Tag: जनमत पार्टी

  • मधेशबाट माइतीघरमा आयो सीके राउतको किसान आन्दोलन

    मधेशबाट माइतीघरमा आयो सीके राउतको किसान आन्दोलन

    काठमाडौं । किसानको अधिकार खोसिएको भन्दै आन्दोलन गरिरहेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

    केही दिनयता मधेशकेन्द्रित आन्दोलनमा रहेका जनमतका कार्यकर्ताले माइतीघरमा विरोध गरेका हुन् ।

    उनीहरूले उखु किसानको भुक्तानी गर्नुपर्ने, उखुको मूल्य निर्धारण गर्नुपर्ने, किसानको माग सम्बोधनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने, समयमा मलखाद, बीउ, सिँचाइ व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।

    तस्बिरहरू : गौरव पौडेल ।

  • राजमार्ग अवरोध गर्दैगर्दा जनमत पार्टीका उपाध्यक्ष पक्राउ

    राजमार्ग अवरोध गर्दैगर्दा जनमत पार्टीका उपाध्यक्ष पक्राउ

    जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष इन्जिनियर वसन्त कुशवाहा पक्राउ परेका छन् ।

    पूर्व-पश्चिम राजमार्ग अवरूद्ध गर्न नेतृत्व गरेका उनलाई रौतहटको चन्द्रनिगाहपुरबाट प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष सीके राउतको सचिवालयले उनी पक्राउ परेको जानकारी दिएको छ ।

    शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको राउतले बताएका छन् ।

  • सिरहामा पक्राउ परेका किसान रिहा, सीके राउतका १८ कार्यकर्ता पनि छुट्दै

    सिरहामा पक्राउ परेका किसान रिहा, सीके राउतका १८ कार्यकर्ता पनि छुट्दै

    जनकपुरधाम । सिरहाको औरही गाउँपालिकाले भण्डार गरेको गहुँको बीउ लुटेको आरोपमा पक्राउ परेका किसान मिथिलेश यादव रिहा भएका छन् । उनलाई आज जिल्ला अदालत धनुषाले साधारण तारिखमा रिहा गरेको हो ।

    औरही गाउँपालिकाले यादवमाथि जिल्ला प्रहरी कार्यालय सिरहामा आपराधिक उपद्रो मुद्दा दर्ता गरेको थियो । औरही गाउँपालिका-३ घर भएका उनलाई प्रहरीले पुस ६ गते पक्राउ गरेपछि डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन सुरू गरेको थियो ।

    चार दिनदेखि सिरहामा आन्दोलन जारी राखेपछि स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेको छ । आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ कार्यकर्तालाई समेत प्रशासनले रिहा गर्न आदेश दिएको छ ।

    सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जिल्ला प्रशासन कार्यालयबाट आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई रिहा गर्न आदेश आइसकेको बताए । ६ दलको आग्रहमा उनीहरूलाई रिहा गर्न लागेको उनको भनाइ छ ।

  • सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ)

    सिरहामा निषेधाज्ञा : तरकारी व्यापारीमाथि प्रहरीको ज्यादती (भिडिओ)

    गोलबजार (सिरहा) । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको आन्दोलनलाई लक्षित गर्दै स्थानीय प्रशासनले आज र भोलि दुई दिन निषेधाज्ञा जारी गरेको छ ।

    निषेधाज्ञा कार्यान्वयन गराउने नाममा प्रहरीले तरकारी व्यापारीमाथि बल प्रयोग गरेर बजार बन्द गराएको छ । आज बिहान गोलबजार राजमार्ग क्षेत्रको साप्ताहिक तरकारी बजारमा प्रहरीले व्यापारीमाथि ज्यादती गरेको पीडितहरूले बताएका छन् । राजमार्ग आसपास ५ सय मिटरभित्र निषेधाज्ञा जारी भएको भन्दै प्रहरीले जबरजस्ती बजार बन्द गराएको हो ।

    सटरमा तरकारी बेच्ने किसानलाई समेत प्रहरीले दुर्व्यवहार गरे । तरकारी बिग्रिने भनेर बिन्ती गर्दै गर्दा आफूमाथि कुटपिट गरेको गोलबजार- ३ का किसान मनोज लामाले बताए । ‘सटर बन्द गर नत्र पक्रेर लान्छु भनेर चेतावनी दिँदै सडकमै घिसारे । सटर बन्द गर्न बाध्य भएँ’, उनको गुनासो छ ।

    असनपुरकी सेलोदेवी महतोले प्रहरी प्रशासनले तरकारी बेच्न नदिएको गुनासो गरिन् । उनी भन्छिन्, ‘साँझमै खेतबाट टिपे । अहिले शिव मन्दिर नजिकै ४ बोरा तरकारी राखेको छु । तर, प्रशासनले बेच्न दिइरहेका छैन ।’ बिक्री गर्न नदिए तरकारी सडेपछि क्षतिपूर्ति कसले दिन्छ ? उनले प्रश्न गरिन् ।

    इलाका प्रहरी कार्यालय गोलबजारको टोलीले निषेधाज्ञा पालना गर्न बजार बन्द गराउँदै हिँडेका छन् । बजार बन्द भएपछि जनजीवन प्रभावित बनेको छ । समस्या समाधानको नाममा प्रशासनले जारी गरेको निषेधाज्ञाले झन समस्या बल्झाएको छ । सीके राउतको आन्दोलनलाई नै प्रशासनले सघाएको व्यापारीहरूको आरोप छ ।

    निषेधाज्ञाका कारण सडकमा जनमत पार्टीका कार्यकर्ता देखिएका छैनन् । सवारीसाधन भने निर्वाध चलिरहेका छन् । राजमार्गमा पर्ने गोलबजार, मिर्चैया, बन्दीपुर, लहान, धनगढी, जिरोमाइललगायतका बजार बन्द गराइएको छ ।

    औरही गाउँपालिकाले वितरणमा ढिलाइ गरेपछि गोदाममा राखेको साढे तीन सय बोरा गहुँको बीउ किसानले कब्जा गरेका थिए । अध्यक्ष सिद्धार्थ यादवले उजुरी गरेपछि प्रहरीले एक किसान पक्राउ गरेको विरोधमा सीके राउतको पार्टी आन्दोलनमा छ ।

    आइतबार आमहड्ताल उल्लंघन गरेको भन्दै लाठीसहित सडकमा निस्किएका जनमत पार्टीका कार्यकर्ताले सवारीसाधन तोडफोड गरेका सो क्रममा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । कार्यकर्ता पक्राउको विरोधमा जिल्लाभर चक्काजाम आव्हान गरिएको थियो । आन्दोलन आन्दोलन ध्वंसात्मक बनेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

    सोमबार साँझ सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले आज र भोलि दुई दिन बिहान ५ देखि बेलुका ७ बजेसम्म पूर्वपश्चिम राजमार्ग र सिरहा-चोहर्वा सडक खण्डमा सडक संचालनबाहेक निषेधाज्ञाको घोषणा गरेका हुन् ।

  • मधेशमा जनमत पार्टीको चन्दा अभियान- चुनावबाट जनताराज ल्याउने दाबी

    मधेशमा जनमत पार्टीको चन्दा अभियान- चुनावबाट जनताराज ल्याउने दाबी

    जनकपुरधाम । सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले आन्दोलन र अगामी निर्वाचनमा विजयी हासिलका लागि भन्दै चन्दा अभियान थालेको छ ।

    जनमत पार्टीका महासचिव चन्दन सिंहले आर्थिक सहयोगका लागि अपिल जारी गरेका छन् । ‘आन्दोलन र निर्वाचनका लागि निःसन्देह रूपमा पैसाको जरूरी हुने भएकोले सहयोग गर्न समस्त जनतासँग हार्दिक अनुरोध गर्दछौं,’ जनमत पार्टीको अपिलमा भनिएको छ ।

    जनमत पार्टी जनताको विभिन्न माग लिएर आन्दोलनरत रहेको र आउँदो निर्वाचनमा विजय हासिल गरी जनताराज स्थापना गर्ने तथा घर-घरमा रोजगारी दिनका लागि तयारी समेत थालेको भन्दै ‘आन्दोलन तथा निर्वाचन कोष’ खडा गर्न सहयोगको याचना गरिएको छ ।

    जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवको नाममा मेगा बैंकमा रहेको खातासमेत सार्वजनिक गरेको छ ।

  • सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)

    सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)

    सिरहा । किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् ।

    गाडीहरू तोडफोड हुन थालेपछि नियन्त्रणमा लिने क्रममा प्रहरी र बन्दकर्ताबीच झडपसमेत भएको छ । बन्दकर्तालाई तितरवितर पार्न प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो ।

    जनमतका कार्यकर्ता लाठी बोकेर सडकमा उत्रेपछि पूर्व-पश्चिम राजमार्गमा सवारी चल्न सकेको छैन । बिहान केहिबेर गाडी चले पनि अहिले पूर्णरुपमा ठप्प भएको छ ।

    आमहड्तालका कारण अत्यावश्यक बाहेक शैक्षिक संस्था, बजार, उद्योग, कलकारखाना र यातायात ठप्प छ । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले भने राजमार्ग संचालनमा रहेको दाबी गरे । उनले आन्दोलनकारीले तोडफोड गरेको सवारीको विवरण आउन बांकी रहेको बताए ।

    औरही गाँउपालिकाले थन्क्याएर राखेको गहुँको बीउ किसानहरुले कब्जामा लिएपछि गाउँपालिकाले चार किसानमाथि मुद्दा दर्ता गराएको र प्रहरीले एक किसानलाई पक्राउ गरेको विरोधमा जनमत पार्टीले आन्दोलन घोषणा गरेको हो ।

    पक्राउ परेका किसानलाई रिहा, दर्ता भएको मुद्दा फिर्ता, औरही गाँउपालिकामा भएको भ्रष्टाचारको छानबिन, किसानलाई सहज रुपमा मलखाद उपलब्ध नगराए अझ कडा आन्दोलनको घोषणा गर्ने जनमत पार्टीका नेता दिपेन्द्र यादवले बताए ।

     

  • ‘जनमत माटो यात्रा’ का लागि लुम्बिनी हिँडे सीके राउत

    ‘जनमत माटो यात्रा’ का लागि लुम्बिनी हिँडे सीके राउत

    जनकपुरधाम । ‘जनमत माटो यात्रा’का लागि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउत आज लुम्बिनीतर्फ लागेका छन् ।

    जनकपुरस्थित पार्टी सचिवालयमा आज यात्रा सफलताको शुभकामना दिँदै नेता कार्यकर्ताले अध्यक्ष डा. राउतलाई बिदाई गरे । पर्साको पोखरीमा सभालाई सम्बोधन गरेर लुम्बिनी जाने उनको योजना छ ।

    मंसीर १० गते डा. राउतको नेतृत्वमा उक्त अभियान निस्कने जनमत पार्टीका नेता सञ्जय यादवले जानकारी दिए । उनका अनुसार यात्रा सुरू गर्नुअघि डा. राउत लुम्बिनीको मायादेवी मन्दिरमा विश्व शान्तिको कामना गर्नेछन् ।

    मधेशका २० जिल्लाका सबै स्थानीय तहको माटो संकलन गरेर ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय जनमत पार्टीले गरेको थियो ।

  • सीके राउतको पार्टीद्वारा जसपा अध्यक्ष र इन्जिनियरविरुद्ध उजुरी

    सीके राउतको पार्टीद्वारा जसपा अध्यक्ष र इन्जिनियरविरुद्ध उजुरी

    जनकपुरधाम । सत्तारुढ जनता समाजवादी पार्टीका नेता र इन्जिनियरहरूविरुद्ध जनमत पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

    जनकपुरस्थित पार्टीको केन्द्रीय सचिवालय तोडफोड र आगजनी गरेको आरोपमा जनमत पार्टी धनुषा जिल्ला समन्वय समितिका सचिव विजय साहले १६ जनाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

    जसपा धनुषा अध्यक्ष पशुपति यादव, संघीय परिषद् सदस्य नविन यादव, इन्जिनियरहरू गौरी पण्डित, विजय यादव, सरोज यादव, भवेश मिश्रलगायतमाथि उजुरी दर्ता गराएको जनमत पार्टीले जनाएको छ । पाँच दिनअघि नै उनीहरुविरुद्ध उजुरी दर्ता भए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन ।

    केन्द्रीय सचिवालयमा तोडफोड र आगजनी गरेकाहरूलाई पक्राउ गरेर कारबाही गर्न उजुरी दर्ता गराएको र अडिओ/भिडिओ प्रमाणसमेत प्रहरीमा पेस गरेको डा. राउतले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल प्रहरीले यथाशीघ्र कारबाही गरोस्, अन्यथा आक्रोशित जनताले केही कारबाही गरे हामी जिम्मेवार हुने छैनौं ।’

    आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनैतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरू समेत संलग्न देखिएको भन्दै काउन्सिलले यथाशीघ्र उनीहरुको लाइसेन्स खारेज गर्नुपर्ने उनको माग छ ।

    जसपा धनुषा अध्यक्ष पशुपति यादव र संघीय परिषद् सदस्य नविन यादवले आन्दोलनमा घुसपैठ गर्न खोजेको कुरा आपसमा गरिएको फोन वार्तालापको अडिओसमेत प्रहरीमा पेस गरेको राउतले दाबी गरेका छन् ।

  • सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू)

    सीके राउतका कार्यकर्ताविरुद्ध प्रदर्शन, जनकपुर तनावग्रस्त (तस्बिरहरू)

    जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले खानेपानीका हाकिमलाई दुर्व्यवहार गरेको विरोधमा जनकपुरमा प्रदर्शन गरिएको छ ।

    खानेपानी तथा ढल निकास आयोजना प्रमुख राजेश्वर कुशवाहामाथि सार्वजनिक स्थलमा दुर्व्यवहार गरेपछि सामाजिक सञ्जालमा विरोध बढको छ । जनकारवाहीको नाममा आतंक मच्चाएको भन्दै जनमत पार्टीविरुद्ध इञ्जिनियरहरूको संगठन नेशनल इञ्जिनियर्स एसोसिएसन नेपालले सडकमा जुलुस निकालेको छ ।

    हिजो र आज इञ्जिनियरहरूले जनकपुरधाममा प्रदर्शन गर्दै डा. राउतको इञ्जिनियर काउन्सिल सदस्यता खारेजको माग गरेका छन् । प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने राउतका कार्यकर्तामाथि कारवाही गर्न स्थानीय प्रशासनसँग उनीहरूको माग छ ।

    प्रमुख कुशवाहामाथि दुर्व्यवहारको आरोपमा जनमतका ६२ कार्यकर्तालाई पक्राउ गरिएको थियो । तीमध्ये १७ जनालाई धनुषा प्रहरीले मुद्दा चलाएको छ ।

    आफ्ना कार्यकर्तालाई छाड्नुपर्ने माग गर्दै राउतका कार्यकर्ताहरूले हातमा भाटा लिएर प्रदर्शन गरेका छन् । राउतका कार्यकर्ताहरु र ईन्जिनियरहरु आमने-सामने भएपछि अवस्था तनावग्रस्त बनेको थियो । तर, सुरक्षाकर्मी धेरै परिचालन भएका कारण झडप भएन ।

    पछि राउतका कार्यकर्ता जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगे । सो क्रममा उनीहरूमाथि प्रहरीले लाठी चार्ज गरेको छ । प्रहरीको लाठीबाट एक दर्जन प्रदर्शनकारी घाइते भएको बताइएको छ । प्रदर्शनकारीले बोकेको बाँसको भाटा र व्यानर समेत प्रहरीले खोसेका छन् ।
    अहिले जनकपुरको विभिन्न चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदर्शन गर्न गाउँघरबाट आएका राउतका कार्यकर्ताहरुको दर्जनौं मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइँदै

    खानेपानी हाकिमलाई दुर्व्यवहार गर्ने सीके राउतका १७ कार्यकर्तालाई मुद्दा चलाइँदै

    जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुर कार्यालयका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि प्रहरीले मुद्दा चलाउने तयारी गरेको छ ।

    कुशवाहामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विहीबार ६२ जनालाई पक्राउ गरेकोमा १७ जनामाथि मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए । १७ जनालाई हिरासतमा राख्न जिल्ला अदालत धनुषाबाट म्याद थपको अनुमति लिन लागिएको उनले बताए । बाँकी भने रिहा भइसकेका छन् ।

    प्रहरी स्रोतका अनुसार जनमत पार्टीका धनुषा अध्यक्ष ओमविक्रम कुशवाहा, सर्लाही जिल्ला सदस्य संजयकुमार सिंह, सिरहा जिल्ला सदस्य सौदी मण्डल, दुर्योधन यादव, सिरहाकै सक्रिय सदस्य प्रेमकिशोर यादव, केन्द्रीय सदस्य वीरेन्द्र महतो, विद्यार्थी जनमत संघका अध्यक्ष विजय यादव, धनुषा सबैला नगर संयोजक संजय प्रधानमाथि मुद्दा चलाइने भएको हो ।

    त्यस्तै धनुषा जिल्ला सदस्य धनिक लाल कापर, कैलाशप्रसाद साह, विक्रमकुमार साह, विद्यार्थी नेता महेशकुमार यादव, सिरहाका पार्टी सदस्य रामकरण यादव, दलित संघ सिरहाका सदस्य दिनेश रजक साफी, पार्टीका सिरहा कल्याणपुर नगरपालिकाका वडा सचिव अमनाथ साह, महोत्तरी बलवा नगरपालिका अध्यक्ष संजयकुमार साह र धनुषा विदेह नगरपालिका पार्टी वडा सदस्य सुन्दर मण्डल छन् ।

  • भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार (भिडिओ)

    भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार (भिडिओ)

    जनकपुरधाम । भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।

    ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत कारवाही गर्ने उनीहरूले चेतावनी दिए ।

    कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

     

  • अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन, ‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न चेतावनी

    अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन, ‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न चेतावनी

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गर्दै भ्रष्टाचारीलाई कारबाही गर्न माग गरेका छन् ।

    जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा जुलुश गर्दै महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि मुद्दा दर्ता गर, मधेसी जनता के भन्छ– भ्रष्टाचारीलाई जेल दे भन्छ’ जस्ता नारा लगाएका छन् ।

    जनमत पार्टीका उपमहासचिव इन्द्रजीत यादवले भ्रष्टाचारसम्बन्धी फाइलहरु नियन्त्रणमा लिए पनि ‘माथिको राजनीतिक दबाब छ’ भन्दै मुद्दा दर्ता नगरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए ।

    उनले मुख्यमन्त्री लालबाबु राउतसहित सबै भ्रष्टाचारीमाथि कारबाही गर्न अख्तियार बर्दिबास प्रमुखलाई ज्ञापनपत्रसमेत बुझाएको जानकारी दिए ।

    जनमत पार्टीले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरेको थियो ।

    ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानअन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दबाब परेको छ ।

  • जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यालय जनकपुरमा

    जनमत पार्टीको केन्द्रीय सचिवालय कार्यालय जनकपुरमा

    जनकपुरधाम । जनमत पार्टीले जनकपुरधामको भानु चोकमा केन्द्रीय सचिवालयको कार्यालय सञ्चालनमा ल्याएको छ ।

    राम मनोहर यादवले ‘शहादत प्राप्त गरेको’ दिन सम्झिँदै केन्द्रीय अध्यक्ष डा. सीके राउतले पार्टीको झण्डा फहराएर सचिवालयको उद्घाटन गरेका हुन् । उनले सचिवालय परिसरमा वृक्षरोपणसमेत गरेका छन् ।

    बाँकेमा मधेसी नेता उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेका थिए । भदौ ७ गते पक्राउ परेका यादवको प्रहरी हिरासतमै एक सातापछि मृत्यु भएको थियो ।

    जनमत पार्टीले यादवलाई शहिद भन्दै आएपनि सरकारले घोषणा गरेको छैन । अध्यक्ष डा. राउतले यादव लगायतका ज्ञात–अज्ञात सबै शहिदको सपना साकार पार्न संघर्ष जारी रहेको बताए ।

    अगामी निर्वाचनलाई लक्षित गरेर जनमत पार्टीले संगठन विस्तारसहितका गतिविधि अघि बढाएको छ ।

  • चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    चुनावको तयारी थाल्न कार्यकर्तालाई सीके राउतको निर्देशन

    जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले कात्तिक २६ र मंसीर ३ मा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीमा जुट्न नेता/कार्यकर्तालाइ निर्देशन दिएका छन् ।

    विज्ञप्तिमार्फत उनले सुरक्षित तरिकाले निर्वाचनलक्षित घरदैलो, प्रचार-प्रसार जस्ता कार्यक्रमलाई निरन्तरता दिन भनेका छन् । ‘पार्टीको विजय नै हाम्रो विजय हो भन्ने भावना आत्मसात् गरी निर्वाचनको तयारीमा लाग्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरूमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

    जेष्ठ २२ मा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचनको तयारीमा जाने निर्णय भएको अध्यक्ष डा. राउतले जनाएका छन् ।

  • जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन

    जनमत पार्टीको अध्यक्षमा सीके राउत चयन

    जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत चयन भएका छन् ।

    पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा उनको एकल उम्मेदवारी परेपनि मतदान गराइएको थियो । ४४ सय ४० मत खसेकोमा डा. राउतले २३ सय २ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

    सातजना उपाध्यक्षमध्ये मोहम्मद अब्दुल खान, इन्जिनियर वसन्त कुशवाहा, इन्जिनियर दीपककुमार साह र इन्जिनियर नरेन्द्रप्रसाद चौधरीले मात्र उम्मेदवारी दिएका थिए । यद्यपि सो पदमा पनि मतदान गराइएको छ । चारैजना निर्वाचित भएका छन् ।

    महासचिवमा एकल उम्मेदवार बनेका चन्दनकुमार सिंह १५ सय ७३ मत ल्याएर निर्वाचित भएका छन् ।

    यस्तै केन्द्रीय सदस्य (खुल्ला समूह) तर्फ २३ जना निर्वाचित भएका छन् । महिला समूहतर्फ १५ जना चयन गर्नुपर्नेमा ८ जनाको मात्र उम्मेदवारी परेको थियो ।

    जनकपुरधामको बाह्रबिघा मैदानमा शनिबार प्रथम महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । उद्घाटन सत्रकै क्रममा पदाधिकारी चयन गर्न भएको मतदानको अन्तिम परिणाम आइतबार राति सार्वजनिक गरिएको छ ।

  • जंगलराज समाप्त पार्न चुनावको साहारा लिनुपर्छ: डा. राउत

    जंगलराज समाप्त पार्न चुनावको साहारा लिनुपर्छ: डा. राउत

    जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले जंगलराज समाप्त पार्न चुनावको साहारा लिनुपर्ने बताएका छन् । जनकपुरको बारहविघा मैदानमा आयोजित प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

    उनले भने– अगामी चुनावमा जित्नेगरी तयारी थाल्नुस् । जितेपछि मात्र जनताराज ल्याउन सकिन्छ । डा. राउतले कार्यकर्तालाई सुरवीर बनेर संगठन निर्माणमा लाग्न सुझाए । ‘वीरले मात्र शासन गर्न सकिन्छ’, उनले भने, ‘जो संघर्ष गर्न सक्दैनन्, उसलाई बाँच्ने अधिकार छैन ।’

    जन्मभूमिको रक्षाका लागि संघर्ष गर्नुको विकल्प नरहेको उनले औल्याए । उनले संगठन सशक्त भए पहाडलाई पनि एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ भन्दै संगठन निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘संगठन बलियो बनाएपछि चुनाव जितिन्छ । त्यसपछि मात्र सुशासन र समाजवाद स्थापना गर्न सकिन्छ ।’

    महाधिवेशनमा जिल्ला जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता आएका थिए । शनिवार राती बन्द सत्र पश्चात महाधिवेशन समापन हुने बताइएको छ । नेतृत्व चयनका लागि मदतान भइसकेको छ । जनमत पार्टीका अध्यक्षमा डा. राउतकाे मात्र उम्मेदवारी परेकाले निर्विरोध अध्यक्ष बन्ने छन् ।

  • महाधिवेशनको अघिल्लो दिन सीके राउतकाे पार्टीका यूवा दस्ताको मार्चपास

    महाधिवेशनको अघिल्लो दिन सीके राउतकाे पार्टीका यूवा दस्ताको मार्चपास

    जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ‘यूवा स्वयंसेवक दस्ता’ले प्रथम राष्ट्रिय महाधिवेशनको अघिल्लो दिन आज मार्चपास गरेका छन् ।

    जनकपुरस्थित बाह्रविघा रंगभूमि मैदानबाट सुरु गरिएको मार्चपासले जानकी मन्दिर परिसर हुँदै विभिन्न भागको परिक्रमा गरेको हो ।

    मार्चपासमा सहभागी सयौं यूवाहरुले डा. सीके राउतको तस्बिर अंकित टिसर्ट र टोपी लगाएका थिए । टोपीमा ‘जनमत दें, अधिकार लें’ नारा लेखिएको छ । मार्चपासमा जनमत पार्टीका नेता इन्द्रजीत यादव, अनिता साह, सन्जय यादव लगायतका सहभागी थिए । अध्यक्ष डा. राउत भने देखिएनन् ।

    शनिवार विहान १० बजेदेखि बाह्रविघा मैदानमै जनमत पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको छ । महाधिवेशनमा ५ हजार प्रतिनिधि र २५ हजार स्वयंमसेवक सहभागी हुने बताइएको छ । साथै विदेशका अतिथिहरु समेत सहभागी हुने पार्टीको जानकारी दिएको छ ।

  • पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग गर्न सिके राउतको आह्वान

    पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग गर्न सिके राउतको आह्वान

    जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले प्रथम महाधिवेशनका लागि आर्थिक सहयोगको आह्वान गरेका छन् । डा. राउतले एक विज्ञप्ती जारी गर्दै जनकपुरमा ऐतिहासिक प्रथम महाधिवशन गर्न लागेको भन्दै आर्थिक सहयोगका लागि आह्वान गरेका हुन् ।

    महाधिवेशनलाई भव्यताका साथ सफल पार्न आवश्यक सहयोगका लागि पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायसंग अपिल गरेका छन् । डा. राउतले आर्थिक सहयोगका लागि पार्टीका नाममा रहेको आधिकारिक बैंक खाता समेत सार्वजनिक गरेका छन् ।

    चैत २८ र २९ गते जनकपुरको बाह्विघा मैदानमा महाधिवेशनको आयोजना गरेको डा. राउतद्वारा जारी विज्ञप्तीमा भनिएको छ । महाधिवेशनमा देशका विभिन्न भागबाट करिब ५ सय प्रतिनिधि, २५ हजार स्वयंसेवक तथा विदेशबाट अतिथिको समेत सहभागिता रहने जनाइएको छ ।

    ‘महाधिवेशन ऐतिहासिक गौरवको विषय हुनुका साथै लोकतान्त्रिक व्यवस्थाप्रति आस्था राख्ने सम्पूर्ण जनताका लािग महत्वपूर्ण परिघटना समेत हो’, डा. राउतले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    Nepal Press

  • गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश

    गाउँपालिका अध्यक्ष शुक्ला सीके राउतको पार्टीमा प्रवेश

    जनकपुरधाम । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष बब्लु भनिने जितेन्द्रनाथ शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन् । शनिवार पार्टी अध्यक्ष डा. सीके राउतले उनलाई स्वागत गरे ।

    शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक पार्टीबाट निर्वाचित भएका थिए । फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा समाहित भएपछि उनी नेकपामा प्रवेश गरे । तर नेकपा केही दिनमै परित्यागको घोषणा गरेका थिए ।

    यस्तै रुपन्देहीका सद्भावना पार्टीका पूर्वअध्यक्ष एवं नमूना उच्च माविका अध्यक्ष आनन्द प्रसाद गुप्ता, मर्चवार सिँचाइ (लिफ्ट) विभागका सचिव जगरनाथ कुर्मी र सम्मरीमाई गाउँपालिकाका नेकपाका उम्मेवार सहाबुद्दिन देवान पनि जनमत पार्टीमा प्रवेश गरे ।

  • बलिदानी दिवस मनाउने जनमत पार्टीको तयारी

    बलिदानी दिवस मनाउने जनमत पार्टीको तयारी

    जनकपुरधाम । डा. सिके राउत नेतृत्वको  जनमत पार्टीले सिरहाको लहानमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ ।

    मधेस आन्दोलनका क्रममा ०६३ माघ ५ गते लहानमा रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा लहानमै १४ औं बलिदानी दिवस मनाउने तयारीमा जनमत पार्टीका नेता कार्यकर्ता जुटेका छन् ।

    यसअघि मधेसवादी दलले सरकारमा रहँदा सहिद महतोलाई सम्झिने गरेको थियो । तर पछिल्लो समय उपेन्द्र यादवको नेतृत्वको पार्टीले समेत लहानमा बलिदानी दिवस मनाउन छाडेको छ ।