Tag: गोपीचन्द्र पार्की

  • ओलम्पिक गुमाएका गोपीलाई बर्लिन म्याराथनको सान्त्वना (भिडियो)

    ओलम्पिक गुमाएका गोपीलाई बर्लिन म्याराथनको सान्त्वना (भिडियो)

    काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पाएको सफलता र ओलम्पिक खेल्न नपाउँदाको चोटले चर्चित बनेका नेपाली धावक गोपीचन्द्र पार्की बर्लिन म्याराथनमा सहभागी हुँदैछन् ।

    सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं सागमा नेपाललाई स्वर्ण दिलाएयता राष्ट्रिय प्रतियोगितामा वर्चश्व जमाएका गोपीले यसै वर्ष जापानमा भएको टोकियो ओलम्पिकमा सहभागिता हुने निश्चित थियो । त्यसका लागि उनले तयारी पनि गरेका थिए । तर, प्राविधिक पक्ष नमिलेपछि गोपीकै शब्दमा ‘एउटा खेलाडीको सबैभन्दा ठूलो- ओलम्पिक खेल्ने सपना’ टुटेको थियो ।

    प्रत्येक खेलाडीका लागि सबैभन्दा तीव्र चाहना भनेको ओलम्पिक खेल्ने हुन्छ । त्यो पूरा हुन सकेन । कारण जे भए पनि, कारक जो भए पनि महिनौको मेहनत पानीमा मिल्दा पीडा गोपीलाई नै भएको थियो । अनि, चोट पनि उनलाई नै लागेको थियो । तर, ओलम्पिक गुमाउनु पर्दाको चोटलाई बर्लिन म्याराथनको अवसरले अलिकति मलम पक्कै लगाउने आशा लिएका छन् ।

    ‘ओलम्पिकको कुनै अन्य प्रतियोगितासँग तुलना नै हुँदैन,’ त्यो पीडादायी क्षण सम्झिँदै गोपी भन्छन्, ‘तर, त्यो (ओलम्पिक गुमाउँदाको) चोटमा मलम पक्कै लाग्ने छ ।’

    ‘३४ वर्षदेखि पुरानो वैकुण्ठ मानन्धरको नाममा एउटा राष्ट्रिय कीर्तिमान छ,’ नयाँ चुनौतीमा अवसर देखेका गोपी आफ्नो बोलीमा ऊर्जा थप्दै भन्छन्, ‘बर्लिन म्याराथन भनेको त्यो तोड्नका लागि एकदम उपयुक्त (प्रतियोगिता) हो । त्यसका लागि म निरन्तर लागिरहेको छु । यदि म त्यहाँ गएर राष्ट्रिय कीर्तिमान पनि बनाउन सफल भएँ भने एउटा उपलब्धी हुन्छ…, घाउमा मलम हुन्छ ।’

    उनको तयारी चाहिँ कस्तो चलिरहेको छ त ?

    ‘सत्य कुरा भन्छु’ भन्दै गोपीले सुनाए, ‘कुनै पनि खेलाडीले सधैँ ‘टप ट्रेनिङ’ गर्दैन । बिचमा एउटा लेभल हुन्छ । ओलम्पिक स्थगित भइसकेपछि राष्ट्रिय खेलहरूलाई लक्षित गरेर तयारी गर्‍यौं, । त्यसैले बीचमा ट्रेनिङ अलिकति डाउन भयो । तीन हप्ता अगाडि मात्र बर्लिन म्याराथनको कन्फरमेसन लेटर आयो । त्यस कारणले म अहिले ट्रेनिङ ‘हार्ड’ गरिरहेको छु ।’

    बर्लिन म्याराथनलाई राम्रो प्रदर्शन गरेर देखाउने अवसरको रूपमा आफूले लिएको गोपी बताउँछन् । अवसर जुटाइदिने प्रशिक्षक, राखेप लगायत सबै निकायलाई उनले धन्यवाद दिए ।

    ‘ओलम्पिक खेल्न नपाएको क्षणलाई अन्य कुरासँग तुलना गर्न मिल्दैन । त्यो एकदमै पीडादायक छ । अब त्यो कुरालाई बिर्सेर आगामी २०२४ ओलम्पिकको लागि हामी तयारीमा छौं,’ तीन वर्षपछि फ्रान्समा आयोजना हुने ओलम्पिक पर्खिरहेका गोपी भन्छन्, ‘त्यसका लागि सबै संघ–संस्था, व्यक्तिगत र सामूहिकरुपमा पनि मलाई सहयोग भइरहेको छ । सबै कुरा सकारात्मक छ ।’

    बर्लिन म्याराथनमा सहभागी हुने अवसर मिलाइदिन प्रशिक्षकको माध्यमबाट राखेप र नेपाल एथ्लेटिक्स संघको सहयोग अपरिहार्य रहेको बताउँदै उनले त्यो सहयोगबाट आफू खुशी भएको बताए ।

    बर्लिन म्याराथनमा सहभागिताका लागि तीन दिनको आयोजकले ब्यहोर्ने र बाँकी खर्च एथ्लेटिक्स संघकै एकजना सरले ब्यहोरदिने आश्वासन दिएको गोपीले सुनाए ।

    ‘बर्लिनको पहिलो लक्ष्य राष्ट्रिय कीर्तिमान हो । कथम् कदाचित केही भइहाल्यो भने पनि नेपालगञ्जको भन्दा राम्रो नतिजा निस्किनेमा विश्वस्त छु,’ गोपी भन्छन्, ‘ कसले कति चोट पुर्‍यायो भन्दा पनि आउने दिनमा कसले कति सहयोग गर्‍यो भन्ने महत्त्व राख्छ । विगत जसको राम्रो हुन्छ, भविष्य उसको अप्ठेरो हुन्छ, विगत जसको कठिन हुन्छ, भविष्य उसको सहज हुन्छ भने जस्तै जुरेको छ ।’

    दुईपटकको ट्रेनिङमा आफूले राष्ट्रिय कीर्तिमानको प्रयास गरेको र सफल पनि भएको जानकारी दिँदै गोपीले भने, ‘बर्लिनमा मेरो लक्ष्य नै राष्ट्रिय कीर्तिमान हुनेछ ।’

  • ‘गोपीचन्द्रलाई ओलम्पिकमा सहभागी नगराउनु पसिनाको अवमुल्यन’

    ‘गोपीचन्द्रलाई ओलम्पिकमा सहभागी नगराउनु पसिनाको अवमुल्यन’

    काठमाडौं । आठ महिनाभन्दा अगाडिदेखि तयारी गरेर तीन साता बाँकी रहँदा ओलम्पिक खेल्न नपाउने भएका म्याराथन धावक गोपीचन्द्र पार्कीको पसिनाको अवमुल्यन भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपीए) ले बताएको छ ।

    गत मंसिरमा आयोजना भएको नेपालगञ्ज म्याराथनलाई टोकियो ओलम्पिकको छनोटको मान्यता दिइएको थियो । १३औं दक्षिण एसियाली खेलकुद र नेपालगञ्जमा पनि स्वर्ण जितेका गोपीले ओलम्पिक खेल्ने पक्का भएको ठानिएको थियो । र, उनी त्यसपछि लगातार ओलम्पिकको तयारीमा थिए ।

    तर, बिहीबार नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथ्लेटिक्स संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै गोपी ओलम्पिकमा सहभागी हुन नपाउने जानकारी गराएको थियो ।

    सोही विषयप्रति ध्यानाकर्षण भएको जानकारी दिँदै एनएनआइपीएले यसको भत्सर्ना गरेको बताएको छ । जुनसुकै बहानामा पनि खेलाडीलाई सहभागी हुनबाट वञ्चित गराउनुको कारण खुलाउन पनि एनएनआइपीएले बताएको छ ।

  • गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

    गोपी र सन्तोषीलाई टेन-के रोड रेसको उपाधि

    काठमाडौं । एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका छन् ।

    शनिबार बिहान भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् । गोपी र सन्तोषीले लगातार दोस्रो पटक वीर गणेशमान सिंह टेन-के रोड रेसको उपाधि जितेका हुन् ।

    १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे । उनले अघिल्लो संस्करणमा आफैंले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे । उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए ।

    पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए । तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, नगद पुरस्कार प्राप्त गरे ।

    यसैगरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् । सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।

    महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेण्डमा दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् । यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, प्राप्त गरे ।

    वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, राजदरबार संग्रहालय दक्षिणगेट, केशरमहल, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, शिवपुरी स्कुल, बालुवाटार, भाटभटेनी, टंगाल, बालमन्दिर, पुलिस हेडक्वाटर, गौरीधारा, राजदरबार उत्तर पूर्वमोड, नागपोखरी, जयनेपाल सिनेमा हल हुँदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।