Tag: चुनाव

  • मतदातालाई प्रश्न–कस्को चुनाव, कस्तो चुनाव ?

    मतदातालाई प्रश्न–कस्को चुनाव, कस्तो चुनाव ?

    गाउँघरमा चुनावको चटारो बढिसकेको छ । शहरमा चर्चामात्र छ तर गाउँमा चाहिँ पर्चा नै बाँड्न थालिसकेका छन् । यसपटक ठूला साना पार्टीहरुका वडादेखि केन्द्रसम्मका अधिवेशनले नै चुनावी रौनक दिइसकेका थिए ।

    त्यसमाथि अहिले त चुनाव घोषणासँगै गाउँ घरमा दल र सम्भावित उम्मेदवारहरुको घरदैलो शुरु भइसकेको छ । जनतामा जानेमा नेकपा एमाले अग्रपंक्तिमा छ भने सत्तारुढ दलहरु गठबन्धन बनाएर जाने तयारीमा देखिन्छन् । यी त भए परिदृष्य ।

    निर्वाचनबाट मेरो भोटले जितेका उम्मेदवारले राम्रो काम गरे कि गरेनन् भनेर मुल्यांकन गर्ने मौका हो चुनाव । राम्रा उमेदवारको विजय हुदा ५ वर्षमा मेरो गाउँ, मेरो ठाउँले काँचुली फेर्छ भनेर खटिनु हर नागरिकको दायित्वमा पर्छ । एक जनप्रतिनिधि उनको घरको मात्र प्रतिनिधि नभई ५ वर्षको लागि मेरो ठाउँ , मेरो वडा र मेरो पालिकाको प्रतिनिधि पात्र हुन् भनेर गर्व गर्न हरेक मतदाताले पाउनुपर्छ ।

    तर यहाँ त कस्तो प्रवृत्ति हावी भएछ भने,मेरो ठाउँको सक्षम जनप्रतिनिधिका रुपमा मैले प्रतिनिधित्व गर्छु भनेर बोल्नअघि बैक ब्यालेन्स चेक गर्नुपर्ने । स्थानीय निर्वाचन लड्न मात्र ऋण गरेर होस्, जे गरेर होस् ५० लाखदेखि एक करोड छुट्टाउनुपर्ने अनि संघ र प्रदेशको लागि खर्च डबलिने, अझ त्यसले पनि नपुग्ने ।

    चुनावी अभियान सुरु भएदेखि मासुभात खुवाउनै पर्ने, पेट्रोल पम्प रिजर्भ गर्नै पर्ने, जनही ५ देखि १० हजार छुट्टयाउनै पर्ने । खसी र च्वाचे नकाटे , यस्तो खाएर के हिँड्नु उता अर्कोले राँगो ढाल्दैछ भन्दै मन खुम्च्याइ हाल्छन् । पेट्रोल पम्प रिजर्भ नगरे , उता अर्कोले जति नि दिन्छ भनर मुखमै भन्दिन्छन् ।

    निर्वाचन आयोगले तोकेको आचारसंहिता भन्दा पनि ठूलो मतदाताको चेतना नै हो । चुनावअघिका ४ वर्ष ११ महिना आफ्नै मेहनतको कमाइ खाएर बाँच्छौं भने हामीले एक महिना वा १५ दिन अर्काको नखाई राम्रो काम गर्न सक्ने जनप्रतिनिधि चयन गर्छौं किन नभन्ने ?

    सुर्य अस्त नेपाल मस्त भनेझै साँझ पर्न नपाई मदिराको डिमान्ड । अझ चुनावको बेला त हो,अहिले नखाए कहिले खाने भन्दै वियर र सिलप्याक ह्वीस्की नै चाहिने । नभए गलेर हत्तु भैयो थकाइ नमर्ने भयो भनेर साउती गर्ने । टोल टोलमा भतेर लगाउनै पर्ने । चुनावका बेलाका यी अनिवार्य परिदृष्य हुन् ।

    गएको निर्वाचन अभियानमा खटिदा म आफैँले देखेका र भोगेका यी कुरा वृत्तचित्र जस्तै छन् र देशभरका सबै पालिकामा हुने यहि हो । अहिले ५ वर्ष सक्किनै लाग्यो , निर्वाचनको मुखमा छौं,फेरि पनि राजनीति तथा समाजिक अभियानमा लागेका स्वच्छ छबिका कार्यकर्तालाई हतोत्साहि पार्न कहाँका कुन चाहिँ बिटोधारी आउँछ र चुनाव जित्ने रकमकोलमसहितको ठेक्का लिन्छ थाहा छैन ।

    हरेक राजनीतिक कार्यकर्ताले आफूलाई जनताबीच परीक्षित गर्न र क्षमता योग्यता अनुसारको राजकीय पदम पुग्न चाहान्छ । तर अब जनप्रतिनिधि बन्न जनताको मन र मत जितेर पुग्दैन,उसले बैंक ब्यालेन्स देखाउनुपर्छ । पैसा नहुनेले चुनाव जित्दैनन् भन्ने मानक स्थापित हुँदैछ ।

    धेरै संघर्षपछि अग्रजहरुले हामी आजका पुस्ताको हितका लागि गणतन्त्र स्थापित गर्न सक्षम भए । गणतन्त्र अर्थात जनताको तन्त्र,जहाँ संवैधानिक रुपमा देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति पदासिन हुन सक्छ । लोकतन्त्रमा सामान्य जनता वा तीनको बहुमतको इच्छाले शासन चल्ने गर्दछ ।

    नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । हाम्रोसबै तहका सरकार जनतालाई प्रतिनिधित्व गरेर जनताले शासन गरेको सरकार हुन् । निर्वाचनमा उम्मेदवारी दिने हक हर नागरिकको हुन्छ,त्यहाँ कुनै आर्थिक स्थिति नापतौल हुनु हुदैन । कहाँ कहाँबाट लाहुर छिरेर विटोको शक्ति देखाउने लाहुरे भन्दा हाम्रै भान्सामा सुख दुःख साट्दै गुन्द्रुक ढिडो खाने ‘चाउर’ले समग्र भुगोलको दःुख बुझेको हुन्छ र भोलि सत्ताको दुरुपयोग नगरी दुःखको निवारणका लागि आवाज उठाउँछ भन्ने हेक्का राख्नु नागरिकको पनि कर्तव्य हो ।

    आज चुनावी अभियानमा कसैले खुवाएको एक थाल मासु भातको ऋणले जिन्दगीभर भोको र नाङ्गो हिड्ने बाध्यता निम्तिन सक्छ । विकासका धेरै काम भएनन् भन्दै कराउँछौं हामी। आखिर दोषी त हामी पनि हौ नि। हिजो हामीले लिन लगाएको ऋण आज भ्रष्टाचारको कारण बनिरहेको छ । हामीले चुनावमा हालेको दुई चार लिटर पेट्रोलले आज हामीलाई बाटाघाटाविहीन र गुणस्तरयुक्त सडकबाट वञ्चित गराइरहेको छ। हिजो थकाइ मेटाउन पिएको मदिराले देशलाई नै आज चरम महङ्गी र अभावबाट गलाई रहेको छ ।

    हामी आज पनि स्थानीय निर्वाचनको घम्साघम्सिमा छौं । जिम्मेवार नागरिक बन्ने दायित्व अब हामीले आफ्नै काँधमा थमाउनु पर्छ भन्ने लाग्छ । यसको मतलब चुनावमा खर्च गर्नै पर्दैन भन्ने होइन ।अभियानमा रहँदा भोक लाग्छ,यातायात चाहिन्छ , प्रचार प्रसार र जनतासम्म पुग्ने विभिन्न प्राबिधिक पक्षमा खर्च हुन्छ नै ।

    सामान्य तरिकाले त्यसको व्यवस्थापन गर्दै चुनावी अभियान खर्चिलो र भड्किलो बनाउन बाट रोक्ने दायित्व निर्वाचन आयोगले तोकेको आचारसंहिता भन्दा पनि ठूलो मतदाताको चेतना नै हो । चुनावअघिका ४ वर्ष ११ महिना आफ्नै मेहनतको कमाइ खाएर बाँच्छौं भने हामीले एक महिना वा १५ दिन अर्काको नखाई राम्रो काम गर्न सक्ने जनप्रतिनिधि चयन गर्छौं किन नभन्ने ?

    करोड खर्च गरेर चुनाव जित्ने मान्छेले स्वभाविक रुपमा सबैभन्दा पहिले आफ्नो खर्च उठाउने बाटो खोज्छ । त्यो भनेका हाम्रै करबाट उठेको रकम हो । जोगी बन्न कसैले राजनीति गरेको हुन्न भन्छन् नेताहरु । त्यसो भए करोड खर्च गरेर कोही जोगी बन्छ ? अवश्य उसले चुनावमा गरेको खर्चको पाइ पाइ हिसाब निकाल्छ र हामी त्यसको दोहनमा पर्छौं ।

    नेता खराब भए,राजनीतिक बिग्रियो,हामीले जिताएकाहरुले भ्रष्टाचार गरे भनेर गुनासो पनि गरिरहने ५ वर्षपछि फेरि जनबल होइन धनबल र डनबललाई नै रोज्ने हो भने हामी यसैगरी अयोग्यबाट शासित हुन अभिशप्त बन्नेछौं । आचारसंहिता दलहरुलाई र उम्मेदवारलाई मात्र होइन जनतालाई पनि हो भनेर बुझौं ।

    एकैपटक सम्भव नहोला तर कहिँ न कहिँबाट मतदाता आफैंले यसपटक कसैको एक छाक मासुभात,दुई चार बोतल मदिरा वा दुई चार हजार नोटमा मेरो अमूल्य भोट बेच्दिन भनेर सामुहिक कसम खान कोही तयार छ ? यदि तयार हुने हो भने देशभर त्यसले सन्देश दिने छ १ करोड ८७ लाख मतदातालाई । शुरुआत कहिँ न कहिँबाट हुनैपर्छ ।

    हामी हरेक नागरिक स्वस्फूर्त रुपमा आ आफ्नो गाउँ फर्किएर स्वच्छ,सुदृढ र सम्बृद्ध सरकार बनाउन भूमिका खेलौं । हामीसँग स्रोत छ, साधन छ । अब बाकि रहन्छ जिम्मेवार नागरिक बन्न अनि असल र सक्षम प्रतिनिधि छान्न । नत्र देश नबनेको दोष नेतालेमात्र होइन जनताले पनि बोक्नैपर्छ ।

  • स्थानीय तहको चुनाव धकेल्न खोजेकोमा गठबन्धनप्रति एमाले महासचिवको व्यंग्य

    स्थानीय तहको चुनाव धकेल्न खोजेकोमा गठबन्धनप्रति एमाले महासचिवको व्यंग्य

    काठमाडौं । स्थानीय तहको निर्वाचनअघि संघीय संसदको निर्वाचन गर्ने प्रस्तावप्रति नेकपा एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनको व्यंग्य गरेका छन् ।

    महासचिव पोखरेलले सामाजिक संजालमा लेखेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठवन्धन स्थानीय चुनाव पछि सार्ने गरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे !’

    गठबन्धनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको निर्वाचनअघि संसदीय निर्वाचन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

    ‘एमालेले निरन्तर संसद अवरोध’ गर्दा संसदको औचित्य पुष्टि हुन नसकेको भन्दै स्थानीय तहको निर्वाचन पछि धकेलेर संघीय संसदको निर्वाचन अगाडि गर्न उनीहरूको जोड छ ।

  • गृहमन्त्री खाणले भने- सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छन्

    गृहमन्त्री खाणले भने- सबै तहका चुनाव तोकिएकै मितिमा हुन्छन्

    पोखरा । गृहमन्त्री बालकृष्ण खाणले सबै तहका निर्वाचन तोकिएकै मितिमा सकिने बताएका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले निर्वाचनको मितिभित्र शान्तिपूर्ण ढंगले सक्ने बताए ।

    ‘सबै निर्वाचनहरू समयमै सम्पन्न हुन्छन् । सरकारले शान्ति सुरक्षा प्रदान गर्नेछ,’ उनले भने, ‘स्वतन्त्र र भयमुक्त वातावरणमा जनताले मत दिएका र विश्वास पाएका प्रतिनिधि छनोट हुनेछन् ।’ मन्त्री खाणले समय भने तोकेनन् ।

    निर्वाचन आयोगले वैशाखमा स्थानीय सरकारको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ । अघिल्लो पटकको पहिलो स्थानीय निर्वाचन ३१ वैशाख २०७४ मा गते भएको थियो । खाणले त्यही मितिलाई लक्षित गर्दै समयभित्रै निर्वाचन गर्ने बताएका हुन् ।

    उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गर्ने दाबी गरेका छन् । नेपाल सरकारले नै प्रस्ताव परेको परियोजना भएकाले यसलाई पास गरेर जानुको विकल्प नभएको उनले बताए ।

    ‘एमसीसी कुनै सैन्य परियोजना हुँदै होइन । नेपालको भौतिक विकासका लागि नै हो । जलविद्युतको ट्रान्समिसन र सडक विस्तारका लागि नै यो परियोजना आएको हो,’ उनले थपे, ‘यसको रकम हामीले तिर्नुपर्ने छैन, अनुदान हो । नेपालीले यसको सदुपयोग गर्नुपर्दछ । त्यसैले यो अघि बढ्नुपर्छ ।’

    एमसीसी पास गर्न सबै पार्टीको सहमति पाउने उनको विश्वास छ । ‘संविधानसभाको निर्वाचन हुँदैन भनेका थिए, दुईपटक निर्वाचन भयो । संविधानसभाबाट संविधान बन्दैन भन्ने थियो, बन्यो । हाम्रै पार्टीको महाधिवेशन हुँदैन भन्थे, भयो,’ खाण भन्छन्, ‘एमसीसी पनि सहमतिकै आधारमा पास हुन्छ, त्यो सरकारलाई विश्वास छ ।’ फरक प्रसंगमा गृहमन्त्री खाणले पोखरा र लेकसाइड क्षेत्र २४सैं घन्टा खुला गर्ने बताएका छन् ।

  • ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    ओलीको घोषणा- अब चुनावको तयारीमा लाग्छौं, एकल बहुमत ल्याउँछौं (भिडिओ)

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको सार्वभौमसत्ताको रक्षा र विकासका लागि एमालेको एकल बहुमत चाहिएको बताएका छन् । उनले महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने उद्घोष गरे ।

    पार्टीको १० औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यसअघि जनादेशका लागि जान खोज्दा रोकिएको स्मरण गरे । अरु राजनीतिक शक्तिहरुले जनतामा जान डराएर चुनाव रोकेको उनको टिप्पणी थियो ।

    ओलीले भने, ‘निकट भविष्यमा चुनावहरू आउँदैछन् । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीतर्फ पनि जानेछौं । जनमतको तयारी गर्नेछौं । अब हामीले यस देशका लागि एकल बहुमत ल्याउनुपर्ने छ ।’

    देशको सार्वभौमसत्ता र लोकतनत्रको रक्षाको लागि एमालेको बहुमत चाहिएको ओलीको भनाइ थियो ।

    ‘संविधानको गलत व्याख्यालाई जनादेशबाट सच्याएर अघि बढ्नका लागि एमालेले बहुमत ल्याउनुपर्छ,’ ओलीले भने ।

  • एमालेविरुद्ध सत्ता गठबन्धनको चुनावी तालमेल : राष्ट्रियसभामा यसरी हुँदैछ सिट बाँडफाँट

    एमालेविरुद्ध सत्ता गठबन्धनको चुनावी तालमेल : राष्ट्रियसभामा यसरी हुँदैछ सिट बाँडफाँट

    काठमाडौं । राष्ट्रियसभाका २० जना सदस्यहरूको कार्यकाल यही फागुन २० गते सकिदैछ । ४ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका २० जनामध्ये एक जना रामनारायण विडारी मन्त्रिपरिषद्‍बाट मनोनीत हुन् भने १९ जना भूगोलबाट निर्वाचित हुन् ।

    राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ मा राष्ट्रियसभा सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि सो पदका लागि निर्वाचन हुनुपर्ने प्रावधान रहेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने राष्ट्रियसभा सदस्यहरूको पदपूर्तिका लागि माघ ७ देखि १० गतेभित्र निर्वाचन गर्न निर्वाचन आयोगले सुझाएको छ । सरकारले सोही अनुसार माघ ८ गते राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहेको छ ।

    १९ सदस्यका लागि निर्वाचन

    राष्ट्रियसभा सदस्य निर्वाचन ऐनले राष्ट्रियसभामा रिक्त हुने पद जुन प्रक्रियाबाट उत्पत्ति भएको हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ । जसअनुसार फागुन २० मा रिक्त हुने २० मध्ये १९ सदस्यको पदपूर्ति निर्वाचनद्वारा हुनेछ । मन्त्रिपरिषद्‌बाट मनोनीत राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको पदावधी सकिएर रिक्त हुने स्थानमा भने मन्त्रिपरिषद्कै सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशगत आधारमा इलेक्टोरल निर्धारण गरिएको हुन्छ । जहाँ प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताको रूपमा रहेका हुन्छन् । प्रदेशसभा सदस्यलाई ४८ मतभार दिइएको छ भने स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ रहेको छ । प्रदेशगत रुपमा हुने निर्वाचनमा सबैभन्दा बढी मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ ।

    एमालेविरुद्ध गठबन्धन

    दलहरू सिंगल-सिंगल लड्दा एमाले ठूलो पार्टी भएकाले पनि एमालेलाई क्लिन स्वीप गर्न सत्ता गठबन्धन अग्रसर भएको छ । सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति बनिसकेको छ ।

    जसअनुसार राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने सबै १९ सिटमा गठबन्धनका साझा उम्मेदवार प्रत्यासी बन्नेछन् । रिक्त हुन लागेका १९ निर्वाचित राष्ट्रियसभा सदस्यमध्ये ८ जना नेकपा एमालेका रहेका छन् ।

    त्यस्तै नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ जना रहेका छन् । सत्तारुढ गठबन्धनले तालमेलको निर्णय गरिसकेका कारण १९ वटै सिटमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धन सुदृढ बनेको खण्डमा सबै सिटमा विजयी हुनसक्ने अनुमान सम्बन्धित प्रदेशको इलेक्टोरलको मतभारको विश्लेषण गर्दा स्पष्ट हुनेछ ।

    यो पनि पढ्नुहोस् : राष्ट्रियसभा उपाध्यक्षसहित २० सांसद फागुनमा पदमुक्त हुँदै, कुन पार्टीका कति ? (सूचीसहित)

    कसरी हुँदैछ भागबण्डा ?

    सत्तारुढ गठबन्धनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आफ्नो साविक सदस्य संख्या जोगाउने गरी प्रस्ताव राखेका छन् । सोहीअनुसार निर्वाचन हुने १९ सदस्यमध्ये ४ माओवादी र ४ एकीकृत समाजवादीले पाउने पक्का छ ।

    बाँकी ११ सिटमध्ये जसपालाई १ दिएर १० सिट गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पाउने देखिन्छ । ‘१९ मध्ये ११ सिटमा हाम्रो दावी भएपनि जसपालाईपनि समेट्नुपर्ने भएकोले सम्भवतः १० सिट हामीले लिनेगरी गठबन्धन हुने सम्भवना देखिन्छ’, गठबन्धनमा सक्रिय कांग्रेसका एक नेताले भने ।

    ती नेताका अनुसार एमालेतर्फको रिक्त हुने ८ मध्ये ७ स्थानमा कांग्रेस उम्मेदवार प्रत्यासी बन्ने सम्भवना छ । ‘कांग्रेसको रिक्त हुने ३ बाहेक एमाले तर्फको ७ सिटमा हाम्रो उम्मेदवार हुन्छन् होला । अहिले प्रारम्भिक छलफल हो, अन्तिम टुंगो लाग्न बाँकी छ’, ती नेताले नेपाल प्रेससँग भने ।

    प्रतिनिधिसभा र प्रदेशसभामा पनि गठबन्धन

    राष्ट्रियसभा निर्वाचनलगत्तै प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त सदस्यको पदपूर्तिका लागि उपनिर्वाचन हुँदैछ । माओवादी छाडेर एमाले भएका नेताहरू लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको रिक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ । त्यस्तै प्रदेशसभाका विभिन्न १८ क्षेत्रमा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुनेछ । प्रतिनिधिसभाका चारमध्ये कम्तीमा २ सिटमा कांग्रेसको दाबी छ ।

    प्रारम्भिक छलफलमा कैलाली ३ र ४ मध्ये एकमा कांग्रेसको दाबी छ । त्यस्तै अर्घाखाँचीमा भने माओवादी र कांग्रेस दुवैको दाबी यथावत छ । रौतहटमा एकीकृत समाजवादी र जसपाको समेत दावी रहेको छ । ‘उपनिर्वाचनमा तालमेल हुने चै पक्का हो तर कुन सिट कसले लिने भन्नेमा राष्ट्रियसभा निर्वाचनकै दौरान सहमति बन्छ होला’, कांग्रेसका एक नेताले भने ।

  • कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा

    कांग्रेस एक्लै लड्नुपर्छ, बहुमत ल्याउनुपर्छ : गगन थापा

    सिन्धुली । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी संसदीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् ।

    सिन्धुलीमा आयोजित कार्यक्रममा बोल्दै नेता थापाले महाधिवेशन सकिएलगत्तै एकतावद्ध भएर चुनावको तयारीमा जुटेको खण्डमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका हुन् । उनले संसदको सबैभन्दा ठूलो दल बन्नका लागि कांग्रेसले कसैसँग गठबन्धन गर्न आवश्यक नरहेको पनि उल्लेख छ ।

    ‘अधिवेशन सकिएको भोलिपल्टदेखि नै चारतारे झण्डा लिएर गाउँगाँउमा कांग्रेस पुग्नुपर्छ । कांग्रेसको स्वभाव भनेकै एक्लै लड्ने हो । हामी आपसमा मिल्यौ र चुनाव लड्यौ भने कसैले हराउन सक्दैन’, थापाले भने । उनले विगतमा कांग्रेसले चुनावी गठबन्धनको प्रयास गरेपनि असफल भएको बताए ।

    ‘पहिला माओवादीसँग गठबन्धन गरेकै हौ । चितवनमा माओवादीलाई छाड्दा काठमाडौंमै कांग्रेसको भोट घट्यो । त्यसैले कांग्रेसले एक्लै लड्ने तयारी गर्नुपर्छ’, थापाले भने । उनले संसदको पहिलो दल बन्न आवश्यक ४२ लाख भोट कांग्रेसले ल्याउन सक्ने र गठबन्धन गर्दा भोट घट्नसक्ने बताए ।

    फरक सन्दर्भमा नेता थापाले न्यायालयमा देखिएको समस्या समाधानका लागि कांग्रेस सही ठाउँमा उभिनुपर्ने बताए । ‘अदालतको विषयमा कांग्रेस सही ठाउँमा उभिनुपर्छ । न्यायालयको जोगाउन कांग्रेसले स्पष्ट धारणा राखेर अगाडि जानुपर्छ’,थापाले भने ।

  • माधव नेपालले भने- अर्ली इलेक्सनको सम्भावना छैन, तीनवटै तहको निर्वाचन एकैचोटी

    माधव नेपालले भने- अर्ली इलेक्सनको सम्भावना छैन, तीनवटै तहको निर्वाचन एकैचोटी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् ।

    गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै उनले कसैकसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको प्रष्ट्याए । राष्ट्रलाई व्ययभार हुन नदिन तीनवटै तहको निर्वाचन एकैचोटी गर्ने विषयमा सत्तारुढ दलभित्र छलफल भइरहेको नेपालले बताए ।

    ‘इलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अब प्रक्रिया सुरू हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै पर्‍यो समयमा । अव उपनिर्वाचनहरूको कुरा पनि चलिराख्या छ’, नेपालले भने, ‘प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रूपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’

    अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने बताए ।

  • चार वर्षपछि उल्टियो चुनावी परिणाम, कार्यकाल सकिन लाग्दा नयाँ वडाध्यक्ष

    चार वर्षपछि उल्टियो चुनावी परिणाम, कार्यकाल सकिन लाग्दा नयाँ वडाध्यक्ष

    जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा नगरपालिका १० को वडाध्यक्षको मतपरिणाममा चार वर्षपछि उलटफेर भएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको चार वर्षपछि अदालतको आदेशबाट आज पुनः मतगणना हुँदा स्वतन्त्र उम्मेदवार रमेशकुमार राय विजयी भएका छन् ।

    चार वर्ष वडा चलाएका वडाध्यक्ष अरुणकुमार चौधरी पुनः मतगणनाबाट पराजित हुनुपरेको छ । चौधरीले नेपाली कांग्रेसबाट जितेका थिए । उच्च अदालत जनकपुरमा पुनः मतगणना हुँदा चौधरीको २६६ मत मात्र आयो । २६८ मत ल्याएर स्वतन्त्र उम्मेदवार राय निर्वाचित भएका छन् ।

    ०७४ सालको चुनावपछि भएको मतगणनामा दुबै उम्मेदवारको समान २६७ मत आएको भनिएको थियो । समान मत आएपछि गोलाप्रथा गरी कांग्रेस उम्मेदबार चौधरीलाई निर्वाचित गरियो । तर, धाँधली भएको भन्दै उम्मेदवार राय अदालत पुगे र आज न्याय पाएका छन् ।

    पुनः मतगणनापछि निर्वाचित वडाध्यक्ष रायले उच्च अदालत जनकपुरले न्याय दिएकोमा धन्यवाद ज्ञापन गरे ।
    उनले भने, ‘कांग्रेस नेता र तत्कालीन निर्वाचन अधिकारीले धाँधली गरेका थिए । आज ढिलै भएपनि सत्यको जित भयो । खुशी लागेको छ ।’

    उनले अन्तिम आर्थिक वर्षमा वडाध्यक्षको कार्यभार सम्हाल्ने भएकाले इमान्दारितापूर्वक काम गर्ने बताए । धाँधली गरी वडाध्यक्ष भएका चौधरीले व्यापक भ्रष्टाचार गरेको र अब उनीविरुद्ध कानूनी लडाइँ लड्ने उनको भनाइ छ ।

  • प्रचण्डको चुनावी रणनीति : कांग्रेस रिझाएर चितवन बनाउलान् त कम्फर्टेबल ?

    प्रचण्डको चुनावी रणनीति : कांग्रेस रिझाएर चितवन बनाउलान् त कम्फर्टेबल ?

    चितवन । पुष्पकमल दाहाल ‘प्रचण्ड’फेरि नेकपा माओवादी केन्द्रको पक्षमा निर्वाचन पार्ने रणनीति कोर्न व्यस्त छन् । उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा वर्तमान सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनसम्मै कायम राख्ने प्रस्ताव सारेका छन् ।

    यो प्रस्तावले चितवनका कांग्रेसी नेताहरू फेरि झस्किएका छन् । पार्टीको नेतृत्वमा पुग्न घरदैलोमा व्यस्त छन् नेता-कार्यकर्ता । उम्मेदवारहरूको साझा एजेण्डा छ- चुनावी गठबन्धन गरेर अर्को दललाई भोट दिने वातावरण बनाइने छैन । तर, केन्द्रीय नेतृत्वको भूमिका कस्तो होला ? अनुमान लगाउन गाह्रो छैन ।

    तत्कालीन पार्टी सभापति सुशील कोइराला २०७० सालमा सहजै चुनाव जितिने ठाउँ खोज्दै चितवन क्षेत्र नम्बर ४ मा आए । पहिलो संविधानसभामा विजयी माओवादी नेता चित्रबहादुर श्रेष्ठलाई उनकै चुनावी क्षेत्रमै झण्डै दोब्बर मतले हराए । कोइरालाले १० हजार २१ मतान्तरले हराए ।

    चितवन क्षेत्र नम्बर ३ प्रचण्ड निर्वाचित क्षेत्र हो । २०६४ मा रोल्पा र काठमाडौंमा जितेका प्रचण्ड २०७० मा काठमाडौं र सिराहामा उम्मेदवार बन्दा सिरहामा मात्रै जिते । २०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेर चितवनबाट प्रतिनिधिसभा सदस्यमा विजयी बने । अब हुने निर्वाचनमा पनि सके कांग्रेससहितको गठबन्धन नसकेपनि नेकपा एकीकृत समाजवादीसँग सहकार्य गरेर चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने प्रचण्डको तयारी छ ।

    २०७१ को उपनिर्वाचनमा कांग्रेसकै रामकृष्ण घिमिरेले कोइरालाको भन्दा ४ सय ४२ मत कम ल्याएरै एमाले उम्मेदवारलाई ३ हजार ४६ मतान्तरले हराए । माओवादीका उम्मेदवार तेस्रो स्थानमा १२ हजार ४ सय ६३ कम मतले पछाडी परे ।

    कांग्रेसले चितवनमा २०५१ मा ३ मध्ये १ , २०५६ मा ५ वटै र २०७० मा ५ मध्ये २ वटा निर्वाचन क्षेत्र जितेको थियो । २०६४ मा ५ वटै र २०७४ मा ३ वटै निर्वाचन क्षेत्रमा पराजित बन्यो । प्रदेशसभाका ६ वटै निर्वाचन क्षेत्रमा कांग्रेस पराजित रह्यो ।

    प्रतिपक्षमा बसेको कांग्रेस संसद पुनःस्थापनापछि सत्तामा छ । प्रमुख सारथी छन्- माओवादी अध्यक्ष प्रचण्ड । प्रचण्डको निर्वाचन क्षेत्र चितवनको क्षेत्र नम्बर ३ हो । यो क्षेत्रमा भरतपुर महानगरका केही वडा र माडी नगरपालिका पर्दछ । भरतपुर महानगरमा प्रचण्डपुत्री रेणु दाहाल मेयर छिन् भने माडी नगरपालिकामा माओवादीकै नेता ठाकुरप्रसाद ढकाल मेयर छन् । स्थानीय तहको चुनावमा रेणु र ढकाल दुवै पुनः मेयरमै उठ्ने चर्चा छ । रोचक के छ भने रेणुलाई मेयर बनाउन खोज्दा देउवालाई प्रधानमन्त्रीको अफर थियो ।

    अहिले देउवालाई प्रधानमन्त्री पदमै पुर्‍याउन-टिकाउन पनि माओवादीकै भूमिका छ । प्रचण्डकै समर्थनमा देउवा चौथो र पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । रेणु र प्रचण्डले भरतपुर र माडीमा विकासका ठूला योजनाहरु नभित्राएका होइनन्, विकासमा उल्लेख्य प्रगति पनि भएकै छ । तर, अब भरतपुर महानगरमा रेणु दाहाल र क्षेत्र नम्बर ३ मा प्रचण्डले फेरि अन्य दलको साथ पाउलान् या एक्लै भिडेर निर्वाचित हुन्छन् ? प्रश्न गर्नेहरू धेरै छन् । विगतमा ‘टुरिष्ट’ नेता भनेर आलोचित प्रचण्ड अब चुनावी क्षेत्र नफेर्ने मनस्थितिमा छन् । कारण एउटै छ-निर्वाचन क्षेत्रभित्रका पालिका प्रमुख दुवै माओवादी नेताकै नेतृत्वमा छ ।

    चुनावी तालमेलको चर्को विरोध !

    अबको ६ महिनामा स्थानीय तहको निर्वाचनको माहोल तात्ने पक्का छ । चितवनका कांग्रेस कार्यकर्ता दुई पटक सिद्धान्तविपरीतको दललाई भोट दिएकोमा पछुतो मानिरहेका छन् । कांग्रेसलाई पार्टीभित्रकै चुनावले तताएको छ । दलभित्रकै उम्मेदवारलाई मात्रै संसदीय र स्थानीय तहको चुनावमा भोट दिने वातावरण बनाउन कार्यकर्ताको चर्को माग छ । नेपाली कांग्रेस चितवनको सभापति पदका उम्मेदवार प्रा.डा. सूर्यकान्त घिमिरे कार्यकर्ता भएर रुखमा भोट हाल्न नपाउने परिस्थिति आए सशक्त विद्रोह गरिने बताउँछन् ।

    ‘कांग्रेस भएर रुखमा भोट हाल्न नपाउने परिस्थिति पनि कहीँ हुन्छ ? त्यो अब स्वीकार्य छैन’, उनले भने, ‘केन्द्रीय नेतृत्वले यो कुरा बेलैमा सोचोस् ।’

    चितवनका कांग्रेसजन वर्ष २०७४ लाई बिर्सन नसकिने बताउँछन् । यसको कारण हो रुखमा भोट दिन नपाउनु । स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको चिन्ह ‘गोलाकारभित्रको हसियाँ हथौडा’ मा भोट हालेका कांग्रेसजनले संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा राप्रपाको हलो चिन्हमा भोट हाल्नुपरेको थियो ।

    पूर्वसांसद तथा जिल्ला सभापति उम्मेदवार जगन्नाथ पौडेलले फेरि गलत निर्णय गरेर चुनावी तालमेलका नाममा चितवन कांग्रेसलाई कमजोर नबनाउन आग्रह गरे । ‘अनुशासित कार्यकर्ता भएकै कारण उबेला विद्रोह हुन सकेन, अब फेरी विगतको गल्ती दोहोर्‍याउन हुँदैन’, उनले भने । युवा नेता तथा जिल्ला सभापति उम्मेदवार कैलाश कोइरालाले षड्यन्त्रको राजनीतिको शिकार कांग्रेसीलाई बनाउने काम नदोहोर्‍याउन चेतावनी दिए । जिल्ला सभापति उम्मेदवार राजेश्वर खनालले चितवनमा बलियो कांग्रेस बनाउन कम्युनिष्टको बैशाखी टेक्न आवश्यक नरहेको बताए ।

    कांग्रेस भरतपुर महानगर समिति सभापति उम्मेदवार भरत अधिकारी कांग्रेसले जित्ने बलियो आधार भएको महानगरमा फेरि चुनावी तालमेल भए चर्को विरोध हुने बताउँछन् । महानगरका सभापति उम्मेदवार हिरामणि अधिकारीले पनि कांग्रेसलाई पाखा लगाएर अन्य दललाई अगाडी बढाइए संस्थागत निर्णय गरेरै विद्रोह गरिने बताए ।

    कहिले हथौडा, कहिले हलो !

    चितवनका कांग्रेसजन वर्ष २०७४ लाई बिर्सन नसकिने बताउँछन् । यसको कारण हो रुखमा भोट दिन नपाउनु । स्थानीय चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको चिन्ह ‘गोलाकारभित्रको हसियाँ हथौडा’ मा भोट हालेका कांग्रेसजनले संसदीय निर्वाचनमा क्षेत्र नम्बर ३ मा राप्रपाको हलो चिन्हमा भोट हाल्नुपरेको थियो । कांग्रेसको भोट पाएर प्रचण्डपुत्री रेणु भरतपुरको मेयरमा ४३ हजार १ सय २७ मत ल्याएर बिजयी भइन् ।

    २०७४ कै संसदीय निर्वाचन अगाडि वाम गठबन्धन गर्न प्रचण्डले कांग्रेसको साथ छोडेपछि पनि कांग्रेसजनले रुखमा भोट हाल्न पाएनन् । संसदीय निर्वाचनमा वामगठबन्धनबाट प्रचण्ड लडेको क्षेत्रमा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई समर्थन गरेको थियो । त्यतिबेला चुनावी तालमेलको विरोध गर्न नसकेको चितवन कांग्रेसका सबैजसो नेताहरु अहिले ‘रुखमै भोट हाल्ने वातावरण बनाउँछु’भन्दै पार्टीको आन्तरिक निर्वाचमा होमिएका छन् ।

    अहिले देउवालाई प्रधानमन्त्री पदमै पुर्‍याउन-टिकाउन पनि माओवादीकै भूमिका छ । प्रचण्डकै समर्थनमा देउवा चौथो र पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् । रेणु र प्रचण्डले भरतपुर र माडीमा विकासका ठूला योजनाहरु नभित्राएका होइनन्, विकासमा उल्लेख्य प्रगति पनि भएकै छ । तर, अब भरतपुर महानगरमा रेणु दाहाल र क्षेत्र नम्बर ३ मा प्रचण्डले फेरि अन्य दलको साथ पाउलान् या एक्लै भिडेर निर्वाचित हुन्छन् ? प्रश्न गर्नेहरू धेरै छन् ।

    चितवन क्षेत्र नम्बर ३ प्रचण्ड निर्वाचित क्षेत्र हो । २०६४ मा रोल्पा र काठमाडौंमा जितेका प्रचण्ड २०७० मा काठमाडौं र सिराहामा उम्मेदवार बन्दा सिरहामा मात्रै जिते । २०७४ को चुनावमा एमालेसँग गठबन्धन गरेर चितवनबाट प्रतिनिधिसभा सदस्यमा विजयी बने । अब हुने निर्वाचनमा पनि सके कांग्रेससहितको गठबन्धन नसकेपनि नेकपा एकीकृत समाजवादीसँग सहकार्य गरेर चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने प्रचण्डको तयारी छ ।

    केन्द्रीय राजनीतिमा देउवालाई गरेको गुन आगामी निर्वाचनमा फिर्ता हुने प्रचण्डको बुझाइ छ । केन्द्रमा मिलाउन सके जिल्लाका कांग्रेसजन रिझाउन आफूले सक्ने प्रचण्डले निकटस्थसँग बताउने गरेका छन् । प्रचण्डसँग पराजित राप्रपा नेता विक्रम पाण्डे अब एमालेको साथ पाइन्छ की भनेर प्रयत्न गरिरहेका छन् । कांग्रेसका नेता कार्यकर्ता भने पार्टीले गठबन्धनका नाममा फेरि अर्को पार्टीलाई क्षेत्र बुझाउने हो कि भन्ने चिन्तामै छन् ।

  • आर्थिक पत्रकारको चुनाव भोलि, नयाँ नेतृत्वका लागि यस्ता छन् प्रतिस्पर्धी

    आर्थिक पत्रकारको चुनाव भोलि, नयाँ नेतृत्वका लागि यस्ता छन् प्रतिस्पर्धी

    काठमाडौं । आर्थिक पत्रकारहरूको छाता संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २२औं साधारणसभा तथा अधिवेशन भोलि (शुक्रबार) हुँदैछ । अधिवेशनले सेजनमा नयाँ नेतृत्वको चयनसमेत गर्नेछ ।

    अधिवेशनको पूर्वसन्ध्यामा आर्थिक पत्रकारहरूबीच चुनावी माहोल गर्माएको छ । सेजनको अध्यक्षसहित १० पदका लागि २० जनाभन्दा बढी आकांक्षी मैदानमा देखिएका छन् । उनीहरू भोट माग्न मिडियाहाउसहरूमा धाइरहेका छन् ।
    अध्यक्षका लागि अहिलेसम्म तीनजना मैदानमा देखिएका छन् ।

    नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल, क्लिकमाण्डु डटकमका सम्पादक आशिष ज्ञवाली र नेपाल लाइभ टुडेका सम्पादक शिरोमणी ढुंगाना चुनावी प्रतिस्पर्धामा उत्रेका हुन् । यसअघि कारोबार दैनिककी पत्रकार सरस्वती ढकाल (सरु) ले पनि अध्यक्षमा उठ्ने तयारी गरेकोमा अहिले पछि हटेको बुझिएको छ ।

    उपाध्यक्षमा क्यापिटल नेपालका पत्रकार सुजन ओली, नयाँ पत्रिकाका पत्रकार कृष्ण रिजाल र कान्तिपुर रेडियोका अनिल परियार भिड्दैछन् ।

    यसैगरी महासचिव पदमा अर्थपथ डटकमका कार्यकारी सम्पादक विनय बञ्जरा र शिलापत्र डटकमका आर्थिक पत्रकार भागवत भट्टराईबीच प्रतिस्पर्धा हुनेछ । सचिव पदका लागि बाह्रखरी डटकमका विजनेश ब्यूरो प्रमुख हिमाल पौडेल, अभियान दैनिककी हिमा विक र नेपाल टेलिभिजनकी संवाददाता एलिजा उप्रेति चुनावी दौडमा छन् ।

    कोषाध्यक्षमा फिस्कल नेपाल डटकमका कार्यकारी सम्पादक सुजन ढुंगाना, कारोबार दैनिककी लक्ष्मी सापकोटा र अर्थपथ डटकमकी कमला अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ ।

    यसैगरी कार्यसमिति सदस्यमा अनलाइनखवर डटकमका अच्युत पुरी, अर्थतन्त्र डटकमका सोभित थपलिया, राससका सिभी अधिकारी, विजमाण्डु डटकमका अमर बडुवाल, ‘अर्थको अर्थ’ अनलाइनका शंकर पण्डित र ‘नेपाली पैसा’ की इसरा कोइरालाले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूमध्ये पाँचजना नयाँ कार्यसमितिमा छानिनेछन् ।

    सेजनमा आर्थिक क्षेत्रमा पत्रकारिता गर्दै आएका २५० भन्दा बढी सदस्यको आबद्धता छ ।

  • निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने दावी गरेका  छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए।

    उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएको छ ।

    नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।

  • एनआरएन अमेरिकाको महासचिवमा सुवेदीको चर्चा

    एनआरएन अमेरिकाको महासचिवमा सुवेदीको चर्चा

    काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई यतिबेला चुनाव लागेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को आसन्न निर्वाचनका उम्मेदवारहरु प्रचार अभियानमा व्यस्त छन् ।

    यसैबीच एनआरएन अमेरिकाको एनसीसीको महासचिवका लागि दोलखा घर भई नर्थ क्यारोलिना बस्दै आएका नवराज सुवेदीले प्रचार अभियान तीव्र बनाएका छन् । तीन बुँदे मुख्य एजेण्डा घोषणा गर्दै प्रचार अभियानमा सक्रिय महासचिव पदका प्रत्याशी सुवेदी आफू निर्वाचित भए एनआरएनको गरिमा बढाउनेगरी काम गर्ने बताउँछन् ।

    ‘मेरो उम्मेदवारी अमेरिकामा रहेका नेपालीहरुलाई साझा हितका लागि गोलबन्द गर्न, एनआरएन अमेरिकालाई राजनीतिक प्रतिशोधमुक्त र पारदर्शी बनाउनका लागि हो । यो एजेण्डा सबैको साझा भएकोले सबैले सहयोग गर्नेमा विश्वस्त छु’, सुवेदीले भनेका छन् । उनले अमेरिकामा स्थायी बसोबास अनुमति प्राप्त गर्ने सबै नेपालीले स्वतः एनआरएनको सदस्यता प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

    एनआरएनमा राजनीतिक आस्थाका आधारमा बढेको विभाजनले संस्थालाई कमजोर बनाउँदै लगेको भन्दै सुवेदीले एकताबद्ध एनआरएन बनाउन महासचिवका रुपमा भूमिका निर्वाह गर्न आफू आतुर रहेको बताए ।

    अमेरिका पुग्ने नेपालीलाई प्रारम्भिक दिनमा पर्ने समस्या समाधानमा आफूले विशेष जोड दिने भन्दै सुवेदीले अमेरिकाका ५० वटै राज्यमा संगठन विस्तार गर्ने र सामाजिक कार्यलाई पनि तीव्रता दिने बताए । आफू महासचिव भएपछि हरेक महिनाको पहिलो शनिबार संस्थाका कामकारवाहीबारे सार्वजनिक सुनुवाई गर्ने सुवेदीको योजना छ । ‘महासचिव भएपछि २ वर्षे कार्यकालको पूर्ण कार्यतालिका पहिले नै सार्वजनिक गरेर काम गर्छु । एनआरएन अमेरिकालाई प्रभावकारी बनाउन सबै नेपाली दाजुभाईको सल्लाह सुझाव समेटेर अगाडि बढ्छु’, सुवेदी भन्छन् ।

    अमेरिकामा रहेरपनि नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका सुवेदीले दोलखाको भीमेश्वरमा संग्रहालय निर्माणमा विशेष सहयोग गरेका छन् । त्यस्तै शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सुवेदीले आर्थिक तथा सामाजिक सहयोग गर्दै आएका छन् । एनआरएन अमेरिकाको महासचिव बनेमा अमेरिकामा रहेका नेपालीहरुलाई मातृभूमिमा सामाजिक कार्य गर्न संस्थागत रुपमै प्रोत्साहन गर्ने सुवेदीको योजना छ ।

  • मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

    मंसिरमा चुनाव हुनसक्छ, तयारीमा लागौं : उपसभापति निधि

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आम निर्वाचनका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

    नेपाली जनसम्पर्क समिति साउदी अरबको दोस्रो अधिवेशनको शुक्रबार उद्घाटनका अवसरमा भर्चुअल सम्बोधन गर्दै उपसभापति निधिले ढिलोचाँडो चुनाव हुने भन्दै मंसिरमा त्यसको बलियो सम्भावना रहेको बताए ।

    निर्वाचन आयोगले घोषणा गरेपछिको तयारीले मात्रै नपुग्ने भएकाले अहिलेदेखि नै निर्वाचनको लागि तयार हुनुपर्ने निधिको भनाई थियो ।

    गत निर्वाचनमा लोकतन्त्र, संघीयता र समावेशितामा विश्वास नगर्ने कम्युनिष्ट पार्टीलाई जनताले मत दिएका कारण परिवर्तनका ती एजेण्डा धरापमा परेको भन्दै उनले आगामी निर्वाचनमा कांग्रेसका पक्षमा मत दिएर ती एजेण्डालाई संस्थागत बनाउनुपर्नेमा जोड दिए ।

  • पत्रकारको नेता छान्ने चुनावः यस्तो छ चहलपहल (तस्वीरहरु)

    पत्रकारको नेता छान्ने चुनावः यस्तो छ चहलपहल (तस्वीरहरु)

    काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशैभरि मतदान जारी रहेको छ । केन्द्र, प्रदेश र शाखाको नयाँ कार्यसमिति छनोट गर्न बिहान ९ बजेदेखि मतदान सुरु भएको हो ।

    देशभरका १३ हजार १ सय ८० पत्रकारहरुले आजको चुनावमा भाग लिनेछन् । पहिलोपटक महासंघले प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नेतृत्व छान्न लागेको हो । अध्यक्ष पदका लागी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्र बुढाथोकी प्रतिस्पर्धामा छन् ।

    यसपाली पत्रकार महासंघमा कांग्रेस, माओवादी र माधव नेपाल निकट पत्रकारहरुसहित ११ वटा ससंगठनको गठवन्धन बनेका छ । सो गठवन्धनका अध्यक्ष उम्मेदवार विपुल हुन् । उनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, समावेशी उपाध्यक्षमा उदय जीएम र महिला उपाध्यक्षमा बाला अधिकारी उम्मेदवार रहेका छन् । यस्तै रोशन पुरी महासचिवका उम्मेदवार हुन् ।

    नेकपा एमाले निकट निर्मला शर्मा नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा अवधेश झा र महिला उपाध्यक्ष दाना केसी सुवेदी उम्मेदवार बनका छन् । यस्तै बालकृष्ण बस्नेत महासचिवको उम्मेदवार छन् । महासंघका केन्द्रीय पदाधिकारी र सदस्यलाई देशभरका सदस्यहरुले आ–आफ्नो मतदान केन्द्रबाट भोट हाल्न पाउने व्यवस्था मिलाइएको छ । आज बेलुकी चार बजेसम्म मतदान जारी रहनेछ ।

     

     

     

    तस्वीर: विजय गजमेर

  • इन्जिनियर एशोसियनको चुनावमा एमाले-जसपा गठबन्धन

    इन्जिनियर एशोसियनको चुनावमा एमाले-जसपा गठबन्धन

    काठमाडौं । सत्ता समीकरणमा जनता समाजवादी पार्टी कांग्रेस माओवादी गठबन्धनमा जाने कि एमालेसँग मिल्ने भन्ने तानातान भइरहेका बेला एमाले र जसपाका इन्जिनियरहरु आगामी वैशाखमा हुने चुनावमा गठबन्धन बनाउन सहमत भएका छन् ।

    एमालेका जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसन र जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघबीच इन्जियिनरर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति भएको हो ।

    आइतबार एमाले समर्थित पिनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित संघका अध्यक्ष भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जनाएका छन् ।

    नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।

  • निर्वाचन आयोगद्वारा सबै चुनावी प्रक्रिया स्थगित

    निर्वाचन आयोगद्वारा सबै चुनावी प्रक्रिया स्थगित

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि निर्वाचन प्रयोजनका लागि नेपाल कम्युनिष्ट पार्टीबारे निर्णय लिनै पर्ने दबाब घटेको बताएको छ।

    आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन प्रयोजनाका लागि दल दर्ताको सूचना निकाल्न नेकपा विवादबारे निर्णय लिनै पर्ने समयको चाप आफूहरूमा रहेकोमा अब त्यो हटेको बताए।

    ‘नेकपा विवादबारे निवेदन छ, आयोगले त्यसमा केही निर्णय त गर्नुपर्छ,’ श्रेष्ठले नेपाल प्रेससँग भने, ‘निर्वाचन हुँदा दल दर्ताको सूचना निकालिहाल्नु पर्ने कारणले गर्दा तत्काल निर्णय लिनुपर्थ्यो । अब दल दर्ताका लागि सूचना निकाल्नु नपर्ने भएपछि आयोगलाई यस सन्दर्भमा केही समय उपलब्ध भयो ।’

    आजभोलि नै निर्णय लिनुपर्ने दबाब अब नरहेको बताउँदै श्रेष्ठले भने, ‘हामीले आजै गर्नुपर्ने, भोलि नै गर्नुपर्ने जुन समयको चाप थियो, त्यो अवस्था चाहीं अब रहेन ।’

    उनले धारा ४५ अनुसार परेका निवदेनमाथि पनि आयोगले निर्णय लिने बताए । श्रेष्ठले भने, ‘धारा ४५ अनुसार नेकपाको आधिकारिकताबारे परेको निवेदनबारे त केही न केही निर्णय गर्नुपर्ने हुन्छ । त्यो गरिहाल्छ ।’

    अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेसँगै निर्वाचन नहुने पक्का भएको र चुनावसम्बन्धी सबै प्रक्रिया यहीबाट स्थगित हुने श्रेष्ठको भनाइ छ।

    ‘अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि निर्वाचन नहुने पक्का भइहाल्यो,’ उनको भनाइ छ,‘ आयोगले निर्वाचनको तयारी गरेको हो । निर्वाचन नै नहुने भएपछि यो विन्दूबाट अगाडि बढिरहनु परेन ।’

    निर्वाचन प्रयोजनका लागि सामान्यबाहेक ठूलो कुनै पनि खर्च नरहेको उनको भनाइ छ।‘निर्वाचनका लागि प्रयोग हुने सामग्रीको सूचना निकालिएको हो, त्यसको खर्च गरिसकेका छैनौं,’ श्रेष्ठले भने, ‘जिल्लाहरूलाई सामान्य सवारीसधान मर्मत, इन्धन, कार्यालयल समाधन सम्बन्धमा पठाइएको हो । त्यो चाहीँ निर्वाचन भए पनि खर्च हुने, नभए पनि खर्च हुने हो ।’

    सामान्य मेसीनरी मर्मत सम्भारबाहेक अरू धेरै काममा खर्च नगरिएको जानकारी गराउँदै श्रेष्ठले भने, ‘प्रचार-प्रसार सामाग्री, मतपत्र, कर्मचारी बाहिरबाट ल्याएर परिचालन गर्नेलगायतका कामतर्फ चाहीँ केही भएको छैन ।’

  • आफ्नै नेताहरूलाई देउवाले भने- विचराहरु अझै प्रचण्डको विरुद्ध बोल्न डराउँछन्

    आफ्नै नेताहरूलाई देउवाले भने- विचराहरु अझै प्रचण्डको विरुद्ध बोल्न डराउँछन्

    नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा चुनाव हुँदैन भन्ने आफ्नै नेताहरुप्रति आक्रोशित बनेका छन् ।

    नुवाकोटको पार्टी कार्यालय भवन उद्घाटन समारोहमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा कांग्रेस उभिनुपर्ने बताएपछि देउवा आक्रोशित बनेका हुन् ।

    उनले ६ महिनाभित्र चुनाव नभए केपी ओलीलाई हटाउने भन्दै चुनाव हुँदैन भन्नेहरुमा पराजित मानसिकता रहेको बताए । चुनाव हुँदैन भनेर भ्रम फैलाइएको भन्दै कांग्रेसले तयारी नगरे फेरि हार्नुपर्ने बताए ।

    उनले भने, चुनाव हुन्छ, चुनाव हुन्छ, चुनाव हुन्छ । अदालतले जे फैसला गर्छ त्यो नमान्ने हो भने हामीले पनि प्रचण्डले जस्तै धम्क्याउने ?’

    संविधान बुझेका विद्वान पार्टीभित्र र बाहिर धेरै भएपनि संविधानको व्याख्या सर्वोच्च अदालतले मात्रै गर्नसक्ने भन्दै सभापति देउवाले अदालतको निर्णय आफूलाई स्वीकार्य रहेको बताए ।

    ‘अदालतलाई धम्क्याउने कुरा छैन । अदालतले संसद पुनःस्थापना गर्‍यो भने संसदमा जाने हो, गरेन भने चुनावमा जाने हो’, देउवाले भने ।

    देउवाले भने, ‘मैले त उतिबेलै भनेको हो कम्युनिष्‍टले जिते भने बोल्न पनि पाइँदैन । हाम्रो पार्टीका साथीहरू बल्लबल्ल ओलीको विरोध गर्न सक्ने हुनुभएछ । प्रचण्डको विरोध गर्न त अझै सक्नुहुन्न । प्रचण्डसँग किन डराएको हो कुन्नि ?’, देउवाले भने । उनले ओली वा प्रचण्ड दुवैविरुद्ध उभिन सक्ने कांग्रेस बनाउनु आफ्नो लक्ष्य रहेको बताए ।

     

  • पूर्वमन्त्री बस्नेतको दाबी-कांग्रेस एक्लै चुनाव लड्छ र बहुमत ल्याउँछ

    पूर्वमन्त्री बस्नेतको दाबी-कांग्रेस एक्लै चुनाव लड्छ र बहुमत ल्याउँछ

    कैलाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतले आफूहरू निर्वाचनमा जान तयार रहेको बताएका छन् ।

    सोमवार प्रेस युनियन कैलाली शाखाले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचनमा जानुपर्ने अवस्था आए कांग्रेस पछि नपर्ने बताएका हुन् ।

    ‘चुनावमा जाने अवस्था आए हामी जान्छौँ, प्रतिनिधिसभा पुन:स्थापना भए पनि हामी स्वीकार गर्छौं’, उनले भने ।

    निर्वाचनमा जाने अवस्था आए कुनै पनि दलहरूसँग सहकार्य नगर्ने समेत उनले स्पष्ट पारे । ‘कम्युनिष्टसँग हाम्रो सहकार्य हुँदैन’ उनले भने ‘कांग्रेस एक्लै चुनाव लड्छ र बहुमत ल्याउँछ ।’

    देशभर बलात्कार, हत्याजस्ता जघन्य अपराध बढिरहे पनि दोषीलाई पक्राउ गर्न नसक्नु सरकारको कमजोरी भएको उनले बताए ।

  • चुनाव: ओलीको ‘क्रेज’ र प्रचण्ड–माधवको ‘फोबिया’

    चुनाव: ओलीको ‘क्रेज’ र प्रचण्ड–माधवको ‘फोबिया’

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेपछि देश आन्दोलनमय छ । विधिविधान भन्दा बाहिर गएर पद र शक्तिका लागि खेलिएको खेलले बाध्य भएर प्रतिनिधिसभा विघटन गरेर जनतामा जाने निर्णय गरेको ओलीले बताएका छन् । नेकपाका प्रचण्डलगायतका शक्तिहरू सडक आन्दोलनबाट प्रतिनिधिसभा पुन:स्थापनामा लागिपरेका छन् ।

    लामो समयदेखि अस्थिर सरकार रहँदा देशमा विकासको गतिविधि ठप्प भएको निष्कर्षसहित बहुमतको सरकारको लागि भोट मागेको सरकार समय अगावै प्रतिनिधिसभा विघटन गर्न किन बाध्य भयो ? यसको सतही भन्दा पनि यथार्थपरक खोजले नै अहिलेको निकास दिनेछ ।

    एउटै कम्युनिष्ट पार्टी निर्माण गरेर जनताको जनवादहँुदै समाजवादमा पुग्ने लक्ष्यका साथ तत्कालीन एमाले र एमाओवादी एक भए । यसको मुख्य लक्ष्य भनेको समाजवाद नै थियो ।

    विचार र पार्टीको सिद्धान्त महाधिवेशनबाट टुङ्ग्याउने गरी दुवै पक्षको सिद्धान्त अवलम्वन गरी जनताको जनवादलाई पार्टीको मुख्य सिद्धान्त बनाएको ओली र प्रचण्डले विश्वलाई नै चकित पार्दै पार्टी एकता गरे । यो नेपालको राजनीतिमा ऐतिहासिक परिघटना बन्यो ।

    लामो समय वर्गीय मुक्तिका लागि जनयुद्ध गरेर शान्ति प्रक्रियामा आएको प्रचण्ड नेतृत्वको माओवादी र शान्तिपूर्ण संघर्षबाट नै समाज परिवर्तन गर्न सकिन्छ भन्ने ध्येयका साथ जनतामा गएको तत्कालीन ओली नेतृत्वको एमालेको मुख्य उद्देश्य भनेको बृहत् कम्युनिष्ट एकतामार्फत समाज र देश विकास नै मुख्य लक्ष्य बनेको थियो । कम्युनिष्ट पार्टीको एकतासँगै भएको निर्वाचनमा केपी ओली नै प्रधानमन्त्रीको उम्मेदवार हो भनी पार्टी ओलीको व्यानरमा चुनावमा गयो । यसमा पार्टीको मुख्य भूमिका भुल्नहँुदैन भने केपी ओलीको विगतमा भारतको नाकाबन्दीको सामना पनि सँगै जोडिएर आएको थियो । यही ओलीको भूमिकाका कारण पनि सिंगो पार्टी पंक्ति ओलीलाई भावी प्रधानमन्त्रीको घोषणासहित निर्वाचनमा गयो । जुन यथार्थ हो ।

    आम जनतामा पनि भारतको हेपाहा प्रवृत्ति र पटक–पटकको अस्थिर सरकारका कारण ओली नेतृत्वको नेकपालाई करिब करिब दुईतिहाइ मत दिएर सरकार संचालन गर्ने अधिकार दियो । त्यसैको बलमा ओली सरकार जब बन्यो, उसले गरेको राष्ट्रियता, सीमा विवाद समाधानका प्रयास, छिमेकसँगको सन्तुलित नीति, पारवहन सम्झौतालगायतका मुद्दाले ओली सरकारको क्रेज बढाइदियो ।

    ओली सरकारको यही जनआकांक्षा अनुरूपको कार्यले ‘ओली नै नेकपा र नेकपा नै ओली’ भन्ने जनतामा आभास भयो । जब यो आभास प्रचण्ड र माधवकुमार नेपालमा पनि हुन थाल्यो, नेकपा विवादको शृंखला शुरु भयो ।

    ओली सरकारको लोकप्रियता केवल ओलीको मात्र थिएन, सिंगो नेकपाको थियो । यो नै आम बुझाइ हो । तर त्यसलाई सकारात्मक रूपमा ग्रहण गरेर सरकारलाई साथ दिनुभन्दा ओली सरकारको लोकप्रियतामा आफ्नो भूमिका खुम्चिएको महसूस गर्ने प्रचण्ड र माधवकुमार नेपालका लागि सह्य हुन सकेन ।

    ओली सरकारको यो उपलब्धिलाई आफ्नो पतन सम्झने सोचले माधवकुमार नेपाल र प्रचण्डलगायतका नेताहरूबाट विधि र पद्धतिका नाममा ओलीलाई पार्टी र सरकारको नेतृत्वबाट हटाउने योजनाका साथ अनेकौं तानावाना बुनियो । यसको शृंखला ओली सरकार बनेपछि पटक पटक प्रचण्डलगायतका नेताहरूको गतिविधिबाट बुझ्न सकिन्छ । ओली सरकारको लोकप्रियता नै प्रचण्ड र माधवकुमारका लागि अभिशाप बनिदियो । जस कारण आजको यो अवस्था आइपुग्यो ।

    ओलीले प्रतिनिधिसभा विघटन गरेका हुन् संसद होइन, यो बुझ्न जरूरी छ । देशमा राष्ट्रियसभा, प्रदेश सरकार र स्थानीय सरकार छ, नभएको केवल प्रतिनिधिसभा मात्र हो । संघीयता र संविधान छ । संसद विघटन गरेर तानाशाही बने भनेर कुर्लनु भनेको जनतालाई उल्लु बनाउँछु भन्ने दिवास्वप्न मात्र हो ।

    सरकारको लोकप्रियता सँगै बनेको ओली विरोधी गठबन्धन पहिला नै सतहमा आए तापनि संवैधानिक व्यवस्थाका कारण सम्भव भएको थिएन । भित्रभित्रै बुनिएका विभिन्न योजना पार्टी र जनताको हितका लागि जसरी पनि ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने योजनामा केन्द्रित बनिदियो ।

    सरकार बनेको दुईवर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाउने संवैधानिक बाध्यता अनुरूप भित्रभित्रै भए तापनि अवधि सकिएपछि भने ओली सरकारमाथि प्रतिनिधिसभामा नै अविश्वासको प्रस्ताव दर्ता हुने बाध्यता आइप¥यो । नेकपाको संसदीय दल भित्रैबाट समाधान खोज्नुपर्ने भए तापनि नेकपाको संसदीय दलमा बहुमत पु¥याउन नसकेपछि प्रतिनिधिसभामा नै अविश्वास प्रस्ताव लैजाने खेल भयो ।

    तत्कालीन एमालेको नवौं महाधिवेशनबाट माधवकुमार नेपाललाई हराएर अध्यक्ष बन्नुभएका ओली र तत्कालीन माओवादीको अध्यक्ष प्रचण्ड भए अनुसार नै नेकपाको एकता महाधिवेशन नहुँदासम्म दुवै अध्यक्ष रहने र सर्वसम्मतिमा नै बैठक चलाउने, सहमतिका साथ विधान निर्माण गरिएको हो ।

    प्रचण्ड र माधवकुमार नेपालमा ओलीको खराब स्वास्थ्य स्थितिलाई देखेर आएको उत्साह जब चकनाचूर बनिदियो, जब ओलीको सफल मिर्गौला प्रत्यारोपण भयो, त्यसबाट आत्तिएको माधव र प्रचण्ड त्यसपछिका दिनमा अधैर्य र असह्य हुनपुगे, त्यसैको परिणाम सचिवालयको बैठकका नाममा पटक–पटक ओलीको दुवै पदबाट राजीनामा माग्ने हर्कतहरू भयो । ओली सरकारको लोकप्रियतामा आफ्नो भूमिका हराउने सोचका साथ चालिएको योजना अन्ततः सरकार बनेको दुई वर्षपछि प्रतिनिधिसभामा ओलीमाथि अविश्वास प्रस्ताव दर्ता हुनेसम्म पुग्यो ।

    नेकपा सचिवालयको नाममा पटक–पटक बैठक बस्यो, तर त्यो बैठक देश र जनतामा केन्द्रित हुन सकेन । कोभिडले आक्रान्त पारिरहँदा पनि ओलीलाई सरकार र पार्टी अध्यक्षबाट हटाउने जुन दुस्साहस प्रचण्डलगायतले गर्न थाले, जो आम जनतालाई सह्य हुन सकेन, यसैको ज्वारभाटा प्रतिनिधिसभा विघटन गर्नसम्म पुग्यो ।

    पटक–पटक पार्टी होस् वा संसदमा पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्दिनँ भनेर सार्वजनिक मञ्चमा ओलीले भनिरहँदा ‘उधारो हुँदैन, नगद नै चाहिन्छ’ भन्दै ओलीलाई कर्नरमा पारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री मात्र नभई राष्ट्रपति समेत हत्याउने योजना पूरा हुन नदिन प्रतिनिधिसभा विघटन गर्ने निर्णयसम्म पुग्न बाध्य बनिदियो ।

    प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति बन्नका लागि जनतामा गएर चुनावमार्फत आउन प्रचण्ड, झलनाथ र माधव नेपालहरूले अब ढिला गर्नुहुँदैन । जति ढिलो हुन्छ, ओली सरकार रहिरहन्छ । ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन पनि छिटो चुनावमा जानु नै उत्तम हुन्छ । लोकलाई थाहा छ, नेकपाको अहिलेको विवाद भनेको प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति आफू बन्न पाउनुपर्छ भन्ने नै हो । एक्काइसौं शताब्दीका जनतालाई फेरि पनि धम्क्याएर, फकाएर, झूट बोलेर पुनः सत्ता र शक्ति प्राप्त गर्न सकिन्छ भन्ने कमजोर मानसिकताको द्योतक सिवाय केही होइन ।

    पार्टीको नेतृत्व चयन महाधिवेशनबाट हुन्छ, महाधिवेशन र जनता तथा कार्यकर्तामा विश्वास नहुने अनि कथित सचिवालयको बहुमतका नाममा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउने कार्य कतैबाट पनि स्वीकार्य हुन सक्दैन । नेतृत्वको आफ्नै विधि र प्रक्रिया हुन्छ, विधि र प्रक्रियाको कुरा गर्ने अनि महाधिवेशनबाट डराउने, जस्केलाबाट अध्यक्ष हुने हत्कण्डा लोकतान्त्रिक पार्टीमा कदापि स्वीकार्य हुनसक्दैन ।

    पार्टी महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरणका कुरा गर्ने ओली, चार महिना पनि कुर्न नसकी उधारो हैन, नगद नै चाहिन्छ भनेर जस्केलाबाट अध्यक्ष बन्न खोज्नु पदलोलुपता सिवाय अन्य केही होइन । नेकपा पार्टीको संसदीय दलमा फेस गर्न नसकेर कथित सचिवालयको नाममा बहुमतको दम्भमा प्रधानमन्त्री बन्न खोज्नु के लोकतान्त्रिक र विधिसम्मत हुन जान्छ ?

    ओली कसैले टीका लगाएर पार्टी अध्यक्ष अथवा प्रधानमन्त्री बनेको हैन, आम कार्यकर्ता र जनताको अपार साथले लोकतान्त्रिक पद्धतिबाट जननिर्वाचित अध्यक्ष र प्रधानमन्त्री हुन् । कसैलाई इच्छा लाग्दैमा अध्यक्ष र प्रधानमन्त्री हुन पाइँदैन ।

    कुर्सी र शक्तिका लागि लडेको हैन भन्ने माधव र प्रचण्डहरू अध्यक्ष र प्रधानमन्त्री हुनका लागि अब राम्रो अवसर आएको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जनतामा गएर जननिर्वाचित भएर प्रधानमन्त्री बन्ने चुनाव भन्दा लोकतान्त्रिक र वैध माध्यम अन्य बन्न सक्दैन । अतः प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति बन्नका लागि अब जनतामा गएर चुनावमार्फत आउन प्रचण्ड, झलनाथ र माधव नेपालहरूले ढिला गर्नुहुँदैन । जति ढिलो हुन्छ, ओली सरकार रहिरहन्छ । ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउन पनि छिटो चुनावमा जानु नै उत्तम हुन्छ ।

    लोकलाई थाहा छ नेकपाको अहिलेको विवाद भनेको प्रधानमन्त्री, अध्यक्ष र राष्ट्रपति आफू बन्न पाउनुपर्छ भन्ने नै हो । एक्काइसौं शताब्दीको जनतालाई फेरि पनि धम्क्याएर, फकाएर, झूट बोलेर पुनः सत्ता र शक्ति प्राप्त गर्न सकिन्छ भन्ने कमजोर मानसिकताको घोतक सिवाय केही होइन । अतः प्रतिनिधिसभाको विघटन पद प्राप्तिका लागि मरिहत्ते गर्नेहरूका लागि अवसर हाे, अब सडकमा बसेर हामी यहाँ छौं हैन, जनताको घरआँगनमा टेक्नु नै श्रेयस्कर हुनेछ ।

    ओलीले प्रतिनिधिसभा विघटन गरेका हुन् संसद होइन, यो बुझ्न जरूरी छ । देशमा राष्ट्रिय सभा, प्रदेश सरकार र स्थानीय सरकार छ, नभएको केवल प्रतिनिधिसभा मात्र हो । संघीयता र संविधान छ । संसद विघटन गरेर तानाशाही बने भनेर कुर्लनु भनेको जनतालाई उल्लु बनाउँछु भन्ने दिवास्वप्न मात्र हो । यो सपना अब पूरा हुँदैन ।

    मनगढन्ते कुरा गरेर अब जनतालाई ढाँट्न सकिंदैन । पद प्राप्तिका लागि प्रचण्ड र माधवका लागि प्रतिनिधिसभाको निर्वाचन अवसर भए तापनि ओलीका लागि स्थिर सरकारको लागि हो भन्ने आम जनताले राम्रोसँग बुझेका छन् ।

  • प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगले राखेका ६ सरोकार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारका प्रभावशाली मन्त्रीहरूसँगको छलफलमा निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा आफ्ना आधा दर्जन सरोकार राखेको छ । आयोगले औपचारिक विषयबाहेक अरुमा चासो नराख्ने भन्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सकिने समेत जनाएको छ ।

    आयोगले वैशाख १७ र २७ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि १ करोड ६३ लाख ४५ हजार मतदाताको नाम संकलन भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुस ६ देखि नै शुरू भएको मतदाता नामावली संकलन सकिएको बताएका हुन् ।

    पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका नागरिक मतदाता सूचीमा समेटिएका छन् । फागुन २१ गते अन्तिम मतादाता नामावली सार्वजनिक गरिने जानकारीसमेत आयोगले सरकारलाई गराएको छ । अहिले मतदान केन्द्र निर्धारणको गृहकार्य भइरहेको र निर्वाचन प्रयोगजनका लागि दल दर्ता तथा आचारसंहिताको मस्यौदा तयार भइरहेको थपलियाले बताए ।

    आयोगका तर्फबाट प्रमुख आयुक्तले प्रधानमन्त्रीसमक्ष मुख्यगरी ६ वटा सरोकार राखिएको स्रोतले जनाएको छ । प्रमुख आयुक्त थपलियाले बुँदागतरूपमा प्रधानमन्त्रीसँग आयोगको धारणा राखेका थिए ।

    छलफलमा सहभागी स्रोतले नेपाल प्रेसलाई उपलब्ध गराएको नोट अनुसार आयोगको सरोकार यसप्रकार छन् ।

    १. कानून- निर्वाचन सम्पन्न गराउन कानुनी समस्या नरहेको भन्दै आयोगले कार्यविधि,निर्देशिका,आचारसंहिताजस्ता आन्तरिक कामहरू गरिरहेको थपलियाले बताएका छन् ।

    २. बजेट- कोभिड महामारीका कारण यो चुनावमा अतिरिक्त खर्च लाग्न सक्ने भन्दै आयोगले करिब ७ अर्ब रूपैयाँ माग गरेको जानकारी थपलियाले गराएका थिए ।

    ३. सुरक्षा- आयोगले निर्वाचनको लागि सुरक्षाा योजना बनिरहेको भन्दै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न पूर्णसुनिश्चितता गर्ने थपलियाले बताए ।

    ४. प्राविधिक कार्य- आयोगको तर्फबाट गर्नुपर्ने प्राविधिक कार्यमा कुनै कमी नहुने थपलियाले बताए ।

    ५. अन्तर्राष्ट्रिय मान्यता- प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाउने तयारी भइरहेको बताए । त्यसका लागि आवश्यक कार्य अघि बढाउने थपलियाको भनाइ थियो ।

    ६. राजनीतिक वातावरण- आगामी प्रतिनिधिसभा निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने थपलियाले बताए । उनले नेकपा विवादको सन्दर्भमा माघ ११ गते आयोगले एउटा निर्णय गरिसकेको भन्दै एउटा पक्षले माघ २० गते राजनीतिक दल सम्बन्धी दफा ४३ र ४४ बमोजिम निवेदन दिएको जानकारी गराएका थिए ।

    थपलियाले निर्वाचन आयोग औपचारिक जानकारी बाहेकका विषयमा नअल्मलिने भन्दै वैशाख १७ गते शुक्रवार र २७ गते सोमवारका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न दृढ रहेको जानकारी दिएका थिए ।

    प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री बिष्णु पौडेल, कानूनमन्त्री लिलानाथ श्रेष्ठसहितको छलफलमा निर्वाचन तयारीकै विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले नेकपा विवादको बारेमा कुनै छलफल नभएको दाबी गरे ।