Tag: छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप

  • एनभीए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ आर्मी तेस्रो

    एनभीए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ आर्मी तेस्रो

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा जारी छैठौं एनभीए क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । सेमिफाइनलमा विभागीय टोली एपीएफसँग पराजित हुँदै फाइनल पुग्न असफल भएको आर्मीले तेस्रो स्थान हासिल गरेको हो ।

    शनिबार बिहान भएको नेपाल पुलिस क्लबविरुद्धको खेलमा ३-० को सोझो सेटमा जित निकाल्दै आर्मी तेस्रो बनेको हो । पहिलो सेटमा २०-२५ को जित निकालेको आर्मीले दोस्रो सेटमा पुलिसलाई १७-२५ मै रोकेको थियो ।

    तेस्रो सेटमा खेलमा फर्किने कोशिस गरेको पुलिसले प्रतिस्पर्धात्मक खेललाई निरन्तरता दिन नसक्दा पुन: आर्मीले १७-२५ को नतिजा निकाल्यो ।

    साविक विजेता न्यू डायमन्डसँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानमा प्रतिस्पर्धाको मौका पाएको पुलिस साविक उपविजेता हो ।

    महिलातर्फको फाइनलमा साविक विजेता न्यू डायमन्ड र विभागीय टोली एपीएफ क्लब दिउँसो १ बजे भिड्दै छन् ।

    च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

    च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

  • एनभीए क्लब भलिबल च्याम्पियनसिप: फाइनलमा आर्मी र हेल्प नेपाल तथा एपीएफ र न्यु डायमन्ड भिड्दै

    एनभीए क्लब भलिबल च्याम्पियनसिप: फाइनलमा आर्मी र हेल्प नेपाल तथा एपीएफ र न्यु डायमन्ड भिड्दै

    काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा जारी एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको छैठौं संस्करणका फाइनल खेलहरू आज हुँदैछन् ।

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने फाइनलमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र हेल्प नेपाल तथा महिलातर्फ एपीएफ र न्यू डायमन्ड स्पोस्ट्स क्लब भिड्ने छन् ।

    पुरुषतर्फको फाइनल खेल विभागीय टोली आर्मी र साविक विजेता हेल्प नेपालबीच दिउँसो ३ बजे सुरु हुनेछ । यस्तै, पुरुषतर्फको तेस्रो स्थानको लागि नेपाल पुलिस क्लब र एपीएफ क्लबले बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछन् ।

    यस्तै, महिलातर्फको फाइनलमा दिउँसो १ बजे एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लब खेल्ने छन् । यस्तै महिलाको तेस्रो स्थानको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच बिहान ९ बजे प्रतिस्पर्धा हुनेछ ।

    च्याम्पियनसिपको महिला र पुरुष दुवैतर्फ विजेताले ४ लाख प्राप्त, उपविजेताले २ लाख र तेस्रोले १ लाख प्राप्त गर्नेछन् । त्यस्तै सर्वोत्कृष्ठ खेलाडीले २५ हजारसँगै विधागत उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

  • छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

    छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप असोज १० देखि

    काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा ‘छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल च्याम्पियनसिप’ असोज १० देखि १६ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

    एनभीएले बुधबार एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज १० देखि १६ गते सम्म हुने र यसपाली पुरस्कार राशी पनि वृद्धि भएको जानकारी दिएको छ ।

    आसन्न प्रतियोगिताको विजेताले ४ लाख, उपविजेतालाई २ लाख र तेस्रो हुनेले १ लाख रूपैयाँ प्राप्त गर्ने एनभीएले बताएको हो । प्रतियोगिताको आगामी संस्करणमा पुरुषतर्फ १२ र महिलातर्फ ७ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

    तीन विभागीय टोलीहरू- नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी र एपीएफसँगै टिपटप हेल्प नेपाल, नेपाल स्पोर्ट्स क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेशले पुरुषतर्फ प्रतिस्पर्धा गर्ने आयोजकले बताएको छ ।

    यस्तै, महिलातर्फ पनि तीन विभागीय- आर्मी, पुलिस र एपीएफसँगै होङगान्जी न्यू डाइमन्ड क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, प्रदेश २ र एभरेस्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

    यो प्रतियोगिताको शीर्ष पुरुष ७ र महिला ५ टोली चैतमा हुने छैठौं राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब भलिबल लिगका लागि छनोट हुनेसमेत आयोजकले बताएको छ ।

    च्याम्पियनसिपको सर्वोत्कृष्ट हुने महिला-पुरुष दुवैतर्फका खेलाडीले २५/२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् । साथै विधागत उत्कृष्ट सर्भर, लिब्रो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकले जनही १०/१० हजार प्राप्त गर्ने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।