Tag: गण्डकी प्रदेश

  • गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

    गण्डकी कांग्रेस चुनाव केन्द्रित हुँदै, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

    पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित हुँदै ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा कांग्रेसले प्रतिनिधि खटाएको हो ।

    भुगोलमा जाने प्रतिनिधिलाई प्रशिक्षण र सामग्रीसमेत दिएर पठाईएको गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले बताए । प्रत्येक निर्वाचन क्षेत्रमा २ जनाका दरले प्रतिनिधि पठाएको उनको भनाइ छ । प्रतिनिधिले चैत ५ देखि १५ सम्म आफ्नो क्षेत्रमा पुगेर निर्वाचन केन्द्रित प्रतिवेदन बुझाउनु पर्ने छ । प्रदेश समितिका सदस्यहरुलाई जिम्मेवारी दिएर पठाईएको हो ।

    शर्माले पार्टीको सिद्धान्त, नीति र विचारलाई पार्टीको तल्लो तहसम्म पुर्‍याउन प्रतिनिधि खटाईएको बताए । ‘जनस्तरमा परिवर्तित कांग्रेसलाई पुर्‍याउनु छ । प्रतिनिधिहरुले नागरिकलाई प्रत्यक्ष भेटेर कांग्रेसका बारेमा भन्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि तयार भएको प्रतिवेदनका आधारमा कांग्रेसले अगाडीको रणनीति तयार गर्छौं ।’

    प्रतिनिधिहरुले एमसीसीबारे भ्रम चिर्ने महामन्त्री विष्णुप्रसाद लामिछानेले बताए । ‘एमसीसी नेकपा एमालेका पालामा दर्ता भएको हो । कांग्रेस सत्तामा हुँदा वा नहुँदा जनतामाझ एउटै कुरा गर्छ । कम्युनिष्टका जस्तो रंग फेर्दैन,’ उनले भने, ‘राष्ट्रहितका पक्षमा भएकाले विरोधमा उत्रेकालाई पनि साथ लिएर पास गरेको हो । संसदमा छिराएपछि त्यहीँबाट टुंगो लगाउनुपर्थ्यो । अन्तत लगायो ।’ जनमानसमा परेको भ्रमबारे प्रतिनिधिले स्पष्ट पार्ने उनको भनाई छ ।

  • राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

    राष्ट्रियसभा चुनाव : गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गरे

    पोखरा । राष्ट्रियसभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन् ।

    एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लीला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई उम्मेदवार बनाएको छ । सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको थियो ।

  • ‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

    ‘गठबन्धनका सूत्रधार रामचन्द्र हुन्, एमालेविरुद्ध तीनै तहका चुनावमा संयुक्त लड्नुपर्छ’

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले अहिलेको सत्ता गठबन्धनलाई राष्ट्रियसभासम्म मात्र नभएर आगामी तीनै तहका निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । एमालेको दम्भ र अधिनायकवादी शासन रोक्न अहिलेको गठबन्धन संघ र प्रदेशसम्म मात्र नभएर स्थानीय तहको चुनावसम्मै लैजानुपर्ने बताएका हुन् ।

    नेपाल प्रेससँगको नेपाल टकमा भिडिओ अन्तर्वार्ताका क्रममा नेपाली कांग्रेसका नेता समेत रहेका नेपालीले सत्ताका लागिमात्र गठबन्धन गरेको भन्ने कुराले जनतामा नकारात्मक सन्देश जाने भन्दै चुनावसम्म गठबन्धन कायम राख्नुपर्ने बताए ।

    उनले भने, ‘नेकपा एमालेको विरुद्ध बनेको यो गठबन्धन सत्ताको लागिमात्र हो भन्ने पार्नु हुँदैन । अहिले पनि एमालेले लोकतन्त्रको आवरणमा अधिनायकवादको प्रयास गरिरहेको छ । त्यसलाई रोक्न पनि अहिलेको गठबन्धनलाई कायमै राख्नुपर्छ । आउने तीनै तहका चुनावमा गठबन्धन गर्नुपर्छ । यद्यपि यो सजिलो विषय होइन ।

    कांग्रेसभित्र चुनावसम्म गठबन्धन गर्ने कि एक्लै एमालेसँग प्रतिस्पर्धा गर्ने भन्ने दुईधार रहेको भन्दै मुख्यमन्त्री नेपालीले सभापतिमा जसले जिते पनि गठबन्धन भने कायमै रहने दाबी गरे । उनले देउवा नजिते गठबन्धन भत्किने र केपी ओली पुनः सत्तामा फर्किने भन्ने देउवानिकट नेताहरुको दावी भने चुनावी खपतका लागिमात्र भएको बताए ।

    नेपालीले भने, ‘हाम्रो सभापति त सुरूमा कम्युनिष्टहरूमा गठबन्धन गर्ने कुराको विपक्षमै उभिनुभएको हो नि । रामचन्द्र पौडेलले नै हो प्रतिनिधिसभा विघटनविरुद्ध ओलीविरुद्ध गठबन्धन गर्ने प्रस्ताव राखेको । त्यसमा देउवाजी पछि प्रधानमन्त्री बन्ने बेलामामात्र आउनुभएको हो । त्यसैले देउवा हारे गठबन्धन भत्किन्छ भन्ने कुरा चुनावी स्टन्टमात्र हो ।

    मुख्यमन्त्री नेपालीले गठबन्धनलाई राष्ट्रियसभा चुनावसम्म वा सरकार गठनमा मात्र सिमित राख्दा माओवादी र नेकपा एसमाथि धोखा हुने बताए । माधव नेपालले ठूलो जोखिम मोलेर सत्ता गठबन्धन बनेकोले गठबन्धन चुनावसम्म नलैजादा उनको दल संकटमा पर्ने नेपालीको भनाइ छ ।

    कांग्रेसको पहिलो मुख्यमन्त्री नेपालीले कम्युनिष्ट पार्टीहरूसँग कांग्रेसको सहकार्य लामो भए पनि अहिले माओवादी र नेकपा एससँगको गठबन्धन कम्फरटेबल रहेको बताए । एमाले कांग्रेसको मुख्य प्रतिस्पर्धी समेत भएकाले एमाले भन्दा अरु कम्युनिस्ट पार्टी कांग्रेसलाई सहज भएको उनले बताए ।

    कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार बनिरहेका नेपाली रामचन्द्र पौडेलनिकट नेता हुन् । उनले संस्थापनइतर पक्षबाट साझा उम्मेदवारको प्रयास जारी नै रहेको भन्दै पौडेलमाथि न्याय हुनुपर्ने बताए । शशांक कोइरालाले समेत पौडेललाई छाडेकाले त्यहिँबाट सहमति खोजिनुपर्ने बताए ।

    प्रस्तुत छ,

    गण्डकीका मुख्यमन्त्री पोखरेलसँगको भिडिओ अन्तर्वार्ता

  • कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका शर्मा निर्वाचित

    कांग्रेस गण्डकी प्रदेश सभापतिमा संस्थापन इतरका शर्मा निर्वाचित

    पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा ६ सय १३ मत ल्याउँदै उनी सभापतिमा निर्वाचित भएका हुन् ।

    सभापतिका अर्का उम्मेदवार अर्जुन जोशीले ५ सय २८ मत ल्याए । सभापतिमा निर्वाचित कास्कीका शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

    उपसभापतिमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ , महामन्त्रीमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने तथा सहमहामन्त्रीमा कोपिला रानाभाट, रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएका छन् ।

    उपसभापतिमा निर्वाचित मेखलालबाहेक सबै पदाधिकारी शुक्रराज नेतृत्वको प्यानलका हुन् ।

  • अख्तियारको प्रतिवेदन : लकडाउनको बेला गण्डकीमा झन् बढी भ्रष्टाचार

    अख्तियारको प्रतिवेदन : लकडाउनको बेला गण्डकीमा झन् बढी भ्रष्टाचार

    पोखरा । चैत २०७६ देखि देशभर लकडाउन जारी भयो । लकडाउन अवधिभर गण्डकी प्रदेशका सरकारी कार्यलय पनि बन्द जस्तै थिए । अत्यावश्यकबाहेकका सार्वजनिक कार्यालय पनि घरैबाट चले ।

    तर, यो अवधिमा भ्रष्टाचारका घटना भने झन् बढेको प्रतिवेदन सार्जनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका अनुसार आर्थिक वर्ष २०७७/७८ मा भ्रष्टाचारसम्बन्धी ९ सय ३२ उजुरी परेका छन् । यो उजुरी अघिल्लो वर्षभन्दा ९० ले बढी हो ।

    कास्की गण्डकी प्रदेशको राजधानी हो । भ्रष्टाचारका सबैभन्दा धेरै मुद्दा पनि यहीँबाट परेको छ । अघिल्लो आर्थिक वर्षको तथ्यांक हेर्दा एकै वर्ष यहाँ चार सय ११ वटा भ्रष्टाचारका उजुरी परेका छन् । मनाङ र मुस्ताङका उजुरी तुलनात्मक रुपमा निकै कम छन् । मुस्ताङका ६ वटा र मनाङबाट सात वटा उजुरी परेको अख्तियारले जनाएको छ । यस्तै, तनहुँमा एक सय सात, स्याङ्जामा एक सय दुई, पर्वतमा ७२, बागलुङमा ६८, लमजुङमा ५७, गोरखामा ५३, म्याग्दीमा ४९ र नवलपुरमा ४६ वटा उजुरी परेका छन् । सबैभन्दा बढी उजुरी स्थानीय सरकार अन्तर्गत छन् । ४६ प्रतिशत स्थानीय तहका उजुरी छन् भने संघ मातहतका ३३ र प्रदेश मातहका २१ प्रतिशत छ ।

    दर्ता भएका उजुरीमध्ये करिब ५४ प्रतिशत मात्रै फर्च्छ्यौ भएका छन् । देशव्यापीरूपमा यो उजुरी भने अन्य प्रदेशको भन्दा कम हो । सात प्रदेशमध्ये गण्डकीको ७.१६ प्रतिशत छ । प्रदेश २ मा सबैभन्दा धेरै २४.५६ प्रतिशत छ भने वागमतीमा २२.५९ प्रतिशत उजुरी छन् । यसैबीच, अख्तियार पोखराले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई अघिल्लो आर्थिक वर्षको प्रतिवेदन बुझाएको छ । अख्तियार प्रमुख कोषहरि निरौलाले गुरुङलाई प्रतिवेदन बुझाएका हुन् ।

    प्रतिवेदन लिएपछि प्रदेश प्रमुख गुरुङले ठूला ओहदामा बसेकालाई निगरानी गर्न आग्रह गरेका छन् । ‘ठूल्ठूला माछा जति सबै फुस्कनी, सानातिना तहकालाई मात्र कारबाही गर्ने सिस्टमले विश्वास टुट्छ,’ उनले भने, ‘अब ठूला माछा पनि समात्नुस् । भ्रष्टाचारीहरूलाई कारबाही गर्न सक्छ, गर्छ भन्ने जनविश्वास स्थापित गर्न सक्नुपर्छ ।’

  • सपथका लागि जाँदा बाटोबाटै फर्काइएका दोवाटे बने बिनाविभागीय मन्त्री

    सपथका लागि जाँदा बाटोबाटै फर्काइएका दोवाटे बने बिनाविभागीय मन्त्री

    काठमाडौं । गण्डकी सरकारको मन्त्रीमा नियुक्ति भएर सपथका लागि जाँदै गर्दा बाटोबाटै फर्काइएको दोवाटे विश्वकर्मलाई बिनाविभागीय मन्त्री बनाइने भएको छ ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट दोवाटेलाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मन्त्रीमा नियुक्त गरेका हुन् । दोवाटेको सपथग्रहण आजै साँझ हुने भएको छ ।

    जेठ २९ मै मन्त्री हुने निश्चित भएका दोवाटेलाई बाटोबाटै फर्काएर विन्दुकुमार थापालाई मन्त्री बनाइएपछि आलोचना भएको थियो ।

  • गण्डकीमा थपिएका मन्त्रालय सचिवविहीन

    गण्डकीमा थपिएका मन्त्रालय सचिवविहीन

    पोखरा । स्थापनाकालमा मुख्यमन्त्रीसहित सात मन्त्रालय भएको गण्डकी प्रदेशमा अहिले चार थपेर ११ मन्त्रालय छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेकपाको किचलोले दोस्रो पटक गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सत्ता टिकाउनका लागि मन्त्रालय फुटाएर ११ जनाको मन्त्रिमण्डल तयार गरेका थिए ।

    अदालतको निर्णयका कारण नेकपाले आधिकारिकता नपाएपछि नेकपा एमाले र माओवादी केन्द्र अगल भयो । त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि पर्‍यो । त्यसैको फलस्वरुप गण्डकीमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको सहयोगमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भए । पोखरेल सरकारले पनि ११ वटै मन्त्रालयलाई निरन्तरता दियो ।

    गण्डकीमा सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्रालय बनाइएको थियो । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती र वन, वातावरण तथा भू-संरक्षण मन्त्रालय बनाइयो ।

    यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालय टुक्राएर भौतिक पूर्वाधार, शहरी तथा यातायात र उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय बनेको हो । यस्तै प्रदेशमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण, कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय र अर्थ मन्त्रालय गरी प्रदेशमा ११ मन्त्रालय रहेका छन् ।

    ११ मन्त्रालयका लागि भवन व्यवस्थापन पनि भयो । तर काम गर्नका लागि कर्मचारी भने अझै अभाव छ । थपिएका मन्त्रालयहरूमा अहिले पहिले कै सचिवहरूले काम गरिरहेका छन् । जुन मन्त्रालयबाट टुक्रिएका हुन् तीनै मन्त्रालयका सचिवहरूले काम गरिहेको प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मीले जानकारी दिए ।

    प्रदेशले कर्मचारी माग भए पनि संघ सरकारले तोकेर पठाउन ढिला गरेको उनले बताए । टुक्रिएर बनेका युवा तथा खेलकुद र पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसहित वन, वातावरण तथा भू संरक्षण साथै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकाश मन्त्रालयमा तत्कालिन मन्त्रालयका सचिवहरूले काम गरिहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विनोदविन्दु शर्मालाई पहिला नै संघले नियुक्त दिइसकेको छ । भने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा रामकुमार श्रेष्ठ केही दिनअघि मात्र नियुक्त भएको डा. रेग्मीले जानकारी दिए ।

    मन्त्रालयको आफ्नै सचिव नहँुदा काममा असर परेको पर्यटन, उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बताए । ‘एउटा सचिवले दुई वटा मन्त्रालय हेर्न पर्दा अलिकति समस्या त पर्ने नै भयो,’ मन्त्री शर्माले भने, ‘मन्त्रालय पनि एउटा मन्त्रालय फुटेर बनेको भएकाले अलिकति समस्यै भएको छ ।’

    यद्यपि, सचिव कै कारण मन्त्रालयको काम भने नरोकिएको उनको भनाइ छ । उनको मन्त्रालय र वन, वातावरण तथा भू संरक्षण मन्त्रालय तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. महेश्वर ढकालले हेरिरहेका छन् ।

    भने युवा तथा खेलकुद र शिक्षा, संस्कृति, विज्ञान प्रविधी तथा सामाजिक विकाश मन्त्रालय तत्कालिन सामाजिक विकाश मन्त्रालयका सचिव बिनोदबहादुर कुँवरले सम्हालिरहेका छन् ।

    मन्त्रालय सञ्चालनमा कर्मचारी अभावले त्यति ठूलो बाधा नपरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले बताए । दरबन्दी अनुसार संघले कर्मचारी नपठाउँदा केही समस्या परेको भने उनले स्वीकारे ।

    संगठन व्यवस्थापन तथा सर्वेक्षण सकिएर मन्त्रीपरिषद्ले पास गरिसकेको उनको भनाइ थियो । ‘मन्त्रालयको ओएनएमको काम सकियो त्यसलाई क्याविनेटले स्वीकृति दिईसकेको स्थिती हो,’ उनले भने, ‘निर्देशनालय तर्फको कर्मचारीको ओएनएमको काम अन द वे ।’

    पूर्ण रुपमा काम गर्न अहिलेको कर्मचारीले सरकारलाई गाह्रो ह’ने भएपनि तर कार्मचारीको कारण कामै गर्न नसक्ने अवस्था नरहेको प्रवक्ता खड्काले बताए ।

  • मन्त्रीको सपथग्रहण गर्न गएका दोबाटेको नाम बाटोमै काटियो

    मन्त्रीको सपथग्रहण गर्न गएका दोबाटेको नाम बाटोमै काटियो

    काठमाडौं । उद्योगपति सांसदको धम्की र पार्टीमा गुटको दबाब कारण गण्डकी प्रदेशको मन्त्रीमा छानिएका कांग्रेस सांसद दोबाटे विक सपथग्रहणका लागि जाँदा-जाँदै उनको नाम काटिएको छ ।

    कांग्रेसले आज तीन मन्त्रीको नाम छानेर १ बजे सपथग्रहणका लागि बोलाइएको थियो । छानिएका तीन मन्त्रीमध्ये मणिभद्र शर्मा र मेखलाल श्रेष्ठले सपथ लिँदैछन् । तर, दोबाटे विकको नाम भने अन्तिम समयमा काटिएको छ । मणिभद्र पर्यटन र मेखलाल सामाजिक विकासमन्त्री नियुक्त गरिएको बताइएको छ ।

    शेरबहादुर देउवा पक्षीय कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापालाई कानूनमन्त्री बनाउन माथिबाट दबाब परेपछि रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका उनी निकट दोबाटे विकको नाम काटिएको स्रोतले जनाएको छ ।

  • गण्डकी मन्त्रिपरिषद् विस्तार, कांग्रेस र माओवादीले छाने ६ मन्त्री

    गण्डकी मन्त्रिपरिषद् विस्तार, कांग्रेस र माओवादीले छाने ६ मन्त्री

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । कांग्रेसबाट तीनजना मन्त्रीको नाम टुंगो लागेपछि आजै सपथग्रहण हुने भएको छ ।

    कांग्रेसबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाइने भएको छ । शर्मा बागलुङका कांग्रेस सांसद हुन् ।

    श्रेष्ठ भने कांग्रेस नेता गोपालमान श्रेष्ठका स्वकीय सचिव थिए । श्रेष्ठ मन्त्री बनेका बेला मेखलालले नै सबै काम हेर्थे । गोपालमानले नै उनलाई प्रदेशसभामा समानुपातिबाट सांसद बनाएका हुन् ।

    माओवादीले तीन मन्त्रीमा चन्द्र बुढा, रामजी बराल र दीपक घर्ती मगरलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई नाम दिइसकेको छ ।

  • गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय

    गण्डकी सरकारको अस्थायी कार्यविभाजन, मनाङे फेरि पनि विनाविभागीय

    काठमाडौं । गण्डकी मन्त्रिपरिषद्मा रहेका ४ जना मन्त्रीमध्ये २ जनालाई जिम्मेवारी तोकिएको छ ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरू कुमार खड्का र मधुमाया अधिकारीलाई मन्त्रालय तोकेकी हुन् ।

    नेपाली कांग्रेसबाट मन्त्री बनेका खड्कालाई सामाजिक विकास मन्त्रालय र माओवादी केन्द्रबाट मन्त्री बनेकी अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    राजिव गुरुङ (दीपक मनाङे) लाई भने कुनै जिम्मेवारी दिइएको छैन । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयमा दावी गरिरहेका छन् । त्यस्तै जसपाबाट मन्त्री बनेका हरिशरण आचार्य पनि विनाविभागीय नै छन् । मुख्यमन्त्री पोखरेलसँगै चार मन्त्रीले सपथ लिएका थिए ।

  • मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    मैले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखियो : दीपक मनाङे

    दीपक मनाङेले जोगाइदिएको गण्डकीको प्रदेशसभा र उनकै भरमा टिकेको विपक्षी गठबन्धनको सरकारको भविष्य अझै पनि ढुक्क हुने अवस्थामा छैन । जसपाले कांग्रेसबाट धोखा हुन लागेको बताइरहेका बेला दीपक मनाङे भने शेरबहादुर देउवा, प्रचण्ड र बाबुराम भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।

    पछिल्लो पटक प्रचण्डसँग वृहत् राजनीतिक छलफल भएको भन्दै फोटो सार्वजनिक गरेका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय मागेको चर्चा चले पनि उनले अब भौतिक पूर्वाधार मन्त्रालयमा आँखा लगाएका छन् ।

    प्रदेशको राजनीतिमा कांग्रेस र माओवादीसँग सहकार्य गरेका उनी मनाङको राजनीतिमा भने एमालेको साथ छाड्न नसक्ने बताउँछन् । एमालेसँग मिलेर आफूले चुनाव जितेको भन्दै मनाङेले नेपाल प्रेससँग भने- यो कुरा चाहिँ अलि हाइलाइट गर्दिनुस् है, मनाङमा एमालेसँग मिलेर चुनाव लड्न पाइन भने म राजनीति नै गर्दिनँ ।

    आफू नैतिकताको राजनीति गर्ने व्यक्ति भएको भन्ने मनाङेसँग प्रचण्डसँगको भेटपछि टेलिफोनमा गरिएको कुराकानी प्रस्तुत छ नेपाल टकमा:

    तपाईंले प्रचण्डसँग भेट गरेको फोटो सार्वजनिक भएपछि धेरै प्रतिक्रिया आएका छन्, प्रचण्डसँगको भेटघाट कुन विषयमा केन्द्रित हो ?

    हाम्रो गण्डकीमा राम्रोसँग मिलेर काम गर्ने भन्ने हो । त्यसैको छलफल गर्नका लािग उहाँसँग भेटेको हो । प्रचण्डको केहि कुरा मनपर्छ मलाई, त्यसैले पनि भेटेको हो । जनजाती, दलित, मधेसीका विषयमा माओवादीको ठूलो योगदान छ । त्यो कुरा कसैले अस्वीकार गर्न मिल्दैन । माओवादीको विचारबाट मिलेर अघि बढेको हो नि । त्यसैले मैले भेटेको हो ।

    गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा- सैसा पनि उठाउँदैन यहाँको पुलिसले ।

    जसपालाई अर्थ मन्त्रालय दिने कुरा आएको छ । तपाईंको मन्त्रालय कुन हो अब ?

    अहिले चाहिँ सरकार नढाली नहुने भएकाले मैले आफ्नो भूमिका निर्वाह गरेको हो । मैले मन्त्रीका लागि केही पनि कुरा गरेको छैन र म गर्ने मान्छे पनि होइन । पदका पछि लाग्ने पनि मेरो बानी छैन । जहाँ खाली छ त्यहाँ दिइ नै हाल्छन् । संसद बचाउन मैले यस्तो गरेको हो ।

    तपाईंले त गृह मन्त्रालय मागेको भन्ने पनि थियो नि ?

    पहिले त्यसो सोचेको हो तर गण्डकीमा पुलिस एकदम ठीक छ क्या अहिले ! काठमाडौंमा जस्तो होइन क्या ! यहाँको जीवन श्रेष्ठ ठीक मान्छे रहेछ । पैसा-सैसा पनि उठाउँदैन यहाँको पुलिसले । त्यसो भएपछि गृह मन्त्रालयभन्दा पनि मनाङमा बाढी पहिरो गएको विषयले ध्यानाकर्षण पनि गराएको हो । मैले चाहिँ अब अलि विकास निर्माण गर्ने मन्त्रालय चलाउँ कि भन्ने सोचेको छु ।

    तपाईंले भौतिक पूर्वाधार मन्त्रालय दावी गर्ने त्यसो भए ?

    हाम्रो अहिले ७ वटा जिल्ला बाढी पहिरोबाट प्रभावित छ । त्यस क्षेत्रको चिन्ता हो । म आफै भौतिक पूर्वाधार मन्त्री भए हुन्थ्यो भन्ने हो । त्यो मन्त्रालयको नेतृत्व गर्नु एकदमै जरुरी र महत्वपूर्ण छ ।

    प्रचण्डलाई भेटेपछि तपाईं आउने चुनाव माओवादीबाट लड्ने भन्ने कुरा पनि आयो नि ?

    होइन म आउने चुनाव पनि स्वतन्त्र नै लड्छु । यो प्रदेशमा चाहिँ जसपा, जनमोर्चा र म मिलेर जान्छौं । किनभने यस्तो बेलामा पनि हामी मिलेको छौ । यी दुवै पार्टी पनि मलाई मन परेको छ । जनमोर्चाको लेडिज र जसपाको पनि लेडिज भएकाले मलाई राम्रो लागेको हो । एकदम राम्रा छन् क्या तिनीहरू । राजनीतिमा यस्तो हुनुपर्छ ।

    जसपाको महिला सांसदलाई मन्त्री बनाउन पनि लबिङ गर्दै हुनुहुन्छ होइन ?

    हो यार, मैले उहाँको खटन पटन देखेँ । हामीलाई राम्रो मान्छे चाहिने हो नि त । यस्तो व्यक्तिलाई मैले सहयोग गर्नुपर्छ । महिलालाई नेतृत्वमा ल्याउनुपर्छ । लेडिज भनेर नहुने रहेछ हेर्नुस्, केटाहरूजस्तो रक्सी खाएर त बिकेका छैनन् । केटाहरु त रक्सीमा बिक्छन् । महिला त कहिल्यै यस्तोमा बिकेको छैन नि त । जनमोर्चाको कृष्ण थापालाई हेर्नु त । यस्तो फटाहा व्यक्ति पनि नेता हुन्छ । पद त बेचेर खाए-खाए, फेरि मुद्दा पनि हाल्न भ्याए ।

    मदिराकै कुरा गरिहाल्नुभयो, अनि खेलकुद परिषदका सदस्य सचिवको बारेमा तपाईले चरित्रहत्या गर्ने कुरा किन बोलेको ?

    मैले थाहा पाएको हिसाबले जे भने भने, पर्सनल इस्युमा हामी जानु पनि हुँदैन हेर्नुस् । एक-अर्कोलाई सम्मान गर्ने कुरा छँदैछ । अब हेर्नुस् व्यक्तिगत कुरा चाहिँ नगरौं भन्ने मैले पनि सोचेँ , तर उहाँहरु परिवर्तन हुनुपर्‍याे । भ्रष्टाचार पनि गर्नु भएन । म परिवर्तन हुने भनेको नबोल्ने हो ।

    यसअघिको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तपाईंलाई सुधार गर्न खोजेको तर सकिन भन्नु भयो, तपाई नसुध्रिने नै हो ?

    पृथ्वीसुब्बा दाइले भनेको नराम्रो चाहिँ होइन । त्यसमा के हो भने मैले एक भोट हालेपछि उहाँ मुख्यमन्त्री हुने र मैले नहाल्दा सडकमा जाने अवस्था हुने रहेछ नि त ।

    तपाई यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन । अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन ।

    मैले त मनाङको विकास हेर्ने हो । मलाई जिताउनमा पनि कसैको योगदान छैन । आफ्नो जिल्लामा बजेटको ओइरो हाल्ने तर मनाङजस्तो सडक समेत नभएको जिल्लामा बजेट नदिने । मैले यिनिहरूलाई नमस्ते गरेर बस्ने होइन ।

    मलाई जिताउन यिनीहरूको पनि केही योगदान छैन । त्यसैले मैले त मनाङको जनतालाई हेर्ने हो । मनाङलाई राम्रो बनाउनुपर्छ भन्ने हो ।

    भनेपछि अब मनाङमा पहिले जस्तो एमालेसँग मिलेर चुनाव नलड्ने हो ?

    अब तपाईं यसलाई हाइलाइट गर्नुस् है, बदनाम गर्नेले मलाई गरिरहेको छ । मनाङमा त म एमालेसँग मिलेर लडेको हो अब पनि लड्छु । मिलेर जान सकिएन भने चुनाव नै लड्दैन ।

    अगर मैले मनाङमा एमालेसँग मिलेर लड्न सकेन भने चुनावै लड्दिन । कमिटमेन्टभन्दा बाहिर जानु हुँदैन,सबैभन्दा ठूलो आफूले दिएको जमान हो ।

    हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोलीजस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    प्रदेशका कांग्रेससँग म मिले भन्दैमा मनाङका कांग्रेसहरू खुसी नभए हुन्छ । एमालेसँग मिलेर मैले लड्न सकिन भने मैले राजनीति गर्दिनँ ।

    मलाई कस्तो अप्ठेरो थियो भने मैले नगर्नेवित्तिकै संसद विघटन हुन्छ । संसद विघटनको लागि त म मान्दिन नि ! मेरो ८३ वर्षको फुपू गएर मलाई भोट हालेर जिताएको छ । कहिल्यै नजाने मान्छेहरू गएर भोट हालेकाे छ ।

    म मन्त्रीको लागि बिक्दिन । मन्त्री पद केही होइन क्या । तर, मनाङमा चाहिँ म एमालेसँगै मिल्छु । त्यसो भएपछि मनाङमा म पनि जित्छु एमालेको पाल्दोन छोपाङ पनि जित्छ ।

    म कांग्रेस बन्न सक्दिनँ । राजनीति भनेको यसलाई नै भन्दो रहेछ । हाम्रो जिल्लामा एमालेको सांसद पाल्देनले जति विकास कसैले गर्दैन । त्यो मान्छे दुःख गर्ने मान्छे चाहिँ हो । मलाई यस्तै मान्छे मन पर्छ । हेर्नुस् मैले इथिक्स छाड्न मिल्दैन । नेताले बोलेपछि भगवानको बोली जस्तो हुनुपर्छ । प्रदेशमा हामी मिलेर गयौं ठीक छ, तर जिल्लामा म कांग्रेससँग मिल्न सक्दिन ।

    भनेको प्रदेश जोगाउनका लागि मात्र हो तपाईंले भूमिका निर्वाह गरेको हो ?

    मैले नगर्ने वित्तिकै संसद विघटन हुन्छ । म संसद विघटन गर्ने पक्षमा थिएन । मलाई ८० वर्षको बुढा आमा-बुवाले मत दिएका छन् । म उहाँहरूको भोट खेर हालेर संसद विघटन गर्ने पक्षमा भोट हाल्दिनँ । एउटा मन्त्रीको दाउमा जनताको भोट बेच्न चाहान्नँ ।

    भनेपछि प्रदेशको सरकारका मात्र सहकार्य हो कांग्रेस माओवादीसँग ?

    कुरा त्यही हो । राजनीति भनेको के हो थाहा हुँदैछ । मेरो क्षेत्रमा अरुले जित्ने सपना नदेखे हुन्छ । म राजनीतिक सिद्धान्त छोड्दैन । नेताको काम झुट बोल्ने होइन । भगवानको जस्तै नेताको बोली हुनुपर्छ भन्ने हो । प्रदेशमा हामी ४ वटा दल मिलेको हो तर मनाङमा एमाले र मैले नै हो जित्ने ।

    गण्डकी प्रदेश सरकारले कहिले पूर्णता पाउँछ ?

    म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ । मनाङमा खाद्यान्न तथा राहत पुर्‍याउनका लागि काठमाडौं आएको हो । अहिले सरकार तथा गैरसरकारी निकायसँग हामीले सहयोग मागिरहेका छौं ।

  • गण्डकीमा योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

    गण्डकीमा योजना आयोगको उपाध्यक्षमा काफ्ले नियुक्त

    पोखरा । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.रघुराज काफ्ले नियुक्त भएका छन् । आइतबार डा काफ्लेलाई गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको हो । प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि योजना आयोग खाली थियो ।

    तनहुँ साँगेका काफ्ले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यकारी निर्देशकमा उनी छनौट भएका थिए । उनले केही समय तत्कालीन जिल्ला विकास समिति तनहुँमा पनि काम गरेका थिए । मुख्यमन्त्री पोखरेल सरकारले गरेको यो पहिलो राजनीतिक नियुक्ति हो ।

     

  • गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१

    गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, पक्षमा ३१

    पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पाेखरेलले विश्वासको मत लिएका छन् ।

    प्रदेशसभा विश्वासको मत लिने पाेखरेलकाे प्रस्तावकाे पक्षमा ३१ जना सदस्यले मत दिए । त्यस्तै विपक्षमा २७ मत परेकाे छ ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा आज ५८ जना सदस्यहरू उपस्थित थिए । राष्ट्रिय जनमाेर्चाका सांसद कृष्णबहादुर थापा पदमुक्त भएका छन् भने सभामुख मतदानमा सहभागी भएनन् ।
  • मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ

    मुख्यमन्त्री असल हुनुहुन्छ तर विश्वासको मत दिन सकिँदैन : पृथ्वीसुब्बा गुरुङ

    पोखरा । गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवसरवादी गठबन्धनको सरकारलाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

    मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावबारे बोल्दै गुरुङले सफल कार्यकालको शुभकामना दिएपनि विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । ‘मुख्यमन्त्रीजी गण्डकी प्रदेशसभाकै पाको, लोकतान्त्रिक आन्दोलनमा योगदान गरेको र शालीन व्यक्तित्व हुनुहुन्छ । व्यक्तिगतरूपमा उहाँ असल भएपनि अवसरवादी गठबन्धन सरकारको नेतृत्व गरेकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पार्छु’, गुरुङले भने । उनले तनहुँमा मुख्यमन्त्री पोखरेलको परिवारले राजनीतिक रुपमा गरेको योगदान उल्लेखनीय भएको बताए ।

    संघीयता बलियो बनाउनकै लागि आफू मुख्यमन्त्री हुँदा काम गरेको भन्दै गुरुङले प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । ‘निरपेक्ष समर्थन वा निरपेक्ष विरोधको पक्षमा हामी छैनौं । सरकारले जनताको पक्षमा काम गरोस् हामी साथमा छौं । तर, गलत बाटोमा हिड्नुभयो भने हाम्रो झगडा पर्छ’, गुरुङले भने ।

    उनले काठमाडौंको मानसिकता बोकेर प्रदेश सरकार चलाउन नसकिने भन्दै केन्द्रको ह्याङबाट मुक्त हुन मुख्यमन्त्रीलाई सुझाव दिए ।

  • मुख्यमन्त्री पोखरेलको आग्रह- प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस्

    मुख्यमन्त्री पोखरेलको आग्रह- प्रदेशसभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिनुस्

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभामा विश्वासको मत मागेका छन् । विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री पोखरेलले राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि आफूलाई विश्वासको मत दिन अनुरोध गरे ।

    ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु’, मुख्यमन्त्री पोखरेलले भने । उनले सरकार गठनको १ सातामै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याउन सफल भएको दावी दावी गरे ।

    ‘नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि मलाई विश्वासको मत दिन अनुरोध गर्दछु’, पोखरेलले भने । उनले आफूलाई समर्थन गर्ने गठबन्धनका दलबाहेक प्रतिपक्षमा रहेका दललाई पनि सरकारलाई समर्थन गरेर सकारात्मक सन्देश दिन अनुरोध गरे ।

  • गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

    गण्डकीको नीति तथा कार्यक्रम बहुमतले पारित

    काठमाडौं । गण्डकी प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेशसभामा पेश गरेकी नीति तथा कार्यक्रम मंगलबार बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रम पारित भएपछि आजै प्रदेशको बजेट सार्वजनिक हुँदैछ ।

    नीति तथा कार्यक्रम दुई दिनसम्म छलफल भएको थियो । मंगलबारनीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विभिन्न विषयमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएका थिए ।

    पोखरेलले जवाफमा प्रदेशका नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता भएको बताउँदै बजेटमा अन्य पुरानै योजनालई निरन्तरता दिने बताए । मुख्यमन्त्री नेपालीको जवाफपछि सभामुख नेत्रनाथ अधिकारीले नीति कार्यक्र पारितका लागि निर्णयार्थ प्रस्तुत गरेका थिए ।

  • गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सन्देश- समय संवेदनशील छ, फुकेर चल्नोस्

    गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सन्देश- समय संवेदनशील छ, फुकेर चल्नोस्

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ‘फुकेर चल्न’ र ‘सोचेर बोल्न’ सुझाव दिएका छन् ।

    पहिलो मन्त्रिपरिषद् बैठकमै सेवासुविधाको छलफल चलाएर आलोचित बनेका मुख्यमन्त्रीलाई विश्वप्रकाशले सो सुझाव दिएका हुन् ।

    ट्विटरमा उनले लेखेका छन्, ‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यू ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ ! आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ ! फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय संवेदनशील छ !’

    गण्डकीमा हालै सरकार परिवर्तन भएर कांग्रेसका पोखरेल मुख्यमन्त्री बनेका हुन् । कांग्रेसले पहिलोपटक प्रदेश सरकार हाँक्ने मौका पाउँदा मुख्यमन्त्री विवादमा परेपछि पहिलो गाँसमै झिँगा परेझैं भएको छ ।

  • सर्वोच्चद्वारा कृष्ण थापाको सांसद पद खारेज

    सर्वोच्चद्वारा कृष्ण थापाको सांसद पद खारेज

    काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज गरिदिएको छ ।

    सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहने गरी दिएको आदेश रद्द गरेको हो ।

    थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै प्रदेशसभा सभामुख नेत्रराज अधिकारी, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग पुनरावलोकन (भ्याकेट) को निवेद दर्ता गरिएको थियो ।

    सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघिको अन्तरिम आदेशपछि परिस्थितिमा परिवर्तन भई हाल विपक्षी निवेदक कृष्ण थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद देखिएन । यस अवस्थामा विपक्षी निवेदन कृष्णा थापालाई गण्डकी पदेशसभा सदस्यको हैसियतमा काम गर्न दिनुभनि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरन नपरी सर्वोच्च अदालतको नियमावली २०७४ को नियम ४९ (७) बमोजिम खारेज गरिदिएको छ ।’

    सांसद थापा हालै गण्डकी प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने मतदानमा तटस्थ बसेका थिए । विपक्षमा भोट हाल्ने पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै जनमोर्चाले कारवाहीका लागि पत्र पठाएपछि प्रदेशसभाले उनलाई सांसदबाट हटाएको थियो । यसअघि पनि सोही कारवाहीमा पर्दा थापालाई सर्वोच्चको अन्तरिम आदेशले पुन:स्थापित गरेको थियो । गत जेठ २३ गतेको सो आदेश आज खारेज भएसँगै थापाको सांसद पद गुमेको छ ।

  • गण्डकी सरकारका प्रवक्ताको आक्रोश: मलाई बदनाम गराउन खोज्ने ? भ्वाइस रेकर्ड सुन्नुस !

    गण्डकी सरकारका प्रवक्ताको आक्रोश: मलाई बदनाम गराउन खोज्ने ? भ्वाइस रेकर्ड सुन्नुस !

    काठमाडौं । गण्डकीमा नयाँ सरकार निर्माणलगत्तै बसेको पहिलो मन्त्रिपरिषद वैठकमा पूर्वमुख्यमन्त्रीलाई सेवा-सुविधा दिने विषयमा छलफल भयो । पहिलो बैठक नै सेवा-सुविधामा केन्द्रित भएको भन्दै कृष्णचन्द्र पोखरेलको सरकार आलोचित बनिरहेको छ ।

    गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्का भने सेवा-सुविधाका बारेमा छलफल भएको विषयलाई केही सञ्चारमाध्यमले बंग्याएको बताउँछन् । छलफल मात्र भएको कुरालाई निर्णय नै भएको भनेर लेखिएको उनको गुनासो छ ।

    ‘केही सञ्चारमाध्यमले मलाई बदनाम गराउने नियतले गलत समाचार सम्प्रेषण गरे,’ उनले नेपाल प्रेससँग भने, ‘केहीले सच्याए पनि धेरैले सच्याएका छैनन् ।’

    प्रमुख प्रतिपक्षी दलका नेताको सेवा-सुविधाबारे प्रदेश कानूनमा नै स्पष्ट व्यवस्था गरिएकोसमेत उनको भनाइ छ ।

    ‘उहाँलाई हामीले सेवा-सुविधा थप गर्नुपर्ने वा हटाउनुपर्ने आवश्यकता छैन, किनभने प्रदेश कानूनले नै उहाँले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतमा के पाउने वा नपाउने भन्ने प्रस्ट व्यवस्था गरेको छ । हामीले त्यस्ता कुनै पनि निर्णय गरेका छैनौं । एकदमै गलत समाचार सम्प्रेषण भएको छ,’ उनले भने ।

    युट्युवमा आफूले बोलेको ‘भिडियो रेकर्ड हेर्न’ समेत उनले आग्रह गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को बैठकमा पूर्वमुख्यमन्त्रीको सुरक्षा संवेदनशीलताबारे छलफल भए पनि सेवा-सुविधा बढाउनेबारे कुनै पनि निर्णय नगरिएको उनले बताए ।

    ‘निवर्तमान भएपश्चात उहाँका सुरक्षा संवेदनशीलताका बारेमा एकछिन अनौपचारिक छलफल भएको हो । केन्द्रमा गृहमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुलाई प्रहरी कति दिने भन्नेबारे स्पष्ट मापदण्ड नभएकाले उहाँको सुरक्षा र सम्मानका लागि कस्तो व्यवस्था गर्ने भन्ने विषयमा कुराकानी भएको थियो,’ उनले भने ।

    सुरक्षा संवेदनशीलताका बारेमा आवश्यक निर्णय गरेर प्रदेशसभामा पेस गर्ने छलफल भएपनि सेवा सुविधा वृद्धि गर्ने विषयमा कुनै पनि निर्णय नगरिएको उनले बताए । खड्काका अनुसार २०७४ सालमा प्रदेशसभाका पदाधिकारी तथा मुख्यमन्त्रीका बारेमा प्रदेशसभाले दुई वटा कानून निर्माण गरेका छन् । सोही कानूननुसार पूर्वमूख्यमन्त्रीका हैसियतले निवर्तमान मूख्यमन्त्रीले सेवा-सुविधा पाउने उनको भनाइ छ ।

    के भनेका थिए उनले ?

    पहिलो मन्त्रिपरिषद् बैठकबाट प्रवक्ता चयन भएपछि खड्का पत्रकारमाझ प्रस्तुत भएका थिए । त्यस क्रममा उनले मन्त्रिपरिषद् बैठकमा पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गम्भीर छलफल भएको तर निर्णय भइनसकेको बताएका थिए । केही सञ्चारमाध्यममा मन्त्रिपरिषद्ले यसबारे निर्णय गरेको भनेर समाचार आएपछि प्रवक्ता आक्रोशित भएका हुन् ।

  • गण्डकीः सरकार बनेको चार दिनमै बजेट भाषण, मुख्यमन्त्रीले नै वाचन गर्ने

    गण्डकीः सरकार बनेको चार दिनमै बजेट भाषण, मुख्यमन्त्रीले नै वाचन गर्ने

    काठमाडौं । ७ वटै प्रदेश सरकारले भोलि नयाँ बजेट ल्याउँदै छन् ।

    सोही क्रममा गण्डकी प्रदेशको बजेट मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तुत गर्ने भएका छन् । पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि बहुमत सदस्यको समर्थनमा गण्डकीमा नयाँ सरकार बनेको ४ दिनमात्र भएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले नै बजेट वाचन गर्ने भएका हुन् ।

    संविधानत: प्रदेश सरकारले असार १ मै बजेट ल्याइसक्नुपर्ने दबाबका कारण सरकार गठन भएको छोटो समयावधि बीचमै नयाँ बजेट ल्याउनुपर्ने गण्डकी सरकारलाई चटारो परेको छ ।

    गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले मुख्यमन्त्री पोखरेले नै प्रस्तुत गर्ने बताए । उनले भने, ‘आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि मुख्यमन्त्रीसँग नै भएकोले उहाँले नै नयाँ बजेट प्रस्तुत गर्ने छन् ।’

    खड्काका अनुसार नयाँ बजेटमा कोरोना महामारी नियन्त्रण र विकास निर्माणले प्राथमिकता पाउँनेछ ।

  • शंकर पोखरेलको सेफल्यान्डिङ : नीति तथा कार्यक्रम पारित भएपछि टर्‍याे नैतिक दवाव

    शंकर पोखरेलको सेफल्यान्डिङ : नीति तथा कार्यक्रम पारित भएपछि टर्‍याे नैतिक दवाव

    रुपन्देही । अल्पमतमा रहेको भनिएको लुम्बिनी प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम आज प्रदेशसभाको बहुमतबाट पारित भयो । यससँगै सरकारमाथि उठेको वैधानिकताको प्रश्न समाप्त भएको सत्तापक्षको बुझाइ छ ।

    नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदासम्म पारित हुने-नहुने अन्योल थियो । विपक्षी दलहरुले सरकार अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नमिल्ने बताइरहेका थिए । माधव नेपाल पक्षका सांसदहरुले पनि सरकारलाई साथ दिन्छन्-दिँदैनन् भन्ने एकिन थिएन ।

    नीति तथा कार्यक्रम पारित नभएको अवस्थामा मुख्यमन्त्री शंकर पोखरेललाई ठूलो नैतिक दवाव पर्ने थियो । तर, तत्कालका लागि उनको संकट टरेको छ र बजेट ल्याउन पनि बाटो खुलेको छ ।

    एमाले सांसदहरु नीति तथा कार्यक्रम पारित भएपछि सरकारको बहुमत सिद्द भएको बताउँछन् । माधव नेपालपक्षीय भनेर चिनिएका सांसद विष्णु पन्थीले बहुमतले सरकारको प्रस्ताव पारित हुनुले नै बहुमत प्रष्ट भएको प्रतिक्रिया दिए ।

    उनले भने, ‘नीति तथा कार्यक्रम बहुमतले पारित भयो, सरकारको बहुमतका विषयमा उठेको विवाद अन्त्य भएको छ । विपक्षीले उठाएका विषय आफ्नै ठाउँमा होलान् ।’

    प्रदेश सरकारमा सहभागी सत्तारुढ नेकपा एमालेका ३८ जना र जसपाका ४ जनाले समर्थन गरेकाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिए । प्रदेशसभामा कांग्रेसका १९, माओवादीका १८, जसपा उपेन्द्र समूहका २ र जनमोर्चाका १ गरी ४० सांसद विपक्षी गठबन्धनमा रहेका छन् ।

    आइतबारको प्रदेश सभा बैठकमा सबै सांसद उपस्थित थिए र सभाहल भरिभराउ थियो । प्रदेशसभामा आफ्नो धारणा राख्दै माधव नेपालका पक्षमा गनिएका सांसद पन्थीले सरकारको पक्षमा बोलेपछि विपक्षी दलका सांसदहरु अचम्ममा परेका थिए । छलफलका क्रममा विपक्षी गठबन्धनका सांसदहरुले भने नीति कार्यक्रमको विषयबस्तु भन्दा पनि प्रदेश सरकारको आधिकारिकताबारे प्रश्न उठाउनमा समय खर्चिए ।

    यसरी भयो पारित

    मुख्यमन्त्रीले नीति तथा कार्यक्रम पारित गरियोस् भनेर प्रदेश सभामा प्रस्ताव प्रस्तुत गरेपछि निर्णयार्थ प्रस्तुत गर्न खोज्दा माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले उठेर मत विभाजन गर्न माग गरे । तर सभामुखले प्रदेशसभाको अवस्था आफूलाई थाहा भएको भन्दै ध्वनि मत प्रक्रिया नै अगाडि बढाए ।

    ‘संयोगवश आज सत्ता पक्ष र प्रतिपक्षका सबै माननीय सदस्यहरु उपस्थित हुनुहुन्छ । मलाई प्रष्ट अनुमान हुन्छ र यसको भिडियो रेकर्ड पनि हुन्छ । यो प्रक्रिया अगाडि बढाउँदा कुनै माननिय सदस्यलाई चित्त बुझेन भने हाम्रो प्रदेश सभाको नियमावलीको प्रक्रियाअनुसार अगाडि बढाउने जानकारी गराउन चाहन्छु ।’ सभामुखले भनेका थिए ।

    त्यसपछि सभामुखले प्रदेश सभामा यो जानकारी गराएपछि निर्णयार्थ प्रस्तुत गरे र ध्वनि मतले पारित भएको घोषणा गरे । त्यसमा कोही पनि सांसदले असहमति प्रकट गरेनन् । यदि सभामुखले पारित भएको जानकारी गराउँदा १० प्रतिशत सांसदले आ-आफ्नो स्थानमा उठेर असहमति जनाएमा अर्को प्रक्रियाबाट निर्णयार्थ प्रस्तुत गर्नुपर्ने हुन्छ ।

    कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खान सभामुखको निर्णयलाई स्वीकार गरेको बताउँछन् ।

    ‘हाम्रो तर्फबाट मत विभाजनको कुरा उठाएका थियौं । सभामुख ज्युले हात उठाउनुस्, हामी त्यही हिसाबले गणना गर्छौ भन्नुभभएपछि प्रक्रियामा गयो,’ उनले भने ।

    नेकपा माओवादीका सचेतक घर्तीले प्रतिपक्षको तर्फबाट उठेर गणना गर्न माग गरे पनि सभामुखले पुरानै प्रक्रियामा जाऔं भनेपछि स्वीकार गरेको बताए ।

    नेकपा एमाले प्रमुख सचेतक भुमिश्वर ढकालले विपक्षी दलले उठाएको विषयमा कुनै कानुनी आधार नभइ विरोधका लागि मात्र आएको बताए ।

    उनले भने, ‘यसमा कुनै सत्यता थिएन, नीति तथा कार्यक्रम बहुमतले पारित भयो, सरकार आफ्नो गतिमा अगाडि बढ्छ, यहीअनुसार बजेट ल्याउँछ ।’

    वैधानिकताको विवाद सकियो ?

    गत वैशाख १९ गते मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्ति भएपछि विपक्षी दलहरुले सरकारको वैधानिकतामा प्रश्न उठाउँदै आएका थिए । गठबन्धन नै बनाएर उनीहरुले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफूहरु बहुमतमा रहेको पत्र मात्रै थमाएन् प्रदेशसभामा दोस्रोपटक अविश्वासको प्रस्तावसमेत दर्ता गराएका थिए ।

    विपक्षीले सरकारसँग बहुमत नरहेको दावी गर्नुका पछाडि राष्ट्रिय सभाको चुनावी परिणाम प्रमुख आधार थियो । जेठ १७ गते राष्ट्रिय सभाको एक सिटको लागि लुम्बिनी प्रदेशमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा एमाले प्रदेश सांसद छाडेर कांग्रेसमा गएका दृगनारायण पाण्डेले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए ।

    प्रदेश सभाबाट पाण्डेले ४२ मत पाएका थिए भने खड्काले ४० मत ल्याएका थिए । सो मतदानमा माधव नेपाल पक्षका सांसदले समेत विपक्षी उम्मेदवारलाई सघाएपछि गठबन्धनले सरकारको बहुमत गुमेको दावी गर्दै आएको थियो ।

    राष्ट्रिय सभाको गोप्य चुनावमा जे भए पनि नीति-कार्यक्रमका क्रममा एमालेकै माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना भने कमै थियो । पछिल्लो उदाहरण अन्य प्रदेशमा पनि देखिएको थियो । पछिल्लो पटक वागमती प्रदेशमा नीति कार्यक्रम पारित गर्न एमालेका दुबै पक्षले संयुक्त निर्देशन दिएका थिए ।

    नीति तथा कार्यक्रम पारित भएपछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा रहेको भन्ने विपक्षीको भनाइलाई सत्ता पक्षले प्रतिरक्षा गर्ने बाटो पाएको छ ।

    नीति तथा कार्यक्रम निणयार्थ प्रस्तुत गर्नुअघि मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी दलले सरकारको वैधानिकताका विषयमा उठाएका प्रश्नको कुटनीतिक जवाफ दिएका थिए । आफ्नो पक्षमा ४५ सांसदसहितको बहुमत रहेको उनले दावी गरे ।
    ‘३९ जना एमालेका र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन छ,’ उनले भने, ‘राजनीतिक बहुमत यही हो ।’

    एमाले र जसपाका केही सांसदको विषयमा अदालति टुंगो लागेपछि सबै दलको कानुनी अड्चन हट्ने उनले बताए ।

    बजेट ल्याउने बाटो खुल्यो

    प्रदेशसभाबाट नीति कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउन सहज भएको छ । विपक्षी दलहरुले नीति कार्यक्रम फेल गराउने रणनीति बनाएको भएपनि बहुमतले पारित भएपछि सरकारलाई राहत मात्रै भएको छैन बजेटका विषयमा उठेका अन्यौल पनि सकिएका छन् ।

    सदनमा नीति कार्यक्रम पारित नभए अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा रहेको सरकारलाई सदनबाटै बजेट ल्याउन यसले बाटो खुलेको छ । यसअघि मुख्यमन्त्रीले विपक्षी दलका नेताहरुलाई भेटेर सदनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न र बजेट ल्याउने वातावरण तयार गर्न अनुरोध गरेका थिए ।

    मुख्यमन्त्रीले सदन चलाउनका लागि सर्वदलीय बैठक बसेर नै योजना बनाएको आइतबार सदनमा जानकारी गराएका थिए ।

  • पृथ्वीसुब्बाको टिप्पणी- बदलाको भावनाले अप्राकृतिक गठबन्धन गरियो

    पृथ्वीसुब्बाको टिप्पणी- बदलाको भावनाले अप्राकृतिक गठबन्धन गरियो

    काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको नयाँ गठबन्धलाई अप्राकृतिक गठबन्धनको संज्ञा दिएका छन् ।

    आज बिहान पत्रकार सम्मेलनमार्फत अहिलेको अराजनीतिक गठजोड बदलावको भावनामा प्रकट भएको भन्दै गुरुले त्यो समयक्रममा देखिने दावी गरे । ‘बन्चरोले बिर्सिएला तर आफूहरूले पाएको चोट जीवनभर सम्झिरहन्छौं । सयौं चोट सहेर पनि जनताको बीचमा रहनेछौं ।’

    उनले विपक्षी गठबन्धनले बहुमत पेस गर्दागर्दै पनि संविधान र विधि अनुसारनै हुने कुरामा शनिबारको दिन बल देखाएर सत्ता प्राप्त गर्न खोजिएको आरोप लगाए । रातारात प्रदेश प्रमुखको कार्यालय घेरेर राजनीतिक आचरण नगरेको उनको टिप्पणी छ ।

    ‘लोकतन्त्र अराजकता र भीडतन्त्र होइन । नीति तथा विचारमा चल्नुपर्छ’, गुरुङले भने, ‘लोकतन्त्रमा सत्तामा रहनु र सत्ता बाहिर रहनु सामान्य हो । नयाँ सरकारका लागि राम्रा कामको सहयोग र नराम्रो कामको आलोचना र खबरदारी गरिरहने छौं ।’

    गुरुङले कुर्सी प्राप्तिमा गरिने गठबन्धनमा केही न केही झगडा हुने भन्दै आयु भने लामो नहुने बताएका छन् ।

  • पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

    पूर्वप्रधानमन्त्रीजस्तै पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे गण्डकीको मन्त्रिपरिषदमा सहमति

    काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे छलफल अघि बढाएको छ । यसबारे निर्णय भने भइनसकेको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

    ‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे कुनै व्यवस्था अहिलेसम्म गरिएको रहेनछ । संघमा पूर्वप्रधानमन्त्रीलाई जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई अधिकतम सम्मान र सुविधा दिनुपर्छ भनेर हामीले छलफल गर्‍यौं,’ उनले भने, ‘सामान्य समझदारी भए पनि निर्णय हुन बाँकी छ ।’

    पूर्वमुख्यमन्त्रीको सम्मानमा सरकारले कुनै पनि कमि नगर्ने उनले बताए । यसबारे एउटा नीति ल्याएर ऐन नबनाउञ्जेल मन्त्रिपरिषद्ले निर्णय गरेर केही व्यवस्था गरिने खड्काको भनाइ छ ।

    ‘पूर्वप्रधानमन्त्रीलाई संघमा के व्यवस्था छ त्यो अध्ययन गर्ने अनि हामीबीच सल्लाह गरेर पदको सम्मान गर रिमा कायम रहने गरी सम्मान दिने कुरा भएको छ,’ उनले भने, ‘हामी फरक राजनीकि पार्टी भए पनि आपसी सहयोग र सद्भावमा साढे ३ वर्ष यात्रा गर्‍यौं । अब पनि प्रमुख प्रतिपक्षीसँग समन्वय र सम्मान गरेरै अगाडि बढ्न चाहन्छौं ।’

    सरकारे नीति तथा कार्यक्रम र बजेट ल्याउनेबारे पनि कुराकानी भएको उनले जानकारी दिए । अर्थमन्त्रीको जिम्मेवारी कसैलाई नदिएकाले मुख्यमन्त्रीले नै बजेटको वाचन गर्न सक्ने उनको भनाइ छ ।

    ‘अहिले अर्थमन्त्रालय खाली छ । १ गते नै बजेट ल्याउनुपर्ने अवस्थामा वाचन मुख्यमन्त्रीले नै गर्नुहन्छ,’ उनले भने । नीति तथा कार्यक्रम र बजेटलाई पर सार्न सकिने विकल्पका विषयमा प्रमुख प्रतिपक्ष एमालेसँग छलफल हुने खड्काले बताए । हिजोकै मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्री खड्कालाई सरकारको प्रवक्ता तोकेको हो ।

  • गण्डकी प्रदेश प्रमुखको कार्यालयले भन्यो : मुख्यमन्त्रीमा कृष्णचन्द्रको मात्रै दाबी थियो

    गण्डकी प्रदेश प्रमुखको कार्यालयले भन्यो : मुख्यमन्त्रीमा कृष्णचन्द्रको मात्रै दाबी थियो

    कास्की । गण्डकी प्रदेश प्रमुखको कार्यालयले कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएको औपचारिक सूचनाको जानकारी दिएको छ । तर, मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले पनि दावी पेश गरेको समाचारलाई भने कार्यालयले नकारेको छ ।

    मुख्यमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा तोकिएको समयभित्र मुख्यमन्त्रीमा कृष्णचन्द्रको मात्रै दावी पेश भएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘२९ गते दिउँसो ३ बजेसम्ममा माननीय कृष्णचन्द्र नेपालीको एक मात्र मुख्यमन्त्रीको दावी निवेदन दर्ता हुन आएकाले प्रदेश प्रमुख माननीय सीताकुमारी पौडेलज्यूले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा उहाँलाई नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त गर्नुभएको छ ।’

    गुरुङले पनि दाबी गरेकाले मुख्यमन्त्री नियुक्तीमा ढिलाइ भएको भन्दै विपक्षी गठवन्धनले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएको थियो ।

  • बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दावी पेस

    बहुमत सांसदको हस्ताक्षरसहित गण्डकी मुख्यमन्त्रीमा पोखरेलको दावी पेस

    कास्की । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दावी पेस गरेका छन् । उनले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष दावी पेस गरेका हुन् ।

    पोखरेललाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र एकसहित ३१  सांसदको समर्थन छ । स्वतन्त्र सांसद दीपक मनाङेले समर्थन गरेपछि पोखरेलको पक्षमा बहुमत जुटेको हो ।

     

  • गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद

    गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद

    काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।

  • गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?

    गण्डकीमा कृष्णचन्द्र मुख्यमन्त्री बन्ने लगभग निश्चित, को हुन् उनी ?

    काठमाडौं । गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

    वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।

    हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

    हिजो कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ ।

    पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए । उनले भने, ‘हामीसँग बहुमत छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं ।

    दीपक मनाङे तपाईंहरूको सम्पर्कमा हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हुनुहुन्छ-हुनुहुन्छ, सबै हुनुहुन्छ ।’

    अहिले गण्डकी प्रदेशसभाको वैठक सुरू हुँदैछ । संविधानअनुसार अब प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि बहुमतको समर्थनसहित दावी पेश गर्न आह्वान हुने छ । कुनै पनि प्रदेश सांसदले बहुमत देखाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेस गर्न सक्छन् ।

    यसअघि पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको थियो । एक महिनाअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्दा कसैले पनि दावी पेस गर्न सकेका थिएनन् । त्यसपछि संसदको ठूलो पार्टीको हैसियतमा गुरुङ नै पुन मुख्यमन्त्री नियुक्त भएका थिए ।

    अहिले जनमोर्चाका दुई सांसद र मनाङे विपक्षी गठवन्धनमा खुलेका छन् । जनमोर्चाका एक सांसद भने तटस्थ छन् । यसअघि पार्टीको ह्वीप उल्लंघन गरेको भनेर सांसदबाट बर्खास्त भएका थापालाई अदालतले पुनर्वहाली गरेको थियो । हिजोको मतदानमा पनि उनले जनमोर्चाको ह्वीप नमानी तटस्थ बसेका थिए । पार्टीले फेरि उनलाई कारवाही गरेको छ ।

    तर, अब मनाङे आएपछि थापाको समर्थनबिना पनि पोखरेलसँग बहुमत जुटेको छ ।

    को हुन् कृष्णचन्द्र पोखरेल ?

    नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनका बुबा प्रजातन्त्र सेनानी थिए ।

    २००६ साल मंसिर १३ गते तनहुँमा जन्मेका पोखरेल २०२८ सालबाट कांग्रेस राजनीतिमा प्रवेश गरेका हुन् । थर पोखरेल भए पनि उनी नामपछाडि ‘नेपाली’ लेख्ने गर्छन् । उनी विभिन्न आन्दोलनमा ५-६ पटक जेल परेका छन् । उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने ।

    २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं. ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए । २०७४ सालको प्रदेश सभा निर्वाचनमा एमाले-माओवादी गठवन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए ।

  • ढल्यो गण्डकी सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    ढल्यो गण्डकी सरकार, मुख्यमन्त्रीले पाएनन् विश्वासको मत

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएको गण्डकी सरकार ढलेको छ ।

    प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन् । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् ।

    ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे । सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन् ।

    प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
  • प्रतिगमनलाई साथ दिने सबै सरकार ढाल्नुपर्छ : कांग्रेस नेता पोखरेल

    प्रतिगमनलाई साथ दिने सबै सरकार ढाल्नुपर्छ : कांग्रेस नेता पोखरेल

    पोखरा । नेपाली कांग्रेसले संविधान र लोकतन्त्रविरुद्ध उभिने संघीय सरकारलाई समर्थन गर्ने सबै प्रदेश सरकारको विकल्प खोज्ने बताएको छ ।

    गण्डकी प्रदेशसभा विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमलाई समर्थन गरेका कारण गण्डकी प्रदेश सरकारको विकल्प खोज्नु अनिवार्य भएको बताए ।

    ‘जसरी संघमा प्रधानमन्त्रीले संसद छलेर हिड्नुभयो त्यसरी नै मुख्यमन्त्रीजीले प्रदेशसभाको अवमूल्यन गरिरहनुभयो । संविधान, संसद र लोकतन्त्रसंग भागेर हिँड्ने सबै सरकारविरुद्ध हामीले मोर्चाबन्दी गरेका छौं’, पोखरेलले भने ।

    उनले मुख्यमन्त्रीले प्रदेशससभामा सुनाएका सफलता झूठो रहेको दावी समेत गरे । ‘सरकारले प्रदेशसभामा पढेर सुनाएका सफलताहरु जनताले अनुभूति गर्न पाएका छन् । भन्नका लागि सफल भयौ भनेर हुँदैन, गण्डकी प्रदेश सरकार असफल भएको छ’, उनले भने ।

    पोखरेलले बोलेसँगै विश्वासको मत सम्बन्धी प्रस्तावउपर धारणा राख्ने समय सकिएको छ । बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।

  • एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

    एमाले सचेतकको प्रश्न- काठमाडौंमा पानी पर्‍यो भनेर पोखरामा छाता ओढ्ने ?

    कास्की । नेकपा एमाले गण्डकी प्रदेशसभाका प्रमुख सचेतक मायानाथ अधिकारीले ‘काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढ्न नमिल्ने’ भन्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको बचाउ गरेका छन् ।

    प्रदेशसभाको जारी बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै अधिकारीले संघीय सरकारमा भएका विवादको हल प्रदेश सरकारमा खोज्न नहुने बताए । ‘संघीय सरकारको रिस गण्डकी सरकारमा फेर्न मिल्दैन । केपी ओलीसँग कुरा मिलेन भनेर पृथ्वीसुब्बा गुरुङसँग रिस फेर्नु राम्रो होइन । जनताले अहिले अस्थिरता खोजेको होइन’, अधिकारीले भने ।

    जनताको म्याण्डेट कांग्रेसलाई मुख्यमन्त्री बनाउने नरहेको भन्दै अधिकारीले माओवादी अप्राकृतिक गठबन्धनका लागि तयार भएको आरोप लगाए ।

    ‘हामी यहिँ छौं । निषेधको राजनीति सफल हुन दिँदनौँ । माओवादीले किन जनमतको अपमान गरेको हो ?’, अधिकारीले प्रश्न गरे ।

  • गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    गण्डकीका मुख्यमन्त्री संकटमा, दीपक मनाङे विपक्षी गठबन्धनतिर नजिकिए

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।

    गण्डकीमा एमालेको वहुमत नरहेको र सरकारमै सहभागी स्वतन्त्र सांसद दिपक मनाङे अन्तिम समयमा गुरुङको पक्षमा नउभिएपछि सरकार संकटमा परेको छ । यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।

    अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।

    गण्डकीमा एमालेका २७ जना सांसद छन् भने कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका ३ जना, जनता समाजवादी पार्टी (जसपा)का २ जना र स्वतन्त्र दिपक मनाङे छन् । विपक्षी गठबन्धनसँग अहिले ३० संख्या छ । मनाङेले साथ दिएमा गुरुङ सरकार ढल्नेछ ।

    उनले आफू प्रदेशसभा विघटनको विपक्षमा रहेको भन्दै विपक्षले बहुमत पुर्‍याउने अवस्था आएमा साथ दिने बताएका छन् ।

  • जनमोर्चा सांसद पुनर्वहालीको आदेशविरुद्ध भ्याकेटको निवेदन बोकेर गण्डकीका सभामुख सर्वोच्चमा

    जनमोर्चा सांसद पुनर्वहालीको आदेशविरुद्ध भ्याकेटको निवेदन बोकेर गण्डकीका सभामुख सर्वोच्चमा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै गण्डकीका सभामुख नेत्रराज अधिकारीले भ्याकेटको निवेदन दिएका छन् ।

    मंगलवार दिउँसो सर्वोच्च अदालतमा सभामुख अधिकारीले सांसद थापालाई पदमुक्त गर्ने प्रदेशसभाको निर्णय वैधानिक रहेको भन्दै अन्तरिम आदेश बदर माग गर्दै भ्याकेटको निवेदन दिएका हुन् ।

    अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग-अलग भ्याकेटका निवेदन परेका छन् । निवेदनमाथि बिहीबार नै सुनुवाइ हुने भएको छ ।

    सभामुखको निवेदन दर्ता हुन बाँकी छ । सभामुख अधिकारीले राजमोले दिएको सूचनाका आधारमा सांसद थापालाई पदमुक्त गरेका थिए । सो निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका थापालाई न्यायाधीश कुमार चुँडालको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो ।

    थापाको पुनर्वहालीसँगै गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना टरेपछि सभामुख भ्याकेटमा गएका हुन् ।

  • राजमो सांसद थापाको रिटमाथि आज सुनुवाइ हुँदै, लुम्बिनीको नजिर दोहोरिएला ?

    राजमो सांसद थापाको रिटमाथि आज सुनुवाइ हुँदै, लुम्बिनीको नजिर दोहोरिएला ?

    काठमाडौं । राष्ट्रिय जनमोर्चाको पत्रका आधारमा गण्डकी प्रदेश सभाले प्रदेशसभा सदस्यबाट पदमुक्त गरेका कृष्ण थापाको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

    थापाले आफूमाथिको कारवाही नै गैरकानुनी रहेको र प्रदेश सभाले निकालेको सूचना संविधान र ऐन विपरित रहेको भन्दै अन्तरिम आदेशबाट प्रदेश सभा सदस्य पुनर्वहालीको माग गर्दै शुक्रवार रिट दायर गरेका थिए ।

    आफूले पार्टीको ह्वीप उल्लंघन नगरेको र अहिलेसम्म मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा अविश्वास प्रस्ताव वा विश्वासको मतको सामना नै नगरेको अवस्थामा ह्वीप उल्लंघन गरेको कानूनी आधार नभएको जिकिर उनले गरेका छन् ।

    राजमो संसदीय दलको विधान तथा राजनीतिक दल सम्बन्धी ऐन बमोजिम आफूमाथि कारवाही हुनुपर्ने कुनै काम नै नगरेको थापाले बताएका छन् । थापाले कांग्रेस नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको भन्दै राजमोले उनको प्रदेश सभा सदस्य पद रिक्त गराउन प्रदेश सभा सचिवालयलाई सूचना गरेको थियो ।

    सोही सूचनाका आधारमा सचिवालयले उनको पद रिक्त भएको जानकारी दिएको थियो ।

    राजनीतिक दल सम्बन्धी ऐनमा सांसद पद जानका लागि दल त्याग गरेको, अर्को दलमा प्रवेश गरेको, ह्वीप उल्लंघन गरेको जस्ता कारण चाहिन्छ । यस्तै प्रकृतिको कारवाहीमा परेर पदमुक्त भएका जसपाका लुम्बिनी प्रदेशका ४ जना सांसदलाई सर्वोच्चले अन्तरिम आदेशमार्फत पुनर्वहाली गरेको थियो ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले जेठ २७ गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ । गुरुङलाई विश्वासको मत दिने आशंकामा राजमोले थापालाई कारवाही गरेको हो ।

    यदि उनी लुम्बिनीका चार सांसद जस्तै पुनर्वहाली भए भने विपक्षी गठबन्धनले गुरुङलाई मुख्यमन्त्रीबाट विस्थापित गर्ने योजनामा धक्का लाग्नेछ ।

  • जनमोर्चाका प्रदेशसभा सदस्यको पद रिक्त गराउन सूचना दर्ता

    जनमोर्चाका प्रदेशसभा सदस्यको पद रिक्त गराउन सूचना दर्ता

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद रिक्त गर्नका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको छ ।

    पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका छन् ।

    आजै बस्ने प्रदेशसभा बैठकमा सूचना पढेर सुनाइने भएको छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई पार्टीले कारवाही गरेको छ ।

    थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • गण्डकीमा कोरोना ग्राफ- संक्रमण उकालो, मृत्युदर ओरालो

    गण्डकीमा कोरोना ग्राफ- संक्रमण उकालो, मृत्युदर ओरालो

    पोखरा । गण्डकी प्रदेशभरि पछिल्लो २४ घन्टामा मंगलबार १ हजार ५ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ३ हजार जनामा गरिएको कोरोना परीक्षणमा आधामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    कोरोना पुष्टि भएकामध्ये सबैभन्दा बढी कास्कीका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबार मनाङमा भने संक्रमित भेटिएका छैनन् ।

    प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार गण्डकीमा हालसम्म संक्रमितको संख्या ३६ हजार नाघेको छ । जसमध्ये २५ हजारभन्दा बढीले कोरोना जितेर घर फर्किसकेका छन् ।

    बढ्दै संक्रमित, घट्दै मृत्युदर

    गण्डकी प्रदेशमा ठीक एक हप्ताअघि एकैदिन ६ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता .दैनिकमात्रामा कोरोना संक्रमितको संख्या उकालो लाग्दै गएको छ । निर्देशनालय प्रमुख डा शर्माका अनुसार जेठ ६ गते एकैदिन १३ सय जनामा संक्रमण पुष्टि भयो । उक्त संख्या त्यसअवधिकै सबैभन्दा बढी थियो ।

    फेरि। जेठ ९ गतेबाट विस्तारै ओरालो लाग्दै गएको संक्रमणदर मंगलबार पुनः १५ सय नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एकहप्तामा जेठ संक्रमतिको संख्या घटेर ८ गते सबैभन्दा कम ५ सय जना पुगेको थियो ।

    संक्रमितको संख्या उकालो लाग्दै गर्दा मृत्युदरको ग्राफमा भने ओरालो लाग्न थालेको छ । एकहप्ता अघि जेठ ५ गते प्रदेशभर एकैदिन ३० जना संक्रमितको मृत्यु भएको थियो । यो संख्या हालसम्मकै उच्च हो । त्यसयता संक्रमितको मृत्यु संख्यामा विस्तारै ओरालो लाग्दै आएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।

    निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माका अनुसार जेठ ६ गते एकैदिन २४ जना संक्रमितको मृत्यु भएको थियो । उक्त संख्या विस्तारै ओरालो लाग्दै मंगलबार १९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा छन् । मनाङमा एकजना संक्रमितले पनि अहिलेसम्म कोरोनाबाट ज्यान नगुमाएको तथ्यांक छ ।

    निको हुने दर पनि उल्लेख्य !

    कोरोना संक्रमितको संख्या उकालो लागेसँगै सोही अनुपातमै निको हुनेको संख्यामा पनि वृद्धि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो एकहप्तामा मात्रै ५ हजार बढी संक्रमितले कोरोना जितिसकेका छन् ।

    जेठ ५ गते गण्डकी प्रदेशमा ५ सय ६७ जनाले कोरोना जितेका थिए । जेठ ७ गते भने प्रदेशमा कोरोना संक्रमितको संख्यालाई उछिन्दै निको हुनेको संख्या बढी भएको थियो । उक्त दिन प्रदेशभर १ हजार जनामा कोरोना संक्रमण पुष्टि हुँदा १३ सय भन्दा बढीले कोरोना जितेका थिए ।

    पश्चिमाञ्चल अस्पतालमा संक्रमितको मात्रै उपचार

    प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड बिरामीको मात्रै उपचार हुने भएको छ । कोभिड उपचार गर्न भन्दै सोमबारदेखि अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गरिएको छ ।

    अस्पतालमा अहिले ८० बेड कोरोना संक्रमितका लागि छुट्याइएको छ । प्रदेशमा संक्रमितको संख्या बढ्दै जान थालेपछि पूर्ण रुपमा अस्पताललाई संक्रमित उपचार केन्द्रित गराउन थालिएको सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । ‘सबै तयारी पुग्यो भने ३ सय ८० भन्दा बेडमै संक्रमितलाई उपचार गर्न सकिन्छ,’ उनले भने, ‘तर, त्यसका लागि तयारी गर्न अझै १०, १२ दिन लाग्ने देखिन्छ ।’

    अस्पताललाई आधिकारिक रुपमै कोभिड अस्पताल बनाउन बैशाख ५ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय गरेको थियो । अस्पताल केन्द्र सरकारको मातहतमा रहेको छ ।