Tag: जनसभा

  • प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    प्रधानमन्त्री ओली १७ गते पोखरा आउँदै

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली फागुन १७ गते पोखरा आउने भएका छन् । आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी पोखरा आउने प्रदेश सांसद राजीव पहारीले जानकारी दिए ।

    यसअघि प्रधानमन्त्री ओली फागुन १५ गते जनसभालाई सम्बोधनका लागि आउने कार्यक्रम तय थियो । तर, उक्त सम्बोधन अहिले स्थगित गरिएको छ । ‘त्यो विशेष परिस्थितिका कारण कार्यक्रम स्थगित गर्‍यौं । तर, १७ गते उहाँ आउनुहुन्छ,’ सांसद पहारीले भने, ‘कार्यक्रमको स्वरुप र समयमात्रै परिवर्तन भएको हो ।’

    कार्यकर्ता भेलालाई सम्बोधन गर्न अन्य शीर्ष नेताहरू पनि उपस्थित हुने बताइएको छ ।

    फागुन १५ गते हुने भनिएको जनसभालाई सफल पार्न युवा संघका पूर्वअध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीको संयोजकत्वमा २२ हजार २२२ जनाको स्वयंसेवक समिति गठन गरिएको थियो ।

  • ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    ओलीले नारा लगाउँदै भने- अस्थिरता होइन चुनाव चाहियो (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता अन्त्यका लागि चुनावमा जानु आवश्यक भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ओली पक्षद्वारा आयोजित जनसभामा उनले चुनावको पक्षमा नारासमेत लगाए ।

    ‘तपाईंहरुले सबै काठमाडौंवासीले एकस्वरमा भन्नुस्, अस्थिरता कि चुनाव ?’ ओलीले सोधे । (भीडबाट चुनाव-चुनाव आवाज आउँछ ।)
    त्यसपछि ओली आफैं नारा लगाउन थाले ।

    ‘अस्थिरता होइन, चुनाव चाहियो… अस्थिरता होइन, चुनाव चाहियो… ।’

    नारा लगाइसकेर भने, ‘अब सबैले सुने होला । अब देश चुनावतर्फ गयो, गयो । अब चुनावले फैसला गर्छ, कसको सरकार बन्नुपर्छ ’, ओलीले अगाडि थपे, ‘निर्वाचन हुँदा देश संकटमा पर्छ रे, जनताले आफ्नो फैसला दिँदा देश संकटमा पर्छ ? केही मान्छेहरूले कुनामा बसेर षडयन्त्र गरेर अरुका लागि काम गर्दा देश संकटमा पर्ने हो ।’

    प्रधानमन्त्रीले आफूले गरेको संसद विघटन असंवैधानिक नभएको दाबी गरे । अन्य देशका दृष्टान्त पनि उनले पेस गरे । ‘बेलायतमा लिखित संविधान छैन, त्यहाँ प्रधानमन्त्रीले संसद विघटन गर्ने भनेर कतै लेखेको छैन । तर, प्रधानमन्त्रीले अस्ति भर्खर संसद विघटन गरेर चुनाव गराउनुभो । यसरी काम गर्न दिइएन भने प्रधानमन्त्रीले संसद विघटन गर्छ । ताजा जनादेश लिन्छ । हाम्रै बलमा संसदमा आएर हामीलाई नै काम गर्न नदिने, अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने प्रवृत्तिको जवाफ चुनावबाट खोज्नुपर्छ ।’

  • ओली पक्षका  जुलुस : हेर्नुस् ड्रोनबाट लिइएका तस्बिर

    ओली पक्षका जुलुस : हेर्नुस् ड्रोनबाट लिइएका तस्बिर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको नेकपाको वृहत जनसभा शुरू हुनुअघि जुलुसहरु नारायणहिटी संग्रहालय अगाडि पुग्ने क्रम शुरु भएको छ ।

    हाइटेक मञ्चको तीनैतिरबाट आइरहेका जुलुसहरुको ड्रोनबाट खिचिएको दृष्य हेर्नुस् ।

  • ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने

    ओली पक्षको जनसभा नारायणहिटी अगाडि हुने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वागमती प्रदेश कमिटी आउँदो माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारीमा जुटेको छ । सो जनसभा नारायणहिटी दरबारको दक्षिण ढोकातर्फको सडकमा गरिने टुंगो लागेको छ ।

    कमिटीले सभामा काठमाडौंका साथै प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थकलाई सहभागी गराउने भएको छ ।

    वागमती कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नारायणहिटीको गेटअघि मञ्‍च बनाएर कार्यक्रम गरिने बताए । उनले नेपालप्रेससँग भने, ‘अरु स्थान साँघुरो भएको र धेरै मान्छे भेला हुन नसक्ने भएकाले हामीले नारायणहिटी अगाडिको सडकलाई रोजेका हौं । नारायणहिटीदेखि घण्टाघरसम्मको सडकमा सभा हुनेछ ।’

    कमिटीका सचिव खेमप्रसाद लोहनीले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सभामा सम्बोधन गर्ने जानकारी दिए ।

    ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभामा सांस्कृतिक झाँकी, भेषभूषासहित जनसांस्कृतिक महासघबाट सांगीतिक प्रस्तुति दिइनेछ ।

    प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनर्गठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद लोहनीलाई सचिवमा चयन गरेको थियो । सभा सफलतापूर्वक सम्पन्न गर्न नेकपा काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

    यस्तै प्रदेशका सबै पालिकामा ३०१ र वडास्तरमा १०१ सदस्यीय, सम्पर्क समन्वय मञ्चको १०१ सदस्यीय र सबै जनवर्गीय सङ्गठनको यही माघ १५ गतेभित्र ५०१ सदस्यीय जनपरिचालन र कमिटी गठन गरिएको छ । राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल खेलकूद महासंघले स्वयम्सेवक परिचालन गर्ने जनाइएको छ ।

    सो दिन माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको सांगीतिक प्रस्तुति लिएर टोली जुलूसमा सहभागी हुने छ । सभाको तयारीका लागि यही माघ २१ गते काठमाडौँमा मोटरसाइकल र्या‍लीसमेत गरिने जनाइएको छ ।