जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाणले प्रतिपक्षी नेकपा एमालेले सदन अवरुद्ध गरेकाले नागरिकताजस्ता महत्वपूर्ण विधेयक ल्याउन नसकेको बताए । केही बेरअघि जनकपुर आइपुगेका मन्त्री खाणले सदनको गतिरोध हटाउन एमालेसँग आग्रह गरेका छन् ।
धनुषा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले न्यायपालिकामा देखिएको विवाद संवेदनशील र गम्भीर रहेको टिप्पणी गरे । मन्त्री खाणले भने, ‘कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र ढंगले नै चल्नुपर्छ । हामी चाहन्छौं न्यायपालिकाको विवाद छिटो अन्त्य होस् ।’
गृहमन्त्रीको स्वागतमा विमानस्थल वरपर कार्यकर्ताको भीड लागेको थियो । कार्यकर्ताको भीडले बजार क्षेत्र केहीबेर अस्तव्यस्त बन्यो । सो क्रममा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको थियो ।
गृहमन्त्री खाणलाई स्वागत गर्न कांग्रेस नेताहरू रामकृष्ण यादव, मुक्ता कुमारी यादव, प्रदेश मन्त्रीद्वय रामसरोज यादव र विरेन्द्र सिंह तथा सुरक्षा निकायका अधिकारीहरु समेत विमानस्थल पुगेका थिए ।
रुपन्देही । कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँण गृहमन्त्रीको रुपमा दोस्रो पटक रुपन्देही आउँदा पनि विवादमा परेका छन् ।
भैरहवा विमानस्थलमा राखिएको बुद्धमूर्ति अनावरणमा विशिष्ट अतिथिको रुपमा पुग्नुअघि आइतबार आफ्नो गृहनगर रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा लिएको सलामीले विवादित बनाएको हो ।
विशिष्ट व्यक्तिलाई सरकारी कार्यालय वा सरकारी निवासमा दिइने सलामी उनको घरमा दिइएको विषयमा प्रहरी अधिकृतहरु नै आश्चर्यमा परेका छन् ।
‘सरकारी कार्यालय वा सरकारी निवासमा दिने गरिन्छ सलामी, यहाँ त झण्डा पनि नराखी निजी घरमा दिइयो, कसको दवाव वा चाकडी हो जान्न सकिएन,’ ती प्रहरी अधिकृतले नेपाल प्रेससँग भने ।
आइतबार बिहान मन्त्री खाँण राष्ट्रपति विद्यादेवी भण्डारीसँगै बुद्ध जन्मस्थल लुम्बिनी जाने भनेर लुम्बिनी विकास कोषले प्रचार गरेको थियो तर बिहान भैरहवा आएका उनी आफ्नै घरमा सलामी खाएर स्थानीयमा आफ्नो प्रभाव देखाउन थाले, लुम्बिनी गएनन् ।
असारमा गृहमन्त्री बनेका खाँण कार्तिक १ गते गृहजिल्ला आउँदा ९९ किलोको माला लगाएर आलोचित भएका थिए ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधीको अभाव हुन नदिने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको बताएका हुन् ।
उनले गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताए ।
उनले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकोले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने बताए । उनले चाडबाडमा बजारमा गुणस्तरहीन वस्तुहरु भेटिने समस्या र कालोबजारीलाई गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्ने आश्वासन दिए ।
गृहमन्त्री खाँडले भने, ‘दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्नको अभाव भनेर जनप्रतिनिधिहरुले भन्नुभएको छ, त्यसको लागि खाद्यान्न र आवश्यक औषधिको व्यवस्था सरकारले गरिसकेको छ, नेपालबाटै हिँडेर त्यहाँ पुग्नु पर्ने समस्याले केही ढिला भइसकेको छ तर सरकारले आवश्यक सामग्रीको प्रवन्ध र पूर्वतयारी गरिसकेको छ, त्यस्तै निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण छानबिनकै क्रममा छ, र यो लामो समय भइसक्यो, यो घटनाको छानबिन गर्न सकिन्छ र दोषिलाई कानूनि दायरामा ल्याएर कारबाही गर्न सकिन्छ भन्ने विश्वास छ ।’
बैठकमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको बताए । उनले ३६ वटा कालोबजारीका घटनामा २० वटा मुद्दा दर्ता भएको समेत जानकारी गराए ।
बैठकमा उपस्थित सांसदहरु डा. डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल लगायतका सांसदहरु जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारी लगायतका समसामयिक विषयमा आफ्नो धारणा राखेको थियो ।
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाा राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित प्रवर्द्धन र कोभिडविरुद्ध सहकार्यबारे छलफल भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ । भेटका क्रममा राजदूत यान्छीले नेपाल सरकार र लोकतन्त्रप्रति चिनियाँ सरकार सधैँ सकारात्मक रहेको अवगत गराएको जनाइएको छ । साथै यान्छीले कोभिडविरुद्धको लडाइँ र नेपाली नागरिकको जीवन रक्षाका लागि चीनले सकेको सहयोग गर्ने बताइन् ।
गृहमन्त्री खाणले कोभिडविरुद्धको खोप उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गर्दै नेपाललाई थप सहयोग आवश्यक रहेको औंल्याए । ‘हामीलाई अझै खोपको आवश्यकता छ । चीनले यसमा थप सहयोग गर्नेछ भन्ने विश्वास छ’, गृहमन्त्री खाणलाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो ।
सोक्रममा राजदूत यान्छीले नेपाललाई आवश्यक पर्ने थप खोप उपलब्ध गराउन चिनियाँ सरकार सकारात्मक रहेको जानकारी दिइन् ।
काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा रहेको बताएका छन् । न्यूज एजेन्सी नेपालसग कुराकानी गर्दै गृहमन्त्री खाँडले विगतमा प्रतिपक्षमा रहँदा उठाएका प्रश्नहरुको जवाफ सरकारबाट दिने प्रयास गर्ने बताए ।
जनतालाई सरकार छ भन्ने प्रत्याभूति गराउन गृह मन्त्रीका रुपमा काम गर्ने प्रतिवद्धता खाँडले गरेका छन् । प्रस्तुत छ गृहमन्त्री खाँडसँग गरिएको अन्तरवार्ताको सम्पादित अंश:
गृहमन्त्री बन्नुभएको छ । यो जिम्मेवारीका चुनौतीलाई कुन रुपमा सामना गर्नुहुन्छ ?
म नेपाली कांग्रेसको सिपाही हुँ । मुलुकको जिम्मेवार नागरिक पनि हुँ । त्यसकारण मैले गृह मन्त्रालयलाई एउटा नागरिकको आँखाबाट हेर्छु । जनप्रतिनिधिले निर्वाह गर्नुपर्ने भुमिकाका बारेमा मैले मेहेनत गर्छु । सरकारको कामबारे ‘फस्र्ट इम्प्रेसन’ दिने नै गृहमन्त्रालयले हो । जनतालाई देशमा भरोसायोग्य सरकार छ भनेर भरोसा दिलाउने काम गृह मन्त्रालयको हो ।
नागरिकता बनाउन जिल्ला प्रशासनमा जाँदा होस वा प्राकृतिक प्रकोपको बेलामा होस जनताले सरकारको अनूभुति गर्न पाउनुपर्छ । त्यही अनूभुति गराउने गरी काम गर्नेछु । जनतालाई सरकार छ, सरकार मेरो साथमा छ , दुःख सुखमा साथ दिन्छ भन्ने अनुभूति दिनुपर्छ भन्ने मेरो मान्यता र सोच हो । त्यसको लागि नै म कार्यरत रहन्छु ।
राजनीतिक हस्तक्षेपका कारण सुरक्षा निकायको मनोबल कमजोर भएको बेला छ । त्यस्तो मनोबल कसरी बढाउनुहुन्छ ?
कर्मचारी भन्नुस वा प्रहरी, शिक्षक भन्नुस वा अरु कोही राष्ट्रसेवक । सबैको योगदान महत्वपूर्ण छ । सुरक्षाकर्मीको विषय अझ बढी संवेदनशील हो । उनीहरु चौबिसै घण्टा जिम्मेवारीमा खटिएका हुन्छन् । ज्यानको जोखिम लगाएर जनताको हित र सुरक्षाका लागि उनीहरुले खटिनुपर्छ । अहिले कोरोनाको कहर छ । वर्षाका कारण बाढी पहिरोले पनि जनतालाई दुःख दिएको छ । सुरक्षाकर्मीले त हरेक हिसाबले जनताको सेवा गर्नैपर्छ । आफ्नो ज्यानको परवाह नगरेर पनि जनताको जीवन सुरक्षाकर्मीले बचाएका छन् । त्यसैले उनीहरुको कामको सम्मान हुनुपर्छ भन्ने मेरो मान्यता छ । हामीले पर्याप्त साधनस्रोत दिन नसकेको कुरा सत्य हो । सुविधा पनि पर्याप्त छैन । तरपनि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीहरु अहोरात्र खटिनुभएको छ । उहाँहरुलाई प्रोत्साहन गर्ने सरकारको नीति रहनेछ । सुरक्षाकर्मी वा कर्मचारीको मनोबल कुनै कारणले कमजोर हुन दिइनेछैन ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिले सम्मपनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने हो । सबैको उपचार गर्ने हो । सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ ।
त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको जीवन रक्षा गर्नु पनि सरकारकै दायित्व हो । यसबारेमा पनि हामी हामी गम्भिर छौँ । उहाँहरु संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने । आवश्यक प्रशिक्षण दिने । आवश्यक भ्याक्सिनहरु दिने । संक्रमित भइहाल्यो भने ति सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवन रक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ । त्यसको लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरुको जीवन रक्षाको लागि सरकार साथमा छ । मन्त्रालय तपाईँहरुको साथमा छ । उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौं ।
अपराध अनुसन्धानमा सुरक्षा निकाय भन्दा निजामती कर्मचारीमा भर परेको आरोप लाग्ने गरेको छ । निर्मला पन्त प्रकरणमा पनि त्यस्तै प्रश्न उठ्यो । अब के हुन्छ ?
यसमा मिडियाले पनि सहयोग गर्नुपर्छ । कुनै घटना घट्यो । नेपाल प्रहरीले त तत्काल त्यहाँ अनुसन्धान थाल्छ । उसको त त्यो दायित्व र कर्तव्यभित्रै पर्छ । तर त्यसको तथ्य छानविन गरेर बाहिर ल्याउन केही समय पनि लाग्छ । फेरी छानविन भईरहेको बेलामा सबै कुराहरु छानविनका रिपोर्टहरु बाहिर ल्याउनुपनि उचित नहोला । किनभने कतिपय कुराहरु छानविन भइराखेको हुन्छ । पत्ता लगाउन खोजिरहेको हुन्छ ।
जम्मै कुरा भन्ने हो भने त सम्बन्धित अपराधी भागिरहेको पनि हुन्छ । त्यसकारणले त्यसको गोपनियता राखेको पनि होला । तर जनस्तरबाट आवाज उठ्छ, हामीले पनि उठाइन्छ । पुलिसले छानविन गर्नै सकेन । पुलिसले अपराधीलाई पक्रनै सकेन, जाँचबुझ नै गर्न सकेन विभिन्न स्तरबाट त्यो कुरा उठ्दाखेरी छानविन समिती बनाइदिऊँ भनेर मन्त्रालयले छानविन समिति बनाईदिन्छ । छानविन बनाउँदाखेरी पनि प्रहरीले त्यसमा अनुसन्धान त गर्नैपर्छ ।
त्यसकारणले यसमा कतिपय यस्ता मुद्धाहरु होलान्, कतिपय यस्ता घटना होलान् जहाँ तथ्यगत छानविन गर्नुपर्ला । काहीँ संसदीय छानविन समिति चाहिएला । कहीँ न्यायिक छानबिन समिति चाहिएला । कहिँ प्रशासनिक छानबिन समिति चाहिएला । तर कुनै घटना भयो र त्यो घटना बाहिर आयो, जनमानसमा एउटा आक्रोश जाग्यो भने त्यो घटनाको तथ्य पत्ता लगाउने भन्दापनि जनमानसमा उठेको आक्रोसलाई शान्त पार्नका लागि छानविन समिति बनाईदिएको घटनाहरु पनि होलान् ।
त्यसकारणले कतिखेर साच्चै छानविन समिति बनाउने, कतिखेर पुुलिसमाथि पुरै भरोसा गरेर पुलिसलाई हामीले साथ दिने, त्यसका लागि बरु आवश्यक सामग्री, उपकरणहरु दिने कि त्यसमा तपाईहरुले पनि मद्दत गर्नुस् म पनि लागौंला ।
हिजो तपाईँ विपक्षी दलको प्रमुख सचेतक हुनुहुन्थ्यो । प्रश्न गर्ने ठाउँमा हुनुहुन्थ्यो । कयौँ घटनामा तपाईले आफैले प्रश्न गर्नुभएको छ । आज तपाई जवाफ दिने ठाउँमा र जिम्मेवारी लिने ठाउँमा आउनुभएको छ । यी दुई भूमिकाको सन्तुलन कसरी मिलाउनुहुन्छ ?
घटना भयो । त्यतिखेर प्रश्न उठाईयो । जिज्ञासा उठाईयो । जानकारी सरकारसँग मागियो । किनकी आम नागरिकसँग, जनप्रतिनिधी सँग घटनाको बारेमा केही तथ्यहरु थाहा हुन्छ । केही कुरा देखिन्छ, सुनिन्छ तर सत्य, यथार्थ थाहा नहुनसक्छ । त्यसकारणले यो घटनाको बारेमा यथार्थ कुरा जनता समक्ष ल्याईयोस् भनेर जनप्रतिनिधिले माग गर्नु त्यो सही कुरा हो । तर सरकारले, सरकारको प्रतिनिधि या मन्त्रीले त्यसमा सत्यतथ्यको जानकारी दिने हो ।
विगतमा हामीले जुन ढंगले प्रश्न उठाएका छौँ ति प्रश्नहरुको जवाफ कतिपय सवालमा आफैँ दिने ठाउँमा पनि पुगिन्छ । त्यसकारणले खास गरेर हाम्रो यो बहुदलीय शासन व्यवस्था त्यो पनि बहुलवादमा आधारित बहुदलीय लोकतन्त्रमा सरकर कहिले प्रतिपक्षमा पुग्छ कहिले प्रतिपक्ष सरकारमा पुग्छ । त्यसैले यसलाई सहजै रुपमा लिनुपर्ने हुन्छ । र विगतको कतिपय सन्दर्भहरुलाई हामीले अध्ययन पनि गर्नुपर्दछ । र त्यो अध्ययनबाट हामीले पाठ लिएर आउने दिनमा अझै राम्रो पनि गर्न सक्नुपर्दछ ।
तपाईका प्राथमिकताहरु के-के हुन् ?
पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा हो । किनकी यो राज्यप्रणालीको दुनियाँमा प्रार्दुभाव किन भयो, सरकार किन बन्यो, समुदायमा हामी किन बस्यौँ भन्दा हाम्रो जीवन रक्षाको लागि हो । मान्छेले आफ्नो जीवनरक्षाको लागि मान्छे मान्छेसँग मिलेर समुदाय बनायो राज्य प्रणालीमा सुरुवात गर्यो । जुनसुकै सरकारले पनि मेरो शासन व्यवस्था भित्रको नागरिकको जीवन रक्षा मेरो पहिलो दायित्व हो, कुनैपनि नागरिकले अकालमा मृत्युवरण गर्नु हुँदैन भन्ने नै हाम्रो मुल प्राथमिकता हो ।
त्यसकारले विभिन्न घटना परिघटनाबाट मान्छेको ज्यान जाने कुरा होस्, चाहे यो कोरोना महामारीबाट मान्छेको ज्यान जाने कुरा होस्, संक्रमणको कारणले, जुनखालको हाम्रो अर्थ व्यवस्था पनि थिलथिलो भएको छ । यसैलाई नै हामिले प्राथमिकताको साथ अगाडी लाने हो । गृहमन्त्रालयका थुप्रै कार्यक्षेत्रहरु छन् । त्यसलाई पनि हामीले परिष्कृत गर्दै राम्रो गराउँदै जाने हो ।
तपाईँले पदबहाली गरेलगत्तै विभिन्न सुरक्षा अधिकारीहरुसँग छलफल गर्नुभएको थियो । के कुराकानी भएको थियो ?
उहाँहरुले यो मन्त्रालयको सांगठनिक ढाँचा, यसको काम, कर्तव्य, कार्यक्षेत्रको बारेमा जानकारी गराउनुभयो । मैले आफ्नो अनुभवहरु र उहाँले जानकारी गराएको कुराहरुमा आफ्नो धारणाहरु राखें र सबैलाई धन्यवाद दिएँ । त्यसपछि यो मन्त्रालय मातहतका सुरक्षा निकायहरुसँग आफ्नो–आफ्नो निकायमै छलफल हुन्छ । त्यसपछि विभिन्न तहगत विभागहरु छन् उनीहरुसँग पनि छलफल हुन्छ । अहिले खाली मैले पदवहाली गरें । सचिवजीले यहाँको स्थितिको बारेमा र यसको सांगठनिक ढाँचाको बारेमा, काम, कर्तव्य, अधिकार र भुमिकाको बारेमा, केही समस्या र चुनौतीहरुको बारेमा ब्रिफ गर्नुभयो ।
मैले एउटा नागरिकको चस्मा लगाएको जुन अवस्थामा म छु, मैले एउटा नागरिकले गृहको बारेमा, नागरिकले सुरक्षाको बारेमा, सुरक्षाकर्मीको बारेमा जे धारणा राख्छ, त्यो मैले राखें । हामी सबै मिलौँ । मुलभूत रुपमा नेपालको जुन शासन प्रणाली छ यो शासन प्रणालीमा नेपाली जनता नै मालिक हुन् । र हामीहरु राजनीतिकर्मी जनप्रतिनिधिहरुपनि हामी सेवक हौँ । तपाईँहरु राष्ट्रिय सेवक पनि जनताको सेवक हो । त्यसकारणले हामी एक आपसमा हातेमालो गरौँ । जनतालाई मालिक बनाउने, मालिकको अनुभुति दिने, संविधानमा, विधिमा, कानुनमा मालिक त बनाईयो ।
तर मनमा, अनुभुतिमा जनतालाई साच्चै सरकार सेवक भएछ, जनप्रतिनिधि सेवक भएछन्, हामी मालिक भएछौँ भन्ने अनुभुति दिन सकौँ । त्यसको लागि सामुहिक प्रयत्न गरौँ । म तपाईहरुसँग मित्रवत् व्यवहार गर्छु । म तपाईहरुको साथीको रुपमा आएको छु भने मैले ।
सशस्त्र प्रहरीको बिओपी स्थापनाको कार्य अघि बढीरहेको छ । यसमा तपाईको प्राथमिकता के रहन्छ ? प्रहरीको समायोजन, सरुवा बढुवाको बारेमा के छ ?
बिओपीको बारेमा, नेपालको भुमिको रक्षा गर्ने काम हाम्रो हो । सरकारको हो । नागरिकको सुरक्षा गर्ने दायित्व पनि हाम्रो हो । बिओपीले राष्ट्रिय भूमिको रक्षा र नागरिकको रक्षामा मद्दत पुर्याउँछ भन्ने नै हामी सबैको विश्वास हो र त्यसले निरन्तरता पाउँछ । जहाँसम्म सरुवा, बढुवाको कुरा गर्नुभयो । त्यसमा कार्यक्षमताकै आधारमा गर्नुपर्दछ भन्ने मेरो मान्यता हो । एउटा सामान्य नागरिकले पनि के भन्छ भने यसले राम्रो जनताको मन जित्ने काम गरेको छ ।
जनतालाई सम्मानित गर्दै आफ्ना कामहरु सम्पन्न गरेको छ भने कतिपय जिल्लामा सिडियोलाई, राष्ट्रसेवक कर्मचारीलाई, पुलिस प्रशासकलाई अभिनन्दन गरेर खाँदा र मालाले ढाकेर पठाईदिएका पनि छन् । सम्मान गरेर बिदाई हुने बेलामा । कतिपय ठाउँमा साटाक सुटुक हिड्नुपर्ने अवस्था पनि छ । यो सन्तुलन मिलाएरै गर्नुपर्ने हुन्छ । मैले यसमा अध्ययन गर्नै बाँकी छ । भर्खर आएको छु । सबैको सल्लाह मलाई चाहिन्छ, कसरी मैले जाने ।
बाहिर जनमानसमा के छ भन्दाखेरी बढुवामा व्याचका व्याच जम्प गराउनु राम्रो होईन् भन्ने छ जनतामा । एकदमै विशेष दख्खल हासिल गरेको, कुनै विज्ञता हासिल गरेको, कुनै त्यस्ता ठुला घटनाहरुलाई बढो गम्भीरताका साथ अनुसन्धान गरेर ठुलो स्याबासी लायक काम गरेकाहरुलाई काम गर्नेले सम्मान पाउँछ, काम गर्नेले स्थान पाउँछ भनेर इम्प्रेसन दिन गर्ने कुरा अलग हो । नभएदेखि ब्याचका ब्याच मिचेर गर्नु राम्रो होईन भन्ने आम जनताको भनाई छ । त्यसप्रति म गम्भीर छु ।
कोभिड महामारीमा अग्रभागमा खटिएका सुरक्षा निकायलाई दिने भनेको भत्ता अहिलेसम्म पनि नपाएको अवस्था छ । यसबारेमा के गर्नुहुन्छ ?
कोभिड महामारीमा सुरक्षा निकाय र राष्ट्रसेवक कर्मचारीहरु खटिनुपरेको छ । जनताको सुरक्षाका लागि पनि सरकारको प्रतिवद्धता छ । सबैलाई भ्याक्सिन छिटोभन्दा छिटो लगाउने । सबैको उपचार गर्ने । सबै संक्रमितहरुको जीवन बचाउँ त्यसका लागि सरकार दत्तचित्त छ ।
त्यसको साथसाथै गृह मन्त्रालय र हाम्रो सुरक्षा निकायहरुले फ्रन्टलाइनमा बस्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकायका सुरक्षाकर्मीहरुको पनि उनीहरुको पनि जीवन रक्षाको दायित्व सरकारको हो । मन्त्रालयको हो । विभागको हो । त्यतापट्टिपनि हामी गम्भिर छौँ ।
उहाँहरु संक्रमित नहुनुहोस् । त्यसका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराउने । आवश्यक प्रशिक्षण दिने । आवश्यक भ्याक्सिनहरु दिने । संक्रमित भइहाल्यो भने ति सुरक्षाकर्मी र राष्ट्रसेवकको पनि जीवन रक्षा गर्ने, तीनको पनि उपचार गर्ने दायित्व हाम्रो हो भनेका छौँ ।
त्यसको लागि मैले उहाँहरुसँग ब्रिफिङमा पनि भनेको छु कि राम्रो कामको लागि सराहना गर्दछु र तपाईँहरुको जीवन रक्षाको लागि सरकार साथमा छ । मन्त्रालय तपाईँहरुको साथमा छ । उहाँहरुलाई उत्साहित र प्रोत्साहित गर्ने काम गर्छौ ।
काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले पदभार ग्रहण गर्न लागेका छन् । गृहमन्त्रालयमा उनले केही बेरअघि पद सम्हालेका हुन् ।
संक्षिप्त प्रतिक्रया दिँदै मन्त्री खाँडले पहिलाको सरकारले ल्याइसकेको बजेटलाई के गर्नेबारे विज्ञहरूसँग सल्लाह गर्ने बताएका छन् ।
‘बजेट पनि संसदमै आउनुपर्छ भन्ने हाम्रो धारणा थियो चाहना थियो । बजेट अहिले अघि बढिसकेको छ । त्यसमा हामीले विज्ञ र प्रशासकसँग सल्लाह गर्छौं । छलफल गरेर के गर्ने हो, सीमा के छ, कानूनी प्रक्रिया के छ, संवैधानिक प्रक्रिया के छ त्यसलाई ध्यानमा राखेर निर्णय गर्छौं ‘, उनले भने ।
कोरोना महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीको सुरक्षा गर्ने दायित्व राज्यको भन्दै यसका लागि विशेष प्रबन्ध गर्ने उनको भनाइ छ ।
काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले आज पदभार ग्रहण गर्न लागेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग हिजो साझ अपथ लिएपछि नेपाली कांग्रेसका नेता खाँडले आजदेखि जिम्मेबारी ग्रहण गर्न लागेका हन् ।
मन्त्री खाँडको सचिवालयअनुसार विहान साढे १० बजे सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेपछि सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गर्नेछन् ।
मन्त्री खाँडले जनताको सुरक्षा र कानूनी शासनको रक्षा आफ्नो प्राथमिकता हुने बताउँदै आएका छन् ।
काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले आफूले मन्त्रीको रूपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।
आज गृहमन्त्रालयको समेत कार्यभार सम्हाल्दै मन्त्री पौडेलले जवाफदेही भएर काम गर्न निर्देशन दिँदै नतिजामुखी काममा जोड दिए ।
‘काममा हस्तक्षेप गर्ने कुरामा म विश्वास गर्दिन । म हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ । कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु । यहाँहरूले आ-आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । गृहमन्त्री पाैडेललेभने ।
उनले भने, ‘कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन । गृह सचिवले हस्तक्षेप गर्दैन । संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारीपुरा गर्नका निम्ति यहाँहरु सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ । नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु ।’
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतिका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन दिएका छन् । ‘मकहाँ एउटा पनि पुलिस नआओस् । अन्याय भयो भनेर साच्चि नै अन्याय अनुभुत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस् ।’
राजनीतिक परिस्थितिको प्रभाव गृहमन्त्रालयमा पर्न नहुने पनि पौडेको भनाइ छ ।
काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा र कानून कार्यान्वयनमा अब्बल देखिनेगरी काम गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
बिहीबार गृहमन्त्रालयमा पदभार ग्रहणपछि गृहमन्त्रालयका अधिकारीहरुसँगको परिचयात्मक बैठकमा उनले गृह मन्त्रालय मातहतका निकाय पारदर्शी रुपमा काम गर्नुपर्ने बताए । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही गर्ने उनको चेतावनी छ ।
मन्त्री अधिकारीले भने, ‘शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँकतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्परमाइज हुँदैन ।’
विकासमा तिव्रता र सुशासनको खाँचो भएकोले जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन उनलेउ निर्देशन दिए । मन्त्री अधिकारीको पदवहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु र विभागीय प्रमुखरुको उपस्थिति रहेको थियो ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी आवश्यक भएको बताएका छन ।
‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा गृहमन्त्री थापाले उक्त कुरा वताएका हुन । नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र जनसाधारणको सहभागिता बढाउनुपर्नेमा उनको जोड थियो ।
कार्यक्रममा भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
गृहमन्त्री थापाले हिंसा, अपराध, असुरक्षा तथा सामाजिक अपराधलगायत अनेक जोखिमको सामान गर्दै शहरहरूलाई अपराधमुक्त तुल्याउन नेपाल सरकारले गरेका प्रयासबारे जानकारी दिए ।
राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गर्नुभएको एकदिने उक्त छलफलमा १६ देशबाट मन्त्रीस्तरीय प्रतिनिधित्व भएको थियो भने कैयौँ उच्चस्तरीय वक्ताले भाग लिएका थिए ।
काठमाडौं । गृहमन्त्रीमा पुन: नियुक्त भएका रामबहादुर थापा ‘बादल’ ले सपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहमा बादललाई पद तथा गोपनियताको सपथ गराएकी छन् ।
सपथ लिन बादल नेपाली पोशाक दौरासुरुवालमा उपस्थित भएका थिए । यसअघि सामान्यतया माओवादीका मन्त्रीहरूले सपथमा सुटपेन्ट लगाउने गरेका थिए ।
सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए । उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित भएनन् ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि माओवादीको कारवाहीको पत्रानुसार संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
उनलाई आजै प्रधानमन्त्री केपी शर्मा ओलीले पुन: गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई गृहमन्त्रीमा नियुक्त गरेकी छिन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
बादलको आजै साँझ ५ बजे राष्ट्रपति भवनमा सपथग्रहण गर्ने कार्यक्रम तय छ ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेससभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।
काठमाडौं । गृहमन्त्री रामवहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद रिक्त भएको छ ।
नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद रिक्त भएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए ।
सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् ।
२०७४ सालमा राष्ट्रियसभा गठनका क्रममा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा वागमती प्रदेशबाट निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो ।
बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्ने बताइएको छ । रिक्त राष्ट्रियसभा सदस्य पदका लागि ३५ दिनभित्र उपनिर्वाचन हुनेछ ।
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न अपराधी पहिचानमा प्रहरी सफलता नजिक पुगेको बताएका छन् । उनले भागरथी प्रकरणमा निर्मला पन्तको जस्तो कुनै कमजोरी नहुने प्रष्ट पारेका छन् ।
नेपाल बार एशोसियसनका पदाधिकारीसहित महिला कानून व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले चाँडै भागरथी हत्यामा संलग्न व्यक्तिहरू सार्वजनिक हुने बताए । प्रहरी अनुसन्धान सफलता नजिक पुगेको गृहमन्त्रीको भनाइ थियो ।
नेपाल बार एशोसिएसन महिला समितिका पदाधिकारीहरुले मंगलबार गृहमन्त्री थापालाई भेटेर बैतडीको दोगडाकेदार-३ मा भागरथी भट्टलाई बलात्कार गरी हत्या गर्ने हत्यारामाथि अनुसन्धान गरी कारबाहीको दायरमा ल्याउन माग गरेका थिए ।
नेपाल बार एशोसिएसनका उपाध्यक्ष रक्षा बस्यालले अपराधीहरू छिट्टै पक्राउ पर्ने विश्वास दिलाउन खोजिएको बताइन् ।
महिला कानून व्यवसायीहरूले निर्मला पन्तको घटनामा जस्तो कमजोर अनुसन्धान नगर्नसमेत गृहमन्त्री थापासमक्ष माग गरेका छन् ।
काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछिको हत्यामा संलग्नलाई तत्काल गिरफ्तार गर्न नेपाल विद्यार्थी संघले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ ।
मंगलबार पूल्चोकस्थित मन्त्रीनिवासमा पुगी नेविसंघ पदाधिकारीहरूले किशोरी हत्या प्रकरणको छानबिनलाई प्रभावकारी बनाउन र दोषी उम्कन नपाउने सुनिश्चित गर्न माग गरेका हुन् ।
नेविसंघ अध्यक्ष राजीव ढुंगानाले गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै भागरथीसहित सम्झना विक, निर्मला पन्तलगायतको हत्याका दोषीलाई पनि कारबाही गर्न माग गरे ।
‘किशोरी बलात्कारका पुराना घटनामा पनि दोषीलाई कारबाही भएको छैन । यसपटक त्यस्तो नियति नहोस् । दोषीलाई कारबाही नभए नेविसंघ कडा आन्दोलनमा उत्रन्छ’, अध्यक्ष ढुंगानाले भने ।
नेविसंघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले दोषी कुनै हालतमा नउम्कने बताए । प्रहरीले प्रभावकारी ढंगबाट अपराधको अनुसन्धान जारी राखेको भन्दै गृहमन्त्री थापाले बैतडी घटनाका अपराधी छिट्टै पक्राउ पर्ने विश्वास दिलाए ।
चितवन । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको सामेबार भण्डारामा उद्घाटन गर्दै उनले प्रहरी बल नेपाललाई प्राप्त सीमा सुरक्षाको कार्यादेशलाई थप प्रभावकारी रुपमा सम्पादन गर्न यसले सहयोग पुर्याउने बताए।
उनले भने, ‘सबै निकायबीचको पारस्परिक समन्वय र सहकार्यबाट मात्रै शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरा सम्भव हुन्छ ।’ उनले अन्य सुरक्षा निकायसँग समेत आवश्यक समन्वय गर्दै अघि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
सशस्त्र प्रहरीलाई समयानुकूल जनशक्ति थप गर्दै आधुनिकीकरण र प्रविधिमैत्री बनाउन एवं संगठनको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै लैजान सरकार प्रतिबद्ध रहेको उनले बताए।
गृहमन्त्रीले भने, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो पेशागत ज्ञान, दक्षता र क्षमता अभिवृद्धि गरी समयानुकूल कार्यसम्पादन गर्न सकेमा राष्ट्र र संगठनको लक्ष्य प्राप्तिमा थप टेवा पुग्नेछ।’
उनका अनुसार चालु आर्थिक वर्षमा २२१ बोर्डर आउट पोष्ट९बिओपी० स्थापना गर्ने लक्ष्यका साथ मन्त्रालय अघि बढिरहेको र यस वर्ष ८७ नयाँ बिओपी स्थापना भइसकेको छ।
भारत र चीन दुवै देशसँग सिमाना जोडिएको वाग्मती प्रदेशको अलग र विशेष महत्व रहेको र सुरक्षाको दृष्टिले समेत उच्च संवेदनशील रहेको बताउँदै उनले राष्ट्रको आन्तरिक सुरक्षालाई बलियो पार्न अझै उच्चस्तरको ज्ञान, सीप र व्यावसायिक दक्षता प्रदर्शन गरी परिचालित हुन निर्देशन दिए।