Tag: जिल्ला प्रशासन

  • भोलिदेखि काठमाडौं छाड्न स्थानीय तहको सिफारिस अनिवार्य

    भोलिदेखि काठमाडौं छाड्न स्थानीय तहको सिफारिस अनिवार्य

    काठमाडौं । भोलिदेखि उपत्यका छाड्न नपाइने भएको छ । थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै उपत्यकाका तीनैवटा जिल्ला प्रशासनले यस्तो नियम ल्याएका हुन् ।

    निषेधाज्ञा उल्लंघन गर्दै उपत्यका बाहिर जान नपाइने उनीहरुको निर्णय छ । काठमाडौं उपत्यका छोड्नैपने भएमा स्थानीय तहको सिफारिस अनिवार्य हुनुपर्ने निर्णय गरिएको छ ।

    मंगलबार उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । जारी निषेधाज्ञालाई थप कडा बनाउनेसहितका नियम उनीहरुले ल्याएका छन् ।

    उपत्यकाबाहिर जानको लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने सीडीओहरुको निर्णय छ ।

  • ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    ७७ वटै जिप्रकालाई गृहको निर्देशन- क्वारेन्टाइन र आइसोलेसन तयारी राख्नू

    काठमाडौं । कोभिड-१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले नेपाल प्रेसलाई  बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।

    बुढाले भने, ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।’

    विद्यालय सञ्चालन भइरहेको समयमा क्वारेन्टाइनको व्यवस्थापनको जिज्ञासामा उनले भने, ‘विद्यालयको विषयमा हामीले केही भनेका छैनौं । विद्यालयबाहिरका क्वारेन्टाइन र आइसोलेसनका बारेमा भनेका हौं । विद्यालयको विषयमा त शिक्षा मन्त्रालयसँग समन्वय गरेपछिमात्र निर्णय गर्छौं ।’

  • फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    फिल्म हल खुलाउने सीसीएमसीको निर्णय

    आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा चलचित्र घरलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको छ ।

    बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नेपाल सरकारको पूर्व निर्णय अनुसार रोक लगाइएको सबै क्षेत्रहरुमा वर्तमान स्थितिको विश्लेषण गरी रोक लगाउन सक्ने गरी अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

    यस्तै कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा बढ्न सक्ने जोखिम र दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको सम्बन्धमा नियमित अनुगमन गर्ने र लापरवाही गर्नेलाई कारबाही गर्ने निर्णय भएको पनि बताए ।

    यसअघि जिल्ला प्रशासन कार्यालयले कोभिड मापदण्ड पालना गरेर हल खुलाउने निर्णयसहितको पत्र सीसीएमसीमा पठाइसकेको छ । फिल्म प्रदर्शक कम्पनी क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले आफूहरुलाई प्रशासनबाट भाइरस संक्रमबाट जोगिने मापदण्ड अपनाएर हल चलाउन अनुमति मिलेको बताए । 

    पुस १० गतेदेखि व्यवसायीले एकपक्षीय रुपमा हल खुलाएका थिए । गत चैत ११ गते सरकारले लागु गरेको लकडाउनपछि बन्द भएका हल अहिले करिब जिरो अकुपेन्सीमा चलिरहेका छन् । ‘पानी र बत्तीको पैसा समेत उठ्ने अवस्था छैन’ अडिगाले भने, ‘घाटै खाएर पनि हल चलाइरहेका छौं । यो हप्ता सबैभन्दा बढी ३५ जना फिल्म हेरे । पाँचजनालाई पनि फिल्म देखाइरहेका छौं ।’

    फिल्म निर्माता एवं अभिनेता दीपकराज गिरी चाहिँ मन्त्रिपरिषद्ले आधिकारिक निर्णय नगर्दासम्म ढुक्क साथ फिल्म चलाउने, सुटिङ गर्ने र देखाउने वातावरण नबन्ने बताउँछन् । ‘अहिले भद्रगोल स्थिती छ’ गिरी भन्छन्, ‘यस्तो बेला पैसा कमाउनेभन्दा पनि दर्शकलाई हलमा आकर्षण गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ सरकारले अनुमति नदिएपनि फिल्म सेन्सर चाहिँ भैरहेको छ । शिव श्रेष्ठले माघ १ गते फिल्म रिलिज घोषणा गरेका छन् ।

    क्यूएफएक्सले तीन हल मात्र चलाइरहेको छ । नयाँ फिल्म नभएकाले थप हल खुलाउने निर्णय नभएको अडिगाले बताए । एप्पल इन्टरटेनमेन्टका रुबेन श्रेष्ठले शुक्रबार हलिउड फिल्म मुलान प्रदर्शनको लागि गृहकार्य गरिरहेको बताए । ‘नयाँ फिल्म रिलिज नगर्दासम्म दर्शक हलमा आउने सम्भावना नरहेकाले मुलान रिलिज गर्ने तयारी थालेका छौं’ नेपाल प्रेससँग श्रेष्ठले भने ।

    अहिले मल्टिप्लेक्स हलहरुले सरसफाइ, सामाजिक दूरी र मास्कलाई हलमा अनिवार्य गरेका छन् । काठमाडौंका हल शुक्रबारदेखि संचालनमा आएका थिए भने दोस्रो ठूलो फिल्म बजार पोखराका मल्टिप्लेक्स चाहिँ बुधबारदेखि चलेका थिए ।