Tag: जनता समाजवादी पार्टी

  • जसपा कार्यकारिणी समितिको बैठक जारी, शनिवारसम्म चल्ने

    जसपा कार्यकारिणी समितिको बैठक जारी, शनिवारसम्म चल्ने

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक जारी छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा मङ्सिर २८ र २९ गतेका लागि बोलाइएको बैठक भोलि शनिवारसम्म चल्नेछ ।

    हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिकाबारे बैठकमा समीक्षा हुँदैछ । यही मङ्सिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, संगठन बिस्तार अभियान’ को विस्तृत समीक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेन्डा रहेको छ ।

    संगठन बिस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढंगले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाई रहेको बताइन्छ । पार्टीको आगामी संगठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माण बारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक भोलि शुक्रवार सम्पन्न हुनेछ ।

    स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।

  • उपेन्द्र यादव सहभागी कार्यक्रममा सहिद परिवारको आक्रोश : कि न्याय दिनुस् कि मारिदिनुस्

    उपेन्द्र यादव सहभागी कार्यक्रममा सहिद परिवारको आक्रोश : कि न्याय दिनुस् कि मारिदिनुस्

    जनकपुरधाम । अध्यक्ष उपेन्द्र यादव सहभागी जनता समाजवादी पार्टी (जसपा)को अभिमुखीकरण कार्यक्रम स्थलमै मधेस आन्दोलनका सहिद परिवार र घाइतेहले प्रदर्शन गरेका छन् ।

    जनकपुरस्थित उद्योग वाणिज्य संघको भवनमा जसपाले अभिमुखीकरण कार्यक्रम थियो । कार्यक्रममा पार्टी अध्यक्ष यादव, उपाध्यक्ष रेणु यादव, मुख्यमन्त्री लालबाबु राउत र नेताहरु सहभागी थिए । सो कार्यक्रममा अध्यक्ष यादव आएको थाहा पाएपछि सहिद परिवार र घाइतेहरुले त्यहाँ पुगेर प्रदर्शन गरेका हुन् ।

    मधेस आन्दोलनको बलमा प्रदेश सरकार बने पनि आफूहरुलाई ठगेको उनीहरुको आरोप छ । प्रदर्शन गरिरहेका उनीहरुसमक्ष पुगेर प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले माग पूरा गर्ने आश्वासन दिए । मन्त्री यादवले माग सम्बोधन गर्ने आश्वासन दिएपछि सहिद परिवारका सदस्यहरुले ‘अहिलेसम्म किन नभएको ?’ भन्दै आक्रोश पोखेका थिए ।

    सहिद परिवारका एक महिलाले भनिन्, ‘श्रीमान गुमायौं नै । अब हामीलाई पनि मारिदिनुस् । हाम्रै कारण तपाईहरु कुर्सी पाउनुभयो । तर अहिले हामी सडक छाप भएका छौं ।’

    मन्त्री यादवले हात जोडेर कार्यक्रम सकेपछि बसेर छलफल गर्ने भनेपछि उनीहरुले लिखित सम्झौता गर्नुपर्ने अडान राखे । साथै अध्यक्ष यादवलाई भेटेर आफ्नो पीडा सुनाउने इच्छा जाहेर गरेका उनीहरुलाई बिन्ती गरेर पूर्वमन्त्री यादवले छहारीमा बस्न लगाएका थिए ।

    कार्यालय सहयोगी पदमा दिएको करार जागिरको अवधि सकिए पनि म्याद नथपेको, कतिपय सहिद परिवारलाई नियुक्तिपत्र दिएर पनि ठगेको, सहिद प्रतिष्ठान गुपचुप रुपमा गठन गरेको भन्दै सहिद परिवार तथा घाइते आक्रोशित भएका हुन् । उनीहरुले बिहीवार मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

    मुख्यमन्त्री लालबाबु राउतले आफूहरुको माग सम्बोधन गर्न आनाकानी गरिरहेकाले बाध्य भएर अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रमस्थलमा प्रदर्शन गर्न आएको सर्लाही मलंगवाका मधेस आन्दोलनका सहिद दिनेश राय यादवका भाइ रामनरेश राय यादवले बताए । उनले भने, ‘उपेन्द्र यादवको विरोध गर्न आएको छैन । हाम्रो माग पूरा नभएको कुरा उहाँलाई ध्यानाकर्षण मात्र गराउन आएका छौं ।’

    जनकपुरकै सहिद कारि ठाकुरका छोरा उपेन्द्र ठाकुरले पनि मन्त्री यादवमाथि आक्रोस पोखे । उनले २०७६ जेठ ३० गते नै कार्यालय सहभागी पदमा पाएको नियुक्तिपत्र देखाउँदै भने, ‘मुख्यमन्त्री कार्यालयले नियुक्तिपत्र त दिनुभयो । तर काम कुन कार्यालयमा गर्ने ?’

    नियुक्तिपत्र लिएर मुख्यमन्त्री कार्यालय दुई वर्षदेखि धाए पनि कुन कार्यालयमा काम गर्ने कसैले नभनेको उनको गुनासो थियो । उनले अहिलेसम्म तलबसमेत नपाएको र मन्त्रालय धाउँदा–धाउँदै लाखौं रुपैयाँ खर्च भइसकेको पीडा समेत सुनाए ।

    प्रदेश २ सरकार गठन भएपछि पहिलो मन्त्रीपरिषद् बैठकले नै सहिद परिवारलाई रोजगारी दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ५४ जनालाई कार्यालय सहभागी पदमा नियुक्त गरियो । तर त्यसमध्ये २७ जनाले मात्र जागिर पाए । बाँकी २७ जना नियुक्तिपत्र लिएर मन्त्रालय धाइरहे पनि सरकारले कुनै वास्ता गरेका छैन ।

  • जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

    जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् । शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई दलका नेतामा चयन गरेको हो । बैठकमा २१ जना सांसद उपस्थित थिए।

    यादवलाई दलका नेतामा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रस्ताव गरेका थिए भने महेन्द्र यादवले सर्मथन गरेका थिए । निर्वाचन आयोगले पार्टीको आधिकारिकता विवाद निरुपण गरिदिएपछि जसपाले दलको नेता चयन गरेको हो।

  • ठाकुर पक्षका तीनजना लुम्बिनी प्रदेशसभा सदस्यलाई जसपाको कारबाही

    ठाकुर पक्षका तीनजना लुम्बिनी प्रदेशसभा सदस्यलाई जसपाको कारबाही

    काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ।

    पार्टीको आधिकारिकता पाएपछि पहिलो पटक मंगलबार बसेको कार्यकारणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको नेता मोहमद इस्तियाक राइले जानकारी दिए।

    तीनै जना ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागि थिए। जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ।

    उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो।

    शंकर पोखरेल नेतृत्वको सरकारमा जसपाका ४ जना सांसद सहभागी भए सुमन शर्मा रायमाझीले केही दिनअिघ मात्रै राजीनामा दिएकी थिइन्। उनीमाथि भने केही कारवाही गरिएको छैन्।

  • हराएकी सांसद पार्टी नेताको सम्पर्कमा आइन्

    हराएकी सांसद पार्टी नेताको सम्पर्कमा आइन्

    रुपन्देही । आइतबार बिहानदेखि सम्पर्कबिहीन भएको भनिएकी लुम्बिनी प्रदेशकी जनता समाजवादी पार्टीकी सांसद पुर्मती ढेँगा सोमबार दिउँसो सम्पर्कमा आएकी छन् ।

    जसपा पार्टी लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव र मुख्यसचिव यज्ञ पोखरेलले सांसद ढेँगा सम्पर्कमा आएको बताए । ’मसँग कुरा भयो । उहाँले म तनावमा छु, तिलोत्तमामा छु भेटेर कुरा गरौँला भन्नुभएको छ,’ पाखरेलले भने । उनले आफूसहित पार्टीका नेताहरू तिलोत्तमाको ४ नम्बर जान लागेको जानकारी दिए ।

    सरकारलाई बहुमत नभएको समयमा सरकारी योजनामा सांसद मगरलाई वेपत्ता बनाइएको आरोप जसपाले लगाएको थियो । आइतबार नै उनी वेपत्ता भएको निवेदन प्रहरीमा पुगेको थियो ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले हराएको निवेदन दिएका व्यक्तिले नै उहाँ भेटिनुभएको जानकारी दिएको बताए । सांसद ढेंगामगर सम्पर्कमा आएको जसपाले बताए पनि उनी बाहिरी सम्पर्कमा आएकी छैनन् भने मोबाइल पनि उठाएकी छैनन् ।

     

    ८३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ र जसपाका तीनसहित ४१ मत छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १८ (सभामुखबाहेक), जसपाका तीन जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना नै छन् । बहुमतका लागि निर्णायक मत बनाउन सत्तापक्ष र विपक्षी गठबन्धनले केही सांसद तानातानमा लागेका छन् ।

  • एमाले र महन्थपक्षीय जसपाबीचको सहकार्य जारी रहने, बालकोटमा शीर्ष नेताबीच छलफल

    एमाले र महन्थपक्षीय जसपाबीचको सहकार्य जारी रहने, बालकोटमा शीर्ष नेताबीच छलफल

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आपसी सहकार्य जारी राख्दै विपक्षी भूमिकामा रहनेबारे छलफल भएको छ ।

    ओलीनिवास बालकोटमा दुवै पक्षबीच समसामयिक विषयमा छलफल भएको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले बताए । ओलीलाई जसपा अध्यक्ष महन्थ ठाकुर,राजेन्द्र महतो, शरदसिंह भण्डारी र अनिल झा बालकोट पुगेका हुन् ।

    जसपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ । ओलीसँग छोटो समयमात्र सत्ता सहकार्य गरेको जसपाको महन्थ पक्षले पनि शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ ।

    सर्वोच्च अदालतको फैसलालाई हेर्ने दृष्टिकोणमा पनि दुवै पक्षबीच समानता रहेको जसपा नेताहरुले बताएका छन् । एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षले देउवालाई साथ दिएका छन् ।

  • महन्थ ठाकुरले किर्ते कागज निर्वाचन आयोगमा पेश गरेको उपेन्द्र पक्षको आरोप

    महन्थ ठाकुरले किर्ते कागज निर्वाचन आयोगमा पेश गरेको उपेन्द्र पक्षको आरोप

    काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।

    जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

    यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।

    विज्ञप्तिमा भनिएको छ- निर्वाचन आयोग,पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक,गैरकानूनी तथा दण्डनीय कार्य हो ।

    जसपाको पुस ७ गतको वैठकले गरेका निर्णय अध्यक्षद्धय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्धारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त वैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ । जसपाको विवाद अहिले निर्वाचन आयोगमा छ ।

     

  • निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    निर्वाचन आयोगमा उपेन्द्रको पत्र- जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) आजबाट औपचारिक रूपमा विभाजन भएको छ । जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएपछि पार्टी विभाजनले औपचारिकता पाएको हो ।

    यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

    सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

    जसपा विवाद पनि अब तत्कालीन नेकपाको जस्तै निर्वाचन आयोगमा पुगेको छ । महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको  कारवाहीको निर्णय गर्न लागेको छ ।

  • जसपामा काउन्टर स्पष्टीकरणः महन्थ पक्षलाई प्रश्न- पार्टी किन आफ्नो पकेट बनाएको ?

    जसपामा काउन्टर स्पष्टीकरणः महन्थ पक्षलाई प्रश्न- पार्टी किन आफ्नो पकेट बनाएको ?

    काठमाडौं । जनता समाजवादी पार्टीमा एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम बढेसँगै पार्टी औपचारिक रूपमा विभाजन हुन लागेको छ । अध्यथ महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेकै मितिमा उपेन्द्र पक्षले पनि काउन्टर स्पष्टीकरण सोधेको छ ।

    केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई सोधिएको स्पष्टीकरणमा संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई किन साथ दिएको ? भनिएको छ ।

    त्यस्तै पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अनुपस्थित भएको र गुटबन्दीपूर्ण क्रियाकलाप गरेको,छुट्टै कार्यालय सञ्चालन गरेको तथा राष्ट्रपति कार्यालय,निर्वाचन आयोग र संसद सचिवालयमा पार्टीको तर्फबाट पत्रहरु पठाउने कार्य किन गरेको ? जस्ता प्रश्न सोधिएको छ ।

    ९ बुँदै स्पष्टीकरणमा पार्टीको आधिकारिक निर्णयविना सरकारसँग वार्ता गर्न भनी लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई वार्ता कार्यदलमा पठाइएको पनि आपत्ति जनाइएको छ ।

    विधानमा नभएको व्यवस्थालाई स्वेच्छारी ढंगले पार्टीलाई आफ्नो पकेट बनाउने कार्य किन गरेको भनेर ठाकुरलाई सोधिएको छ । तीन दिनभित्र स्प्ष्टीकरण चित्त बुझ्दो नदिएमा अनुशासनको कारवाही गर्ने चेतावनी समेत उपेन्द्र पक्षले दिएको छ ।

  • राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

    राष्ट्रपतिलाई महन्थ पक्षको पत्र- १२ सांसदलाई मान्यता नदिइयोस्, हामी कारवाही गर्दैछौं

    काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले जसपाका १२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति समक्ष आग्रह गरेका छन् ।

    पार्टीका ३२ मध्ये १२ जना सांसदको हस्ताक्षर राष्ट्रपति समक्ष पुगेकोमा उनीहरुमाथि कारवाही प्रक्रिया चलेको र पार्टीले आधिकारिक रुपमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा समर्थन गरेको भन्दै दुवै नेताले ती हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेका हुन् ।

    जसपाले देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने निर्णय नभएको जानकारी समेत उनीहरुले गराएका छन् ।

    पार्टी निर्णयविपरित हस्ताक्षर गर्ने सांसदहरुमाथि पार्टीले कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाएकाले १२ जनालाई गणना नगर्न लिखित आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

  • ठाकुर र महतोमाथि कारवाही हुनसक्छ : यादव पक्ष (भिडियो)

    ठाकुर र महतोमाथि कारवाही हुनसक्छ : यादव पक्ष (भिडियो)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल थालेको छ ।

    यादव पक्षको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको विधान विपरीत संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको प्रचार गरिनु अनैतिक कदम भएको ठहर गरेको छ ।

    बैठकपछि यादव पक्षका सांसद रामबाबु यादवले संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

    “सांसदहरुलाई थाहै नदिई कोही संसदीय दलको नेता हुनसक्दैन । संसदीय दलको बैठक बसेर निर्वाचन समिति बनाए विधान पास गरेर प्रक्रियागत हिसाबले मात्रै दलको नेता छानिन्छ”, यादवले पत्रकारहरुसँग भने ।

    उनले पार्टी हित र विधान विपरीत ठाकुर पक्ष अगाडि बढेको आरोप लगाउँदै गल्ती नसुधारेर पार्टीबाट कारवाही गरिने बताए ।

    आजको कार्यकारिणी समितिको बैठकमा पार्टीभित्र बढेको विवाद र ठाकुर पक्षलाई सामना गर्ने विषयमा छलफल भएको थियो ।

  • संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    संसदमा जसपाको दुई लाइन : ठाकुर तटस्थ, विपक्षमा यादव (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद प्रतिनिधिसभा बैठकमै प्रस्तुत भएको छ ।

    जसपा अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

    जसपाले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मतविभाजनमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको थियो ।

    प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त भएको हो । यसबाट ठाकुर पक्षका सांसदहरू तटस्थ रहने र यादव पक्षका सांसदहरूले विश्वासको मतको विपक्षमा मत दिने सम्भावना बढेको छ ।

  • जसपाको मध्यमार्गी निर्णय, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

    जसपाको मध्यमार्गी निर्णय, सांसदले स्वविवेक प्रयोग गर्न पाउने

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा सांसदहरुलाई ह्वीप जारी नगर्ने भएको छ ।

    जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो ।

    जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लिदै सांसदहरुलाई ह्वीप जारी नगर्ने निर्णय भएको हो ।

    ‘विश्वासको मतको पक्ष, विपक्ष वा तटस्थ बस्नेबारे पार्टीको कुनै निर्णय छैन । सांसदहरुलाई पार्टीले ह्वीप जारी गर्दैन । जे परिणाम आउँछ स्वीकाछौं’ बैठकमा सहभागी एक नेताले भने । जसपा नेताहरुले पार्टी विभाजन रोक्नका लागि यस्तो निर्णय लिइएको बताएका छन् ।

  • महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    महन्थ ठाकुरलाई थाहै नदिई बसेको जसपा बैठकमा क-कसले गरे हस्ताक्षर ?

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले प्रथम अध्यक्ष महन्थ ठाकुर पक्षलाई थाहै नदिई केन्द्रीय कार्यकारिणी समिति बैठकको माइन्यूट तयार पारेको खुलासा भएको छ ।

    लुम्बिनी प्रदेशसभाका चारजना सांसदलाई पदमुक्त गर्न भनी बाबुराम उपेन्द्र पक्षका नेता सहसराम यादवले प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा महन्थ पक्ष बाहेकका २६ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर भेटिएको छ ।

    ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका २६ जनालाई खाली कागजमा हस्ताक्षर गराएको जसपा स्रोतले जनाएको छ । महन्थ ठाकुरले निषेधाज्ञाको बेला कार्यकारिणी समिति बैठक बस्न नमानेपछि बाबुराम उपेन्द्र पक्षले बहुमत सदस्यको हस्ताक्षर जुटाएर कारवाही गरेको बताइएको छ ।

    सोही हस्ताक्षरलाई माइन्यूटमा परिणत गरी अनुशासनको कारवाही र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयलाई बैठकको कार्यसूचीमा राखिएको छ ।

    जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले कार्यकारिणी समितिको बैठक अहिलेसम्म नबसेको र बैठक बोलाउने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई रहेको बताएका छन् । उनले जसपाको नाममा गरिएको लुम्बिनीको कारवाही फर्जी भएको भन्दै त्यसले कानुनी मान्यता नपाउने बताए ।

  • जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर

    जसपाको माइन्युट उपेन्द्रको घरमा, खाली कागजमा बहुमत सदस्यको हस्ताक्षर

    काठमाडौं । संघीय संसदको चौथो ठूलो र सत्ता समीकरणमा निर्णायक मानिएको दल राष्ट्रिय जनता पार्टी (राजपा) विभाजन प्रक्रियामा अघि बढेको छ । लुम्बिनीका चार सांसदलाई उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले सुटुक्क बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षरको निर्णय पठाएर पदमुक्त गरेपछि पार्टी विभाजनमा अघि बढेको हो ।

    आधिकारिकता नबुझी लुम्बिनी प्रदेशका सभामुख पूर्णवहादुर घर्तीले ६ सदस्यीय संसदीय दलका चारजनालाई पदमुक्त गर्ने प्रक्रिया नै गलत रहेको भन्दै यसलाई कानुनी चुनौति दिने महन्थ ठाकुर-राजेन्द्र महतो पक्षको तयारी छ । स्वयं पदमुक्त भएका सांसदहरु अदालत जाने भएका छन् ।

    संघीय सरकारमा केपी ओलीसँग वार्ता गरेर १२० जना मधेश आन्दोलनका नेता कार्यकर्ताको मुद्दा फिर्ता गराउन सफल भएको महन्थ ठाकुर पक्षले यसलाई ठूलो उपलब्धीका रुपमा लिएको छ । ठाकुर पक्ष ओलीको विकल्प खोज्ने पक्षमा छैन ।

    बाबुराम-उपेन्द्र पक्ष तत्कालै ओलीलाई सत्ताच्यूत गर्ने मनस्थितिमा छन् । यो लडाइँको शिकार लुम्बिनी प्रदेशका चार सांसद भएका छन् । पटक पटक अविश्वास प्रस्तावको पक्षमा जान आग्रह गरे पनि ठाकुर तयार नभएपछि बाबुराम र उपेन्द्रले ५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर खाली कागजमा गराएका छन् ।

    स्रोतका अनुसार यो कागज पार्टीमा अर्को पक्षका नेता तथा सांसदहरुलाई कारवाही गर्ने, केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने र निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका लागि प्रयोग गर्ने प्रयोजनका लागि भएको हो ।

    स्रोतका अनुसार गत मंगलवार केन्द्रिय पार्टी कार्यलय वालकुुमारीमा जसपाका शीर्ष पाँच नेताको बैठक बस्दा उपेन्द्र यादवले तत्काल केन्द्रीय कार्यकारणी समितिको बैठक बोलाउन माग गरेका थिए ।

    तर ठाकुर र महतोले कोराना संक्रमणका कारणमा काठमाडौंमा विहीवारदेखि निषेधाज्ञा लागेकाले खुलेपछि मात्रै बैठक गर्नु पर्ने आफ्नो भनाई राखेका थिए ।

    त्यसपछि ठाकुर र महतोसहित अन्य पदाधिकारी हिँडे । ठाकुर पक्ष हिँडेपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यलयमै आफना निकट कार्यकारिणी समिति सदस्यहरु बोलाएका थिए ।

    यादवले कार्यकारणी सदस्यहरुलाई सादा कागजमा हस्ताक्षर गराउदै उक्त हस्ताक्षर लुम्बिनी प्रदेशका चार सांसदको कारवाही र केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काग्रेस माओवादी संग मिलेर अविश्वास प्रस्ताव ल्याउन प्रयोग गर्ने बताएका थिए ।

    यस अघि यादवले संसदीय दलको कार्यलयवाट जसपाको संसदीय दलको माइन्युट पनि गुपचुप रुपमा लगेर आफूसँगै राखेको जसपा स्रोतले जनाएको छ । मंगलवार यादवले कति जना कार्यकारणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेका थिए भन्ने प्रष्ट खुलेका छैन ।

    तर उनी पक्षका नेताहरुले २८ देखि ३३ जना सम्मको हस्ताक्षर संकलन गरिएको दावी गरेका छन । जसपाको कार्यकारणी समिति अहिले ५१ सदस्यीय छ । साबिक राजपाका २६ र समाजवादीका २५जना समेटेर बनाइएको कार्यकारिणी समितिका महेन्द्र यादव पक्षधर तीन जना अहिले उपेन्द्रतिर लागेका छन् ।

    गत वर्ष यसैबेला उपेन्द्र यादवसँग अशन्तुष्ट भएर अलग हुन चाहेका रेणु यादव, प्रदीप यादव, इस्तियाक राई लगायतलाई सहज बनाइदिन ओलीले राजनीतिक दल सम्बन्धी ऐन संशोधन अध्यादेश ल्याएका थिए । तर त्यसको आफनै पार्टीबाट चर्को विरोध भएपछि फिर्ता लिएका थिए ।

    यादव पक्षका त्यसबेलादेखिनै असन्तुष्ट रहेका सांसदहरुलाई बाबुराम भट्टराईले यसबीचमा धेरै मेहनत गरेर महन्थ ठाकुरको पक्षमा लाग्नबाट रोकेको जसपा नेताहरु बताउछन् । उपेन्द्र यादवसँग उनीहरु अशन्तुष्ट रहे पनि बाबुरामले समेटेका कारण संसदीय दल र कार्यकारिणी समितिमा उपेन्द्र बाबुराम पक्ष बहुमत रहेको छ ।

    साबिक समाजवादी पार्टीका सबै सांसदलाई बाबुरामले समेटेको र साबिक राजपाका महेन्द्र यादव पक्षधर पनि बाबुराम उपेन्द्रतिर लागेका कारण ठाकुर पक्ष अल्पमतमा परेको छ । यहि मौकामा लुम्बिनीका सांसदलाई कारवाही गर्ने र दबाबमा पारेर अ‍ोलीविरुद्ध अविश्वास प्रस्तावमा सहमत गराउने प्रयास बाबुराम उपेन्द्रको छ ।

    तर ठाकुर पक्षले लुम्बिनी प्रकरण पार्टी विभाजनको बिजारोपण भन्दै पार्टीको प्रथम अध्यक्षको हैसियतमा महन्थ ठाकुरले बोल्ड निर्णय गर्ने दावी गरेको छ । त्यो भनेको थप क्षति हुनुअघिनै पार्टी एक वर्षअघिकै अवस्थामा फर्काउने हो । जसपा एकीकरण निर्वाचन आयोगमा बाहेक अन्यत्र भएको छैन ।

  • पदमुक्त भएका सांसद कानुनी उपचारमा जाने, सभामुख र प्रदेश सचिवले किर्ते गरेको आरोप

    पदमुक्त भएका सांसद कानुनी उपचारमा जाने, सभामुख र प्रदेश सचिवले किर्ते गरेको आरोप

    रूपन्देही । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका संसदी यदलका नेता सन्तोषकुमार पाण्डेयले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेर प्रदेशसभाले गैरकानुनी काम गरेको भन्दै कानुनी उपचारमा जाने बताएका छन् । जसपाका दुई तिहाई प्रदेशसभा सदस्यको सामुहिक निर्णयबाट सरकारमा सहभागी भएको र संसदीय दलको नेतासमेत आफूलाई चयन गरिएको जानकारी गराउदा गराउदै पनि आफूहरुलाई पदमुक्त गरिएको भन्नू प्रदेशसभाको गलत कार्य भएको बताए ।

    उनले प्रदेशसभाको यो निर्णय आफूहरुलाई मान्य नभएको बताए । उनले प्रदेशसभाले आफुहरुलाई पदमुक्त गरेको निर्णइविरुद्ध कानुनी उपचारमा जाने बताएका छन् ।

    लुम्बिनी प्रदेशमा बैशाख ६ गते मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता भएपछि जसपाका ६ प्रदेससभा सदस्यमध्ये ४ जना सरकारमा सहभागी भएका थिए । जसपा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले कुनै कारबाही नभएको र प्रदेश संसदीय दलले गरेको निर्णयअनुसार उनीहरु सरकारमा गएको पत्र पठाइसकेका छन् ।

    पाण्डेयले महन्थ ठाकुरको पत्र दिउँसो १ बजे प्रदेशसभामा आएको तर बिहीबार दिउसो २ बजे पार्टीको अर्को समूहबाट आएको पत्र प्रदेश सचिव दुर्लभ पुनले हतारहतार सभामुखको तोक लगाएर सूचना टाँस गरेको मन्त्रीले आरोप लगाएका छन् । उनीहरूले प्रदेश सचिव र सभामुख पूर्णबहादुर घर्तीको मिलेमतोमा यस्तो किर्ते काम भएको बताउँदै कानुनी कारबाहीको लागि अगाडि जाने बताए ।

  • मन्त्रिपरिषद बैठक : मुद्दा फिर्ताबारे छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

    मन्त्रिपरिषद बैठक : मुद्दा फिर्ताबारे छलफल, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने

    काठमाडौं । मुद्दा फिर्ता लिनेबारे जनता समाजवादी पार्टीले निरन्तर राख्दै आएका मागबारे बिहीबारको मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकमा मुद्दा फिर्ता लिनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए।

    ती मन्त्रीका अनुसार सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिइने छ। त्यस्तै अदालतमा विचाराधीन र फिर्ता लिन नमिल्ने मुद्दामा भने सरकारले सहजिकरण गरिरिदने भएको छ।

    ‘आजको बैठकमा यसबारे राजनीतिक रुपमा छलफल भएको छ । सबै कानुनी प्रक्रिया पुरा गरेपछि सहमति सार्वजनिक गरिने छ,’ नेपाल प्रेससँग ती मन्त्रीले भने। त्यस्तै मधेश आन्दोलनका क्रममा भएको ज्यादतीबारे अध्यन गर्न गठित पूर्व न्यायाधीश गिरिश चन्द्र लाल नेतृत्वको लाल आयोगको प्रतिवदेन पनि सार्वजनिक गर्न सरकार तयार भएको छ।

    जसापाले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई प्रतिष्ठाको विषय बनाउने गरेको छ । सरकाले भने यसलाई सार्वजनिक गरेको थिएन । सरकारले यती काम गरेपछि जसपाका नेता महन्थ ठाकुरले उठाउँदै आएका धेरै माग सम्बोधन हुने र सत्ता साझेदारीको बाटो खुल्ने बताइएको छ।

  • मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

    मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

    रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कारवाही गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई नभएको बताएका छन् ।

    मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टी लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    ‘संसदीय दलले निर्णय गरेर सरकारमा सहभागी भएको अवस्थामा प्रदेश कमिटीले कुनै कारवाही गर्न सक्दैन,’ उनले भने, ‘उहाँहरु संसदीय दलको दुई तिहाईले निर्णय गरेर सरकारमा सहभागी हुनु भएको छ संसदीय दल पार्टीको एउटा आधिकारिक अंग हो त्यसले गरेको निर्णय पार्टीकै निर्णय हो ।’

    पार्टीका लुम्विनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विज्ञप्ति जारी गरी मन्त्रीपरिषदमा सहभागी भएको भन्दै फिर्ता हुन निर्देशन दिएका थिए । प्रदेश कमिटीले सरकारबाट फिर्ता भई २४ घण्टा भित्र चित्तबुझ्दो स्पष्टीकरण दिन निर्देशन दिँदै त्यतिन्जेलसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको बिज्ञप्तीमा उल्लेख छ ।

    सुमनले लुम्विनी प्रदेशमा अविश्वास प्रस्ताव अगाडि बढाउने नबढाउने बिषयमा कसलाई साथ दिने भन्ने बिषयमा पार्टी केन्द्रमा कुनै निर्णय नभएको बताए । ‘केन्द्रीय कार्यकारिणी समितिले समयमा निर्णय नदिँदा कर्णाली प्रदेशमा दुर्घटना भयो,’ सुमनले भने ।

    सुमनले जनता समाजवादी पार्टीको प्रदेश कमिटी समायोजनसमेत नभएको अवस्थामा आफूलाई अधिकार नै नभएको बिषयमा सांसदलाई निस्कासन गरिने भनेर बिज्ञप्ति निकाल्नुको कुनै अर्थ नरहने दावी गरे।

  • चार मन्त्रीलाई तत्काल राजिनामा दिन जसपा लुम्बिनीको निर्देशन, २४ घण्टे स्पष्टिकरण माग

    चार मन्त्रीलाई तत्काल राजिनामा दिन जसपा लुम्बिनीको निर्देशन, २४ घण्टे स्पष्टिकरण माग

    बुटवल । जनता समाजवादी पार्टीले नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका चारजना मन्त्रीलाई कारवाही गरेको छ ।

    जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले सोमबार साँझ विज्ञप्ति जारी गरि पार्टी निर्णय विपरित सरकारमा सहभाागी भएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधिएको जनाएका छन् ।

    स्पष्टिकरण नआउँदासम्म सांसदहरु विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको यादवले जनाएका छन् ।

    उनीहरुलाई यथाशीघ्र सरकारबाट राजिनामा दिई चित्त बुझ्दो जवाफ पेश गर्न भन्दै स्पष्टिकरण नआएको खण्डमा सांसद पद नरहने गरि कारवाहीका लागि कानुनी प्रक्रिया अघि बढाइने चेतावनी यादवले दिएका छन् ।

  • सत्ता समीकरणबारे जसपाका नेताहरुको राय बाझियो

    सत्ता समीकरणबारे जसपाका नेताहरुको राय बाझियो

    काठमाडौं । सत्ता समीकरणका लागि सबै पक्षसँग वार्तामा रहेका जनता समाजवादी पार्टीका शीर्ष नेताहरुका अभिव्यक्ति एउटै बैठकबाट बाहिरिदा पनि फरक फरक ढंगले आउन थालेका छन् ।

    केही दिनयता जसपाका नेताहरु सत्तारुढ नेकपा एमाले,प्रमुख विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग छलफलमा छन् । शनिवार माओवादीसँग छलफल गर्न पेरिसडाँडा पुगेका नेताहरुले फर्किने क्रममा फरक अभिव्यक्ति दिए ।

    जसपाका अध्यक्ष महन्थ ठाकुरले आफूहरुका लागि एमाले,कांग्रेस र माओवादी सबै उस्तै रहेको भन्दै सत्ता समीकरणमा कोही नजिक वा कोही टाढा नरहेको बताए । उनले यो देशमा आफूहरुले कतैबाट सुरक्षा नपाएको गुनासो गरे ।

    ठाकुृरले भने- यो देशमा हाम्रो स्थान छैन,उहाँहरुलाई हाम्रो सहयोग किन चाहियो ? सेना, प्रशासन,न्यायपालिका कतैबाट पनि हामीलाई सहयोग छैन, हाम्रा मान्छे छुटाउने र मुद्दा सम्बोधन गर्ने सवालमा सबै उस्तै छन् । हामीले सत्ता समीकरणबारे कुनै निर्णय गरेका छैनौं ।

    अर्का अध्यक्ष उपेन्द्र यादवले भने केपी ओलीलाई सत्ताच्यूत गर्ने सन्दर्भमा कांग्रेस,माओवादी र जसपा सहमति नजिक पुगेको बताए । उनले ओलीलाई हटाउनुको विकल्प नरहेको बताए ।

    माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि ओली नेतृत्वको सरकार हटाउने सन्दर्भमा छलफल सकारात्मक रहेको बताए । फेरि पनि छलफल गर्दै जाने भनेर नेताहरु उठेका छन् ।

  • डा. भट्टराईको टिप्पणीः ओलीले अरुको शिकारमा घाँस हाल्दैछन्

    डा. भट्टराईको टिप्पणीः ओलीले अरुको शिकारमा घाँस हाल्दैछन्

    काठमाडौं । सरकारमा जाने विषयलाई लिएर जनता समाजवादी पार्टीभित्र अन्तरद्वन्द्व सुरु भएका बेला सो पार्टीका राष्ट्रिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीसँग मिल्न नसकिने अभिव्यक्ति दिएका छन् । ‘जो जे पनि खान उद्यत बनेको’ भन्दै उनले आफ्नै पार्टीका नेतामाथि घुमाउरो कटाक्ष पनि गरेका छन् ।

    ट्विटरमार्फत डा. भट्टराईको अडान सार्वजनिक भएको हो । सर्वोच्चको फैसलापछि केपी ओलीले एक मिनेट पनि सत्तामा बस्न नमिल्ने उनको जिरह छ ।

    ओलीले उल्टै अरुको शिकारमा विषाक्त घाँस हालिरहेको उनले टिप्पणी गरेका छन् । डा. भट्टराईले लेखेका छन्ः अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत  ?  यतिवेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ? किन नबुझेको ? डा. भट्टराईले ट्विटमा ‘ओली हटाउँ देश बचाउँ’ ह्यासट्यागसमेत प्रयोग गरेका छन् ।

  • सरकारको ‘स’ समेत उच्चारण गरेका छैनौं : जसपा नेता कर्ण

    सरकारको ‘स’ समेत उच्चारण गरेका छैनौं : जसपा नेता कर्ण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारमा सहभागी हुनेबारे पार्टीभित्र कुनै चर्चा नभएको बताएका छन् । संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै नेता कर्णले सरकारमा जान जसपाले हतार नगर्ने बताए ।

    ‘हामीले सरकारको स पनि उच्चारण गरेका छैनौं । विगतदेखि नै हामीले राखेका माग पूरा हुनुपर्छ भन्ने हो’, कर्णले भने ।

    संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाईलगायतका एजेण्डामा ठोस पहल नहुँदासम्म जसपाले कसैसँग सहकार्य नगर्ने कर्णको भनाइ थियो । ‘हामी यही देशका पार्टी हौं । संसदमा हाम्रो भूमिका निर्णायक छ भन्ने हामीलाई थाहा छ । अहिले हामी कसैसँग छैनौं, सबैसँग छलफलमै छौं’, कर्णले भने ।

  • नयाँदिल्ली पुगेर बाबुरामले लेखेः लज्जित छु

    नयाँदिल्ली पुगेर बाबुरामले लेखेः लज्जित छु

    काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि आज नयाँदिल्ली पुगेका छन् । आफ्नो उपचारअघि एउटा ट्विट लेख्दै उनले विदेशमा उपचार गराउन आउँदा लज्जित बनेको बताएका छन् ।

    डा. भट्टराई लेख्छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरु, अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिंदै गर्दा अत्यन्त लज्जित-दुखित छु । २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु । सामान्य नागरिकको के होला ?’

    दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा डा. भट्टराईको उपचार हुनेछ । उनीसँग पत्नी हिसिला यमी र प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।

  • जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली पक्षमा प्रवेश

    जसपा स्थायी समिति सदस्य हवारी नेकपा ओली पक्षमा प्रवेश

    काठमाडौं । जनता समाजवादी पार्टीका स्थायी समिति सदस्य एवं युवा इन्चार्ज इस्लाम हवारी नेकपा ओली पक्षमा प्रवेश गरेका छन् ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार बिहान हवारीलाई नेकपामा स्वागत गरेका छन् । स्वागतका क्रममा ओलीले हवारीलाई उत्कृष्ट ढंगले पार्टी काम गर्नका लागि शुभकामनासमेत दिए ।

    वीरगञ्ज निवासी हवारीले जसपाका अन्य नेता/कार्यकर्ताहरू पनि पार्टी प्रवेशको तयारीमा रहेको क्रममा रहेको जानकारी दिएका छन् ।

    यसअघि जसपाकै केन्द्रीय सदस्य तथा पूर्वसांसद डा. शिवजी यादव पनि ओली नेतृत्वको नेकपामा प्रवेश गरेका थिए ।

  • लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    लालबाबुलाई मुख्यमन्त्रीबाट हटाउने उपेन्द्रको प्रयास, ९ महिनासम्म दलको नेता चुनिएनन्

    जनकपुरधाम । जनता समाजवादी पार्टीका एक प्रमुख नेता  उपेन्द्र यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हटाउने प्रस्ताव राखेका छन् ।

    तत्कालीन संघीय समाजवादी पार्टीबाट मुख्यमन्त्री बनेका राउतलाई हटाउने उपेन्द्रको प्रस्तावले जसपामा नयाँ बहस सिर्जना गरेको छ ।

    यादवले नै मुख्यमन्त्री बनाएका राउतलाई हटाउने कुरा बाबुराम भट्टराईले अहिले रोकेका छन् । भट्टराईले मुख्यमन्त्री परिवर्तन गर्ने हो भने पनि पहिले पार्टी र सरकारको नेतृत्व टुंगो लगाउनुपर्ने भनेर ‘होल्ड’ गरेको उनीनिकट स्रोतले जनाएको छ ।

    स्रोतले भन्यो, ‘उपेन्द्रजीले मुख्यमन्त्री परिवर्तन गर्ने प्रस्ताव पहिले नै राख्नुभएको हो । बाबुरामले प्रदेशमा पार्टीको नेतृत्व साविक जसपा र समाजवादीमध्ये एउटाले गर्ने र अर्कोले सरकारको नेतृत्व गर्ने मोडालिटीमा सहमति गरौं भनेर रोकिएको हो ।’

    समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) एकीकरण भएको ९ महिना बितिसक्दा पनि प्रदेश २ मा जसपाको संसदीय दलको नेता चयन गरिएको छैन । मुख्यमन्त्री राउत अहिले पनि तत्कालीन समाजवादी पार्टीको दलको नेताको हैसियतमा छन् ।

    दलको नेता चयन प्रक्रियामै विवाद भएकाले मुख्यमन्त्री फेर्ने उपेन्द्रको प्रयासले मूर्तरूप भने पाएको छैन । प्रतिनिधिसभा विघटनपछि पार्टी आन्दोलनमा केन्द्रित रहेकाले दलको नेता चयनमा ढिलाइ भएको जसपाका सांसद विन्देश्वर यादवले बताए ।

    नेपालप्रेससँग कुरा गर्दै यादवले भने, ‘मुख्यमन्त्रीले जनताको अपेक्षा बमोजिम काम गर्न सकेका छैनन् उनलाई हटाउनुपर्छ भन्ने कुरा हो । तर, संसद विघटनका कारण प्राप्त उपलब्धि नै गुम्ने खतरा बढेको छ । पहिले यसलाई बचाउनुपर्छ । त्यसैले यसतर्फ केन्द्रित भएपछि मुख्यमन्त्री फेर्नुपर्ने छलफल पनि बन्द भएको हो ।’

    दलको नेता राउत नै बन्न सकेनन् भने मुख्यमन्त्री फेरिने निश्चित छ । संसदीय दलको नेता चयन गर्नका लागि पार्टीले पाँच सदस्यीय समिति समेत बनाएको छ । समितिमा सांसदहरू मनिष सुमन, रामाशिष यादव, रानी शर्मा तिवारी, उपेन्द्र महतो र परमेश्वर साह छन् । समितिलाई विधान बनाउन जिम्मेवारी तोकिएको थियो ।

    तर, मनिष सुमनले एक्लै विधान बनाएर मुख्यमन्त्री राउतलाई बुझाए । समितिमा रहेका अन्य चार सांसदसँग सल्लाहसमेत नगरी सुमन एक्लैले विधान बनाएपछि समिति निस्क्रिय रहेको समितिका सदस्य रामाशिषले बताए ।

    पार्टी एकता भए पनि प्रदेशसभामा अहिले राजपा र समाजवादी अलग-अलग दल अस्तित्वमा छन् । १०-१५ दिनपछि दलको नेता चयन प्रक्रिया शुरू हुने मनिष सुमनले बताए ।

    संसदीय दलका नेताका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव, सांसद मनिष सुमनलगायतको नाम चर्चामा छ ।

    मुख्यमन्त्री राउत तत्कालीन समाजवादी पार्टी र मन्त्री सोनल तत्कालीन राजपाका संसदीय दलका नेता हुन् । उपेन्द्रले भने राउतलाई हटाएर विजय यादवलाई मुख्यमन्त्री बनाउन चाहेका छन् ।

    राउत पार्टीभित्रको पछिल्लो विवादमा इस्तियाक राई पक्षमा लागेको बुझाइ उपेन्द्रको छ । रेणु यादव, इस्तियाक राईलगायतका नेताहरूले गत वैशाखमा समाजवादी पार्टी फुटाएर अलग दल दर्ता गर्न खोजेका थिए ।

    त्यसका लागि सहज बनाउन प्रधानमन्त्री ओलीले दल विभाजन सम्बन्धी अध्यादेशसमेत ल्याएका थिए । तर, चौतर्फी विरोधपछि अध्यादेश फिर्ता भएर सांसदको संख्या समेत गडबड भएपछि उनीहरूको प्रयास असफल भएको थियो ।

  • प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटो फिचर)

    प्रतिनिधिसभा विघटनविरुद्ध जसपाको प्रदर्शन (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आज संघीय राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको र्‍यालीको नेतृत्व डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले गरेका छन् । र्‍यालीपछि आयोजित कोणसभालाई बाबुरामलगायतका नेताले सम्बोधन गर्दैछन् ।

            
  • आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    आन्दोलनकाे तयारी गर्दै जनता समाजवादी पार्टी

    संसद विघटनकाे विराेधमा जनता समाजवादी पार्टीले आन्दाेलकाे घाेषणा गरेकाे छ। आन्दाेलनकाे क्रममा पुत्ला दहन, मसाल जुलुस तथा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • यस्तो देखियो सर्वदलीय बैठक (फोटो फिचर)

    यस्तो देखियो सर्वदलीय बैठक (फोटो फिचर)

    काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको निर्णयको विरुद्धमा उभिएका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुको बैठक सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्यो । बैठकले संसद विघटनविरुद्ध संयुक्त कदम चाल्ने निर्णय गरेको छ । बैठकका केही दृश्यहरु–