Tag: चन्द्रसिंह साउद

  • नेप्सेका सीईओ साउदले दिए राजीनामा

    नेप्सेका सीईओ साउदले दिए राजीनामा

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन् ।

    श्रीमतीको नाममा सेयर किनेर चलखेल गरेपछि विवादमा मुछिएका साउदले प्रेस विज्ञप्ति निकालेर राजीनामा दिएको घोषणा गरेका हुन् । आफूले पदीय मर्यादाविपरीत कुनै कार्य नगरेको दावी गर्दै साउदले अनुसन्धानमा सजिलोका लागि राजीनामाको घोषणा गरेका छन् ।

    सेयर खरिदबारे साउदले प्रष्ट्याउँदै भनेका छन्, ‘नेप्सेको कर्मचारी सेवा सर्तसम्बन्धी विनियमावलीको विनियम ६९ (ग) मा नेप्सेलाई पूर्वजानकारी नदिइ आफ्ना वा आफ्नो परिवारको नाममा रहेको सूचीकृत संगठित संस्थाको सेयर विक्री गर्न रोक लगाएको भए पनि नेप्सेमा नियुक्ती प्राप्त गर्न अघि दोस्रो बजार र प्राथमिक निष्काशन मार्फत खरिद गरेको सेयरमा प्राप्त हकप्रद बोनस लगायत अन्य तवरले बढे बढाएको सेयर पूर्व जानकारी दिई प्राथमिक निष्काशनमा खरिद गरे सरह विक्री गर्न सकिने छ’ भन्ने व्यवस्था रहेको छ । कर्मचारी विनियमावलीको यो व्यवस्थाले सूचीकृत नभएको सेयर खरिद गर्न रोक लगाएको देखिदैन ।’

    बिक्री प्रस्तावका लागि स्वीकृतिको कागजात पेस गर्दा सर्वोत्तम सिमेन्ट सो प्रक्रियामा समेत आइनसकेकोले उक्त कम्पनीको संस्थापक सेयर खरिद गर्दा भित्री सूचना प्राप्त हुने अवस्था नदेखिएको उनको जिकिर छ ।

    आफन्तको नाममा खरिद गरेर सेयर चलखेल गरेको भन्दै धितोपत्र बोर्डका भिष्मराज ढुंगाना र नेप्सेका सीईओ साउदविरुद्ध अख्तियारमा समेत उजुरी परेको छ । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले उनीहरू दुईजनामाथि कारवाही गर्न सरकारलाई निर्देशनसमेत दिएको थियो ।

  • आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई कारवाही गर्न अर्थ समितिको निर्देशन (भिडियो)

    आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई कारवाही गर्न अर्थ समितिको निर्देशन (भिडियो)

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदीय दुरूपयोग गरी सेयर खरिदमा अनुचित लाभ लिएको ठहर गरेको छ ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले आफन्तको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको ठहरसहित दुवैजनामाथि कारवाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ । अध्यक्ष ढुंगानाले छोरीका नाममा र साउदले श्रीमतीका नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेको सार्वजनिक भएपछि अर्थ समितिले उनीहरू दुवैलाई छलफलका लागि बोलाएका थिए । छलफलमा ढुंगानाले बिहे भएर गएकी छोरीको नाममा सेयर किनेको र साउदले आफू नेपाली नागरिक भएकोले कानूनले सेयर किनबेचमा रोकतोक नगर्ने जिकिर गरेका थिए ।

    शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सांसद रामकुमारी झाक्रीले यसरी पदाधिकारीले नै इनसाइडर ट्रेडिङ गर्ने गरेकाले ढुंगाना र साउदको राजीनामा माग गरिन् ।

    यस विषयमा छानविनको लागि अर्थमन्त्रालयले अर्थसचिव मधुकुमार मरासिनी र सहसचिव दीर्घराज मैनाली सम्मिलित छानविन समितिसमेत गठन गरेको छ ।

     

  • नेप्से प्रमुखको जिकिर- म पनि नागरिक हुँ, सेयर किन्न कुनै कानूनले छेक्दैन

    नेप्से प्रमुखको जिकिर- म पनि नागरिक हुँ, सेयर किन्न कुनै कानूनले छेक्दैन

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कुनै पनि कम्पनीको ओटीसी सेयर कारोबार गर्न आफूलाई विद्यमान ऐन, कानूनले नरोकेको जिकिर गरेका छन् ।

    प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा स्पष्टीकरण दिँदै उनले भने, ‘हाम्रो संचालक समितिको आचारसंहिताले रेगुलेटर सेकेन्डरी मार्केटबाहेक अन्य कुनै पनि संस्थाको संस्थागत सेयर किन्न कुनै बाधा पर्ने छैन । यही व्यवस्था हाम्रो ऐनमा पनि लेखिएको छ । त्यहीँ प्रावधानअन्तर्गत यो सेयर कारोबार गरिएको हो । नियम मिचेर होइन । म पनि त नागरिक हुँ नि । मैले पनि त आफ्नो लगानी गर्न पाउनु पर्‍यो नि !’

    प्रमुख कार्यकारी अधिकृत साउदले विभिन्न समाचार माध्यामहरूले सेयर कारोबारसम्बन्धी ऐन कानूनमा भएको व्यवस्था नबुझी झूटो समाचार सम्प्रेषण गरेको दावीसमेत गरे ।

    समिति सदस्य रामकुमारी झाक्रीले सेयर बजारमा गैरकानूनी, अनैतिक गतिविधि बढाउन नदिन समितिले पटक-पटक दिएको सुझावप्रति जिम्मेवार हुन नसकेको भन्दै नेप्सेको पदाधिकारीमाथि आक्रोश व्यक्त गरिन् । आफैंमाथि प्रश्न उठ्ने गरी गैरजिम्मेवार काम नेप्सेले गरेको भन्दै त्यसको छानवीन गरेर दोषीमाथि कारवाही गर्ने उनको चेतावनी थियो ।

    अर्का सदस्य निरादेवी जैरुले सेयर बजारका लगानीकर्ताप्रति जिम्मेवार बन्न नेप्सेलाई सचेत गराइन् ।

    अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नेप्सेलगायतका नियमक निकायहरू आफैंले सेयर बजारमा खेल खेलेको भन्दै त्यसलाई रोक्नका लागि आवश्यक कानूनी व्यवस्थाका लागि ध्यानाकर्षण गराए ।