्रिय खाद्य बैंकको आईपीओमा सर्वसाधारणले किन लगानी गर्ने ? 

    हो, स्वभाविकरुपमा यो प्रश्न आउन सक्छ । अहिले विभिन्न प्रकारका कम्पनीहरूले आईपीओ बजारमा ल्याइरहेका छन् । कतिपय भविष्य नै नभएका कम्पनीहरू समेत आईपीओका बजारमा आएका छन् । तर, हामी नितान्तरुपमा उत्पादनको क्षेत्रमा क्रियाशील छौँ । भोलीका दिनमा पनि हामीले गर्ने यही नै हो ।

    लगानीकर्ताहरूले अबको लगानी पनि राष्ट्रिय खाद्य बैंकहरुजस्ता कम्पनीहरूमा गर्नुपर्ने हो । जो उत्पादनमा जोडिएका छन् । किसानको आलीदेखि उपभोक्ताको थालीसम्म काम गरिरहेको यस कम्पनीमा लगानी गर्न शंका गर्नु पर्दैन ।

    हाम्रोमा लगानी गर्दा भविष्यमा सबैभन्दा राम्रो प्रतिफल पाइन्छ । छिमेकी देशको अमूल डेरीको शेयर कित्तामै १८ हजार पुगेको छ । त्यो खालको पेरिफेरिमा पुर्याउने गरि काम अगाडी बढाएका छौँ । सबैभन्दा राम्रो प्रतिफल दिनेगरि हामी योजनासहित काम गरिरहेकाले सर्वसाधारणले यसमा ढुक्कले लगानी गरे हुन्छ ।

    –आईपीओबाट संकलन गरिएको पुँजी कहाँ खर्च गर्नुहुन्छ ? 

    आईपीओबाट आएको पैसा हामी उत्पादनमै लगानी गर्नेछौँ । नेपालमै उत्पादन हुने, नेपालीलाई नै धनी बनाउने, नेपालको जिडिपीमा योगदान पुर्याउने र कृषिमा रोजगारी दिनसक्ने उद्योग स्थापनाका लागि हामीले यो लगानी गर्छौँ । कृषि उत्पादनबाहेक हामी अन्यत्र लगानी गर्ने छैनाैँ ।

    –राष्ट्रिय खाद्य बैंकका आगामी योजनाहरू के छन् ? 

    हामीले विचौलियालाई हटाउने गरेका छौँ । उत्पादन गरेका वस्तु मात्रै हामी खरिद गर्दैनौँ । हामी स्थानीय तहमा उत्पादन गर्नका लागि सहकार्य गर्दै माटो परीक्षण गर्छौ, विज्ञको टोली खटाउँछौँ र उत्पादन शुरु गर्छौ । त्यो उत्पादनको बजारको ग्यारेन्टी समेत दिने गरेका छौँ । आगामी दिनमा पनि यो काम निरन्तर जरी रहनेछ ।

    अहिले हामीले स्थानीय तहसँग सहकार्यमा काम गरिरहेका छौँ । आगामी दिनमा प्रदेश र संघसंग मिलेर काम गर्ने तयारीमा छौँ । राज्यलाई धनी बनाएर स्वास्थ्य वर्द्धक खानेकुरा दिने काम गर्नेछौँ ।

    ठूलो स्केलमा काम गर्दा त्यसको प्रभाव पनि त्यसअनुसारकै हुन्छ । हामीले नेपाली उत्पादन विदेश निर्यात गर्नेसम्मको योजना बनाएका छौँ । खाद्य बैंकले कृषिलाई औद्योगीकरणमा लैजानेगरि काम गरिरहेको छ । हामीले कृषिमा ट्र्याक खोलिसकेका छौँ, चाँडै नै हाइवे बनाउँछौँ ।

    हेर्नुहोस् उप्रेतीसँगको कुराकानीको पूरा भिडिओ 

  • प्रधानमन्त्रीसहितका चार मन्त्रीहरूको पहिलो निर्णय– कसले के गरे ?

    काठमाडौ । जेनजीको आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै संसद विघटन भएर अन्तरिम सरकार गठन भइसकेको छ । पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारको मन्त्रिपरिषद् अहिले ४ सदस्यीय छ ।

    शुक्रबार प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा त्यसको ४ दिनपछि कार्कीले ३ जना मन्त्री थप गरेकी छन् । जसमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई गृह मन्त्रीमा नियुक्त गरेकी छन् । उनलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पनि दिइएको छ ।

    यस्तै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नेपाल विद्युत्त प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ नियुक्त गरेकी छन् । उनलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको पनि जिम्मेवारी दिइएको छ । पूर्वसचिव एवम अर्थविद् रामेश्वर खनाललाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    प्रधानमन्त्रीको पहिलो निर्णय- जेनजी आन्दोलनमा मारिएकालाई शहीद घोषणा, १०/१० लाख क्षतिपूर्ति

    गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार बिहान मात्रै गृह मन्त्रालयको नवनिर्मित भवनमा सञ्चालनमा ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेकी छन् ।

    पदभार ग्रहण गर्दै जेन(जीको आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरेर १०–१० लाख रूपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने पहिलो निर्णय गरेकी छन्। साथै घाइतेको सरकारबाटै निशुल्क उपचार व्यवस्था गर्ने निर्णय गरेकी छन् ।

    यद्यपि प्रधानमन्त्री नियुक्त भएपछिको पहिलो निर्णय भने प्रतिनिधि सभा विघटन गर्ने निर्णय हो । यद्यपि उक्त निर्णय प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको सपथ ग्रहण लगत्तै राष्ट्रपति निवासमा नै बसेर आगामी फागुन २१ गते निर्वाचनको मिति तोकेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेकी हुन्।

    गृहमन्त्रीको पहिलो निर्णय- जेनजी आन्दोलनका मृतकको सम्झनामा राष्ट्रिय शोक मनाउने

    नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले भने विभिन्न ३ वटा निर्णय गरेका छन् । उनले सोमबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पुरानो भवनमा पदभार ग्रहण गर्दै जसमा जेनजी आन्दोलनमा शहीद भएकाको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । साथै उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेका छन् ।

    यस्तै आन्दोलनमा ज्यान गुमाएका परिवारलाई एक लाख–एक लाख रूपैयाँका दरले काज किरिया खर्च दिने तथा आन्दोलनका मृतकका शव व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय गरेका छन् । उनले गरेका मन्त्रीस्तरीय निर्णय सम्भव त सोमबार साँझै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

    जुन निर्णयले कुलमानलाई हटायो, त्यहि कार्यान्वयन गर्ने पहिलो निर्णय

    नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले भने जुन निर्णयले आफुलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो, त्यहि निर्णय कार्यान्वयन गर्न निर्देशन दिने निर्णय गरेका छन् ।

    उर्जा मन्त्रालयमा सोमबार पदभार ग्रहण गर्दै उनले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका हुन्। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालिन उर्जामन्त्री दिपक खड्काले प्रस्तावमा तत्कालिन सरकारले घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुदाँ डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने निर्णय उल्ट्याएको थियो । ५ महिना अघि गत चैतमा उनले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम उठाउने निर्णय गरेकै कारण हटाइएका थिए ।

    तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने अर्थमन्त्रीको निर्णय

    नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने निर्णय गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयका रुपमा टुक्रे आयोजना खारेज गर्ने निर्णय गरेका हुन् ।

    निर्णबारे जानकारी गराउदैँ नवनियुक्त अर्थमनत्री खनालले भने, ‘पूर्व तयारी नरहेका आयोजनाको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गछौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौ ।’

    उनले बजेटबाट टुक्रे आयोजना हटाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेका हुन् ।

  • अन्तरिम सरकारको पहिलो मन्त्रीपरिषद बैठक सुरु

    काठमाडौं । सुशीला कार्की नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदबारमा केही समयअघिदेखि बैठक सुरु भएको हो।

    जेनजी आन्दोलनले केपी ओली नेतृत्वको सरकार ढलेपछि कार्की नेतृत्वमा अन्तरिम सरकार गठन भएको हो।

  • जेन–जी आन्दोलन : चितवनमा कति भयो भौतिक र मानवीय क्षति, कसरी हुँदैछ कार्यालय सञ्चालन (विवरण सहित)

    जेन–जी आन्दोलन : चितवनमा कति भयो भौतिक र मानवीय क्षति, कसरी हुँदैछ कार्यालय सञ्चालन (विवरण सहित)

    चितवन । जेन–जी समूहको आन्दोलनमा भएका क्षतिको विवरण चितवनमा आउन सुरु भएको छ । जिल्ला सुरक्षा समितिले प्रारम्भिक क्षतिको विवरण निकालेर मानवीय र भौतिक रुपमा के कति क्षति भयो विवरण निकाल्न थालेको हो ।

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयले दिएको जानकारी अनुसार जेनजी आन्दोलनमा जिल्लामा दुई जनाको ज्यान गएको छ । मृत्यु भएका व्यक्ति भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको घर जलाएर सामान लुटपाट गर्न भित्र पसेका २१ वर्षका सरोज गुरुङ रहेको खुलेको छ ।

    अर्का एक व्यक्ति रत्ननगर नगरपालिकाका प्रमुखको कार्यकक्षभित्र जलेको अवस्थामा मृत भेटिए पनि १८ वर्षका भारतीय नागरिक भएको खुले पनि सुरक्षा समितिले विवरण भने उल्लेख गरेको छैन । प्रमुख जिल्ला अधिकारी अर्यालले मृत्यु भएको जानकारीमा आए पनि प्रहरीले शव लिन नपाएको र आफन्तले लगिसकेको अवस्थामा विवरण उल्लेख गर्न नसकिएको दाबी गरे । भने जिल्लामा जेन–जी  आन्दोलनमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका थिए । घाइतेमध्ये प्रदर्शनकारीका तर्फबाट घाइते भएका ४ जना अझै उपचाररत भएको उनले जानकारी दिए ।

    आन्दोलनका क्रममा अवस्थालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ब्याङ्क र रबरका गोली गरि २ सय राउण्ड हवाइ फायर गरेको, ३ सय ५० सेल ग्याँससेल हानेको पनि उनले जानकारी दिए ।

    भौतिक संरचनातर्फ भने सरकारी भवन, व्यक्तिको निजी घर र राजनीतिक दलका कार्यालय गरि ९८ वटा भौतिक संरचना तोडफोड र आगजनी भएका छन् । जसमा ७९ वटा सरकारी संरचना तोडफोड र आगजनी, १६ वटा व्यक्तिको निजी आवास र नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी गरि तीन राजनीतिक दलको भवनमा तोडफोड तथा आगजनी भएको भौतिक क्षति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

    भौतिक क्षतिको यकिन विवरण लिन प्राविधिक टोलीसहितको क्षति मूल्याङ्कन समिति पनि गठन गरिएको छ । उक्त समितिले तीन दिनभित्र क्षति मूल्याङ्कन गरि बुझाउने गरि अहिले क्षतिग्रस्त भवन तथा कार्यालयहरुमा अनुगमन गरिरहेको जनाइएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनको आन्दोलन पछि पहिलो दर्ता चलानी गर्दै कर्मचारी । राहदानी विभागमा क्षति भएको राहदानी विवरण पठाउँदै।

    अत्यावश्यक सेवा तथा नागरिकता वितरण थालनी 

    प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार सरकारी भवनमध्ये अधिकांशको लिखित मिसिल छैन । तर, यतिबेला अत्यावश्यक सेवा नरोक्ने गरि काम गर्ने तयारी भइरहेको छ । केही कार्यालयले आइतबारदेखि नै सामान्य सेवा जस्तो अदालतमा थुनुवाहरुको म्याद थप लगायतका काम सुरु गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले पनि तत्कालको लागि आवश्यक  नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता दिन सक्नेगरि काम भएको उनले जानकारी दिए । राहदानी र राष्ट्रिय परिचय पत्र केन्द्रीय स्तरबाट निर्णय भएर आउनुपर्ने भएकोले क्षति विवरणसहितको पत्र पठाइएको उनले जानकारी दिए ।

    नागरिकता वितरणको लागि पनि जिल्लाका माडी बाहेक स्थानीय तह र वडा समेत आजगनी भएका कारण सामान्य सिफारिस समेत आउन नसक्ने अवस्था रहेकोले समन्वयात्मक रुपमा काम गर्नुपर्ने अवस्था रहेको छ ।

    उनले भने, – हामीले कसरी हुन्छ सिफारिसको काम अघि बढाइदिनुस् । यतिबेला ज्येष्ठ नागरिक लगायतले पाउने सामाजिक सुरक्षा भत्ता वितरण सहज होस्, नागरिकता र प्रतिलिपिको लागि पनि सिफारिस पठाइदिनुस् भनेका छौँ ।

    स्थानीय तहको क्षति र सेवा प्रवाह सम्बन्धमा पनि समितिले आज जिल्लाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतसँग संयुक्त छलफलको गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार नै सूचना निकालेर २३ गतेदेखि रोकिएको फोहोरको व्यवस्थापनका काम पनि सूचारु भएको जनाएको छ ।

    प्रारम्भिक आङ्कलन अनुसार ६५ थानको हाराहारीमा कम्प्युटर र कर्मचारी बसेर काम गर्न मिल्ने कुर्सी टेबल लगायतका फर्निचरको आवश्यकता तत्कालै भएमा काम अघि बढाउन सकिने जनाइएको छ ।

    ‘सरकारी कार्यालय, प्रहरी भवन निर्माणको लागि हामी सहयोग गर्छौँ भन्ने सहयोगी स्थानीय तथा निजी संस्थाहरु हाम्रो समन्वयमा आइरहनुभएको छ, उनले भने, ‘त्यस्तो सहयोग एकद्वार प्रणालीबाट अघि बढोस् भनेर हामीले जिल्ला प्रशासनमार्फत सहयोग संकलन गरि प्राथमिकताका आधारमा वितरण गर्ने तयारी गरेका छौँ ।’

    कार्यालयमा बस्ने ठाउँ नभएपछि बाहिरैबाट सेवा दिन तयार जिल्ला अदालतका कर्मचारी

    कारगारबाट निस्किएका ७४२ मध्ये ३२७ कैदीबन्दी फर्किए 

    जिल्ला कारागार चितवनबाट २५ गते बिहान यहाँ थुनामा रहेका ७ सय २५ कैदी निस्किएर बन्दोबस्तीका सामानसहित घर हिँडेका थिए। प्रहरीले पनि व्यक्तिको कम गर्न बल प्रयोग नगरेका कारण उनीहरु सबै घर हिँडेका जनाएको थियो ।

    कैदीबन्दी निस्कएको भोलिपल्ट २६ गते जिल्ला सुरक्षा समितिले सूचना जारी गरेर घर गएका कैदीबन्दी आफै सम्पर्कमा आए फरक व्यवहार नगर्ने तर सम्पर्कमा नआए कानून अनुसार पक्राउ गर्ने भनेर सूचना जारी गरेको थियो । सोही सूचनापछि २९ गते बेलुकासम्म ३ सय २७ जना कैदी कारागार फर्किएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

    उनका अनुसार चितवन कारागारमा अन्य कारागारबाट घर हिँडेका १५ जना कैदीबन्दी पनि राखिएको छ । भने अब कारागार फर्किन बाँकी ४ सय १५ जना रहेका छन् ।

    २५ गते बिहान कफ्र्यूको समय भएकोले समयसीमा नदिइकन सम्पर्कमा आउन अनुरोध गरेपनि अब फेरि सूचना निकालेर समयसीमा दिएर कारागार फर्किन अनुरोध गर्ने नआएमा कानुनअनुसार नियन्त्रणमा लिने उनले बताए ।

    विवरण

  • अस्पतालको शैय्यामा आमा–बुवा कुरिरहेका सुनिल, जेनजी आन्दोलनमा लागेकाे थियाे गाेली

    कैलाली । एक वर्षअघि बझाङ खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलबाट जापान जाने सपना बोकेर काठमाडौं छिरेका १८ वर्षीय सुनिल अहिले टिचिङ अस्पतालको एउटा शैय्यामा छटपटाइरहेका छन् ।

    सुनिलको जापान जाने सपना भन्दा ठूलो सपना थियो—आमा कुसुमका लागि रकम जोहो गर्नु । कान्छो छोरालाई पढाउन र सुनिललाई जापान पठाउने पैसा जुटाउन उनी भारतको दिल्लीमा संघर्षरत छिन् ।

    बिहान एनसिएलको डाटा सेन्टरमा काम गर्ने र साँझ भाषा कक्षामा जाने उनको दैनिक जीवन थियो । तर, २३ भदौँको साँझ उनलाई गोली लाग्यो ।

    जेनजीको आन्दोलनका बेला सुनिल कन्सल्टेन्सीबाट भाषा पढेर फर्कँदै थिए । भीडभाड सडकमा प्रहरी र प्रदर्शनकारीबीच भीषण झडप भइरहेकै बेला उनी गोलीको शिकार बने । उनको बोकेको झोलामा किताब थियो ।

    ‘गोली लागेपछि तत्कालै सिभिल अस्पताल लगियो । त्यहाँ उपचारपछि अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ,’ उनका दाजु आभाष थापाले भने ।

    झडपमा पछाडिबाट हानेको गोली दायाँ खुट्टाको तिघ्रामा छेडेर खल्तिमा रहेको मोबाइल समेत छेड्दै बाहिर निस्किएको छ । शल्यक्रियापछि उनी तीन दिनसम्म आइसियुमा राखिए । अहिले अवस्था खतरामुक्त छ ।

    एकातर्फ गोली लागेकै पीडा छ भने अर्कोतर्फ अस्पतालको शैय्यामा छटपटाउँदा पनि आमा–बुबा नपुगेको पीडाले उनलाई पोलिरहेछ । सुनिलका बुवा केही वर्षयता सम्पर्कविहीन छन् । आमा भने छोरालाई जापान पठाउने पैसाका लागि भारतमा मजदुरी गरिरहेकी छन् ।

    बुढेसकालको साहारा भएको छोरालाई गोली लागेको खबर सुनेपछि आमा कुसुम केही दिन विक्षिप्त बनेकी थिइन् । नागरिकता नहुँदा चाँडै नेपाल आउन नसकेकी उनी भोलिसम्म काठमाडौं पुग्ने आभाष थापाले जानकारी दिए ।

    हाल आमा–बुबाको प्रतीक्षामा सुनिल छन् । आभाषसहितका केही दाजुभाइहरूले उनको स्याहार गरिरहेका छन् । तर, सहारा ठानेका आमा–बुबा अझै नपुगेको पीडाले उनलाई झन् पोलिरहेको छ । उनका १२ वर्षीय भाइ धनगढीमा छन् । दाजुको अवस्थाले भाइलाई थप तनाव दिने भन्दै उनलाई काठमाडौं नबोलाइएको आभाषले बताए ।

    ‘बुवा सम्पर्कमा हुनुहुन्न, आमा भोलिसम्म पुग्नुहुन्छ कि भन्ने अपेक्षा छ,’ घाइतेका दाजु आभाषले भने, ‘ठूलाबुवा पनि गाडी नचल्दा आउन पाउनुभएको छैन । भोलिसम्म करिब सबै पुग्नुहुन्छ होला ।’

  • विराटनगरको भाटभटेनीमा पनि एक शव भेटियो

    विराटनगगर । भाटभटेनी सुपरमार्केटको विराटनगरस्थित भवनमा जलेको अवस्थामा शव फेला परेको छ । सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।

    जेनजी आन्दोलनका क्रमम विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो । सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहीले जनाएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइन् ।

    उनले भनिन्, ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ । हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

    जेनजी आन्दोलन र प्रदर्शनका क्रममा देशैभरिका भाटभटेनी स्टोरमा आगजनी भएका थियो । आगजनीमा परि धरानमा ४ जनाको मृत्यु भएको थियो ।

  • तोडफोड र आगजनीमा संलग्न वडा सभापतिहरूमाथि रास्वपा कास्कीको कारबाही

    तोडफोड र आगजनीमा संलग्न वडा सभापतिहरूमाथि रास्वपा कास्कीको कारबाही

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा कास्कीका दुई वडा सभापतिलाई निलम्बन गरेको छ ।

    पार्टीको गण्डकी प्रदेश अनुशासन आयोगले तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।

    थापा र पौडेल विभिन्न अवाञ्छित क्रियाकलापमा संलग्न भएको सामाजिक सञ्जालमार्फत देखिएकाले उनीहरूलाई जिम्मेवारीबाट निलम्बन गरिएको प्रदेश अनुशासन आयोग प्रमुख योगेन्द्र केसीले जानकारी दिए ।

    अर्को निर्णय नहुन्जेलसम्म उनीहरू निलम्बनमा रहनेछन् ।

     

  • यसरी चलाइयो मेयरको घरमा ८० किलो सुन भेटिएको हल्ला

    यसरी चलाइयो मेयरको घरमा ८० किलो सुन भेटिएको हल्ला

    विराटनगर । जेनजी आन्दोलनका क्रममा कन्काई नगरपालिकाका मेयर राजेन्द्रप्रसाद पोखरेलको घरमा ८० किलो सुन भेटिएको हल्ला खुबै फैलियो । अहिले पनि यो हल्लामा धेरैले विश्वास गरेका बसेका छन्, जसको पुष्टि भने कतैबाट भएको छैन ।

    युट्यूवर भाग्य न्यौपानेले आन्दोलनका क्रममा मेयर पोखरेलको घरमा ८० किलो सुन र २ बोरा चाँदी भेटिएको प्रचार गरेका थिए । भदौ २४ गते उनले फेसुबकमा हालेको भिडिओ दुई दिनअघि आफैँले हटाए ।

    उक्त भिडिओमा न्यौपानेले भनेका छन्, ‘झापाका ओलीनिकट मेयरको घरमा ८० किलो सुन भेटियो । त्यति मात्रै नभएर फेरि २ बोरा चाँदी भेटिएको छ रे ।’

    सेल्फी मोडमा खिचिएको भिडिओमा अर्का युवा आएर भन्छन्, ‘मैले थोरै थप्न चाहेँ, कन्काइ नगरपालिकाका मेयर ओलीका मित जस्तो भन्ने पनि कुरा आयो । अव नेताको सम्पत्ति खोज्ने बेला आयो । गुड जब जेन्जी । जय जेन्जी ।’

    सो भिडिओ केहीबेरमै भाइरल भएको थियो । त्यस दिन कोशी प्रदेशका अधिकांश जनप्रतिनिधिहरूको घरमा तोडफोड र आगजनी भयो । आक्रोशित समूहले मेयर पोखरेल बस्दै आएको भाइको घरमा पूर्णरूपमा क्षति पुर्‍याएको छ ।

    आगजनी र तोडफोडपछि घरका सरसमान समेत लुटपाट भएको प्रहरीले जनाएको छ । झापा, मोरङ, सुनसरी, उदयपुरका अधिकांश पालिका प्रमुखहरूको घरमा तोडफोड र क्षति भएको छ । तर, अझैसम्म कति जनप्रतिनिधिको घरमा आगजनी र तोडफोड भयो भनेर तथ्याङ्क सङ्कलन भइनसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    युट्यूर न्यौपानेले आन्दोलनका दिन अरू पनि भिडिओ पोस्ट गरेका थिए । उनले देशको गृहमन्त्री हुने मान्छे रवि लामिछाने जेलभित्र रहेको भन्दै उनलाई जेल तोडेर निकाल्न आह्वान गरेका थिए ।

    सो भिडिओमा भनेका छन्, ‘रवि दाइ्लाई राखिएको जेलमा जानु पर्‍यो साथीहरू हो । यो देशको चाहिने गृहमन्त्रीलाई जेलबाट झिकेर यो देशको सत्ता उहाँको हातमा लाउनु पर्‍यो ।’

    नभन्दै रवि लामिछानेलाई निकालियो । तर, उनी धेरै समय बाहिर रहन सकेनन् । अहिले आफैँ कारागार फर्किएका छन् ।

    यता, भाग्य न्यौपानेलाई भने ८० किलो सुनको विषयमा प्रष्टीकरण दिँदै हैरान छ । स्थानीय मिडियाले भिडिओ हालेपछि आफूले पनि हालेको उनले बताइरहेका छन् ।

    एउटा भिडिओ बनाउँदै उनले भनेका छन्, ‘स्थानीय मिडियाले समाचार लेखेपछि भिडिओ बनाएको हो । त्यो समाचार अहिले पनि हटाइएको छैन । उनले मेयर पोख्रेलले त्यो सुन भाग्य न्यौपानेसँग छ भनेर भन्नु । मेरो बारेमा छानबिन गरे हुन्छ । म रेडी छु । म युटुयब चलाएर हिँडेको मान्छे हो । देश चलाएर, बजेट चलाएर, भ्रष्टाचार गरेर हिँडेको मान्छे होइन ।’

    मेयर पोखरेलले भने घरमा ८० किलो सुन भेटिएको कुरालाई हावादारी भनेका छन् । ४० तोलाबाट सुरु गरेर ८० किलो पुर्‍याइएको उनले बताए ।

    पोखरेलको भनाइ यस्तो छः

    ‘सुरूमा ४० तोला भेटिएको भनेर भिडिओ आयो । अर्को भिडिओमा ८० तोला भयो । त्यसपछि ४० किलो भयो अनि ८० केजी भएर आयो । त्यसपछि २ बोरा चाँदी पनि थपियो । यतिको पत्रकारले भनिरहँदा त्यो बरामद हुनु पर्दैन ? त्यो बरामद कसले गरेको हो ? बरामद गरेको सुन कहाँ छ ? मेरो घरमा आगजनी हुँदा मेरो परिवार त त्यहाँ कोही थिएन । त्यसो हो भने त्यो सुन चाहियो नि ।’

    उनले कन्काइकै केही केही मान्छेहरू आफ्नोविरुद्धमा लागेका बताए । पैसा दिएर अनर्गल प्रचार गरिएकोसमेते उनको आरोप छ ।

    पोख्रेलले भने, ‘त्यत्रो सुन कहाँबाट मसँग हुनु यार ? मेरा छोराछोरीको विवाह गर्न चाहिने सुन लिएर बाँकी सुन सबै भाग्य न्यौपानेलाई दिन्थेँ ।’

    कसरी चल्यो हल्ला ?

    जेनजी आन्दोलन सुरू भएपछि एउटा समूह तोडफोड गर्दै मेयर पोख्रेलको घरमा पनि पुग्यो । ठुलो समूह घरबाहिर बसेर होहल्ला गर्न थाल्यो भने एउटा सानो समूह मेयरको घरभित्र पसेर कोठा-कोठा चाहार्न थाल्यो । त्यही समूहमा रहेका कसैले टिकटकमा एउटा भिडिओ अपलोड गरे ।

    अपलोड गरिएको भिडिओमा मेयरको घरमा ८० किलो सुन भन्ने लेखिएको छ । दृश्यमा भने केही युवाहरूले तोडफोड गर्दै सामानहरू फालेको देखिन्छ । सुन देखिएको छैन ।

    यो भिडिओ आएपछि केही व्यक्तिहरूले मेयरको घरमा ८० किलो सुन भएको भन्दै फेसबुकमा पोस्ट गर्छन् । यसलाई अझै अतिरञ्जित गर्दै कृश काफ्ले नामका व्यक्तिले कन्काईका मेयरको घरमा २ बोरा सुन भेटिएको भनेर पोस्ट गरे । उनी स्थानीय हरिकुल माध्यमिक विद्यालयका कर्मचारी हुन् । हिमालय टेलिभिजनमा भिज्युअल इडिटरको रूपमा समेत काम गरेका काफ्ले फोटोग्राफर हुन् ।

    उनले फेसबुकमा पोस्ट गरेपछि त्यसकै आधारमा युटुवबर भाग्य न्यौपानेले भिडिओ बनाए । उनलाई अर्का युट्युवर सुजन ढकालले पनि साथ दिए । डीभी परेर अमेरिका गएका सुजन केही महिनाअघि मात्र झापा फर्किएका हुन् । उनी फेसबुक, युट्युवमा भिडिओहरू बनाएर अपलोड गर्छन् । अहिले उनीहरूले ८० किलो सुन प्रकरणसँग जोडिएका सबै भिडियो डिलिट गरेका छन् ।

    काफ्लेले टिकटकमा भिडिओ आएको र अरू स्थानीयले पनि लेखेको देखेपछि आफूले स्टाटस हालेको बताए ।

    उनले भने, ‘मेयरको घरमा ८० केजी सुन भेटिएको सत्य नभएको थाहा भएपछि आफूले केही बेरमै स्टाटस डिलिट गरेँ । मैले सुरू गरेको होइन । पहिले अरूले नै लेखेका थिए ।’

    उनी थप्छन्, ‘हामीले पछिल्ला समय केही स्थानीय पत्रकारसँग लागेर वा भिडिओको हल्लामा आधारित भई ८० किलो सुनसम्बन्धी विषयमा भ्रमपूर्ण समाचार प्रवाह गरेका रहेछौँ । हाम्रो ठाउँलाई बदनाम गर्ने षडयन्त्रमा हातोमालो भएको अनुभूति भएको छ । यसका लागि हामी आफ्नो गल्तीप्रति खेद प्रकट गर्दछौँ ।’

    युट्युवर भाग्य न्यौपानेले भने बारम्बार फोन गर्दा पनि फोन उठाएनन् । आफ्नो परिचयसहित एसएमएस पठाएर फोन उठाउन आग्रह गरेपछि भने उनले मोबाइलको स्वीच अफ गरे ।

    मेयरको घरमा ८० किलो सुन भेटिएको हल्लालाई झापाका प्रहरी प्रमुख राजन लिम्बूले पनि इन्कार गरेका छन् ।

    उनले भने, ‘सुन भेटिएको भए त हामीलाई खबर हुन्थ्यो होला नि ! भेटेर कसैले लगेको भए पनि त्यत्रो भिडमा एक जनाले मात्रै त लगेको छैन होला ।’
    लिम्बूले यसका विषयमा उजुरी नपरेको बताए ।

    पोख्रेल दोस्रोपटक कन्काईको मेयरमा विजयी भएका हुन् । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि मेयरमा जितेका थिए । उनको आर्थिक अवस्था मध्यम छ ।

  • घरभित्रै जिउँदै जलाउन खोजेपछि काखे छोरी बोकेर भाग्नुपर्दाको क्षण

    घरभित्रै जिउँदै जलाउन खोजेपछि काखे छोरी बोकेर भाग्नुपर्दाको क्षण

    मंसिर २४ गते २०७९ ! म यो देशलाई आफ्नो घर ठानेर पहिलोपटक भित्रिएकी थिएँ । आफ्नो देश छाडेर श्रीमानको घरलाई आफ्नो ठानेर आएकी थिएँ ।

    मेरो २१ वर्षकै उमेरमा विवाह भएको थियो । म त खर्साङ, दार्जिलिङमा जन्मिएकी हुँ । बाउबिना हुर्किएकी थिएँ । आफ्नो घरबिना हुर्किएकी थिएँ । यही देशमा, यही देशको लाखौं घरमध्ये एक घरमा मैले आफ्नो अस्तित्व पाएँ । बाउ-आमा र मेरो जीवनसाथीको माया पाएँ ।

    उनीहरूको स्नेहले मेरो मनको खाली ठाउँ भरेको थियो । उनीहरूको ममताले मलाई आत्मीयताको अनुभूति गराएको थियो । र, एक क्षणका लागि भए पनि मैले पूर्ण महसुस गरेँ ।

    बिहे गरेर यो देशको आँगनमा रम्दारम्दै मभित्र एउटा सानो पुतलीको बास भएछ । मेरा स्वादहरू फरक भएको हुनाले म प्रायः बौद्धतिर गएर खानेकुरा खान रुचाउँथेँ । अनि घर फर्कँदा प्रायः बाबाको रिसाको जस्तो अनुहार देखेपछि अलिकति डर पनि लाग्थ्यो । भाटभटेनीबाट घरको सामान ल्याउँदा पनि बाबाको पढ्ने कोठाबाट तिखो तिखो आँखाले हेरिरहेको देख्थेँ ।

    ‘घाँटी हेरेर हाड निल्नु पर्छ’ भन्ने घरमा प्रायः मैले सुनिरहनु पर्थ्यो । म कहिलेकाहीँ सोच्थेँ- यस्तो ठूलो पार्टी एमालेको ठूलो पोस्टमा भएको ईश्वर पोखरेलजस्तो मानिस । एक समय देश चलाउने मानिस । घरभित्र यस्तो किन देखिनुहुन्छ ?

    समय बित्दै गयो, स-साना कुराबाट मैले धेरै सिकें । सिक्दै गएँ । पैसा भन्ने कुराको मूल्य बुझेँ । पैसा बचाउन सिकेँ । पैसाको मूल्य, बचतको अनुशासन र विवेक भन्ने कुरा मैले परिवारबाट सिकेँ ।

    कति मान्छेले भनेको सुन्थेँ, – ‘ईश्वर पोखरेलजस्तो नेताको बुहारी त हो, चाहिएको चिज सबै पुगिहाल्छ नि !’

    पुगेको पनि थियो । मलाई ब्रान्डेड ब्याग, घडी अनि लुगा किन्ने इच्छा कहिल्यै पनि भएन ! सानैदेखि यस्ता कुरामा रहर थिएन पनि । दुःखमा हुर्केको भएर होला, म स-साना कुरामा नै खुशी पाउँथेँ । कसैले उपहार ल्याइदिए भने मुस्कुराउँदै लगाउँथेँ, तर आफ्नै पैसाले त्यस्ता कुरामा खर्च गर्थिनँ ।

    बाबाको हातमा अहिलेसम्म मैले सुन लगाएको देखिनँ । मामुको हातमा सुनको स-साना दुईवटा चुरा हुन्थे । जुन चुरा उहाँ आफैंले शिक्षक हुँदा पहिलो कमाईले किन्नु भएको थियो । हाम्रो परिवार धेरै सामान्य थियो । ठूलो स्वरले झगडा गरेको, एक अर्कालाई नराम्रो भनेको कहिले पनि देखिनँ, सुनिनँ । कुनै विशेष परिस्थिति आयो भने बैठक बस्नु पथ्र्यो । अनि त्यो समस्याको हल सबैजना मिलेर निकाल्थ्यौं ।

    समय बित्दै गयो, म एउटा सानी छोरीको आमा भएँ । हाम्रो घरको पहिलो छोरी ! हजुरबा हेर्दै हुर्केकी छोरीले सानैदेखि खेलौनाको साटो किताब रोज्न थाली । बाबाको पढ्ने कोठामा गएर किताब निकालेर पाना-पाना पल्टाउँदै हुर्किन थाली ।

    ‘बच्चाले घरमा जे देख्छ त्यही सिक्छ’ भन्ने आहानलाई मैले पनि राम्ररी बुझ्ने अवसर पाएँ । र, यसरी दुई वर्ष नपुग्दै मेरी छोरीले किताब-कलम रोज्न थालेकी छ ।

    मेरी छोरी एक वर्ष नपुग्दै हामीले एक ठाउँमा जागिर खाने मौका पायौं । म र मेरो श्रीमान् एउटा अफिसमा सँगै काम गथ्र्यौं । बिहान उठेर छोरीलाई खाजा खुवाएर हामी अफिस जान्थ्यौं । बाबा अनि हाम्रो दाइ (जेठाजु ) र हामी सबै अफिसका लागि निस्कन्थ्यौं । घरमा आमा, छोरी अनि सहयोगी बहिनीहरू मात्र हुन्थे । हरेक दिन यसरी नै बित्थ्यो । आमालाई प्रायः सन्चो हुन्नथ्यो । त्यही भएर कहिलेकाहीँ अफिसबाट दौडेर घर पुग्थ्यौं । हाम्रो परिवारका दिनहरू सामान्य तरिकाले बित्दै थिए ।

    यो बीचमा मेरो उमेर समूहका ‘जेन जी’ नाम पुस्ताले भ्रष्टाचारको विरोधमा आवाज उठायो । त्यो दिन हामी अफिस नगई घरमै बसेका थियौं । आन्दोलन चर्कियो । आन्दोलनमा साना साना बच्चाहरूले ज्यान गुमाएको थाहा पाएँ । हामीजस्ता कतिको ज्यान गयो, कतिको कोख रित्तियो भन्ने कुराले मन दुः खेर आयो । तिनका अनुहार, तिनका पीडा देख्दा मेरो मुटु चिरियो । रातभर म निदाउन सकिनँ ।

    त्यसको भोलिपल्ट भदौ २४ गते बिहानको अवस्था अर्कै थियो । बिहानदेखि मन विचलित भइसकेको थियो । खाना खान र अरु केही काम गर्न मन लागिरहेको थिएन । त्यो दिन पनि फेरि कता तिर हो आन्दोलन भइरहेको भन्ने थाहा भयो ।

    त्यस्तै १०:०० बजेतिर म भान्सामा केही पकाउन भनेर पसेँ । त्यो बेला एउटा बाइकमा निलो कलरको ज्याकेट लगाएको शंकास्पद मान्छे आयो । हाम्रो घरको मेन गेटबाट बाइक घुमाउँदै घरभित्र यसो चियाएर भागेको देखेँ । त्यो शंकास्पद मन्छे देख्नसाथ मन चिसो भयो । यसबारे मैले मेरो श्रीमानलाई सुनाएँ ।

    ऊहाँ आत्तिँदै थप कुरा बुझ्न तल जानुभो । माथि आएर ‘यहाँ बस्न एकदमै असुरक्षित हुन्छ’ भन्नुभयो । त्यस बेलासम्म पनि के भइरहेको छ भन्ने कुरा बुझ्न मलाई गाह्रो भइरहेको थियो । लगाइरहेको एक जोडी कपडा बाहेक एउटा धागो पनि नलिएर हामी सपरिवार कुनै सुरक्षित स्थानमा गएर बस्यौं । हामी कपडा, सम्झना, आशा लगायत सबैकुरा घरमै छाडेर भाग्न बाध्य भयौँ ।

    हामी भागेको एक घण्टा नबित्दै चार पाँच सय मानिसहरू आएर हाम्रो घरमा तोडफोड गरेर सबै आगो लगाइदिए । बाबाको गाडी, पिएसो अशोक दाइको बाइक, सबैलाई दन्दनी बालिएछ । हामीले सजाएको त्यो हरेक कुरा, हामीले बिताएका सबै पलहरू, मेरो आशाभरोसा सबैलाई सखाप पारिएछ । सबैलाई खरानी पारिएछ ।

    त्यहाँ हुलमा भएका मान्छेहरूले ‘यहाँका मान्छे खै ?’ भनेर सोध्दा त्यहाँ भएको एकजना सहयोगी दाइले ‘उनीहरू बिहानै अस्पताल जानु भएको थियो’ भनिदिनुभएछ । चित्त त तब दुख्यो, जब तीमध्ये एउटा मान्छेले ‘यहाँको छोरा बुहारी अनि त्यो सानो बच्चा खै, निकाल् बाहिर’ भन्न थाले रे ! किन ? बलात्कार गर्न कि घरमा जिउँदै जलाउन ? हुन त अपराधी मानसिकता बोकेको त्यो अराजक जत्थाले आफ्नै देशको सम्पत्ति भष्म पारेका थिए । तिनीहरूले निर्दोष मानिसलाई के कदर गर्थे र ! के छोड्थे र !

    कठिनाइमा सम्बन्ध हराउँछन् भन्ने कुरा त्यतिबेला थाहा पाएँ । आफन्त र साथीहरूले सान्त्वना दिनुपर्ने बेलामा उल्टै टाढा भए । कसैले हाम्रो दुःख बाँडेनन् । कतिपय त अरूको घर तोड्नमै व्यस्त देखिए । त्यस दिन मैले बुझेँ,- नातागोता भन्दा ठूलो स्वार्थ पो रहेछ । स्नेह र सहयोगको ठाउँमा डर, लोभ र निर्दयता हावी रहेछ ।

    जुन घरलाई आफ्नो घर मानेर आएँ, त्यो घरमा आज खरानी बाहेक केही रहेन । जुन ठाउँलाई आफ्नो ठानेर आएँ, जहाँका मानिसहरूलाई भरोसा गरेर आएँ, तिनै मानिसहरूले झण्डै घरभित्र जिउँदै जलाइदिए ।

    केही अराजक र आपराधिक मानसिकताका कारणले गर्दा सबैको संसार भताभुङ्ग भयो । नेपालीहरूको मन त कोमल हुन्छ भन्थे तर, मैले त्यो कोमलता कसैको मुखमा देखिनँ । के बिहे गरेर त्यो घरमा जोडिनु मेरो गल्ती थियो ? कि मेरो श्रीमानसँग माया गर्नु मेरो गल्ती थियो ? कि मेरो छोरी यो देशमा, यो परिवारमा जन्मिनु गल्ती भयो ?

    तपाईँहरूले चिनेको मेरो परिवार र मैले आफैले बसेर देखेको मेरो परिवार आकाश-पातलको फरक छ । बाहिरका कतिपयले सुनेको ‘ईश्वर पोखरेल’ र मैले चिनेको ‘ईश्वर पोखरेल’मा आकाश पाताल फरक छ । तर, सम्पूर्ण परिवारलाई यसरी तहसनहस पार्नु गलत हो, अपराध हो ।

    मेरो पासपोर्टमा कुनै देशको भिसा छैन किनकि तपाईँहरूले सोच्नु भएको जस्तो मैले देश-विदेश देखेको छैन । कपडा किन्दा सस्तो रोज्ने म । खाना खाँदा लोकल ठाउँ मनपर्ने मान्छे म । किन थाहा छ ? किनभने महँगो थाई, कोरियन खाना मेरो मुखले मान्दैन । साधारण जीवन मेरो रोजाइ हो ।

    म मेरो श्रीमानको जिन्दगीमा आएदेखि मैले उनको सबै कुरामा परिवर्तन देखेको छु । म गर्वको साथ भन्छु, ऊ पनि सामान्य जीवन बिताउन मन पराउँछ । मैले मेरो छोरीलाई सानैदेखि हिलो माटो, खोला-नाला, गाउँघरमा देखाएर हुर्काइरहेकी छु । सकेसम्म उनलाई प्रकृतिको काखमा हुर्काउन कोसिस गर्दैछु ।

    ‘नेपोकिडस्’ भनेर ट्यागलाइन धेरै फेमस देख्छु । त्यसमा मेरो नाम कहिले आएन । म आज जे पनि काम गर्छु मेरो छोरीको राम्रो होस् भनेर गर्छु । अरू मलाई केही इच्छा लाग्दैन । बस मेरो छोरीले कहिले केहि कुरा दबाउन नपरोस् भनेर सोच्छु ।

    आफूसँग भएको थोरै कुरा दिएर के फरक पर्छ ? हामी मेहनत गरेर काम गर्छौं । सम्पत्ति जोड्छौं । आखिर केका लागि ? न हामीले मास्नलाई जोड्छौं न त सँगै बोकेर जानलाई । जे छ, त्यो छोराछोरीलाई जिम्मा लगाएर जान्छौं, होइन र ?

    मलाई आफू जन्मेको देशमा बसेर, एउटा ठुलो अफिसर बन्ने चाह थियो । र, अझैँ पनि कतै कुनामा त्यो चाह गुम्सिरहेछ जस्तो लाग्छ । त्यो चाहलाई मनमा राखेर सबै सपनाहरु त्यागेर म यो देशमा बसेकी हुँ ।

    तर, यहाँ कसैले आफ्नो मान्दैनन् । कतिले हेप्छन् । कतिले त ‘दार्जिलिङ्ग पनि नेपाल हो’ भनेर गाली गर्छन् । तर म बच्चादेखि ‘जन गन मन’ सुन्दै हुर्केको मान्छे, मेरो के गल्ती ? इन्डियन पासपोर्ट भएको मान्छे यहाँ काम गर्नु नै गाह्रो छ । नागरिकता लिन पनि गार्‍हो छ । लिए पनि हामी जस्ताको लागि सबै कुरा असाध्यै कठिन छ ।

    नेपालको कुनै नागरिकमाथि इण्डियामा केही घटना घट्दा सबैजना आक्रोशमा आउँछन् । मार्न, मर्न तयार हुन्छन् । तर, हामी जस्ताको लागि को छ ? को बोल्छ ? हाम्रो निर्दोषिता कसले प्रमाणित गर्छ ?

    मेरो मन त्यो घटनाले भाँचिन पुगेको छ । यहाँको मानिसहरू देखेर डर लाग्न थालेको छ । भोलिको भविष्य के होला भनेर सोच्न बाध्य बनाइरहेको छ । आफ्नो भविष्य र आफ्नो छोरीको पालनपोषण सोच्दाखेरि आफ्नै देश फर्किंऊँ जस्तो लाग्छ । तर फेरि मेरो श्रीमान्, मेरा यहाँ रहनु भएका आमा–बाबाको जिम्मेवारीले यत्तिकै रोकेर राख्छ । मलाई थाहा छ- म अब यहीँकी भएर सधैँसधैँका लागि रहनुपर्छ ।

    यत्ति हो, मानवताभन्दा ठूलो अरु कुनै पार्टी, राजनीति, देश हुँदै । करुणा, सहानुभूति र दया मानवताको आधार हो । मानवताबिना संसार सम्भव छैन ।

    (शेर्पा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकी बुहारी हुन् ।)

  • आयोजना कटौती गरेर एक खर्ब स्रोत जुटाउने अर्थमन्त्री खनालको योजना, तीन सदस्यीय कार्यदल गठन 

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले राजनीतिक दबाबमा बजेटमा परेका, तयारी नभएका र टुक्रे आयोजना कटौती गर्ने हो भने करिब एक खर्ब स्रोत जुटाउन सकिने बताएका छन् । आज मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिँदै उनले छ महिनाभित्र निर्वाचन गर्नुपर्ने अवस्था, पुनःनिर्माणलगायतका कामका लागि बजेटमा परेका आयोजना फिल्टर तथा कार्यक्रम कटौती गरी स्रोत जुटाइने बताए ।

    उनले आजै बजेटमा भएका कार्यक्रम कटौतीका लागि बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समेत गठन गर्नुभएको छ । उक्त कार्यदलले बजेटका आयोजनालाई फिल्टर गरी प्राथमिकिकरण गर्नेछ ।

    उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है भनेर अर्थ मन्त्रालयबाटै सन्देश दिन जरुरी छ, धेरै सार्वजनिक सम्पत्तिको बिमा भएको छैन”, उनले भने, “निजी सवारीमा भएको क्षतिको दायित्व बिमाबाट पूर्ती हुनेछ, यो कामचलाउ सरकार हो, नयाँ सवारी साधन खरिद नगरौँ, कवाडी भएको बिक्री गरौँ, पुनःनिर्माण तत्कालै सुरु गरी हामी केही महिनाभित्रै उठ्यौ भन्ने सन्देश दिन जरुरी छ ।”

    युवाले आफ्नो ज्यानको आहुती दिएर मुलुकको प्रमुख समस्यालाई निमिट्यान्न पारेको उल्लेख गर्दै उनले भने, “यो जिम्मेवारी युवा आफैले पनि लिन सक्थे, तर उहाँहरुले हामीलाई विश्वासका साथ जिम्मेवारी दिनुभएको छ, गल्ती गर्ने कुनै पनि गुञ्जायस नराखी काम गर्नेछौँ ।”

    उनले विगतमा के गरेका थियौँ भन्ने बिर्सिन पनि कर्मचारीलाई आग्रह गरे । “विगतमा गल्ती गरेको भए सजाय हुन्छ, स्रोतको दुरुपयोग नगर्नुहोला, सार्वजनिक सम्पत्ति व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न म निर्देशन दिन्छु”, उनले भने ।

    उनले निजी क्षेत्रमाथि आक्रमण भएको स्मरण गर्दै निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्न आवश्यक भएको बर्ता । “हाम्रो सम्पर्क निजी क्षेत्रसँग छ, निजी क्षेत्रबाट पनि सुझाव लिनुपर्छ, राजस्व प्राप्तिका लागि निजी क्षेत्रलाई खुसी बनाउनुपर्ने आवश्यकता छ, राजस्व असुलीमा धेरै क्रुर र दबाब दिने अवस्था बनाउन हुँदैन । सेवामा सुधार गर्दै जाने हो भने राजस्व आफै बढ्छ”, अर्थमन्त्री खनालले भने ।

    अर्थमन्त्री खनालले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझाव र सिफारिस कार्यान्वयन गरिने पनि बताए । आफूले सार्वजनिक खर्च व्यवस्थापनका लागि प्राथमिकता राख्ने बताए ।

  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न निर्देशन दिने कुलमानको पहिलो निर्णय  

    काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् । आज पद बहाली लगत्तै उनले यो निर्णय लिएका हुन् ।

    घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । तर, तत्कालीन सरकारले यसमा रोकावट गरेको थियो ।

  • जेनजी आन्दोलनपछिका चुनौती : वाह्य हस्तक्षेपदेखि आन्तरिक व्यवस्थापनसम्म

    जेनजी पुस्ता र राजनीतिक दलबीच रहेको विश्वासको संकटलाई बढाउने, एक आपसमा तिक्तता फैलाउने र समाजलाई विभाजित गर्नका निम्ति विभिन्न प्रयत्न भइरहेका छन् । थप हुन सक्छ । यसतर्फ सचेत हुँदै हामीले राजनीतिक विश्वास र सहकार्यको वातावरण विकास गर्नु जरुरी छ ।

    भदौ २३ को जेनजी आन्दोलनमा भएको राज्यप्रशासनको दमन र त्यसपछि भड्किएको हिंसा र आतंकले अन्ततः सरकार ढल्यो । भदौ २८ गते पूर्वप्रधानन्ययाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै जननिर्वाचित प्रतिनिधिसभालाई विघटन गरियो । फागुन २१ गते नयाँ प्रतिनिधिसभाका निम्ति निर्वाचन मिति तोकिएको छ ।

    जेन जी आन्दोलनका समर्थक र सहभागीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका सन्देश, प्रचार र आह्वानलाई हेर्ने हो भने, यस आन्दोलनको तीनवटा मात्र एजेण्डा रहेका थिए । पहिलो हो, भ्रष्टाचारको समूल अन्त्यका लागि बलियो र निष्पक्ष गैरदलीय राजनीतिक राष्ट्रिय निकाय, भ्रष्टाचारका आरोपी, जनताले गुनासा गरेका ब्यक्तिको निष्पक्ष र पारदर्शी छानवीन तथा सामाजिक सञ्जालमा गरिएको प्रतिबन्धको फुकुवा ।

    यस आन्दोलनमा जेनजी पुस्ताले केवल आफ्नै पुस्ताको मात्र सहभागिताका लागि आह्वान गरेका थिए र त्यसअघिका जेन एक्स, मिलेनियल वा बेबी बुमरलाई सहभागी नभइदिन पनि अनुरोध गरेका थिए । अर्थात्, जेनजी पुस्ताले नेपालको राजनीतिक, शासकीय निर्णयमा आफ्नो विशिष्ट पहिचान, सहभागिता र सामथ्र्य प्रदर्शन गर्न खोजेको थियो ।

    आन्दोलनको संरचना र सहभागिता

    जेनजी आन्दोलनको सन्दर्भमा कुनै संगठित र संरचनागत व्यवस्थापन र संयोजन गरेका थिएनन् । उनीहरूले सामाजिक सञ्जालहरू, गेमिंग एप र स–साना साथी सर्कलबाट जेनजी आन्दोलनका माग, स्वरूप र सहभागिताका शैलीबारेमा सूचना प्रवाह र परामर्श गर्ने गरेका थिए । जेनजीले स्पष्ट रूपमा २८ वर्षसम्म उमेर समूहका युवाको सहभागिता आह्वान गरेको थियो । अर्थात्, १३ देखि २८ वर्ष उमेर समूह (२०५३/५४ देखि २०६८/६९) का बीचमा जन्म भएका) नै हाल नेपालको जेनजी पुस्ताको रूपमा लिन सकिन्छ ।

    आन्दोलनमा घूसपैठ र दुरूपयोग

    जेनजी पुस्ताको स्वतःस्फूर्त आन्दोलनलाई हिंसात्मक र अराजक बनाउने र यसमा राजनीतिको रोटी सेक्ने काम भएबाट जेनजी आन्दोलन घूसपैठमुक्त थिएन । भदौ २३ गतेकै आन्दोलनमा, स्वयं आन्दोलनका सहभागी-समन्वयकर्ताकै भनाइलाई आधार मान्ने हो भने पनि उनीहरू प्रहरीको सुरक्षा घेरा तोड्ने, संसद भवनमा आक्रमण गर्ने योजना र प्रयत्नमा थिएनन् ।

    तर, मास्क लगाएका, हेल्मेट लगाएका, ३० वर्षभन्दा माथि उमेर देखिएका ब्यक्ति उक्त आन्दोलनमा प्रवेश गरी, भिडलाई उत्तेजित बनाए र योजनाभन्दा बाहिर गएर सिंगो देशलाई बर्बर दमन र हिंसामा धकेल्ने काम गरे । यसले जेनजी पुस्ता र आन्दोलनका सही सहभागीलाई भावनात्मक रूपमा नै चोट पुगेको कुरा त्यसपछि सामाजिक सञ्जालमा आएका उनीहरूको भनाइबाट पुष्टि हुन्छ । अर्थात्, जेनजीको अवोधपना, भावना र केही गरौँ भन्ने हुटहुटीलाई निश्चित राजनीतिक स्वार्थप्रेरित समूहले दुरूपयोग गर्यो, जसलाई विभिन्न जेनजी समूहले रोक्न सकेन र मुलुक ठूलो दुर्घटनामा पर्‍यो ।

    संयोजन, नेतृत्व र प्रतिनिधित्व

    आन्दोलन नेतृत्व, संयोजनविहीनता र वहुप्रतिनिधित्वका रूपमा रह्यो । जेनजी पुस्ताको आन्दोलनका तर्फबाट जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका, आन्दोलनपछि कहीँकतै पनि प्रतिनिधिको रूपमा देखिएन, सुनिएन वा प्रतिनिधित्व गर्न दिइएन । वार्ताको शुरूवातमा सहभागी भएका जेनजी पुस्ताका प्रतिनिधि भनिएका तनुजा पाण्डे र उनका साथीले वार्तामा राजनीतिक षड्यन्त्रको गन्ध आएपछि बाहिरिएको बताए । त्यसपछि विभिन्न जेनजी समूहमा नै प्रतिनिधित्व र नेतृत्वको संकट रह्यो ।

    धेरै व्यक्तिले आफूलाई असली जेनजी प्रतिनिधि दावी गरिरहे । तर, आन्दोलनको एजेण्डा र सहमति दुबै जेनजीको शुरुवाती मागभन्दा फरक देखिए । व्यक्ति पनि फरक देखिए । अझै पनि जेनजीको तर्फबाट कसले सहमति गर्यो ? कसैलाई थाह छैन । बाहिर केही जेनजी समूह सहमतिप्रति असहमतिसहित आफ्ना भनाइ राखि नै रहेका छन् । अर्थात्, जेनजी आन्दोलनको संयोजन र नेतृत्व अभावको कहीँ, कसैले पक्कै फाइदा उठाएका छन् । भविष्यले त्यसलाई थप पुष्टि गर्ने नै छ ।

    सुशासन र असमानताको अन्त्य

    भ्रष्टाचार, ढिलासुस्ती, बढ्दो आय असमानता मुलुकमा व्याप्त छ । विशेषतः सार्वजनिक सेवा प्रदायक निकायको सेवा प्रवाहमा रहेको असन्तुष्टि, झण्झटिलोपना र यही सन्दर्भमा हुने खुद्रा भ्रष्टाचारबाट आजित जेनजी पुस्ता सुधारिएको, द्रूत, सहज तथा सहयोगी सार्वजनिक सेवा प्रवाहको खोजी गर्दै थिए । अर्कोतर्पm सार्वजनिक पद र ओहदामा बसेकामध्ये (राजनीतिक र प्रशासनिक) केही अनुहार सार्वजनिक रूपमै देखिएको भ्रष्ट आचरण, प्रवृत्ति र शैलीबाट आजित पुस्ताले यी दुबैको संरक्षक वर्तमान राजनीतिक प्रणाली र नेतृत्व हो भन्ने ठम्याई गर्‍यो ।

    यो ठम्याइ आफैँमा पूर्ण सही हैन, तर सबै प्रश्नको सहज र सरल समाधान खोज्ने जेनजी पुस्ताले आफ्नो अनुभूति र सूचनाका आधारमा निकालेको निष्कर्षलाई भने पूर्ण आत्मसात गरेका थिए । किनभने हाम्रो विद्यालय र विश्वविद्यालयमा अझ विशेष गरी निजी विद्यालय र कलेजमा राजनीतिक छलफल, बहस, गतिविधिलाई पूर्णनिषेध गरेको अवस्थामा आधारभूत सूचना र गैरराजनीतिक विश्लेषणलाई स्वीकार गर्नुको विकल्प जेनजी पुस्तासँग रहेन ।

    समावेशी, परादर्शी, जवाफदेही र समृद्द राजनीतिक प्रणाली

    आन्दोलनमा सहभागीहरूसँग म आफैँले पनि २३ गते संवाद गर्ने अवसर पाएको थिएँ । उनीहरू देश र समाजप्रति जिम्मेवार छन् र सक्रिय योगदान गर्न चाहन्छन् । उनीहरू राजनीतिक चासो र सरोकार राख्छन् । तर, उनीहरूको यो अपेक्षालाई सम्बोधन गर्ने सन्दर्भमा हाम्रो राजनीतिक प्रणाली र दल उदासिन रहे । दलका भातृ संगठनका नेता आर्थिक र नैतिक अराजकतामा फस्दै गएको देखिए, परिवार र समाजले राजनीतिलाई फोहोरी खेलको संज्ञा दिँदै उनीहरूलाई टाढै राख्ने प्रयत्न गरिरह्यो, देशका कानून र आइडियलिष्ट मध्यमवर्गीय नागरिक समाजले विद्यालय र कलेजमा राजनीतिक क्रियाशिलता र गतिविधिलाई कानूनी र व्यवहारिक बन्देज लगाइरहे ।

    स्कुले जीवनमा बाल क्लबमा केही सामाजिक गतिविधि गर्न पाएका जेनजी पुस्ता, स्कुले जीवनपछि कि त गैससका जागिरे बन्ने भए कि त परियोजनाका मुख ताक्नुपर्ने अवस्थामा रहे । अर्थात्, यो पुस्ताले मन पराउने, सुरक्षित महसूस गर्ने र भविष्य देख्ने राजनीतिक संरचना र प्रणाली हामीसँग रहेन । परिणामतः उनीहरूको राजनीतिक सक्रियता र भावनाको निषेध वा दुरूपयोग हुन पुग्यो, जसको मूल्य अकल्पनीय ढंगलो महंगो साबित भयो ।

    लोकतान्त्रिक, संघीयता र बहुदलीय व्यवस्थाका पक्षधर

    जेनजीको आन्दोलनपछि विकसित घट्नाक्रम र जेनजी समूहका विचारलाई हेर्ने हो भने, केही प्रायोजित वा उक्साइएका विचारबाहेक सबै विचार लोकतान्त्रिक व्यवस्थाका पक्षमा रहेको पाइन्छ । हुन त, आन्दोलनको शुरुवातमै जेनजी सहभागी र समन्वयकर्ताले भनेका थिए कि, यो आन्दोलन व्यवस्था र संविधानविरोधी हैन । वार्ताका क्रममा उनीहरूले राष्ट्रपतिको माग गरे, राजा ल्याउने षड्यन्त्रको पर्दाफास गरे, पपुलिष्टहरूको संविधान खारेजीको प्रस्तावलाई वहिष्कार गरे ।

    यसैले पुष्टि गर्दछ कि, उनीहरू वर्तमान लोकतान्त्रिक गणतन्त्र, संघीयता र बहुदलीय संसदीय व्यवस्थाप्रति प्रतिवद्ध छन् । यसमा शंका गरिरहनुपर्दैन । तर, उनीहरूमा विद्यमान राजनीतिका जटिलता, कानूनी व्यवस्था र प्रणालीगत निरन्तरताका विषयमा भने अन्यौलता रहेकै देखिन्छ । त्यसैले प्रतिनिधिसभा विघटनको मागका बारेमा उनीहरूले अन्यौलतमा नै अडिरहे वा अड्याइरहियो ।

    शीर्ष नेतृत्वप्रतिको अविश्वास

    जेनजी पुस्ता लोकतान्त्रिक, बहुदलीय संसदीय व्यवस्थाका पक्षधर भइरहँदारहँदै पनि उनीहरूमा राजनीतिक दल र तिनका शीर्ष नेतृत्वप्रति चरम अविश्वास देखिन्छ । यसका मुख्य कारणमा राजनीतिक दलको नेतृत्व तहमा आफ्नो पुस्ताको प्रतिनिधित्व नदेख्नु, पुरानै शैली र ढाँचामा सञ्चालन हुनु, दलभित्र शीर्ष नेतृत्वको अधिक नियन्त्रण देखिनु र पछिल्लो समय दलहरूभित्र आलोचनात्मक चेतना र सक्रियता कमजोर हुँदै जानु नै हो ।

    यी सबै जेनजी पुस्ताले आँखैले देखेका, कानैले सुनेक र अनुभव गरेका विषय हुन् । त्यसैले उनीहरूले वर्तमान संसदमा प्रतिनिधित्व गरिरहेका राजनीतिक दलहरूप्रति विश्वास गर्न सकेनन् र निरन्तर नागरिक सरकार र संसद विघटनको माग गरे । अर्थात्, जेनजी पुस्ता राजनीतिक दलको पक्षमा छन्, तर राजनीतिक दलले आफू व्यापक सुधार र पुनर्गठनको अभियान सञ्चालन गर्न जरुरी छ ।

    आधारभूत मागको सम्बोधन

    जेनजी पुस्ताले माग गरेको आधारभूत विषय हुन्, भ्रष्टाचारको समूल अन्त्यका लागि विश्वासिलो राजकीय संरचना निर्माण । यससँगै भ्रष्टाचारका अभियोग वा शंका गर्नुपर्नेमाथि निष्पक्ष र पारदर्शी छानवीन तथा न्यायीक अभियोजन, सामाजिक सञ्जालको उपयोगको निरन्तरताको सुनिश्चितता हुन् ।

    उनीहरू चाहन्छन्, यस आन्दोलनमा भएका हिंसा, क्षति र घूसपैठको निष्पक्ष अनुसन्धान, कार्वाही, न्याय र क्षतिपुर्तिका लागि शक्तिशाली उच्चस्तरीय छानवीन आयोग र दोषीमाथि कारवाहीको सुनिश्चितता ।

    अर्को चाहना हो, कुनै पनि उच्च सरकारी वा राजनीतिक ओहदामा रहेका व्यक्तिको आम्दानी र सम्पत्तिका छानवीन तथा भ्रष्टाचार गरी कमाएका सम्पत्तिको सरकारीकरणका लागि विश्वसनीय, सक्षम नागरिक आयोग ।

    भ्रष्टाचारको अनुसन्धान र अभियोजनका लागि संवैधानिक रूपमा नै व्यवस्था गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कामलाई निष्पक्ष, पारदर्शी, काविल, विश्वसनीय बनाउन राष्ट्रिय रूपमा नै परमर्श गरी पुनर्संरचना हुनुपर्ने उनीहरूको अर्को चाहना हो ।

    राजनीतिक विश्वास र सहकार्यको वातावरण

    जेनजी पुस्ता र राजनीतिक दलबीच रहेको विश्वासको संकटलाई बढाउने, एक आपसमा तिक्तता फैलाउने र समाजलाई विभाजित गर्नका निम्ति विभिन्न प्रयत्न भइरहेका छन् । थप हुन सक्छ । यसतर्फ सचेत हुँदै हामीले राजनीतिक विश्वास र सहकार्यको वातावरण विकास गर्नु जरुरी छ ।

    त्यसका लागि राजनीतिक दलका भातृ संगठन तथा स्थानीय संगठनले आफ्नो क्षेत्रमा रहेका गैरदलीय जेनजी पुस्तासँग छलफल, अन्तरसंवाद र समुदाय पुनर्जागरण अभियान चलाउनु जरुरी हुन्छ ।

    गैरदलीय जेनजी समुदायसँग राजनीतिक दलको सुधार र पुनर्गठनका सन्दर्भमा सुझाव लिने र आफ्नो दलभित्र आवश्यक पैरवी थाल्नुपर्दछ । आन्दोलन र हिंसाका दौरान भत्किएका सार्वजनिक संरचनाको पुनःनिर्माण, सरसफाइका लागि संयुक्त रूपमा परिचालन हुन जरुरी छ । आन्दोलन र हिंसाका दौरान क्षति पुर्याइएका निजी भवन, सम्पत्तिका सन्दर्भमा सम्बन्धित व्यक्तिसँग (जो भ्रष्ट हैनन्) सामाजिक रूपमा माफी माग्ने र उनीहरूलाई पुनस्र्थापनामा सहकार्य गर्न जरुरी छ ।

    क्षति पुगेका उद्योग, व्यवसायको पुनः सञ्चालनका लागि उद्यमी व्यवसायीलाई उत्साहित गर्न उनीहरूको उद्योग धन्दामै गएर, जेनजी पुस्ता र समाजका सबै पुस्ताका प्रतिनिधिले ऐक्यवद्धता, साथ सहयोग र भावनात्मक समर्थन गर्दै स्वदेशमा नै लगानी गर्न र उद्योग व्यवसाय पुनः सञ्चालन गर्न प्रोत्साहित गर्ने अभियान चलाइनुपर्दछ ।

    वर्तमान अन्तरिम सरकारलाई तोकिएको समयमा निर्वाचन गर्न र लोकतान्त्रिक व्यवस्थाको पुनस्र्थापना गर्न दलहरूले आ–आफ्नो दलबाट सक्षम, इमान्दार, पारदर्शी युवा नेतृत्वको साझा समूह बनाएर सहयोग गर्ने कार्य अघि बढाउनुपर्दछ ।

    राजनीतिक दलहरूको पुनर्गठन

    जेनजी आन्दोलनले नेपालका राजनीतिक दललाई समाजको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा विकास गरेनन् भने त्यसले समाजको विश्वास गुमाउँछ भन्ने यथार्थतालाई पुनः एकपटक पुष्टि गरेको छ । मदन भण्डारीले तत्कालीन मार्क्सवादी र मालेको एकतापछि अनुभवी तथा पाका नेता मनमोहन–भरतमोहन अधिकारीहरूको अभिभावकत्व र युवा पुस्ताका मदन र उनका पुस्ताको कार्यकारी भूमिकासहितको संगठन निर्माण गरेर विश्वभर कमजोर भइरहेको कम्युनिष्ट पार्टीलाई नेपालमा शक्तिशाली पार्टी बनाएको उदाहरण हामीसँगै छ । त्यसैले राजनीतिक दलहरूले बदलिएको परिवेशमा राजनीतिक संगठनको पुनर्गठन अभियान चलाउनु जरुरी छ ।

    अब दलहरूले आफ्नो विधानमा नै कार्यकाल र दोहोरिने अवधिका विषयमा सीमा तोक्नुपर्दछ । संसदीय तथा राजकीय अवसर प्रदान गर्ने विषयमा मापदण्ड, कार्यसम्पादन मूल्यांकन र अवधीका विषयमा सीमा तोक्नुपर्दछ ।

    आफ्नो राजनीतिक विचार, दर्शन र दृष्टिकोण तथा कार्ययोजनाले हाल विद्यमान समाजका सबै पुस्ता (बेबी बुमरदेखि जेन बिटासम्म) लाई कसरी समेट्न र सम्बोधन गर्दछ भन्ने कुरा स्पष्ट गर्नुपर्दछ ।

    आफ्ना संगठनलाई समाजका नवीन पुस्तालाई राजनीतिक प्रशिक्षण, सूचना प्रवाह र राजनीतिक संस्कार निर्माणका लागि परिचालन गर्नुपर्दछ । विचारको राजनीति, वस्तुगत विश्लेषणका आधारमा निष्कर्ष र समाजमा हुने मिथ्या र भड्काव प्रचारको प्रतिवादका लागि प्रशिक्षित गर्न परिचालन गर्नुपर्दछ ।

    फागुनमा निर्वाचन तोकिएको सन्दर्भमा, तत्काल दलका विभिन्न तहको नेतृत्वको पुनर्गठनको प्रक्रिया अविलम्ब शुरु गरी निर्वाचनभन्दा न्यूनतम पनि केही महिनाअघि नै सम्पन्न गर्नुपर्दछ ।

    षड्यन्त्र र वैदेशिक हस्तक्षेपको प्रतिरोध

    मुलुक संक्रमणमा छ र यसलाई लम्ब्याएर फाइदा लिन चाहने वाह्य तत्व सल्बलाउने लगभग निश्चित नै छ । यसप्रकारका षडयन्त्र र सम्भावित भूराजनीति प्रेरित वैदेशिक हस्तक्षेपलाई प्रतिरोध गर्न र निस्तेज पार्नु हामी सबैको दायित्व हो ।

    त्यसैले नेपालमा सहयोगी संस्थाका आवरणमा क्रियाशील संस्था वा पपुलिष्ट इन्फ्ल्युयन्सरहरूको आम्दानीको स्रोतको निगारानी बढाइनुपर्दछ । नागरिक स्वतन्त्रताका नाममा हुने अराजक हर्कत, अफवाह र मिथ्या प्रचारलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याइनुपर्दछ ।

    राजनीतिक संगठन, दल, नागरिक समाजले आफ्ना अन्तर्राष्ट्रिय सम्पर्क, सम्बन्धमा नेपालको लोकतान्त्रिक व्यवस्था र सार्वभौमसत्तामाथि देखिएका सम्भावित जोखिमका बारेमा सचेत रहन र यसका विरुद्ध अन्तर्राष्ट्रिय लविङ बढाउन पहलकदमी लिनुपर्दछ ।

    आम सञ्चारमाध्यम, लेखक, विश्लेषकले सम्भावित जोखिम भइरहेका गलत अभ्यासका सन्दर्भमा तथ्यमा आधारित भएर, उक्साउने हैन, संयमित बनाउने र सचेत बनाउने लेख विचार व्यापक बनाउनुपर्छ ।

  • अर्थमन्त्रीको पदबहालीलगत्तै झमेला गर्ने वृद्ध बैठक कोठाबाट निकालिए 

    काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले पदबहालीपछि सचिव र पत्रकारहरूसँग अन्तरक्रिया गर्दै गर्दा एक प्रौढ व्यक्तिले अचानक एकछिन झिँजो गरे । अन्तरक्रिया नै बिथोलिने गरी चर्का कुरा गर्न थालेपछि उनलाई बाहिर निकाल्नु परेको छ ।

    स्टकोट र ढाका टोपी लगाएका वृद्ध कहाँबाट त्यहाँ छिरे भन्ने कसैलाई पत्तो थिएन । अचानक बिचमा बोल्न थालेपछि सबैको ध्यान उनीतिर सोझियो । ती पुरुषले सिधै अर्थमन्त्रीको आलोचना गर्न थाले ।

    उनले भने, ‘यही अर्थमा बसेर सात जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी कार्यान्वयन हुन्छ रु यो शासन सत्ता कसरी ।।।।’

    उनी बोल्न थालेपछि कर्मचारीले ‘पछि छुट्टै सुनौँला’ भनेर रोक्न खोजे । तर उनी रोकिएनन् ।

    ‘पख्नुस् न राजा । हाम्रो पनि छ कुरा । ७७ जिल्ला छन् । ७ वटा जिल्लामा बजेट हालेर हुन्छ रु’ उनले भने ।

    त्यसपछि अर्थमन्त्री खनालले भने, ‘भर्खर निर्णय भयो, सबै अनावश्यक बजेट कटौती गर्ने भनेर ।’

    तर, पनि पुरुषको क्रोध थामिएन । उनी आफू पनि आन्दोलनमा हिँडेको भन्दै बोलेको बोल्दै गर्न थालेपछि सुरक्षाकर्मीले बाहिर निकालेका छन् ।

    बाहिर निस्किएपश्चात् नेपाल प्रेसले उनीसँग केही जिज्ञासा राख्यो । उनीसँग आक्रोश थियो, तर अभिव्यक्तिमा ठोस कुरा थिएन । उनले आफू पर्वतको शालिकराम पौडेल भएको बताए ।

    तपाईँले किन मन्त्रीको विरोध गर्नुभयो भनी सोध्दा उनको जवाफ यस्तो थियो, ‘हो ठिक ।। म मन्त्री भएँ भन्ने ठूलो कुरा होइन । देश र जनतालाई के दिन सक्छु भन्ने कुरा ठूलो हो । अहिलेको जुन बजेट जाँदा सदनमा नि सुन्नुभयो।।। ७७ वटा जिल्ला हो कि होइन नेपालमा।।। जनताका योजना एउटा पनि छैन । कर्मचारीका खल्ती खल्तीमा हालेको छ । यसरी हुन्छ रु स्वागत त जो आए पनि गर्छन् । जम्मै चाकडीवाज छन् । गधालाई मन्त्री हो भनेर ल्याए पनि स्वागत गर्छन् ।’

    तपाईँ आन्दोलनमा जानुभएकै हो रु भन्ने प्रश्नमा उनले आफूले नैतिक समर्थन गरेको बताए ।

  • आन्दोलनबाट बैंकका ६८ वटा कार्यालयमा क्षति, गभर्नर भन्छन्– सबै बैंकिङ सिस्टमहरू ठिक छन्

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्व पौडेलले जेन जी आन्दोलनका क्रममा बैंकहरुको कार्यालयहरूमा आक्रमण भए पनि बैंकिङ प्रणाली भने सबै ठिकठाक रहेको जानकारी दिएका छन् । सोमबार नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालको पदभार ग्रहण कार्यक्रम पश्चात् बोल्दै गभर्नर पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    गभर्नर पौडेलले भने, ‘६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । तर, आन्दोलनकारीहरूले बैंकहरु नै टार्गेट गरेको जस्तो देखिँदैन । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक छन् ।’

    अहिलेको अवस्थामा सबैको मनोबल घटेका कारण उनीहरूको मनोबल बढाउनु पर्ने आवश्यकता रहेको गभर्नर पौडेलले बताए । ‘यसअघि पनि हामीलाई मनोबल बढाउनकै लागि चुनौती थियो । यो घटना हुनु अगाडी पनि हामीसँग धेरै समस्या थियो । जे घटना पछि समस्या थपिएको छ । समाधान गर्न तयारी गर्नुपर्छ’, गभर्नर पौडेलले भने ।

    अनुभवी अर्थमन्त्री आएकाले काम गर्नका लागि सहज हुने गभर्नर पौडेलले बताए । जे भएको छ त्यसबाट धेरै नआत्ती काम गर्न उनले आग्रह समेत गरे ।

     

     

     

  • अर्थमन्त्रीले निजी सचिवालय नराख्ने, एक चालक भए पुग्ने

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले निजी स्वकिय सचिवालय नराख्ने बताएका छन् ।

    आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ ।

    आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा गरेका हुन् ।

    गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताए ।

  • राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, राष्ट्रिय झण्डा आधा झुकाइने

    काठमाडौं । सरकारले जेनजी आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । उनीहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

    यसैगरी, आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक लाख-एक लाख रूपैयाँका दरले राहत दिने निर्णय पनि गृह मन्त्रालयले गरेको छ । शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ ।

  • तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ, फजुल खर्च घटाउँछौँ: नवनियुक्त अर्थमन्त्री

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले तयारी नभएका टुक्रे आयोजना खारेज गर्ने बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

    उनले भने, ‘पूर्व तयारी नरहेका आयोजनाहरूको काम अगाडी बढाउँदैनौँ । तयारी नभएका टुक्रे आयोजना खारेज गर्छौँ । फजुल खर्च मूल्याङ्कन गरेर काम गर्छौँ ।’

    आफूहरूले आयोग मार्फत दिएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको उनले बताए ।

     

     

  • सिंहदरबार छिर्नुअघि अस्पतालमा घाइते भेट्न पुगे कुलमान

    काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।

    पदभार ग्रहण गर्नुअघि मन्त्री घिसिङ घाइते भेट्न भएका हुन् । कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । शीतलनिवासमा शपथलगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।

    उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने संक्षिप्त प्रतिक्रिया दिए ।

  • नवनियुक्त तीन मन्त्रीले लिए शपथ  

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

    प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङलाई नियुक्त गरेकी थिइन् ।

    अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ।

    उनीहरूले आजैदेखि पदभार सम्हाल्दै छन् । शपथ कार्यक्रममा प्रधानमन्त्री कार्कीसहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलगायत सहभागी छन्।

  • प्रधानमन्त्रीको शपथमा अनुपस्थित राष्ट्रियसभा अध्यक्ष दाहाल सहभागी, बाबुराम आज पनि पुगे

    प्रधानमन्त्रीको शपथमा अनुपस्थित राष्ट्रियसभा अध्यक्ष दाहाल सहभागी, बाबुराम आज पनि पुगे

    काठमाडौं । तीन मन्त्रीको शपथ कार्यक्रममा सहभागी हुन राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल पनि सहभागी भएका छन् । यसअघि प्रधानमन्त्री सुशीला कार्कीको शपथ कार्यक्रममा नगएका अध्यक्ष दाहाल मन्त्रीको शपथमा पुगेका हुन् ।

    शीतलनिवासमा शपथ सकिन लागेको छ । प्रधानमन्त्री कार्कीले आइतबार तीनजना मन्त्री नियुक्त गरेकी थिइन् ।

    अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङले शपथ लिँदै छन् ।

    अर्यालले गृहसहित कानून र घिसिङले ऊर्जासहित भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

    शपथ कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई पनि पुगेका छन् । बाबुरामबाहेक अरू कुनै दलका नेताहरू शपथ कार्यक्रममा सहभागी छैनन् । बाबुराम प्रधानमन्त्रीको शपथमा पनि पुगेका थिए ।

  • अड्को फड्कोमा काम लाग्ने भवनमा राखियो गृह मन्त्रालयको बोर्ड

    काठमाडौं । गृह मन्त्रालय पुरानो संघीय मामला तथा प्रशासन मन्त्रालयको भवनमा सुरू गर्ने तयारी भएको छ । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको साबिकको गृह मन्त्रालय जलेर पूर्णरूपमा ध्वस्त भएपछि अड्कोफड्कोमा काम लाग्ने भवनबाट गृह मन्त्रालय सञ्चालनमा ल्याउन लागिएको हो ।

    यो भवन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पछाडिपट्टी रहेको छ । संविधान जारी हुनुअघि सामान्य प्रशासन मन्त्रालय छुट्टै हुँदा त्यही भवनबाट सञ्चालित थियो ।

    त्यसपछि महान्यायाधिवक्ताको कार्यालय पनि त्यहाँबाट सञ्चालन भएको थियो, महान्यायाधिवक्ता पनि आफ्नै भवन बनेपछि यो भवन परराष्ट्र मन्त्रालयको केही महाशाखा राखिएको थियो । परराष्ट्र महाशाखालाई राहदानी विभागतिर सारेर यही भवनबाट गृह मन्त्रालय सञ्चालनमा ल्याउनको लागि बोर्ड राखिएको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्याल बनेका छन् । अर्यालले यही भवनमा पदभार ग्रहण गर्ने तयारी छ । उनलाई गृहसहित कानुन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका कानुनी सल्लाहकार हुन् ।

  • वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा, आदिल र सन्दीप समेटिए

    काठमाडौं । वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा नेपाल ए टिममा उत्कृष्ट र आसालाग्दो प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

    सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईमा हुनेछ । उक्त सिरिजलाई क्यानले युनिटी नाम दिएको छ ।

    नेपाली टोलीः

    रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम ।

  • गोकुललाई प्रश्न- ओलीलाई अध्यक्षबाट हटाएर पार्टी पुनर्गठन गर्ने प्रस्ताव राखेको हो ?

    काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले पार्टी कार्यालयहरू पुननिर्माणभन्दा पहिले पार्टी नेतृत्वको पुनर्गठन अनिवार्य रहेको प्रष्ट पारेका छन् । निरन्तर सांकेतिक ढंगले नेतृत्व बहिर्गमनको माग गरिरहेका बास्कोटाले अध्यक्ष केपी शर्मा ओलीले अब छाड्नुपर्ने बताए ।

    तपाईँले एमालेको अध्यक्षबाट केपी शर्मा ओली हट्नुपर्छ भन्न खोजेको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा बास्कोटाले भने-अब अरु कुनै तरिकाबाट वा कोही उफारेर हुँदैन, नेतृत्व परिवर्तन हुनुपर्छ र समाजलाई कन्भिन्स गर्न सक्ने व्यक्तित्वको नेतृत्वमा एमालेलाई अघि बढाउनुपर्छ ।

    बास्कोटाले पार्टीको कुनै वैधानिक फोरम आयोजना गरेर नेतृत्व परिवर्तन गर्न सकिने र तर त्यो ढिला गर्न नहुने पक्षमा आफूले नेताहरूसँग पनि कुरा गरिरहेको बताए । बास्कोटाले आजै पनि सामाजिक सञ्जालमार्फत् छिटो तर सुविचारित निर्णय गरी पार्टी पुनर्गठन गर्न आह्वान गरेका छन् ।

  • संसद भवनबाट चोरेका सामान फिर्ता गर्न आग्रह, लुटपाटको सबुद पनि मागियो

    संसद भवनबाट चोरेका सामान फिर्ता गर्न आग्रह, लुटपाटको सबुद पनि मागियो

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा संसद भवनबाट लुटिएका सामग्री फिर्ता गर्न संसद सचिवालयले आग्रह गरेको छ ।

    २४ गते जेनजीको आवरणमा अराजक समूहले नयाँ बानेश्वरस्थित संसद भवन छिरेर आगजानी, तोडफोड तथा लुटपाट गरेको थियो ।

    सचिवालयले आज एक सूचना जारी गर्दै सोक्रममा भवनका टेबल, कुर्सी, कम्प्युटर, प्रिन्टर, स्क्यानर, क्यामेर, टेलिभिजन, मोनिटर, माइक, मिक्स्चर, स्पिकर, फोटोकपी मेसिन, विद्युतीय उपकरणलगायतका मालसामानहरू अनधिकृत व्यक्तिले लगेको जनाएको छ ।

    ती सामान आफूसँग भए फिर्ता गर्न र सामान रहेको स्थान तथा व्यक्तिको नाम ठेगाना जानकारी भए सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ । मालसामानहरू लुटेर लगेको भिडिओ भए उपलब्ध गराउन भन्दै सबुद दिनेको नाम गोप्य राखिने सूचनामा उल्लेख छ ।

  • आन्दाेलनले थिलथिलो भएको सिंहदरबारभित्र छिर्दा- केही भवन ध्वस्त, अधिकांश सद्दे

    आन्दाेलनले थिलथिलो भएको सिंहदरबारभित्र छिर्दा- केही भवन ध्वस्त, अधिकांश सद्दे

    काठमाडौं । जेनजीको आन्दोलनको क्रममा सिंहदरबारमा भएको आक्रमणले राजधानीको प्रशासनिक केन्द्रलाई पनि प्रभावित बनायो ।

    आन्दोलनकारीले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र नेकपा काँग्रेस र नेकपा (एमाले) संसदीय दलका कार्यालयलाई लक्षित गर्दै ध्वस्त बनाए, जबकि अन्य अधिकांश मन्त्रालय र सरकारी निकाय भने अपेक्षाकृत सुरक्षित भेटिएका छन् ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका कार्यालय संघीय संसद सचिवालय भवन भित्र रहेका कारण जोगिए । सिंहदरबारमा रहेका थोरै कर्मचारीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले हस्तक्षेप नगर्दा प्रधानमन्त्री कार्यालयसहित त्यहाँ रहेका अधिकांश सवारी साधन ध्वस्त भए ।

    नेपाल प्रेसकर्मीले आइतबार सिंहदरबारको विस्तृत अनुगमन गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालय सबैभन्दा बढी निशानामा परेकाे पाइयाे । त्यहाँका अधिकांश कोठा, भित्ता र सवारी साधनरू पूर्ण रूपमा नष्ट भए । त्यस्तै, नेपाली काँग्रेस र नेकपा (एमाले) संसदीय दलका कार्यालयमा पनि क्षति पुगेको पाइयो ।

    सिंहदरबार नजिकै रहेको नरसिंह दल गण र त्यस नजिकैको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भवन भने सुरक्षित छन् । त्यति मात्रै नभएर गणकै नजिकै रहेको कसुरजन्य विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग तथा त्यहाँको डाटा सेन्टर पनि सुरक्षित रह्यो । नेपाली सेनाका अधिकारी र सुरक्षा गार्डले आन्दोलनकारीलाई केहि नगर्न अनुरोध गरेपछि पुरानो गृह मन्त्रालयको भवनमा आगजनी वा क्षति नगरी सकेको देखिन्छ । यसले देखाउँछ कि सुरक्षा परिचालन र कर्मचारीको सचेतनाले कतिपय महत्वपूर्ण भवन जोगाउन भूमिका खेलेको थियो ।

    सिंहदबारको मुख्य गेटमा नजिकै रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि आन्दोलनको आँधीबाट बच्न सफल भयो । रेडियो नेपालका कर्मचारी राजेन्द्रविक्रम शाहीको अनुनय विनयपछि मन्त्रालय र रेडियो नेपाल दुवै सुरक्षित रहे । तथापि, परराष्ट्र मन्त्रालयको पछाडिको सानो भवनमा भने क्षति भएको छ । पार्किङमा रहेका सवारी साधन जलाइएका छन् र नजलाइएका गाडीमा डण्डाले प्रहार गरिएको छ । तीनवटा गाडी पूर्ण रूपमा ध्वस्त छन् भने बाँकी सवारी साधनमा तोडफोड गरिएको छ ।

    आन्दोलनकारीको प्रमुख निशाना एमाले र काँग्रेसको संसदीय दलको कार्यालय परे । एमाले संसदीय दलको कार्यालयमा तत्कालीन एमाले संसदीय दलको नेता केपी शर्मा ओलीको कार्यकक्ष र नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्ष प्रमुख लक्षित देखियो । त्यहाँका भित्ता समेत भत्काइएको र सामग्री नष्ट गरिएको देखियो । यद्यपि एमालेका मुख्य सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालका कार्यकक्ष भने सुरक्षित रहे । काँग्रेस संसदीय दलको कार्यालयमा कर्मचारी कोठा र बैठक कक्ष जोगिएको छ, तर काग्रेस क्यान्टिनको सामग्री तितरबितर पारिएको छ ।

    रक्षा मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि ठूलो क्षतिबाट बचाइएका छन् । नेपाली सेनाको नरसिंह दल गण रक्षा मन्त्रालयसँग जोडिएको हुँदा सुरक्षा प्रभावकारी बनेको अनुमान गर्न सकिन्छ । अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा पनि आगजनी भएको छैन ।परराष्ट्र मन्त्रालयको अगाडिको सवारी साधनमा डण्डाले प्रहार गरिएको भए पनि व्यापक क्षति देखिएको छैन । संघीय संसदको नयाँ भवन पनि सुरक्षित रहेको छ ।

     

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पूर्ण रूपमा जोगिएको छ । केवल भुई तलाका झ्यालको सिसा फुटेको देखियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय पनि सुरक्षित रहेको छ, यद्यपि पार्किङमा रहेको केही सवारी साधनमा क्षति पुगेको छ । संघीय संसद सचिवालयको भवन नम्बर एक र दुई पनि जोगिएका छन् । सचिवालयमा कार्यरत कर्मचारी रामप्रसाद सापकोटा लगायतको अनुनय विनयले जोगिएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पार्किङमा रहेका सवारी साधन जलाइएका छन्, जसको धुवाले संसद सचिवालयको बाहिरी भित्तामा कालो धब्बा बनाएको छ ।

     

    शहरी विकास मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, प्रशासकीय अदालत र सिंहदरबारको सर्भिस सेन्टर (सिंहदरबारको प्रमुख क्यान्टिन) पनि जोगिएका छन् । यद्यपि बाहिरी रहेका सवारी साधनमा तोडफोड गरिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा आगजनी भएको छैन । तर पार्किङमा रहेका करिब दर्जन सवारी साधन ध्वस्त भएका छन् ।

    महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पार्किङमा रहेका अधिकांश सवारी साधन ध्वस्त भए, बाँकीमा तोडफोड भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भूमिगत पार्किङमा आगो लगाएर सबै सवारी साधन नष्ट भएका छन् । मन्त्रालयको अगाडिको सवारी साधन पनि जलाइएको छ । मन्त्रीको सचिवालय र कार्यकक्षमा क्षति पुगेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा आगो लगाइएको छैन । मात्र पछाडिको पार्किङमा क्षति पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सुरक्षित छन्, तर बाहिरी सवारी साधनमा तोडफोड र आगजनी भएको छ ।

    सबैभन्दा ठूलो ध्वंस गृह मन्त्रालयमा देखियो । यहाँका अधिकांश कोठा, भित्ता र सवारी साधन तहसनहस छन् । सुरक्षाकर्मीले भित्र प्रवेश गर्न नदिए पनि बाहिरबाटै हेर्दा क्षति व्यापक भएको देखिन्छ । तत्कालिन गृहमन्त्री रमेश लेखकको निर्देशनमा जेनजीको आन्दोलनकारीमाथी गोली चलाइएको आरोपका कारणले पनि गृह मन्त्रालय आन्दोलनकारीको मुख्य निशाना बन्यो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि ठूलो क्षति पुगेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको आन्दोलनको तयारीबारे टिप्पणी गरेको धेरै आन्दोलनकारीलाई मन परेको थिएन । प्रधानमन्त्री कार्यालयको मुख्य ढोकाको क्षेत्र ठिक भए पनि तत्कालीन प्रधानमन्त्री बस्ने कार्यकक्ष भत्किएको, तलदेखि भित्तासम्म सामग्री नष्ट भएको, कुर्सी, टेबल र अन्य प्रमाण नभएको अवस्थामा भेटिएको छ ।

    सार्वजनिक सेवा प्रसारण सेवा नेपाल अन्तरगत रहेका रेडियो नेपाल र नेपाल टेलिभिजनमा पनि आन्दोलनकारीले क्षति पुर्याएनन् । त्यहाँ कार्यरत पत्रकार तथा सञ्चारकर्मीले आन्दोलनकारीलाई अनुनय विनय गरेपछि आन्दोलनकारी आगजनी र तोडफोड गर्नबाट पछि हटेका हुन् ।

    सिंहदरबारको यस ध्वंसले राजधानीमा प्रशासनिक र राजनीतिक संरचनाको संवेदनशीलता देखाएको छ । आन्दोलनकारीले लक्षित स्थानमा व्यापक क्षति पुर्याए पनि केही मन्त्रालय र कार्यालय कर्मचारीको सचेतनाले जोगिएका छन् । यस घटनाले केवल भौतिक क्षति मात्र नभई नेपालको प्रशासनिक संरचनामा स्थायी प्रभाव र भविष्यका सुरक्षा चुनौतीको संकेत दिएको छ ।

    भदौ २४ मा जेनजीको उछृङखल आन्दोलनले प्रशासनिक संरचनामा क्षति पुर्याउन सक्ने भए पनि सुरक्षा व्यवस्था र तत्कालीन कर्मचारीको सक्रियताले केही भवन बचाउन सकिन्छ भन्ने पाठ सिकाएको छ । सिंहदरबारमा देखिएको यो दृश्य केवल ऐतिहासिक घटना मात्रै होइन, भविष्यमा प्रशासनिक सुरक्षा र व्यवस्थापनका लागि शिक्षा बनेको छ ।

  • जेनेरेशन जेडको उदयः अनुहार उज्यालो पार्ने वर्गलाई अप्ठ्यारो पर्ला, तर यो समयको माग हो

    काठमाडौं । सन् १७७९ मा अमेरिकाको राष्ट्रपतीय शासन प्रणालीको संविधान बन्नुभन्दा झण्डै ५०० वर्ष अगाडि नै बेलायतमा संसदीय शासन प्रणालीको शुरुवात भइसकेको थियो । फ्रान्सका राजनीतिक दार्शनिक मन्टेसक्यूको धारणा बेलायतमा शक्तिशाली संसदीय प्रणाली र अमेरिकामा आकर्षक राष्ट्रपतीय प्रणाली आज पनि विश्वका अधिकांश देशमा अभिन्न राजनीतिक आदर्श मानिन्छन् ।

    राजनीतिमा अकाट्य दर्शन र प्रणाली हुँदैन । त्यसैले जनमतलाई राजनीतिक दर्शन र प्रणालीको मुख्य आधार मान्छन्, जेएस मिल । उनी स्वतन्त्रता र प्रजातन्त्रका प्रवद्र्धक हुन् । १८ औँ शताब्दीपछिको औद्योगिक क्रान्तिले थप उत्साह दिएको बजारको स्वतन्त्रतालाई कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तले थुप्रै चुनौति दियो ।

    यो चुनौतिलाई चाहे संसदीय शासन प्रणाली होस् या राष्ट्रपतीय शासन प्रणाली, दुबैले बजारको स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकार गरे । तर, राजनीतिभित्रको स्वतन्त्रतामा राजनीतिक दल र सत्ताको मोह कति उत्कर्षसम्म पुग्यो भन्ने कुरा प्रथम, दोस्रो विश्वयुद्ध र १९७० पछि जन्मेको नयाँ विश्व व्यवस्था र अहिलेको पूर्वी र पश्चिमी प्रजातन्त्रबीचको फरकले संसारलाई द्वन्द्वमा मात्र फसाएन, यसले राजनीति र बजारको अवसरमा समेत ठूलो खाडल पैदा गर्यो ।

    प्रविधिमा एआईको प्रयोग र जीवनपद्धतिमै प्रविधिको स्वभावमा रमाउन पुगेको ९० को दशकपछिको पुस्तालाई उन्नत मानिएका राजनीतिक प्रणालीले विश्वास गरेनन् र स्वीकार गर्न पनि सकेनन् । कर्मचारीतन्त्रीय पदसोपान र नियन्त्रण प्रणालीमा आधारित प्रचलित संसदीय र राष्ट्रपतीय शासन प्रणालीभित्र नयाँ सोच, स्वभाव, नतिजा र चुनौतिलाई स्वीकार गर्न कतिपय देशका नेतृत्व तयार भएनन् र योग्य पनि देखिएनन् ।

    यो राजनीतिक प्रणालीको ‘जेनेरेसन ग्याप’ हो । तर, यो स्वीकार गर्न पुरानो पुस्ता तयार छैन । फिलिपिन्स, श्रीलंका, बंगलादेश हुँदै नेपाल प्रवेश गरेको र इण्डोनेसिया तथा फ्रान्समा देखिएको जेनेरेशन जेड पुस्ताको आन्दोलनभित्र पूर्वी र पश्चिमी दुबै शक्तिशाली देश यसलाई आफ्नो पकडभित्रको राजनीति भनेर परिभाषित गर्दै होलान् ।

    यो अलेक्जेन्डर र मुगलको साम्राज्य विस्तारको नीतिभन्दा फरक छैन । ती साम्राज्य पनि कालान्तरमा विलय भए । तर, परिवर्तन यद्यपि छँदैछ । अहिले देशभित्रको शासनमा खेल्नेलाई के थाहा १ परिवर्तन उनीहरूको पोल्टाबाट बाहिर जाँदैछ ।

    जेनेरेशन जेडको आकांक्षा र परिवर्तनको भुमरी क्रमशः प्रजातान्त्रिक आदर्श बोकेका भारत, अमेरिका लगायतका देशबाट नै बढी आकर्षित छन् । किनभने १९९० दशकपछिको पुस्ता नयाँपन चाहन्छ, स्वतन्त्रता चाहन्छ । त्यो स्वतन्त्रता राजनीतिभन्दा माथिको होस् भन्ने उसलाई लाग्छ र यसको जन्म तिनै देशबाट भएको हो । अहिले विश्वका सबै देशमा यो चेतना फैलिँदैछ ।

    अहिलेको नयाँ पुस्तालाई राष्ट्रपति वा कुनै शासन प्रणालीभन्दा माथिको समानता चाहिएको छ । यो समयको माग हो । पुँजीले प्रविधिलाई यति माथि उठायो कि अब ऊ देशगत असमानताभन्दा पनि ‘वसुधैव कुटुम्बकम’ मा विश्वास गर्न थालेको छ ।

    यो १९९० को दशकपछिको विश्वव्यापीकरणको उच्चतम लाभ वा हानीको नतिजा हो । हामीले खोजेको पुँजीवादको उत्कर्ष यही हो र यसमा कुनै पनि राजनीतिकर्मी वा नेतृत्व पछुताउनुपर्ने वा डराउनुपर्ने जरुरी छैन ।

    यो परिवर्तनले हामीले खोजेको राजनीति, वाद वा दर्शनभन्दा फरक, मानवता र विश्व भातृत्वतिर बढ्न संकेत गर्छ र यसले कुनै पनि समूह वा स्वार्थको रक्षा गर्दैन । अहिलेको विश्वमा देखिएको जेनेरेशन जेडको एउटै स्वर, एउटै भावना र एउटै दृष्टिकोणले विश्व अर्थ र राजनीति दोस्रो चरणमा प्रवेश गर्दैछ भन्ने कुराको संकेत मिलेको छ, र यो क्रमशः हुने नै छ ।

    अर्थराजनीतिको पहिलो चरण धर्म र समाजका कठोर नियम थिए । दोस्रो चरण पुँजी र व्यापारको कठोर र एकाधिकार प्रणाली थियो र यसैको उत्कर्षमा जन्मेका राजनीति र अर्थशास्त्रभित्रका दर्शनले आजसम्म संसारका देशमा शासन गरे । धरातल यही नै हो । अबका दशकमा प्रविधिले राजनीति र बजार दुबैलाई छुट्टै युगमा प्रवेश गराउँदैछ । जसको संकेत अहिलेका युवाले दिन थालिसकेका छन् र यसैलाई पुराना पुस्ताले विद्रोह ठान्छन्, जेनेरेशन जेडको आन्दोलन मान्छन् । तर, यो समयले ल्याएको परिवर्तन हो ।

    प्रत्येक परिवर्तनलाई विश्व वातावरणले प्रभाव पारेको छ । त्यसैको प्रभाव नेपालमा परिसकेको छ । अब नेपाल नयाँ युगमा प्रवेश गर्दैछ ।

    नेपालको राजनीति परिवर्तन नै भएन, मात्र राजनीतिक सहमति भयो । त्यसैले बेलाबेला जन्मेका आदर्श नेता त्यही राजनीति प्रयोगमा बिलिन भए । अहिलेको जेनेरेशन जेडले त्यही खोज्दैछ । अचम्म लाग्छ, जेनेरेशन जेड पुस्ता संस्कृति, इतिहास, परम्परा र नेपाली आदर्श पुरुषको खोजी गर्दैछ । यो खोजी २००७ सालदेखि २०४६ सम्म कसैले गरेनन् । मात्र, आफ्नो खोजी गरियो ।

    हामीले पनि विश्वले अपनाएका संसदीय शासन प्रणाली अपनायौँ । यो प्रणाली आफैँमा नराम्रो थिएन, तर यसका दुर्गुणलाई हामीले पन्छाएनौँ र सधैँभरि बहुमत र अल्पमतका आधारमा ‘तेरो’ र ‘मेरो’ गरेर शासन गर्यौं । संसदीय प्रणालीको सबैभन्दा खराब पक्षलाई अपनाइयो । यही पक्षले आज नयाँ पुस्ताको हातमा शासन पुर्याएको छ ।

    जेएसमिल र जोन लकको आदर्श प्रजातन्त्र अहिले २१ औँ शताब्दीमा देखिँदैछ । अहिले जेनेरेशन जेडले खोजेको स्वतन्त्रता, उन्नत प्रजातन्त्रभन्दा कम देखिँदैन ।

    यति हो, यो प्रयोगधर्मी हुनसक्छ । किनकि, जेनेरेशन जेडको शुरुवात नै प्रयोगबाट हुने गर्छ र यसले नतिजा दिइसक्दासम्म आफू कति राष्ट्रवादी र कठोर हुन सकिन्छ भन्ने चुनौति सदैव रहिरहन्छ ।

    र, यो चुनौतिलाई अहिलेको विश्व राजनीति र बाँडिएको प्रजातन्त्रको सीमाभित्र राखेर शासन गर्नु सानोतिनो कुरा होइन । विश्वका ठूला विश्वविद्यालय र प्रविधिको युग बुझेको जेनेरेशन जेडलाई विश्व राजनीति पनि राम्ररी थाहा छ भन्ने कुरा हामी पछिल्ला पुस्ताले विश्वास गर्नुपर्छ ।

    त्यसैले परिवर्तनलाई सहजै स्वीकार गरेर उनीहरूलाई सहयोग गर्नु आजको सबैभन्दा ठूलो चुनौति हो । यो राजनीतिमा रमाएका र शासन प्रणालीमा अनुहार उज्यालो पार्ने वर्गलाई अप्ठ्यारो पर्ला, तर यो समयको माग हो । अबका दिनमा नेपालको भविष्य नदोहोरियोस् । जेनेरेशन जेड युवा वर्गलाई शासनमा शुभकामना ।
    (समावेशी आयोगका सचिव दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)

     

  • बालुवाटारबाहिर प्रधानमन्त्रीको राजीनामा माग्दै मध्यरातमा नाराबाजी, सुधन पनि आक्रोशित

    बालुवाटारबाहिर प्रधानमन्त्रीको राजीनामा माग्दै मध्यरातमा नाराबाजी, सुधन पनि आक्रोशित

    काठमाडौं । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी सुशीला कार्कीले पदभार ग्रहण गरेको १२ घण्टा बित्न नपाउँदै राजीनामा माग्न सुरू भएको छ । मध्यराति बालुवाटार बाहिर सुधन गुरुङको समूह पनि पुगेको थियो ।

    नयाँ मन्त्रीको नाममा असहमति जनाउँदै युवाहरूले कार्कीको राजीनामा मागे । प्रधानमन्त्रीले आफ्ना कुरा नसुनेको भन्दै आन्दोलनमा ज्यान गुमाएकाका परिवार पनि बालुवाटार पुगेका थिए । युवाहरूले आन्दोलन हाइज्याक गरेको बताए ।

    प्रधानमन्त्रीले ऊर्जामन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई गृहमन्त्री बनाएको समाचार सार्वजनिक भएसँगै उनीहरू बालुवाटारअघि प्रदर्शनमा पुगेका हुन् ।

    सुधनको समूहले आफ्नो टीमसँग सल्लाह नगरी ओमप्रकाश अर्याललाई मन्त्री बनाउन लागेको भन्दै विरोध गरे । अर्याल बालेनका कानूनी सल्लाहकार हुन् ।

    सामाजिक सञ्जालमा आएका बालुवाटार बाहिरको लफडाको भिडिओमा गुरुङ ‘जनता पावरफुल हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं नि ! त्यही ठाउँबाट म थुतेर निकाल्न सक्छु । यो ओमप्रकाश लअर ! यसले त्यहाँभित्र बसेर आफैँ गृहमन्त्री बनाउँदै रैछ ।’ भन्दै आक्रोशित देखिन्छन् ।

    आन्दोलनमा आफन्त गुमाएकाहरू बालुवाटार अगाडि ।

    बालुवाटारको ३ नम्बर गेटबाहिर भएको प्रदर्शनमा देखिए/सुनिएका कुरा जस्ताको तस्तै

    आफन्त गुमाएकी एक महिलाले सुधनलाई हात जोड्दै भन्छिन्- हिजोसम्म हजुरले नै हामीलाई न्याय दिन्छु भन्नुभएको हैन ? आज हामीसँगै आएर हामीसँग बसिरहनुभएको छ हामीले कसलाई गुहार्ने, कसलाई के भन्न जाने ?

    (एकछिन प्रधानमन्त्रीको राजीनामाको माग गर्दै नाराबाजी हुन्छ)

    सुधन भन्छन्- जनता पावरफुल हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं नि ! त्यही ठाउँबाट म थुतेर निकाल्न सक्छु । यो ओमप्रकाश लअर ! यसले त्यहाँभित्र बसेर आफैँ गृहमन्त्री बनाउँदै रैछ ।

    फेरि नाराबाजी हुन्छ- मुर्दामाथि राजनीति नगर ।

    युवाहरूले सुधनसँग आक्रोश पोख्छन्- हाम्रो आन्दोलन किन हाइज्याक गर्न लाउनु भयो  ? अर्का युवा फेरि बोल्छन्- यो आन्दोलनको नेतृत्वकर्ता हामी हौं । हाइज्याक गरेका छन् केहीकेही साथीहरूले ।

    फेरि केही युवा तात्छन्- सहजकर्ताको रूपमा आएको मान्छे गृहमन्त्री किन खायो त्यसले ?

    सुधनले सम्झाउँदै भन्छन्- भोलि सबैजना बाहिर निस्किन्छन् ।

    अर्को एकजना बोल्छन्- भोलि हैन अहिले निकाल्नुपर्‍यो दाइ । किन हाइज्याक गर्न लाउनुभयो दाइ ? अण्डर २८ भन्दा माथि अब यो देशमा कोही पनि लिडर हुँदैनन् ।

    फेरि अर्को आवाज आउँछ- बरु तपाईँ बन्नु न यार गृहमन्त्री, तपाईँमाथि होप छ ।

    तपाईँलाई समेत भित्र जान नदिने स्थिति भइसकेछ कुन हालतको र’छ । यो तपाईँलाई बाइकट हो कि तपाईँले नाटक गरेको हो ? सुधन दाइ तपाईँ भन्नु । मन्त्रिपरिषद् भको छैन भन्नुभो यता साइन गरिसके । तपाईँले यदि नाटक गरेको हो भने तपाईँलाई जनताले कुट्छन् दाइ !

    (चारैतिरबाट युवाहरूले आक्रोश पोखिरहँदा सुधन मुन्टो हल्लाउँदै भिडिओ खिचिरहेका देखिन्छन् ।)

    तस्बिर source : otv