Tag: टप न्यूज

  • क्रियाशील सदस्यता टुङ्ग्याउन जुट्यो कांग्रेस- २ दिनभित्र फाराम देशभर पठाउन निर्देशन

    क्रियाशील सदस्यता टुङ्ग्याउन जुट्यो कांग्रेस- २ दिनभित्र फाराम देशभर पठाउन निर्देशन

    काठमाडौं । १५ औँ महाधिवेशनको मिति घोषणा भएसँगै नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी गरेको छ ।

    महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।

    समितिका सदस्य प्रकाश रसाइली स्नेहीले भने, ‘हामीले अब दुई दिनभित्र नयाँ सदस्यताको फर्म देशभर पुर्‍याउँछौं । जनसङ्ख्या र क्लस्टर संरचनालाई समेत मापदण्डका रूपमा प्रयोग गरेर सदस्यताको विषय तोकिएको सयमै हामीले सम्पन्न गराउँछौँ ।’

    सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने बताए। भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको बताए ।

    महामन्त्री थापा संयोजक रहेको समितिमा स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

  • तस्बिरमा योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस

    तस्बिरमा योमरी पुन्ही तथा राष्ट्रिय ज्यापु दिवस

    काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ ।

    मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ ।

    नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले यो:मरी पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन् ।

    यस वर्षको यो:मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा, त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ ।

    यो:मरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ । नेवार समुदायको ठूलो मानिने यो पर्वलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।

    काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरूले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन् ।

    तस्बिरहरू : NPL

  • कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

    कांग्रेसले राष्ट्रियसभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने

    काठमाडौं । नेपाली कांग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ ।

    केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरूलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो ।

    ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन’ परिपत्रमा भनिएको छ, ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारको रूपमा सिफारिस गर्न पाइने छैन ।’

    यसअघि १० बुँदे मापदण्डसहित पठाएको परिपत्रमा ०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख छ ।

    यस्तै, ०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्ति, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूलाई समेत कांग्रेसले उम्मेदवार बन्न रोकेको छ ।

  • एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • जिन्दगानी घाटको नौकाविहार : प्राकृतिक रसस्वादनको अवसर (तस्बिरहरू)

    जिन्दगानी घाटको नौकाविहार : प्राकृतिक रसस्वादनको अवसर (तस्बिरहरू)

    चितवन । नेपालको मुख्य पर्यटकीय गन्तव्य हो चितवन । पर्यटकीय नगरी चितवनको सौराहा विश्वभर परिचित छ ।

    चितवन राष्ट्रिय निकुञ्जको सीमाना- राप्ती किनाराको बस्ती हो सौराहा । यहाँ विशेष गरी एकसिङे गैँडा र बाघको अवलोकन गर्न सकिन्छ । यहाँको शान्त मनोरम दृष्यले पर्यटकलाई आह्लादित बनाउँछ ।

    भीडभाड र बढ्दो भौतिक संरचना निर्माणले प्राकृतिक सुन्दरतामा ह्रास आएको गुनासो सुनिन्छ । पर्यटकको गुनासो कम गर्न र प्रकृतिको प्रवर्धन गर्न सौराहामा जलविहारको सुविधा थप गरिएको छ ।

    चितवन राष्ट्रिय निकुञ्जको अनुमतिमा सौराहामा जलमार्गको गन्तव्य थप गरिएको हो । यहाँ नौकाविहार गर्न सक्ने तीन वटा गन्तव्य पहिले नै छन् । चितवन राष्ट्रिय निकुञ्जलाई सीमा बनाएर बग्ने राप्ती नदी, बुढी राप्ती, ढुङग्रेखोला र नारायणी नदीमा डुङ्गाशयर र जलयात्राको सुविधा छ ।

    यी सुविधाबाहेक नौकाविहारका लागि अर्को एउटा गन्तव्य थपिएको छ । जहाँ जङ्गल सफारीको मनोरञ्जन, सीमसार अवलोकन, विभिन्न प्रजातिका चरा, जङ्‍गली जनावर र गोहीलगायतका जलचरको अवलोकन गर्न पाइन्छ ।

    जिन्दगानी घाटदेखि भीमपुर घाटसम्म सञ्चालन भइरहेको जलयात्राले सौराहाको पर्यटनमा अझ विविधता थपेको छ । राप्ती नदीको सङ्लो र कलकल पानीको सङ्‍गीतमा पर्यटकले अनुपम आनन्द लिन सक्छन् ।

    स्थानीय पर्यटन व्यवसायीले सञ्चालन गरेको जलयात्राको दूरी करिब ६ किलोमिटर छ । एक घण्टादेखि सवा घण्टासम्म नौकाविहार गर्न सकिने यो गन्तव्य अद्भूत रहेको सञ्चालक बासु ढुङ्गाना बताउँछन् ।

    निकुञ्जको क्षेत्र विस्तारका लागि खाली गराइएको पुरानो बस्ती पदमपुर यो यात्राका क्रममा भेटिन्छ । जहाँ अधिकांश आदिवासी थारुको बसोबास थियो । सरकारले उनीहरुलाई हालको कालिका नगरपालिकामा स्थानान्तरण गराएको छ । खेतीपाती गरिएको र मलिलो माटो रहेको यो क्षेत्र वन्यजन्तु साथै चराचुरुङ्गीका लागि उपयुक्त बासस्थान रहेको ढुङ्गाना बताउँछन् ।

    सिङ्‍गो पदमपुर गाउँ स्थानान्तरणपछि यो क्षेत्र शान्त छ । यहाँको यात्रामा मानिसले निर्माण गरेका भौतिक संरचना देख्नु पर्दैन । केवल चराचुरुङ्गीको चिर्बिराहट, हात्ती, गैँडाका आवाज अनि मौसम खुलेको दिन राप्तिको कलकल बगेको पानी, पहाड र हिमालको अभूतपूर्व दृष्यावलोकन गर्न सकिन्छ ।

    डुङ्गा शयरका क्रममा दुई किसिमका गोही, चिसो मौसममा बसाइँ सरी आउने चरा, बाघ, गैँडा, जंगली हात्ती देख्न सकिने ३५ वर्षदेखि नेचरगाइडको काम गरिरहेका रामप्रसाद पराजुली बताउँछन् ।

    यहाँ भीडभाड छैन । मानव निर्मित भौतिक संरचना छैनन् । पर्यटकहरुले यो क्षेत्र रुचाउनुको कारण नै यहाँको शान्त र मनोरम वातावरण रहेको नेचरगाइड पराजुलीको भनाइ छ ।

    सौराहाको नयाँ गन्तव्य ‘जिन्दगानी घाट’ का केही तस्बिर हेरौँ

     

    तस्बिरहरू : कोमलचन्द्र भगत ।

  • कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    कुलमान इंगित शंकरको टिप्पणी– लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले

    दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ हटाउन योजना बनाउनेले जस नपाई तेस्रो पक्षले त्यसकै नाममा पार्टी खोलेको टिप्पणी गरेका छन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ‘उज्यलो नेपाल पार्टी’ घोषणा गरेकामा इंगित गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन्, ‘लोडसेडिङविरुद्ध उज्यालो नेपालको योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले । जसको योजना उसैलाई श्रेय दिने कहिले ?’

    उनले नेपाललाई लोडसेडिङमुक्त गर्ने योजना एमाले अध्यक्ष केपी शर्मा ओलीको भएको दाबी गर्दै आएका छन् ।

    पोखरेलले ७ मंसिर २०८१ मा काठमाडौँको दरबारमार्गमा एमालेले गरेको जागरणसभामा भनेका थिए, ‘केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घण्टा लोडसेडिङ हुन्थ्यो । आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो ।’

  • सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

    सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

    चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी पर्यटकको होटलको छतबाट खसेर ज्यान गएको छ ।

    रत्नननगर नगरपालिका वडा नम्बर ६, सौराहामा रहेको होटल पार्क साइटको चार तला माथिबाट खसेर ज्यान गएको चितवन प्रहरीले जानकारी दिएको छ ।

    चितवनमा प्रहरी प्रवक्ता रविन्द्र खनालका अनुसार सिन्धुली कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षकी स्नेहा पाख्रिनको ज्यान गएको हो ।

    बुधबार राति ११ बजेर १० मिनेट जाँदा होटलको छतबाट खसेर गम्भीर घाइते भएकी पाख्रिनको उपचारक्रममा बकुलहर अस्पतालमा ज्यान गएको डिएसपी खनालले जानकारी दिए ।

  • मधेशमा राजनीतिक अस्थिरताः ५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

    मधेशमा राजनीतिक अस्थिरताः ५१ दिनमा ३ मुख्यमन्त्रीको राजीनामा

    काठमाडौँ । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएका छन् । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सर्वोच्च अदालतमा कार्तिक २४ गते र कार्तिक २५ गते रिट दर्ता भएपछि उनलाई सर्वोच्चकै आदेश अनुसार चाँडै विश्वासको मत लिनु पर्ने बाध्यता आइलाग्यो ।

    मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनु प्रावधानमा पनि उनले टेक्न पाएनन् र २२ औँ दिनमा उनले राजीनामा दिए । मन्त्रिपरिषद् विस्तारसमेत गर्न भ्याएनन् ।

    सोमबार अबेर साँझ २४ घण्टा भित्र विश्वासको मत लिन परमादेश जारी भयो । विश्वासको मत लिन बुधबार बोलाइएको प्रदेशसभा बैठकमा मन्तव्य राख्दै उनले राजीनामा घोषणा गरे ।

    उसो त उनी अघिका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को पनि उस्तै अवस्था बन्यो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट मुख्यमन्त्री बनेका सोनलले कार्तिक २२ गते राजीनामा दिनु पर्यो । आफ्नै गठबन्धनका दुई सांसद रहबर अन्सारी र माला कर्णले मत कसैलाई नदिने भनेपछि मुख्यमन्त्री सोनलले विश्वासको मत लिनु अघि नै राजीनामाको घोषणा गरे ।

    सोनलअघि जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिश कुमार सिंहले असोज २८ गते राजीनामा दिनु पर्यो । उनको आफ्नै पार्टी जनमत नै सरकारबाट फिर्ता भएपछि उनले विश्वासको मत लिन समय माग्दै राजीनामा दिएका हुन् ।

    २०८२ जेठ २३ गते जसपा नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले प्रदेशसभाबाट विश्वासको मत गुमाएपछि २०८२ साल जेठ २५ गते जनमतबाट सतिश कुमार सिंह नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति र संघिय समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

    भदौ २३ गते देशभर चर्किएको जेन्जी आन्दोलनपछि मुख्यमन्त्री सिंहले सामाजिक सञ्जालमार्फत २०८२ साल भदौ २४ गते पदबाट राजीनामा दिएका थिए । तर पछि मुख्यमन्त्री सिंह सामाजिक सञ्जालमार्फत दिएको राजीनामाबाट पछि हटेपछि उनीविरुद्ध जनमत पार्टीका साथै सत्तारुढ दल नै विपक्षमा उभिएका थिए ।

    त्यसपछि लोसपाका जितेन्द्र सोनल ६ दलका ५७ प्रदेशसभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

    कात्तिक २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई कात्तिक २४ गते बिहानै साढे ५ बजे बर्दिबासको एक होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएकी थिइन् ।

    यो घटनाक्रमपटि संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गरे भने पछि मधेश प्रदेश सभाका दुई तिहाइ बहुमत सदस्यले एमालेबाटै सभामुख भएका रामचन्द्र मण्डललाई पनि हटाए ।

    २२ औँ दिनमा मुख्यमन्त्री सरोज यादवले पनि बहुमत नपुग्ने देखिएपछि राजीनामा दिए । यसरी ५१ दिनमा मधेशमा ३ मुख्यमन्त्रीको राजीनामापछि अर्को मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सुरेन्द्र लाभले दाबी गर्न बुधबार आह्वान गरेका छन् ।

  • काठमाडौँमा आज दिनभर आंशिक बदली रहने

    काठमाडौँमा आज दिनभर आंशिक बदली रहने

    काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आज राति देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहने छ ।

    काठमाडौँ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियसबीच रहने अनुमान छ ।

  • एनपिएलः आज दुई खेल हुने

    एनपिएलः आज दुई खेल हुने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।

    पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

    पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

    प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

    सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

  • मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

    मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

    काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।

    किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् ।

    लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन शुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।

    किरात संस्कृतिबारे अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले मनाउने यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउँछन् ।

    किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ ।

    भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।

    ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । लिम्बूहरूले युमासामाङ र थेवासामाङलाई आफ्नो इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङलाई आफ्नो देवताका रूपमा पुज्ने गर्छन् । तागेरा निङ्वाफुमाङलाई आकृति विनाको अदृश्य शक्ति मानिने भएकाले मूूर्ति वा प्रतिमा नहुने भनाइ छ ।

    पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।

    वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । जसलाई पर्यावरण अनुकूलताअनुरुपका कामका रूपमा समेत लिइने अनुसन्धाता राईले बताए । जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने रूपमा पनि उँधौली र उँभौली पर्वलाई लिने गरिन्छ ।

    उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।

    खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।

  • राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

    प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताएका छन् ।

    ‘विभिन्न जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपालीको पहिचान कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । यस पर्वले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्ध, वातावरण अनुकूल जीवन व्यवस्थापन, एकता, सहकार्य, सांस्कृतिक संरक्षण, श्रमको सम्मान, पूर्वजप्रतिको आस्थालाई अझ मजबुत बनाउन सहयोग पु¥याएको महसुस गरेको छु,’ सन्देशमा उनले भनेका छन् ।

    उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।

    किराँत समुदायका मूलत राई, लिम्बु, सुनुवार र याक्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रमका साथ मनाउने गरेका छन् ।

    उधौलीपर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा पनि गर्ने गरिन्छ ।

  • एमालेमा नयाँ ट्रेन्ड : पोस्टर हालेर कित्ता खुलाउँदै नेता

    एमालेमा नयाँ ट्रेन्ड : पोस्टर हालेर कित्ता खुलाउँदै नेता

    काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिएसँगै नेता-कार्यकर्ताबीच रस्साकस्सी सुरु भएको छ । नेतादेखि कार्यकर्तासम्म कित्ताकाटसहित प्रचारप्रसारमा लागेका छन् ।

    संस्थापन पक्ष अध्यक्ष केपी शर्मा ओली नेतृत्वको विकल्प नरहेको भन्दै प्रचारमा जुटेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह पनि काउन्टरसाथ प्रचारमा उत्रिएका छन् ।

    संस्थापन समूह प्रोष्टर प्रचारमा लागेसँगै पोखरेल समूह पनि सामाजिक सञ्जालमा तातिएका छन् । प्रतिनिधि छनौट सकिएसँगै महाधिवेशन लक्षित प्यानल निर्माण, आकांक्षीहरूको दौडधुप बढेको छ ।

    पोखरेलको टीमलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थन छ । केन्द्रमा दुई समूह बनेपछि यसको छाया गाउँसम्म देखिन थालेको छ । संस्थापन पक्षले बनाएका प्रचार सामग्री स्थानीय तहसम्म रहेका उनी पक्षका कार्यकर्ताले प्रचार गरेका छन् भने पोखरेल पक्षले तयार गरेका सामग्री पनि बिस्तारै बाहिर आउन थालेका हुन् ।

    भावी अध्यक्षका लागि ओली-पोखरेल खुलेर मैदानमा उत्रिएसँगै ओलीनिकटकाले ‘ओलीको ब्राण्डिङ’ लाई केन्द्रमा राखेर अभियान चलाइरहेको छ ।

    संस्थापन पक्षका विष्णु पौडेल, शंकर पोखरेल, पीएस गुरुङ, प्रदीप ज्ञवालीलगायतका नेताले ‘मेरो होइन माटोको बोली, फेरि एक पटक केपी ओली’, ‘जोगाउन देशको अस्तित्व पुनः केपी ओलीको नेतृत्व’ जस्ता नारा लेखिएको पोष्टर बनाएर प्रचार गरेका छन् ।

    त्यस्तै पोखरेलको समूहकाले ‘जोगाउन लोकतन्त्र र देशको अस्तित्व, एमालेमा दृढ र सन्तुलित नेतृत्व’ लेखिएको पोष्टर सार्वजनिक गरेका छन् । यो समूहका नेताको पोष्टरको पृष्ठभूमिका मदन भण्डारीको फोटो राखिएको छ ।

    अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, गोकुल बास्कोटासहितले नेतृत्व परिवर्तनको आवाजसहितको पोष्टर प्रचारमा ल्याएका छन् । ईश्वर पोखरेल राखिएको एक पोष्टरमा ‘लोकतान्त्रिक पार्टी समुन्नत देश, नयाँ नेतृत्व नयाँ सन्देश’ नारा लेखिएको छ ।

    प्रतिनिधि छनोटसँगै दुवै पक्षमा विभिन्न पदका आकांक्षीको दौडधुप पनि सुरु भएको छ । महासचिवदेखि उपमहासचिव र सचिवसम्म पदाधिकारीमा दर्जनौँ आकांक्षी देखिएका छन् । यद्यपि अहिलेसम्म दुवै समूहले प्यानल सार्वजनिक गरेका छैनन् ।

    अहिलेसम्म दुवैतिरको प्यानल घोषणा भएको छैन । उनीहरू ‘पर्ख र हेर’ को स्थितिमा रहेको बताइन्छ । केही नेतालाई आफ्नो पक्षमा पार्न दुवैतिर संवादमा रहेको बताइन्छ ।

    एमालेको ११औँ महाधिवेशन यही २७-२९ मा काठमाडौंमा हुँदैछ ।

  • प्रधानन्यायाधीश र न्यायाधीशहरुले र्‍याखर्‍याख्ती पारेपछि इजलासमै फेन्ट भए युवा वकिल

    प्रधानन्यायाधीश र न्यायाधीशहरुले र्‍याखर्‍याख्ती पारेपछि इजलासमै फेन्ट भए युवा वकिल

    काठमाडौं । सर्वोच्च अदालतमा बहसका क्रममा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले फरक प्रसंग निकालेर र्याखर्याख्ती पारेपछि आज इजलासमै एक वकिल ढलेका छन् । एमालेले संसद विघटनविरुद्ध हालेको रिटमा बहस हुनुभन्दा अगाडिको इजलासमा यो घटना भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी निकट युवा अधिवक्ता सुलभ खरेल एउटा भ्रष्टाचारसम्वन्ध व्यक्तिकेन्द्रीत मुद्दामा बहसका लागि खडा भएका थिए । उनीसँगै निवेदकको तर्फबाट बहस गरिरहेका थिए वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई । भट्टराईकै ल फर्ममा काम गर्छन् अधिवक्ता खरेल ।

    यो बहस लगत्तै एमालेको मुद्दामा बहस हुने भएकाले त्यसका निवेदक र वकिलहरूसमेत इजलासमा उपस्थित भइसकेका थिए । खरेलले बहस सुरु गर्नुअघि प्रधानन्यायाधीश र न्यायाधीशले उनीमाथि आचरणजन्य सवालहरू गर्न थाले । ती सवाल थिए खरेलले गत जेनजी आन्दोलनका क्रममा फेसबुकमा लेखेका स्टाटसहरुबारे ।

    गत भदौ २४ गतेको जेनजी आन्दोलन विध्वंसात्मक बनेपछि सर्वोच्च अदालतमा समेत आगजनी भएको थियो । उक्त आगजनी हुँदै गर्दा खरेलले विवादित स्टाटस लेखेका थिए, जसलाई लिएर उनले पछि माफी मागे ।

    स्टाटस यस्तो थियो:

    सर्वोच्च अदालत जल्दै गर्दा तपाईँको मन रोएको होला, तर मेरो मन एक रत्ती पनि रोएको छैन । नेपाल बार भवन जल्दै गर्दा पनि तपाईँको आँखा रसाएको होला, तर मेरो आँखा एक रत्ती रसाएको छैन । किनकि, त्यही अदालत र त्यही बारमा म शेरबहादुर र केपी ओलीका अनुहारहरू पटक–पटक देख्ने गर्छु । यिनीहरू मेरो आँखामा संवैधानिक चोरहरू हुन् । साँच्चिकै संवैधानिक फटाहाहरू हुन् ।

    अदालतलाई कब्जा गर्ने, बारलाई विकृत गर्ने, अनि जनताको अधिकार चुरोटजस्तै चुस्ने, राजनीतिक स्वार्थमा फैसला भनेर आफ्ना देउताको स्वार्थ अनुकूल निबन्ध लेख्ने यी नेतृत्वहरू नै आजको संकटका मुख्य जिम्मेवार हुन् । अब सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीशहरूको तथा नेपाल बार र मातहत बारहरूको सामूहिक राजीनामा माग्दछ र परीक्षाबाट मात्रै न्यायाधीश नियुक्तिको जोडदार माग राख्दछ । अब न्यायालयको भविष्य अवश्य सुलभ खरेलले लेख्नेछ । नेपालको न्यायालयको जय होस् । विकृत न्यायालय एक रत्ती चाहिँदैन ।

    प्रधानन्यायायीशले सर्वोच्च अदालत जल्दा खुसी मनाउने वकिललाई बहसमा उभिने नैतिकता हुन्छ ? भनेर सोधेका थिए । यसमा खरेलले आफ्नो बचाउ गर्दै पहिल्यै गल्ती महसुस गरेर माफी मागिसकेको बताए । तर, प्रधानन्यायाधीश राउतसहित संवैधानिक इजलासका सबै न्यायाधीशहरु एकसाथ खनिन थालेपछि खरेल रातोपिरो बने । अनुहारबाट चिटचिट पसिना आइरहेको थियो । ३–४ मिनेटपछि उनी भक्लक्कै लडे ।

    वकिल ढलेपछि अदालतमा स्तब्धता छाएको थियो । खरेलको पछाडि रहेका एमालेका नेता महेश बर्तौलाले उनलाई उठाए र कुर्सीमा राखे । पानी पिउन दिइयो । एक मिनेटभित्रै खरेलको होस खुलेको थियो ।

    खरेल होसमा आएपछि बहसलाई निरन्तरता दिइयो । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले खरेलको स्टाटसका लागि इजलाससामु माफी मागे ।

    खरेलले बल्लतल्ल उठेर आफ्नो थप बचाउ गरे । आफ्नो स्टाटसलाई तोडमोड गरिएको तर आफ्नो आशय अदालत जलाउनुपर्छ भन्ने नभएको दाबी गरे । यद्यपि, आफूले लेखेको विषयमा उनले फेरि क्षमा मागे ।

    यो बहस स्थगन गर्दै प्रधानन्यायाधीसले अधिवक्ता खरेललाई अस्पताल जान सुझाव दिएका थिए ।

    नेपाल प्रेससँग गर्दै खरेलले आफ्नो ब्लड प्रेसर लो भएर ढलेको बताए । उनले भने, ‘त्यहाँबाट निस्किएर ब्लड प्रेसर चेक गराऊँ लो भएको रहेछ । पहिले पनि यदाकदा यस्तो भएको थियो ।’

    प्रधानन्यायाधीश र न्यायाधीशहरुले सोधेका प्रश्नहरूबारे उनले धेरै बोल्न चाहेनन् । खरेलले यति मात्रै भने, ‘उहाँहरूले त्यो विषय कोट्याएपछि अलिकति असहज भएको हो । केही सञ्चारमाध्यममा आएका फेक न्युजहरूलाई आधार बनाएर प्रश्न सोध्दा अलिकति दुख लाग्यो । तर मलाई यसमा केही भन्नु छैन ।’

    खरेल रास्वपासँग निकट छन् । उनले रुपन्देहीमा हुन लागेको उपनिर्वाचनका लागि रास्वपाको प्राइमरी इलेक्सनमा भाग लिएका थिए । उनलाई बलियो दाबेदारका रूपमा हेरिएका थियो । तर, उनी सर्ट लिस्टमा परे पनि अन्तिममा उम्मेदवार छनोट हुन सकेनन् ।

  • एनपीएल–२ : डुप्लेसिस आएको खेलमा विराटनगरको हार, लुम्बिनी ५ विकेटले विजयी

    एनपीएल–२ : डुप्लेसिस आएको खेलमा विराटनगरको हार, लुम्बिनी ५ विकेटले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

    लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले अर्धशतक प्रहार गरे । डार्सीले ४४ बलमा ५७ रनको योगदान दिए । सुमित महर्जन १०, कप्तान रोहित पौडेल ०, सन्दीप जोरा २४ र दिलिप नाथ १६ रनमा आउट भए । निरोशन डिक्वेला २९ र शेर मल्ल एक रनमा अविजित रहे ।

    बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र सुवाश भण्डारीले दुईदुई तथा बसिर अहमदले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो । विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेल ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।

    बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए । यो जितसँगै लुम्बिनीले ६ खेलबाट ६ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट ८ अंक जोडेको विराटनगर तेस्रो स्थानमा छ ।

  • निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो, कुन दलको चिन्ह के ? (सूचीसहित)

    निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो, कुन दलको चिन्ह के ? (सूचीसहित)

    काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको सूची अनुसार आयोगमा अहिलेसम्म दर्ता हुने दलको संख्या १४३ पुगेको छ ।

    दर्ता भएका दलको सूचीको पहिलो नम्बरसँगै दर्ता नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने सूचीको अन्तिम तथा दर्ता नम्बर २३० मा जनअधिकार पार्टी रहेको छ ।

    नारायणमान बिजुक्छे अध्यक्ष रहेको नेमकिपा २०७३ मंसिर ३० मा दर्ता भएको हो भने शरदसिंह यादव संयोजक रहेको जनअधिकार पार्टी सबैभन्दा अन्तिममा यहीँ मंसिर १४ गते दर्ता भएको हो ।

    गत भदौ २३ र २४ गते भन्दा अघिसम्म १२२ दलको दर्ता कायम रहेकोमा त्यसपछि नयाँ दल दर्ता, दल एकीकरण तथा दल खारेजसमेत गरेर १४३ पुगेको आयोगले जनाएको हो । जसमा २५ वटा नयाँ दल दर्ता भएका छन् भने ४ वटा पुराना दल एक आपसमा एकीकरण भएका छन् ।

    एकीकरण हुनेमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेकपा (समाजवादी) र नेकपा माओवादी समाजवादीसहित ५ दल मिलेर नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ । नेकपा बन्दा ५ दल खारेज थप एक दल बनेको छ ।

  • कांग्रेसमा नेतृत्व दौड : शेखर-गगन दुवै सभापतिका आकांक्षी, संस्थापनमा देउवाकाे आशीर्वाद कसलाई ?

    कांग्रेसमा नेतृत्व दौड : शेखर-गगन दुवै सभापतिका आकांक्षी, संस्थापनमा देउवाकाे आशीर्वाद कसलाई ?

    काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको मिति घोषणा गरेसँगै नेतृत्वको आकाङ्क्षीहरू खुल्न थालेका छन्। पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेसँगै आकाङ्क्षीहरूले दाबी गर्न थालेका हुन्।

    यद्यपि, निर्धातिर समयमा महाधिवेशन हुनेमा कांग्रेसका नेताहरू नै ढुक्क हुन सकेको छैनन्। महाधिवेशनको सबैभन्दा महत्त्वपूर्ण हिस्सा क्रियाशील सदस्यताको विषय अझै टुङ्गिएको छैन। महामन्त्री गगन थापाले क्रियाशील सदस्यताको विषय टुङ्ग्याउने गृहकार्य थालिसकेका छन्।

    अब हुने महाधिवेशनबाट कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वबाट बिदा हुँदैछन्। अहिले नै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइसकेका छन्। देउवालाई नेतृत्वमा दोहोरिने विधानले पनि दिँदैन।

    देउवा नेतृत्वमा नआउने भएपछि आगामी महाधिवेशनमा उनको आशीर्वाद लिएर नेतृत्व हत्याउने दाउमा उनी निकट नेताहरूको हानथाप छ। देउवाले अहिले महाधिवेशन गर्ने जिम्मेवारीका साथ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएका छन्।

    अहिले कार्यवाहक भूमिकामा रहेका खड्काको आगामी नेतृत्वमा दाबी स्वाभाविक हो। तर, महाधिवेशनको मिति विवाद सल्टाउन समेत देउवाकै मुख ताकेको भन्दै उनको कार्यक्षमतामाथि नेताहरूले प्रश्न उठाएका छन्।

    असोज २८ गतेबाट सुरु भएको बैठकले महाधिवेशनको मिति विवाद समाधान गर्न नसकेपछि देउवा आफैँ सक्रिय भएर पार्टीभित्रको विवाद समाधान गरेका थिए। देउवाको उत्तराधिकारी बन्न सात पूर्वपदाधिकारीहरूले निरन्तर छलफलमा छन्।

    संस्थापन पक्षबाट गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह र डा. प्रकाशशरण महत निरन्तर संवादमा छन्।

    हिजो पनि श्रेष्ठ र कोइरालाबाहेक पूर्वपदाधिकारीहरू आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफलमा बसेका थिए। सभापति देउवासँग परामर्श लिएर पूर्व पदाधिकारीहरूबाट एक जनाको नाममा सहमति जुटाउन केन्द्रीय सदस्यले दबाब दिएका छन्।

    यो टिममा कार्यवाहक सभापति खड्का, उमाकान्त चौधरी, बालकृष्ण खाण र एनपी साउदलगायत नेताहरू पनि एक ठाउँमा उभिनसक्ने बताइन्छ। उनीहरूको एउटै बटमलाइन छ– आगामी सभापति आफूहरूभन्दा बाहिरबाट नहोस्।

    ‘हाम्रो टिमबाट सहमतिमै टुङ्ग्याउँछौँ’

    तर प्रवक्ता डा. प्रकाशशरण महत नेतृत्वबारे अहिलेसम्म आफ्नो टिममा कुनै छलफल नभएको जिकिर गर्छन्। टिममा सल्लाह गरेरै नेतृत्व तय गर्ने बताए।

    उनले भने, ‘नेतृत्वको दाबी त सबैले गरिरहेका छन्। आगामी सभापति त महाधिवेशनले नै निर्णय गर्छ। टिममा सल्लाह भएर सबैको सहमतिमा अघि बढ्ने हो। सभापतिसँग नेतृत्वबारे अहिलेसम्म कुरा भएको छैन।’

    कार्यवाहक सभापति खड्काको सम्भावनालाई पनि उनले नकारेनन्। उनले निर्धारित समयमा महाधिवेशन हुनेमा नै आशंका व्यक्त गरे।

    उनले भने, ‘महाधिवेशनको मिति भर्खरै तय भएको छ। नेतृत्वबारे बिस्तारै छलफल हुन्छ। महाधिवेशनको मिति तोकिएको भएपनि समय टाइट छ निर्धारित समयमा हुन्छ हुँदैन भन्न सकिँदैन।’

    कार्यसमितिको माघसम्म म्याद थपबारे उनले थपे, ‘काम गर्दै जाँदा सकिए पुसभित्रै हुन्छ, माघमा त महाधिवेशन हुँदैन। ढिला भयो भने आम निर्वाचन पछि नै हो। चुनावको तयारी गर्ने बेलामा माघमा महाधिवेशन गर्न सकिँदैन। माघमा सम्भव छैन। जति तहसम्म हुन्छ नभए पछि हुन्छ।’ समयमै महाधिवेशन गर्नको लागि चुनौती रहेको बताए।

    ‘शेखर र गगन एक ठाउँमा उभिनुपर्छ’

    सहमहामन्त्री जीवन परियारले अहिले नेतृत्वको बहसमा आफूहरू नपुगेको बताए। १४ औँ महाधिवेशनको टिम एक ढिक्का भएर अघि बढ्नुपर्ने बताए।

    उनले भने, ‘१४ औँ महाधिवेशनमा शेखर दाइ र गगनजीहरू एक ठाउँमा हुनुहुन्थ्यो। त्यो टीमका साथीहरू एक ढिक्का नै हुनुपर्छ। र अरू थप साथीहरूलाई जोडेर आगामी महाधिवेशनमा चुनाव जित्ने प्रयत्न गर्नुपर्छ भने हो।’ शेखर कोइराला र गगन थापा बसेर एक ठाउँमा दृढतापूर्वक उभिने सङ्कल्प गर्नुपर्ने उनको मत छ।

    उनले भने, ‘शेखर दाइ सभापतिमा नलड्ने भए गगन थापाको पालो हो। शेखर दाइले नै एक पटक लड्छु भन्नुहुन्छ भने गगन थापाले नमान्नुपर्ने कारण नहोला। शेखर दाइले लड्दिनँ भन्नुभयो भने मात्रै विकल्पमा जाला।’ उनले संस्थापन पक्षका नेताहरू पनि संवादमा रहेको र महाधिवेशनसम्म खुल्ने जिकिर गरे।

    गगनको बेग्लै तयारी

    जेनजी आन्दोलनपछि पार्टीमा रूपान्तरणको मुद्दा उठाएका महामन्त्री थापाले आगामी नेतृत्वको लागि तयारी गरिरहेका छन्। उनीनिकट केन्द्रीय सदस्य मधु आचार्यले निर्वाचनअघि महाधिवेशन कार्यतालिका विशेष महाधिवेशनको हस्ताक्षरकर्ताहरूबाटै मात्रै सम्भव भएको बताए।

    उनले भने, ‘यो कार्यतालिका २४८८ को हस्ताक्षरले नै सम्भव भएको हो। कांग्रेसमा नयाँ नेता, नयाँ नीति, जेनजी आन्दोलनले उठाएको एजेन्डा सम्बोधन गर्ने र हिजो भएको गल्ती कमजोरी सुधार गरेर जानुपर्ने कुरा महामन्त्री गगन थापाले नै उठाउनुभएको हो। परिवर्तनको आवाजको नेतृत्व जसले गरेको छ, अबको नेतृत्व पनि त्यही हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

    १४ औँ महाधिवेशनमा शेखर कोइराला जिताउन आफूहरू लागेको भन्दै अहिलेको महाधिवेशनमा गगनले साथ पाउनुपर्ने उनको मत छ।

    उनले थपे, ‘अहिले परिस्थिति र आवश्यकता पनि नयाँ भएको छ। त्यसैले हामीले नेता पनि नयाँ ल्याउनुपर्छ भनेका हौँ। हिजो गगनको समर्थनमा शेखर कोइराला, आज शेखरको समर्थनमा गगन थापा हुनुपर्छ भन्ने हाम्रो कुरा हो।’

    पार्टीभित्र सर्वसम्मत सभापति गगनलाई नै बनाउँदा उपयुक्त हुने पार्टीपंक्तिको माग रहेको जिकिर गरे।

    उनी भन्छन्, ‘विमलेन्द्र निधि दाइले सर्मसम्मत सभापति छानौँ भन्ने प्रस्ताव ल्याउनुभएको छ, त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ, अहिलेको माग अनुसार नेतृत्व हस्तान्तरणको राम्रो सन्देश जाने भएकाले सभापतिले पनि युवा पुस्ता गगनजीलाई नेतृत्व दिन सकारात्मक हुनुपर्छ भन्ने हाम्रो बुझाइ हो, हुनुहुन्छ होला पनि।’

    गगनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेलसहित युवा नेताहरूको साथ छ। गगनकै अगुवाइमा विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्दा ५४ प्रतिगत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गर्न सफल भएका थिए।

    १४ औँ महाधिवेशनमा देउवाको प्यानलबाट जितेका सहमहामन्त्री फरमुल्लाह मन्सुरले गगन थापालाई सभापति र अबको प्रधानमन्त्री प्रस्ताव गरेर पार्टी चुनावमा जानुपर्ने बताएका थिए।

    केन्द्रीय समितिको बैठकमै भनेका उनले भनेका थिए, ‘म कुरा लुकाउने मानिस होइन। गगन थापा सभापति र प्रधानमन्त्री भए राम्रो हुन्छ भनेर मानिसहरूले भनेका छन्। उनी १४ औँ महाधिवेशनमा पनि धेरै मतसहित महामन्त्री जितेका हुन्। अहिले उनकै पहलमा ५४ प्रतिशतले विशेष महाधिवेशन गर्न हस्ताक्षर पनि गरेको अवस्था छ। त्यसैले आउने चुनावमा गगन थापालाई प्रधानमन्त्री उम्मेदवार र सभापति बनाएर नयाँ नेताको नेतृत्वमा प्रतिनिधि सभा चुनावमा पार्टी जानुपर्छ।’ गगनले स्वंयमले पनि आगामी महाधिवेशनमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

    नयाँ समीकरणको संकेत

    कांग्रेसमा देउवा नेतृत्वमा नदोहोरिने निश्चित भएपछि समीकरणमा उलटफेर आउने संकेत देखिएको छ। संस्थापन पक्षका नेताहरू मात्रै नभई १४ औँ महाधिवेशनमा एउटै टिममा रहेका शेखर र गगन थापा पनि अलग हुने सम्भावना बढेको छ। उनीहरूले दुवैले आआफ्नै तयारी गरिरहेका छन्।

    नेता डा. शशांक कोइरालाले १५ औँ महाधिवेशनमा आफू र शेखर कोइरालामध्ये एक जना सभापतिको उम्मेदवार हुने बताएका छन्। चितवन पुगेका कोइरालाले शेखरसँग आफ्नो कुरा भइरहेको बताए।

    उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाइ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुई जनामध्ये एक जना लड्छौँ।’ उनले विगतमा कुरा नमिलेको भएपनि अहिले मिलेको र दाजुभाइ एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेको बताए।

    आजै मात्रै पनि शेखर कोइरालानिकट नेताहरूको बेग्लै भेला बसेको थियो। बैठकमा सहभागी ती नेताले भने, ‘आज पनि शेखर दाइको टिमको बैठक बसेको थियो। शेखर दाइलाई सभापति र गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ।’

    भेला कोइरालासहित सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन नेताहरू सहभागी थिए।

  • एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

    एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो ।

    विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेन ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।

    बलिङमा शेर मल्ल नायक बने । शेरले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एकएक विकेट लिए ।

  • मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

    मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान

    काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि आह्वान भएको छ।

    मुख्यमन्त्री सरोज यादवको राजीनामा स्वीकृत गर्दै शुक्रवारसम्मका लागि समय दिएर नयाँ सरकार गठनको लागि आह्वान गरिएको हो।

    संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई शुक्रवार ५ बजेसम्म दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ।

    सर्वाेच्चले पनि मुख्यमन्त्रीले विश्वासकाे मत नपाए १६८ (२) अनुरूप नयाँ सरकार गठनकाे प्रक्रिया थाल्न आदेश दिएकाे थियाे ।

  • प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी

    प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी

    काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

    प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

    एमालेले भन्यो- प्रतिनिधिसभा विघटन असंवैधानिक

    त्यस्तै संवैधानिक इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरुद्धका रिटसँगै राख्न पनि सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको छ ।

    एमालेले रिटमा अन्तरिम आदेश माग गरे पनि संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन ।

    प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीश सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा.मनोजकुमार शर्मा रहेका थिए । एमालेबाट तत्कालीन प्रतिनिधि सभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौला र सचेतक सुनिता बरालले प्रतिनिधि सभा विघटन विरुद्ध मुद्दा दायर गरेका थिए ।

  • उज्यालो नेपालको घोषणापत्र- प्रदेश सांसद हटाउने, स्थानीय तहका प्रतिनिधिबाटै प्रदेश परिषद् बनाइने

    उज्यालो नेपालको घोषणापत्र- प्रदेश सांसद हटाउने, स्थानीय तहका प्रतिनिधिबाटै प्रदेश परिषद् बनाइने

    काठमाडौं । उज्यालो नेपाल पार्टीले संविधानलाई गतिशील दस्ताबेजको रूपमा स्वीकार गरेको छ। आज घोषणापत्र सार्वजनिक गर्दै नेपालको उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने जनाएको छ।

    हालको व्यवस्थाबाट बलियो र स्थिर सरकार निर्माण गर्न करिब असम्भव नै भएकाले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार, नेपालमा संघीयताको अभ्यासलाई कायम राख्दै व्यवहारिक, परिणाममुखी र प्रभावकारी बनाउनुपर्ने प्रस्ताव गरेको छ।

    देशको जनसंख्या, भूगोल, पहिचान, सामर्थ्य र आर्थिक सम्भावना समेतलाई मध्यनजर गर्दै प्रदेश र स्थानीय तहको संरचना र संख्या पुनरावलोकन, वृहत् राष्ट्रिय सहमतिको आधारमा संघीयतासँग जोडिएका विषयलाई सम्बोधन, शासकीय सुधारका सन्दर्भमा विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त भएका सुझावका आधारमा मन्त्रालयको संख्या पुनरावलोकन गरिनुपर्ने उल्लेख छ।

    घोषणापत्रमा भनिएको छ, ‘सांसद सदस्य नभएका विज्ञहरूलाई मन्त्री बनाउन सकिने व्यवस्था गरिनुपर्छ । तर परराष्ट्रमन्त्री, गृहमन्त्री, कानूनमन्त्री र रक्षा मन्त्री संघीय संसदको सदस्यबाटै चयन गरिनुपर्छ ।’

    प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने पक्षमा उभिएको छ।

    घोषणा पत्रमा भनिएको छ, ‘प्रदेशमा सांसद रहने व्यवस्था हटाई प्रदेशसभाको काम गर्ने गरी स्थानीय तहको प्रमुख र उपप्रमुखको प्रतिनिधित्व हुने प्रदेश परिषद् बनाइनुपर्दछ । प्रदेश परिषद्ले ऐन पारित गर्ने व्यवस्था गरिनुपर्छ । प्रधानमन्त्री निर्वाचित भइसकेपछि जुनसुकै अवस्थामा पनि संसदको आधा कार्यकाल सरकार सञ्चालन गर्ने सुनिश्चितता गरिनुपर्दछ ।’

    एकै संसदीय निर्वाचन क्षेत्रबाट लगातार तेस्रो पटक उम्मेदवार हुन नपाइने व्यवस्था गरिनुपर्ने प्रस्ताव छ।

    घोषणा पत्रमा भनिएको छ, ‘समानुपातिक सांसद र मनोनीत सांसद १ पटकको लागि मात्र हुने व्यवस्था गरिनुपर्दछ । स्थानीय तहको चुनाव गैरदलीय आधारमा हुनुपर्छ ।’

    न्यायपालिकामा दलीय हस्तक्षेप नहुने गरी न्यायपरिषद्को पुनः संरचना गरिनुपर्ने प्रस्ताव छ।

  • अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ : कुलमान घिसिङ

    अब देशकै नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ : कुलमान घिसिङ

    काठमाडौं । ऊर्जा कुलमान घिसिङले अघिल्लो सरकारले विद्युत् प्राधिकरणबाट निकालापछिको समयलाई आफूले अवसरको रूपमा लिएको बताएका छन्।

    उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै आफ्नो कार्यकाल ४ महिना हुँदा खेरी आफू प्राधिकरणबाट बाहिरिनुपरेको बताए।

    उनले भने, ‘मैले त्यस बेला पनि सरकारलाई धन्यवाद दिएको थिएँ, मलाई मौका दिनुभयो भनेर, अब यहाँबाट हिँडेपछि देशकै लिड गर्नुपर्छ कि भन्ने लागिरहेको छ।’

    उनले देशको नेतृत्व सही भए विकास गर्न सकिने उदाहरण सुनाए। देश भित्र रहेका र बाहिर रहेका सबै एक मत भएर लागे देश बनाउन सकिने उनको निष्कर्ष छ।

  • राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

    राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिस्थितिमा राजा र जेन-जीसहितको नवीन समझदारीको माग गर्दै सडक आन्दोलन गर्ने भएको छ । आन्दोलनको कमाण्ड गर्ने जिम्मेवारी प्रवक्ता ज्ञानेन्द्र शाहीले पाएका छन् ।

    आन्दोलनको समग्र तयारी र रणनीति निर्माणका लागि पार्टीले विशेष आन्दोलन परिचालन समिति गठन गर्दै त्यसको नेतृत्व शाहीलाई सुम्पेको हो । अध्यक्ष राजेन्द्र लिङदेनले शाहीलाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको पत्र दिएका छन् । पत्रअनुसार समितिमा प्रवक्ता गोपाल दाहाल, सह–महामन्त्री रवीन्द्र प्रताप शाह र सह–महामन्त्री धनबहादुर बुढा सदस्यका रूपमा चयन भएका छन् ।

    समितिको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्यो । बैठकमा अध्यक्ष लिङ्देन स्वयं उपस्थित रहेर आन्दोलनका एजेन्डा तथा व्यवस्थापनबारे निर्देशन दिएका थिए । बैठकमा २३ गतेको आन्दोलनलाई शान्तिपूर्ण, संगठित र संख्यात्मक रूपमा प्रभावशाली बनाउन आवश्यक तयारीबारे विस्तृत छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

    बैठकमा सहभागी नेताहरूका अनुसार जेन-जी आन्दोलनपछिको ताजा परिस्थितिले राजनीतिक दल, युवापुस्तादेखि राजासंस्थाका बीच नयाँ प्रकारको सहमतिको आवश्यकता देखिएको र त्यसकै लागि राप्रपाले दबाबपूर्ण जन–आन्दोलनको मार्ग रोजेको बताइएको छ ।

    राजसंस्थासहितको स्थायी राजनीतिक संरचना निर्माण नगरेसम्म अस्थिरता अन्त्य नहुने राप्रपाले निष्कर्ष निकालेको छ ।

    राप्रपाले यही मंसिर १३ गते अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी पाँच बुँदे ज्ञापनपत्र बुझाइसकेको छ । ज्ञापनपत्रमा आगामी निर्वाचनअघि नै सर्वपक्षीय सहमति निर्माण गर्ने, दलहरूबीच विश्वसनीय संवाद, संवैधानिक संरचनामा सुधार, राष्ट्रको स्थिरताका लागि व्यापक सहमति, र भविष्यमा आन्दोलन आवश्यक नपर्ने गरी राजनीतिक मार्गचित्र बनाउने आदि माग समावेश छन् ।

    आगामी मंसिर २३ को कार्यक्रमलाई राप्रपाले जेन-जी, राजनीतिक दल र राजाबीच नयाँ ‘नवीन समझदारी’ निर्माणको लागि ऐतिहासिक दबाब–कार्यक्रमका रूपमा लिएको छ । जनसहभागिता, नेतृत्वको उपस्थिति, संगठनगत संरचनाको पूर्ण परिचालन र ६ जिल्लाबाट समन्वित रूपमा मोबिलाइजेसन गर्ने तयारी तीव्र भइरहेको बताइएको छ ।

    राप्रपाका एक नेताले भने, ‘यो आन्दोलन नयाँ सहमतिको मार्ग खोल्ने ऐतिहासिक मोड हो । जनता, दल र राजा—यी तीन शक्ति एक स्थानमा भेटिएमात्र देश स्थिर हुन्छ ।’

    आजको बैठकले २३ गतेका लागि विस्तृत कार्ययोजना, सुरक्षा, भीड व्यवस्थापन, कार्यक्रम प्रवाह र मिडिया व्यवस्थापनमा उपसमिति गठन गरेको छ । राप्रपाका अनुसार नजिकिँदै गएको आन्दोलनलाई प्रभावकारी बनाउन दैनिक ब्रिफिङ र प्रदेश तथा जिल्ला–स्तरका संयोजक बैठकहरू निरन्तर भइरहनेछन् ।

  • १२ रनमा आउट भए डुप्लेसिस, अभिषेशले लिए विकेट

    १२ रनमा आउट भए डुप्लेसिस, अभिषेशले लिए विकेट

    काठमाडौं । दक्षिण अफ्रिकी ब्याटर फाफ डुप्लेसीस एनपीएलमा आफ्नो पहिलो म्याचमा असफल भएका छन् । ओपनरका रूपमा आएका उनी १२ रनमै आउट भए ।

    लुम्बिनी लाइन्सका स्पिनर अभिषेश गौतमले डुप्लेसीसलाई स्टम्पिङ गरिदिएका हुन् ।

    आउट हुनुअघि उनले ९ बलको सामना गर्दै दुईवटा चौका प्रहार गरेका थिए ।

    दोस्रो ओभरको अन्तिम बलमा अभिषेशलाई अगाडि बढेर प्रहार गर्न खोज्दा उनी बिट भए र लुम्बिनीका श्रीलंकन विकेट किपर निरोसन डिकवेल्लाले सहजरुपमा स्टम्पिङ गरे ।

    विराटनगरले १५ रनमा दोस्रो विकेट गुमाएको छ । अर्का ओपनर जर्ज मुन्से शून्य रनमा आउट भएका थिए ।

  • एनपीएल–२ : विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ गर्दै

    एनपीएल–२ : विराटनगरविरुद्ध लुम्बिनीले टस जितेर फिल्डिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा विराटनगरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    विराटनगर ५ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ । लुम्बिनी ५ खेलबाट २ खेल जित्दै छैटौं स्थानमा छ ।

  • क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे १३ करोड बिगो दाबी

    क्यानका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, साढे १३ करोड बिगो दाबी

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

    भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भएको अनियमिततालाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित ७ जनामाथि विशेष अदालतमा अभियोग पत्र दायर गरेको हो ।

    प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रवन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रवन्धक नवलविक्रम थापा, केही कम्पनीका प्रतिनिधिलाई मुद्दा लगाइएको छ । उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

    मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो । उनीहरूलाई पनि विशेष अदालतमा उपस्थित गराइएको छ ।

  • विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा

    विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशसभामा राजीनामा घोषणा गरेका छन् ।

    मुख्यमन्त्री नियुक्त भएको २२औँ दिन प्रदेशसभामा सम्बोधन गर्दै उनले मुख्यमन्त्रीको पदबाट राजीनामा घोषणा गरेका छन् ।

    २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चले दिएको आदेशबमोजिम आज प्रदेशसभामा विश्वासको मतको कार्यसूची राखिएको थियो । तर, उनले सम्बोधन गर्न सुरू हुने बित्तिकै विपक्षी ७ दलका ७३ सांसद बाहिरिए ।

    विश्वासको मत पाउने अवस्था नबनेपछि यादवले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभाको अर्को बैठक अनिश्चित बनेको छ ।

  • जनार्दनसँग लागेका माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

    जनार्दनसँग लागेका माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माले दिए राजीनामा

    काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । आज प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई राजीनामा बुझाएको हुन्।

    राजीनामा पत्रमा भनेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँदछु ।’

    शर्मा नेपाली कम्युनिस्ट पार्टी गठन भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाडेर जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन्। दलको नेताबाट राजीनामा दिए पनि सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।

  • कुलमानको पार्टी घोषणामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

    कुलमानको पार्टी घोषणामा पुगिन् सुमना श्रेष्ठ, मञ्चमै आसिन

    काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सहमहामन्त्रीसमेत रहेकी श्रेष्ठलाई घोषणा सभाका सञ्चालकले पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको रूपमा उनलाई अतिथिका रूपमा मञ्चमा बोलाएका छन् ।

    श्रेष्ठ अहिले घोषणा सभाको मञ्चमा बसिरहेकी छन् । सुरुमा श्रेष्ठले घिसिङ नेतृत्वको पार्टीमा लाग्ने बताइएको भए पनि अन्तिममा केन्द्रीय समिति सार्वजनिक हुँदा भने उनको नाम समेटिएको थिएन ।

  • अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी : विष्णु पौडेल

    अध्यक्ष र महासचिव बाहेकमा मेरो उम्मेदवारी : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने दाबी गरेका छन् ।

    बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनले एमालेको आन्तरिक जीवन कुनै समस्यामा नभएको स्पष्ट पारे ।

    ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उनले भने ।

    केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने उनको भनाइ छ । एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको भन्दै पौडेलले एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गरे ।

    महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै उनले भने, ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु, त्यहीँ बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन ।’

    आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको उनको भनाइ छ ।

    ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन । म महासचिवको उम्मेदवार होइन, म यसअघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, पौडेलले भने ।

    एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको भन्दै उनले थपे, ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन ।’

  • शेखर पक्षकाे निष्कर्ष- गगनलाई साथ लिएर जानुपर्छ

    शेखर पक्षकाे निष्कर्ष- गगनलाई साथ लिएर जानुपर्छ

    काठमाडौं । १५ औँ महाधिवेशनमा सभापति उठ्ने तयारी गरेका डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग छलफल गरेका छन्।

    आज कोइरालाले १४ औँ महाधिवेशनमा आफ्नो प्यानलबाट जितेका पदाधिकारीसहित शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।

    कोइराला प्यानलबाट जितेका महामन्त्री गगन थापाले आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरिसकेका छन्। कोइराला पक्षको आजको भेलालाई गगनलाई पनि एक ठाउँमा लिएर हिँड्न पहल गर्ने निष्कर्ष निकालेको एक नेताले बताए।

    बैठकमा सहभागी ती नेताले भने, ‘शेखर दाइ त सभापति उठ्ने पक्का नै हो। आज उहाँले आफ्ना टिमको बैठक राख्नुभएको थियो। गगनलाई पनि सँगै लिएर जानुपर्छ भनेर निष्कर्ष निकालेका छौँ। छलफल जारी छ। छलफल सुरु भएको छ, केही दिनमा निष्कर्षमा पुगिएला।’

    बैठकमा सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे, नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य गोविन्द्र पोखरेलसहित एक दर्जन बढी नेताहरू सहभागी थिए।

  • उज्यालो नेपाल पार्टीको घोषणा सभा : कुलमान पनि उपस्थित (तस्बिरहरू)

    उज्यालो नेपाल पार्टीको घोषणा सभा : कुलमान पनि उपस्थित (तस्बिरहरू)

    काठमाडौं । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरू भएको छ । प्रज्ञा भवन कमलादीमा आयोजित घोषणा सभामा घिसिङ पनि पुगेका छन् । उनले सभामा सम्बोधन गर्ने बताइएको छ ।

    हाल पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपालमा कुलमान चुनावअघि जोडिने तयारी छ । कार्यक्रमस्थलमा पार्टिको हरियो झण्डा र चुनाव चिन्ह ‘चिम’ अंकित टोपी लगाएर नेता-कार्यकर्ता र समर्थक पुगेका छन् ।

    आज पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ ।

    पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्नसक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो । पार्टीले आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व गर्ने बताएको थियो ।

  • मलाई बोक्न नसक्ने ‘किङमेकर’को तक्मा नदिनुस् : विष्णु पौडेल

    मलाई बोक्न नसक्ने ‘किङमेकर’को तक्मा नदिनुस् : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी अन्तरपार्टी लोकतन्त्रको च्याम्पियन भएको दाबी गरेका छन्। प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेलाई अधिनायकवादी र निरङ्कुश छ भन्ने गलत प्रचार भइरहेको बताए।

    उनले भने, ‘पार्टीभित्रको लोकतन्त्रको बारेमा अरूले एमालेमाथि प्रश्न उठाउनु उचित लाग्दैन। हामी लोकतन्त्रको अभ्यास गर्दै आइरहेको छौँ। अहिले हामी नेतृत्व निर्माण गर्ने महाधिवेशनमा छौँ। नीतिको महाधिवेशन गरिसक्यौँ।’

    उनले विकसित राजनीतिक घटनाक्रमबारे पनि पर्याप्त छलफल गरिसकेको भन्दै अध्यक्षले प्रस्तुत गर्ने बताए। उनले थपे, ‘अध्यक्षले बोल्न दिन्न भन्नुभयो, मात्रै बोल्छु भन्नुभयो भन्ने खालको कुराको सान्दर्भिकता छैन।’

    उनले आगामी महाधिवेशनमा आफू कुन पदमा रहन्छु भन्ने कुरालाई महत्त्वहीन ठानेको बताए। आफ्नो जस्तो क्षमता भएको पार्टीमा हजारौँ नेताहरू रहेको भन्दै आफू जुनसुकै ठाउँमा रहेर पनि काम गर्न तयार रहेको बताए।

    उनले भने, ‘मैले कुनै जिम्मेवारीका लागि कुनै इच्छा व्यक्त गरेको छैन। मेरो ट्याक रेकर्ड हेर्दा हुन्छ। मलाई यो चिज चाहियो भनेको छैन। त्यसैले भन्छु, म पार्टी र आन्दोलनको चिन्ता गर्छु आफ्नो बारेमा गर्दिनँ। मलाई किङमेकर भनेर तपाईँहरूले बोक्न नसक्ने तक्मा दिनुभयो। मलाई किङमेकरको रूपमा पनि नबुझ्दिनुस्।’

    उनले पार्टीभित्र समस्या भए त्यसको समाधान गर्नको लागि काम गर्ने आफ्नो स्वभाव रहेको बताए। अहिले एमालेभित्र कुनै संकट नरहेको बताए। पार्टीभित्र अहिले दुई ध्रुव रहेको भन्दै चर्चा भइरहे पनि २९ गतेसम्म नरहने दाबी गरे। ११ औँ महाधिवेशन सर्वसम्मत रूपमा टुङ्गिने उनको भनाइ छ।

  • जनताको साथ रहेसम्म मधेशमा एमाले एक्लिँदैन : विष्णु पौडेल

    जनताको साथ रहेसम्म मधेशमा एमाले एक्लिँदैन : विष्णु पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गरेका छन् । प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा आज पनि सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको बताए ।

    उनले भने, ‘जनताले स्वीकार्दा हामी एक्लिँयौं अलग भयौँ भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ ।

    उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे । संविधानलाई ट्र्याकमा ल्याउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।

  • गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

    काठमाडौं । बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन् ।

    प्रभु बैंक लिमिटेडलाई हानी नोक्सानी पुर्‍याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौं कर्जा प्रवाह गरी दुरुपयोग गरेको आरोप उनीमाथि छ ।

    उनलाई आज ललितपुरको जावलाखेल मनिमण्डलबाट पक्राउ गरिको हो ।

    यसअघि सोही प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचन समेत पक्राउ परेका थिए ।