Tag: जसपा विवाद

  • महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ।

    बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो ।

    सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए ।

    ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।

    यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।

  • एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    काठाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा अन्तिम फैसला दिन निर्वाचन आयोगले सनाखत लिँदै गर्दा महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेता-कार्यकर्ताको अनुहारमा छुट्याउन सकिने गरी फरकपन थियो । कार्यकारणी सदस्यहरुको सनाखत नसकिँदै उनीहरुमा आयोगको सम्भावित परिणामको पूर्वानुमान भइसकेको थियो । त्यसैले ठाकुर पक्ष मलिन अनुहार लिएर हिँडिरहेको थियो भने यादव पक्ष नेताहरु प्रफुल्लित मुद्रामा थिए ।

    आयोगले ठाकुर पक्ष र यादव पक्षका लागि बेग्ला बेग्लै सनाखत स्थलको व्यवस्था गरिदिएको थियो । त्यहाँ देखिएको माहोलबाटै सम्भावित फैसलाको पूर्वानुमान गर्न सकिन्थ्यो ।

    त्यसैले आयोगको फैसला पूर्व नै ठाकुर पक्षका दुई वरिष्ठ नेताले हार स्वीकार गरेको भावमा आफ्ना अभिव्यक्ति दिएका थिए । एक वर्षअघि आफूहरुकै कारण उपेन्द्र यादवको उद्धार भएको तर अहिले आफ्नै लागि दुर्भाग्यपूर्ण अवस्था आएको भनाइ राजेन्द्र महतो र शरदसिंह भण्डारीले मिडियासामू राखे ।

    महतोको भनाइ थियो, ‘उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’

    अनि भण्डारीले भनेका थिए, ‘हामीले अहिले विभाजन मागेको होइन । जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’

    दुवै नेताको भनाइमा रेस्क्यू गरिएका नेताबाट आफूहरु दुर्घटनामा पारिएको भाव व्यक्त थियो ।

    एक वर्ष अघिको त्यो रेस्क्यू

    जसरी अहिले जसपाको विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओली जोडिन आइपुग्छन्, त्यसरी नै संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीचको एकिकरणमा पनि उनै जोडिन्छन्।

    बाम गठबन्धनले पाएको सुविधाजनक मत लिएर प्रधानमन्त्री बन्न तयार रहेका ओलीसँग संघीय समाजवादी पार्टी मिसिएपछि सरकार झण्डै दुई तिहाइ हाराहारीको बन्न पुग्यो । अर्को मधेशवादी पार्टी भने विपक्षमा बस्यो ।

    उपेन्द्र यादव आफैंले रोजेको मन्त्रालयसहित संघीय समाजवादी पार्टीको नेृत्व गर्दै ओली सरकारमा सहभागी भए । सरकार गठनको एक वर्ष पुगेपछि जसरी प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै थियो, त्यसैगरी यादवको पार्टीमा पनि विवाद बढ्दै थियो ।

    ओलीलाई पनि आफ्नैहरुबाट संकट सिर्जना भइरहेको थियो भने यादवले पनि त्यस्तै अवस्था पार्टीमा भोगिरहेका थिए । यहीबीचमा प्रधानमन्त्री ओलीसँगको ‘टसल’ का कारण यादव करिब डेढ वर्षमै सरकारबाट बाहिरिए ।

    प्रधानमन्त्री ओलीले आफूलाई सोध्दै नसोधी आफ्नो मन्त्रालय परिवर्तन गरिदिएकोमा अपमानित भएको अनुभव गरिरहेका थिए । त्यस्तोमा उनले सरकारमा बसिरहन ठीक ठानेनन् । तर, उनकै पार्टीका मोहमद इस्तियाक राइ लगायतका केही मन्त्रीले सरकार छाड्न चाहेका थिएनन् ।

    यादवको पार्टीका करिब आधा दर्जन सांसद दल विभाजन गरेरै भए पनि सरकारमै रहिरन चाहन्थे । पार्टीभित्र संकट झेलिरहेका ओलीले त्यसलाई टार्न यो विभाजनलाई अवसर ठाने । यादव पक्षका ८/१० जना सांसद आफ्नो पार्टीमा ल्याउन सकिएकमा आफू दुर्घटनाबाट बच्ने अनुमान ओलीको थियो । त्यही मेसोमा २०७७ वैशाख ८ गते ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याइदिए । ओलीले यो अध्यादेश आफ्नो फाइदा र यादवको पार्टीबाट फुट्न चाहनेलाई सजिलो हुनेगरी ल्याइदिएका थिए । नेकपाभित्रै व्यापक विरोध भएको र यादवले आफ्नो पार्टी फुटाउन ल्याइएको भनेर चर्को विरोध गरेपछि त्यो ओलीका लागि प्रत्युपादक भयो ।

    पार्टीभित्र र बाहिरको चर्को दवाव थेग्न गाह्रो भएपछि ओलीले अध्यादेश फिर्ता लिनुपर्ने अवस्था आयो । तर, अध्यादेश ल्याएको दुई दिनमै घट्ने जति राजनीतिक घटना घटिसकेका थिए ।

    यादवको पार्टीका सांसद सुरेन्द्र यादव अपहरणमा परेको हल्ला चल्यो । उनी ओली सरकारमा यादव स्वाथ्यमन्त्री हुँदा राज्यमन्त्री थिए । अध्यादेश ल्याएको दुई दिनपछि १० बैशाखको साँझ ७ बजेपछि यादव बेपत्ता भएको खबर मिडियामा फैलियो । त्यसले अर्को तरङ्ग ल्याइसकेको थियो । उता यादवको अवस्था अज्ञात थियो, अर्कोतिर आफ्नो दल विभाजन रोक्न उपेन्द्र यादव लागिसकेका थिए ।

    यादव र बाबुराम भट्टराई राजपासँग एकीकरण गर्ने वार्तामा जुटे । त्यही दिनको मध्यरातमा यादवको पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने सहमति चमत्कारिक ढंगले भयो । मध्यरातमै ४ बुँदे सहमति सार्वजनिक भयो।

    उता काठमाडौंको मेरियट होटेलमा अपहरणमा परेका भनिएका सांसद यादव रहेको खबर पनि आयो । साथमा थिए, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल । यसलाई धेरैले अपहरण भने । तर, यादवलगायत उनीसँगै रहेकाले सहमतिमा आएको बताए ।

    घटना जे भएको भए पनि दुई पार्टीबीच भएको एकीकरणपछि यसको खास अर्थ भएन । यादवको पार्टी विभाजन हुनबाट जोगियो । एक प्रकारले महन्थ ठाकुरहरुले उपेन्द्र यादवको रेस्क्यू भएको थियो ।

    विभाजनका खास कारण

    समाजवादी पार्टीको अहिलेको विभाजनमा पनि एमाले अध्यक्ष ओली नै जोडिन आइपुग्छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यस बेला ठाकुर र यादव ओलीको कदमको विरोधमा उत्रिए । विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्दै ठाकुर र यादवको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा भनिको थियो, ‘प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो । यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो । तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

    तर, दोस्रो विघटनमा जसपा भित्रको अवस्था फरक रह्यो । अदालते पहिलो विघटन बदर गरिदिएपछि ओलीसँग ठाकुरको सामिप्यता बढ्यो । दोस्रो विघटनमा ठाकुर पक्ष मौन रह्यो । यादव पक्षले भने तिब्र विरोध गर्‍यो । यहीबीचका सरकारसँग केही सम्झौता गरेर ठाकुर पक्ष सरकारमा समेत सहभागि भयो । यसले पहिले नै एकजुट नरहेको जसपामा तिब्र विभाजन ल्याइदियो ।

    एउटा पक्ष सरकारमा सहभागी भयो, अर्को पक्षले विघटनको विरोध गर्यो । ओलीले विश्वासको मत लिँदा ठाकुर तटस्थ बसे, यादव पक्ष ओलीको विपक्षमा । ठाकुर तटस्थ बसेकै कारण विपक्षी गठबन्धनले बहुमत पुर्याउने योजनामा धक्का लाग्यो ।

    सरकारमा गएको १२ दिनमै अदालतले त्यसलाई उल्ट्याइदियो । ठाकुर पक्ष सरकारबाहिर भयो । जसपा विवाद निर्वाचन आयोगमा पुग्यो । एकले अर्कालाई पार्टीबाटै निस्कासन गरे । अदालतले संसद विघटन फेर पनि उल्ट्याइदियो । ओलीले पनि सरकार छाड्नुपर्ने अवस्था आयो । र, आज आयोगले फैसला गर्दै यादव पक्षलाई आधिकारिकता दियो ।

    ठाकुरका सीमित विकल्प

    ओली कदमको विरोधमा उत्रिएको तत्कालीन विपक्षीले स्वयं ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । तर, ठाकुर त्यसमा तयार भएनन् । दोस्रो संसद विघटन अघिसम्म एक हिसाबले ठाकुर अबसरै अबसरको बीचमा थिए, तर उनले त्यसलाई उपयोग गरेनन् ।

    कुनै बेला प्रधानमन्त्री नै बन्न सक्ने अवसरले घेरिएका ठाकुर निर्वाचन आयोगको आजको फैसलापछि ‘राजनीतिक दुर्घटना’ मा परेका छन् । दलबिहीन अवस्थामा पुगेका छन् उनी । उनको रेक्यू गर्न अहिले उपेन्द्र यादव साथमा हुने छैनन् ।

    आयोगकै फैसला अनुसार अब नयाँ दल दर्ता गर्ने बाहेक उनीसँग कुनै विकल्प र अबसर छैन । केन्द्रीय कार्यकारणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकाले ठाकुरसँग रहेका सांसद जसपा छाडे कारवाहीमा पर्ने छन् ।

    विभिन्न समूह जोडेर राजपा बनाएका ठाकुरको संठन यसअघि नै मजबुत थिएन । अहिले पहिले साथमा रहेका समेतले साथ छोडेपछि यादव झन् कमजोर बनेका छन् । जीवनको उत्तरार्धमा ठाकुरले फेरि शून्यबाट शुरुवात गर्नुपर्ने छ । नयाँ पार्टी खोलेर गरिएको उनको आह्वान जनताले पत्याइहाल्छन् भन्ने कुराको पनि केही ग्यारेन्टी छैन ।

  • निर्वाचन आयोगमा रेशम चौधरीको कविता- श्रीमान् न्याय देऊ, क्षमा चाहिँदैन

    निर्वाचन आयोगमा रेशम चौधरीको कविता- श्रीमान् न्याय देऊ, क्षमा चाहिँदैन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सीधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बसेका छन् ।

    पार्टीको न्यायका लागि आयोग पुगेका चौधरीले मत प्रयोग नगरे पनि कवितामार्फत आफ्ना पक्षमा भने न्याय मागे । आयोगबाट बाहिरिँदै गर्दा पत्रकारहरू सामूह चौधरीले सुनाएको कवितामा कठघरमा जति सत्य बोले पनि, न्यायका लागि जति गुहार मागे पनि न्याय नपाएको गुनासो गरेका छन् । र, उनले हात जोड्दै भने- न्याय, न्याय र न्याय ।

    यस्तो छ चौधरीको कविता :

    कठघरामा उभिएर जति सत्य बके पनि
    न्याय पाउँ हजुर भन्दै संयौं पटक झुके पनि,

    निरीह ठान्दा रै’छन् शीर निहुर्‍याएपछि
    दोषी ठहर्‍याउँदा रहेछन् चुप लागेर बसेपछि

    श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
    दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन

  • महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    महन्थ-उपेन्द्र टकरावमा राजेन्द्रको इन्ट्री, जसपा विवाद अब त्रिपक्षीय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र विवाद समाधानका लागि गरिएको प्रयत्न केही घण्टा नबित्दै असफल भएको छ । विवाद समाधानको संकेत गर्दै अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले गरेको संयुक्त वक्तव्यविरुद्ध वरिष्ठ नेता राजेन्द्र महतो पक्षले आजै कदम चालेको छ ।

    महतोकै निर्देशनमा संसद सचिवालयमा पुरानो मितिमा तयार भएको पत्र दर्ता गराइएको छ । अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित सो पत्रमा वैशाख ३० गतेको संसदीय दलको बैठकले महतोलाई संसदीय दलको नेतामा निर्वाचित गरेको व्यहोरा उल्लेख छ । जसपाका नेताहरूले पार्टीभित्र जारी दुई लाइन संघर्षमा ‘तेस्रो धार’ को इन्ट्री भएको बताएका छन् ।

    पढ्नुहोस्: संसद सचिवालयमा महन्थको पत्र- जसपा संसदीय दलको नेता महतो

    अध्यक्ष यादवनिकट सांसद रामबाबु यादवले पार्टीलाई एकतावद्ध बनाउने प्रयासविरुद्ध संसद सचिवालयमा फर्जी चिठी पठाइएको दावी गरे । ‘महन्थ ठाकुर र उपेन्द्र महतोले विवाद समाधान गर्ने भए भनेर राजेन्द्रजीले गुटबन्दी गर्नुभएको हो । उहाँको दाउ परास्त हुन्छ’,यादवले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय कुनै हालतमा स्वीकार नहुने उनको भनाइ छ ।

    अध्यक्ष ठाकुरनिकट केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले भने पार्टीभित्र असहज परिस्थितिमा भएका असहज निर्णयहरूबारे संवादबाटै समाधान हुने बताए । ‘संयुक्त वक्तव्यबाट विवाद मिलाउने प्रयासमात्रै भएको हो । सबै विवाद मिलिसकेको छैन । विवाद मिल्नै बाँकी छ भने केही विवादहरु आउनु ठूलो कुरा होइन’, झाले नेपाल प्रेससँग भने । संसदीय दलको नेता चयनको निर्णय संसदीय दलकै बहुमतबाट भएको भन्दै झाले त्यो निर्णय नमान्ने भए विगतदेखिका निर्णयहरु समेत प्रभावित हुने बताए ।

    आज दुई अध्यक्षको संयुक्त वक्तव्यमार्फत जसपाले सरकारमा नजाने, आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अग्रसरता लिने र कार्यकारिणी समितिको बैठक बोलाउने निर्णय गरेको थियो । त्यसको केहीबेरमै महतोनिकट नेताहरूले संसद सचिवालय पुगेर ठाकुरको हस्ताक्षरमा यसअघि नै तयार भएको पत्रमा मिति सच्याएर दर्ता गराएका थिए । त्यसलगत्तै अध्यक्ष यादवले पनि आजै संसदीय दलको नेता चयन नभएको जानकारी दिँदै संसद सचिवालयमा पत्र बुझाएका छन् । यी घटनाक्रमबाट जसपाको आन्तरिक राजनीतिक अझ जटिल बनेको छ ।

    जसपा नेता डम्बर खतिवडा पार्टीभित्र फुटपरस्त शक्ति हावी हुन खोजेको बताउँछन् । सहमतिका लागि प्रयास भइरहँदा संसद सचिवालयमा पत्र पठाइनु गलत भएको उनले बताए । ‘हामी लचिलो भएर संवाद गरिरहेका छौं तर पार्टीभित्र एक पक्षले विभाजनलाई मद्दत पुग्नेगरी काम गर्न खोजेको छ । कार्यकारिणी बैठकले विभाजन चाहनेहरुको विरुद्धमा निर्णय लिनेछ’, खतिवडाले भने ।

    जसपामा पार्टी एकताकै समयमा महतोलाई संसदीय दलको नेता बनाउने सहमति भएको सो पक्षको दावी छ । वैकल्पिक सरकार गठनका विषयमा साझा मत नबनेको बेला ठाकुर पक्षको समर्थनमा महतो संसदीय दलको नेता चयन भएका थिए । ‘यो पार्टीमा सबैको हिस्सेदारी छ । पार्टी एकतादेखि नै महतोजीको भूमिका मिनिमाइज गर्न खोजियो । अब हामीलाई त्यो मान्ने छैन । उहाँ नै संसदीय दलको नेता हो’, महतोनिकट एक नेताले भने ।

    मंगलबारको घटनाक्रमले जसपाभित्र एकताको सम्भावना थप जटिल बनेको गएको नेताहरु स्वीकार्छन् । जेठ ८ र ९ गतेलाई बोलाइएको कार्यकारिणी समितिको बैठकले नै एकता वा विभाजनबारे निर्णय दिनसक्ने बताइन्छ ।