Tag: चिकित्सा शिक्षा

  • चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

    चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोग परीक्षा तालिका सार्वजनिक गरेको हो ।

    चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि आयोगबाट प्रकाशित सूचना बमोजिम फागुन ६ गतेसम्म अनलाइन आवेदन गर्ने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा चैत्र १८, २० र २१ गते निर्धारण गरिएको आयोगले जनाएको छ ।

  • स्वास्थ्य क्षेत्रमा काचुँली फेर्दै कर्णाली, जुम्लामा एमबीबीएस पढाइ सुरु

    स्वास्थ्य क्षेत्रमा काचुँली फेर्दै कर्णाली, जुम्लामा एमबीबीएस पढाइ सुरु

    काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह ( एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो ।

    सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला सदरमुकमास्थित खलङ्गामा प्रतिष्ठानको स्थापना गरेको थियो । चिकित्सा शिक्षा आयोगको गत जेठ २९ गते सम्पन्न बैठकले प्रतिष्ठानलाई एमबिबिएस तहमा २० सिट अध्यापन गराउने स्वीकृति दिने निर्णय गरेको थियो ।

    साथै आयोगले पहिलोपटक लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीमध्ये प्रतिष्ठानका लागि निर्धारण गरिएका सिट मध्ये आइतबार १५ जना भर्ना भएका छन् । तीमध्ये छात्रा पनि रहेका जनाइएको छ । उनीहरु प्रतिष्ठानद्वारा आइतबार नै आयोजित स्वागत कार्यक्रममा सहभागी भएका थिए । पहिलो नम्बरमा भर्ना हुनुभएका छात्र ओमकुमार यादवले भने, ‘जुम्ला आएर एमबिबिएस भर्ना हुन पाएकामा औधी खुशी छु ।’अर्का छात्रा अपेक्षा पराजुलीले प्रतिष्ठानका शिक्षक, प्रयोगशाला तथा उपकरण राम्रो भएकाले आफू एमबिबिएस अध्ययन गर्न आएको जानकारी दिए ।

    प्रतिष्ठानमा पहिलो पटक यसै शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको स्नातकोत्तर तह (एमडी) को अध्यापन सुरुआत भइसकेको छ । सो तहमा भक्तपुरका डा रहिस कोजु, काठमाडौं निवासी डा प्रशंसा ताम्राकार र कपिलवस्तुका डा वेदकुमार चौधरी जनरल ‘एमडी इन जनरल प्राक्टिस तथा इमरजेन्सी मेडिसिन’ विषयमा अध्ययनरत छन् ।

    यसैगरी दार्चुला (हाल धनगढी) निवासी डा ललितसिंह धामी एनेस्थेसिया र बारा कलैयाका डा मुन्ना केशरी पेडियाट्रिक्समा एमडी तहमा अध्ययनरत हुनुहुन्छ । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), नर्सिङ पनि अध्यापन पनि सुरुआत गरेको छ । ती दुवै विषयमा २०÷२० विद्यार्थी अध्ययन गर्नेछन् । यसअघि नै प्रतिष्ठानमा विएनएस मिडवाइफ्रि र विपिएच पनि अध्यापन सुरु भइसकेको छ ।

    प्रतिष्ठानले आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा उत्तीर्णमध्ये १५ पूर्ण छात्रवृत्ति र पाँच शुल्क तिरेर अध्ययन गर्ने जनाएको छ । प्रतिष्ठानले चिकित्सा विषयको उच्च तह अध्यापनका लागि ३०० शय्याको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचारकक्ष ९आइसीयू० र चार शय्याको शल्यक्रिया कक्ष छ । ‘जुम्लामा एमबिबिएस कक्षा सुरुआत भएसँगै समग्र कर्णालीको स्वास्थ्य सेवा र शिक्षाले ऐतिहासिक फड्को मार्ने छ । विपन्न जनताको पहुँचमा स्वास्थ्य सेवालाई स्थापित गर्न कोशेढुङ्गाको काम गर्नेछ ।’ प्रतिष्ठानका एक पदाधिकारीले भने ।

    चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२ विषयगत चिकित्सक कार्यरत रहेका जनाइएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा थापाले घरआँगनमा गुणस्तरीय चिकित्सा शिक्षा अध्ययन गर्न पाउने कर्णालीमा मेघावी छात्रछात्राको सपना पुरा भएको बताए । उनले भने, ‘कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ । प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनभएसँगै यहाँको चिकित्सा शिक्षा र स्वास्थ्य सेवा र सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ ।’

    शिक्षाध्यक्ष प्राडा थापाले कर्णालीको समग्र स्वास्थ्य सुधारमा बहुप्रतिक्षित एमबिबिएस कार्यक्रमले सहयोग गर्ने जनाउँदै यसका लागि सरकारलई धन्यवाद दिए । ‘स्नातक तहको डाक्टरी पढाइ कर्णालीको विकासको कोशेढुङ्गा हो’, उनले भने, ‘अब हामी अब्बल चिकित्सक उत्पादनमा हाम्रो ध्यान जानेछ ।’

    विशेष गरी ती दुवै शैक्षिक कार्यक्रम प्रतिष्ठानमा सञ्चालनका लागि आवश्यक पाठ्यक्रम, भौतिक पूर्वाधार, जुम्ला अस्पतालको स्तरोन्नति, उपकरण थप, दक्ष जनशक्ति (शिक्षक)को व्यवस्थापनमा प्रतिष्ठानका पूर्व उपकुलपति प्रा डा राजेन्द्रराज बाग्लेको अथक योगदान थियो । उनले भने, ‘कर्णालीको स्वास्थ्य सुधारमा नयाँ युगको सुरुआत भएको छ । अब उत्कृष्ट अध्यापनमा जोड दिनुपर्छ ।’ एमबिबिएस कार्यक्रम सुरु भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीवासीको सपना अब पूरा हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताए ।

    ‘अब कर्णालीले मुलुकमा स्वास्थ्य सेवा पु¥याउने गरी डाक्टर जनशक्ति उत्पादन गर्दछ’, उनले भने, ‘विगतमा रोग, भोक, गरिबी, अशिक्षा र उपेक्षामा परेको कर्णालीले मुलुकका उपेक्षित र स्वास्थ्य सेवाको पहुँचमा नरहेका नागरिकसमक्ष सेवा पु¥याउने मर्मलाई आत्मसात् गर्दै आफ्नो गन्तव्य तय गर्छ ।’

    प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृत भण्डारी प्रतिष्ठानमा चिकित्सा शास्त्रका थप नयाँ कार्यक्रम सञ्चालनका तयारी भइरहेको जानकारी दिँदै एमबिबिएस र एमडी कार्यक्रमले चिकित्सा शिक्षामा नयाँ ढोका खुला गरेको जानकारी दिए । उनले भने, ‘प्रतिष्ठानले कर्णालीबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।अब सेवाका साथसाथमा शिक्षामा जोड दिन्छौँ ।’

    कोरोना परीक्षण तथा उपचारमा प्रतिष्ठानद्वारा सञ्चालित जुम्ला अस्पतालले देशमा नै उत्कृष्ट सेवा पु¥याउँदै आएको छ । प्रतिष्ठानले कर्णालीका डाक्टर अभाव भएका अस्पताल तथा पालिकामा स्वास्थ्यकर्मीको व्यवस्थासमेत गर्दै आएको छ । विगतमा सिटामोलको चक्की नपाउने कर्णालीवासी अहिले विशेषज्ञ चिकित्सक सहितको जनशक्ति उत्पादन गर्ने थलोमा रुपान्तरण भएको छ । कर्णालीले अब जडिबुटी मात्र होइन, देशलाई आवश्यक पर्ने दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्ने छ । रासस

  • चिकित्सा शिक्षाका कर्मचारी सन्ततिलाई आरक्षण दिन संसदीय समितिको निर्देशन (भिडिओ)

    चिकित्सा शिक्षाका कर्मचारी सन्ततिलाई आरक्षण दिन संसदीय समितिको निर्देशन (भिडिओ)

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई चिकित्सा शिक्षा अध्ययनमा आरक्षण दिन निर्देशन दिएको छ ।

    मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयबासीलाई चिकित्सा शिक्षा अध्ययनका लागि विद्यमान ऐन, नियमाली संशोधन गरेर भए पनि आरक्षण दिन निर्देशन गरेको हो ।

    समितिकी सभापति जयपुरी घर्तीले चिकित्सा शिक्षासम्बन्धी परीक्षाहरूमा नियमावली संशोधन गरेर भए पनि आरक्षणको व्यवस्था गर्न निर्देशन दिएको बताइन् । उनले भनिन्, ‘ऐनमा टेकेर सम्भव हुन्छ भने चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारी र विश्वविद्यालय प्रतिष्ठानका कर्मचारीका छोराछोरीलाई पनि पढ्नको लागि आरक्षणको व्यवस्था गर्ने भनेर नियमावलीहरू संशोधन गर्न भनेका छौं ।’

    सांसद योगेश भट्टराईले चिकित्सा शिक्षामा काम गर्ने कर्मचारीका छोराछोरीलाई आरक्षण दिँदा वर्गिकरण गरेर दिनुपर्ने बताए ।

    सांसद नविना लामाले आरक्षणबारे कर्मचारी र नेताले मात्रै जानकारी राख्ने र उनीहरूको छोराछोरीले मात्रै फाइदा लिइरहेको भन्दै आम मानिसमा यसबारे जानकारी नै नहुने बताइन् ।

    शिक्षामा खास जाति, समुदाय र वर्गको मात्रै पहुँच भएकाले तिनीहरूले मात्रै आरक्षणको सदुपयोग गर्ने र अन्य समुदाय पछि परिरहने उनको तर्क थियो ।

  • चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ)

    चिकित्सा शिक्षाका विद्यार्थीको छात्रवृत्ति दुरुपयोग नगर्न सांसदहरूको ध्यानकर्षण (भिडिओ)

    काठमाडौं । सांसदहरूले चिकित्सा शिक्षामा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

    आइतबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसदहरू मानबहादुर विश्वकर्मा, अञ्जना विशंखे, विद्या भट्टराईलगायतले चिकित्सा शिक्षा अध्ययनरत गरिव र जेहेन्दार विद्यार्थीहरूका लागि व्यवस्था गरिएको छात्रवृत्तिमा दुरुपयोग हुने गरी नियमावली बनाउने काम नगर्न सरकारलाई सचेतसमेत गराएका छन् ।

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद भट्टराईले सबैका लागि मेडिकल शिक्षामा पहुँच पुर्‍याउने गरी आरक्षणको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइन् । परीक्षा प्रणालीलाई सहज बनाउन पनि सरकारसँग उनको जोड छ ।

    सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विश्वकर्माले गरिव र जेहेन्दार वर्गका लागि छुट्टयाइएको छात्रवृत्तिमा चलखेल नगर्न सचेत गराए । उनले सबै समुदायले चिकित्सा शिक्षा अध्ययन गर्न पाउनुपर्छ भन्ने कानूनी व्यवस्थालाई समेत बेवास्ता हुने गरी चिकित्सा क्षेत्रसँग सम्बन्धित नियमावली ल्याउने काम नगर्न जोड दिए ।

    सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) की सांसद अञ्जना विशंखेले सरकारी विद्यालयबाट आएका विद्यार्थीहरूलाई मेडिकल शिक्षा अध्ययनका लागि विशेष आरक्षणको व्यवस्था हुने गरी ऐन बनाउन ध्यानाकर्षण गराइन ।

    सांसदको प्रश्नको जवाफ दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले मेडिकल शिक्षा अध्ययनका लागि लक्षित समुदायका लागि छुट्टयाइएको छात्रवृत्ति दुरुपयोग हुन नदिन आफूहरू सचेत रहेको जिकिर गरे ।

    उपाध्यक्ष गिरीले चिकित्सा अध्ययन संस्थान अन्तरगतका परीक्षाहरु संचालनमा ढिलाई नहुने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । उनका अनुसार मंसीर, पुसभित्र सो संस्थानअन्तर्गतका सबै परीक्षा लिने गरी छलफल अघि बढाइएको छ ।