Tag: घरेलु मदिरा सेवन

  • बागलुङमा लोकल रक्सी खाएर सुतेका ४ मजदुरको मृत्यु, २ गम्भीर घाइते

    बागलुङ। बागलुङको गलकोटमा घरेलु मदिरा सेवन गरेका चार जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका वडा नम्बर ७ गैराखर्कमा ‘लाेकल रक्सी’ पिएर सुतेका ६ मध्ये ४ जना मजदुरको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा रोल्पाको सुनील स्मृति गाउँपालिका–५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही ठाउँका ३९ वर्षीय दुध बहादुर राना, ५१ वर्षीय रेख बहादुर राना र ३० वर्षीय प्रबिन घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हजारीले बताए ।

    उनीहरुले गलकोट बृहत खानेपानी आयोजनामा काम गर्दै आएका थिए । त्यस्तै रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नम्बर ५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र सोही ठाउँका २६ वर्षीय रबिन्द्र पुनको अवस्था गम्भीर रहेको हवारीको भनाई छ ।

    गैराखर्कमा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि धौलागिरी अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको र दुई जनाको उपचार भइ रहेको बताइएको छ । दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

    दुवैको गम्भीर किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको उनले जानकारी दिए । होटल संचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

  • विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

    विषाक्त घरेलु मदिरा सेवनबाट एकै गाउँमा आठको मृत्यु

    सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ पडरियामा आठ जनाको मृत्यु भएको छ ।

    नेपाल-भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विनोद साहले जानकारी दिए ।

    मृत्यु हुनेमा पडरियाका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास तथा भारत उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसाद रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदूर हुन् ।

    मदिरा सेवन गरेका थप तीन जना स्थानीयवासी बिरामी परेका छन् । उनीहरु उपचारपछि निको भएर घर फर्किएको गाउँपालिकाका स्वास्थ्य संयोजक उपेन्द्र राउतले बताए । जिल्ला अस्पताल मलङ्गवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले मदिरा सेवनबाट सबैको मृत्यु भएको जानकारी आए पनि मृत्युको कारण पत्ता लगाउन मृतकहरुको भिसेरा परीक्षणका लागि फरेन्सिक ल्याब काठमाण्डौंमा पठाउने तयारी गरिएको जानकारी दिए ।