Tag: ज्ञानेन्द्र मल्ल

  • ज्ञानेन्द्र मल्लः कप्तानी गुमाए, सम्मान कमाए

    ज्ञानेन्द्र मल्लः कप्तानी गुमाए, सम्मान कमाए

    काठमाडौं । नेपाली क्रिकेटमा करिब एक महिनादेखि उत्पन्न भएको किचलो तत्काललाई समाधान भएको छ । क्रिकेट संघले चार खेलाडीहरूमाथि गरेको कारबाहीलाई लिएर उत्पन्न विवादलाई निकास दिने क्रममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले व्यक्तिगत चोट सहेर सम्झौता गरेका छन् ।

    क्यानले राष्ट्रिय टिमका चार खेलाडीहरूमाथि कारबाही गरेको थियो, तर उसको मुख्य निशाना तत्कालीन कप्तान ज्ञानेन्द्र थिए । दुई वर्षअघि मात्रै पूर्णकालीन कप्तान नियुक्त गरिएका मल्ललाई बर्खास्त गर्ने क्यानको निर्णय निकै विवादित बन्यो । साथै, उनीसहित चार खेलाडीहरूलाई सेन्ट्रल कन्ट्राक्टबाट बाहिर राख्ने निर्णयले तीव्र आलोचना जन्मायो । क्यानमाथि राजनीति दबाब पनि बढ्यो ।

    प्रधानमन्त्रीदेखि खेलकुदमन्त्रीसम्मले ‘चासो’ दिएपछि लचिलो बन्न बाध्य भएको क्यान सबै निर्णय फिर्ता लिन भने तयार भएन । मुलतः कप्तान परिवर्तनको निर्णयमा क्यानका पदाधिकारीहरू अडिग देखिए । क्यानले ज्ञानेन्द्रको ठाउँमा सन्दीप लामिछाने कप्तान नियुक्त गरिसकेको थियो । तर, ज्ञानेन्द्रलाई नै कप्तानमा पुनर्वहाली गर्नुपर्ने पक्षमा राष्ट्रिय टिमका बहुसंख्यक खेलाडी थिए । क्यान साँच्चै समस्यामा परेका बेला उसका निम्ति संकटमोचक बनेर आइदिए प्रशिक्षक पुबुदु दासानायके ।

    क्यानले भर्खरै प्रशिक्षक नियुक्त गरेका दासानायेकको नेपाल आगमनसँगै परिस्थितिमा फेरबदल भयो । उनले कप्तानी परिवर्तनको विषयमा स्पष्टरूपमा क्यानको पक्ष लिए । नेपाली क्रिकेटमा राम्ररी भिजेका दासानायकेको राष्ट्रिय टिमका सिनियर खेलाडीसँग राम्रो सम्बन्ध थियो । विगतमा लामो समय नेपाली टिमको प्रशिक्षण गर्दा पारस-ज्ञानेन्द्रदेखि सन्दीपसम्मका प्रियपात्र बनेका थिए उनी । त्यसैले यो विवादमा उनले लिने अडान क्यान र खेलाडी दुवै पक्षका निम्ति महत्वपूर्ण थियो ।

    नेपाल आउनासाथ दासानायकेले यो विवादलाई ‘सामान्य’ भन्दै असन्तुष्ट खेलाडीलाई पहिलो झट्का दिए । त्यसको दुई दिनपछि क्यानले नै पत्रकार सम्मेलन गरेर दासानायकेलाई आफ्नो बचाउमा उभ्यायो । उनले स्पष्ट शब्दमा भनिदिए, ‘राष्ट्रिय टिमको कप्तान परिवर्तन गर्ने अधिकार क्रिकेट संघको हो । सन्दीप नै अबका कप्तान हुन् ।’

    दासनायकेको यो अभिव्यक्तिपछि नै ज्ञानेन्द्रसहितका असन्तुष्ट खेलाडीहरू ‘ब्याकफुट’मा आएका हुन् । प्रशिक्षककै रोहबरमा क्यान र मल्लबीच संवाद भयो । क्यानले कप्तान परिवर्तनबाहेकका निर्णय फिर्ता लिने र सेन्ट्रल कन्ट्राक्टमा भएको त्रुटीसमेत सच्याउने प्रतिबद्धता जनायो । त्यसपछि सकसमा परे पूर्वकप्तान मल्ल ।

    प्रशिक्षकसँगको सहमतिमा क्यानले टी-२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षणका लागि ३० सदस्यीय प्रारम्भिक टोलीसमेत घोषणा गरिसकेको थियो । त्यसमा असन्तुष्ट चार खेलाडीहरू पनि समावेश गरिएका थिए । उनीहरूलाई राष्ट्रिय टिममा राखेर सेन्ट्रल कन्ट्राक्टमा समेत समेट्न क्यान तयार भइसकेपछि अब ज्ञानेन्द्रको मात्रै इस्यू बाँकी रह्यो ।

    क्यानले आफ्नो बटमलाइन सुनाइसकेपछि विवाद समाधानको कोर्ट ज्ञानेन्द्रको कोर्टमा पुग्यो । उनले अन्य खेलाडीहरूसँग छलफल गरे । टिमका बहुसंख्यक खेलाडीहरू ज्ञानेन्द्रको समर्थनमा पक्षमा थिए । ज्ञानेन्द्रले जे निर्णय लिन्छन्, त्यसलाई आफूहरूले स्वीकार्ने खेलाडीहरूले बताए । यसबाट ज्ञानेन्द्रलाई थप तनाव भयो ।

    वास्तवमा ज्ञानेन्द्रलाई हठात कप्तानीबाट हटाउने क्यानको निर्णय अपमानजनक नै थियो । उनी २०७६ साल कात्तिकमा पारस खड्कालाई प्रतिस्थापित गर्दै कप्तान नियुक्त भएका थिए । पारस कप्तान हुँदा उपकप्तान रहेका उनी कप्तानीका स्वाभाविक हकदार पनि थिए । र, यो दुई वर्षको अवधिमा उनको कप्तानीमा नेपालको प्रदर्शन पनि खराब छैन । उनलाई कप्तानबाट अपदस्थ गर्नुपर्ने यथेष्ट कारण क्यानसँग थिएन ।

    तर, आफ्नो व्यक्तिगत इगोलाई थाती राखेर ज्ञानेन्द्रले नेपाली क्रिकेटको हितमा निर्णय लिएका छन् । उमेर र करिअर दुवै हिसाबले आफूभन्दा निकै जुनियर सन्दीप लामिछानेको कप्तानीमा खेल्न तयार भएका छन् उनी । धेरैले यसलाई उनको वाध्यात्मक निर्णयका रूपमा पनि हेर्लान्, तर ज्ञानेन्द्रसँग अरु विकल्प थिए । यदि उनले चाहेको भए बन्द प्रशिक्षण बहिष्कारको निर्णय लिन सक्थे र, त्यसमा उनलाई टिमका थुप्रै महत्वपूर्ण खेलाडीको साथ दिने अवस्था थियो । साथै, राजनीतिक लविङ पनि गर्न सक्थे । त्यस्तोमा क्यान दबाबमा आएर उनलाई कप्तानीमा फर्काउने वाध्यात्मक अवस्था सिर्जना हुन पनि सक्थ्यो ।

    तर, त्योभन्दा ठूलो खतरा चाहिँ नेपाली क्रिकेट नै दुर्घटनामा पर्न सक्थ्यो । खेलाडीहरूले विद्रोह गर्दा क्यान उनीहरूसँग झुकेर निर्णयबाट ब्याक भए पनि वा नझुकेर टसल विवाद बढाए पनि नेपालको क्रिकेट अस्थिरता संसारमाझ उजागर हुने थियो । फेरि एकपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसीले) ले क्यानलाई प्रतिबन्धित गर्न सक्ने खतरा मडारिएको थियो । त्यो खतरा ज्ञानेन्द्रले टारिदिएका छन् ।

    यो विवादमा उनको मात्रै नभएर अन्य टिममा रहेका धेरै उदियमान खेलाडीहरूको पनि करिअर जोडिएको थियो । ज्ञानेन्द्रले त धेरै क्रिकेट खेलिसकेका छन् । तर, ती प्रतिभावान खेलाडीहरू जो देशका लागि खेलेर आफूलाई चिनाउन व्यग्र छन्, उनीहरूको करिअर नै दाउमा पर्ने अवस्था थियो । ज्ञानेन्द्रको निर्णयले उनीहरूलाई पनि राहत मिलेको छ ।

    अर्को विकल्प भनेको, भावुकतामा आएर ज्ञानेन्द्रले राष्ट्रिय क्रिकेटबाटै सन्‍न्‍यासको घोषणा गरिदिन पनि सक्थे । त्यसले नेपाली राष्ट्रिय टिममा रिक्तता मात्रै पैदा गर्थेन, समग्र नेपाली क्रिकेटमै एउटा निराशाको अवस्था सिर्जना गर्ने थियो । अन्य खेलाडीहरू निरुत्साहित बन्ने थिए ।

    ज्ञानेन्द्रसँग अझै धेरै क्रिकेट बाँकी छ । उनी अहिले राष्ट्रिय टिमका मुख्य ब्याट्सम्यान हुन् । आँकडाका हिसाबले नेपाली क्रिकेटमा पारस खड्कापछिको ब्याटिङमा योगदान ज्ञानेन्द्रकै देखिन्छ । भलै उनी पारसको जति उचाइमा पुग्न सकेका छैनन् । त्यसैले उनलाई गुमाउनु भनेको नेपाली क्रिकेटका लागि गम्भीर क्षति हुन्थ्यो ।

    यो पनि पढ्नुहोस् : सल्टियो क्रिकेट विवादः सन्दीपलाई कप्तान स्वीकार्दै टिममा फर्किन ज्ञानेन्द्र तयार

    क्यानले ज्ञानेन्द्रमाथि लगाएको आरोप वास्तवमा कप्तानीबाट हटाउनका निम्ति अपर्याप्त थियो । खेलाडीहरूको ग्रेडिङका विषयमा मिडियोले प्रश्न गर्दा उनले सामान्यखालका केही असहमति राखेका मात्र थिए । तर, उनीमाथि कारबाहीको वास्तविक कारण यो मात्रै थिएन । खासमा क्यानको रिस पूर्वकप्तान पारस खड्कासँग बढी थियो । पारसले राष्ट्रिय टिमका खेलाडीहरूलाई प्रभावमा पारेर क्यानविरुद्ध उक्साइरहेको र त्यसमा ज्ञानेन्द्रको साथ रहेको निष्कर्षमा थिए क्यानका पदाधिकारी ।

    पारस कप्तान छँदा पनि उनीमाथि कारवाही गर्न क्यानले प्रयास नगरेको होइन, तर पारसको लोकप्रियताका कारण उसले त्यो हिम्मत गर्न सकेन । बरु क्यानसँगको किचलोबाट आफैं वाक्क भएर पारसले आफैं कप्तानी छोडे । यसै वर्ष राष्ट्रिय टिमबाट समेत सन्‍न्यास लिइसकेका छन् । पारसले पनि खेल्ने उमेर छँदै सन्‍न्यास लिएका हुन् । बहाना जे गरे पनि उनको छिटो सन्‍न्यासको मुख्य फ्याक्टर भनेको क्यान नै हो । ज्ञानेन्द्रले भने पारसको जस्तो भावुकता देखाएनन् ।

    नेपाली टिममा गुटबन्दी रहेको सत्य हो । त्यसको नेपथ्यमा पारसको भूमिका पनि स्पष्ट नै देखिएको छ । तर, क्यानको आफ्नै भूमिका पनि प्रश्नरहित छैन । अहिले खेलाडीहरूलाई गलाएर टिममा फर्काउन क्यान सफल भयो, तर यसको मतलब समस्याको दिगो हल भइसकेको छैन । राष्ट्रिय टिम र क्यानबीचको समझदारी मूख्य आवश्यकता हो । जबसम्म त्यो हुन सक्दैन, तबसम्म समस्याहरू आइ नै रहन्छन् । क्यानले आफूलाई खेलाडीहरूको संरक्षक रूपमा पेस गर्न नसक्दासम्म वा अभिभावकत्वको महसुस नगराउँदासम्म यो समस्याको हल भएको मानिने छैन ।

    तत्कालका लागि खेलाडीहरू मैदानमा फर्केका छन्, यो सुखद पक्ष हो । यसको सबैभन्दा मुख्य श्रेय ज्ञानेन्द्रलाई दिनुपर्छ । उनी टिमका खेलाडीहरूको हितका निम्ति लडे । अन्तिमसम्म अडान लिए । तर, आफ्नो व्यक्तिगत विषयमा भने अडान लिएनन् । कप्तानी गुमाउँदा तत्कालका लागि ज्ञानेन्द्रलाई नोक्सानी देखिएको छ । व्यक्तिगत प्रतिष्ठामा चोट लागेको छ । तर, उनले खेलप्रेमीहरूको मन जितेका छन् । सम्मान कमाएका छन् । नेपाली क्रिकेटलाई एउटा दुर्घटनाबाट बचाएका छन् । अब उनले आफ्नो मनोबल उच्च पार्दै टिमको सिनियर खेलाडीका रूपमा युवा कप्तान सन्दीपलाई साथ दिनुपर्छ । भोलि मैदानमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा उनले समर्थकहरूबाट पाउने मायाले अहिले कप्तानी गुमाउँदाको पीडालाई सहजै क्षतिपूर्ति गर्न सक्छ ।

    भर्खरै मात्र छिमेकी देश भारतमा पनि बिराट कोहलीलाई त्यहाँको क्रिकेट बोर्डले एक दिवसीय कप्तानबाट बर्खास्त गर्‍यो । त्यो पनि कुनै आधारबिना । कोहली असन्तुष्ट भए पनि बोर्डको निर्णयलाई चुनौती दिएका छैनन् । अर्का कप्तान रोहित शर्माको कप्तानीमा खेल्न तयार भएका छन् । विराटजस्ता विश्वकै चर्चित र भारतका सर्वाधिक लोकप्रिय खेलाडीले पनि अपमानजनकरूपमा कप्तानी त्याग्नुपर्‍यो । यस्ता घटनाहरू भइ नै रहन्छन् । बोर्ड र खेलाडीबीचका यस्ता ‘टसल’ले समग्र क्रिकेट प्रभावित बन्नु हुँदैन भन्ने हो ।

    अब नेपाली क्रिकेटको अभिभारा सन्दीप लामिछानेको युवा काँधमा सरेको छ । सन्दीप आफैंमा एउटा सक्षम खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय स्तरमै नाम कमाएका छन् । कप्तानीमा पनि सफल हुन सक्ने लक्षणहरू उनले देखाएका छन् । अब ज्ञानेन्द्रसहितका सबै खेलाडीहरूलाई एकजुट बनाएर उनले नेपाली क्रिकेटलाई माथि उठाउन योगदान गर्ने अपेक्षा गरिएको छ । सन्दीपले प्रतिबद्धता जनाएका छन् । त्यसलाई व्यवहारमा कति उतार्न सफल हुन्छन् त्यो आगामी दिनमा देखिनेछ । अहिले उनलाई शुभकामनामात्रै दिन सकिन्छ ।

  • ज्ञानेन्द्र मल्लले भने- ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्छ, क्यानले पुनर्विचार गरोस् (भिडिओ)

    ज्ञानेन्द्र मल्लले भने- ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्छ, क्यानले पुनर्विचार गरोस् (भिडिओ)

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) बाट कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले संघको निर्णयमा पुनर्विचार गर्न अनुरोध गरेका छन् । आफ्नो हक-अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने अवस्था आउन सक्ने उनले चेतावनी दिए ।

    आज आयोजित पत्रकार सम्मेलनमा मल्लले प्रश्न गरे, ‘हामीले आजसम्म गरेका समर्पणको सम्मान यही हो ?’

    संवादमा गएर क्यानले समस्याको निकास निकाल्नुपर्ने मल्लले बताए ।

    ‘हाम्रो फोकस भनेको उहाँहरूले संवादमा बोलाउनुपर्छ भन्ने नै हो,’ उनले भने ।

    यदि क्यानले संवादमा बोलाएर खेल्ने वातावरण बताइयो भने राष्ट्रिय टिमबाट खेल्ने मल्लले बताए । ‘हामी संवादबाटै अगाडि जानुपर्ने पक्षमा छौं । कारवाही फिर्ता हुने नहुने उहाँहरुले बोर्डमा निर्णय लिनुहोला,’ मल्लले भने ।

    पत्रकार सम्मेलनमा ज्ञानेन्द्रसहित कारबाहीमा परेका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरी उपस्थित थिए । उनीहरुले आफूहरूको साझा धारणा भएको बताए ।

     

  • व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने!

    व्यक्तिगत कारण देखाउँदै ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने!

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने ईपीएलको चौथो संस्करणमा ललितपुर प्याट्रिओट्स कप्तान मल्ल नखेल्ने क्लबले बताएको छ ।

    उनले ललितपुरका सीईओलाई इ-मेल गर्दै आफ्नो सतप्रतिशत प्रदर्शन दिनका लागि आफू तयार नरहेको बताउँदै नाम फिर्ता लिएका हुन् ।

    ललितपुर प्याट्रिओट्सको टोली: ज्ञानेन्द्र मल्ल (नखेल्ने), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, रासिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, कुशल भुर्तेल, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, विभत्सु थापा, कमल खत्री, रिजन ढकाल, नागराज सिंह । विदेशी खेलाडी: अज्मतुल्ला ओमरजाई, ओसाडा फर्नान्डो, मिक्यो दोर्जे, सेनडन वोराक्योडी ।

  • क्रिकेट समर्थकसँग ज्ञानेन्द्र मल्लको असन्तोष- मलाई ‘नेसनल भिलेन’ जस्तो बनाइयो (भिडियो)

    क्रिकेट समर्थकसँग ज्ञानेन्द्र मल्लको असन्तोष- मलाई ‘नेसनल भिलेन’ जस्तो बनाइयो (भिडियो)

    काठमाडौं । ओमानमा आयोजना भएको त्रि-देशीय आईसीसी विश्वकप क्रिकेट लिग-२ हिजो सकिएको छ । अमेरिका र ओमानसँगको प्रतिस्पर्धामा नेपालले २ जित र २ हारसहित मिश्रित नतिजा निकाल्यो ।

    अन्तिम म्याचमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको थियो । यसअघिका दुई म्याचमा हार व्यहोरेको नेपालल अन्तिम जितसँगै प्रतियोगिताको सुखद अन्त्य गर्न सफल भयो । यो जित खासगरि कप्तान ज्ञानेन्द्र मल्लका लागि निकै महत्वपूर्ण थियो । पारस खड्काको सन्न्यासपछि टिमको लय गुम्न नदिने जिम्मेवारी उनको काँधमा छ ।

    ओमानविरुद्ध ज्ञानेन्द्रले आक्रामक अर्धशतक बनाउँदै टिमलाई जिततर्फ डोर्‍याएका थिए । अघिल्लो म्याचमा पनि उनले अर्धसतक हानेका थिए, तर सुस्त ब्याटिङ गरेको भनेर आलोचना खेप्नुपरेको थियो । यसपाली भने उनले आलोचकहरुलाई कुनै मौका दिएनन् ।

    नेपालले खराब प्रदर्शन गर्दा बारम्बार समर्थकहरुको निशानामा पर्ने गर्छन् ज्ञानेन्द्र । एक–दुईवटा म्याचमा चुक्नासाथ उनको आलोचना सुरु भइहाल्छ । अझै पारस खड्को सन्न्यासपछि उनीमाथि दवाव र चुनौति थपिएको छ ।

    हिजोको म्याचपछि प्रतिक्रिया दिँदै ज्ञानेन्द्रले तरिकाले क्रिकेट फ्यानहरुप्रति असन्तोष पोखे । नेपालले लिगमा राम्रो प्रदर्शन गरे पनि समर्थकले लगातार आफू तथा खेलाडीहरु लाई टार्गेट गरेर गाली गर्ने गरेकोमा दःुख लाग्ने गरेको उनले बताए । यसले आफूलाई मात्र नभएर श्रीमती र परिवारलाई पनि असर गरेको मल्लाकोे गुनासो छ ।

    क्रिकेट फ्यानहरुको व्यवहारलाई लिएर ज्ञानेन्द्रको भनाइ जस्ताको तस्तैः

    खोइ, मसँगको व्यक्तिगत दुश्मनी के हो ? मैले खोसेर लिएकोजस्तो, डाकु भएर आए जस्तो, त्यस्तो उहाँहरुलाई लागेको हुन सक्छ । हामी त जहिले पनि राम्रो गर्नको लागि आउने हो । मेरो लागि र टिमको लागि मात्रै भन्दा पनि त्यसमा मेरो परिवारदेखि लिएर हरेक कुरा जोडिएको हुन्छ । कहिलेकाहीँ दुख पनि लाग्छ । हामीलाई समर्थन आवश्यक भएको बेला नपाउँदा चाहिँ मन खिन्न हुन्छ ।

    त्यो मलाई मात्रै होइन, हामी धेरैजसो खेलाडीलाई टार्गेट गरेको देखिराखेको हुन्छु । यसको काम छैन भनिरहेको हुन्छन् । तर मेरो बिचारमा के हो भने सबैजनाले आज नेपाललाई जिताउँछु र राम्रो खेल्छु भनेर नै आएका हुन्छन् । तर कहिलेकाहीँ त्यो भइदिदैन । फेरि हामी क्रिकेट कति नै खेल्छौ र रु यो लेबलको क्रिकेट पनि धेरै कम खेल्ने गर्छौँ । यसले गर्दा कतिजनालाई प्रेसर परिरहेको हुन्छ । सपोर्ट पाउनुपर्ने ठाउँमा आलोचना हुँदा कति जनालाई अफ्ठ्यारो परिरहेको पनि हुन्छ ।

    म जहिले पनि टिमको राम्रो कसरी हुन्छ भनेर खेलिरहेको हुन्छु । अब त्यति गर्दा पनि सबैजनाले मनपराउनु हुन्न अथवा ‘नेसनल भिलेन’को रुपमा लिनुहुन्छ भने माइन्ड चाहिँ गर्दिन । मेरो उद्देश्य भनेको टिमको योजनाअनुसार कसरी जाने, टिमलाई कसरी अगाडि बढाउने भन्ने हुन्छ । चाहन्छु सक्दो माया गर्नुुस । सक्नुहुन्न भने कुनै पनि खेलाडीलाई टार्गेट गरेर सामाजिक सञ्जालमा दुव्र्यवहार नगर्नुुस ।

    मलाई त अलिकति पर्सनल नै भयो जस्तो फिल भएको छ । म प्राय परिवारसँग क्रिकेटको कुरा गर्दिनँ । तर हिजो वाइफले फोनमा सोसल मिडिया नहेर भनिन् । एकदम नराम्रो लाग्यो । उसलाई नै धेरै असर गरेको रहेछ नि त । यसलाई सिरियसली लिनुपर्छ जस्तो लाग्छ । मेरो परिवारलाई समेत यो कुराले असर पारेको देख्दा दुख लाग्छ । यस्तो गर्नु गलत हो । आफुलाई पर्दा कस्तो हुन्छ सबैले बुझिदिए राम्रो हुने थियो ।

    ओमानविरुद्ध नेपालको प्रदर्शनबारे

    सुरुमा त हाम्रो बलिङ नै राम्रो भएको हो । हामीले ओमानलाई १२० रनमा रोक्न सक्यौं । जसरी करणले सुरुवात गर्यो त्यो राम्रो थियो । दुईवटा खेलपछि करण र सोमपालले पुनरागमन गरेका छन् । यद्यपि सोमपालले विकेट लिन सकेन, तर उनीहरुको सुरुवातले हामीलाई सेट गर्यो । उनीहरुले दवाव बनाएपछि सन्दीपलाई पनि फाइदा भयो । सन्दीपले पनि विकेट निकालेपछि व्याट्समेनले दवाव थेग्न सकेनन् ।
    मेरो हकमा भन्नुपर्दा टिमको लागि के गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण हो । मैले जहिले पनि आफुलाई भन्दा टिमलाई अगाडि राखेर हेरँे । चाहे त्यो ओपनिङ गर्दा होस जुनसुकै स्थानमा ब्याटिङ गर्दा होस । टिमले के माग्छ त्यो मात्रै हेर्ने गरेको छु ।

    सँधै हामी खेलिरहन सक्दैनौ । मलाई लाग्छ पुस्ता हस्तान्तरण हुँदा जहिले पनि राम्रो तरिकाले हुनु पर्छ । अहिले जुन तरिकाले हामीले २÷४ वर्षदेखि युवा खेलाडीहरुलाई गु्रम गरिरहेका छौँ, त्यसको नतिजा देखिइरहेको छ । बिस्तारै चाहन्छौ उनीहरुले नै टिमलाई सम्हालुन् र नेतृत्व गरुन् ।

    हामी सँधै खेल्न सक्दैनौ । विस्तारै फिटनेसदेखि लिएर अरु धेरै समस्या आउन सक्छन् । त्यो अवस्थामा युवा खेलाडीहरु फरक खेलमा फरक तरिकाले ‘म्याच विनर’ भएर आइरहेको देख्दा धेरै खुशी लाग्छ । त्यो राम्रो संकेत हो जस्तो लाग्छ । र, टोलीको लागि राम्रो पक्ष पनि हो ।
    ओमान यात्रामा हामीले धेरै नेगेटिभ तथा पोजेटिभ कुराहरु नोट गरेका छौं । यहाँबाट लाने पोजेटिभ नोट भनेको युवा खेलाडीहरु अगाडि आएका छन् । ओपनिङ व्याट्सम्यानहरु, रोहित र गुल्सन जसरी आएका छन्, सबै कुरा हेर्दा हामीले यो लेवलमा खेलाडीबाट जुन रुप चाहेको थियौ त्यो बिस्तारै निर्माण भइरहेको छ जस्तो लाग्छ । र, यसलाई सबै कुरा मिलाएर अगाडि बढाउने हो भने धेरै राम्रो हुन्छ ।

  • कप्तान ज्ञानेन्द्रको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य

    कप्तान ज्ञानेन्द्रको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य

    काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालार्य १ सय ७५ रनको लक्ष्य दिएको छ ।

    मध्यम सुरुआत गरेको नेपालको माथिल्लो मध्यक्रमदेखि टेल इन्डर्ससम्म कोही पनि नचल्दा ४८ ओभरमा सबै विकेट गुमाएर १७४ रनको योगफल तयार गरेको हो ।

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

  • कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

    कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतक

    काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाविरुद्ध नेपालका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाएका छन् । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि वान् डाउनमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले ९१ बलमा ३ चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

    राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझृदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यूट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल शुन्यमा पेभेलियन फर्किएका छन् ।

    ४१ ओभर सकिँदा नेपाल अहिले १४४/६ को अवस्थामा ब्याटिङ गरिरहेको छ । अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले २ तथा काएल फिलिप, करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिएका छन् ।

  • पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

    पिएनजीविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने

    काठमाडौैं । पपुवा न्युगिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ रोजेका छन् ।

    नेपालले गत मंगलबार भएको पहिलो खेलमा पिएनजीविरुद्ध २ विकेटको जित निकालेको थियो । त्यो खेलबाट आज मुख्य प्रशिक्षक डेभ वाटमोरले तीन खेलाडी परिवर्तन गरेका छन् ।
    त्यो टोलीबाट शरद भेसावकर, आरिफ शेख र पवन सर्राफलाई बाहिर राख्दै विनोद भण्डारी, करण केसी र सुशन भारीलाई प्लेइङ-११ मा राखेका छन् ।
    ओमान-अमेरिका-नेपाल ट्राई नेसन वान् डे सिरिजका लागि ओमान पुगेको नेपालले तयारी स्वरुप पिएनजीसँग दुई एकदिवसीय खेलिरहेको हो ।
  • नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

    नेपालले तेस्रो विकेट गुमायो, ६ रन बनाएर कप्तान मल्ल आउट

    काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल ६ रन बनाएर पेभेलियन फर्केसँगै पपुवा न्युगिनीविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याएको नेपालको तीन विकेट झरेको छ ।

    अल अमेरत क्रिकेट मैदानमा नेपालका लागि २० बलको सामना गरेका कप्तान मल्ल मात्रै ६ रन बनाएर डामिनियन राभुको बलमा विकेटकिपर किप्लिन डोरिगाको हातबाट क्याच आउट भए ।

    यसअघि ओपनरद्वय कुशल भुर्तेल १५ तथा आशिफ शेख ३० रन बनाएर आउट भएका थिए । १८.३ ओभर सकिँदा नेपाल ६१/३ को अवस्थामा ब्याटिङ गरिरहेको छ ।

    पछिल्लो १८ बलमा पिएनजीले ८ रन मात्र दिएर १ विकेट लिएको छ ।

    कप्तान ज्ञानेन्द्र आउट भएसँगै शरद भेसावकर क्रिजमा उत्रिएका छन् । उनीसँगै आरिफ शेख पनि नेपालको इनिङ सम्हाल्ने प्रयत्नमा छन् ।

  • त्रीदेशीय कप खेल्न ज्ञानेन्द्र उत्साहित, उपाधि जित्ने लक्ष्य

    त्रीदेशीय कप खेल्न ज्ञानेन्द्र उत्साहित, उपाधि जित्ने लक्ष्य

    काठमाडौं । नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले आजबाट सुरु हुने प्रतियोगितालाई लिएर टिम उत्साहित रहेको बताएका छन् । नयाँ प्रशिक्षकको मातहतमा राम्रो तयारी भइरहेको उनको भनाइ छ ।

    ‘हामी सबै जना एकदमै उत्साहित छौं,’ उनी भन्छन्, ‘हामीले ओडीआई खेल पनि हुन्छन् भन्ने अपेक्षा गरेका थियौं । तर, कोभिड–१९ को कारणले लामो समयसम्म खेल भएनन् । धेरै समयपछि क्रिकेट फर्किँदा हामी खुशी लागेको छ ।’

    प्रतियोगिताको मिति सर्ने अनि स्थगित हुने नियमितताबाट मुक्त भएर अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु नै महत्वपूर्ण भएको मल्ल बताउँछन् ।खेलाडीमा उत्साहसँगै धैर्यतामा पनि आवश्यक रहेको भन्दै उनले खेलाडीहरुलाई अभ्यासको कमि भने नभएको उल्लेख गरे ।

    ‘नयाँ कोचको अन्डरमा तयारी राम्रो भइरहेको छ । धेरै जनाले डोमेस्टिक खेल खेली नै रहेका थिए । हामीले चाहेको चाहीँ अन्तर्राष्ट्रिय खेलमा स्पेट अप गर्नु हो,’ उनले भने, ‘त्यसैले यस्ता खेलमा अझै नयाँ खेलाडी आएर खेले भने राम्रो हुन्छ । र, त्यसका लागि उनीहरुको जस्तो तयारी छ, यो एकदमै राम्रो प्लेटफर्म हो ।’

    लामो समयदेखि नेपाली क्रिकेटमा ब्याटिङ समस्या विकराल छ । तर, कोरोना भाइरसको महामारीपछि गति लिएको घरेलु क्रिकेटमा देखिएको नतिजा र क्रिकेटले यसमा सुधारको संकेत देखिएको मल्ल बताउँछन् । प्रधानमन्त्री कप र मेयर कप जस्ता प्रतियोगितामा २ सय ५० रनको योगफल पनि सुरक्षित नुहुन र चेज हुनुले ब्याटिङमा सकारात्मक परिवर्तन भएको अनुमान गर्न सकिने उनको भनाइ छ ।

    ‘हामीसँग क्षमता हुँदै हुँदै पनि हामीले त्यसलाई प्रयोग गर्न सकिरहेका छैनौं । र, पछिल्लो समयमा हेर्दा।। क्रिकेट जुन हिसाबले परिवर्तन भएको छ, पीएम कप(मेयर कपमा २५० रन बनाएर पनि सेफ नभएको, चेज भइरहेको देखिएको छ । यसलाई पनि एउटा सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खेलमा फरक क्षमताका बलरको सामना गर्दा ब्यािटङ निखारिने हो । तर, एकै चोटी ठूलो प्लेटफर्ममा पुगेर ब्याटिङ गर्नुपर्दा भने जस्तो हुँदैन ।’

    नेपाली खेलाडीमा यथेष्ट क्षमता भएको र त्यस्ता क्षमतालाई एक्सपोजरको कमी भएको कप्तान मल्लको बुझाइ छ । उनी भन्छन्, ‘हामीसँग क्षमता छ, यस्ता म्याचमा पाएको एक्सपोजरमा हामीले राम्रो गर्नुपर्छ जस्तो पनि मलाई लाग्छ ।’

    टोलीमा केही खेलाडी ट्वान्टी–२० स्पेसलिस्टका रुपमा समावेश गरिएको ज्ञानेन्द्रले बताए । ‘५० ओभरका लागि फरक योजना हुन्छ,’ उनले भने, ‘हामी यो सिरिज जित्ने लक्ष्यसहित मैदानमा उत्रिने छौं ।’

  • एपीएफविरुद्ध अर्धशतक बनाएर कप्तान ज्ञानेन्द्र आउट!

    एपीएफविरुद्ध अर्धशतक बनाएर कप्तान ज्ञानेन्द्र आउट!

    काठमाडौं । वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं मेयर कपमा विभागीय प्रतिद्वन्दी नेपाल एपीएफ क्लबविरुद्ध अर्धशतक बनाएर पेभेलियन फर्किएका छन् ।

    त्रिवि क्रिकेट मैदान- कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको वाग्मतीका लागि ओपनिङमा आएका ज्ञानेन्द्र ८४ बलमा ७ चौकासहित ५७ रन बनाएर अमरसिंह रौटेलाको बलमा किशोर महतोको हातबाट क्याच आउट भए ।

    पहिलो खेलमा मेयर ११ सँग ९४ रनको पराजय बेहोरेको वागमतीले दोस्रो खेलमा पुलिससँग २ रनको पराजय भोगेको थियो । तेस्रो खेलमा पहिलो जित खोजिरहेको वाग्मतीले ३१ ओभरमा ४ विकेट गुमाएर ११९ रन बनाएर खेलिरहेको छ ।

    वाग्मतीका इशान पाण्डे २४ रन बनाएर खेलिरहेका छन् भने अदिल खान शून्यमा खेलिरहेका छन् ।