
सुरूमै प्रष्ट पारौं, म रास्वपाको सदस्य, शुभेच्छुक वा शुभचिन्तक होइन । विगतको मतदाता पनि होइन, सायद भविष्यको पनि ।
म रवि लामिछानेको समर्थक पनि होइन । न मैले विगतमा उनका कुनै टेलिभिजन कार्यक्रम पूरापूर हेरेको छु, न राजनीतिमा आएपछि उनका पूरै भाषण सुनेको छु । मोवाइल स्क्रोल गर्दा फाट्टफुट्ट आउने क्लिपले एउटा व्यक्तिबारे सम्पूर्ण धारणा बनाउन सहयोग गर्दैनथ्यो, मलाई पनि गरेन । समाज विभक्त हुँदा पनि मसँग रविबारे ठोस धारणा थिएन । मैले नै बनाउन सकिन भनौं न ।
जब रवि सहकारी प्रकरणमा प्रक्राउ परे, तब मैले उनीबारे हल्का चासो दिन थालेँ । क्रिया-प्रतिक्रियालाई अलि गहिरिएर सुन्न र विश्लेषण गर्न थालेँ । पूर्णतः निष्कर्षमा अझैँ पुगिसकेको छैन । त्यसैले अझै उनीबारे प्रष्ट धारणा बनाउन सकेको छैन ।
तर, करिब एक वर्षयताका घटनाक्रम विश्लेषण गर्दा एउटा निष्कर्षमा चाहिँ पुगेको छु- राजनीतिमा नआएको भए रविमाथि यो झमेला आउने थिएन । अझ, राजनीतिमा आएर पनि पुराना दल/नेतालाई नदुत्कारेको भए उनले यो हदको हैरानी र मुद्दा-मामिला खेप्नु पर्दैन्थ्यो नै ।
चितवन-२ ले रविलाई ऐतिहासिक मतान्तरले मात्रै जिताएन, देशभरका मतदाताले उनी नेतृत्वको दल रास्वपालाई स्थापनाको ६ महिनामै चौथो राजनीतिक शक्तिको पहिचान दिए । रास्वपा र रविलाई जनस्तरले न्यानो स्वागतसहित सम्भावित विश्वासको आधार तयार गर्दासमेत अधिकांशलाई भने उनको राजनीतिक उपस्थिति पचेको थिएन ।
रविको सेखी र लोकप्रियता झार्न सारा शक्तिले मोर्चाबन्दी गरे । हुँदा-हुँदा तत्कालीन प्रधानमन्त्री ओलीसँग विछट्टै बिच्किएका र पानी बाराबारको अवस्थामा पुगेका बालेन्द्र साहले समेत रविलाई थुनिरहँदा क्रेज बढ्यो, मिलाएर छोड्दिनु पर्यो भनेर बालुवाटारतिर दूतसमेत पठाएका थिए रे !
पुराना भनिने राजनीतिक दल/नेताले आफ्नो भाग खोस्न आएजसरी चित्रित गरे, (कु) प्रचार गराए । सत्ताको अंशियार बनाएर बिटुल्याए समेत । सञ्चार माध्यमको बहुसंख्यक हिस्सा खलपात्रका रूपमा स्थापित गराउन हातै घोएर लाग्यो । कथित विचार निर्माता वा प्रवुद्ध भनिनेहरूले जेलेनेस्कीको नेपाली स्वरूप भन्दै बद्ख्वाइँ गरिरहे ।
चौतर्फी प्रहारबीच पनि जनस्तरमा बढ्दो रविको लोकप्रियताको ग्राफले औडाहा भएको राजनीतिक नेतृत्वले मुद्दा लगायो । र, मुद्दा उनको कमजोरीका लागि हो वा प्रतिरोधका लागि हो, यसमा गहिरो अध्ययन नभएका कारण यसै भन्न सक्दिन । तर, उस्तै प्रकृतिका आरोप लाग्ने नेताहरू खुलेआम रहेकाले रविविरुद्ध मात्रै गलत नियत राखियो कि भन्ने आशंका मेरो अन्तर मनमा कतै न कतै छ ।
तत्कालीन सरकारको नियत गलत हुँदैनथ्यो भने लाग्नै पर्दा पनि रविविरुद्ध सहकारी सम्बद्ध मात्रै मुद्दा लगाइन्थ्यो होला । ठाउँ-ठाउँका अदालतमा विचाराधीन रहेको र अन्तरबस्तुमा धेरै ज्ञान नभएको कारण मुद्दाबारे म धेरै भन्न सक्दिनँ । तर, मुद्दा दर्ताको नियतबारे चाहिँ जोसुकैसँग पनि तथ्य र तर्कसहित बहस गर्न सक्छु।
गएको कात्तिक २ गते यताको अधिकांश समय रवि कि प्रहरीको हिसारतमा छन् कि थुनुवाको रूपमा कारागारमा । पाँच-पाँचवटा अदालतमा मुद्दा खेपिरहेको र सर्वोच्च अदालतले समेत पुर्पक्षका लागि थुनामा पठाएको निरीह रविविरुद्ध सामूहिक प्रहार चाहिँ हिजोभन्दा आज झन् बढे/बढाइएको छ । किन ?
किनकि, रवि शक्तिमा आउलान् भन्ने डरले दपेटेको छ सबै-सबैलाई । सबै भनेको- नयाँ-पुराना राजनीतिक दल, राजनीतिमा संगठित हुने प्रयासमा रहेका स्वतन्त्र समूह, सञ्चार माध्यम, कथित विचार निर्माता वा प्रवुद्ध समूह आदि ।
रवि कारागारमा थिए/छन् । तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हरेक सार्वजनिक कार्यक्रममा उनको चर्को आलोचना गर्थे । कांग्रेस र एमालेले उनकै निन्दाबाट संसद बैठक सुरूआत गर्थे ।
पत्रपत्रिकाले हेडलाइन मात्र होइन सम्पादकीय र ओपेडसम्मका पाना रविको आलोचनाको खर्चिए । न्यूजपोर्टलहरूले अर्कै लोकको रहस्यमय पात्र झैँ काल्पनिक कथाका प्लट लेखिरहे । टेलिभिजनका रिपोर्ट हुन् या अन्तर्वार्ता वा बहस रविबिना अधुरा भए ।
कथित विचार निर्माता वा प्रवुद्ध भनिनेहरूले रविकै चर्चा गरेर चियाको कपमा तुफान सिर्जना गर्न खोजे ।
रविको सेखी र लोकप्रियता झार्न सारा शक्तिले मोर्चाबन्दी गरे । हुँदा-हुँदा तत्कालीन प्रधानमन्त्री ओलीसँग विछट्टै बिच्किएका र पानी बाराबारको अवस्थामा पुगेका बालेन्द्र साहले समेत रविलाई थुनिरहँदा क्रेज बढ्यो, मिलाएर छोड्दिनु पर्यो भनेर बालुवाटारतिर दूतसमेत पठाएका थिए रे !
हेर्नुस् त पुरानादेखि नयाँ भनिनेसम्मको मोर्चाबन्दी ।
०००
सत्य स्वीकार्न गाह्रो हुन्छ । तर, सत्य- सत्य नै हुन्छ ।
रवि नेतृत्वको दल रास्वपा संसदमा आएपछि नै हो, पुराना राजनीतिक दलहरूले शासन, सत्ता र शक्तिका लागि गरेका सानाभन्दा साना हर्कत एक्सपोज भएको । रवि सम्भवतः पहिलो मन्त्री होलान्, जसले पच्चीस वटा ठूला काण्ड र राजनीतिक नेतृत्व एवं उच्च पदस्थहरूको सम्पत्ति छानबिन गराउँछु भनेर संसदको रोष्टमबाटै उद्घोष गर्ने ।
अर्थात्, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा जनस्तरलाई जागरणको पछिल्लो उचाइमा पुर्याउने श्रेय रास्वपा र रविलाई जान्छ नै, जस दिन जति नै कञ्जुस्याइँ गरे पनि ।
तर, जनताबीच लुक्ने, पर्दाभित्र बस्ने र अरुकै इसारामा चल्ने एक रहस्यमय पात्रलेसमेत सामाजिक सञ्जालमा ‘गो ब्याक रवि’ अभियान चलाउन अगुवाइ गरे । यसले पुष्टि गर्छ, उनले पनि रविलाई सहकर्मी होइन, प्रतिस्पर्धी ठानिरहेका छन् । र, रवि कमजोर नभई आफू बलियो भइन्न भन्ने निष्कर्षमा पुगेका छन् ।
हिजो पुरानाहरूले रविको खेदो खन्थे, आज नयाँहरू पनि मिसिएका छन् ।
अर्थात्, कारागारमा रहेको एक निरीह रविविरुद्ध घोषित-अघोषित रूपमा सबै एकै ठाउँमा छन् । तर, यसको प्रतिवाद असंगठित नागरिकले भने निरन्तर गरिरहेका छन्। करिब चालीस लाख हस्ताक्षर जनप्रतिवादकै अंश हो ।
पछिल्लो समय रविलाई थप बद्नाम गराउन दुईवटा विषय उछालिएको छ- नख्खु प्रकरण र अदालतमा आगजनी ।
यहाँ मैले रविको वकालत गर्न खोजेको होइन, देखेका-बुझेका तथ्य र घटनाक्रम राख्दिन मात्रै खोजेको हुँ । कुप्रचारलाई न्यूनीकरण गरेर रविलाई केही फाइदा भयो भने संयोग मात्र हुनेछ ।
भदौ २४ गते सुरक्षाका कारण रविलाई नख्खु कारागारबाट निकालियो । आन्दोलनका कारण सुरक्षा संवेदनशीलता बढेको र उनको सुरक्षामा समेत थ्रेट हुन सक्ने भन्दै कारागार प्रशासनले बुझ्न आउन परिवार र पार्टीलाई खबर गरेको रहेछ ।
कागजी प्रक्रियासमेत पूरा गरेर उनी निस्किए । उनलाई प्रहरीको एक समूहले गेटसम्म छोड्न आएको दृष्यसमेत बाहिरिसकेको छ । त्यसैले भागे भनेर कुप्रचार गर्नुको उद्देश्य उनको थप बद्नाम गर्नुमात्र हो ।
बाहिरको घटनाक्रम, परिस्थिति, सुरक्षा अवस्थाबारे भित्र रहेका रविलाई जानकारी हुने कुरै भएन । कारागार प्रशासनले प्रक्रिया पुर्याएर जिम्मा लगाएपछि उनी निस्किए त के भयो ? यहाँ पठाउनेबाट ठूलो गल्ती भएको छ कि निस्किनेबाट, सोच्नुस् ।
आन्दोलन चर्किएको र कारागारसमेत असुरक्षित रहेको भनिएका बेला रास्वपाका नेता र सदस्य रविकै सुरक्षाका लागि नख्खु पुग्नु के अनौठो थियो र ? पार्टी सभापतिलाई व्यवस्थित र सुरक्षित गन्तब्यमा पुर्याउन खोज्नु अपराध हो ?
कारागार प्रशासनले बुझ्न आउन नभनेको भए न परिवारका सदस्य नख्खु पुग्थे, न रास्वपाका नेता/कार्यकर्ता ।
पार्टीका सदस्य, शुभेच्छुक भेला भएको ठाउँमा रविले हात हल्लाए, धन्यवाद भने, गाडीमा जाँदा निस्किएर अभिभावदन गरे, त्यत्ति होइन ? के रविमा सामान्य मानवीय संवेदना हुनु नै अपराध हो ?
कारागारले प्रक्रिया पूरा गरेर बाहिर पठाएको छ । पार्टीका नेता/सदस्यले हार्दिकतापूर्वक स्वागत र सुरक्षा दिएर गन्तब्यमा लगेका छन् । भएको यत्ति होइन?
कारागारबाट बाहिर पठाइएको दोस्रो दिन रविले भिडिओमा भनेका छन्- ‘प्रक्रिया पूरा भयो भनेपछि आफैँ निस्किएको पनि होइन, निकालिएको हो । बाहिर आएपछि पनि प्रहरी-प्रशासनसँग सम्पर्क गरेको छु । परिस्थिति केही सहज भएपछि र उहाँहरूले जानकारी दिएपछि फर्किन्छु ।’
उनी फर्किसके पनि ।
सुरक्षाका कारण बाहिर पठाइयो । र, सुरक्षा संवेदनशीलता हटेपछि रवि भित्र गए । भएको यत्ति होइन ? अनि, यहाँ रविबाट के अपराध भयो हँ ?
रविमाथि अर्को आरोप पनि लगाइयो- उनी नख्खुबाट निस्किएका कारण देशैभरका कारागारबाट कैदी, बन्दी, थुनुवा निस्किए ।
रविलाई सुरक्षा दिन नसकेजस्तै अन्यलाई पनि सुरक्षाको प्रत्याभूति भएन होला, निस्किए त । सुरक्षा दिन नसक्नु राज्यको कमजोरी कि रविको ?
राज्यको कमजोरीमा समेत रविमाथि आक्षेप, अन्यायको हद भनेको यही हो ।
नख्खुबाट रवि निस्किनुअघि नै कैलाली कारागारबाट कैदी, बन्दी बाहिरिएका थिए । तर, प्रचार चाहिँ रवि निस्किएपछि सारा कैदी निस्किए भनेर गराइयो ।
०००
अर्को, रविको मुद्दा भएका जति अदालतमा आगजनी गरियो भन्ने हल्ला ।
सर्वसाधारण भएका कारण स्रोतसम्म पुगेर औपचारिक सूचना माग्न सकिन । तर, अनौपचारिक रूपमा खोज्दा चौध वटा अदालतमा आगजनी र तोडफोड भएको रहेछ ।
रविको मुद्दा त पाँचवटा जिल्ला अदालतमा छ क्यारे । अरु अदालतमा चाहिँ कसले र किन आगजनी र तोडफोड गर्यो त ?
सर्वोच्च अदालतमा त रविको मुद्दा थिएन, किन आगजनी गरियो ?
जहाँ–जहाँका सरकारी कार्यालयमा धेरै क्षति पुर्याइयो, त्यहाँका अदालत पनि स्वतः आन्दोलनकारीको निसानामा परे, यही होइन र यथार्थ ?
आन्दोलन चर्किएको र कारागारसमेत असुरक्षित रहेको भनिएका बेला रास्वपाका नेता र सदस्य रविकै सुरक्षाका लागि नख्खु पुग्नु के अनौठो थियो र ? पार्टी सभापतिलाई व्यवस्थित र सुरक्षित गन्तब्यमा पुर्याउन खोज्नु अपराध हो ?
यो तथ्य स्वीकार्न गाह्रो हुनेले शंकास्पद हल्ला गरिरहेका हुन् ।
कास्की जिल्ला अदालतमा रविको मिसिल रहेको तीन नम्बर फाँटमा पहिला आगजनी गरियो रे !
कतिपयले समाचार पनि बनाए- ‘आन्दोलनकारीले सुरूको निशाना नै अदालतको ३ नम्बर फाँटलाई गराएका थिए । जहाँ रविको मुद्दाका मिसिल थिए । रविले तारिख बुझ्ने फाँटसमेत त्यही थियो ।’
अनि, पुष्टि गर्न राखिएको अदालतका सूचना अधिकारी रामबहादुर किसानले चाहिँ भनेका छन्, ‘सीसीटिभी फुटेज रहेको हार्डडिक्स हेरेपछि थप पुष्टि हुन्छ ।’
यसबाट प्रष्ट हुन्छ, अपुष्ट कुरालाई हल्लाको आधार बनाइयो । र, हल्लाकै भरमा समाचारसमेत लेखियो/लेखाइयो।
अर्को कुरा, अदालतमा रहेको मिसिल जलाएर मुद्दा कमजोर हुने वा सकिने हो र ?
अदालतसँग मिसिल डिजिटल पनि होला । नभए, सरकारी वकीलसँग हुन्छ नै। सरकारी वकीलसँगको पनि सुरक्षित नरहेको भए प्रतिवादी पक्षसँग होला । रविका वकीलसँग त पक्कै छ ।
अदालतले रविका वकीलसँग भएको मिसिल झिकाएर मुद्दाको सुनुवाइ गर्न सक्छ भन्ने सामान्य ज्ञानसमेत नराखी प्रचार गराउनुको उद्देश्य के, रविको थप बद्नामी होइन ?
०००
जेनजी आन्दोलनपछि ध्यान दिनुपर्ने मूल विषय के हो ?
भदौ २३ गते भएका मानवता विरोधी अपराध र २४ गतेको विध्वंशको छानबिन र निर्वाचनको वातावरण निर्माण होइन ?
भदौ २३ को निर्मम घटनाका नाइके केपी ओली र रमेश लेखकहरूले टाउको उठाइसके । जेनजी विद्रोहका उपलब्धीलाई संस्थागत गर्न नदिन पुराना दलहरूले मोर्चाबन्दीको कसरत थालिसके । तर, नेपालका सञ्चार माध्यम, कथित विचार निर्माता र सदावहार निन्दक र केही विचौलिया भने खबरदारी गर्नुपर्नेप्रति क्रमशः चुप लाग्दै छन् । अनि, रवि लामिछानेको पछि लागेका छन् । तिनलाई देश बर्बाद गर्ने ओली, देउवा वा दाहाललाई होइन देश बनाउँछु भनेर आएका रवि लामिछानेलाई सक्न हतार भएको छ । किन ?
किनकि, तिनीहरू यथास्थितिवादी हुन् । अग्रगमनका विरोधी हुन् । मुलुक अग्रगमनमा गए, आफ्नो गोरखधन्दामा धक्का लाग्ला भन्ने चिन्ता छ । देशमा विधिको शासन स्थापित भए, सुशासन कायम रहे, भ्रष्टाचार नियन्त्रण भए कसरी पालिने भन्नेमा चिन्तित छन् तिनीहरू ।
एक वर्षयताका घटनाक्रम विश्लेषण गर्दा एउटा निष्कर्षमा चाहिँ पुगेको छु- राजनीतिमा नआएको भए रविमाथि यो झमेला आउने थिएन । अझ, राजनीतिमा आएर पनि पुराना दल/नेतालाई नदुत्कारेको भए उनले यो हदको हैरानी र मुद्दा-मामिला खेप्नु पर्दैन्थ्यो नै ।
तिनीहरूलाई देशको होइन, जनताको पनि होइन सिर्फ आफ्नो चिन्ता छ ।
मान्नुस्-नमान्नुस्, यो देशको एउटा शक्ति रास्वपा हो, रवि हो । सबैलाई मिलाएर संक्रमणकाल छिटो टुंग्याएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नुपर्ने छ । तर, एउटा शक्ति र त्यसको नेतृत्वको निरन्तर बद्ख्वाइँ वा निन्दा गरेर, अनावश्यक शंका गरेर, हुँदै नभएको आरोप लगाएर के गर्न खोजिरहेका छन् केही स्वार्थ समूह, त्यो शक्तिलाई थप बिच्काउन हो ?
यो या त्यो कारणले करिब चालीस लाख मान्छेले विश्वास व्यक्त गरेको शक्ति र व्यक्तिमाथि मात्र शंकाको भरमा भइरहेको निरन्तर प्रहारले अर्को विद्रोहको बीऊ रोप्न सक्छ । के यो देशका सञ्चार माध्यम, कथित विचार निर्माता, सदावहार निन्दक र केही विचौलियाहरूले चाहेकै त्यही हो ?
हो भने परिस्थिति त्यसैतर्फ उन्मुख हुन सक्छ ।
एक जिम्मेवार नागरिकका रूपमा मैले सम्भावित खतरा औंल्याइदिएको मात्रै हुँ, रवि वा रास्वपाको समर्थन गरेको होइन, पटक्कै होइन ।
फेरि भन्छु, म रास्वपाको सदस्य, शुभेच्छुक वा शुभचिन्तक होइन । विगतको मतदाता पनि होइन, सायद भविष्यको पनि नहुन सक्छु ।