Tag: जुम्ला

  • जुम्लामा एमालेको वडा अधिवेशन आज

    जुम्लामा एमालेको वडा अधिवेशन आज

    सुर्खेत । देशका अधिकांश पालिकामा अधिवेशन भए पनि जुम्लाका कतिपय वडामा भने आज मात्रै वडा अधिवेशन हुँदैछ । कात्तिक छ गते दस ओटा वडामा नेतृत्व चयन गरेको एमाले जुम्लाले आज ५० वडामा एकैसाथ अधिवेशन गर्न लागेको एमाले जुम्ला अध्यक्ष शान्तिलाल महतले बताए ।

    ‘यहाँ आएको बेमौसमी झरीका कारण अधिवेशन गर्न सकिएन’, उनले भने, ‘आज पचास वडाको अधिवेशबाट सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’

  • स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

    स्कुले बालबालिका रुघाखोकी र ज्वरोले ग्रसित

    जुम्ला । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

    रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न थालेका छन् । जुम्ला तातोपानी गाउँपालिका-८ टोप्ला गाउँका कालिका माविमा अध्ययनरत ४७२ विद्यार्थीमा करिब ४० प्रतिशतमा विद्यार्थीमा एक हप्तादेखि रुघाखोकी र ज्वरोको अत्यधिक प्रभाव देखिएको सोही विद्यालयका प्रधानाध्यापक मानबहादुर शाहीले जानकारी दिए ।

    ‘यहाँ बालबालिका मात्र होइन, ज्येष्ठ नागरिकमा पनि यो समस्या देखिएको छ’, उनले भने, ‘शुक्रबार जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट गएको ५ जना स्वास्थ्यकर्मीको टोलीले जाँच गरी औषधि दिएर फर्केको छ । उक्त कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले स्वास्थ्य परीक्षणका क्रममा मौसमी रुघाखोकीको समस्या देखिएकाले बिरामी बालबालिका तथा ज्येष्ठ नागरिकलाई जाँचपश्चात् औषधि दिएर फर्केको बताए । ‘धेरै विद्यार्थी बिरामी भएको खबर पाएपछि हामीले घटनास्थलमै पुगेर स्वास्थ्य परीक्षण गरेका हौँ,’ प्रमुख सापकोटाले भने, ‘जिल्लाभरको प्रदूषित मौसम हावाहुरीका कारण ज्वरो र रुघाखोकी बढिरहेको देखिन्छ ।’ उनीहरुलाई एक हप्तासम्म घरमै बस्ने, बाहिर ननिस्कने सुझावसहित औषधिको व्यवस्था गरेर स्वास्थ्यकर्मीको टोली फर्किएको उनले बताए ।

    विद्यालयका अध्यक्ष सुरतबहादुर शाहीले विद्यार्थीमा अत्यधिक रुघाखोकी र ज्वरो बढेका कारण स्थानीय प्रशासनलाई गुहारेर स्वास्थ्य टोलीको सहयोग लिइएको बताए । सकेसम्म शिविर सञ्चालन गर्ने बताउँदै अध्यक्ष शाहीले बालबालिकाका साथै सबै उमेर समूहका मानिसमा यो समस्या देखिएको बताए । यो समस्या जनजागृति मावि ताम्ती जुम्लामा पनि देखिएको थियो ।

    यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठले प्रदूषणका कारण रुघाखोकी र ज्वरो बिरामी बढेको बताए। उनले भने, ‘यसमा हेलचेक्र्याइँ गर्नुहुन्न । हरेकले संवेदनशीलता भने अपनाउन जरुरी छ ।’ मौसम बदलिएसँगै जुम्लाको भेरीखोला, सिञ्जा र चौधबीस क्षेत्रमा ज्वरोका बिरामी बढ्दै गएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।

  • जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    जुम्लाकाे तिला गाउँपालिकामा ३५ गोठ जले, १० घन्टापछि आगो निभाउन पुग्यो प्रहरी

    सुर्खेत । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा गएराति आगलागी भएको १० घण्टा पछि पुगेको प्रहरीले ३५ गोठ जलेको जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार गएराति साढे नौ बजे ढिपु गाउँको पाटनमा रहेका गोठहरुमा आगलागी भएको हो ।

    ‘हालसम्म आगालगीका कारण मानवीय क्षति भएको छैन । सदरमुकाम भन्दा धेरै टाढा रहेको र धेरै उचाईमा रहेका कारण प्रहरी अहिले विहान सात बजे घटना स्थलमा पुगेको छ । त्यहाँ पुग्ने क्रममा एक जना प्रहरीलाई लेक लागेको अवस्था छ,’ उनले भने, ‘त्यहाँ गोठ मात्रै भएका कारण मानवीय क्षति भएको जानकारी छैन । अन्य क्षति के-के भएको छ भन्ने बारेमा केहि समयपछि विस्तृत विवरण आउनेछ ।’

    उनका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीस जनाको टोली घटना स्थलमा पुगेको छ र आगोलाई नियन्त्रणमा लिने प्रयासमा छ । अहिले पनि तीन गोठमा लागेको आगो निभाउने प्रयास जारी छ ।

  • जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट

    जुम्लाको गोठीगाउँमा २५ घरगोठ जलेर नष्ट

    रासस । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा हिजो बेलुकादेखि लागेको आगोबाट २५ घरगोठ नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्सपेक्टर युवनकुमार चौधरीले जानकारी दिए ।

    इन्सपेक्टर चौधरीका अनुसार आगलागीबाट मानवी क्षति नभए पनि २० देखि २५ पशुचौपायाको मृत्यु भएको छ । ‘साँझ ७ बजेबाट आगलागी भएको रहेछ । हामीले जानकारी पाउने वित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थल पठाएका थियौं,’ इन्स्पेक्टर चौधरीले भने ।

    पछि सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए ।

    गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले बताए । आगो पूर्णरूपमा ननिभेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।