लमजुङ । नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश कार्यसमितिका लागि भुगोल तर्फबाट सदस्यमा उम्मेदारी दिएका मनाङका विनोद गुरुङ र चिउडे लामा निर्विरोध भएका हुन् । कांग्रेस विधान अनुसार प्रदेश कार्यसमितिका लागि एक मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लाबाट अनिवार्य एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।
सोही अनुसार मनाङबाट पुरुषतर्फ गुरुङ र महिलातर्फ लामा निर्विरोध निर्वाचित भएका हुन् । मनाङसहित प्रदेश कार्यसमिति सदस्यमा उम्मेदारी दिएका मुस्ताङ तनहुँ र पर्वतका गरी सात जना निर्विरोध निर्वाचित भएका हुन् ।
मुस्ताङबाट भुगोलतर्फ पुष्पा भट्टचन शेरचन र सुवर्णकुमार विष्ट निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी भुगोल तर्फकै प्रदेश कार्यसमितिमा उम्मेदारी दिएका तनहुँका मायादेवी राना आले र लक्ष्मीप्रसाद आचार्य पनि निर्विरोध निर्वाचित भएका हुन् ।
भुगोल महिला तर्फबाट उम्मेदारी दिएकी पर्वतकी मिनाकुमारी केसी पनि निर्विरोध निर्वाचित भएको नेपाली काँग्रेस गण्डकी निर्वाचन समितिले जनाएको छ । निर्विरोध निर्वाचित बाहेक अन्य उम्मेदारका लागि शनिबार मतदान हुँदैछ ।
पोखरा । नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम सुरू भएको छ । प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।
हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका छन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।
आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा पाका नेता हुन् । कास्की कांग्रेसलाई १७ वर्ष नेतृत्व गरेका शर्मा ७५ वर्ष पुगेका छन् । गण्डकीमा कांग्रेसको संगठन बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताउने शर्मा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् । २०२६ सालदेखि राजनीतिमा सक्रिय शर्मा आफूलाई पार्टीका सबै पक्षका नेता कार्यकर्ताको समर्थन रहने बताउँछन् ।
त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहमै हुन् । विद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय चालिसे स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको पूर्व सभापति हुन् । बौद्धिक नेताका रुपमा परिचित चालिसे विगतमा २ पटक नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका थिए । पार्टीलाई स्वतन्त्ररूपमा अगाडि बढाउन र गण्डकीमा कांग्रेस बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको चालिसेको भनाइ छ ।
त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि वरिष्ठ नेता पौडेलनिकट हुन् । तनहुँ कांग्रेसका पुराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् । आफुलाई वरिष्ठ नेता पौडेलसहित महामन्त्री डा.शशांक कोइराला लगायतको समर्थन रहेको उनको दावी छ । कांग्रेसका सबै कार्यकर्तालाई क्षमता अनुसारको जिम्मेवारी दिने एजेण्डासहित आफू उम्मेदवार बनेको पौडेल बताउँछन् ।
प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि उम्मेदवारी घोषणा गरेका छन् । सभापति शेरबहादुर देउवा निकट जोशी ३ कार्यकाल कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका छन् । त्यसअघि उनी पर्वत कांग्रेसको जिल्ला सभापति थिए । संस्थापन पक्षबाट उम्मेदवारी दिएका जोशीले गण्डकी प्रदेशको संगठन सुदृढ बनाउन केन्द्रीय राजनीतिमा हुँदाहुँदै प्रदेश सभापति बन्न चाहेको बताए ।
काँग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ ।
कांग्रेसका नेताहरूले उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन जोड दिनुपर्ने कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटको सुझाव छ । कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधि गरी करिब २ हजार जनाले मतदान गर्ने छन् ।