ल्हासा (तिब्बत) । चीनको तिब्बत स्वायत्त क्षेत्रमा बनेको रेलवे विभिन्न कारणले विश्व हेडलाइन बन्दै आएको छ । सबैभन्दा उचाईमा बनेको देखी सबैभन्दा थोरै जनसंख्या भएको चीनको क्षेत्रमा लक्षित रेलवे भएकोले पनि चर्चामा छ ।
ल्हासा पुग्ने रेल्वेलाई बिच्छ्याएर सन २००५ अक्टोबर १२ मा सकिएको थियो । रेलको संचालन भने सन २००६ जुलाई १ बाट भएको थियो । बिजुली रेल तिब्बतमा गुडेको भने दुई वर्ष मात्रै पुरा भएको छ । सन २०२१ जुन २५ बाट निङ्ची ल्हासा ४३५ किलोमिटर रेल सुरु भएको छ ।
हरियो रङको रेल हवाईजहाज जतिकै स्तरिय छ । सन २०२१ जुलाई १२ को सिएनएन समाचार अनुसार रेलवेमा ९० प्रतिशत क्षेत्र तीन हजार मिटर उचाईमा गुड्छ भने रेलवे लाइनमा ४७ सुरुङ र १२१ पुल छन् । रेलको गति १६० किलोमिटर प्रति घन्टा छ ।
रेलमा अक्सिजनको व्यवस्था छ । चीनको पहिलो बिद्युतीय रेल हो यो । परम्परागत रेल भने अहिले नेपालको नजिकैको तिब्बती सहर सिगत्सेमै आएको छ । सिगात्सेबाट नेपाली सीमा केरुङसम्म ल्याएर काठमाडौं जोड्ने रेलवे चर्चा नेपाल चीनको कूटनीतिक तहमै पुगेको छ ।
बेइजिङ । चिनियाँ सरकारले नेमेवीको पप गीत ‘फ्रेजाइल’लाई प्रतिबन्ध लगाएको छ । बेइजिङको मजाक बनाइएको यो गीत भाइरल भएको थियो । मजाककै कारण चीनले भने गीतमाथि प्रतिबन्ध लगाएको हो ।
फ्रजाइल गीतमा चीनको राजधानीकै मजाक बनाइएपछि युवा देशभक्तले यसको चर्को विरोध र आलोचना गरेका थिए ।
गीतमा ‘रि-एजुकेसन’, ‘कटन’, ‘इन्सेपरेबल रिलेशनसिप’ जस्ता शब्दहरू प्रयोग भएका छन् । जसले सिन्झियाङदेखि ताइवानसम्मको चीनको सार्वभौमिकतामाथि आँच पुर्याएको भन्दै चीनले प्रतिबन्ध लगाएको हो ।
बीबीसीका अनुसार गीतलाई मुख्य भूमी चीनमा प्रतिबन्ध लगाइए पनि यो भिडिओ भने ताइवान, हङकङ, मलेसिया र सिंगापुरमा भाइरल नै छ ।
अक्टोबर १५ मा युट्युबमा सार्वजनिक भएको गीत फ्रजाइल यो समाचार तयार पार्दासम्म ३ करोड २८ लाख ५२ हजारभन्दा धेरै पटक हेरिएको छ ।
भिडिओलाई ८ लाखभन्दा धेरैले लाइक गरेका छन् भने २५ हजारले डिस्लाइक गरेका छन् ।
एजेन्सी । चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसंख्या मन्त्रालयले जनाएको छ ।
ठूलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुन सक्ने बताइएको छ ।
सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो । शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रुपमा देखिएको कोभिड संक्रमणसँग पनि जोडिएको छ ।
चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार जनाको जन्म भएको थियो । सन् २०१९ मा यो संख्या १ करोड १० लाख ७९ हजार थियो ।
देशको जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसंख्याको एउटा समूह सेवानिवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठूलो अर्थतन्त्र भएको देश चीनमा दीर्धकालीन असर पार्ने विज्ञहरु बताउँछन् ।
घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा चीनको जनसंख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४० अर्ब पुगेको थियो ।
सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो। सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो।
तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरु बताउँछन् ।
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अलपत्र परेर बसेका विद्यार्थीहरूलाई पुनः अध्ययनका लागि चीन जाने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार सिंहदरवारमा बसेको बैठकले कोरोना महामारीका कारण चीनबाट फर्किएर अलपत्र परेका विद्यार्थीलाई तत्काल कूटनीतिक पहल गरी पुनः अध्ययनको लागि चीन पठाउने आवश्यक व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
परराष्ट्र मन्त्रालयसँग आवश्यक समन्वय गरेर कूटनीतिक पहल गरी अलपत्र परेका हजारौं विद्यार्थीहरुलाई पुनः अध्ययनका लागि चीन पठाउने व्यवस्था तत्काल मिलाउन सरकारलाई निर्देशन दिइएको समितिकी सभापति जयपुरी घर्तीमगरले बताइन् । उनले भनिन्, ‘चीनमा पढिरहेका इन्जिनियरिङ सेक्टरका, मेडिकल सेक्टरका र अन्य सेक्टरका विद्यार्थीहरू आएर अलपत्र परेका छन् । कूटनीतिक पहल गरेर पढ्न पठाउनुपर्ने उनीहरूको एकमात्र माग छ । पहिला यो विषयमा परराष्ट्र छलफल गरोस् र कूटनीतिक पहल गरेर विद्यार्थीहरुलाई पढन पठाउने व्यवस्था चाँही शिक्षा मन्त्रालयले गरोस् । हजारौं विद्यार्थी अलपत्र परेका छन । उनीहरूको भविष्य डामाडोल भएको छ ।’
समितिका सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले ३ दिनभित्र चीन अध्ययनका लागि पुनः जाने व्यवस्था विद्यार्थीलाई मिलाउन सरकारलाई दबाब दिए ।
अर्का सदस्य मानबहादुर विश्वकर्माले मेडिकल तथा इन्जिनियरिङ कलेजका विद्यार्थीहरुको प्राक्टिकल अनलाइन कक्षाबाट हुने व्यवस्था खारेज गर्न माग गरे । यस्तो प्राक्टिकलले दक्ष जनशक्ति निर्माण नहुने उनको भनाइ थियो ।
बैठकमा शिक्षामन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले संसदीय समितिले दिएको निर्देशनअनुसार चीनमा अध्ययनका लागि पुनः जाने विद्यार्थीहरुको आवश्यक व्यवस्था तत्काल मिलाउने प्रतिबद्धता जनाए । हाल चीनमा मात्रै अध्ययन गर्न जाने विद्यार्थीको संख्या ७ हजार ४८० जना रहेको उनको भनाइ थियो ।
इटहरी । गत वर्ष लिपुलेक कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा आएपछि नेपाल–चीन ‘सीमा विवाद’ अचानक सतहमा आयो । सतहमा ल्याउने नेता थिए नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही ।
हुँदै नभएको सीमा विवाद र १२ नम्बर पिलरको प्रोपागाण्डा राष्ट्रिय मिडियामा समेत नक्कली सरकारी कागजपत्रसहित प्रकाशन भयो । चीनले आपत्ति जनायो, तत्कालीन केपी ओली सरकारले सो विवाद कृतिम रहेको बतायो ।
विवाद बढ्दै गएपछि चीनले पहिलो पटक नेपाली कांग्रेसलाई पत्र लेखेरै ध्यानाकर्षण गरायो, जुन पत्र चीनियाँ दूतावासले पठाएको थियो ।
सन् २०२० नोभेम्बर १३ मा चीनले कांग्रेसलाई पठाएको पत्र चार पेज लामो छ । पत्रमा के छ भन्ने आम चासो छ । पत्रमा भनिएका मुलभूत कुराहरु यस्ता छनः
कांग्रेस सांसद जीवनबहादुर शाहीले चीनले सीमा मिचेको कुरा आधारहीन र गलत भएको प्रमाणित भयो । नेपाली कांग्रेस सांसदले गरेको गैरजिम्मेवार र गैरमित्रवत कामको चिनियाँ दूतावास गहिरो दुःख व्यक्त गर्छ ।
शाहीको आरोपपछि चिनियाँ विज्ञ समूहले गरेको फिल्ड सर्वे र अनुसन्धानले ९ वटा बिल्डिङ नेपाली सीमाभन्दा १.०४ किलोमिटर पर चिनियाँ भूमिमा भएको देखिन्छ । पिलर १२ पनि जहाँ हुनुपर्ने हो त्यहि स्थानमै छ ।
व्यवसायिक अनुसन्धान र मूल्यांकनपछि नेपाल सरकारको पररास्ट्र मन्त्रालयले २०२० सेप्टेम्बर २३ मा प्रेस बिज्ञप्ति जारी गरेरै सीमा नमिचिएको बताइसकेको छ ।
शाहीले भनेजस्तो १२ नम्बर पिलर भएको क्षेत्रमा न चिनियाँ सुरक्षाकर्मीहरु आए न त टियर ग्याँस हाने । न त नेपालको शशस्त्र प्रहरी बलतर्फ चिनियाँले ढुंगा हानेका हुन् ।
नेपाल र चीन दुई मित्रराष्ट्र र छिमेकी हुन् । सन् १९६० कै दशकमा नेपाल र चीनको सीमासम्बन्धी हस्ताक्षर भएको थियो जसमा नेपाली कांग्रेसका प्रधानमन्त्री वीपी कोइरालाले विशाल पहल र योगदान गर्नुभएको छ ।
नेपाल र चीन दुवै पक्षले सीमा सम्बन्धमा नजिकको संवाद र सहकार्यको लागि संयन्त्र बनाएका छन् । सीमा सन्धी र त्यसका प्रोटोकलको आधारमा, दुवैतर्फका व्यवसायिक सरकारी निकायहरुले सीमामा उब्जेका सवालहरुलाइ समाधान गर्न सक्छन् ।
सीमा क्षेत्रका बासिन्दाको सहजताको लागि दुवै देशले सीपापार व्यापार, भुक्तानी र चरिचरणको लागी ऋङ्खलावद्ध सहमतिहरु गरेका छन् ।
यो ध्यान दिन आवस्यक छ कि, चीनको स्वशासित क्षेत्र तिब्बतले हुम्ला लगायतका सीमावर्ती जिल्लाहरुका बासिन्दाको लागी आवश्यक ढुवानीको लागी चिनियाँ सडक प्रयोग गर्न दिएको छ ।
यी सबै सवालहरुको पृष्ठभूमिमा दूतावासले सांसद शाहीको बक्तव्य सत्यभन्दा पर भएको र नेपाली कांग्रेसले प्रतिबद्धता जनाएको नेपाल चीन सम्बन्ध बिगार्न योजनाबद्ध भएर लागेको देखिन्छ ।
दूतावास नेपाल र चीनको दिर्घकालीन मित्रवत सम्बन्धलाई जोगाउन लाग्नेछ भन्ने विश्वास गर्छ ।
दुवै देशका नागरिकको हित हुने काममा नेपाली कांग्रेससँग सहकार्य गर्न चीन तयार छ ।
चीनले नेपाली कांग्रेसको पार्टीको नाममा आपत्ति जनाएर पठाएको पत्र यहि हो । सन १९५५ अगस्ट १ देखि नेपाल चीन कूटनीतिक सम्बन्ध बनेयता यस्ता पत्र आएको कम्तिमा नेपाली मिडियाको स्मृतिमा देखिँदैन ।
वीपीले सबल बनाएको कांग्रेस-चीन सम्बन्ध
चिनियाँ कम्युनिष्ट पार्टीको सत्ता रहेको चीन विश्वका देशहरुसँग जस्तै राजनीतिक दलहरुसँग पनि उत्तिकै सम्बन्ध राख्छ । गत जुलाई ६ मा चिनियाँ कम्युनिष्ट पार्टीले विश्वका राजनीतिक दलहरुसँग बैठक राख्यो ।
मिटिङमा १६० देशका ५ सय बढी दलहरु सहभागी भएको चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । नेपालबाट सहभागी हुने दलहरुमा नेपाली कांग्रेस पनि थियो ।
एक हिसाबले हेर्ने हो भने नेपाल-चीन सम्बन्धको शुरुवातमा राजनीतिक दलहरुको तहबाट सबैभन्दा धेरै र देखिने योगदान नेपाली कांग्रेसकै छ । जस्तै सन १९६० नोभेम्बर १९ मा संयुक्त रास्ट्रसंघको साधारण सभामा नेपाली प्रधानमन्त्रीको रुपमा बोलेका वीपीले चीनलाई संयुक्त रास्ट्रसंघमा ल्याउन पहल गरेका थिए । सन १९७१ अक्टोबर २५ मा चीन सदस्य भयो ।
भारत र चीनको भूराजनीतिक सन्तुलन मिलाउन वीपीले उत्तरी सLमामा राखिएका चेकपोस्टमा असहमति जनाएका थिए । तर, सन १९५५ अगस्ट १ मा भएको नेपाल चीन कूटनीतिक सम्बन्धको भने समर्थन गरेका थिए । शिखा बुक्स्ले प्रकाशन गरेको ‘वीपी कोइरालाको डायरी’मा वीपीले यी कुरा लेखेका छन् ।
नेपाल र चीनकाबीचमा भएको शान्ति तथा मैत्री सन्धीका हस्ताक्षरकर्ता वीपी नै हुन् । उनले सन १९६० अप्रिल २८ मा तत्कालिन नेपाल भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री चाओ एनलाइसँग हस्ताक्षर गरेका थिए ।
जसरी भारतको चीनविरोधी उत्तरी नाका चेकपोस्टमा वीपीको असन्तुष्टि थियो । ठीक त्यसैगरी भारतविरोधी चीनको अभिव्यक्तिका सवालमा नेपाली भूमि प्रयोग नहोस भन्नेमा वीपी उत्तिकै सचेत थिए ।
नेपाल भ्रमणमा आएका तत्कालीन चिनियाँ प्रधानमन्त्री चाओ एन्लाइले संयुक्त पत्रकार सम्मेलनमा भारतको बिरोध गर्न थालेपछि वीपीले रोकेका थिए । एसडी मुनिको पुस्तक ‘फरेन पोलिसी अफ नेपाल’मा यसको व्याख्या गरिएको छ । भारत र चीनको सीमा लफडा चरमचुलीमा पुगेर युद्धको आसपास पुग्दाको क्षण थियो त्यो ।
सीमाजाँच टाेली
वीपीले जुन मुद्धामा चीन र भारतलाई नेपाल प्रयोग गरेर एक अर्कालाइ विरोध गर्ने स्थल नबनाउन जुन कौसलता देखाएका थिए, त्यहि कौशलमा देउवा चुकेका छन् । महाकाली नदीमा भारतीय एसएसबीले तुइन काटेपछि खसेर बेपत्ता जयसिंह धामीको बिषयमा कूटनीतिक नोट नपठाइकन चीनसँग हल्लाकै भरमा सीमा अध्ययन समिति बनाउनु कूटनीतिक अपरिपक्कता देखिन्छ । चीनसँग अध्ययन समिति बनाएपछि व्यापक अलोचना भएपछि मात्रै सरकारले भारतलाइ कूटनीतिक नोट पठायो ।
भारतसँगका सवाललाई छोप्न चिनियाँ सीमा मुद्दा उचालेको चिनियाँ संस्थापनले बुझेमा त्यसको कूटनीतिक सन्तुलन मिलाउन गाह्रो हुनसक्छ । दुवै देशका सीमा बारेमा अध्ययन गर्ने संयन्त्रबाट पहिले अध्ययन गरेर त्यसमा चीनले सीमा मिचेको प्रमाणित भएर कुरा नसुनेमा मात्रै अहिलेको जस्तो हल्ला गर्न आवश्यक थियो । भारतसँगको समस्याको समयमा त्यसो गर्ने ‘जेस्चर’ले राम्रो सन्देश दिदैन ।
उसैपनि नेपाली कांग्रेसलाइ गत वर्षनै चीनले औपचारिक पत्र लेखेर असन्तुष्टि व्यक्त गरिसकेको छ ।
यस अगाडिका सीमा बारेमा प्रतिवेदन सार्वजनिक नहुनु, अघिल्लो सरकारले सीमा मिचेको छैन भन्नु र अहिलेको सरकारले फेरि सीमा अध्ययन समिति त्यहि स्थानको लागि बनाउनु कूटनीतिक अपरिपक्कता हो । समिति हुम्ला पुगिसकेको छ
अझ सोचनीय त ‘एक चीन नीति’ भएको नेपालको सम्बन्धमा खलल आउनेस्तरको आरोप चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले जीवनबहादुर शाहीमाथि लगाएको छ । २०२० को नोभेम्बर १० मा हु युवेइको नाममा छापिएको एक समाचारमा शाहीले नेपाली चीन सीमामा तिब्बती पृथकतावादीसँग साठगाँठ गरेको लेखिएको छ ।
नेपालको हिमाली भोटे लामा रास्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष कर्चेन लामालाई कोट गर्दै ग्लोबल टाइम्सले शाहीले नेपाल चीन सीमानामा पृथकतावादी झन्डा फरफराएको आरोप लगाइएको छ ।
यदि अहिले हल्ला गरेको जस्तो सीमामा वैज्ञानिक नापजाँचले कुनै त्रुटि भेट्टाएन भने सरकारलाई अर्को सकस हुनेछ । त्यसैले यो हल्ला गरेर गर्ने विषय थिएन । हल्ला गर्ने स्तरकै समस्या भएको सरकारले निस्कर्ष निकालेको थियो भने भारतसँग जयसिंह धामी प्रकरण चरम चुलीमै पुगेको समय छान्नु उचित थिएन ।
हेर्नुहाेस् चीनले सन् २०२० नोभेम्बर १३ मा चीनले कांग्रेसलाई पठाएको पत्र
वेइजिङ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा शुक्रबार रेल दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
चिनियाँ रेलवे लान्झाउ ब्युरोका अनुसार लान्झाउ-सिनजियाङ रेल्वेको जिन्चाङ खण्डमा शुक्रबार बिहान ५ः२५ बजे रेल दुर्घटना भएको हो ।
प्रहरी र स्थानीय मानिसले रेल दुर्घटनाका मृतक एवं घाइतेहरुको उद्धार गरेका थिए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
फ्रान्स-चीन ढुवानी रेल सेवा शुरु
यसैबीच, चीन र युरोपबीच फ्राइट (सामान ढुवानी)का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।
पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।
यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेलसेवाले जनाएको छ ।
शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए ।
बेइजिङ । चीनले सन् २०२१ भित्र १ अर्ब डोजभन्दा बढी खोप विदेशमा आपूर्ति गर्ने भएको छ ।
ग्लोबल टाइम्सका अनुसार कानसिनो र वुहान इन्स्टिच्युटले विकास गरेका थप दुई खोपले डब्लुएचओबाट अनुमति प्राप्त गरे वितरण मात्रामा दुई गुणाले वृद्धि हुने जनाइएको छ ।
डब्लुएचओले चिनियाँ खोपहरु सिनोफार्म र सिनोभ्याकलाई आपतकालिन अनुमति दिइसकेको छ । थप दुई चिनियाँ खोपहरु डब्लुएचओबाट मान्यता पाउने पर्खाइमा छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक झेङ झोङवेइका अनुसार थप दुई चिनियाँ खोपले अनुमति प्राप्त गरे आपूर्ति थप विस्तार हुनेछ । चीनले मे ३१ सम्म ३५० मिलियन डोज विदेशमा आपूर्ति गरिसकेको छ ।
वर्षको अन्त्यमा उक्त संख्याले १ अर्ब पार गरेको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
काठमाडौं । चीनले महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी ल्याएर हस्तान्तरण गरेको छ ।
चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ विदेश मन्त्रालयमार्फत प्रदान गरिएका २० वटा पोर्टेबल भेन्टिलेटसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल आइपुगेका अन्य सामग्रीमा दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन् । चीनले यसअघि पनि विभिन्न राज्यहरुमार्फत मेडिकल सामग्री सहयोग गरिरहेको छ ।
काठमाडौं । चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल एयरलाइन्सको वाइडबडी जहाजले आज काठमाडाैं ल्याउँदै छ ।
खोप लिन सोमवार राति एयरबस ३३० बेइजिङ गएको थियो । बेइजिङमा अहिले खोप र त्यससँग सम्बन्धित मेडिकल सामाग्रहीरु लोड भइरहेको छ । केही बेरमा ८ लाख डोज भेरोसिल खोप लिएर विमान काठमाडौंतर्फ उड्ने नेपाल एयरलाइन्स स्रोतले जनाएको छ ।
खोप आजै अपराह्न काठमाडौं आइपुग्नेछ । राष्ट्रपति विद्या भण्डारीले चीनिया राष्ट्रपतिसँग टेलिफोन संवाद गरे लगत्तै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।
बाँकी दुई लाख डोज खोप कुनमिङबाट हिमालय एयरलाइन्सले ल्याउने भएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिइसकेको छ ।
एजेन्सी । उत्तर-पश्चिम चीनमा एक लामो दूरीको दौड प्रतियोगितामा सहभागी घावकहरु खराव मौसमको चपेटामा पर्दा कम्तिमा २१ जनाको मृत्यु भएको छ ।
गान्सु राज्यको पर्यटकीय स्थल एल्लो रिभर स्टोन फरेस्टमा शनिबार भएको प्रतियोगिताका सहभागीहरु तीव्र गतिको हावासँगै अत्याधिक चिसो पानीबाट प्रताडित भएका थिए । त्यहाँ १ सय किलोमिटर प्रतिघण्टाको बेगमा हावा चलेको थियो ।
अल्ट्रा दौडमा सहभागी १ सय ७२ धावकहरु हराएपछि प्रतियोगिता रद्ध गरी उद्धार अभियान सुरु गरिएको थियो । उद्धार गरिएका अधिकांश धावकहरु हाइपोथर्मियाबाट ग्रसित बनेका थिए ।
गान्सुको राज्य सन्चालित सन्चारमाध्यमका अनुसार खराव मौसमको चपेटामा परी मृत्यु हुनेहरुमा अल्ट्रा म्याराथनका चिनियाँ च्याम्पियन लियाङ जिङ, सन् २०१९ को राष्ट्रिय पाराओलम्पिक खेलका विजेता हुआङ गुन्जुनलगायत छन् ।
दाैड शुरु हुँदाकाे तस्बिर ।
अधिकारीहरुका अनुसार १ सय ५१ जना धावकहरु सुरक्षित छन् । तीमध्ये आठजना घाइतेको उपचार भइरहेको छ ।
स्थानीय समयअनुसार विहान ९ बजेदेखि दौड सुरु भएको थियो । जहाँ केहि प्रतिस्पर्धीहरुले जर्सीमात्र लगाएका थिए । जीवित रहेका सहभागीका अनुसार हल्का हावा र पानीको पूर्वानुमान थियो । तर उनीहरुले जे भोगे त्यसको पूर्व जानकारी नै थिएन ।
नजिकै रहेको बाइयीन शहरका अधिकारीहरुका अनुसार दौड सुरु भएको तीन घण्टापछि पहाडी क्षेत्रमा तीव्र हावा र पानीका कारण तापक्रम एक्कासी घट्न पुग्यो ।
‘ठूलो वर्षा भइरहेको थियो र अझै बढ्ने क्रममा थियो । त्यतिबेला म २४ किलोमिटर दौडिसकेको थिएँ तर पहाडसम्म पुगेको थिइनँ,’ मौसम परिवर्तन भएपछि बीचैबाट फर्केकी एक धावक माओ सूझीले समाचार संस्था रोयटर्ससँग भनिन् ।
यसअघि पनि हाइपोथर्मियाको अनुभव पाइसकेकाले उनले होटल फर्कने निर्णय गरेकी थिइन् । तर अधिकांश धावकहरु भने मौसम सबैभन्दा बिग्रिएकोख क्षेत्रमा पुगिसकेका थिए ।
मौसमका कारण भिजिवलिटी कम हुँदा कतिपय धावकले आफ्नो बाटो भुलेका थिए । चिनियाँ सन्चारमाध्यमका अनुसार थर्मल इमेजिङ गन र राडार डिटेक्टरको सहायताबाट १२ सय भन्दा बढी उद्धारकर्ता परिचालन गरिएको थियो ।
चिनियाँ सन्चार संस्था सिन्ह्वाका अनुसार उद्धार अभियान आइतबार विहानसम्म पनि जारी थियो । यसक्रममा तापक्रम अझै घटेपछि उद्धारमा कठिनाइ भएको थियो ।
यो घटनाले चिनियाँ नागरिकहरुले सामाजिक सन्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरुले बौयीन सरकार र उसको आकस्मिक उद्धारको योजनाको आलोचना गरिरहेका छन् । आइतबार एक पत्रकार सम्मेलनमा बैयीनका मेयर झाङ छुचेनले भने, ‘प्रतियोगिताको आयोजकका रुपमा हामीलाई अपराधबोध र पश्चाताप भएको छ । हामी मृतक र घाइतेका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’
काठमाडौं । चीनको स्वशाषित क्षेत्र तिब्बतले नेपाललाई शनिबार कोभिड-१९ महामारीविरुद्ध थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।
नेपाल-चीन सीमावर्ती तातोपानी नाकामा चीनले १५० थान अक्सिजन सिलिन्डर र ३० हजार लिटर तरल अक्सिजन नेपाली अधिकारीहरुलाई हस्तान्तरण गरेको हो ।
तिब्बतका विभिन्न क्षेत्रबाट समेत नेपाललाई महामारीविरुद्ध स्वास्थ्य सहायता प्राप्त हुने क्रम जारी रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महामारीसँगै अहिले अस्पतालमा अक्सिजन अभाव छ । यो अभाव टार्न निजी क्षेत्रले पनि सिलिन्डर खरिद गरेर सरकारलाई साथ दिइरहेका छन् ।
निजी क्षेत्रले ९ हजार ८ सय ५ अक्सिजन सिलिन्डर र ५ हजार अक्सिजन व्याग नेपाल ल्याइरहेका छन् । सरकारले चीनबाट २० हजार, निजी क्षेत्रले ९ हजार ८ सय ५० र विभिन्न देशमा बसोबास गरिरहेका नेपालीले करिब ५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । सरकार, निजी क्षेत्र र विभिन्न देशमा बसेका नेपालीले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउन लागेका हुन् ।
स्वास्थ्य मन्त्रालायका प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य मन्त्रालयले चीनबाट १ हजार ३ सय अक्सिजन सिलिन्डर ल्याइसकेको र अब बाँकी रहेको १८ हजार ७ सय अक्सिजन सिलिन्डर पनि आउने क्रममा रहेको बताए ।
गौतमले भने, ‘पहिलो पटक ५ सय र दोस्रो ८ सय गरी १ हजार ३ सय अक्सिजन सिलिन्डर नेपाल आइसकेको छ । अब बाँकी रहेको सिलिन्डर पनि दैनिक रुपमा आउने छ ।’
व्यापारीले खरिद गरेको सिलिन्डर तातोपानी नाकामा ।
एभेरष्ट अक्सिजन उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले ७ हजार ५० वटा अक्सिजन सिलिन्डर चीनबाट नेपाल ल्याउँदै छन् । सँगै ५ हजार अक्सिजन व्याग पनि ल्याउँदै छन् ।
घिमिरेले भने, ‘अक्सिजन सिलिन्डर अब १ /२ दिनमा नेपाल आइपुग्छ । ५ हजार अक्सिजन व्याग पनि आइपुग्दैछ आज नै नेपाल आइपुग्नेछ । चीनमा परल मूल्य र ढुवानी खर्च जोडेपछि मात्र नेपालमा बिक्री मूल्य भन्न सकिन्छ ।’
घिमिरेका अनुसार यसभन्दा पहिले नेपालमा अक्सिजन व्याग प्रयोगमा अएको छैन । अक्सिजन प्रयोग गर्नुपर्ने बिरामीले अक्सिजन मास्कको माध्यमबाट आफूसँगसँगै लिएर जान सक्ने उनले बताए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दीपककुमार मल्होत्रा पनि चीनबाट २ हजार ८ सय अक्सिजन सिलिन्डर ल्याउँदै छन् । भोलि वा पर्सिमा ती सामग्री आइपुग्ने उनले जानकारी दिए । उनले भने, ‘सरकार, निजी क्षेत्र र विभिन्न संघसस्थाले गरी करिब ३५ हजार अक्सिजन सिलिन्डर नेपाल ल्याउँदै छन् । यो अभाव आएपछि धेरै हदसम्म अभाव टर्छ । नेपाल आइपुग्दा प्रति सिलिन्डर १३ हजार पर्न जान्छ ।’
बेइजिङ । ग्वानजोङ प्रान्तस्थित ३५६ मिटर अग्लो एक गगनचुम्बी भवन हल्लिएपछि स्थानीय बासिन्दा डरले भागेका छन् ।
जारी भएको भिडियो फुटेजमा उक्त भवन हल्लिएपछि स्थानीय बासिन्दा त्रसित भएर भागेको देख्न सकिन्छ । सेन्जेनस्थित आपतकालिन व्यवस्थापन ब्यूरोले उक्त भवन हल्लिनुको कारणबारे अनुसन्धान गरिरहेको छ ।
उक्त भवन हल्लिएको क्षणमा सो स्थानमा भूकम्प नगएको समेत ब्यूरोले जनाएको छ । मंगलबार दिउँसो १ बजेतिर भवन हल्लिएपछि स्थानीय बासिन्दा त्रसित भएर भागेको भिडियो सार्वजनिक भएको थियो ।
घटनापछि उक्त प्लाजालाई खाली गर्दै सिल गरिएको छ । अग्नि नियन्त्रक विभाग र प्रहरीले घटनाको छानविन गरिरहेको छ ।
चिनियाँ निर्माण कम्पनीका एक इन्जिनियर लु जियानजिनले भूकम्प आएको बेला मात्र भवन हल्लिने तर, भूकम्प नै नगएको बेला भवन हल्लिनु अस्वभाविक भएको बताए ।
उक्त एसइजी प्लाजा चीनको १०४ औं अग्लो भवन र विश्वमा २१२ औं अग्लो रहेको जनाइएको छ ।
बेइजिङ । चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ ।
गत वर्षको भन्दा यस वर्ष तीन लाख ५० हजार बढी विद्यार्थीले स्नातक तह उत्तीर्ण गर्न लागेका हुन् । मन्त्रालयले स्नातक गरेका विद्यार्थीका लागि रोजगारी खोज्न वा नयाँ व्यवसाय थालनी गर्न विद्यार्थीसँग मिलेर कार्य गरिरहेको पनि जनाएको छ । हाल, चीनको रोजगार परिस्थितिमा क्रमिक सुधार आइरहेको मन्त्रालयको भनाई छ ।
नयाँ स्नातक उत्तीर्ण विद्यार्थीका लागि आगामी मे १७ देखि २३ सम्म देशव्यापी रुपमा रोजगार प्रबद्र्धन सप्ताह सञ्चालन गर्न मन्त्रालयले पहल गरेको छ । यस अवधिमा प्रत्येक प्रान्तले दुई वटा ठूला स्तरका रोजगार मेला आयोजना गर्नेछन् ।
विश्वविद्यालय र कलेजहरुले पनि क्याम्पस स्तरीय रोजगार कार्यक्रम सञ्चालन गर्ने र यी मेला अनलाइन एवं प्रत्यक्ष भेटघाटमा आधारित हुने मन्त्रालयले जनाएको छ ।
बेइजिङ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ ।
ब्युरोका प्रमुख निङ जिघेले जनसंख्याको उच्चतम विन्दु अझै आइ नपुगेको जनाउँदै तर त्यस्तो उच्चतम विन्दु कहिले आउँछ यत्तिकै पूर्वानुमान गर्न कठिन रहेको बताए ।
हालैका वर्षका जनसांख्यिक प्रवृत्तिलाई आधार मान्दा चीनको जनसंख्या वृद्धि निरन्तर घट्ने देखिन्छ, उनले भने । उमेरको संरचना, छोराछोरी जन्माउने बारेमा मानिसका धारणा, सरकारको जनसंख्या नीति, बालस्याहारमा हुने खर्च, स्वास्थ्य सेवा र मानिसको स्वास्थ्य अवस्था जस्ता पक्षले पनि जनसंख्या वृद्धिमा असर पर्ने उनले बताए ।
चीनको जनसंख्या एक अर्ब ४१ करोड पुगिसकेको छ । विगत एक दशकमा चीनको जनसंख्या वार्षिक औसतमा ०.५३ प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक विवरणमा देखिएको तथ्यांक ब्यूरोले जनाएको छ ।
ब्यूरोका अनुसार सन् २००० देखि २०१० सम्म वार्षिक ०.५७ प्रतिशतको जनसंख्या वृद्धि रहेकामा पछिल्लो दशकमा भने केही कमी आई ०.५३ प्रतिशत रहेको छ ।
निङका अनुसार चीनको जनसंख्या वृद्धि पछिल्लो दशकमा निरन्तर घट्नेक्रममा देखिएको छ ।
काठमाडौं । कोरोना भाइरस संक्रमित बढेसँगै अक्सिजन र सिलिण्डर अभाव भएपछि चीनबाट अक्सिजन सिलिन्डर ल्याउन नेपाल एयरलाइन्सको वाइड बडी ३३० जहाज आज बेइजिङ जाँदैछ ।
जहाज आज राती साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र मंगलबार दिउँसो साढे २ बजे स्वदेश आइपुग्ने नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्सले स्वास्थ्य मन्त्रालयको समन्वयमा बेइजिङबाट ४०० सय वटा अक्सिजन सिलिन्डर नेपाल ल्याउने छ ।
नेपाल सरकारले चीनबाट २० हजार सिलिण्डर ल्याउने बताए पनि अहिले एक पटकका लागि मात्र सरकारबाट पत्र आएको प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।
प्रवक्ता श्रेष्ठले चीनबाट अक्सिजन सिलिण्डर ल्याउनका लागि भाडादर नतोकिएको बताइन् । नेपाल एयरलाइन्सको ‘चाटर्ड रेट’ प्रतिघण्टा १५ हजार ५ सय २० डलर हो । यो अन्य व्याक्ति तथा संघसंस्थाका तोकिएको भाडादर हो ।
चीनको बेइजिङ जान आउनका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । यसले निगमले राखेको भाडा दर अनुसार अक्सिजन सिलिन्डर ल्याउनका लागि १ लाख ७६ हजार १ सय ५२ डलर लाग्ने छ । प्रवक्ता श्रेष्ठका अनुसार अहिले नेपाल सरकारसँग जहाज भाडा दर यति नै भनेर सम्झौता भएकोे छैन ।
सोही विमानबाट १० थान भेन्टिलेटर र १७३ थान अक्सिजन कन्सर्नट्रेटर पनि ल्याउन लागिएको बताइएको छ । होङ्सी होल्डिङ ग्रुपको सहयोगमा अक्सिजन कन्सर्नट्रेटर ल्याउन लागिएको स्रोतले जनाएको छ ।
बेइजिङ । भ्रष्टाचार नियन्त्रण सम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।
यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रत्येक १० वटा मुद्दामध्ये नौ वटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महङ्गा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।
प्रकाशित मुद्दाहरुमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लङ्घनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरुमा पार्टीका नेताहरुबाट अनुशासन उल्लङ्घन भएको पाइएको छ ।
आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।
बेइजिङ । चीनले कोरोनाभाइरस महामारी रोकथामका लागि नेपाललाई आवश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति चाँडै गर्ने घोषणा गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयद्वारा शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता वाङ वन पिनले महामारीविरुद्ध नेपाललाई सक्दो सबै सहयोग गर्ने बताए ।
‘कोभिड महामारीविरुद्ध नेपाललाई चाहिने सबै स्वास्थ्य सामाग्री संकलन भएको छ र हामी चाँडै आपूर्ति गर्न तयार छौं’ प्रवक्ता वाङले भने । नेपालमा दैनिक संक्रमण संख्या उचाइमा पुगेको र अवस्था भयावहतर्फ उन्मुख भएको परिस्थितीमा हुने चिनियाँ सहयोगबारे प्रवक्तालाई प्रश्न सोधिएको थियो ।
छिमेकी र रणनीतिक साझेदार मित्रको हैसियतले चीन र नेपालले सहकार्यको हात अघि बढाएको र महामारी सुरु भएयता दुई मुलुकबीच मित्रताको नयाँ अध्याय सुरु भएको बताए ।
कोरोनाको दोस्रो लहरका कारण नेपालमा सिर्जिएको स्वास्थ्य संकटबारे चीन जानकार रहेको र आवश्यक सहयोग गर्न तयार रहेको समेत प्रवक्ता पिनले जनाए ।
हालै नेपालसहितका चार दक्षिण एसियाली मुलुकका विदेशमन्त्रीहरुको भर्चुअल बैठकमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका थिए ।
‘हामी विश्वास गर्छौं कि नेपाली जनताको नेतृत्व र दलहरुको संयुक्त पहलमा नेपाल महामारीबाट मुक्त हुनेछ र सामान्य अवस्थामा फर्कनेछ’ वाङले भने ।
चीन । नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटले ८५ प्रतिशत चिनियाँहरू आफ्नो सरकारप्रति सन्तुष्ट रहेको सार्वजनिक गरेको छ ।
चीन समस्या विशेषज्ञ जुलियो रियोसको लेखमा अधिकांश चिनियाँ वर्तमान् नेतृत्वप्रति सकारात्मक रहेको बताइएको छ ।
पश्चिमी मुलुकहरूले चीनलाई बदनाम बनाउने उद्देश्य बोकेको दावी गर्दै उनले आफ्नो स्वार्थलाई संरक्षण गर्न पश्चिमा मुलुकहरूले गरेको प्रचारप्रसारलाई चिनियाँ परिवेशमा नरूचाइने गरेको उल्लेख छ ।
जुलियो रियोसले चीन नीति सर्वेक्षण गर्ने एउटा वेभसाइटलाई उद्धृत गर्दै बिहीबार प्रकाशित लेखमा ८५ प्रतिशत चिनियाँहरु आफ्नो सरकारप्रति सन्तुष्टि व्यक्त गरेको बताए ।
रियोसका अनुसार ३५ प्रतिशत अमेरिकीहरु मात्रै अमेरिकी सरकारप्रति सन्तुष्ट छन् तर चीनको सार्वजनिक जनमत सरकारद्वारा निरन्तर रुपमा जनताको जीवनलाई सुधार गरिरहेको आधारमा जन्मिएको छ ।
काठमाडौं । कोरोनाको दोस्रो लहरको बाबजुद पनि नेपालमा संचालित चिनियाँ परियोजनाले कामहरुलाई निरन्तरता दिने भएका छन् ।
महामारीविरुद्धको लडाइमा ती चिनियाँ परियोजनाले नेपालीलाई साथ दिने निर्णय गरेको समाचार ग्लोबल टाइम्सले लेखेको छ ।
अखबार लेख्छ- अवश्य पनि भयावह हुँदै गरेको कोरोना महामारीले केही चिनियाँ परियोजना ठप्प छन् भने केहीमा ढिलाइ हुने देखिएको छ । तर, नेपाल छाडेर जाने कुनै योजना छैन ।
‘हामीले कोभिडको दोस्रो लहर बढ्दै गर्दा केही समयका लागि निर्माण कार्यलाई पोस्टपोन्ड गर्ने निधो गरेका छौं’ नाम उल्लेख नगर्ने सर्तमा एक चिनियाँ परियोजनाका व्यवस्थापकले ग्लोबल टाइम्सलाई भने ।
चिनियाँ सहयोगमा संचालन भैरहेको अर्को एक परियोजनाका व्यवस्थापकले पनि सरकारी प्रोजेक्टहरुले सामाजिक दूरी कायम गर्दै संचालन हुने बताएको समाचारमा उल्लेख छ ।
‘अहिलेको क्षणमा महामारी निकै बढिरहेको छ र हामीले यो क्षणमा नेपाल छाड्ने सोच गराएका पनि छैनौं’ ती म्यानेजरले भने ।
नेपाल ओभरसिजन चाइनिज एसोसिएसनका उपाध्यक्ष चेन जिआयोसाङले महामारीको अवस्था खराब हुँदै गए नेपाललाई आवश्यक पर्ने स्वास्थ्य उपचारका सामाग्रीहरु प्रदान गर्ने बताए ।
कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री आपूर्तिका लागि संस्थाले ‘लभ फार्मेसी’ स्थापना गर्ने योजना बनाइरहेको समेत उनले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र रुसबाट कोभिड-१९ विरुद्धको खोप खरिद प्रक्रिया सुरु गरिएको बताएका छन् ।
सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत पनि खोप ल्याउन सरकार प्रयत्नशिल रहेको जानकारी दिए ।
यसअघि पनि राजदूतसहित रुसी प्रतिनिधिमण्डललाई भेटेर खोप आपूर्ति गर्न आग्रह गरेका प्रधानमन्त्रीले ती मुुलुकबाट खोप ल्याउने औपचारिक जानकारी गराएका हुन् ।
रुसको स्पुतनिक-भी र चीनको सिनोफार्मले विकास गरेको भेरोसेल खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । चीन र रुसले नेपाललाई थप खोप उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् ।
देशवासीलाई सम्बोधनको क्रममा प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ध आवश्यक पर्ने अक्सिजन, खोप लगायतका सामाग्री सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल पनि गरे ।
भारतबाट खोप आपूर्ति नहुँदा खोप अभियान प्रभावित बनिरहेको अवस्थामा प्रधानमन्त्रीले भारतको विकल्पमा खोप आपूर्ति गर्ने जानकारी दिएका हुन् ।
काठमाडौं । चीनले नेपालसहित दक्षिण एसियाका अन्य चार मुलुकलाई समेटेर ‘चीन-दक्षिण एसिया आपतकालिन आपूर्ति संयन्त्र’ र चीन-दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापनाको प्रस्ताव गरेको छ ।
चीनको यो प्रस्तावमा नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशले सहमति जनाएको चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
संयुक्त बक्तव्य भनिएको उक्त विज्ञप्तीमा सबै पक्षसँग मित्रतापूर्ण परामर्श गरेर संयन्त्र गठन गर्न लागिएको उल्लेख छ । गत मंगलबार ६ मुलुकका विदेशमन्त्रीबीच भर्चुअल छलफल भएको थियो ।
कोभिड महामारीसँग लड्नको लागि ६ वटा मुलुकबीच आपसी सहकार्य र एकता गर्नेबारे पनि छलफल भएको थियो । दक्षिण एसियाका भारत, माल्दिभ्स र भुटानबाहेकका पाँच मुलुकसँग मिलेर सहयोग संयन्त्र बनाउने घोषणा चीनले गरेको हो ।
संयुक्त बक्तव्य दाबी गर्दै चीनले यस्तो उल्लेख गरेपनि भर्चुअल छलफलपछि नेपालले जारी गरेको विज्ञप्तीमा यसबारे उल्लेख थिएन । बरु, कोभिड–१९ महामारीविरुद्ध आवश्यक स्वास्थ्य सामाग्री खरिदको लागि ९ करोड रुपैयाँ बराबरको सहायता प्रदान गर्ने घोषणा भएको थियो ।
चीनले प्रस्ताव गरेको उक्त संयन्त्रमार्फत निःशुल्क सहायता, व्यवसायको लागि खरिद र खोपहरुको उत्पादन तथा भण्डारण, अन्य मुलुकलाई खोप प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । दक्षिण एसियाली मुलुकहरुले कोभिड-१९ को महामारीको सामना गरिरहेकाले चिनियाँ विदेशमन्त्रीले उक्त प्रस्ताव गरेका थिए ।
साथै, कोभिड-१९ पछि अर्थतन्त्रलाई पुनःउत्र्थान गर्नको लागि चीन-दक्षिण एसिया गरिबी उन्मुलन र विकास साझेदारी केन्द्र स्थापना गर्न चीनले प्रस्ताव गरेको पनि विज्ञप्तीमा जनाइएको छ ।
चिनियाँ विदेशमन्त्री यीले उक्त संयन्त्रमार्फत कोभिड-१९ संकटको सामना गरिरहेको भारतलाई मद्दत र सहायता प्रदान गर्न आफूहरु सकारात्मक रहेको बताएका थिए । मंगलबार भएको उक्त भर्चुअल बैठक भारतलाई सहायता उपलब्ध गराउने उद्देश्यको साथ बसेको समेत जनाइएको छ ।
कोरोनाभाइरसको उत्पतिलाई अफवाह बनाएर केही मुलुकले राजनीतिक रङ दिएको र ६ वटै मुलुकले यस्तो कार्यलाई विरोध गर्नुपर्नेमा विदेशमन्त्रीहरुले सहमति जनाएको पनि विज्ञप्तीमा उल्लेख छ ।
दुई संयन्त्र बनाउने चीनको प्रस्तावलाई छलफलमा भाग लिएका नेपालसहितका दक्षिण एसियाली मुलुकले समर्थन जनाएको पनि चीनले उल्लेख गरेको छ । ती मुलुकका विदेशमन्त्रीले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)मा प्रतिबद्धता जनाएको पनि उल्लेख छ ।
चीनको काठमाडौंस्थित नेपाली दूतावासले विदेशमन्त्रीहरुको उक्त भर्चुअल छलफल लाभदायक रहेको बताएको छ ।
एजेन्सी । भारतमा कोरोनाको दोस्रो लहरले देशको स्वास्थ्य प्रणालीलाई तहसनहस बनाइदिएको छ । देशभरका अस्पतालमा अक्सिजनको समेत अभाव रहँदा कोरोना संक्रमितहरु उपचार नपाई मृत्युवरण गर्नुपरेका समाचारहरु सार्वजनिक हुन थालेका छन् ।
विहीबार २४ घण्टामा मात्र भारतमा ३ लाख १४ हजार ८ सय ३५ जना नयाँ संक्रमित पहिचान भएका छन् । त्यही अवधिमा २ हजार १ सय भन्दा बढीको निधन भएको छ । राजधानी दिल्लीसहित देशका मुख्य शहरका अस्पताल विरामीले भरिएका छन् र उनीहरुलाई अत्यावश्यक मेडिकल अक्सिजन पुर्याउन सकिएको छैन ।
भारतमा अहिलेसम्म १ करोड ६० लाखभन्दा धेरै नागरिक कोरोना संक्रमित भएका छन् । एकैदिन सबैभन्दा धेरै पहिचान हुने कीर्तिमानमा पनि भारतले अमेरिकालाई उछिनेको छ । स्थानीय सन्चारमाध्यमले भयावह स्थितिले अझै कति दिन निरन्तरता पाउने हो त्यसबारे अनुमान गर्न नसकिने बताएका छन् ।
यस्तो अवस्थामा एसियाली पावरहाउस चीनले छिमेकी मुलुकमा कोरोनाको बढ्दो संख्या र मेडिकल अक्सिजनको अभावमा चिन्ता व्यक्त गर्दै आवश्यक सहयोगको इच्छा व्यक्त गरेको भारतीय अखवार टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले गत साता मेडिकल अक्सिजनको आयातबारे बिचार गरिरहेको बताएको थियो । तर उनीहरुको प्राथमिकतामा चीन परेको थिएन । भारतले खाडी देश तथा सिंगापुरबाट मेडिकल अक्सिजन ल्याउने योजना बनाइरहेको बताइएको छ ।
विहीबार चीनको विदेश मन्त्रालयले महामारीसँग लड्नका लागि अत्यावश्यक सामाग्रीको अभाव हुनुजस्तो गम्भीर अवस्थामा सहयोगका लागि हात अगाडि बढाएको बताएको छ । उसले कोभिड-१९ जस्तो सामा मानव सभ्यताको साझा सत्रुबिरुद्ध अन्तर्राष्ट्रिय एकजुटता अपरिहार्य रहने पनि उल्लेख गरेको छ ।
भारतले गत वर्ष पनि चीनबाट मेडिकल उपकरण आपूर्ति गरेको थियो । दुवै देशले अन्य दक्षिण एसियाली देशहरुमा कोरोना खोप आपूर्ति गर्दै आएका छन् ।
बेइजिङ । चीनको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिक अवधिमा तिब्र गतिमा वृद्धि भएको शुक्रबार सार्वजनिक सरकारी तथ्याँकले देखाएको छ । कोरोनाभाइरस महामारीका कारण केही शिथिल देखिएको अर्थतन्त्रमा यस वर्ष तिब्र विकास भएको हो ।
चीनले विगत तीन दशकयतादेखि देशको अर्थतन्त्रको त्रैमासिक विवरण तयार गर्न थालेको थियो । यस वर्ष पहिलो त्रैमासमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) १८.३ प्रतिशतले वृद्धि भएको चिनियाँ सरकारी अधिकारीहरुले बताएका छन् ।
यद्यपी, एएफपीले अर्थशास्त्रीबीच गरेको सर्भेको तुलनामा यो वृद्धि केही कम हो ।
सन् २०१९ को अन्त्यतिर कोरोना महामारी चीनको बुहानबाट फैलिए पनि सरकारले अपनाएको कडा नियन्त्रण उपाय र आम सर्वसाधारण पनि घरमै बसिदिएकाले चीनमा कोभिड चाँडै नियन्त्रणमा आएको थियो ।
राष्ट्रिय तथ्याँक ब्यूरोकी प्रवक्ता लिउ आइहुवाले शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय अर्थतन्त्र राम्रो ढङ्गबाट अगाडि बढिरहेको प्रतिक्रिया दिइन ।
अघिल्लो वर्षको तुलनामा जिडिपीमा तिब्र वृद्धि देखिनुमा एउटा कारण अघिल्लो वर्ष जिडिपीमा न्यून वृद्धि पनि हो, उनले भनिन ।
गत मार्च महिनामा खुद्रा बिक्रीमा निकै बढी वृद्धि भएको छ । चिनियाँ अर्थतन्त्रको आधार स्तम्भको रुपमा रहेको उपभोक्ता क्षेत्रमा राम्रो प्रगति भएको तथ्याँकले देखाएको छ ।
औद्योगिक उत्पादन त्रैमासिक अवधिमा अनुमान गरिएभन्दा केही कम अर्थात् २४.५ प्रतिशतले वृद्धि भएको छ । केही दिनअघि मात्र सार्वजनिक विवरणमा चीनको आयातभन्दा निर्यात मार्च महिनामा निकै बढेको देखाइएको थियो ।
प्रवक्ता लिउले अन्तर्राष्ट्रिय परिदृश्य अझै पनि अनिश्चितताले घेरिएको बताइन् ।
विश्वका विभिन्न मुलुकमा कोरोनाभाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिए पनि खोपको वितरण असन्तुलित रहेको र धेरैजसो मुलुकमा भाइरस फैलिनेक्रम बढेसँगै लकडाउन र अन्य सुरक्षात्मक उपाय अपाउन थालिएका छन् ।
चीनमा शहरी बेरोजगारी दर पनि केही घटेको छ । पहिलो त्रैमासिक अवधिमा शहरी बेरोजगारी ५.३ प्रतिशतको हाराहारीमा रहेको छ ।
बेइजिङ । चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड-१९ लाई नियन्त्रणमा लिएसँगै अर्थतन्त्रमा निरन्तर सुधार आएको देखिएको छ ।
पछिल्ला दिनहरुमा मुख्य विदेशी बजारहरुमा चिनियाँ सामानको माग बढेको चिनियाँ अधिकारीहरुले बताएका छन् । कोरोनाभाइरस विरुद्धको खोपको प्रभाव र कोभिड विरुद्धका प्रतिबन्धहरु खुकुलो बनाएसँगै चिनियाँ अर्थतन्त्रमा सकारात्मक प्रभाव देखिएको र आगामी केही महिना यही स्थिति रहने चीनको भनाई छ ।
चीनको आयातमा पूर्वानुमान गरेझैं अघिल्लो वर्षको तुलनामा ३८.१ प्रतिशतले वृद्धि भएको छ । यसै वर्षको जनवरी र फेब्रुअरीमा २२.२ प्रतिशतले आयातमा वृद्धि भएकामा गत मार्च महिनामा सन् २०१७ फेब्रुअरी यताकै यो सबैभन्दा ठूलो वृद्धि हो ।
निर्यातमा पनि ३०.६ प्रतिशतले वृद्धि भएको छ र यो सन् २०१८ यताकै सबैभन्दा बढी हो । यद्यपी ब्लुमबर्गले चीनको निर्यात ३८ प्रतिशतले वृद्धि हुने पूर्वानुमान गरेको थियो ।
चिनियाँ भन्सार प्रशासनको तथ्याँकमा चीनको समग्र व्यापार बचत १३.८ अर्ब डलर रहेको उल्लेख छ । संयुक्तराज्य अमेरिकासँगको व्यापार बचत पनि अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले वृद्धि भई २१.४ अर्ब डलर पुगेको छ ।
काठमाडौं । कोरोना नियन्त्रण गर्न सरकारले गरेको ९ महिना लामो लकडाउनपछि लयमा फर्किन क्रममा रहेको नेपाल र चीनबीचको निर्यात व्यापारमा फेरि समस्या उब्जिएको छ । पछिल्लो समय चीनबाट निर्यात हुने वस्तुमा सिन्धुपाल्चोकका व्यापारीको एकाधिकार रहेको अन्य व्यवसायीले गुनासो गरेका छन् ।
सिन्धुपाल्चोकका व्यापारीले अन्य स्थानका व्यापारीलाई केरुङ र तातोपानी नाकाबाट प्रवेश नै नदिने गरी ‘माथि’ सेटिङ मिलाएको ती व्यवसायी बताउँछन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सामान आयातका लागि भिसा लगाउन र पैसा पठाउनसमेत समस्या भएको बताए । सामान आयात गर्न जाने व्यक्ति सिन्धुपाल्चोककै हुनुपर्ने प्रावधानले समस्या भएको उनको गुनासो छ ।
कटवालले भने, ‘चीततर्फको केरुङ र तातोपानी नाकामा सामान आयात गर्दा सिन्धुपाल्चोकका व्यापारीको सिन्डिकेट छ । उनीहरुले बाहेक अरुले चीनतर्फ प्रवेश नै नपाउने गरी सेटिङ मिलाइएको छ ।’
सरकारले सो नाकामा सबै नेपालीलाई सहज प्रवेशको लागि पहल गर्नुपर्ने उनले बताए । यसका लागि परराष्ट्र मन्त्रलयसँग पनि आफूहरुले छलफल गरिरहेको उनले जानकारी दिए ।
सिन्धुपाल्चोका व्यापारीले मात्रै सामान ल्याउन पाउने भएपछि पहिलेको तुलानामा अहिले कन्टेनरको भाडा दोब्बर भएको व्यवसायीहरुले बताएका छन् । सामान आयात गर्न जाँदा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियमले पनि व्यपारीहरुलाई समस्या पारेको छ ।
भन्सार विभागका सूचना अधिकारी शिशिर घिमिरेले केरुङ र तातोपानी नाकामा समस्या आएको जानकारी नभएको बताए । उनले भने, ‘क्वारेन्टाइनको केही विषय होला, तर भन्सार विभागलाई अरु समस्याको बारेमा जानकारी छैन ।’
चिनियाँ सामानको मूल्यवृद्धि
कटुवालका अनुसार चीनबाट आयात भएर नेपाली बजारमा बिक्री हुने सामानको मूल्य बढिरहेकाे छ । सामान आयातमा जति समस्या भयो, त्यति नै धेरै खर्च बढ्ने र त्यो खर्चको मार उपभोक्तामा पर्ने उनी बताउँछन् ।
चीनका नाकाबाट सामान आयातमा समस्या भए पनि बजारमा अभाव भने उत्पन्न नहुने व्यवसायी बताउँछन् । त्यही प्रकृतिका सामान भारतबाट आयात हुने भएकाले मूल्य बढी परे पनि अभाव नहुने उनीहरुको भनाइ छ ।
चीनबाट लत्ताकपडा, जुत्ता चप्पल तथा विभिन्न प्रकारका कच्चा पदार्थ आयात हुने गरको छ । लकडाउनको समयमा पनि नेपाली व्यापारीहरुले चीनबाट ल्याएको करिब १५ सय कन्टेनर सामान नाकामा नै रोकिएको थियो । हाल त्यो सामान नेपाल आइसकेको छ ।
न्युरोड, असन र सुन्धारालगातका व्यापारीले धेरैजसो चीनबाट आयात भएको सामान बिक्री गर्ने गरेका छन् । चीनमा उत्पादन भएको सामान सस्तो हुने भएकाले पनि नेपाली बजारमा माग धेरै छ ।
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले कोरोना भाइरस (कोभिड–१९)को उत्पत्ति चीनको प्रयोगशालाबाटै भएकोबारे अन्तिम निश्कर्षका लागि थप अनुसन्धान आवश्यक भएको बताएका छन् ।
मंगलबार डब्लूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोमले कोरोना भाइइस प्रयोगशालाबाट उत्पत्ति भएको सम्भावना न्यून रहेको बताउँदै यसका लागि ब्यापक अनुसन्धानको आवश्यकता रहने बताए ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा कोरोना भाइरस पहिलोपल्ट पत्ता लागेको थियो । चीन सरकारले आफ्नो प्रयोगशालाबाट भाइरस फैलाएको भन्ने आरोप लगातार अस्वीकार गरिरहेको छ ।
नोभेल कोरोना भाइरसको पहिलो पहिचान भएयटा विश्वकपमा अहिलेसम्म २७ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म १ अर्ब २७ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् ।
भाइरसको उत्पत्तिबारे अनुसन्धानका लागि अन्तर्राष्ट्रिय विशेषज्ञहरु सम्मिलित एक टोली गएको जनवरीमा वुहान पुगेको थियो । तर उनीहरुको अनुसन्धान चीनले उपलब्ध गराएको नमूना र प्रमाणहरुमा सीमित बनेको थियो । डब्लूएचओका अध्यक्षले सार्वजनिक रुपमै अनुसन्धानमा अप्ठेरो भएको भन्दै स्वतन्त्र अनुसन्धानको वातावरण माग गरेका थिए ।
यो टिमले सबै सम्भावनाको जाँच गरेको थियो, जसमध्ये वुहान इन्स्टिच्युड अफ भाइरोलोजीबाट उत्पत्ति भएको सम्भावनाबारे पनि थियो । कोरोना भाइरसबारे तथ्यंक, भण्डारण र अध्ययनका लागि यो इन्स्टिच्युड विश्वकै अग्रणी संस्था हो ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य केहिले कोरोना भाइरस प्रयोगशालाबाट उत्पत्ति भएको हुनसक्ने सम्भावनाबारे जोड दिएका थिए ।
तर डब्लूएचओ र चिनियाँ विशेषज्ञद्वारा मंगलबार संयुक्त रुपमा जारी वक्तव्य तथा समाचार संस्था एएफसीमा प्रकाशित समाचार अनुसार प्रयोगशालाको चुहावटको सम्भावनालाई अस्वीकार गरिएको छ । बरु मानवसँग संसर्गमा आउने (जस्तैः घरपालुवा) जनावरमार्फत कोरोना फैलिएको हुनसक्ने सम्भावनालाई प्रवलताका साथ प्रस्तुत गरिएको छ ।
बेइजिङ । चीनले हङकङमाथि कडा नियन्त्रण गर्ने उद्देश्यले प्रस्तावित एक निर्वाचन कानुनलाई ब्यापक परिवर्तनसहित मंगलबार पारित गरेको छ ।
नयाँ नियमअनुसार संसदमा प्रत्यक्ष निर्वाचित सिट संख्यालाई आधा कटौती गरिएको छ । नयाँ निर्वाचन कानुनमार्फत आफूप्रति इमान्दार र देशभक्ति सांसद निर्वाचित गर्ने बेइजिङको चाहना छ ।
देशभक्ति भावनाको सांसद मात्र शक्तिशाली पदमा पुगोस् भन्ने मुख्य चाहना चीनको छ । तर, आलोचकले चीनको यो निर्णयलाई लोकतन्त्रको अन्त्य भएको बताएका छन् । हङकङको संसदबाट प्रतिपक्षीलाई बाहिर निकाल्ने र स्वरलाई दबाइने उनीहरुको डर छ ।
तर, हङकङकी नेतृ क्यारी लेमले चाहिँ लोकतन्त्रको अभ्यास गर्दा सबैका लागि समान हुन नसक्ने बताएकी छिन् । उनका अनुसार जाँच कमिटीले राजनीतिक आस्थाका आधारमा नभएर देशभक्ति धारणाका आधारमा व्यवहार गर्ने बताएकी छिन् ।
नेतृ लामाले आधारभूत कानून र राष्ट्रिय सुरक्षाको जाँचपछि मात्र योग्य उम्मेदवारलाई चुनावमा उठ्न अनुमति दिने बताएकी छिन् । चिनियाँ संचारमाध्यमका अनुसार गत मंगलबार चीनको उच्च राजनीतिक निर्णयबाट हङकङ सम्बन्धी निर्वाचन कानुन पारित भएको हो ।
बेइजिङ । चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले केही चिनियाँ पदाधिकारीमाथि प्रतिबन्धहरु लगाएको विरोधमा चीनले यस्तो कदम चालेको हो ।
चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा पश्चिमा राष्ट्रहरुबाट चीनमाथि लगाइएका आरोपहरु झुटा र गलत सूचना रहेको जनाएको छ । विज्ञप्तिमा पश्चिमा मुलुकका कार्यहरुले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको तथा अन्तर्राष्ट्रिय कानुन एवं न्यूनतम मूल्यमान्यतालाई नजरअन्दाज गर्न खोजिएको उल्लेख छ ।
साथै बेलायतको पछिल्लो निर्णयले चीन–बेलायत सम्बन्धलाई गम्भीर रुपमा असर पार्न सक्ने पनि विज्ञप्तिमा जनाइएको छ ।
चीनका लागि बेलायती राजदूतलाई पनि चिनियाँ विदेश मन्त्रालयले बोलाएर कूटनीतिक विरोध जनाएको मन्त्रालयले जनाएको छ । प्रतिबन्ध लगाइएका बेलायती नागरिक एवं समूहलाई चिनियाँ भूभागको भ्रमणमा रोक लगाइएको छ भने चिनियाँ नागरिक एवं संस्थासँग आर्थिक कारोबारमा प्रतिबन्ध लगाइएको छ ।
चीनले तयार पारेको प्रारम्भिक विवरणमा तत्कालका लागि नौ जना बेलायती नागरिक र चार वटा संस्थामाथि प्रतिबन्ध घोषणा गरिएको छ जसमा बेलायती सांसद इयान डन्कन र कन्जरभेटिभ पार्टीको मानव अधिकार आयोग समेत छन् ।
सिनजियाङको विषयलाई लिएर चीन र पश्चिमा राष्ट्रबीच केही समयदेखि तिखा आरोपप्रत्यारोप जारी छन् । पश्चिमा मुलुकहरुले चीनले सिनजियाङका १० लाखभन्दा बढी उइगुर र अन्य मुस्लिम अल्पसंख्यक समूहलाई बन्दी झैं व्यवहार गरेको आरोप लगाइरहेका छन् ।
चीनले यस क्षेत्रमा मानिसलाई जबर्जस्ती दास बनाएको र जन्मदरलाई जबर्जस्ती नियन्त्रण गरिरहेको पश्चिमा मुलुकको आरोप छ ।
पछिल्लो समय युरोपेली युनियन, संयुक्तराज्य अमेरिका, बेलायत र क्यानडाले चार जना चिनियाँ अधिकारीमाथि सिनजियाङ मामिलालाई लिएर प्रतिबन्धहरु घोषणा गरेका छन् । पातलो बस्ती रहेको सिनजियाङमा कपास र अन्य कृषिजन्य उत्पादन हुने गर्दछ । पश्चिमा मुलुकहरुले यहाँ उत्पादित सामग्री खरिद नगर्ने पटकपटक धम्की दिइआएका छन् ।
चीनले प्रतिबन्ध घोषणा गरिएकाहरुमा राजनीतिकर्मीहरु, बुद्धिजीवीहरु र मानव अधिकारवादीहरु टम टुगेनढाट, निल ओब्रायन, नुस्रत घानी, हेलेना केन्नेडी, जियोफ्री निस र जोआना निकोला स्मिथ फिन्ले छन् । साथै चाइना रिसर्च ग्रुप, उइगुर ट्रिबुनल र इसेक्स कोर्ट च्याम्बर्स पनि प्रतिबन्धको सूचीमा समावेश छन् ।
चीनका विभिन्न सरकारी निकायहरु र राज्य नियन्त्रित संचार माध्यमहरुले पनि पश्चिमा मुलुकका गतिविधिमाथि तिखो आलोचना गरिरहेका छन् ।
सिनजियाङ सरकारले लामो विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा पछिल्लो समय आर्थिक वृद्धि, राजनीतिक स्थायित्व र जनसंख्या वृद्धि भएको दाबी गरेको छ । विज्ञप्तिमा अमेरिका, बेलायत, क्यानडा र अन्य क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटना भएको उल्लेख गरिएको छ । पश्चिमा राष्ट्रहरुले इराक र लिबियामा सैनिक हस्तक्षेप गरेकै कारण क्षेत्रीय अशान्ति फैलिएको पनि विज्ञप्तिमा दाबी गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्नेछ, जसले चीनमा निर्मित कोभिड-१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिनेछन् ।’
स्मरणीय के छ भने अहिलेसम्म नेपालमा चिनीया खोप आएको छैन । चीनमा बनेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय नेपाल सरकारले गरेपनि ढुवानी गर्ने र लगाउने सुरसार छैन । भारतबाट आउने भनिएको खोप रोकिएपछि चीनले आफ्नो खोपलाई प्रयोगमा ल्याउन दबाब दिएको अर्थमा यसलाई हेरिएको छ ।
चीन जाने यात्रुको अनिवार्य कोभिड नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, चीनमा पुगेपछि क्वारेन्टाइनमा रहनुपर्ने पनि जनाइएको छ । चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा यसअघि नै गरिसकेको छ ।
शाङ्घाई– तपाइँलाई क्याफे भन्नेबित्तिकै दिमागमा कस्तो चित्र आउँछ ? स्वाभाविक रुपमा क्याफेमा थरिथरिका कफी, चिया र हल्काफुल्का खानेकुरा राखिएका हुन्छन् । तर चीनको ठूलो शहर शाङ्घाईमा कतिपय क्याफे भिन्न किसिमका छन्, र तिनीहरुको संख्या बढ्दैछ भने तिनीहरुले बढीभन्दा बढी ग्राहकलाई आकर्षित गर्न थालेको छ ।
के तपाईंले लाट्टे कफी पिउँदै गर्दा रकून (बिरालोजस्तो स्तनपायी जङ्गली जनावर) को बच्चा टुप्लुक्क देखा पर्ला ? अथवा कापुचिनो कफी पिउँदै गर्दा सर्प बेरिन आइपुग्ला ? कुकुर वा बिराला पालिएका क्याफेका कुरा त बिर्सौं, शाङ्घाईका जीवजन्तु क्याफेमा आजभोलि अझ नयाँ अनौठा जङ्गली जीवजन्तु धेरै नै देखिन थालेका छन् ।
विभिन्न जीवजन्तुलाई हेर्दै, छुँदै कफी पिउने पागलपन यहाँका नागरिकमा अझै छ । जङ्गली जीवजन्तुबाट मानिसमा घातक कोरोनाभाइरस सरेको कुरा यहाँ भेला हुने मानिसले अचेल बेवास्ता गर्न थालेको प्रतीत हुन्छ ।
चीनको सर्वाधिक ठूलो शहर शाङ्घाईमा अहिले दर्जनौं यस्ता जीवजन्तु राखिएका क्याफे खुलेका छन् । यी क्याफेमा भेला हुने मानिसले जीवजन्तुसँग फोटो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् ।
मध्य शाङ्घाईमा रहेको रकून क्याफेमा आठ वटा स्तनपायी रकून राखिएको छ । सबैभन्दा ठूलो रकूनको तौल करिब १० किलो छ । ग्राहकले चलाउन वा छुन खोजे यो जीव झ्यालको तलमाथि उफ्रिरहन्छ ।
“मलाई यो जीव अति राम्रो लाग्छ,” २७ वर्षीय भलिबल खेलाडी क्विन सियू भन्छन् । साथीले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफूले क्याफेका बारेमा चाल पाएको उनले बताए ।
ग्राहकले यस क्याफेभित्र छिर्न प्रवेश शुल्क बापत १५ डलर तिर्नु पर्छ तर यो ठाउँ क्याफे नै हो भन्ने विषयमा बहस हुन थालेको छ । रकूनको व्यवहार अनुमान लगाउन सकिँदैन । तातो कफी पिइरहँदा रकूनले एक्कासी झम्टिएर तर्साउन सक्छ । फेरि, यी क्याफेमा मानिसका लागि खानेकुरा पनि खासै धेरै किसिमको पाइन्न ।
क्याफेका सञ्चालक चेङ चेन गत वर्ष आफ्नो क्याफेमा रकून ल्याउँदा त्यसको व्यवहारका बारेमा खासै थाहा नपाएको बताउँछ् । उनी भन्छन् -यो मेरो पहिलो अनुभव थियो । यी रकूनहरु निकै रिसाहा पनि हुन्छन्, उनी भन्छन्- मेरो जिउमा यसले चिथोरेर धेरै ठाउँमा दाग बनाइदिएको छ ।”
यी ३६ वर्षीया क्याफे सञ्चालिका चेङलाई पनि मानिसले रकून किन पालेको भनेर प्रश्न गर्ने गरेको बताउँछन् । उनको विचारमा मानिसले प्रश्न गर्नु स्वाभाविक हो किनभने यहाँ कुकुरलाई दिइने खानेकुरा खान दिइन्छ ।
चेङलाई जीवजन्तु पाल्ने पहिल्यैदेखि निकै ठूलो सोख थियो र उहाँका घरमा धेरैवटा कुकुर र बिराला छन् । उनलाई रकूनको पनि औधी माया लाग्छ । “सामान्यतया यहाँ कुनै ठोस नियम छैन । साँचो भन्नुपर्दा खासगरी चीनमा घरमा पालिने जीवजन्तु सम्बन्धी नियमहरु निकै कमजोर छन्,” उनी भन्छन् ।
शाङ्घाईकै अर्को क्याफेमा सर्पहरु, छेपाराहरु र रङ्गीचङ्गी माउसुलीले ग्राहकलाई खुशी तुल्याउन प्रतिक्षा गरिरहेका छन् । यस क्याफेका सञ्चालक वाङ लिक्वुनको यस क्याफेमा ३० वटा सर्प छन् । यी सर्पहरुमा विष हुँदैन, तर यिनीहरुले मानिसलाई टोक्न सक्छन् । वाङको भनाईमा आजसम्म कुनै पनि ग्राहकलाई यी सर्पले डसेका छैनन् ।
टाङ नाम गरेकी एक ग्राहकले क्याफेले मानिसलाई आफूमा रहेको डर भगाउन मद्दत गरेको बताइन्। २७ वर्षीया ती ग्राहकले भनिन् –“यहाँ आएपछि मानिसले आफ्नो सोचाईमा परिवर्तन पाउन सक्छन् र सरिसृप प्रजातिका जीवजन्तु साँच्चिकै मायालाग्दा हुँदा रहेछन् ।”
तर विश्व जीव संरक्षणसँग आबद्ध वैज्ञानिक इभान सनले यी क्याफेप्रति आफूलाई निकै शंका लागेको बताए । “यी क्याफेमा जीवजन्तुको अवस्था निकै दयनीय हुने गर्दछ, र तिनीहरुले भयानक पीडा र दबाब महसुस गरेका हुन्छन् ।”
चीनका लागि वन्यजन्तु अभियानका व्यवस्थापक समेत रहनु भएका सनले भने –“वन्यजन्तुसँग निकट अन्तक्र्रियाले पीडा र क्रुरता मात्र बढाउने होइन, यसले रोग पनि निम्त्याउँछ र मानिसमा सार्न सक्छ । जीवजन्तु राखिएका क्याफे जाने अधिकांश ग्राहक प्राणीलाई मन पराउनेहरु नै हुन्छन्, तर उनीहरुलाई जीवजन्तुको खानेबस्ने तौरतरिकाका बारेमा खासै जानकारी नहुने भएकाले मानिसलाई अप्रत्यक्ष असर पारिरहेको हुन्छ ।”
बेइजिङ- दोस्रो ठूलो अर्थतन्त्र चीनले पाँचवर्षमा आर्थिक, प्राविधिक र राष्ट्रिय सुरक्षा सुदृढ गर्ने लगायतका पाँचवर्षे योजना घोषणा गरेको छ । ग्लोबल टाइम्सका अनुसार आगामी चुनौतिसँग लड्न यो योजना महत्वपूर्ण हुने उसको भनाइ छ ।
१० वर्षपछि चीनले पहिलोपटक पञ्चवर्षिय योजना (२०२१/२०२५) सार्वजनिक गरेको हो । तर, उक्त योजनामा कूल गार्हस्थ उत्पादनको यकिन गरिएको छैन । चीनले आगामी दिनमा कोभिड-१९ महामारीपछिको आर्थिक मन्दीबाट उम्कन यी योजना अघि सारिएको जनाइएको छ ।
यी योजनालाई अहिले समीक्षाका लागि प्रस्ताव गरिएको छ । १९२ च्याप्टर र ७४ हजार चिनियाँ शब्द समेटिएको उक्त पञ्चवर्षिय योजनाको प्रस्तावमा महत्वाकाङ्क्षी विकास लक्ष्यसहितको विस्तृत योजना समावेश गरिएको जनाइएको छ ।
निश्चित कूल गार्हस्थ उत्पादनको आँकडा सार्वजनिक नगरिएपनि त्यसलाई सन्तुलनमा राख्ने र वर्षेनी खास परिस्थितीअनुसार मिलाइने उल्लेख छ । अघिल्लो १३ औं योजनामा ६.५ प्रतिशतको जीडीपी लक्ष्य राखिएको थियो ।
१) मुख्य आर्थिक परिसूचकलाई उपयुक्त आकारमा राखिने २) अनुसन्धान र विकास खर्चलाई ७ प्रतिशतभन्दा माथि राखिने ३) सहरी बेरोजगारीलाई ५ं.५ प्रतिशत रेटमा राखिने ४) कूल जनसंख्याको ६५ प्रतिशतलाई सहरी आवासमा रुपान्तरण गरिने ५) चिनियाँ नागरिकको आयु १ वर्षले बढाउने ६) हरियाली विकासको प्रवद्र्धन गरिने ७) बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)को उच्च गुणस्तरको विकासमा जोड दिने ८) चीनलाई शान्तिपूर्ण देशको नयाँ उचाइमा लैजाने
बेइजिङ- चीनले सन् २०२१ मा ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको जनाएको छ । शुक्रबारदेखि बेइजिङको ग्रेट हल अफ दी पिपुलमा सुरु चिनियाँ कम्युनिष्ट पार्टीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ली खच्याङले उक्त घोषणा गरे ।
यो लक्ष्यले कोभिड-१९ महामारीपछि बलियो आर्थिक वृद्धिदर प्राप्त गर्ने दोस्रो ठूलो अर्थतन्त्रको योजनालाई दर्शाएको छ ।
गतवर्ष चीनको अर्थतन्त्र दशकयताकै सबैभन्दा न्यून २.३ प्रतिशतले वृद्धि भएको थियो । चीनको यो लक्ष्यले सन् २०२० को सुरुआती अवस्थाकै अवस्थामा चिनियाँ अर्थतन्त्रलाई पुनर्उत्थान गर्ने उद्देश्य समेटेको छ ।
सन् २०२० को दोस्रो चौंथाइँमा मात्र चिनियाँ अर्थतन्त्र उकासिएको थियो र उक्त वर्षमा नाफामूलक आर्थिक वृद्धि गर्नेमा चीन एकमात्र मुलुक थियो ।
काठमाडौं । चीनले नेपाललाई राष्ट्रसंघीय जनसंख्या कोषअन्तर्गत कोभिड-१९ विरुद्ध पीपीइ, ग्लोब्स र मास्क प्रदान गरेको छ ।
६,०४८ सेट पीपीइ, ५० हजार ग्लोब्स र मास्क नेपालले ग्रहण गरेको हो । नेपाल, चीन र कोषको साझेदारी कार्यक्रम अन्तर्गत कोभिडविरुद्धका सामाग्री हस्तान्तरण भएको चीनले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रमुख चिकित्सक रोशन पोखरेलले कोषका पदाधिकारीबाट ती सामाग्री ग्रहण गरे ।