Tag: खेल प्रेस

  • पोखरामा खुला पर्वतीय दौड हुने

    पोखरामा खुला पर्वतीय दौड हुने

    कास्की ।  विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ ।

    पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका लागि आयोजित दौड पोखरा–२२  विश्वशान्ति स्तूपबाट सुरु हुने जनाइएको छ ।

    सो दौड पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुने आयोजक पोखरा क्लिकका अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।

    उनका अनुसार प्रतियोगिताका लागि मधेस प्रदेशबाहेक अन्य छ प्रदेशका एक सय खेलाडीहरुले नाम दर्ता गराएका छन् । प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकलेसमेत नाम दर्ता गराएका छन् । बरालका अनुसार प्रतियोगितामा दुई सयदेखि २५० जनासम्म खेलाडीहरु सहभागी गराउने लक्ष्य छ ।

    प्रतियोगिताअन्तर्गत आठ किलोमिटर पर्वतीय दौड खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० वर्ष माथिका भेट्रानतर्फको प्रोत्साहन गरी छ वटा इभेन्ट समावेश गरिएको छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० हजार प्राप्त गर्नेछन् ।

    यसैगरी द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थान प्राप्तलाई क्रमश रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार पुरस्कार पाउने अध्यक्ष बरालले जानकारी दिए ।

    यसैगरी वडास्तरीय, खुला महिला र यू–१६ तर्फका विजेता जनही रु १५ हजार र उपविजेता जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ ।

    भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ । नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन रहेको प्रतियोगिता सफल पार्न विश्व शान्ति स्तुप समिति, पुम्दीकोट विकास समिति, कालाबाङ घरेडी बुद्धपार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयलगायतले सहयोग गरेका छन् ।

     

  • ललितपुरको धापाखेलमा क्रिकेट एकेडेमी संचालनमा आउँदै, आसिफ शेख ब्राण्ड एम्बेसडर

    काठमाडाैं । ललितपुर महानगरपालिका–२४ धापाखेलमा क्रिकेट एकेडेमी संचालनमा आउने भएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको जम्पर क्रिकेट एकेडेमी क्रिकेटप्रेमी युवाहरुले संचालनमा ल्याएका हुन् ।

    ३ करोड लगानीमा निर्माणाधीन यस एकेडेमीको ब्राण्ड एम्बेसडर नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटपिर तथा ब्याट्सम्यान आसिफ शेख रहने लगभग पक्कापक्की भएको बताइएको छ । एकेडेमी संचालनमा ल्याउने टिमका एक सदस्यका अनुसार आसिफसँग सबै फाइनल भइसके पनि कागजी सम्झौता हुन भने बाँकी छ । यो सम्झौता पनि छ्टिटै हुने उनले बताए ।

    एकेडेमीमा तीनवटा नेट संचालनमा रहनेछन् । जसमध्ये रातो माटोको टर्फ विकेट, एस्ट्रो टर्फ विकेट र सिमेन्ट विकेट संचालनमा रहनेछन् । साथै इन्डोर र आउटडोर ट्रेनिङका साथै साप्ताहिक रुपमा आउटडोर खेलहरु समेत उपलब्ध हुनेछन् ।

    एकेडेमी आउँदो कात्तिकको पहिलो साताबाट औपचारिक रुपमा संचालनमा आउनेछ ।

     

  • वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा, आदिल र सन्दीप समेटिए

    काठमाडौं । वेस्ट इन्डिजसँग हुने टी-२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको छ । टोलीमा नेपाल ए टिममा उत्कृष्ट र आसालाग्दो प्रदर्शन गरेका आदिल आलम र सन्दीप जोराले पुनरागमन गरेका छन् ।

    सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईमा हुनेछ । उक्त सिरिजलाई क्यानले युनिटी नाम दिएको छ ।

    नेपाली टोलीः

    रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम ।

  • पहलगामको परकम्प क्रिकेट मैदानसम्म- भारत र पाकिस्तानका खेलाडीले मिलाएनन् हात

    काठमाडौं । दुवईमा जारी एसिया कप क्रिकेटमा गएराति भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्‍यो । पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछ्याएको भारतले ३ विकेट गुमाएर पूरा गर्‍यो । सामान्यता खेलअघि र पछि दुवै टोलीका खेलाडीहरु तथा अम्पायरले ‘ह्यान्ड्शेक्’ तथा हात मिलाउने गर्ने गर्छन् । तर, भारत–पाकिस्तानको खेलमा भने त्यो हुन सकेन । खेल जितिसकेपछि भारतका खेलाडी पाकिस्तानका खेलाडीसँग हात नमिलाइ ड्रेसिङ रुमतिर प्रवेश गरे । ड्रेसिङ रुम र डकआउटमा रहेका भारतीय खेलाडीहरु पनि मैदानमा प्रवेश गरेनन् । पाकिस्तानका खेलाडी भने मैदानमा जम्मा भएर बसेका थिए ।

    पाकिस्तानका प्रशिक्षक माइक हेसनले टोली खेलपछि हात मिलाउन पर्खिरहेको तर, भारतले वेवास्ता गरेको बताए । ‘हामी खेलको अन्त्यमा हात मिलाउन तयार थियौं, हाम्रो विपक्षीले त्यसो नगरेकोमा हामी स्पष्ट रूपमा निराश छौं । हामी हात मिलाउन त्यहाँ गएका थियौं र उनीहरू पहिले नै कपडा फेर्ने कोठामा गइसकेका थिए,’ उनले भने ।

    भारतका कप्तान सूर्यकुमार यादवका अनुसार भारतले पाकिस्तानसँग हात नमिलाउने निर्णय गरेको बताए । ‘जीवनमा खेलाडी भावनाभन्दा अगाडि धेरै कुराहरू हुन्छन् । मैले प्रस्तुतिमा पनि यो भनेको छु, हामी पहलगाम आतंकवादी हमलाका सबै पीडितहरूसँग उभिन्छौं, उनीहरूको परिवारसँग उभिन्छौं र हाम्रो ऐक्यबद्धता व्यक्त गर्छौं,’ सूर्यकुमारले भने ।

    गत अप्रिलमा पहलगाम आतंकवादी हमलापछि भारत र पाकिस्तानबिचको विवाद बढेको थियो । उनीहरुले युद्धविराम गरेपनि विवाद क्रिकेटसम्म देखिएको छ । यसअघि भने यी दुई देशका खेलाडीले खेलको अघि पछि हात मिलाउँदै आएका थिए ।

  • जेन-जी आन्दोलनको प्रभाव : नेपालगन्जमा हुने नाइट रन स्थगित

    दाङ । असोज ३ गते हुने तय गरिएको नेपालगन्ज १० नाइट रन स्थगित गरिएको छ ।

    देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको एम्सका नेपाल प्रतिनिधि तथा धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

    विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) को पुर्णकालीन सदस्यता लिएपछि आधिकारिक रुपमा नाइट रनको दोस्रो संस्करण गर्न लागिएको थियो ।

    एम्सको पुर्णकालीन सदस्यताको मान्यतासँगै यसबर्षदेखि नेपालगन्ज १० नाइट रनको विजेतालाई थाइल्याण्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्व स्तरीय सडक दौडमा सहभागी गराउने तयारी थियो । नाइट रन स्थगित गरे पनि आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुटिसकेको छ ।