Tag: घरेलु हिंसा

  • नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि धर्ना (भिडिओ)

    नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि धर्ना (भिडिओ)

    काठमाडौं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ ।

    पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकार कर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् ।

    पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रिय सदस्य सकिना तेलीले बताए ।

    बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

    पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने बताए ।

    महिला अधिकार कर्मी तेलीले भने, निर्मला कुर्मीको अभियुक्तहरुलाई तत्काल समातेर कारबाही गरियोस्, नन्कुनी धोबीको २ जनालाई समातिएको छ, बाँकी दुई जनालाई पनि तत्काल समातेर कारबाही होस्, रुबी खानको यहीँ माईतीघर मण्डलाबाट ल्यापटपसहितको केही रकम हराएको छ, त्यो प्रहरीले दिलाइदिओस्, हामीलाई यहाँ बस्नको लागि पनि सुरक्षाको व्यवस्था मिलाइदिओस्, बाँके जिल्ला प्रहरी कार्यालयका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले हामी महिला अधिकार कर्मीहरुलाई अभद्र व्यवहार गर्नुभएको छ, उहाँहरुलाई विभागीय कारबाही होस् ।’

    बाँके प्रहरी प्रशासनले हत्या भएको व्यक्तिलाई आत्महत्या गरेको भन्ने झुटो रिपोर्ट बनाएको र मुद्दा दर्ता गर्न जाने पीडित तथा महिला अधिकारकर्मीलाई दुव्र्यवहार गरेको पीडितहरुले बताएका छन् ।

    उनीहरुले स्थानीय प्रशासनले दोषीलाई कारबाही गर्न आलटाल गरेको तथा पीडितको कुरा नसुनेका कारण पैदल यात्रा हुँदै काठमाडौंसम्म आएर न्याय माग्नुपरेको बताएका छन् ।

    सरकारले अनुसन्धान समिति गठन गरेर अपराधीलाई कारबाही गर्ने आश्वासन दिएपनि अहिलेसम्म अभियुक्तहरुलाई समातेर अनुसन्धान गर्न ढिलाइ गरेको उनीहरुको गुनासो छ । पीडित परिवारले अभियुक्तलाई समातेर छानबिन नगरेसम्म धर्ना नछोड्ने बताएका छन् । न्यायका लागि रुबी खान आमरण अनसन बसेको ११ दिन भइसकेको भन्दै महिला अधिकारकर्मीहरुले उहाँको अवस्था चिन्ताजनक बन्दै गएको बताएका छन् ।

     

     

  • तीन वर्षमा ६ सयभन्दा बढी चेली बेचिए

    तीन वर्षमा ६ सयभन्दा बढी चेली बेचिए

    काठमाडाैं । काठमाडौंकाे तारकेश्वर बस्दै आएका अर्घाखाँची भूमिकास्थान नगरपालिका-७ का ३३ वर्षीय मधु श्रेष्ठ र बबरमहलकी २६ वर्षीया एक युवतीबीच एक वर्षअघि भेट भयो । भेटघाट बाक्लिँदै गएपछि मधुले ती युवतीलाई प्रेम प्रस्ताव गरे । आफ्नी श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र विवाह गर्ने आश्वासन दिएपछि युवती प्रभावित भइन् ।

    क्रमशः प्रेम झाङ्गियो । शारीरिक सम्पर्क भयो । अलिपछि मधुले ती युवतीलाई आफ्नै कोठामा राखे । औपचारिक रुपमा विहे भने गरेनन् । केही समयपछि ‘दुबई गएर पैसा कमाएर ल्याऊ, अनि विहे गरौंला’ भनेर मधुले फकाए । युवती विदेश गइन् । दुबइ पुगेपछि थाहा भयो, मधुले १५ हजार दिराममा उनलाई बेचेका रहेछन् ।

    दुबईमा उनले यौनसँगै घरेलु हिंसा र यातना भोग्नुपर्‍याे । पीडा सहन नसकेर अरबीको घरबाट भागेर नेपाली दूताबास गइन् । दूताबासले उनलाई नेपाल फर्कादियो । नेपाल आएर उनले मधुविरुद्ध प्रहरीमा उजुरी दिइन् । मधु पक्राउ परे । उनी चाहिँ अहिले माइती नेपालको संरक्षण बसिरहेकी छन् ।

    ०००

    २६ वर्षकी एक युवती काठमाडौंको जोरपाटीस्थित खाजा पसलमा काम गर्थिन् । काठमाडौंको शंखरापुर नगरापालिका-५ साँखुका रमेश कुँवरले ती युवतीलाई इराकको डान्बाारमा वेटर कामका लागि राम्रो भिषा आएको भन्दै प्रलोभन देखाए । ती युवतीलाई मासिक ४० देखि ५० हजार रुपैयाँ तलव पाइन्छ भनेर प्रभावित पारे ।

    इराक पठाइदिने भन्दै एक लाख २५ हजार लिएर सात वर्षअघि दुबई पुर्‍याइयो । दुबहीमा राहदानी र मोबाइल खोसेर एक अरबीको घरमा काम गर्न लगाइयो । धरधनी र उनका छोराले दुई वर्ष बन्धक बनाएर निरन्तर यौन शोषण गरे, शारीरिक र मानसिक यातना दिए ।

    उनी अनेक प्रयत्नपछि नेपाल आइन् र गत साउन ५ गते मानव बेचविखन अनुसन्धान ब्यूरोमा उजुरी गरिन् । उजुरी परेको एक सातापछि कुँवर पक्राउ परे । प्रहरीले मुद्दा चलायो । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् ।

    ०००

    बबरमहलकी एक महिलालाई सप्तरी हनुमाननगरकी सावीत्री मुखियाले मासिक ३५ हजार रुपैयाँ कमाइ हुने भन्दै कुवेत जान उकासिन् । महिलाले राहदानी बनाइन् । कनौल नाकाहुँदै उनलाई भारतको दिल्ली पुर्याइयो ।

    दिल्लीमा गणेश राईको अपार्टमेन्टमा १२ दिन बन्धक बनाएर उनलाई अनेक यातना दिइयो । त्यसपछि मुम्बईहुँदै श्रीलंका पुर्याएर बन्धक बनाइयो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गर्‍याे । पक्राउ पर्नुको कारणसमेत उनलाई थाहा छैन ।

    १३ महिना कारगारमा बसेपछि उनलाई दुई महिनाअघि नेपाल सरकारले उद्दार गर्‍याे । उनी अहिले माइती नेपालको संरक्षणमा छिन् । पछि उनले मुखियाविरुद्ध प्रहरीमा उजुरी दिइन् । मुखिया पक्राउ परिन् । मुखियाले मानव बेचविखनसम्बन्धी मुद्दा खेपिरहेकी छिन् ।

    यी त प्रतिनिधि मात्रै हुन् । यसरी हरेक दिनजसो अनेक बहाना र प्रलोभनमा मानव बेचबिखन भइरहेको छ, विभन्न रुपमा । तथ्यांकअनुसार पछिल्लो ३ वर्षमा ७ सय ७ जना मानव बेखबिखनमा परेका छन् । जसमा ८७ प्रतिशत अर्थात ६ सय १८ जना महिला रहेका छन् ।

    प्रहरीका अनुसार ५ सय २८ वटा मानव बेचबिखनका मुद्धा परेको नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान व्यूरोले जनाएको छ । व्यूरोका प्रवक्ता एवम् सूचना अधिकारीसमेत रहेका प्रहरी उपरीक्षक (एसपी) अनुरागकुमार द्विवेदीका अनुसार मानव बेचबिखनमा संलग्नमध्ये ५५ प्रतिशत अर्थात ६ सय ४८ अभियुक्त पक्राउ परेका छन् । अरु फरार छन् । पक्राउ पर्नेमा ४ सय ८७ जना पुरुष रहेका छन् भने २ सय ६ जना महिला छन् ।

    ३ वर्षमा १२ देशबाट ३४३ जनाको उद्धार

    तीन वर्षमा बेचविखनमा परेका ३ सय ४२ जनाको उद्धार भएको व्यूरोले जनाएको छ । जसमा २ सय ७६ जना महिला रहेका छन् । भारत, कुवेत, इराक, लिबिया, केन्या, ग्रिस, इन्डोनेसिया, मलाबी, म्यानमार, चीन, श्रीलंकाबाट उनीहरुको उद्धार गरिएको व्यूरोका प्रमुखसमेत रहेकी प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दुर्गा सिंहले नेपाल प्रेसलाई जानकारी दिईन ।

    उनका अनुसार सबैभन्दा बढी भारतको मणिपुर, मिजुराम, दिल्ली लगायतका शहरबाट २ सय ३८ जनाको उद्धार भएको छ । दोस्रोमा श्रीलंकाबाट २९ र तेस्रोमा लिबियाबाट १७ जनाको उद्धार भएको छ ।

  • ढुंगाले हानेर श्रीमतीको हत्या

    ढुंगाले हानेर श्रीमतीको हत्या

    दाङ । दाङमा एकजनाले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

    तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ गणेशपुरका पदम पोखरेलले गएराती ढुंगाले श्रीमती बिमलाको हत्या गरेका हुन् ।

    ढुंगाले लागेर गम्भीर घाइते भएकी बिमलाको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    श्रीमतीको टाउकोमा ढुंगाले हानेर पदम फरार भएका थिए । उनलाई कालाखोलाको जंगलबाट गएराती नै नियन्त्रणमा लिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले जानकारी दिएका छन् ।

     

  • वर्षमा १३ सय बढी घरेलु हिंसा, महिला बढी मारमा

    वर्षमा १३ सय बढी घरेलु हिंसा, महिला बढी मारमा

    काठमाडौं । राष्ट्रिय महिला आयोगमा घरेलु तथा लैंगिक हिंसाका उजुरीको चाङ लागेको छ । पछिल्लो एक वर्षमा मात्रै आयोगमा घरेलु तथा लैंगिक हिंसाका एक हजार पाँच सय ६५ उजुरी परेका छन् ।

    बागमती प्रदेशमा सबैभन्दा धेरै हिंसाका उजुरी परेको आयोगले जनाएको छ । कुल उजुरीमध्ये ७० प्रतिशत ९ सय ४० उजुरी उक्त प्रदेशको परेको हो । सबैभन्दा कम हिंसाका उजुरी पर्नेमा गण्डकी प्रदेश छ । गण्डकी प्रदेशमा घरेलु हिंसाको ४ प्रतिशत अर्थात् ६० र महिला हिंसाको ३ प्रतिशत अर्थात ९ वटा उजुरी परेको आयोगले जनाएको छ ।

    आयोगका अनुसार चार प्रकारका हिंसाका उजुरी परेका छन् । जसमा सबैभन्दा बढी ४२ प्रतिशत मानसिक हिंसा, २७ प्रतिशत आर्थिक हिंसा, २५ प्रतिशत शारीरिक हिंसा र ६ प्रतिशत यौनजन्य हिंसाका उजुरी परेका छन् ।

    आयोगमा उजुरी परेका मध्ये १ हजार ८६ जनालाई कानुनी परामर्श दिएको जनाएको छ । ७ सय ९४ जनालाई मोसामाजिक परामर्श र एक सय ७२ लाई कानुनी सहायता दिएको छ ।

    आयोगले गत वर्ष ६ प्रदेशको १९ जिल्लामा मात्रै काम गर्न सकेको आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन् । कोरोना कहरका कारण राम्रोसित काम गर्न नपाएको उनको भनाइ छ ।

    के गर्यो आयोगले ?

    आयोगले बैतडीको दोगडाकेदार गाँउपालिका ७ स्थित सनातन धर्म माध्यामिक विद्यालय खोचलेकमा कक्षा १२ अध्ययनरत १७ वर्षका किशोरी भागिरथी भट्टमाथि भएको हिंसाको स्थलगत अनुगमन गरेर तयार पारेको रिपोर्ट गृहमन्त्री रामबहादुर थापामार्फत सरकारलाई बुझाइसकेको छ ।

    कैलालीमा हजुरबुवाद्वारा बलात्कृत बालिकाको घरमा पुगी हालको अवस्थाको बारे जानकारी लिइ तत्काल पीडितलाई न्याय दिलाउनको लागि पहल गरेको छ भने कंचनपुरमा निर्मला पन्तको घरमा पुगी उनका आमाको हालको अवस्थाबारे जानकारी पनि लिएको छ ।

    यस्तै सर्लाहीको वलरा नगरपालिका १० सुदमामा हिंसाबाट पिडीत पूजा सिंहको घरमै गई उनको अवस्थाको बारेमा जानकारी लिनुका साथै महोत्तरीको भगाह ५ धरमपुरका ७ जना बालिकालाई भारतको सीतामढीबाट उद्घार गरी ल्याइएका बालबालिको अवस्थाको बारेमा पनि आयोगले जानकारी लिएको छ ।

    यस अविधमा आयोगले धुलिखेल अस्पताल, कपिलवस्तु जिल्ला अस्पताल, रुपन्देही जिल्ला अस्पतालमा रहेका संकट व्यवस्थापन एक द्वार प्रणाली अर्थात ओसीएमसीको पनि अनुगमन गरेको छ ।

    यस्तै धुलिखेल नगरपालिकाले संचालन गर्दै आएको आश्रयस्थल, रुपन्देहीमा रहेको मानव सेवा आश्रम, र माइती नेपाल कार्यालय र कपिलवस्तु र कंचनपुरमा रहेको साथी संस्थाको पनि अनुगमन गरेको जनाएको छ । यस्तै धनुषाको आश्रयस्थल र चितवनको देवघाटमास्थित विभिन्न वृद्ध आश्रमको अवलोकन पनि भएको छ ।

    आयोगले महिला अधिकारको संरक्षण तथा निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता सहित २ वटै तहमा लैङ्गिक उत्तरदायी शासन प्रणाली स्थापना गर्ने लक्ष्य लिएको आयोगका सचिव मनोज आचार्यले बताए । उनका अनुसार महिला अधिकारसम्बन्धी कानून एवं अन्तर्राष्ट्रिय सन्धि, सम्झौताको कार्यान्वयन अवस्थाको अनुगमन, महिला अधिकारसम्बन्धी सचेतना, शिक्षा तथा सामाजिक जागरणको अभियान सञ्चालन, महिला हिंसा विरुद्धका कानुनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने आयोगको पहिलो प्राथमिकता रहेको छ ।

    महिला अधिकार कार्यान्वयन अवस्थाको अनुगमन सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउने, अध्ययन अनुसन्धानमा जोड दिदैं नीतिगत सुझाव तयार गर्ने कार्ययोजना रहेको आयोगका सदस्य कृष्णा पौडेलले बताइन ।

    आयोगको पाँच वर्षे रणनीतिक योजना स्वीकृत गरी कार्यान्वयनमा ल्याउने, सशक्त अधिवाचनका लागि महिला हक अधिकारसम्बन्धी ऐन नियम निर्माण र परिमार्जनका लागि नीतिगत सुझाव तयार गर्ने, लैङ्गिंक हिंसा अन्त्य गर्ने सम्बन्धमा सशक्त समन्वयकारी निकायको रुपमा आयोगलाई स्थापित गर्ने आयोगको कार्यदिशा छ ।