Tag: खोप

  • भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

    भारतमा डिसेम्बरसम्ममा ६० करोडलाई दुवै खोप लगाइने दाबी

    दिल्ली । भारतमा आगामी डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दुवै खोप लगाइसकिने दाबी गरिएको छ । भारतको चर्चित तथा प्रतिष्ठित मेदान्त अस्पतालका अध्यक्ष डा. नरेश त्रेहानले आगामी जुलाईदेखि अगस्टसम्ममा खोपको अभाव अन्त्य हुने पनि दाबी गरेका छन् ।

    उनले भने, ‘भारतमा यस वर्षको डिसेम्बरसम्ममा ६० करोड मानिसलाई दोस्रो मात्राको खोपसमेत लगाइसकिने छ, खोपको उत्पादन र खोप लगाउने अभियान तीव्ररुपमा भइरहेको छ ।’

    वरिष्ठ चिकित्सक त्रेहानले भारतलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादन गर्ने ‘हब’समेतको संज्ञा दएका छन् । भारतको जनसंख्या पनि अति धेरै भएकाले सबैलाई खोप लगाइसक्न समय धेरै लाग्ने भएको पनि उनको भनाइ थियो ।

    सामान्यतया हरेक व्यक्तिले ६ महिनामा खोपको दुवै मात्रा लगाउन सक्ने र आठ हप्तामा खोपले पूर्णरुपमा काम गर्न थाल्ने पनि उनले जानकारी दिए ।झण्डै ६० करोड मानिसलाई खोपले पूर्णरुपमा काम गर्न थालेको अवस्थामा मानवीय क्षति पनि धेरै कम हुने, महामारी न्यून हुने डा. त्रेहानले विश्वास व्यक्त गरेका छन् ।

    स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड डोज खोप लगाइएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्काअनुसार देशभरी अहिलेसम्म २२ करोड १७ लाख नमूना परीक्षण गरिएको छ ।

    कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको संक्रमण दरमा ९.४२ प्रतिशतले कमी आएको छ भने विगत १३ दिनदेखि संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने व्यक्तिको संख्या बढी छ ।

    दैनिक मृत्युदरमा सोचेजति कमी आएको छैन । मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा चार हजार १५७ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको उल्लेख छ । योसहित भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट तीन लाख ११ हजार ३८८ जनाको ज्यान गएको छ ।

    भारतमा हाल कोरोनाभाइरसका २४ लाख ९५ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । विगत २४ घण्टामा ९१ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् । भारतमा गत मे १० मा सक्रिय संक्रमितको संख्या उच्च विन्दुमा पुगेको थियो । पछिल्लो २४ घण्टामा दुई लाख ९५ हजार ९५५ जना संक्तमणमुक्त भएसँगै भारतमा हालसम्म कूल दुई करोड ४३ लाख ५० हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट संक्रमणमुक्त दरमा सुधार भएर ८९.६६ प्रतिशत पुगेको छ । देशभर कोरोनाबाट हालसम्म संक्रमित हुनेको कूल संख्या दुई करोड ७१ लाख ५७ हजार रहेको छ ।

  • राष्ट्रपतिबीच वार्तालगत्तै ठूलो घोषणा- चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने

    राष्ट्रपतिबीच वार्तालगत्तै ठूलो घोषणा- चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने

    काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

    चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।
    सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
  • अमेरिकाबाट नेपालमा खोप ल्याउन पहल भैरहेको छ : राजदूत डा. खतिवडा

    अमेरिकाबाट नेपालमा खोप ल्याउन पहल भैरहेको छ : राजदूत डा. खतिवडा

    काठमाडौं । अमेरिकी सरकारले नेपाललाई कोरोनाभाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए । अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन् । वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो । यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि वढाइरहेको छ ।

    अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकी सरकारी एजेन्सीहरुसँग छलफल गर्न व्यस्त रहेका अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग गरिएको कुराकानी :

    कोरोनाभाइरसका कारणले नेपाल यतिबेला आक्रान्त छ । नेपाली नागरिकले अमेरिकामा उत्पादित खोप ल्याउन आग्रह गरिरहेको देखिन्छ । दूतावासले अमेरिकी सरकारी निकायसँग कसरी काम गरिरहेको छ ?

    स्वाभाविक रुपमा म तीन महिना अगाडि अमेरिकामा आफनो कार्यभार सम्हाल्न आउँदै गर्दा अमेरिकामा कोरोनाभाइरसको प्रकोप ज्यादै नै थियो र नेपालमा केही कम जस्तो देखिएको थियो । म आफैँ पनि यहाँ आएर केही समय आइसोलेशनमा बसेको थिएँ । भ्याक्सिन लिएपछि मात्रै काममा आएका हौं । अमेरिकामा कोरोना विरुद्धको खोपको प्रयोग पर्याप्त भइसकेको छ त्यसैले यहाँ नियन्त्रणतर्फ अगाडि बढेको देखिन्छ ।

    नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा अमेरिकी सरकारले युएसआइडीमार्फत् उदारतापूर्वक स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ । थप बजेट पनि दिएको बाहिर आइसकेको छ । हामीसँग छलफल हुँदा युएसआइडीमार्फत् थप वित्तीय सहयोग गछौं भन्नुभएको छ ।

    खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ । अष्ट्राजेनिका खोपको नेपालले पाउने मात्रा राम्रोसँग पाउन सकोस भनेर हामीहरुले भनिरहेका छौं ।

    हामीहरुले नेपालको स्वास्थ्य मन्त्रालयको अनुरोधमा अमेरिकाको हेल्थ एण्ड ह्युमन रिसोर्स सर्भिस्लाई हालै एउटा अनुरोध गरिएको छ । त्यसमा हामीले बजारको प्रतिस्पर्धी मूल्यमा जोन्सन एण्ड जोन्सनको खोप खरीद गर्न चाहन्छौं भनेका छौं । अहिले खोप खरिद गर्नको लागि अमेरिकी सरकारले स्वीकृत दिनुपर्ने हुन्छ । त्यो विषय मैले स्टेट् डिपार्टमेन्टमा  उठाएको छु ।

    हामीहरुको अपेक्षा के हो भने कोभ्याक्सको मोडालिटीबाटभन्दा बाहिरबाट पनि करिव ६० देखि ७० लाख डोज लिन सक्यौँ भने त्यसले हामीहरुलाई एउटा तहमा कोराना विरुद्ध लड्न सफल बनाउँछ । मलाई के विश्वास छ भने निकट भविष्यमा नै नेपालमा अमेरिकाबाट खोप जान सक्छ । यसको लागि हामी अहोरात्र खटिरहेका पनि छौं ।

    अमेरिकी सरकारले खोपका अतिरिक्त अन्य उपकरणहरु पनि सहयोग गर्ने भनेर सिनेटमा समेत सिनेटरहरुले आवाज उठाइरहेका छन्, खासमा कस्ता खालका उपकरणहरु नेपाल जाँदैछन् ?

    निश्चय नै अमेरिकामा रहनुभएका विभिन्न तह र तप्काका नेपाली अमेरिकनहरुले गर्नु भएको पहलकदमीको कारणले सिनेटमा आवाज उठेको छ । त्यो एउटा स्तुतीयोग्य कदम हो भन्ने मलाई लागेको छ । त्यसको लागि यस विषयमा सहभागी सम्पूर्णलाई म दूतावासको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु । जहाँसम्म अमेरिकाले दिएको सहयोगको विषय छ त्यसमा दुई तरीकाको सहयोग गइरहेको छ ।

    तपाईलाई थाहा नै छ, एक चरणको सामाग्री युएसएआइडीमार्फत् नेपाल पुगिसकेको छ । त्यो आगामी दिनमा पनि जाँदैछ । अमेरिकाले हरेक साता जस्तो त्यस्ता सामाग्री नेपालमा पठाउने गरी काम भइरहेको छ । त्यसैगरी अर्को डिपार्टमेन्ट अफ डिफेन्सबाट पनि नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका सामानहरु धेरै गएका छन् । साथै हामीहरुले अनुरोध गरेको खण्डमा स्पेशल चार्टड विमान पनि नेपाल जानसक्ने भनेर हामीलाई स्टेट एजेन्सीबाट पनि जानकारी आएको छ । यसका लागि गैरआवासीय संघदेखि डाक्टर एशोसियसन, नर्सिङ एसोसियसन स्थानीय संघसंस्थाहरुमार्फत् सहकार्य गरेर यहाँ सङ्कलन गरिएका सामाग्रीहरु नेपाल लैजान हामी आतुर छौं । हामी अहिले महामारीको चपेटामा परेकोले एक सेकेण्ड पनि बिलम्व नगरी अमेरिकाबाट स्वास्थ्य सामाग्रीहरुदेखि खोप सम्म लैजान दूतावासले सम्पूर्ण संयन्त्र परिचालन गर्न कुनै कसर वाँकी राखेको छैन ।

    अमेरिकी सरकारको पक्ष एउटा भयो अर्को यहाँ रहेका नेपाली स्थानीय संघसंस्थाहरुको पहललाई कसरी समन्वय गर्नुहुन्छ ?

    खासमा हामीहरुले विगतको पाठ सिकेर के गरेका छौं भने यहाँबाट जाने जे सुकै सहयोग पनि स्वास्थ्य मन्त्रालयमार्फत् बुझने व्यवस्था गरिएको छ । हामीले यसमा केही मापदण्ड समेत तय गरेका छौं । हामी स्वास्थ्य सामाग्री बाहेक अरु सामान लिदैनौं, एक पटक प्रयोग गरिएका सामानहरु लिदैनौं । त्यसको लागि हामीहरुले आवश्यक सामानहरुको ३२ वटा सूची दूतावासको वेभसाइटमा नै राखेका पनि छौं । साथै हामीहरुले दाताहरुलाई के पनि भनेका छौं भने यदि कसैले यहाँबाट दोहा या आवुधावीसम्म सामान पठाउने व्यवस्था गर्नुहुन्छ भने हामीले त्यहाँबाट नेपाल लैजाने व्यवस्था समेत मिलाएका छौं । यस विषयमा मैले सम्मानीय प्रधनमन्त्रीज्यूसँग समेत छलफल गरिसकेको छु ।

    गैर सरकारी संघसंस्थाहरुले गर्ने सङ्कलन गरेका सामाग्रीहरुको व्यवस्थापन र ढुवानीको व्यवस्थालगायत यावत काम गर्न दूतावासले निरन्तर समन्वय र सहकार्य गर्नेछ । तर कतिपय सामानहरु अमेरिकाबाट नेपाल सम्म पुर्याउन सुरक्षाको दृष्टिकोणदेखि प्राविधिक कारणले समेत वभिन्न कठिनाई आएको अवस्थामा नजिकको बजारवाट खरिद गर्ने सोचाइमा समेत काम गरिरहेका छौं । यसमा अमेरिकी सरकारी अधिकारीहरुले समेत उपयुक्त माध्यम भएको भन्दै आवश्यक परेको खण्डमा वित्तीय सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ ।

    अमेरिकी सरकारले गरेको ऐतिहासिक सहयोग एमसीसीको कार्यान्वयनमा किन ढिलाई भएको हो ? त्यस विषयमा यहाँ केही छलफल भएको छ ?

    यो एउटा सहज स्थिति रहेन । यो सहायतालाई हामीले अलि बढी नै राजनीतिकरण गर्यौं । जे सम्झौता गरेका छौं, त्यहाँभित्र लेखेका कुराहरुमा वौद्धिक सम्पत्तिको कुरा होला, आयोजनापछि त्यसको सुरक्षाको कुरा होला या लेखा परीक्षणको अवस्थाको कुरा होला या कुनै अवस्थामा कानूनहरु बाझिएको कुरासमेत ‘लेटर अफ एक्सचेञ्ज’बाट सल्टाउन सकिन्छ । तर अनावश्यक रुपमा यस आयोजनालाई अमेरिकाको सुरक्षा नीतिभित्र पर्छ भनेर एकातिर हल्ला गरियो भने अर्कोतर्फ दुई दुई वर्षसम्म संसदमा प्रवेश नै नगराई हलो अड्काउने काम भयो । यसमा कुनै विवादको विषय नै छैन । राजनीतिक दलका नेताहरुले भेटमा एउटा र व्यवहारमा अर्को कुरा गर्ने जस्तो द्धैध चरित्रको कुरा गर्नुभएकाले पनि संसदमा यो सहायता कार्यक्रम टेवल हुन पाएन । टेवल नभएपछि छलफल भएन, त्यो नभएपछि अनुमोदन हुने कुरै आएन । जवकी उहाँहरु सबै सरकारमा भएको बेला ‘थ्रेसहोल्ड’ हुँदै हामी ‘कम्प्याक्ट’मा प्रवेश गरेका थियौं । यो सम्झौताअनुसार अनुमोदनको अन्तिम समय दिएको पनि डेढ वर्ष भयो ।

    हामीहरुको लागि विद्युत वितरणको आयोजना लाइफलाइन नै हो नि । यो नेपालको वृहत्तर विकासको लागि अपरिहार्य पनि छ । त्यसैले यो राष्ट्रिय गौरवको आयोजनामा राखेका छौं । हामीले यसलाई तीन वर्षदेखि बजेटमा राखेका छौं । यो संसदले पास गरेको बजेट हो । यसैले यसलाई कार्यान्वयनमा लैजाउँ भनेका छौं । तर उहाँहरुले अनुमोदन नभई यो ‘फोर्स’ हुँदैन भन्नुभएको हो । यो होल्डमा रहेको छ । अव संसद नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर हामीले छलफल गरिरहेका छौं । हामीले यसको लागि काम गर्दै आएका पनि छौं, आयोजनाको स्थान छनौट, वातावरण मूल्याङ्कन जस्ता काम सम्पन्न गरिसकेका छौं । ‘क्रस कन्ट्रि टान्समिशन लाइन’को लागि कम्पनी स्थापना गर्न क्याविनेटमा प्रस्ताव पुगेको पनि छ ।

    यसै विषयमा यसै साता मात्रै मैले एमसीसी डिपार्टमेन्ट अफ कम्प्याट अपरेशनकी उपाध्यक्ष फतिमा सुमर र उपाध्यक्ष जोनाथनसँग छलफल गरेको थिएँ । संसद नरहेको अवस्थामा वैकल्पिक विषयमा पनि हामी छलफल गर्ने नै छौं । उहाँहरु काठमाडौं भ्रमण गरेर यसलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ । अमेरिका नेपाल बीच यति राम्रो सम्वन्धका वावजुद यसलाई रोकिनु कुनै पनि दृष्टिकोणले उपयुक्त होइन अब हामी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौं ।

    दूतावासले यहाँ दिने सेवाको विषयमा अत्याधिक गुनासो आइरहेकोमा तपाईंले कार्यभार सम्हालेपछि के कस्ता सुधार भएका छन् ?

    विगतमा के भयो त्यसमा म जान चाहन्न तर अहिले पछिल्लो तीन महिनामा हामीले विभिन्न सुधार गरेका छौं । मैले पछिल्ला दिनहरुमा टेक्सास, शिकागोलगायतका स्थानमा भ्रमण गरेर उहाँहरुले गर्नुभएको गुनासो नोट गरेको छु । त्यो हिजो थियो अव छैन भनेर उहाँहरुलाई भनेको पनि छु । मैले यस अवधिमा पहिला बाँकी रहेका सबै काम सम्पन्न गराउने काम गरेँ । अब दूताबासबाट प्राप्त हुने सेवा सहज र सुलभ होस् भनेरै काम गर्ने हो ।
    –रासस

  • संक्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु उपयुक्त : विशेषज्ञ

    संक्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु उपयुक्त : विशेषज्ञ

    दिल्ली । कोरोनाभाइरस संक्रमित बिरामीले संक्रमणमुक्त भएको तीन महिनापछि खोप लिनु राम्रो हुने भन्दै उनीहरूका लागि खोप अभियान तीन महिना स्थगित गर्न भारतीय कोभिड-१९ खोप प्रशासन राष्ट्रिय विशेषज्ञ समिति (एनईजीभीएसी) ले बुधवार सिफारिस गरेको छ ।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार एनईजीभीएसीको नयाँ सिफारिसहरू कोभिड-१९ महामारीको उदाउँदो अवस्था र उदाउँदो विश्वव्यापी वैज्ञानिक प्रमाण र अनुभवको आधारमा गरिएको हो ।

    ‘एन्टि सार्स-२ मोनोक्लोनल एन्टिबडी’ वा ‘कम्भलेसेन्ट प्लाज्मा’ दिई उपचार गरिएका कोभिड-१९ संक्रमित बिरामीहरूलाई दिने खोप पनि अस्पतालबाट डिस्चार्ज हुने मितिदेखि तीन महिनासम्म स्थगित गरिनुपर्ने विज्ञहरूको समितिले बताएको छ ।

    एनईजीभीएसीका नयाँ सिफारिसहरुमा भनिएको छ, ‘कुनै व्यक्ति खोपको पहिलो डोज लिएपछि संक्रमित भएमा पनि दोस्रो मात्रा संक्रमणमुक्त भएको तीन महिनासम्मका लागि स्थगित गर्नुपर्नेछ ।’

    कोभिड–१९ संक्रमणमुक्त भएको परीक्षण रिपोर्ट आएको १४ दिने वा खोप लगाएको १४ दिनपछि कुनै पनि व्यक्तिले रगतदान गर्न सक्ने विज्ञ समूहले सिफारिस गरेको छ ।

    समितिले अन्य रोग लागेका गम्भीर बिरामीले कोभिड-१९ को खोप लिनुभन्दा पहिले ४-८ हप्ता अस्पतालमा भर्ना हुन वा चिकित्सकको हेरचाह आवश्यक रहेको पनि सुझाब दिएको छ ।

    स्तनपान गराउने महिलाले चिकित्सकको सल्लाह लिएर खोप लिन सक्ने तर गर्भवतीहरुका लागि के गर्ने भन्ने बिषयमा अझै खाृपका लागि राष्ट्रिय प्राबिधिक सल्लाहकार समूहले छलफल तथा अध्ययनहरू गरिरहेको भारतीय संघीय स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

  • अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    अमेरिकाले थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने

    वासिङ्टन । अमेरिकाले कोभिड-१९ विरुद्धको थप २० मिलियन डोज खोप अन्तर्राष्ट्रिय समुदायलाई बाँड्ने घोषणा गरेका छन् ।

    अमेरिकामै उत्पादन भएका मोर्डन, फाइजर र जोन्सन एन्ड जोन्सनको उक्त परिमाणको खोप बाँड्ने घोषणा राष्ट्रपति जो बाइडेनले गरेका हुन् ।

    जुन महिनाको अन्त्यसम्म ती भ्याक्सिनलाई विदेशमा वितरण हुने जनाइएको छ । कुनैपनि मुलुकले अन्तर्राष्ट्रिय समुदायलाई दिएको खोपभन्दा यो पाँचगुणाले बढी हो ।

    बाइडेनले यसअघि पनि ६० मिलियन अस्ट्राजेनेका खोप वितरण गर्ने घोषणा गरिसकेका छन् । अमेरिकामा भने अस्ट्राजेनेकाको भ्याक्सिनले प्रयोगको अनुमति प्राप्त गरिसकेको छैन ।

    नेपालले पनि अमेरिकाबाट खोप आपूर्तिका लागि परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेको छ । अमेरिकी राजदूत बेरीले पनि नेपाललाई खोप उपलब्ध गराउन पहल गरिरहेको र वासिङ्टनमा खबर दिइसकिएको जनाएका छन् ।

    अमेरिकाले अन्तर्राष्ट्रिय समुदायलाई दिने भनेको ८० मिलियन डोज नेपालले प्राप्त गर्ने भन्ने टुंगो लागिसकेको छैन ।

  • पत्रकारलाई पीसीआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

    पत्रकारलाई पीसीआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

    काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले समचार संकलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।

    शाखाको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना संक्रमण दिनानुदिन बढ्दै गएकाले कोरोना महामारी बारेमा सर्वसाधारणलाई सुसूचित गराइरहेका सञ्चार माध्यम र पत्रकारलाई इन्टरनेट, टेलिफोन र विद्युतजस्ता अत्यावश्यक वस्तुमा सहुलीयत दिनसमेत माग गरेका छन् ।

  • अमेरिकाबाट खोप ल्याउन सरकारले थाल्यो कूटनीतिक प्रक्रिया

    अमेरिकाबाट खोप ल्याउन सरकारले थाल्यो कूटनीतिक प्रक्रिया

    काठमाडौं । सरकारले अमेरिकाबाट खोप ल्याउन प्रक्रिय अघि बढिसकेको जनाएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड खोप ल्याउन प्रक्रिया सुरु भैसकेको जनाएका हुन् ।

    कांग्रेस नेता गगनकुमार थापाले अमेरिकाबाट खोप ल्याउनका लागि कूटनीतिक प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । उनको जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीको उक्त जानकारी प्रकाशमा आएको हो ।

    कांग्रेस नेता थापाले अमेरिकाले अन्य मुलुकलाई दिने भनेको ६ करोड अस्ट्राजेनेका खोप आपूर्ति हुनसके दक्षिण एसियाली मुलुक लाभान्वित हुने जनाएका थिए ।

    अमेरिकाले स्टकमा राखेको उक्त परिमाणको खोप अन्य मुलुकमा आपूर्ति गर्न लागेको जनाइएको छ । तर, कतिपय संघसंस्था र मुलुकले अमेरिकाले खोप स्टक राखेको र अन्यत्र अभाव भैरहेको भन्दै अमेरिकाको आलोचना गरिरहेका छन् ।

    नेपालमा भारतको सिरम इस्टिच्युटले उत्पादन गरेको अस्ट्राजेनेका-अक्सफोर्डको कोभिसिल्ड खोप आपतकालिन प्रयोगमा आइसकेको छ ।

  • खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो)

    खोप लगाउन घुँइचो, ८ घण्टादेखि लाइन बस्नेले पनि पालो पाएनन् (फोटो/भिडियो)

    काठमाडौं । थापाथलीस्थित प्रसूतिगृहमा रहेको खोप केन्द्रमा खोप लगाउने सर्वसाधारणको भिड खचाखच थियो । सुकुम्बासी वस्ती नजिकै रहेको प्रहरी बिटबाट सुरु भएको लाइन प्रसूतिगृहको गेट हुँदै भवनको पहिलो तल्लासम्म हेर्दा सयौंको संख्यामा देख्न सकिन्थ्यो ।

    बिहान ७ बजेदेखि लाइन बसेकी ४८ वर्षीया पावना अर्याल हातमा टोकन लिएर उभिरहेकी थिइन् । १२ बजिसक्दा समेत लाइन नसर्दा खोप नपाउने हो कि भन्ने चिन्ता अर्याललाई थियो ।

    ‘कोभिडबाट बच्न भनेर खोप लगाउन आएको । तर, यो भिडले झन् जोखिम बनायो । खोप पाउने नपाउने भर भएन,’ उनले भनिन् ।

    गेटबाहिर फर्किँदै गरेकी ६५ वर्षीया एक वृद्धा निराश मुद्रामा थिइन् । ५९ वर्षका भन्दा माथिकाले खोप नपाउने भएकाले आफू नलगाई फर्कनुपरेको उनले सुनाइन् ।

    ‘६ बजेदेखि लाइन बसेको म । तर, हाम्रो उमेरकोले नपाउने रहेछ । पहिला थाहा भएन,’ उनले भनिन् ।

    बालाजु बस्ने रुपेश खड्का भर्खरै खोप लगाएर बाहिर निस्कँदै थिए । सोमबार दिनभर लाइन बस्दासमेत पालो नपाएपछि आज पुनः लाइन बसेका थिए उनी । ‘हिजो पालो नपाएपछि आज बिहानै आएँ । बल्लबल्ल पालो पाएँ,’ उनले भने ।

    भवनको माथिल्लो तल्लामा खोप लगाउन लाइन बस्नेहरूको चर्को भिड थियो ।

    ३ सय ७४ नम्बरको टोकन लिएर बसेका ५० वर्षीय वेदबहादुर थापा आक्रोसित देखिँदै थिए ।

    ‘हामी बिहान ४ बजेदेखि लाइन बसेकाले अहिलेसम्म पाएका छैनौं । तर यहाँ कालो कोटवाला र पहुँच भएकाहरू ५/६ जना छिरे,’ उनले गुनासो गरे । आफू लाइन लागेर टोकनका साथ बस्दा पनि पालो नआएकोमा उनी आक्रोशित देखिन्थे ।

    ‘साढे ८ बजे आउनेहरु अघि नै लगाएर गइसके । पहुँचवालाले जे गर्दा पनि हुने,’ उनले भने ।

    अघिल्लो दिन पनि लाइन बसेर पालो नआएपछि फर्किएका ३५ वर्षीय विकास पुन आज पनि बिहान ४ बजेदेखि लाइन बसे । तर, बीचमा घुसपैठ भएर छिर्नेहरू खोप लगाएर फर्किँदा पालो पाउन सकस भएको बताउँछन् उनी ।

    त्यही भिडमा करिब ४ वर्षीय बालक च्यापेर लाइन बसिरहेका रोशन पुन पनि थिए । ‘बिहान ५ बजेदेखि आएको, उभिएका उभिएकै छौं । पालो अघिनै आइसक्नुपर्ने थियो । अझै आउने छाँट छैन,’ उनले भने ।

    श्रीमतीसहति आएका उनी आफूसँग भएको बच्चालाई जोखिम भयो भन्ने चिन्तामा थिए । ‘बच्चा घरमा एक्लै छाड्न मिल्दैन । यहाँ ल्याउँदा कोभिडको डर झन् बढ्यो,’ उनले सुनाए ।

    घुसपैठ भएको भन्दै झगडा र धरपकड गरिएको दृश्य पटक-पटक देख्न सकिन्थ्यो । लाइन बसिरहेकी एक महिला नयाँ मान्छेलाई भित्र छिर्न निषेध गर्न खोजिरहेकी थिइन् । भिड व्यवस्थापन गर्न बसिरहेका एक जना सईसँग उनको भनाभन समेत हुन्छ ।

    ती सईले उनलाई ‘बाहिर निकाल्’ भनेर प्रहरी जवानलाई अह्राउँछन् । ‘निकाल्नुस्, बिहान ५ बजे दुई वटा बच्चा छाडेर आएको छु । कुपन छ हातमा । अरु मनमौजी ढंगले कुपनविना पसिरहेका छन् । मलाई कसरी निकाल्न पाउनुहुन्छ ?’ उनी आक्रोसित सुनिँदै थिइन् ।

    प्रसूतिगृह खोप केन्द्रमा देखिएको यो दृश्यले कोरोना जोखिम झन् बढाउने अनुमान सहजै गर्न सकिन्थ्यो ।

    हाल १५ खोप केन्द्रहरूमा खोप वितरण

    अहिले काठमाडौं, भक्तपुर र ललितपुर गरी १५ वटा खोप केन्द्रहरूमा चीनबाट आयात गरिएको भेरोसेल खोपको पहिलो मात्र सर्वसाधारणलाई दिइएको छ । स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख झलक शर्माका अनुसार यो खोप पहिलो मात्रामा ४ लाखलाई दिइनेछ भने चार लाख दोस्रो मात्राको लागि राखिनेछ ।

    पहिलो पटक दिइएको दोस्रो चरणको खोप हिजोबाट बन्द भएको उनले बताए ।

    दोस्रो खोप सुरुमा ४० देखि ५९ उमेर समूहकालाई दिइएको थियो भने अहिले निवेदन दिएका १८ वर्षदेखि ५९ सम्मकाले पाएका छन् । खोप केन्द्रहरूमा दैनिक ६ सय देखि १६ सय सम्मकाले खोप लगाएको उनले बताए । ‘अहिले खोपको माग बढेको छ । हामीले पुर्‍याउन सकिरहेका छैनौं,’ उनले भने ।

    खोप लगाएपछि जोखिम उस्तै

    खोपका लगाउने क्रममा नै भिडका कारण झन् जोखिम बढेको कुरा खोप शखा प्रमुख शर्मा स्वीकार्छन् । ‘भिडभाडले गर्दा जोखिम त बढ्ने नै भयो । व्यवस्थापन गर्न पनि स्वास्थ्यकेन्द्रलाई गाह्रै भएको छ,’ उनले भने ।

    मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी पनि खोप लगाउने क्रममा जोखिम बढेको हुँदा संक्रमण बढ्ने खतरा भएको बताउँछन् । ‘संक्रमण बढ्ने जोखिम भएको हुँदा खोप वितरण छिटै बन्द गर्नेछौं,’ उनले भने ।

    अधिकारीका अनुसार खोप लगाएर पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेन भने संक्रमण हुने डर उतिकै छ । ‘खोप लगाएर पनि मापदण्ड पालना नगर्ने हो भने रोकथाम हुन्न । अहिले पनि खोप लगाइसकेका सबैमा शतप्रतिशत क्षमता विकास हुने समय भइसकेको छैन । १० जनामध्ये ४ जनालाई खोपले काम गर्‍यो भने ३ जनालाई गरेन भने संक्रमण दर अगाडि बढ्दैन । हामी सजग उतिकै रहनुपर्छ,’ उनले भने ।

    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
    
  • कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

    कोरोनाको दोस्रो डोज खोप वैशाख ७ देखि

    काठमाडौं । कोभिड १९ विरुद्धको दोस्रो डोज खोप यही वैशाख ७ गतेबाट लगाइने भएको छ । जिल्लामा पहिलो चरणमा खोप लगाएकालाई पालो मिलाएर ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज दिन लागिएको हो ।

    स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार पहिलो चरणमा दुई समूहमा खोप लगाएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, शव व्यवस्थापनका सुरक्षाकर्मी, कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी र स्थानीय तहका कर्मचारीलाई दोस्रो डोज दिन लागिएको हो । सो चरणमा खोप लगाउनेको सङ्ख्या १४ हजार रहेको छ ।

    यस्तै दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई भने यस चरणमा खोप लगाइने छैन । जिल्लामा २७ हजारलाई दोस्रो चरणमा खोप लगाइएको कार्यालय प्रमुख दीपक तिवारीले जानकारी दिए। दोस्रो चरणका लागि समय नपुगेको र खोप आइनसकेकाले केही समयपछि दोस्रो डोज खोप लगाईने छ ।

    उनका अनुसार पहिलो चरणमा पाँच वटा केन्द्रमार्फत खोप लगाइएको भए पनि दोस्रो चरणमा भने केन्द्र विस्तार गरिएको छ । जिल्लाका ठूला अस्पताल र मेडिकल कलेजमा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीलाई सोही अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको छ । तिवारीका अनुसार जिल्लाका सातवटै पालिकामा रहेकालाई खोप लगाउन सम्बन्धित पालिकामा नै खोप केन्द्र रहने छन् ।

    बाँकीका लागि स्वास्थ्य कार्यालय चितवनमा रहेको संस्थागत क्लिनिकमा खोप केन्द्रको व्यवस्था गरिएको छ । उनले भने, ‘लामो समय पालो कुर्न नपर्ने गरी व्यवस्था मिलाएका छौँ ।’

  • वैशाखभित्रै खोप आपूर्ति गरिदिन सिरमलाई सरकारको पत्र

    वैशाखभित्रै खोप आपूर्ति गरिदिन सिरमलाई सरकारको पत्र

    काठमाडौं । स्वास्थ्य मन्त्रालयले भारतको खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटलाई बाँकी १० लाख डोज खोप वैशाखभित्र उपलब्ध गराउन भन्दै तेस्रोपटक पत्राचार गरेको छ ।

    सिरमले दिनुपर्ने खोप नआउँदा नेपालको खोप अभियान प्रभावित भएपछि सरकारले पुनः पत्र पठाएको हो ।

    गत फागुन ५ गते सरकार र सिरम इन्स्टिच्युटबीच प्रतिखोप चार डलरका दरले २० लाख डोज खरिद गर्ने सहमति भएको थियो ।

    बाँकी १० लाख त्यसको एक साता अर्थात फागुन १५ गतेभित्र पठाइसक्नुपर्ने थियो । तर, सिरमले कुनै कारणबिना तत्काल खोप आपूर्ति गर्न नसकिने पत्र नेपाललाई लेखेको थियो ।

    खोपका लागि सरकारले ९३ करोड रुपैयाँ सिरमलाई उपलब्ध गराइसकेको छ । भारतभित्रै ब्यापक माग भैरहेको स्थितिमा भारतीय विदेश मन्त्रालयले अस्थायीरुपमा खोप आपूर्तिमा रोक लगाएको विवरण बीबीसीमा आएको थियो ।

    तर, विदेश मन्त्रालयले खोप आपूर्तिमा रोक नलगाएको बताइसकेको छ । नेपालमा सिरमले उत्पादन गरेको कोभिसिल्ड खोपलाई झन्डै १८ लाख जनाले लगाइसकेका छन् ।

     

  • शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

    शरणार्थीलाई खोप लगाउने नेपाल एसियाकै पहिलो मुलुक

    काठमाडौं । नेपाल शरणार्थीलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो मुलुक बनेको छ । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ६५ वर्षमाथिका व्यक्तिलाई यसैसाता खोप लगाइएको छ ।

    राष्ट्रिय खोप अभियानअन्तर्गत नै शरणार्थीलाई पनि खोप लगाइएको हो । दोस्रो चरणको खोप अभियानमा भुटानी शरणार्थीलाई खोप लगाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।

    ६५ वर्षमाथिका ६६८ जना शरणार्थीले खोप लगाएका हुन् । थप खोप आपूर्ति भए अन्य शरणार्थीलाई पनि लगाइने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

    नेपालमा भुटानी र तिब्बती गरी २० हजार शरणार्थी छन् । ‘शरणार्थीलाई खोप लगाएर नेपालले जनस्वास्थ्यको क्षेत्रमा उदाहरणीय काम गरेको छ’ नेपालस्थित शरणार्थी उच्चायोग प्रतिनिधि कार्लोस बर्माले बताए ।

  • भारतीय समकक्षीसँग प्रधानसेनापतिको संवाद, खोपको लागि नरवाणेलाई धन्यवाद

    भारतीय समकक्षीसँग प्रधानसेनापतिको संवाद, खोपको लागि नरवाणेलाई धन्यवाद

    काठमाडौं । भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनालाई १ लाख डोज खोप हस्तान्तरण गरेका छन् ।

    राजधानीमा मंगलबार आयोजित समारोहमा राजदूत क्वात्राले भारतीय सेनाले प्रदान गरेको कोभिसिल्ड खोप प्रधान सेनापति पूर्णचन्द्र थापालाई प्रदान गरे ।

    भारतीय सेनापति मनोजमुकुन्द नरवाणेले भर्चुअल माध्यममार्फत नेपाली समकक्षीसँग पनि छलफल गरेका थिए । थापाले खोपका लागि नरवाणेलाई धन्यवाद दिए ।

    नेपाली सेनाले प्राप्त गरेको उक्त खोप सेनाकै लागि प्रयोगमा ल्याइने भएको छ ।

  • १६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

    १६ लाख ज्येष्ठ नागरिकले लगाए खोप

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।

    स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले ६५ वर्षभन्दा माथिका १६ लाख ७३ हजार २२७ ज्येष्ठ नागरिकले खोप लगाएको जानकारी दिए ।

    सरकारले गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २२ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको थियो ।

    उनले खोप अभावका कारणले खोप अभियानलाई अहिलेका लागि स्थगन गर्नुपरेको जानकारी दिए। ‘हामी निरन्तर खोप अभियान गर्ने तयारीमा रहेका थियौँ, उनले भने, ‘तर खोप अभाव भएपछि अहिलेका लागि अभियान स्थगन गरेका छौँ ।’

    विभागले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेपछि ५५ वर्ष भन्दामाथिका र दीर्घरोगीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । भारतस्थित सिरम इन्स्टिच्युट अझ इण्डियाबाट खरिद गरिएको १० लाख मात्रा खोप नआएपछि खोप अभियान स्थगन गरिएको हो ।

    अहिलेसम्म भारत सरकारबाट अनुदानमा १० लाख मात्रा र नेपाल सरकारले आफै खरिद गरेको १० लाख मात्रा खोप ल्याई लगाइएको छ । यसअघि पहिलो चरणमा सञ्चालन भएको खोप अभियानमा चार लाख २९ लाखले खोप लगाएका थिए ।

    खोप शाखाका प्रमुख डा गौतमले सरकारसँग अझै सात लाख मात्रा खोप मौज्दात रहेको जानकारी दिए। उनका अनुसार मौज्दात खोप पहिलो चरणमा लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिनका लागि राखिएको छ । दोस्रो मात्रा आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने छ ।

  • भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप

    भारतको सिरमले रोक्यो बेलायत पठाउन लागिएको खोप

    लन्डन । भारतको सिरम इन्स्टिच्युटले खोप आपूर्ति रोकेपछि बेलायतमा खोप अभियान प्रभावित भएको छ । बीबीसीका अनुसार चार सातादेखि सिरमले बेलायत पठाउन तयार पारिएको खोपको खेपलाई रोकेर राखिरहेको छ ।

    जसले गर्दा आउने महिना बेलायतमा खोप अभाव हुने जानकारी बेलायतको स्वास्थ्य मन्त्रालयले त्यहाँका स्थानीय स्वास्थ्य संस्थालाई दिएको छ । जुलाइको अन्त्यसम्म बयोवृद्ध नागरिकलाई पहिलो डोज खोप लगाउने बेलायतको तयारी छ ।

    सिरमले अक्सफोर्ड र अस्ट्राजेनेकाले विकास गरेको कोभिसिल्ड खोप उत्पादन गरिरहेको छ । सिरमका प्रवक्ताले चाहिँ ५ मिलियन डोज खोप बेलायतलाई पठाइसकेको बताएका छन् । भारत सरकारको आवश्यकता र खोपको उपलब्धताअनुसार मात्र खोप पठाउन सकिने सिरमको जवाफ छ ।

    सिरमले नेपाललाई पनि पत्र पठाएर तत्काल खोप आपूर्ति गर्न नसकिने जवाफ दिएको थियो ।

    सिरम इन्स्टिच्युट विश्वकै सवैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो । कम्पनीले यो वर्षमात्र न्यून र मध्यम आय भएका मुलुकका लागि १ बिलियन डोज खोप उत्पादन गर्ने लक्ष्य राखेको छ ।

    यसै महिनाको सुरुआतमा सिरम र बेलायतबीच १० मिलियन डोज खोप आपूर्ति गर्ने सहमति भएको थियो । तर, ढिलाइका बाबजुद पनि यो महिना त्यसको आधामात्र आपूर्ति हुने सम्भावना छ ।

  • प्रधानमन्त्रीले खोप लगाउने तर मिति टुंगो छैन

    प्रधानमन्त्रीले खोप लगाउने तर मिति टुंगो छैन

    काठमाडौं । बुधबारदेखि तीनदिनसम्म राष्ट्रिय सभा र प्रतिनिधिसभाका सांसदले निजामति अस्पतालमा खोप लगाउन सुरु गरेका छन् ।

    सभामुख अग्नि सापकोटासहित पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी लगायतले बुधबार कोभिडविरुद्धको खोप लगाए ।

    संसद सचिवालयका अनुसार दुबै सदनका ३३४ सांसद, सचिवालय र संसद भवनमा खटिने कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, संसदीय समाचार लेख्ने पत्रकारसहित १५०० लाई खोप लगाउने व्यवस्था गरिएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म खोप नलगाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । खोप लगाउने प्रधानमन्त्रीको योजना रहेको तर, कहिले लगाउने निश्चित नभैसकेको उनले जनाए ।

    ‘प्रधानमन्त्रीले पनि खोप लगाउनुभएको छैन । उहाँको टीम हामी कसैले पनि लगाएका छैनौं । फ्रन्टलाइनरले लगाउन भन्ने हाम्रो चाहना हो’ थापाले भने । दुईपटक मृर्गौला प्रत्यारोपण गरेका ७० वर्षे प्रधानमन्त्री ओली पनि कोरोनाभाइरसको जोखिम समूहमा पर्छन् ।

    सरकारले दीर्घरोग भएका व्यक्तिलाई खोप कार्यक्रममा प्राथमिकतामा राखेको छ । स्वास्थ्य मन्त्रालयले मुटु, मस्तिष्क, फोक्सो, मृगौला र क्यान्सर भएका दीर्घरोगीलाई खोप दिन मिल्ने बताएको छ ।

    प्रधानमन्त्रीलाई समेत खोप लगाउँदा कुनै खतरा नहुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

  • सरकारले थप ५० लाख डोज खोप खरिद गर्दै

    सरकारले थप ५० लाख डोज खोप खरिद गर्दै

    काठमाडौं । सरकारले थप ५० लाख डोज कोभिड १९ विरुद्धको खोप खरिदको प्रक्रिया शुरु गरेको छ ।

    मंगलबार प्रतिनिधि सभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा कोभिड १९ खोप अभियानको सम्बन्धमा भएको छलफलमा बोल्दै सचिव लक्ष्मण अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया शुरु गरेको बताएका हुन् ।

    हाल मन्त्रालयसँग रहेको खोप र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने उनले  जानकारी दिए ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले आगामी दिनमा खोप अभियान जेष्ठ नागरिकबाट शुरु गर्ने बताए । फ्रन्टलाइनमा काम गर्नेहरुलाई पनि कोभिड १९ को संक्रमणबाट बचाउनुपर्नेमा उनको जोड छ ।

    ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने पनि उहाँले जानकारी दिए । तर एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँ नहुन सक्नेपनि उनले भने ।

    स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले कोभिड विरुद्धको खोपका कारण गम्भिर प्रकृतिका असरहरु देखा नपरेको बताए ।

    डा. शर्माले कोभिडविरुद्धको खोप स्तनपान गराइरहेको आमालाई पनि दिन मिल्ने बताए । १८ वर्ष मुनिका बालबालिकाको उमेर समुहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप नदिइने उनको भनाई छ ।

    पहिलो खोप लगाएपछि गम्भिर प्रकारका असर देखा परेका व्यक्ति र गर्ववति महिलालाई पनि कोभिड विरुद्धको खोप नदिइने उनले जानकारी दिए ।

  • चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    चीनद्वारा नेपाललाई थप ८ लाख डोज खोप उपलब्ध गराउने घोषणा

    काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप आठलाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

    चिनियाँ दुतावासले सोमबार विज्ञप्ती जारी गर्दै थप सहुलियत अनुदानमा खोप दिने बताएको हो ।

    यसअघि चीनले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । चीनको प्रतिवद्धताअनुसार नेपालले १३ लाख डोज सिनोफार्म खोप प्राप्त गर्नेछ ।

    सिनोफार्मले उत्पादन गरेको खोप दिने चीनले घोषणा गरेको हो । यो खोपलाई आपतकालिन प्रयोगका लागि सरकारले अनुमति दिइसकेको छ । यो खोप ८० प्रतिशत प्रभावकारी हुने जनाइएको छ ।

    फागुन २३ देखि नेपालमा ५५ वर्षमाथिका नागरिकले खोप लगाउँदैछन् ।

  • विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा

    विश्वभर कोभिड-१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिमाण धनी राष्ट्रमा

    कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको आधिकारिक स्रोतहरुका आधारमा एएफपी सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    विश्वका खासगरी १०७ मुलुक र क्षेत्रमा खोप अभियानलाई तीब्र पारिएको अन्तर्राष्ट्रिय स्वास्थ्य निकायहरूले बताएका छन् ।

    ग्रीनवीच समय अनुसार शुक्रबार साँझ १० बजेसम्म चीन र रूसबाहेकका विश्वका १०७ मुलुकमा २० करोड १० लाख ४२ हजार १४९ मात्रा खोप प्रयोग भइसकेको एएफपीलाई प्राप्त तथ्याङ्कमा उल्लेख छ । चीन र रूसले भने खोप प्रयोगबारे प्रगति विवरण पछिल्ला केही दिनमा सार्वजनिक गरेका छैनन् ।

    विश्वभर प्रयोग भएका खोपको मात्राको करिब ४५ प्रतिशत जी–७ समूह राष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा, बेलायत, जर्मनी, फ्रान्स, इटाली र जापानमा प्रयोग भएको बताइएको छ । यी देशहरूमा विश्वको कूल जनसङ्ख्याको १० प्रतिशत जनसङ्ख्या रहेको छ । यद्यपि यी मुलुकहरूले शुक्रबार आफूहरू खोपलाई बढी प्रभावित मुलुकमा न्यायोचित रूपमा पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    जी–७ सदस्य राष्ट्रका नेताहरूले विश्वव्यापी कोरोनाभाइरस खोपका लागि उनीहरूको कुल सहयोगलाई दोब्बरभन्दा बढी अर्थात् ७।५ अर्ब अमेरिकी डलर गर्ने योजना बनाएको बताएका छन् । उक्त सहयोगलाई विश्व स्वास्थ्य संगठनको नेतृत्वमा कोभाक्स योजनामार्फत अघि बढाइने छ ।

    विश्वव्यापी जनसंख्याको आधा भाग रहेका मुलुकहरू, जसलाई विश्व बैंकले उच्च आम्दानी र उच्च–मध्यम आम्दानी रहेकोे भनी वर्गीकरण गरेको छ,मा विश्वमा उत्पादन भएका कोभिड–१९ विरूद्धको खोपको ९२ प्रतिशत मात्रा गएको एएफपीलाई प्राप्त विवरणहरूमा उल्लेख छ ।

    विश्वका निम्न आम्दानी भएका २९ मुलुकमध्ये गिनी र रूवान्डामा मात्र खोप अभियान सञ्चालन भएको देखिएको छ ।

    देशको कूल जनसङ्ख्याको झण्डै आधा जनसङ्ख्यालाई कोभिड–१९ विरूद्धको पहिलो खोप सेवा दिने मुलुकमध्ये इजरायल अग्रस्थानमा रहेको बताइएको छ । हरेक तीन इजरायलीमध्ये एक जनाले शनिबारसम्ममा दुबै खोप लिइसकेका छन् ।

    देशको कूल जनसङ्ख्याको १० प्रतिशतभन्दा बढी जनसङ्ख्यालाई खोप उपलब्ध गराउने मुलुकहरूमा, बेलायत ९२५० प्रतिशत, बहराइन १६ प्रतिशत, शिसेल ४३ प्रतिशत र माल्दिभ्स १२ प्रतिशत, रहेका छन् ।

    खोपको मात्रा प्रयोगका हिसाबले अमेरिकामा सबैभन्दा बढी पाँच करोड ९० लाख ६० हजार अर्थात् धेरै मात्रा खोप लगाइएको छ । त्यसैगरी फेब्रुअरी ९ सम्ममा चीनमा चार करोड ५० हजार खोप लगाइसकिएको थियो भने भारतमा एक करोड ७० लाख ५० हजार र इजरायलमा ७० लाख १० हजार मात्रा खोपको मात्रा लगाइसकिएको छ ।

  • आइतबार भारतबाट थप १० लाख डोज खोप ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी

    आइतबार भारतबाट थप १० लाख डोज खोप ल्याइने प्रधानमन्त्रीद्वारा जानकारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडविरुद्धको थप १० लाख डोज खोप आइतबार भारतबाट नेपाल आइपुग्ने बताएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जनसभामा प्रधानमन्त्रीले यस्तो जानकारी दिएका हुन् ।

    यसअघि पनि भारतबाट १० लाख डोज खोप आइसकेको छ । ‘भोलि फेरि १० लाख मात्राको खोप किनेर भारतबाट ल्याउँदैछौं । केही दिनपछि चीनबाट ल्याउनेछौं र केही दिनपछि फेरि भारतबाट ल्याउँदैछौं’ ओलीले भने ।

    सरकारले फागुन २३ गतेदेखि ५५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ । भारतको सिरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप ४ डलरको मूल्यमा खरिद गर्ने सम्झौता भएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसअघि बताएका थिए ।

    प्रधानमन्त्रीका अनुसार किनेर ल्याउने खोपको पहिलो खेप आइतबार काठमाडौं ल्याउन लागिएको हो । लगत्तै अन्तर्राष्ट्रिय खोप सहायता सञ्जाल कोभ्याक्समार्फत पनि साढे २२ लाख डोज सहायतास्वरुप आउने बताइएको छ ।

    भारत र कोभ्याक्स सुविधामार्फत अक्सफोर्ड विश्वविद्यालय तथा अस्ट्राजेनेका कम्पनीद्वारा विकसित कोभिसिल्ड खोप ल्याउन लागिएको हो । सरकारले चीनको सिनोफार्मले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगको अनुमति दिइसकेको छ ।

  • दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

    दोस्रो प्राथमिकतामा परेकालाई फागुन २ गतेदेखि खोप

    काठमाडौं । सरकारले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई फागुन २ गतेदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ लगाउने भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले फागुन २ देखि ८ गतेसम्म दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई जिल्लाबाटै खोप प्रदान गरिने छ ।

    पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप मन्त्रालयको दोस्रो प्राथमिकता परेका तीन लाख व्यक्तिलाई लगाइने उनले बताए । खोप अस्पताल र स्वास्थ्य सङ्घसंस्थाबाट लगाइने भएको छ ।

    उनका अनुसार जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, जिल्लास्थित पत्रकार, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सीमा सुरक्षा चौकीमा खटिएका सुरक्षाकर्मी र पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाइने छ ।

    पहिलो चरणको पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजारलाई लगाउने योजना भए पनि एक लाख ८४ हजारले खोप लगाएका छन् ।

    पहिलो चरणबाट बचेको खोप पत्रकार र कूटनीतिक नियोगका पदाधिकारी र कर्मचारीलाई यही माघ २६ गतेदेखि लगाउन थालिएको हो । उनीहरुलाई शुक्रबारसम्म लगाइने छ ।

    कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । तीमध्ये मन्त्रालयले यही माघ १४ गतेदेखि माघ २४ गतेसम्म पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशतलाई खोप दिनेमध्ये पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई मात्र खोप प्रदान गरेको थियो ।

    भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा गौतमले दोस्रो चरणका खोप अभियान नयाँ खोप आएपछि मात्र सञ्चालन गरिने बताए । नेपालमा अहिलेसम्म दुई लाख ७२ हजार ३४९ सङ्क्रमित भएका छन् । नेपालमा दुई लाख ६८ हजार ५४९ व्यक्ति निको र दुई हजार ४७ जनाको सङ्क्रमणबाट निधन भएको छ । रासस

  • अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

    अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति

    लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ ।

    बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी ४ देखि प्रयोगमा ल्याइने तयारी गरिएको छ ।

    यो खोपलाई सामान्य तापमानमा पनि भण्डारण र यताउता लैजान सकिने अस्ट्राजेनिकाले बताएको छ । फाइजर–बायोएनटेक तथा मोडर्नाले तयार पारेका खोपलाई भने निकै चिसो तापक्रममा भण्डार गर्नुपर्ने भएकाले ओसारपसारमा निकै कठिनाई हुने गरेको छ ।

    बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले जनवरीदेखि अस्ट्राजेनिकाको खोप दिन शुरु गरिने बताए । अस्ट्राजेनिकाको खोप आम जनतालाई दिने बेलायत पहिलो मुलुक हो । बेलायतमा नयाँ स्वरुपमा कोरोनाभाइरस देखिएसँगै अस्ट्राजेनिकाको खोप चलाउन थालिएको हो ।

    बेलायत सरकारको स्वास्थ्य नियामक निकाय ९एमएचआरए० ले अक्सफोर्ड र अस्ट्राजेनिकाले विकास गरेको खोप प्रयोगमा ल्याउन सकिने भन्दै अनुमति दिएको थियो ।

    एक जना स्वास्थ्य विभागका प्रवक्ताले अस्ट्राजेनिकाको खोप स्वीकृत गर्नुअघि विज्ञहरुबाट तथ्याँक विश्लेषण गरिएको र सुरक्षा, गुणस्तर र प्रभावकारिता सन्तोषजनक पाइएको बताएका छन् ।

    आइतबार मात्र अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिएटले खोपले अस्पतालमा उपचार गराउनुपर्ने कोभिडका बिरामीलाई शत प्रतिशत सुरक्षा प्रदान गर्ने बताएका छन् ।

    उनले आफूहरुले विकास गरेको खोपले फाइजर र मोडर्नाको झैं ९० प्रतिशतकै हाराहारीमा काम गर्ने बताएका छन् । यसअघि गरिएका परीक्षणमा खोपले ७० प्रतिशतको हाराहारीमा काम गर्ने बताइएको थियो । तर पछिल्लो पटकको अध्ययनले अस्ट्राजेनिकाको खोप पनि ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । (एजेन्सी)