Tag: घरभाडा

  • ‘घरबहाल कर २ प्रतिशतमा झार्नुपर्छ, घरधनीले ५० प्रतिशत भाडा छुट दिनुपर्छ’

    ‘घरबहाल कर २ प्रतिशतमा झार्नुपर्छ, घरधनीले ५० प्रतिशत भाडा छुट दिनुपर्छ’

    काठमाडौंमा आफ्नै घर बनाएर बस्ने चाहना धेरैको हुन्छ । तर, सबैको आर्थिक समस्याले त्यो भ्याउँदैन । त्यसैले बाहिरबाट विभिन्न प्रयोजनले काठमाडौं आएकाहरू कोठा/फ्ल्याट भाडामा लिएर बस्ने गर्छन् ।

    डेरावाल र घरधनीबीचको सम्वन्ध कहिलेकाहीँ निकै पेचिलो हुने गर्छ । जोकोहीलाई सजिलो कोठा नदिनेदेखि कोठामा बसिसकेपछि घरधनीको अनेक किचलो सहनुपर्ने पीडा डेरावालहरूको छ । यता घरधनीहरूको पनि भाडा समयमा नउठ्नेदेखि अनेक गुनासोहरू छन् ।

    नेपालमा घर भाडा लिएर बस्नेहरूको हकहितको प्रवर्द्धन गर्न घरबहाल सरोकार महासंघ क्रियाशील छ । आज यस महासंघको ११ औं स्थापना दिवस पनि हो । काठमाडौंका भाडावालहरूको समस्या तथा समाधानका लागि महासंघले गरिरहेका पहलका विषयमा नेपाल प्रेसले महासंघका अध्यक्ष तथा अधिवक्ता बलभद्र खनालसँग गरेको कुराकानी नेपाल टकमा :-

    – सरोकार महासंघ के उद्देश्यले स्थापना गरिएको र यसले के गरिरहेको छ ?

    भाडामा बस्ने र घरभाडामा दिनेहरूको समस्या समाधानको लागि २०६८ सालमा महासंघको स्थापना भएको हो । ११ वटा जिल्ला प्रतिनिधिले मलाई अध्यक्ष बनाएका हुन् । विधान तयार गरेपछि २०७२ सालमा महासंघ दर्ता भयो । दर्ता भएदेखि हामी निरन्तररूपमा सक्रिय छौं ।

    महासंघको अवधारणा आएपछिका समस्या पहिचान गरेर समाधानको काम गरिरहेका छौं । महासंघ ११ औं वर्षमा प्रवेश गर्दै छ । आवद्ध जिल्लाले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाइरहेका छन् । ‘सुरक्षित, मर्यादित, भयरहित , मानव अधिकार रक्षा मुल आधार’ भन्ने नारा हाम्रो ११ औं महाधिवेसनको छ ।

    – अहिलेसम्म घरधनी र भाडावालबीचका कति समस्याहरू सुल्झाउनुभयो त ?

    महासंघ आफैले मुद्दा हेर्ने गर्दैन । जिल्लामा भएका समितिहरूले हेर्ने हो । विभिन्न जिल्लाका संघहरूले ५०७ वटा मुद्दा हेरिसकेका छन् । महासंघले घरभाडामा बस्नेको मात्रै हैन, घरधनीको पनि समस्या हेर्ने गरेको छ । दुवै पक्ष राखेर आएको समस्याका लागि मेलमिलाप गराउने काम हाम्रा संघहरूले गरिरहेका छन् ।

    – घरधनी र कोठामा बस्नेहरूबीच उत्पन्न हुने आम समस्याहरू के-के हुन् ?

    घरधनीहरू प्रायः कोठामा बस्नेहरूले समयमा भाडा तिरेनन् भनेर आउने गरेका छन् । केही घरधनीहरू भने कोठा छोड्न पर्याप्त समय दिँदा पनि डेरावालाले कोठा नछोडेको गुनासो गर्छन् ।

    भाडामा बस्नेहरूका चाहिँ धेरै खाले गुनासो हुन्छ । घरधनीले सहमति गरेको समयभन्दा अगाडि नै कोठा छोड्न दबाब दिएको, मनलाग्दी कोठाभाडा बढाएको, पानी पर्याप्त उपलब्ध नगराएको, अनावश्यक किचकिच गरेका कुराहरू लिएर महासंघमा आउने गरेका छन् ।

    हामीकहाँ आएका समस्यालाई जिल्लाका संघले दुवै पक्षलाई बोलाएर समाधान गरिरहेका छन् ।

    – कोठा भाडामा लगाउने कार्यमा दलालीहरूको बिगबिगी नै छ । यसलाई कसरी लिनुहुन्छ ? यो पेशालाई करको दायरामा ल्याउनु आवश्यक छ कि छैन ?

    को सन्दर्भमा राष्ट्रिय एकिकृत नीति आवश्यक रहेको छ । हामीले नेपाल सरकारसँग नीति ल्याउन पनि माग गरेका छौं ।

    वैज्ञानिक दर तोक्नको लागि कानुनले सहयोग गर्ने छ । घरधनीहरूले प्रत्येक वर्ष वृद्धि गरिरहेका हुन्छन् । त्यो घरभाडा बढाउने आधार के-के हुन् भन्ने पनि प्रष्ट हुनुपर्छ । बिनाआधार घरभाडा वृद्धि हुनु भएन । मलपोत कार्यालयले जसरी जग्गाको मूल्य तोकेको छ । त्यसरी नै घरको बहाल पनि तोक्नेगरी मापदण्ड निर्माण गर्नुपर्छ । क्षेत्रगत, सुविधा र मागको आधारमा भाडादर तोकिनुपर्छ ।

    सरकारको कुनै पनि अंगले को विषयमा सक्रियरूपमा काम गरेको छैन । राष्ट्रियस्तरमा राष्ट्रिय घरबहाल आयोग गठन गरिनुपर्‍यो । प्रदेशस्तरमा विभाग र स्थानीय तहमा समन्वय समिति गठन गरिनुपर्छ भनेर हामीले माग गरेका छौं ।

    – घरबहालको विषयमा स्थानीय तहले नै कानून बनाउने हो ? स्थानीय तहले चुनावमा भोट घट्ने डरले डेरावालाको समस्यालाई सम्बोधन गर्न नचाहेका हुन् ?

    अहिले यो विषय ओझेलमा परेको छ । भोटको कारणले पनि स्थानीय तहले चासो नदेखाएको पक्कै हो । हामीले स्थानीय तहलाई करको दायरा वृद्धि गर्न र यसलाई व्यवसायमा रूपान्तरण गर्न भनेका छौं । त्यसो भएपछि बहालमा बस्नेहरू पनि करको दायरामा आउने भए ।

    अहिले भाडामा लिँदा धेरैले कागज नै गरेका हुँदैन । कर छल्नका लागि घरधनीले थोरै भाडामा दिएको कागज बनाउने गरेका छन् । कर २ प्रतिशतमा झार्न हामीले माग राखेका छौं । यसले गर्दा अहिलेभन्दा २० गुणा धेरै घरबहाल कर उठ्ने अवस्था आउने छ ।

    लाई कानूनीरूपमा नै सबै स्थानीय तहलाई जोड्न सके घरधनीहरूले पनि आयस्रोतको बाटो घरभाडा नै देखाउन सकिन्छ ।

    – घरभाडालाई व्यवसायमा कसरी लैजान सकिन्छ ? यसको मोडालिटी के हो ?

    हामीले घरभाडालाई व्यवसायमा लैजाउ भनेका छौं । राष्ट्रिय नीति, आयोग, प्राधिकरण र घरबाहल समन्वाय समिति गठन गर्नुपर्छ । सबै जिम्मा आयोग, प्राधिकरण र समन्वायलाई नै जिम्मा दिनुपर्छ ।

    स्थानीय तहमा नै अन्य व्यवसायहरू गर्दा दर्ता गनुपर्ने व्यवस्था रहेको छ । अब घरभाडालाई पनि व्यवसायकै रूपमा लैजानका लागि स्थानीय तहमा दर्ता गरेर व्यवस्थित गर्न सकिन्छ । जग्गाको लालपूर्जाजस्तै घरभाडामा दिँदा पनि प्रमाणपत्र दिनुपर्छ ।

    कानूनीरूपमा घरभाडालाई व्यवस्थित गर्न सकेमा घरबहाल कर पनि वृद्धि हुन्छ । जसले गर्दा घरधनी र कोठामा बस्नेहरूको लागि पनि सहज हुन्छ ।

    – अघिल्लो वर्ष र यसवर्ष भएको लकडाउनमा कोठामा बस्नेहरूको समस्या समाधानको लागि महासंघले के-के गर्‍यो ?

    हामीले गत वर्षको लकडाउनमा घरधनी र भाडामा बस्ने दुबैका लागि सहज होस् भनेर ५० प्रतिशत मात्रै घरभाडा लिन र दिन आग्रह गरेका थियौं ।

    अहिले पनि हामीले ५० प्रतिशत मात्रै घरभाडा छुट दिन माग गरेका छौं । कोठामा बस्नेहरूको रोजगारी गुमेको छ । ५० प्रतिशत भाडा छुट दिँदा भाडामा बस्नेहरूको लागि पनि केही सहज हुन्छ । कतिपय घरधनीहरूको मुख्य आयस्रोत घरभाडा नै रहेको छ । यसरी घरभाडा छुट दिने तथा घरधनीहरूको बैंकको लोनमा छुट र घरबहाल करमा छुट दिनुपर्छ ।

    यो कसैले ल्याएको विपत्ति हैन । कोरोना महामारी भनेको प्राकृतिक विपत्ति हो । घरधनीहरूलाई पिरिस्थितिलाई बुझेर २ वर्षसम्म घरबहाल केही छुट दिन आग्रह गरेका छौं । बजेटले पनि घरबहाल केही छुट दिने भनेको छ । छुट दिने घरधनीलाई सरकारले सम्मान गर्नुपर्छ ।

    नेपालमा ६७ प्रतिशत मान्छे बहालमा बस्ने गरेका छन् । सरकारले बहालमा बस्ने र घरधनी दुवै पक्षको समस्या समाधान गर्नुपर्छ ।

    – घरभाडामा दिँदा मनोमानी भाडा लिने गरिएको छ । वैज्ञानिक भाडा दरमा कसरी लैजाने ?

    वैज्ञानिक भाडादर कायम गर्नुपर्छ । सुविधा, पहुँच, माग र आवश्यकताको आधारमा वैज्ञानिक भाडादर कायम गर्नुपर्छ । औद्योगिक क्षेत्र, बसोबासको क्षेत्र, व्यापारिक क्षेत्र र कार्यालय क्षेत्रलाई आधार मानेर भाडादर कायम गर्नुपर्छ ।

    – भाडामा बस्नेमाथि घरधनीले रवाफ देखाउने पनि गरेको देखिन्छ नि ?

    केही ठाउँमा घरधनीको दादागिरी नै पनि छ । तर सबै घरधनी त्यस्तो छैनन्, भन्न पनि मिल्दैन । लकडाउनका बेला केही घरधनीले कोठामा बस्नेलाई खाना र बस्नेसमेत व्यवस्था गरेका थिए ।

    कोठामा बस्नेहरू पनि केही प्रतिशत गलत होलान् । तर सबै होइन ।

    – जात, लिंग र वर्गको आधारमा कोठा भाडामा नदिइएको विवाद आइरहँदा महासंघ मौन हो ?

    हामीले जातीय विभेदको विरुद्धमा कुरा उठाइरहेका छौं । जात, लिङ्ग र वर्गको आधारमा घर भाडामा नदिनु गलत हो भनेर भनिरहेका छौं ।

    जात, लिंग र वर्गको आधामा भइरहेको विभेदलाई राज्यले हेर्ने हो । विभेद गर्ने घरधनीहरूलाई राज्यले कानूनको दायरामा ल्याएर कारवाही गर्नुपर्छ ।

    – ५० प्रतिशत घरधनीले भाडा छुट दिने कुरा कार्यान्वयन हुन कति सम्भव छ ?

    सरकार, घरधनी र कोठामा बस्ने मिलेर जाने हो भने ५० प्रतिशत छुट सहज छ । पहिलेको लकडाउनमा पनि धेरै घरधनीहरूले भाडा छुट दिएका थिए । यस वर्ष पनि धेरैले पाउने छन् ।

    घरभाडा छुट दिँदा सरकारले पनि केही सहजीकरण गर्नुपर्छ । स्थानीय तहले कुन घरधनीले कति छुट दिएको छ भन्ने तथ्याङ्क राखेर ती घरधनीहरूलाई सरकारले दिने सेवामा छुट दिनुपर्छ ।

  • निषेधाज्ञामा घरभाडा छुटः बजेटको घोषणा कसरी हुन्छ कार्यान्वयन ?

    निषेधाज्ञामा घरभाडा छुटः बजेटको घोषणा कसरी हुन्छ कार्यान्वयन ?

    काठमाडौं । कारोनाको दोस्रो लहर सुरू भएपछि जारी गरिएको निषेधाज्ञा अझ पूर्णरूपमा खुलेको छैन । अत्यावश्यक बाहेकका व्यापारिक क्षेत्रहरू ५१ दिनदेखि ठप्पप्राय छन् ।

    लकडाउन र निषेधाज्ञाका कारण मारमा परेका व्यवसायीहरूको पहिलो चिन्ता हो घरभाडा । आम्दानी शून्य हुँदा पनि घरभाडा तिर्नैपर्ने हुन्छ । पहिलेको ९ महिना लामो लकडाउनमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले घरभाडा छुट दिलाउने घोषणा गरेका थिए । तर, यसका लागि कुनै कानूनी व्यवस्था छैन । स्थानीय तहले त्यसबेला नै अर्थमन्त्रीको घोषणाको विरोध गरेका थिए ।

    अर्को वर्ष स्थानीय तहको निर्वाचन हुँदैछ । सो निर्वाचनलाई मध्यनजर गरेर पनि स्थानीय तहहरुले घरभाडा छुटको लागि जबरजस्ती गर्न सक्ने अवस्था छैन । स्थानीय मतदाताका रूपमा रहेका घरबेटीहरुलाई रिझाउनुपर्ने बाध्यता उनीहरुलाई हुन्छ ।

    सरकारले यसपालीको बजेटमा पनि भाडामा लिएर उद्योग सञ्चालन गरेकाहरुले ५० प्रतिशत छुट पाउने उल्लेख गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भवनमा सञ्चालन भएका उद्योगहरूका लागि निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट घोषणा गरेका थिए ।

    सरकारले भाडा छुट दिने भएपछि निजी क्षेत्र पनि खुसी भएको थियो । कोरोनाले आफ्नो उद्योग र व्यवसायमा काम गर्ने कर्मचारीलाई कसरी तलब खुवाउने नै समस्या भएको बेला भाडामा छुट दिदा राहात महसुस भएको निजी क्षेत्रले बताएको छ ।

    महासंघले भन्यो- ५० प्रतिशतमात्रै तिर्नुस्

    नेपाल राष्ट्रिय व्यवसायी महासंघले देशभरका व्यवसायीहरूलाई सरकारले बजेटमार्फत दिएको सुविधा प्रयोग गरेर ५० प्रतिशत मात्र भाडा तिर्ने भनेको छ । महासंघका अध्यक्ष नरेश कटुवालले कोरोनाबाट प्रभावित देशभरका व्यवसायीलाई यस्तो सन्देश पुर्‍याइएको बताए ।

    उनले भने, ‘कोरोनाका कारण व्यवसाय नै बन्द गरेर हिँड्नुपर्ने अवस्थामा सरकारले ५० प्रतिशत घरभाडा छुट दिने भनेको छ । अब त्यो छुट व्यवसायीले पाउनुपर्छ । महासंघले पनि यसका लागि सबै संघहरूसँग आग्रह गरेको हो ।’

    ५० प्रतिशत भाडा पनि अब व्यवसाय सञ्चालन आएर कमाएपछि मात्रै तिर्न सकिने कटवालको भनाइ छ ।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले बजेटमा घोषणा भएअनुसार ५० प्रतिशत छुट दिन तयार रहेको बताए । १० वटा औद्योगिक क्षेत्रमा सञ्चालन भएका ७ सय उद्योगले ५० प्रतिशत छुट दिँदा ४३ लाख ७५ हजार रूपैयाँ छुट पाउने उनले जानकारी दिए । लिमिटेडले मासिक ८७ लाख ५० हजार औद्योगिक भवन र जग्गाको भाडा उठाइरहेको छ ।

    औद्योगिक क्षेत्रले हालसम्म भाडा छुटको प्रक्रिया शुरू गरिसकेको भने छैन । सबै कर्मचारीहरू काममा फर्केपछि भाडा छुटको प्रक्रिया अगाडि बढाउने बस्नेतले बताए ।

    काठमाडौं महानगपालिकाका राजस्व विभागका प्रमुख शिवराज अधिकारीले महानगरपालिकाको नीति तथा कार्यक्रममा पनि घरभाडा छुट दिने विषय उल्लेख भएको जानकारी दिए । अब केही दिनमा काठमाडौं महानगरपालिकाको आर्थिक ऐन नगरसभाले त्यसलाई पास गर्ने र त्यो ऐनमा नै प्रष्टरुपमा आउने उनले बताए ।

    काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले भाडाको विषयमा छलफल भइरहेको बताइन् ।

    उनले भनिन्, ‘घरधनी र व्यवसाय सञ्चालन गर्नेमध्ये कोही पनि नमर्ने तरिकाले महानगरले निर्णय गर्ने छ । नगरसभाले नै यो विषयलाई टुंगो लगाउँछ ।