Tag: जनकपुर-जयनगर रेल

  • आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा, प्रधानमन्त्री देउवा र मोदीले संयुक्त उद्घाटन गर्दै

    आजदेखि जनकपुर-जयनगर रेल सञ्चालनमा, प्रधानमन्त्री देउवा र मोदीले संयुक्त उद्घाटन गर्दै

    काठमाडौं । आजदेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको हैदरावाद हाउसबाट भर्चुअलरुपमा संयुक्त उद्घाटन गरेसँगै जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउने भएको हो ।

    यससँगै करिब डेढ वर्षअघि भारतबाट करिब १ अर्ब खर्च गरेर ल्याइएको रेल सञ्चालनमा आउन लागेको हो । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले रेल सञ्चालनको निकै प्रयास गरेको थियो । विभिन्न कारण संचालनमा आउन नसकेको उक्त रेल आजदेखि सुरु हुन लागेको हो ।

    नेपालको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालन हुन लागेको छ । दैनिक दुईपटक रेल जयनगरबाट कुर्थासम्म सञ्चालन हुनेछ ।

    रेलको उद्घाटनपछि जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा १ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।

    सन् २०१४ देखि बन्द रहेको नेपालको एक मात्र रेलमार्ग पुनः सुरु गर्न लागिएको हो ।

  • संचालनमै नआइ थोत्रिन लाग्यो जनकपुर-जयनगर रेल, तीन मन्त्री फेल !

    संचालनमै नआइ थोत्रिन लाग्यो जनकपुर-जयनगर रेल, तीन मन्त्री फेल !

    जनकपुरधाम । केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका धनुषाकै रघुविर महासेठले ‘विवाह पञ्चमीमा रेल चल्छ’ भनेको तीन वर्ष वित्यो । पछि उनी मन्त्रीबाट हटाइए । उनको ठाउँमा प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङलाई मन्त्री बने ।

    मन्त्री नेम्वाङले गत जेठ १९ मा काठमाडौंमै पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कोरोनाका कारण जारी निषेधाज्ञा हटेलगत्तै रेल सञ्चालनमा आउँछ ।’ यो धारणा राखेको केहि समयपछि मात्र ओली सरकार ढल्यो । त्यसपछि सरकारको नेतृत्व गर्ने अवसर शेरबहादुर देउवाले पाए ।

    वर्तमान देउवा सरकारमा रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेकी छन् । देउवा सरकारले ओलीले नियुक्त गरेका रेल्वे विभागका प्रबन्ध निर्देशक गुरु भट्टराईलाई हटाएर निरञ्जन झालाई नियुक्त गर्‍यो । तर ०७७ असोज २ मै अर्थात १४ महिना अगाडी सरकारले खरिद गरेर ल्याएको दुई सेट रेल अझै सञ्चालनमा आउन सकेका छैन ।

    जनकपुर– जयनगर (कुर्था) सम्म ३४ किलोमिटर रेल्वे ट्रयाक तयार छ । रेल्वे स्टेशन र अन्य भौतिक पूर्वाधार पनि निर्माण सकेर भारतीय कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

    इनर्वा स्टेशनमा थन्काएर राखिएको रेलमा खिया लाग्न थालेको छ । रेलको कतिपय पार्टपूर्जा समेत विग्रिसकेको प्राविधिकहरु बताउँछन् ।

     कर्मचारी नियुक्ति अन्योल

    रेल्वे विभागले गत भदौ ९ मा रेल सञ्चालनका लागि २९ पदमा १२९ कर्मचारीका लागि दरखास्त आह्वान गरेको थियो । सो पदमा ३२ हजार ६६८ जनाले दरखास्त बुझाए । तर पछि विज्ञापन नै स्थगित गरियो ।

    दरखास्त दिनेहरुबाट १ करोड ३६ हजार ६ सय रुपैयाँ रेल्वे विभागले उठायो । तर विज्ञापन नै स्थगित गरेपनि त्यो शुल्क आवेदकहरुलाई फिर्ता गरिएको छैन । रेल्वे विभाग भने यस विषयमा मौन देखिएको छ ।

    पहिलो विज्ञापन रद्द गरेपछि पुनः कर्मचारी भर्नाका लागि विज्ञापन गरिएको छैन ।

    रेल्वे विभागका तत्कालिन प्रबन्ध निर्देशक भट्टराईले ज्यालादारीमा १५० कर्मचारी नियुक्त गरेका थिए । तर देउवा सरकारले नियुक्त गरेका प्रबन्ध निर्देशक झाले ज्यालादारीका सबै कर्मचारीलाई हटाए ।

    उनी भन्छन्, ‘बसेर तलब खाइरहेका कारण कर्मचारीलाई हटाएका छौं । अब रेल चल्ने टुङ्गो लागेपछि मात्र कर्मचारी नियुक्त गर्छौ ।’ अहिले न रेल चल्ने टुङ्गो लागेको छ, न कर्मचारी नियुक्त गर्ने विभागको सुरसार छ ।

    रेल चलाउन आन्दोलन

    रेल ल्याएर थन्काएको वर्षौ वितिसक्दा पनि चलाउन पहल नगरेको भन्दै सरकारविरुद्ध आन्दोलन सुरु भएको छ । विवाह पञ्चमी अगावै रेल सञ्चालन गर भन्दै जनकपुरमा लोसपाले मंसिर ८ मा प्रदर्शन गर्यो । त्यसको विहानपल्ट मंसिर ९ मा यूवाहरुले खजुरी स्टेशनमा प्रदर्शन गरे ।

    यूवा अभियानी मनोज साहले जनकनन्दनी गाउँपालिकामा रेल अविलम्ब सञ्चालनमा ल्याउ अभियान नै चलाएको छ । उनले विवाह पञ्चमीसम्म रेल सञ्चालनमा नल्याए सरकारविरुद्ध आन्दोलन गर्न जनकपुर र काठमाडौं पुग्ने चेतावनी दिए ।

    ‘जनताले तिरेको करबाट रेल खरिद भएको छ’, अभियानी साह भन्छन्, ‘तर रेल विग्रिन थालेपनि सञ्चालनमा नआउनु दुःखद हो ।’ सरकारको उदासिनताले रेल सञ्चालनमा नआएको उनको बुझाइ छ । रेल सञ्चालनमा नआउँदा यस क्षेत्रमा व्यवसाय फस्टाउन नसकेको पनि उनको भनाई छ ।

    कानून र बजेट अभावले रेल चल्न सकेन : प्रबन्ध निर्देशक झा

    रेल्वे विभागका प्रबन्ध निर्देशक झाले कानून र बजेट अभावका कारण रेल सञ्चालनमा आउन नसकेको बताउँछन् ।

    कोरोनाका कारण रेल सञ्चालनमा आउन सकेन भन्ने बहाना मात्र थियो– उनले भने ।

    ‘रेल कहिलेदेखि चल्छ भन्न सकिदिन्न’, उनले भने, ‘तत्काल ३५ करोड रुपैयाँ चाहिएको छ । यो बजेट उपलब्ध गरायो र कानून तत्कालै बनायो भने रेल सञ्चालनमा आउँछ ।’