Tag: गृहमन्त्री बालकृष्ण खाँण

  • बागी उम्मेदवार फकाउन देउवाको निर्देशनमा भरतपुर पुगे बालकृष्ण खाण

    बागी उम्मेदवार फकाउन देउवाको निर्देशनमा भरतपुर पुगे बालकृष्ण खाण

    चितवन । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाण चितवन आएका हुन् ।

    सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गर्दैछन् । त्यसपछि मेयरमा बागी उमेदवारी दिएका पौडेललाई भेट्न पौडेलको निवास भरतपुर-७ स्थित पिपल चोक जाने छन् ।

    भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको बताए । असन्तुष्टलाई सम्झाउन के प्याकेज ल्याउनु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘प्याकेजभन्दा पनि मन र हृदय लिएर आएको छु कि सबै नेपाली कांग्रेसका नेताहरूलाई सम्मान गर्न सकियोस् ।’

    ‘गठबन्धन गर्दा कहिलेकाहीँ आफूले चाहेको जस्तो हुँदैन । गठबन्धनमा आबद्ध अर्को राजनीतिक शक्ति संवाद छलफल हुनुपर्छ । एक कदम पछाडि पनि हट्नुपर्छ’, उनले भने, ‘संविधान र लोकतन्त्रका लागि पनि गठबन्धनको रक्षा गर्नु हाम्रो दायित्व हो ।’ गठबन्धनका कारण पार्टीले मतदाता नगुम्ने उनले दाबी गरे ।

    ‘यहाँ मभन्दा धेरै अग्रज नेताहरू हुनुहुन्छ । नेविसंघ, तरुण दलको नेतृत्वमा रहँदाका मेरा सहयोगी साथीहरू हुनुहुन्छ । सबैसँग संवाद र छलफल गरेर कसरी पार्टीलाई अगाडि बढाउने । चितवनको प्रतिष्ठालाई कसरी जोगाउने र मतदातालाई कसरी अपिल गर्ने सबैसँग परामर्श गरेर अघि बढ्दौँ’, उनले भने ।

    बागी उम्मेदवारी दिएका उम्मेदवारले १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने समय रहेकाले पार्टीमा योगदान पुर्‍याएका नेतालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिने बताए । स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने विश्वास रहेको उनले बताए ।

  • गृहमन्त्री खाण र कलाकार तथा चलचित्र निर्माताविच भेटवार्ता

    गृहमन्त्री खाण र कलाकार तथा चलचित्र निर्माताविच भेटवार्ता

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्मातासँग गृह मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटका क्रममा गृहमन्त्री खाणले चलचित्र क्षेत्रले भोग्नु परिरहेको समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् ।

    नागरिकलाई राष्ट्र, राष्ट्रियता, सस्कृति र रहनसहनबारे कलाको माध्यमबाट जानकार बनाउने कलाकारलाई सम्मान गर्नु सरकारको दायित्व भएको गृहमन्त्री खाणले बताए । भेटमा कलाकार र चलचित्र निर्माताले राष्ट्रिय चलचित्र नीति २०७१ कार्यान्वयनमा ल्याउन पहल गरिदिन गृहमन्त्री खाणलाई आग्रह गरेका थिए ।

    साथै कलाकारका समस्या सुन्न गृह मन्त्रालयमा बोलाएकोमा कलाकर्मीले गृहमन्त्रीलाई धन्यवादसमेत दिएका थिए । भेटमा नायक भुवन केसी, नायिका एवं हास्य कलाकार दिपाश्री निरौला, चलचित्र निर्माता नवलसिंह खड्का, गायक हेमन्त शर्मालगायतले गृहमन्त्रीले आफूहरूलाई मन्त्रालयमा बोलाएर आफ्ना समस्या राख्न दिएकोमा आभार व्यक्त गरेका थिए ।

    उनीहरुले विभिन्न पदकबाट राज्यले सम्मान गरेपछि आफूहरूलाई कला क्षेत्रमा केही गर्नुपर्छ भन्ने उर्जा प्रदान गरेकोसमेत बताए । चलचित्र निर्माणमा भोग्नु परेका समस्याबारे गृहमन्त्रीलाई अवगत गराउँदै उनीहरुले त्यसमा सहजीकरण गर्ने वातावरण निर्माण गरिदिन आग्रह  गरेका थिए । गृहसचिव टेकनारायण पाण्डेसमेत सहभागी भएकाे भेटमा विदेशी चलचित्रले नेपालबाट बाहिर पैसा लैजाने तर नेपाली चलचित्र बाहिर गएर नेपालमा पैसा भित्रयाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले नेपाली चलचित्रलाई विदेशमासमेत चल्न सक्ने नीति निर्माणको पहल गरिदिन आग्रह गरेका थिए ।

  • भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुने गृहमन्त्री खाँणको दाबी

    भयरहित वातावरणमा स्थानीय तहको निर्वाचन हुने गृहमन्त्री खाँणको दाबी

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले भयरहित वातावरणमा तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् । गुल्मी उद्योग बाणिज्य संघले आयोजना गरेको चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले तोकिएकै समयमा बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने बताएका हुन् ।

    उनले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै ढुक्क भएर मतदानमा सहभागी हुन सबै नागरिकलाई आग्रह पनि गरेका छन् ।

    उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्नेछ । उद्घाटनको अवसरमा सदरमुकाम तम्घासस्थित बिभिन्न संघ संस्थाले बिभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए ।

    महोत्सवमा विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीसँगै गुल्मी जिल्लामा विभिन्न जाति विशेष रहेका खानाका परिकार, विभिन्न सँस्कृति झल्कने झाँकी महोत्सव अवधिभर प्रदर्शन गरिएको छ ।

  • सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाण

    सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइनः गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने नभएको बताएका छन् ।

    नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारको काम व्यवसायीलाई काम गर्न सहज हुने वातावरण निर्माण गरिदिने रहेको जनाए ।

    ‘तराईदेखि हिमालसम्मको बाटो र पुल निर्माण गर्न विदेशी कम्पनीको आवश्यकता छैन । नेपाली निर्माण व्यवसायी सक्षम बनेका छन्,’ गृहमन्त्री खाँणले भने, ‘सरकारको काम कुनै पनि व्यवसायीलाई दुःख दिने होइन । वातावरण सहज बनाइदिने हो ।’

    निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्ने, विश्वास अझ जनतासामु मुखरित गराउन वातावरण बनाउन वर्तमान सरकार गम्भिर रहेको उनले बताए ।

    ‘निर्माण व्यवसायी देशका धरोधर हुन् । कुनै पनि व्यवसायीलाई सुरक्षा दिने काम सरकारले गर्छ,’ उनले भने ।

  • हिमपात र हावाहुरीका कारण अफ्ठ्यारोमा परेकालाई राहत दिन गृहमन्त्रीको निर्देशन

    हिमपात र हावाहुरीका कारण अफ्ठ्यारोमा परेकालाई राहत दिन गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीनजना र पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण अफ्ठ्यारोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    शनिबार बिहान गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्लासँगै हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

    शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिए ।

    त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिए ।

  • २० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

    २० जिल्लाका सिडिओलाई गृहमन्त्रीको फोन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड–१९ सङ्क्रमण अवस्थालगायत विषयमा २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् ।

    गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।

    यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड–१९ लगायतका विषयमा जानकारी लिएको थियो ।

    यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था, खोप लगाएकाको सङ्ख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिनुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए।

    गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड–१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिएको हो । सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो ।

    ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड–१९ को सङ्क्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड सङ्क्रमण, कोभिडविरुद्धको खोप र शीतलहरबारे जानकारी लिनुभयो’, प्रजिअ तामाङले भने। सीमानाकाबाट आउने नागरिकमा कोभिडको सङ्क्रमणबारे पनि मन्त्री खाँणले जानकारी लिए ।

    इलामका प्रजिअ ढुङ्गानाले सीमाबाट आएका नागरिकमा कोभिड सङ्क्रमणको अवस्था, निको हुने दर, विद्यालय सञ्चालनको अवस्था कस्तो छ भनेर मन्त्री खाणले जानकारी लिएको बताए।

    गोरखाका प्रजिअ आचार्य र रसुवाका प्रजिअ जैसीले हिमपातबाट बच्न नागरिकलाई न्यानो कपडा वितरण, कोभिड सङ्क्रमणको अवस्था र शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले टेलिफोनबाट जानकारी लिएको बताए ।

  • एसएसपी यादव मृत्यु प्रकरणबारे बुझ्न गृहमन्त्री खाण घटनास्थलमा

    एसएसपी यादव मृत्यु प्रकरणबारे बुझ्न गृहमन्त्री खाण घटनास्थलमा

    रूपन्देही । झुण्डिएको अवस्थामा मृत फेला परेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुशिलकुमार यादवको घटनाबारे बुझ्नका लागि गृहमन्त्री बालकृष्ण खाण घटनास्थल संघीय प्रहरी कार्यालय भैरहवा पुगेका छन् । घटनास्थलमा मृतकको श्रीमती पुगेपछि अहिले शव निकालेर मुचुल्का उठाउने काम भैरहेको जनाइएको छ ।

    कार्यालय प्रवेशमा भने पत्रकारमाथी रोक

    संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शंकास्पद मृत्युपछि पत्रकारलाई कार्यालय प्रवेशमा निषेध गरेपछि थप आशंका गरिएको छ। शंकास्पद मृत्युमा आन्तरिक विषय खुल्नसक्ने भएकाले प्रहरीले पत्रकारलाई कार्यालय प्रवेशमा निषेध गरेको पत्रकारले नै गुनासो गरेका छन् ।

    सांगठनिक समस्याका कारण एसएसपीको मृत्यु भएको हो भने प्रहरीबाट धेरै विषय खुल्नसक्छ । तर रुपन्देही प्रहरीले कार्यालयमा आएका विभिन्न प्रहरी अधिकारीहसँग पत्रकारलाई भौतिक रुपमा सम्पर्क गर्न दिएको छैन ।

    रुपन्देही प्रहरीले एसएसपी यादवका परिवार सदस्य, आफन्तसहित सर्वसाधारण, व्यवसायीलगायतलाई कार्यालयमा प्रवेश गराए पनि पत्रकारलाई प्रवेशमा पूर्णरुपमा रोक लगाउँदा प्रहरीले आवश्यक सूचना लुकाउन चाहेको आभास भएको पत्रकार दीपक घिमिरेले बताए ।

    ‘हाम्रो कार्यालय भए पनि हामीले पत्रकारलाई प्रवेशमा रोक लगाएका होइनौँ ।’ संघीय प्रहरी इकाई कार्यालय भैरहवाका डिएसपी हेमबहादुर केसीले भने, ‘अनुसन्धानको विषय भएकोले सबै काम जिल्ला प्रहरी कार्यालय रुपन्देहीले गरिरहेको छ । यस विषयमा हामीले केही गरेका छैनौँ ।’  कार्यालयमा जिल्ला प्रहरी कार्यालयका डिएसपी नवरत्न पौडेल खटिएका छन् । शुक्रबार दिउँसो एसएसपी यादवको शव कार्यालयको क्वाटरमा झुन्डिएको अवस्थामा फेला परेको थियो ।

  • व्यक्तिगत घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म विस्तार भयोः गृहमन्त्री खाण

    व्यक्तिगत घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणाली वडास्तरसम्म विस्तार भयोः गृहमन्त्री खाण

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले विविध कठिनाइका बाबजुत व्यक्तिगत घटना दर्ता तथा व्यवस्थापन सूचना प्रणालीलाई वडास्तरसम्म विस्तार गरिएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को आयोजनामा भएको व्यक्तिगत घटना दर्ता तथा तथ्यांक व्यवस्थापन सन्बन्धी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री खाणले आफूहरुले सन् २०२४ सम्म व्यक्तिगत घटना दर्तालाई सतः प्रतिशत पु¥याउने अन्तराष्ट्रिय प्रतिबद्धता बमोजिम काम गरिरहेको जानकारी गराएका हुन् ।

    सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले व्यक्तिगत घटना दर्ता तथा तथ्यांक व्यवस्थापनसन्बम्धी प्रणाली सुदृढीकरण गर्ने सन्दर्भमा देखिएका चुनौती समाधान गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । एशिया तथा प्यासिफिक क्षेत्रका दुई दर्जन बढी सदस्य राष्ट्रको सहभागितामा आयोजित सम्मेलनमा नेपालको नेतृत्व गर्दै गृहमन्त्री खाणले सम्मेलनले एसिया प्रशान्त क्षेत्रमा व्यक्तिगत घटना दर्ता तथा तथ्यांक व्यावस्थापन कार्यलाई महत्वपूर्ण योगदान गर्ने बताए ।

    सबै नेपालीको समयमा नै जनसांख्यिक विवरण अध्यावधिक गर्न र राष्ट्रिय परिचय कायम गर्न व्यक्तिगत घटना दर्ता तथा तथ्यांक व्यावस्थापन प्रणाली आधारको रूपमा रहने बताउँदै उनले यसको सफल कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए ।

    सन् २०१५ देखि २०२४ सम्म घटना दर्ता दशकको मध्यावधि समिक्षा गर्न सम्मेलन आयोजना भएको हो । यसभन्दा अघि सम्मेलन नोभेम्बर १६ देखि १९ सम्म थाइल्याण्डको बैंककमा आयोजना भइरहेको छ । सम्मेलनलाई गृहमन्त्री खाणले राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको हलबाट भर्चुअल सम्बोधन गरेका हुन् । सम्मेलनलाई सम्बोधनपछि गृहमन्त्री खाणले विभाग र राष्ट्रिय परिचय पत्र निर्माणको प्रणालीबारे जानकारी पनि लिएका छन् ।

  • पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा रुपन्देहीको विकास बजेट कटाैती भयो : गृहमन्त्री खाण

    पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा रुपन्देहीको विकास बजेट कटाैती भयो : गृहमन्त्री खाण

    रूपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले पूर्ववर्ती सरकारले कागजी बजेट ल्याउँदा विकास बजेट कटौती भएको बताएका छन् । रुपन्देहीमा विकास बजेट कटौती भएको भन्दै प्रश्न उठेपछि उनले पूर्ववर्ती सरकारले कागजी घोडाको बजेट ल्याउँदा समस्या भएको बताएका हुन ।

    तिहार मनाउन गृह जिल्ला रुपन्देही पुगेका खाँणले शुक्रवार तिलोत्तमा गौशालामा आयोजित पूजालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले आफूहरूले वर्तमान सरकारले यथार्थ बजेट ल्याएकाे बताए । उनले श्रोतको व्यवस्थापन नगरी सेतो कागजमा मसीले लेखेर मात्रै नहुने बताए ।

    ‘अहिले विदेशी सहयोग पनि आएको छैन, एमसीसीबाट बजेट ल्याउन पनि सकिएको छैन,’ उनले भने, ‘पूर्ववर्ती सरकारले बजेट कागजको घोडा हो । दाना पनि खाँदैन, सवारी पनि बोक्दैन, त्यसैले हामीले दाना पनि खाने, सवारी पनि बोक्ने बजेट ल्याएका हौं ।’

    उनले पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी एमाले आफैँले ल्याएको बजेट पारित गर्नमा समेत अवरोध गरेको बताए । एमसीसी पारित गर्ने सवालमा प्रमुख विपक्षी एमालेको दोहोरो भूमिका देखिएको आरोप लगाए । ‘एक जनासँग पास गरिदिन्छु भन्दिनुहुन्छ, अर्कोसँग हुँदैन भन्नुहुन्छ,’ उनले भने ।

    पुरानो सरकारको निरन्तरता नै अहिलेको सरकारले गर्न खोज्दा समेत अवरोध गरेको खाणले टिप्पणी गरे । उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले रुपन्देहीका ठुला आयोजनाको बजेट कटौती गरिएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए । गृहमन्त्री खाँण शुक्रबार गोवर्द्धन पूजाका लागि देवदह भलुहीस्थित कामधेनु गौशालामासमेत पुगेका थिए ।

  • मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका खाणको कार्यक्रम वर्षाले प्रभावित

    मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका खाणको कार्यक्रम वर्षाले प्रभावित

    रूपन्देही । गृहमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला आउन लागेका गृहमन्त्री बालकृष्ण खाणको कार्यक्रम वर्षाले प्रभावित भएको छ ।

    लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट भैरहवा विमानस्थलका लागि आउने विमान रोकिएकाले खाँणको भ्रमण तालिका प्रभावित भएको हो । उनी अहिले काठमाडौं विमानस्थलमा आएपनि रूपन्देहीमा मौसम नखुलेका कारण रोकिएको उनको सचिवालयले जनाएको छ ।

    आज विहान ९ बजेर ४५ मिनेटमा भैरहवा आइपुग्ने कार्यक्रम भएपनि गृहमन्त्री खाण मौसमका कारण उडान डिले भएपछि काठमाडौंमै रोकिएका हुन् ।

    वर्षासँगै मौसममा खराबी भएपछि भैरहवा विमानस्थलबाट आजका लागि तय भएको १९ वटा उडान अन्यौलमा परेको छ । विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार आज विहानका ४ वटा उडान नियमित अनुसार नै भएका छन् भने बाँकी रहेका १९ उडान अन्यौलमा परेका हुन् ।

    काँग्रेस नेता स्व. प्रेम खरेलको शोक सभामा सहभागी रुपन्देही आउन लागेका खाणको रुपन्देही भ्रमणका लागि आज तय भएको समय तालिका प्रभावित भएको छ । असार २९ गते गृहमन्त्री बनेपछि उनी पहिलो पटक गृहजिल्ला आउन लागेका हुन् ।

  • चाडपर्वका बेला म्याद गुज्रेका कुनै पनि सामाग्री भेटिए कानुन अनुरुप अगाडि बढ्ने गृहमन्त्री खाणकाे चेतावनी

    चाडपर्वका बेला म्याद गुज्रेका कुनै पनि सामाग्री भेटिए कानुन अनुरुप अगाडि बढ्ने गृहमन्त्री खाणकाे चेतावनी

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्य सामाग्री र औषधि विक्रि वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा बसेको चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाणले नागरिकको जीवन रक्षा र हितमा लाग्नु सरकारको दायित्व भएको भन्दै त्यो दायित्व पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    उनले भने, ‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं । म्याद गुज्रेका औषधि र खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा हामी कानुन अनुरुप अगाडि बढ्नुपर्छ । त्यस विषयमा यहाँहरूले ध्यान दिनुहोला ।’

    आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापन एजेण्डा राखेर बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी निकायका र सुरक्षा निकायका उच्च अधिकारीको सहभागिता रहेको बैठकमा मन्त्री खाणले म्याद गुज्रेका सामाग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।

    उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गर्दै भने, ‘अन्य बेलामा जस्तै धेरै नाफा नलिई कम नाफा लिएर सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ । बढी मूल्यमा बेचेको अनुगमनका क्रममा पाइएमा सरकारी निकाय कानुन अनुरुप अगाडि बढ्न पर्छ ।’

    व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाएर बिदा गर्न सकिने उनको भनाइ थियो । मन्त्री खाणले उद्योगी, व्यवसायीलाई कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन र यातायात व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताए । उनले सवारी दुर्घटना न्यूनिकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरेका छन् । उनले बर्षातका समयमा बिग्रिएका मुलुकका विभिन्न स्थानका सडक दशैं अगाडि मर्मत गर्न प्रधानमन्त्रीसँग कुरा राखेर पहल गर्ने बताए । जनताको सुरक्षाका लागि सरकारले आफ्नो दायित्व कुनै पनि अवस्थामा पूरा गर्न प्रतिबद्ध रहेको उनको भनाई थियो ।

    गृहसचिव टेकनारायण पाण्डेले चाडपर्वमा बजार व्यवस्थापनमा त्रिपक्षीय सम्बन्ध जरुरी रहेको बताए । उनले बजार प्रणालीबाट जनस्वास्थ्यमा खेलवाड गर्न नपाइने भन्दै खेलवाड गर्न नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको पनि बताए । उनले भने, ‘बजार प्रणालीबाट जनस्वास्थ्यमाथी खेलबाड हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध छ । खेलवाड भए नभएकोबारे बजार अनुगमन हुन्छ ।’ उनले अनुगमनमा मूल्यसूचीजस्तै स्वास्थ्य मापदण्ड पनि हेरिने बताए ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडपर्वका बेला म्याद सकिएका खाद्य सामाग्री विक्रि वितरण गरेको पाइएमा शक्त कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराएका छन् । उनले भने, ‘हामीले वाणिज्य र गुणस्तर विभागलाई स्पष्ट रूपमा भनेका छौं, चाडपर्वको मौका छोपी नबिकेर म्याद गुज्रिएका सामाग्री निरक्षर उपभोक्ता भएका स्थानसम्म पुर्याएर विक्री हुनसक्छ । त्यस्तो पाइएमा सक्त कारबाही गर्नू,।’ नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापाले मुख्य चाडपर्वलाई लक्षित गर्दै प्रहरीले विषेश सुरक्षा योजना बनाएको बताए ।

    बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई र यातायात व्यवस्था विभागका प्रवक्तासमेत रहेका निर्देशक डा‍‌ लोकनाथ भुसालले दशैंमा सार्वजनिक सवारी साधन कसरी सञ्चालन गर्ने भनेर अहिलेसम्म भएका तयारीबारे जानकारी गराएका थिए । प्रवक्ता भुसालले आगामी ११ गतेबाट दशैंलाई अग्रिम टिकट विक्रि खुला गर्ने र १४ स्थानमा यात्रु सहायता कक्ष राख्ने निर्णय भएको जानकारी गराए । त्यस्तै बसको टिकट अनलाइनमा काट्ने बनाउन प्रयास भइरहेको उनको भनाई थियो । बैठकमा उपभोक्ताकर्मी, यातायात  व्यवसायी, उद्योगीले आ–आफ्ना धारणा राखेका थिए ।

  • ७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु

    ७ प्रजिअलाई गृहमन्त्रीको टेलिफोनमार्फत निर्देशन : उद्धार तथा राहतमा बिशेष ध्यान दिनु

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बाढी, पहिरो र डुवानमा परेकालाई उपलब्ध स्रोत साधनको भरपुर उपयोग गरी उद्धार गर्न, राहत उपलब्ध गराउन र खतराको सम्भावना नभएको स्थानमा सार्न निर्देशन दिएका छन् । उनले सोमबार विभिन्न ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा भएका घटनाबारे टेलिफोनमार्फत जानकारी लिने क्रममा यस्तो निर्देशन दिएका हुन् ।

    गृहमन्त्री खाणले रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई टेलिफोन गरेर रातभर लगातार परेको वर्षातका कारण आएको पहिरो र बाढीको असरबारले जानकारी लिएका छन् । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार जिल्लाको रोल्पा नगरपालिका १० बाम्लामा पूर्णबहादुर थापाको घर पहिरोले भत्काउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । प्रजिअ सापकोटाले ७० वर्षका गौरी थापा र पाँच वर्षका हिमाल रोकाको मृत्यु भएको जानकारी गृहमन्त्रीलाई गराएका छन् । घटनामा हिमाका बाबु मनबहादुर रोका र आमा भिमकुमारी रोका घाइते भएका छन् । मनबहादुरको अवस्था गम्भीर रहेको र उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले अस्पतालसम्म पु¥याएको उनले बताए ।

    त्यस्तै मन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई टेलिफोन गरेर रातभरको वर्षातपछिको अवस्थाबारे जानकारी लिएका छन् । प्रजिअ अधिकारीले अहिलेसम्म जिल्लामा ३ सय ८५ घर टहरा डुवानमा परेको, २ सय ३२ जनाको उद्धार गरिएको र एउटा झोलंगे पुलमा असर पु¥याएको जानकारी मन्त्रीलाई गराएका छन् । मुख्यगरी जिल्लाका १० स्थान डुवानमा परेको जानकारी मन्त्री खाणलाई प्रजिअ पराजुलीले गराएका छन् ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई पनि टेलिफोन गरेर नख्खु कारागारमा भएको अवस्थाबारे जानकारी लिएका छन् । कारागारमा आइतबार अपरान्ह चौकिदारले बेथिति मच्चाएको भन्दै कैदीबन्दीले नाराबाजी गरेको सूचना आएपछि गृहमन्त्री खाणले त्यसबारे चासो राख्दै थप जानकारी लिएका हुन् । प्रजिअ निरौलाले चौकिदारको विरोधमा कैदीबन्दीले नारावाजी गरेको र रातभरमा दुवै समूहबीच सहमति गराएर अवस्था सामान्य बनाएको जानकारी मन्त्री खाणलाई गराएका छन् । ‘नख्खु कारागारमा देखिएको अवस्थाबारे मन्त्रीज्यूले जानकारी लिनुभएको थियो,’ प्रजिअ निरौलाले भने, ‘केही अवस्था असहज देखिएको थियो । अहिले सहमतिमा सामान्य भइसकेको छ ।’

    मन्त्री खाणले निरन्तरको वर्षातका कारण आएको बाढी, पहिरो र भएको डुवानको असरबारे कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसँग पनि जानकारी लिएका छन् । ति प्रमुख जिल्ला अधिकारीले जिल्लाको अवस्थाबारे जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सबै प्रजिअलाई गृहमन्त्रीले प्राकृत्तिक विपत्तिमा परेका नागरिकलाई राहत, उद्धार उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिएका छन् ।

    मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका भीम कामत विरामी भई अस्पताल लैजाने क्रममा मृत्यु भएको पनि गृहमन्त्री खाणलाई जानकारी गराए ।

  • संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

    संसदमा चर्कियो दार्चुला घटना, गृहमन्त्रीको प्रस्तुतिले एमाले आक्रोशित

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामीको विषयमा जोडतोडले आवाज उठेको छ । शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले यो विषयलाई महत्वका साथ उठाएका थिए ।

    बैठकमा प्रतिपक्षी दल एमालेका संसदहरूले यस घटनालाई लिएर सरकार निरीहरूपमा प्रस्तुत भएको आरोप लगाए । कांग्रेस संसदहरूले चाहिँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापन गर्ने प्रतिबद्धता जनाए पनि पूरा नगरेको भन्दै वर्तमान सरकारको बचाउ गर्न खोजे ।

    बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री बालकृष्ण खाणले सो घटनाका सम्वन्धमा सरकारले गरिरेको अनुसन्धान प्रक्रियाबारे जानकारी दिएका थिए । तर, उनले कतै पनि घटनामा भारतीय सीमा सुरक्षा बल एसएसबीलाई जोडेनन् । बरु बेपत्ता धामीको खोजतलासमा एसएसबीले पनि सहयोग गरिरहेको उनले बताए ।

    घटनाबारे छानविन गर्न सरकारले बनाएको छानविन टोली घटनास्थलतर्फ प्रस्थान गरेको भन्दै गृहमन्त्री खाणले भने, ‘अहिलेसम्म मृत्यु भएको वा जीवित रहेको केही पत्ता लागेको छैन ।’

    यस घटनालाई लिएर सरकारले भारतसँग कुनै कूटनीतिक पहल गरेको उनले जानकारी दिएनन् । बरु जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट भारतीय पक्षमा पत्राचार भएको भनेर टारे ।

    गृहमन्त्रीको उक्त प्रस्तुतिपछि एमालेका सांसदहरु उनीप्रति आक्रामक बनेका थिए । सांसदहरू खगराज अधिकारी, महेश बस्नेत, शान्ता चौधरीलगायतले मन्त्रीको चर्को आलोचना गरे ।

    अधिकारीले प्रश्न गरे, ‘सरकारको प्रस्तुति हेर्दा जयसिंह धामी तुइन आफैं चुँडिएर खसेको भन्न खाजिएको जस्तो देखियो । यो हाम्रो राष्ट्रिय स्वाभिमानविपरीत छ ।’

    सांसद शान्ता चौधरीले प्रत्यक्षदर्शीको बयान आइसक्दा पनि सरकारले सत्यतथ्य लुकाउन खोजेको आरोप लगाइन् ।

    कांग्रेस सांसद देवेन्द्रराज कँडेलले यो घटनाका विषयमा दुई देशबीचको संयुक्त टोली बनाएर छानविन गर्न सुझाव दिए ।

    उनले भने, ‘भारतीय एसएसबी आफैं पीडकको रूपमा रहेको छ भने उसले कसरी सत्यतथ्य बाहिर ल्याउँछ । त्यसैले संयुक्त टोली गठन गर्नुपर्छ ।’

    कांग्रेसका अर्का सांसद गगन थापाले चाहिँ भारतले आफ्ना दुई मछुवारहरूको हत्या हुँदा चार वर्षसम्म न्यायको लागि लडेको स्मरण गराए । एसएसबीले घटनामा आफ्नो संलग्नता नरहेको दावी गरेको कुरा बाहिर आएको भन्दै उनले यसको सत्यताबारे सरकारले जानकारी दिनुपर्ने बताए ।

    सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा पनि गृहमन्त्री खाणले घटनामा एसएसबीको संलग्नताबारे मौनता साँधे । सरकारले गठन गरेको छानविन समितिले प्रतिवेदन नबुझाएसम्म कुनै निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो ।

    गृहमन्त्रीले भने, ‘समितिले सत्यतथ्य बाहिर ल्याएपछि त्यसका आधारमा अघि बढ्छौं ।’

  • गृहमन्त्रीलाई एमाले सांसदहरूको प्रश्न – तुइन आफैं चुँडिएको भन्न खोजिएको हो ?

    गृहमन्त्रीलाई एमाले सांसदहरूको प्रश्न – तुइन आफैं चुँडिएको भन्न खोजिएको हो ?

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले जयसिंह धामी बेपत्ता भएको घटनामा एसएसबीको संलग्नताबारे मौन बसेपछि एमाले सांसदहरूले प्रश्न उठाएका छन् । गृहमन्त्रीले यस घटनाबारे संसदमा दिएको जानकारी गैरजिम्मेवारपूर्ण रहेको आरोप उनीहरूले लगाए ।

    पूर्वगृहमन्त्री तथा एमाले सांसद खगराज अधिकारीले यस घटनामा गृहमन्त्रीको प्रस्तुति घुमाउरो र हलुका भएको बताए ।
    उनले भने, ‘यस्तो अपराधपूर्ण क्रियाकलापबाट मृत्युवरण हुँदा नेपाल सरकार चाहिँ आफैं चुँडिएको जस्तो निमुखो तरिकाले प्रस्तुत भएको छ । यो हाम्रो स्वाभिमानविपरीत हो । यस्तो तरिकाले अपराधीमाथि कारवाही हुन सक्दैन ।’

    एमालेकी अर्का सांसद शान्ता चौधरीले पनि गृहमन्त्री हल्का र गैरजिम्मेवाररूपमा प्रस्तुत भएको आरोप लगाइन् ।
    उनले भनिन्, ‘प्रत्यक्षदर्शीले नै एसएसबीले तुइन काटेको भनिसकेका छन् । गृहमन्त्री अझै हामी जानकारी लिइरहेका छौं भन्नुहुन्छ । यस्तो हल्का पाराले प्रस्तुत हुन उहाँलाई नैतिकताल दिँदैन । एसएसबीको ज्यादतीमा हामी मौन बस्न सक्दैनौं ।’

    अर्का एमाले सांसद गणेशसिंह ठगुन्नाले पनि प्रत्यक्षदर्शीका बयान आइसक्दा पनि सरकारले आलटाल गरेको बताए । यस विषयमा सरकारले भारत सरकारसमक्ष के कुरा गरेको छ भन्ने उनको प्रश्न थियो ।

  • दार्चुला घटनामा सांसदलाई गृहमन्त्रीको जवाफ- छानविन हुँदासम्म त पर्खिनुस्

    दार्चुला घटनामा सांसदलाई गृहमन्त्रीको जवाफ- छानविन हुँदासम्म त पर्खिनुस्

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुला घटनामा छानविन समितिको प्रतिवेदन पर्खन सांसदहरूलाई आग्रह गरेका छन् ।

    राष्ट्रियसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै दार्चुला घटनाबारे छानविन गर्न समिति सक्रिय भइसकेको र १० दिनभित्र प्रतिवेदन आउने भएकाले केही समय धैर्य रहन उनले आग्रह गरेका छन् ।

    सो घटनाबारे नागरिक स्तरबाट उठेका, सञ्चारमाध्यममा आएका र जनप्रतिनिधिबाट व्यक्त भएका धारणालाई सरकारले गम्भीररूपमा लिएको भन्दै गृहमन्त्री खाणले छानविन प्रतिवेदन जस्तो आउँछ सोही अनुसार सरकारले कदम चाल्ने बताए ।

    ‘यो घटना संवेदनशील छ र यसमा छानविन समितिले काम गरिरहेको छ । छानविन प्रभावित हुनेगरी हामीले राय दिन मिलेन । छानविनबाट आएको निष्कर्षमा हामी जुनसुकै अडान लिन तयार छौ’, खाणले भने ।

    यसअघि गृहमन्त्री खाणलाई एमाले सांसदहरुले भारतीय एसएसबीको ज्यादतीबारे बोल्न नसकेको र भारतसँग हिम्मत गरेर कुरा गर्न नसकेको आरोप लगाउँदै प्रश्न सोधेका थिए ।

  • सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न विपद् प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

    सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न विपद् प्राधिकरणलाई गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सर्वसाधारणको जीउधनको सुरक्षामा गम्भिर भएर लाग्न निर्देशन दिएका छन् । शुक्रबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अन्तरक्रिया तथा निरीक्षण भ्रमण गर्दै उनले प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन् ।

    मन्त्री खाँणले अहिलेको अवस्थामा विपदको जोखिम न्यूनीकरण पहिलो प्राथमिकता हुनुपर्ने भन्दै यसका लागि प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापन लगायतमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्त्री खाँणले विपदमा काम गर्ने सरकारी संरचनाबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए ।

    विपद् कुनै पनि बेला आउनसक्ने हुनाले सोही अनुरुपको तयारी अवस्थाका लागि सचेतनाका कार्यक्रम बढाउनुपर्ने उनको धारणा थियो । मन्त्री खाँणले गाउँ गाउँबाट विपद्को जानकारी तुरुन्तै पाउने संयन्त्रको विकास गरी मानवीय क्षतिलाई बचाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पानी नपर्ने हिमाली भूभागमा पानी पर्ने जस्ता विपद्का कल्पना नगरेका जोखिम देखिन थालेको हुँदा बहुआयामिक ढङ्गले अघि बढ्नुपर्ने मन्त्री खाँणले बताए । उनले विपद्का विभिन्न पक्षका बारेमा अध्ययन हुनु आवश्यक रहेकोमा समेत जोड दिएका छन् ।

    गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले विपद्सँग सम्बन्धित विज्ञसहितको कर्मचारी व्यवस्थापनको ढाँचामा प्राधिकरण जान आवश्यक रहेको बताए । विपद सम्बन्धी अध्ययन, अनुसन्धान र जोखिमको पहिचान गरी काम त्यसतर्फ केन्द्रीत गर्नु जरुरी रहेको सचिव न्यौपानेको भनाई थियो ।

    उक्त अवसरमा गृहमन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख तथा सह(सचिब हुमकला पाण्डेले मनसुनजन्य विपद्का घटना, खोज, उद्धार र राहत तथा क्षतिको अवस्था र गृहमन्त्रालयबाट भएका कामहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

    त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । उनले प्राधिकरणको मौजुदा संगठन संरचनामा प्राविधिक जनशक्तिको अभाव रहेकोतर्फ मन्त्रीको ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय जलवायू परिवर्तनका कारण विपद्का घटना बढ्दै गएको र नयाँ नयाँ स्वरुपमा देखा परेको भन्दै यसको जोखिम न्यूनीकरणमै ध्यान दिनुपर्नेमा पोखरेलले जोड दिएका थिए ।