Tag: गृहमन्त्री खाण

  • युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    युवा र विद्यार्थी नेतालाई गृहमन्त्रीको फोन- गठबन्धन र शान्ति सुरक्षामा असर पर्ने गरी आन्दोलन नगरौं

    काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्तामा रहेका दलकै भ्रातृ संगठनले आन्दोलन चर्काउन थालेपछि गृहमन्त्री बालकृष्ण खाणले चासो दिएका छन् ।

    सत्तारुढ गठबन्धना आबद्ध नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरू एमसीसीविरुद्ध आन्दोलित छन् ।

    एमसीसीलाई आज संसद बैठकमा छलफलका लागि पेस गरिने भएपछि उनीहरूले कडा प्रदशनको तयारी थालेका छन् ।

    संसद घेर्न लागेका उनीहरुलाई गृहमन्त्री खाणले बिहान फोन गरेर एमसीसीविरुद्धको प्रदर्शन हिंसात्मक नबनाउन आग्रह गरेका छन् ।

    खाणले वाईसीएल अध्यक्ष सुमन देवकोटा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका अध्यक्ष नरेश शाहीलगायतलाई आज बिहान फोन गरेका थिए ।

    ‘आन्दोलन शान्तिपूर्ण गर्नुपर्‍यो, क्षति धेरै भयो,’ गृहमन्त्री खाणको आग्रह उद्धृत गर्दै अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले नेपाल प्रेससँग भनिन्, ‘तपाईंहरूले पनि दुःख पाउनुभयो, प्रहरीले पनि दुःख पायो ।’

    सिंहले आफूहले पहिलेदेखि शान्तिपूर्ण प्रदर्शन गरेको र अब पनि गर्ने भन्दै प्रहरीलाई संयमित राख्न गृहमन्त्रीलाई आग्रह गरेको बताइन् ।

    गृहमन्त्री खाणले नेकपा एसनिकट अनेरास्ववियूका अध्यक्ष पराजुलीलाई आन्दोलन शान्तिपूर्ण बनाउन र गठबन्धनलाई असर नपरोस् भनेर सचेत हुन विशेष आग्रह गरेका थिए । पराजुली फिल्डमा देखिएपछि प्रहरी अफिसरहरू दबाबमा पर्ने गरेकाले पनि गृहमन्त्रीले उनलाई सचेत गराएका हुन् ।

    जवाफमा उनले गठबन्धनलाई असर पर्न नदिन आफूहरू सचेत रहेको बताएका थिए । गठबन्धन कुनै हालतमा तोडिन हुँदैन भन्नेमा आफूहरू पनि रहेको उनले बताए ।

    ‘आन्दोलन नै त नगर्नुहोस् भन्दिनँ तर गठबन्धनाई समेत असर पार्ने गरी गर्नु भएन,’ गृहमन्त्री खाणले पराजुलीलाई भनेका थिए ।

    माओवादीका वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीनिकट युवासंघ नेपाल र अनेरास्ववियूले संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शन गर्दै आएका छन् ।

    खाणको आग्रह बाबजुद सत्तारुढ दुई दलका भ्रातृ संगठनले आजको प्रदर्शन सुरू गरिसकेका छन् । आजको प्रदर्शनमा माओवादीका सबै जनवर्गीय संगठनहरुको सहभागिता हुने बताइएको छ ।

    त्यस्तै नेकपा एसनिकट अन्य भ्रातृ संगठनहरू पनि सामेल छन् । एमसीसी आज निर्णाक अवस्थामा पुग्ने भएकाले त्यसविरुद्धको प्रदर्शन पनि चर्किने ठानिएको छ ।

  • केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचनको सुरक्षा तयारीबारे छलफल

    केन्द्रीय सुरक्षा समिति बैठक : निर्वाचनको सुरक्षा तयारीबारे छलफल

    काठमाडौं । गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकमा देशको समसामयिक सुरक्षा अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

    बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनका लागि गरिने सुरक्षा तयारीबारे भइरहेको कामबारे पनि छलफल भएको छ ।

    बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका छन् ।

    बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाली प्रहरीका महानिरीक्षक शैलेन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी र यदु खरेल, गृह मन्त्रालयका सुरक्षा समन्वय महाशाखाका प्रमुख मुकुन्द निरौला, प्रवक्ता कोइरालालगायत उपस्थित थिए ।

    गृहमन्त्री खाणले अवकाश अवकाश पाएका राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख अधिकारीलाई बिदाई गरे । गृहमन्त्री खाणले नवनियुक्त प्रमुख खरेललाई बधाई दिए ।

  • मोतिपुरमा प्रहरी दमनप्रति सुकुम्बासी संगठनको विरोध, गृहमन्त्रीको राजीनामा माग

    मोतिपुरमा प्रहरी दमनप्रति सुकुम्बासी संगठनको विरोध, गृहमन्त्रीको राजीनामा माग

    काठमाडौं । नेपाल भूमिहीन सुकुम्बासी संगठनले रुपन्देहीको मोतिपुरमा हिजो भएको घटनाप्रति आपत्ति जनाउँदै गृहमन्त्री बालकृष्ण खाणको राजीनामा मागेको छ । संगठनका अध्यक्ष शान्ता चौधरीले विज्ञप्ति जारी गर्दै स्वतन्त्र न्यायिक छानविन समिति गठन माग गरेकी छिन् ।

    ‘सो घटना अमानवीय, गैरकानूनी भएको ठहर गर्दै घटनाको सत्य तथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार महासंघलगायतको स्वतन्त्र न्यायिक छानविन समिति गठन गरी घटनामा परी ज्यान गुमाएकाको परिवारलाई उचित राहत र घाइते भएकाहरूलाई औषधीउपचारको उचित व्यवस्था गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

    ‘साथै ज्यान जाने गरी घटना घटाउने पक्षलाई तत्काल कानूनी दायरामा ल्याई सार्वजनिक गर्न र कानूनबमोजिम कारवाही गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यो हिंसात्मक घटनाको पूर्णजिम्मेवारी सरकारका गृहमन्त्रीले लिँदै पदबाट तत्काल राजीनामा दिन माग गर्दछौं । यदि हाम्रा मागहरू सम्बोधन नभएमा देशभरका तमाम सुकम्बासी भूमिहीन अव्यवस्थित बसोबासीहरू आन्दोलित हुन बाध्य हुने व्यहोरा जानकारी राइन्छ।’

    मोतिपुर घटनामा चारजना सर्वसाधरणको ज्यान गएको थियो भने केही सुरक्षाकर्मी घाइते भएका थिए ।