Tag: खेल प्रेस

  • एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै

    एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिील) क्रिकेट अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवनबीच प्रतिस्पर्धा हुनेछ ।

    एनपिएलको यो शृंखलाको पाँचौँ खेलमा दुई टोली दिउँसो ४ बजे टीयु क्रिकेट मैदान, कीर्तिपुरमा उत्रिँदैछन् ।

    लुम्बिनी लायन्स लिगमा पहिलो खेल खेल्दैछ भने चितवन राइनोज लगातार दोस्रो जित खोज्दै मैदानमा आउँदैछ ।

    चितवन राइनोज कर्णाली याक्सलाई चार विकेटले पराजित गरेर लुम्बिनीसँग स्पर्धामा उत्रिन लागेको हो ।

  • एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

    एनपीएलः काठमाडौँ र सुदूरपश्चिम भिड्दै

    काठमाडौँ । टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ । काठमाडौँले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।

    काठमाडौँको नेतृत्व करण केसीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा समावेश छन् ।

    सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्दै छन् । उनी नेतृत्वको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।

    काठमाडौँको प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका पूर्वप्रशिक्षक मोन्टी देशाइ र सुदूरपश्चिमको प्रशिक्षक जगत टमाटा छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।

  • क्रिकेटर भीम सार्की बने डायस्पोरा एकेडेमीको ब्राण्ड एम्बेस्डर

    क्रिकेटर भीम सार्की बने डायस्पोरा एकेडेमीको ब्राण्ड एम्बेस्डर

    काठमाडौं । क्रिकेटर भीम सार्की डायस्पोरा एकेडेमीको ब्रान्ड एम्बेस्डर बनेका छन् । एकेडेमीले भीमलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जानकारी मङ्गलवार सामाजिक सञ्जालमार्फत दिएको हो ।

    राष्ट्रको आशालाई आफ्नो काँधमा बोक्ने व्यक्तिसँग उभिन पाउँदा सम्मानित महसुस गरेको एकेडेमीले जनाएको छ । ‘हामी नेपाली युवाहरूको अर्को पुस्तालाई विश्व जित्न आवश्यक पर्ने ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाले सुसज्जित बनाउन काम गर्नेछौँ,’ एकेडेमीले भनेको छ ।

    भीम राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । अहिले उनले काठमान्डु गोर्खाजबाट नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ खेलिरहेका छन् ।

  • नेपाल मलेसियासँग पराजित, एएफसी छनोटमा लगातार पाँचौं हार 

    नेपाल मलेसियासँग पराजित, एएफसी छनोटमा लगातार पाँचौं हार 

    काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँगे पराजित भएको छ ।

    छनोटको समूह एफमा रहेको नेपाल मलेसियाको क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मंगलबार भएको खेलमा घरेलु टोलीसँग १–० गोलले पराजित भयो । खेलको ५६औं मिनेटमा मलेसियाका फैसल हलिमले गरेको गोल नै निर्णायक बन्यो ।

    यो नेपालको लगातार पाँचौं हार हो । नेपाल रहेको उक्त समूहमा मलेसिया, भेतनाम र लाओस छन् ।

    मलेसियाविरुद्धको उक्त खेल घरेलु मैदानमा हुनुपर्ने भएपनि दशरथ रंगशाला अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य हुँदा नेपालले मलेसियामा खेल्न बाध्य भएको हो ।

  • खुल्ला चौरबाट उदाएका अशोकको काँधमा अन्डर-१९ राष्ट्रिय क्रिकेटको जिम्मेवारी

    खुल्ला चौरबाट उदाएका अशोकको काँधमा अन्डर-१९ राष्ट्रिय क्रिकेटको जिम्मेवारी

    बझाङ । बझाङमा रवीन्द्र ढाँटको चर्चा सेलाउन पाएको छैन। यता अशोक धामीको चर्चा सुरु भइसक्यो ।

    भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेपछि रवीन्द्रको चर्चा भयो। यो उपाधि जित्ने उनी पहिलो नेपाली फाइटर हुन् ।

    अहिले बझाङकै अशोक धामी एसीसी म्यान्स अन्डर-१९ नेपाली राष्ट्रिय क्रिकेट टिमको क्याप्टेन बनेपछि मष्टा गाउँपालिका–३ धामी गाउँमा उल्लास छाएको छ ।

    नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यू-१९ प्रमियिर कप खेल्न अशोकको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।

    नीरज यादव विकेटकिपरको भूमिकामा रहनेछन्। घोषित टिममा निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, सिब्रिन श्रेष्ठ, दर्श सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन बिक, अपराजित पौडेल र वंन्स क्षेत्री छन्।

    खुल्ला चौरमा ब्याट बल चलाएर क्रिकेट सिकेका अशोकलाई अहिले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको नाम रोशन गरेर जित निकाल्ने जिम्मेवारी आएको छ ।

    बाल्यकालमा गाउँका खेत–बारीमा अभ्यास गरेका अशोकको क्रिकेट यात्रा धनगढीको फाप्ला मैदान हुँदै विदेशी क्रिकेट ग्राउन्डसम्म अघि बढिरहेको छ ।

    बझाङमा हुने स्थानीय प्रतियोगिताबाट सुरुआत गरेका उनले २०२० मा पहिलोपटक पिएम कपमा बझाङ जिल्ला टिमबाट खेले। त्यसैबाट उनको प्रतिभाले निरन्तर उचाइ पाउँदै २०२३ मा बझाङबाट अन्डर-१६ र २०२४ मा सुदूरपश्चिम प्रदेशबाट अन्डर–१९ खेल्ने अवसर पाए ।

    त्यही वर्ष उनी राष्ट्रिय टिममा छनोट भए । २०२५ मा अन्डर-१९ विश्वकप क्वालिफायरमा पनि उनले योगदान पुर्‍याए। अहिले एसीसी म्यान्स अन्डर-१९ प्रिमियर कपमा नेपाललाई नेतृत्व गर्दै मैदान उत्रने जिम्मेवारी उनकै काँधमा छ ।

    अशोक आफ्नो सफलताको श्रेय बझाङ जिल्ला क्रिकेट सङ्घका सचिव सुरेन्द्र बहादुर सिंहलाई दिन्छन्, ‘सिंह सरले गाइड नगरेको भए म यहाँसम्म आइपुग्दिनथे होला ’ उनले भने ।

    अशोकका बुवा गणेश धामीलाई पनि छोराको उपलब्धिमा गर्व छ । ‘पहिले मार्सल आर्टको खेलाडी थियो । पछि क्रिकेट मन परायो र राम्रो गरिरहेको छ । देशको नाम राखिदियोस् भन्ने चाहना छ’ उनले खुसी व्यक्त गर्दे भने ।

    बझाङ जिल्ला क्रिकेट सङ्घका सचिव सिंहले अशोकको नेतृत्व क्षमता असाधारण रहेको बताए । ‘बझाङले पहिलोपटक राष्ट्रिय टिमको क्याप्टेन पाएको छ । यो हाम्रा लागि गर्वको क्षण हो । बझाङमा धेरै प्रतिभाशाली खेलाडी छन्, तर खेलमैदानको अभावले उनीहरू चम्किन पाएका छैनन् । पर्याप्त पूर्वाधार भएको भए अझै धेरै अशोकहरू देखिन्थे ।’

    अशोकको नेतृत्वमा भोली नेपालको टिम दुबई प्रस्थान गर्दै छ ।

  • विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ५३ रनले पराजित

    विराटनगर किंग्सद्वारा पोखरा एभेन्जर्स ५३ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको दोस्रो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ ।

    विराटनगरले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८ ओभर ५ बलमा १६७ रनमा अलआउट भयो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए । एडम रोस्सिंटनले ३९, अभिषेक तिवारीले ११ र ड्यान डाउवेर्थले २९ रन बनाउँदा अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बलिङमा विराटनगरका प्रतिश जिसी, शुभम रञ्जाने, मार्चन्ट डि लिङगे र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा बसिर अहमद र सूर्य तामाङले एक/एक विकेट ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको थियो । विराटनगरका लागि लोकेश बम र मार्टिन गुप्टिलले शतकीय साझेदारी गरे ।

    लोकेश र मार्टिनले दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे। लोकेश ७२ र मार्टिन ६१ रनमा आउट भए । जर्ज मुन्सेले १०, बसिर अहमद २३ र सुभव रन्जाने ३८ रनको योगदान दिए । नारायण जोशी १० रनमा अविजित रहे । बलिङमा पोखराका म्याट टेल्लरले २, कुशल भुर्तेल, आकाश चन्द र सागर ढकालले एकएक विकेट लिए ।

  • एनपीएल-२ : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    एनपीएल-२ : कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन२ को दोस्रो दिनको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।

    टीयु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनायो ।

    कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । ४८ बलमा प्रियांकले ७ चौका र ६ छक्का प्रहार गरे। म्याक्स ओुडाउडले २० र मार्क वाट १६ रनमा आउट भए । पवन सरार्फ २७ र नजिबुल्लाह जद्रान ४ रनमा अविजित रहे ।

    बलिङमा चितवनका शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले एकएक विकेट लिए ।

  • चितवन राइनोजले गर्‍यो समर्थकहरुका लागि निःशुल्क बस व्यवस्था

    चितवन राइनोजले गर्‍यो समर्थकहरुका लागि निःशुल्क बस व्यवस्था

    चितवन । चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौं लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग (एनपीएल)को फ्रेन्चाइज टिम चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनका समर्थकलाई चितवनदेखि काठमाडौंसम्म निःशुल्क बस सेवाको व्यवस्था गरेको हो ।

    राइनोजको खेल हुने दिन बिहान खेल हुँदा ५ बजे र दिउँसो खेल हुँदा बिहान ९ बजे चितवनबाट बस छुट्ने चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले जानकारी दिनुभयो । खेल समाप्त भएपछि पुनः चितवन ल्याइने छ । यसका लागि ६ वटा बसको व्यवस्था गरिएको छ । खेलको अनलाइन टिकट हुने दर्शकलाई बसमा लैजाने व्यवस्था गरिएको हो ।

    बस चितवन मेडिकल कलेज ‍(सीएमसी)को प्राङ्गणबाट छुट्ने छ भने समर्थकलाई त्रिवि मैदानसम्म लैजाने छ । चितवन राइनोजको पहिलो खेल आज ११ः४५ बजेदेखि कर्णाली याक्ससँग भइरहेको छ । त्यसैगरी मङ्सिर ४ गते दिउँसो ४ बजे लुम्बिनी लायन्ससँग, मङ्सिर १० गते ४ बजे विराटनगर किङ्ससँग, मङ्सिर १२ गते ११ः४५ बजे काठमाडौं गोर्खाजसँग चितवन राइनोज खेल्दैछ ।

    यस्तै, मङ्सिर १६ गते ११ः४५ बजे जनकपुर बोल्टस्सँग, मङ्सिर १८ गते ४ बजे सुदुरपश्चिम रोयल्ससँग र मङ्सिर २० गते ३ः३० बजे पोखरा एभेन्जरसँग चितवन राइनोज खेल्दैछ । यी खेलपछि अंक तालिकाका आधारमा अरु खेल तय हुनेछन् ।

    खेलको पूर्वसन्ध्यामा चितवन र आसपासका जिल्लामा चितवन राइनोजको समर्थनमा ठाउँठाउँमा झण्डा, तुल, ब्यानर, स्टिकर टाँसिएका छन्।

     

  • एनपिएलः आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच स्पर्धा हुने

    एनपिएलः आज चितवन राइनोज र कर्णाली याक्स तथा विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच स्पर्धा हुने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा आज मंगलबार दुई खेल हुँदैछ ।

    मङ्गलबारको पहिलो खेल चितवन राइनोज र कर्णाली याक्सबीच हुनेछ । दोस्रो खेल विराटनगर किङ्स र पोखरा एभेन्जर्सबीच हुनेछ । पहिलो खेल बिहान ११ः४५ बजे हुनेछ भने दोस्रो खेल दिउँसो ४ बजे हुनेछ ।

    सोमबारबाट शुरु एनपिएलको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

    कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइटमा खेल भएको हो । प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले टोलीले १ करोड १० लाख रुपैयाँ पाउने छ । दोस्रो हुनेले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुनेले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

  • क्रिकेट कप्तान रोहित पौडेल कलेज भर्ना, फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

    क्रिकेट कप्तान रोहित पौडेल कलेज भर्ना, फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले खेलसँगै शैक्षिक यात्रालाई पनि अघि बढाउने भएका छन् । उनी स्नातक तह अध्ययनका लागि फिनिक्स कलेजमा भर्ना भए ।

    रोहित व्यवस्थापन संकायमा भर्ना भएको कलेजले जनाएको छ । पौडेललाई स्वागत गर्दै कलेजले सतप्रतिशत छात्रबृत्ति उपलब्ध गराएको छ । पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्ति कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप ऊर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त गरेको छ ।

    कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने, ‘हामी देशका लागि योगदान पुर्‍याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।’

    यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।

    रोहितले यसै वर्ष १२ कक्षाको परीक्षा उत्तीर्ण गरेका थिए । उनी व्यवासयमा पनि संलग्न छन् ।

  • एनपीएल दोस्रो सिजनको आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो ‘इनड्राइभ’

    एनपीएल दोस्रो सिजनको आधिकारिक राइड-हेलिङ पार्टनर बन्यो ‘इनड्राइभ’

    काठमाडौ । नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा साझेदारी गरेको छ । यो साझेदारीले नेपालको सबैभन्दा ठुलो र लोकप्रिय टी-२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिंग एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको छ ।

    यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ । यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रताको मूल्यलाई प्राथमिकता दिन्छ, जुन नेपाल प्रिमियर लिगको भावना र मूल्यसँग पनि मेल खान्छ ।

    नेपाल प्रिमियर लिगसँगको सहकार्य इनड्राइभका लागि ब्राण्ड भिजिबिलिटी र समुदायसँगको सम्बन्धलाई अझ बलियो पार्ने रणनीतिक कदम पनि हो । नेपालको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितासँग जोडिँदै इनड्राइभले स्थानीय पहलहरुलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको छ । यो साझेदारीमार्फत इनड्राइभले निष्पक्षता, पहुँचयोग्यता र समुदायको विकासमा आफ्नो प्रतिबद्धता देखाएको छ र नेपालको सबैभन्दा विश्वासिलो र लोकप्रिय राइड-हेलिङ सेवाको हैसियतमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ।

    इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भने, “नेपाल प्रिमियर लिग जस्तो नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ । इनड्राइभको निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता, स्वतन्त्रता र मूल्यमार्फत मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ । हामी यस सिजनलाई अझ रोचक, पहुँचयोग्य र स्मरणीय बनाउने आशा गर्दैछौँ ।”

    नेपाल क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले इनड्राइभलाई एनपीएल परिवारमा स्वागत गर्दै भने, “इनड्राइभलाई हाम्रो आधिकारिक राइड-हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सहज पहुँच पुर्र्याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य मेल खान्छ । इनड्राइभको सहभागिताले यस सिजनको फ्यान अनुभवलाई अझ समृद्ध र उत्साहजनक बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौं ।”

    इनड्राइभ र एनपीएल बीचको साझेदारीले समुदाय-केन्द्रित कार्यक्रम, गर्व, सहकार्य र समान पहुँच प्रवद्र्धन गर्ने आफ्नो दिगो प्रतिबद्धता पुष्टि गरेको छ । स्थानीय ड्राइभर पार्टनरलाई सशक्त बनाउँदै, मोबिलिटी सुविधा सुधार गर्दै र राष्ट्रिय खेलकुद कार्यक्रमलाई समर्थन गर्दै इनड्राइभ मैदानभित्र र बाहिर दुवै ठाउँबाट समुदायको विकासमा सक्रिय छ ।

  • एनपीएलको ‘महासङ्ग्राम’ भोलिबाट : कस्ता छन् आठ टिम ?

    एनपीएलको ‘महासङ्ग्राम’ भोलिबाट : कस्ता छन् आठ टिम ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ । फ्लड लाइट र प्यारापिटसहितको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलोपटक एनपीएल हुन लागेको हो ।

    नेपाल क्रिकेट संघ क्यानले लिगको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । प्रतियोगिताका ३२ खेलमध्ये २३ खेल फ्लड लाइटमा हुनेछन् ।

    प्रतियोगितामा सहभागी ८ टिमले ११-११ नेपाली खेलाडी अनुबन्ध गरेका छन् । सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ देखि ६ जना विदेशी खेलाडी टोलीले भित्राएका छन् । अधिकांश टोलीले फ्लड लाइटमै पुगेर प्रशिक्षणसमेत गरिसकेका छन् ।

    कस्ता छन् त ८ टिम ?

    विराटनगर किंग्स

    दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई भित्राएर चर्चामा आएको विराटनगर किंग्सलाई विजेता प्रशिक्षक पुबुदु दासानायकेको साथ छ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगरले यसपटक विदेशी खेलाडी तथा प्रशिक्षक लिन कुनै कसर बाँकी राखेको छैन । बिराटनगरको ब्याटिङ लाइनअप सुदृढ र बलिङ पनि सन्तुलित देखिन्छ ।

    पहिलो सिजनमा जनकपुरलाई च्याम्पियन बनाएका पुबुदलाई यसपटक विराटनगरले भित्राएको छ । खेलाडीमा पनि फाफदेखि मार्टिन गप्टिल, मच्र्यान्ट डी ल्याङ्गे, जर्ज मन्से, शुभम रञ्जने र साम हिजलेटलाई विराटनगरले अनुबन्ध गरिसकेको छ ।

    उनीहरुलाई सन्दीपसहित लोकेश बम, बसिर अहमद, सुवास भण्डारी, प्रतिश जिसीसहितका नेपाली खेलाडीले साथ दिनेछन् । यस्तै नेपाली खेलाडीको रुपमा नारायण जोशी, श्रावण किस्कु, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, र सूर्य तामाङ पनि रहनेछन् ।

    जनकपुर बोल्ट्स

    पहिलो संस्करणको विजेता जनकपुर यसपटक पनि विजेता बन्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । जनकपुरले च्याम्पियन प्रशिक्षक परिवर्तन गरेको छ । जनकपुरले यसपटक वेष्ट इन्डिजका महान खेलाडी शिवनरायण चन्द्रपललाई मुख्य प्रशिक्षकको रुपमा भित्राएको छ । बलिङ पनि कम धारिलो छैन । त्यसैले उपाधि रक्षा गर्न जनपुर उच्च मनोबलमा देखिन्छ ।

    जनकपुरको ब्याटिङ यसपाली पनि बलियो छ । पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका लाहिरु मिलन्थासहित निकोल लोफ्टी–ईटन, वायन पार्नेल, इमरान ताहिर र लाहिरु समरकून विदेशी खेलाडीको रुपमा भित्रिएका छन् । नामिबियाका निकोल ब्याटिङ अलराउन्डर हुन् । वायन दक्षिण अफ्रिकाका तीब्र गतिका बलर र ताहिर दक्षिण अफ्रिकीकै भेट्रान स्पीनर हुन् । श्रीलंकाको राष्ट्रिय टोलीबाट एक खेल खेलेका समरकून अलराउन्डर हुन् ।

    विदेशी खेलाडीहरुसँगै अनिलकुमार शाह र आसिफ शेखले जनकपुरको टपअर्डर सम्हाल्नेछन् । उनीहरुलाई विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, आदित्य महाता, किशोर महतो, ललित राजवंशी, रुपेश सिंह, इमरान ताहिर र मयन यादवले साथ दिनेछन् ।

    चितवन राइनोज

    पहिलो संस्करणमा प्लेअफसम्म स्थान बनाएको चितवन राइनोजले दुई अनुभवी विदेशी खेलाडीलाई निरन्तरता दिएको छ । चितवनले पहिलो सिजनमा राम्रो प्रदर्शन गरेका रबि बोपारा र सोहेल तनविरलाई निरन्तरता दिएको हो । यस्तै पहिलो सिजन सुदुरपश्चिम रोयल्सबाट खेलेका सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।

    मलान इंग्ल्याण्डबाट विश्वकप खेलिसकेका खेलाडी हुन् । टपअर्डर ब्याटर मलानले ६ वर्ष इंग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । अल्पेस युगान्डाका अलराउण्डर हुन् । उनले युगान्डाको राष्ट्रिय टोलीबाट बलिङ र ब्याटिङ दुवैमा राम्रो छाप छोड्न सफल भएका छन् ।

    चितवनमा कुशल मल्लसहित देव खनाल, विपिन रावल, रञ्जित कुमार, अर्जुन साउद, दीपक बोहराले ब्याटिङ सम्हाल्नेछन् । बलिङमा कमल सिंह ऐरी, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी र अमरसिंह रौटेला रहनेछन् ।

    चितवनको ब्याटिङ पंति राम्रो छ भने बलिङ औसत छ ।

    काठमाण्डु गोर्खाज

    मिनी अक्सनमा सबै टोलीले चाहेको एक मात्र खेलाडी भित्राउने सौभाग्य प्राप्त गरेको टोली हो काठमाण्डु गोर्खाज । काठमाण्डुले नेपाली राष्ट्रिय टोलीको सफल प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षकको रुपमा भित्राएको छ ।

    काठमाडौंसँग अन्य टिमजस्तो ठूला नामहरु छैनन् । पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका नामिबियाका कप्तान जेरार्ड एरासमसलाई निरन्तरलाई दिँदा थप ५ खेलाडी नयाँ भित्राएको छ । काठमाण्डुले इंग्ल्याण्ड जोन सिम्पसन, इंग्ल्याण्डकै बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेललाई विदेशी खेलाडीकोउ कोटामा ल्याएको हो । जोन र रिकार्डाे विकेटकिपर ब्याटर हुन् । मिलिन्द अलराण्डर, पटेल ब्याटिङ अलराउन्डर हुन् ।

    अक्सनमा सर्वप्रिय मोहम्मद आदिल आलमलाई भित्राएको काठमाण्डुको स्वदेशी खेलाडी ब्याटरहरु रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिनेछन् । बलिङमा करण केसीसहित शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापा रहनेछन् । कागजमा काठमाण्डु औसत टिम देखिन्छ ।

    पोखरा एभेन्जर्स

    पहिलो संस्करण सम्झनलायक नरहेको पोखरा एभेन्जर्सले यसपटक ठूला विदेशी नाम भित्राएको छ । पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन बनाएका जिम्मी निशमलाई पोखराले अनुबन्ध गर्यो । यस्तै पहिलो संस्करणका रेमन राइफरलाई निरन्तरता दिँदा इंग्ल्याण्डका जेसन रोय, एडम रोसिङ्टन र डन डाउथवेटलाई भित्राएको छ । इंग्ल्याण्डका रोय उत्कृष्ट ओपनिङ ब्याटर हुन् । इंग्ल्याण्डकै एडम विकेटकिपर र डान बलिङ अलराउन्डर हुन् ।

    कप्तान कुशल भुर्तेलसहित दिनेश खरेल, अर्जुन कुमाल, त्रितराज दास, किरण ठगुन्ना, कृष्ण पौडेल र सन्दीप पौडेल ब्याटिङमा रहनेछन् । बलिङमा आकाश चन्द, सागर ढकाल, विपिन खत्री, अभिषेक तिवारीले साथ दिनेछन् । पोखराको बलिङ सामान्य र ब्याटिङ पंति सुदृढ छ ।

    लुम्बिनी लायन्स

    पहिलो संस्करणमा एक मात्र जित निकालेको लुम्बिनी लायन्सलाई पुरानो नतिजा बिर्सिएर उत्कृष्ट प्रदर्शन गर्ने चुनौती छ । राष्ट्रिय टोलीको कप्तान रोहित पौडेल मार्की प्लेयर रहेको लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटदेखि अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबसम्मलाई विदेशी खेलाडीको रुपमा भित्राएको छ ।

    करिब २ वर्ष अष्टे«लियाको टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका डार्सी ओपनिङ ब्याटर हुन् । अफगानिस्तानका ब्याटिङ अलराउन्डर गुल्बदिन सन् २०११ देखि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । उनले ब्याटिङ र बलिङमा मोमेन्टम ल्याउने क्षमता राख्छन् । तर उनले लुम्बिनीबाट ५ खेलमात्र खेल्नेछन् ।

    इटलीका पेस बलर थोमस ड्राका, नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानलाई पनि लुम्बिनीले अनुबन्ध गरेको छ । नामिबियाको टी–२० खेलमा कप्तानी गरिसकेका जेजे बलिङ अलराउन्डर हुन् । २७ वर्षीय रुबेन पेस बलर हुन् ।

    लुम्बिनीसँग रोहित पौडेल र सन्दीप जोराका रुपमा दुई उत्कृष्ट स्वदेशी ब्याटर छन् । उनीहरुसहित लुम्बिनीको लाइनअपमा दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथ (विकेटकिपर) र विशाल पटेल रहेका छन् ।

    कर्णाली याक्स

    पहिलो संस्करणमा भारतीय खेलाडी शिखर धवनलाई भित्राएर ठूलो चर्चा पाएको टोली हो, कर्णाली याक्स । धवनको औसत प्रदर्शन मात्र गरेको कर्णाली पहिलो संस्करणमा तेस्रो बनेको थियो ।

    यसपटक कर्णालीले अष्टे«लियाका विलियम बोसिस्टोदेखि भारतका प्रियांक पञ्चाललाई भित्राएको छ । विलियमले पहिलो संस्करणमा कर्णालीबाट राम्रो प्रदर्शन गरेका थिए । अष्टे«लियाको यु–१९ टोलीको कप्तानीसमेत गरिसकेका उनी अलराउण्डर हुन् । गुजरातबाट रणजी ट्रफी खेलेका प्रियांकले कर्णालीबाट खेल्नेछन् । कर्णालीले उनलाई ओपनिङ ब्याटरको रुपमा भित्राएको हो ।

    अफगानिस्तानका नाजिबउल्लाह जद्रान, नेदरल्याण्ड्सका अनुभवी ब्याटर म्याक्स ओ’डाउड र स्कटल्याण्डका बलर मार्क वाट लुम्बिनीमा अनुबन्ध भएका छन् । अफगानिस्तानका ३२ वर्षीय नाजिबउल्लाह मिडलअर्डर ब्याटर हुन् । उनले सन् २०१२ देखि २०२४ सम्म अफगानिस्तानबाट खेलेका थिए । नेदरल्याण्ड्सका ओपनिङ ब्याटर हुन् म्याक्स । उनले सन् २०१९ देखि नेदरल्याण्ड्सबाट लगातार खेलिरहेका छन् । मार्क स्कटल्याण्डका एक उत्कृष्ट बलर हुन् । उनले सन् २०१६ बाट निरन्तर स्कटल्याण्डबाट खेल्दै आएका छन् ।

    नेपाली राष्ट्रिय टिमका तीन फास्ट बलर सोमपाल कामी, नन्दन यादव र गुल्शन झा लुम्बिनीसँग छन् । स्पिन डिपार्ट पनि शसक्त छ, जहाँ युवराज खत्री र विपिन शर्मा जस्ता युवा स्पिनरहरुका साथमा कप्तान रोहित र पवन सर्राफको पनि साथ रहनेछ । समग्रमा लुम्बिनीको बलिङ प्रतियोगितामै सबैभन्दा धारिलो देखिन्छ ।

    सुदूरपश्चिम रोयल्स

    पहिलो संस्करणको उपविजेता टोली हो, सुदुरपश्चिम रोयल्स । लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको सुदुरपश्चिम फाइनलमा पराजित हुँदै उपाधि हात पार्न चुक्यो । यसपटक भने उपाधिमा कब्जा जमाएरै छोड्ने सुदूरपश्चिमको दाउ छ ।

    पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाबाट खेल्दै आएका हर्मीत सिंहलाई सुदुरपश्चिमले यसपटक पनि निरन्तरता दिएको छ । यस्तै अष्टे«लियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । ३१ वर्षीय ब्याटर जोशले विग ब्यास लिग, बंगलादेश प्रिमियर लिग जस्ता लिग खेलेका छन् । ३५ वर्षिय क्रिससँग विश्वका उत्कृष्ट लिग खेलेको अनुभव छ ।

    सुदूरपश्चिममा दीपेन्द्र सिह ऐरीसहित विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत नरेन साउद, आरिफ शेख र दीपेन्द्र थापा छन् । सुदुरपश्चिमको सबैभन्दा बढी आशा कप्तान ऐरीमै टिकेको छ ।

  • त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण

    त्रिवि क्रिकेट रंगशाला क्यानलाई हस्तान्तरण

    काठमाडौं । त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्याराफीट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ ।

    दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्याराफीट निर्माण गरिएको छ ।

    यो रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ ।

  • एनपीएलमा पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज

    एनपीएलमा पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज

    काठमाडौं । मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ ।

    एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको शेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको हो ।

    हालै सोल्टीमा एक कार्यक्रमबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सिइओ भावना लिम्बुबीच औपचारिक हस्ताक्षर भएको यो सम्झौता नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

    एप्पल सेक्युरिटीजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिति रहेको सम्झौता कार्यक्रममा क्रिकेटको विकासका लागि यो सहकार्य गरेको बताए ।

  • भैरहवामा एसिया क्वालिफायर खेल्न जाने यु–१९ क्रिकेट टीमको बिदाई

    भैरहवामा एसिया क्वालिफायर खेल्न जाने यु–१९ क्रिकेट टीमको बिदाई

    रुपन्देही । युएईमा हुने एसिया क्वालिफायर क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय यु–१९ क्रिकेट टीमको बिदाई गरिएको छ । आइतबार बिहान रुपन्देही क्रिकेट संघले खेलाडी र प्रशिक्षकलाई भैरहवामा आयोजित एक समारोहबीच बिदाई गरेको हो ।

    यु–१९ का ३० जना खेलाडीले पछिल्लो १५ दिन सिद्धार्थ क्रिकेट रंगशालामा प्रशिक्षण लिएका थिए । एसियन क्रिकेट काउन्सिल ९एसीसी० को आयोजनामा युएईमा हुने प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले टीम घोषणा गर्दैछ । प्रतियोगितामा सहभागी हुने खेलाडीको नाम छनोट भइसके पनि क्यानले अझै आधिकारिक घोषणा नगरेको मुख्य प्रशिक्षक मन्जित श्रेष्ठले बताए ।

    एसीसीको आयोजनामा यही नोभेम्बर १९ देखि ३० तारिखसम्म युएईमा एसिया क्वालिफायर हुँदैछ । विदाई कार्यक्रममा बोल्दै प्रशिक्षक श्रेष्ठले छोटो समयमा भए पनि राम्रो रंगशालामा प्रशिक्षण लिइएको बताए । उनले आफूहरुको लक्ष्य एसिया कपका लागि छनोट हुने मात्र नभई क्वालिफायरमा विजेता बन्ने रहेको जनाए । यसका लागि खेलाडीहरु उच्च बनोमलमा रहेको उनको भनाई छ ।

    विदाई कार्यक्रममा पंचकन्या समूहका उपाध्यक्ष तथा बरिष्ठ उद्योगपति ध्रुवकुमार श्रेष्ठ, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही क्रिकेट संघका संस्थापक प्रेमकुमार सेन्चुरी, कार्यसमिति सदस्य प्रथम पराजुली लगायतले बोल्दै उच्च बनोबलका साथ प्रदर्शन गरेर छनोट खेलको विजेता बन्न शुभकामना दिए ।

    उनीहरुले कुनै समय क्रिकेटमा भविष्य छैन भन्ने दिन रहेको स्मरण गर्दै अहिले क्रिकेट खेल सबैको मनमा बसेको बताए । उनीहरुले क्रिकेटले नेपाललाई विश्वमाझ चिनाएको बताउँदै राम्रो खेल्ने खेलाडीको भविष्य उज्ज्वल रहेको जनाए ।

    प्रशिक्षणका क्रममा ३० जना खेलाडीहरुको छुट्टाछुट्टै टीम बनाएर आन्तरिक प्रतिस्पर्धा समेत गराइएको थियो । उनीहरुबाट उत्कृष्ट प्रदर्शन गर्ने, अनुभव लगायत सबै पक्षलाई हेरेर १८ खेलाडी छनोट गरिएको भए पनि नाम भने अझै सार्वजनिक गरिएको छैन ।

    यसैबीच एसिया क्वालिफायरमा विजेता बने यु–१९ टीमलाई रुपन्देही क्रिकेट संघले एक लाख १ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । खेलाडी विदाई कार्यक्रममा संघका अध्यक्ष हरिबहादुर थापाले उक्त घोषणा गरेका हुन् । यस्तै, पंचकन्या समूहले पनि विजेता बने टीमलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।

  • पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सनसनी जित

    पहिलो टेस्टमा भारतमाथि दक्षिण अफ्रिकाको सनसनी जित

    काठमाडौं । भारतविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित निकालेको छ । आफ्नै घरेलु मैदानमा भारतले १२४ रनको झिनो लक्ष्य पनि पछ्याउन सकेन ।

    पहिलो इनिङमा ३० रनको अग्रता लिएको भारत दोस्रो इनिङमा ९३ रनमै अलआउट भएपछि दक्षिण अफ्रिकाले ३० रनकै जित निकाल्न सफल भयो । भारतका कप्तान पहिलो इनिङमा ब्याटिङ गर्दा घाइते भएर निस्किएका थिए । उनी दोस्रो इनिङमा मैदान फर्किन सकेनन् । जसले गर्दा भारतले ९ विकेट गुमाएपछि दक्षिण अफ्रिकाको जित निश्चित भयो ।

    भारतका लागि वासिङटन सुन्दरले तेस्रो नम्बरमा आएर सर्वाधिक ३१ रन जोडे । उनले ९२ बलको सामना गरेका थिए । रविन्द्र जडेजाले २६ बलमा १८ रन बनाए । अक्षर पटेलले आक्रमकता देखाउँदै १७ बलमा २६ रन जोडेका थिए । केशव महाराजले उनलाई आउट गरेसँगै भारतको चुनौती अन्त्य भयो । दक्षिण अफ्रिकाका सिमन हार्मरले घातक बलिङ गर्दै १४ ओभरमा २१ रन मात्र खर्चेर चार विकेट लिएका थिए ।

    दक्षिण अफ्रिका पहिलो इनिङमा १५९ रनमा अलआउट भएको थियो । भारतले पहिलो इनिङमा १८९ रन बनाएर ३० रनको अग्रता लियो । दोस्रो इनिङमा दक्षिण अफ्रिकाले १५३ रन जोड्दै भारतलाई १२४ रनको लक्ष्य दिएको हो, जुन भारतका लागि भारी पर्‍यो ।

  • नामिबियाका जेजे र रुबेन लुम्बिनीमा, इंग्ल्याण्डका जेसन पोखरा र श्रीलंकाका लाहिरु जनकपुरमा अनुबन्ध

    नामिबियाका जेजे र रुबेन लुम्बिनीमा, इंग्ल्याण्डका जेसन पोखरा र श्रीलंकाका लाहिरु जनकपुरमा अनुबन्ध

    काठमाडौं । मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा नामिबियाका जेजे(जोहानेस जोनाथान) स्मिथ र रुबेन ट्रम्पलम्यानले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् । लायन्सले जेजे र रुबेनलाई भित्राएको जानकारी शनिबार सामाजिक सञ्जालमार्फत दिएको हो ।

    नामिबियाको टी–२० खेलमा कप्तानी गरिसकेका जेजे बलिङ अलराउन्डर हुन् । ३० वर्षीय जेजेले नामिबियाका लागि टी–२०आई र ओडिआईमा उत्कृष्ट प्रर्दशन गरेका छन् । उनले ६७ टी–२०आईमा १ हजार १८९ रन बनाउँदै ६४ विकेट लिएका छन् । यस्तै ५२ ओडिआईमा ५६ विकेट र एक हजार ७१ रन बनाएका छन् ।

    २७ वर्षीय रुबेन पेस बलर हुन् । उनले नामिबियाका लागि ४८ ओडिआई र ४४ टी–२० आई खेल खेलेका छन् । ओडिआईमा ७३ र टी–२०आईमा ४८ रन बनाएका छन् । उनी १४० किमि प्रतिघण्टाको गतिमा बलिङ गर्न सक्छन् ।

    लुम्बिनीले यसअघि तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको थियो । अस्ट्रेलियका ब्याटर डार्सी सर्ट, इटलीका पेस बलर थोमस ड्राका र अफगानिस्तानका अलराउन्डर गुल्बादिन नहब लुम्बिनीमा अनुबन्ध भइसकेका छन् ।

    पोखरा एभेन्जर्सले इंग्ल्याण्डका ओपनर जेसन रोय र जनकपुर बोल्ट्सले श्रीलंकाका अलराउन्डर लाहिरु समाराकुनलाई अनुबन्ध गरेका छन् । ३५ वर्षीय जेसनका उत्कृष्ट ओपनिङ ब्याटर हुन् ।

    उनले इग्ल्याण्डबाट ५ टेष्ट, ११६ ओडिआई र ६४ टी–२०आई खेल खेलेका छन् । उनले सन् २०१४ देखि २०२३ सम्म इग्ल्याण्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । आइपिएल, बिपिएल, पिसिएल, बिबिएल जस्ता विश्वको चर्चित लिग खेलेको अनुभव जेसनसँग छ ।

    श्रीलंकाका लाहिरुले श्रीलंकाको राष्ट्रिय टोलीबाट एकमात्र खेल खेलेका छन् । उनले केही दिनअघि हङकङ सिक्सेस खेलेका थिए । २८ वर्षीय लाहिरु अलराउन्डर हुन् ।

  • एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

    एनपीएलका लागि भित्रिए ४ विदेशी कमेन्टेटर

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले मंसिर १ देखि २७ गतेसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि ४ विदेशी कमेन्टेटर भित्राएको छ ।

    क्यानले शुक्रवार नेपाल प्रिमियर लिगको अफिसियल पेजमार्फत ४ विदेशी कमेन्टेटरको नाम सार्वजनिक गरेको छ । जसमा ३ कमेन्टेटर पहिलो सिजनकै दोहोरिएका छन् भने एउटा नयाँ कमेन्टेटर हुन् ।

    अमेरिकाका एन्ड्रयु लेनर्ड नेपाल क्रिकेटका चर्चित कमेन्टेटर हुन् । उनले नेपालका अधिकांश खेलहरूमा कमेन्ट्री गर्दै आएका छन् ।

    एन्ड्रयुसहित एचडी अकरम्यान, मिखाइल वासवानी र फजल आर खलीललाई क्यानले कमेन्ट्रीका लागि भित्राएको हो । एन्ड्रयु, अकरम्यान र मिखाइलले पहिलो एनपिएलमा कमेन्ट्री गरेका थिए ।

    अकरम्यान दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाबाट सन् १९९८ मा टेस्ट क्रिकेट खेलेका थिए । अकरम्यानले क्रिकेट करियरपछि कमेन्टेटरको रूपमा काम गरिरहेका छन् । मिखाइल भारतका पत्रकार तथा कमेन्टेटर हुन् । यस्तै फजल भारतका पूर्व खेलाडी हुन् । उनले कर्नाटकबाट रन्जी ट्रफी खेलेका थिए । उनले फष्ट क्लास र लिष्ट ‘ए’ खेलमा समान २२ खेल खेलेका छन् ।

  • एनपिएलको पहिलो खेलको टिकट ‘सोल्ड आउट’

    एनपिएलको पहिलो खेलको टिकट ‘सोल्ड आउट’

    काठमाडौं । मंसिर १ गतेदेखि सुरु हुने नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को पहिलो दिनको खेलका लागि टिकट ‘सोल्ड आउट’ भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले टिकट खुला गरेको २४ घन्टा बित्न नपाउँदै टिकट सोल्ड आउट भएको हो । पहिलो दिनका लागि क्यानले साधारणतर्फ ५०० र भिआईपीतर्फ १ हजार ५ सय रुपैयाँ टिकटदर कायम गरेको थियो ।

    पहिलो दिन साविक विजेता जनकपुर बोल्ट्स र काठमाडु गोर्खाजबीच खेल हुनेछ ।

  • कर्णाली याक्सबाट खेल्न काठमाडौं उत्रिए भारतका प्रियांक

    कर्णाली याक्सबाट खेल्न काठमाडौं उत्रिए भारतका प्रियांक

    काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रालिबाट खेल्न भारतका प्रियाङ्क किरित पञ्चाल नेपाल आएका छन्।

    उनी बिहिबार राति एयर इन्डियाबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि काठमाडौं उत्रिएका हुन् ।

    ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लो पटक भारतीय टीमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए । ३५ वर्षीय प्रियांकले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन् । उनले १२७ खेलमा आठ हजार ८ सय ५६६ रन बनाएका छन् । जसमा २९ सतक र ३४ अर्धसतक समावेश छन् । यस्तै, लिष्ट एमा ९७ खेल खेल्दा ८ सतकसहित ३ हजार ६ सय ७२ रन बनाएका हन् । टी-२० तर्फ ५९ खेलमा ९ अर्धसतकसहित १ हजार ५ सय २२ रन बनाएका छन् ।

    यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, सह प्रायोजकमा एसियन पेन्ट्स, नेबिको तथा प्लम्बर पाइप्ससँग सम्झौता गरिसकेको छ ।

    २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो । दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

    कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

  • जनकपुरबाट खेल्न नपाएका जिम्मी निसमलाई पोखराले भित्र्यायो

    जनकपुरबाट खेल्न नपाएका जिम्मी निसमलाई पोखराले भित्र्यायो

    काठमाडौं । न्युजिल्याण्डका जिम्मी निसम पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । पोखराले सामाजिक सामाजिक सञ्जालमार्फत् जिम्मीलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

    जिम्मीले पहिलो संस्करण जनकपुर बोल्ट्सबाट खेलेका थिए । उनले उक्त सिरिजमा बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको टीम जनकपुर च्याम्पियन बनेको थियो । जिम्मीलाई जनकपुरले रिटेन गर्ने धेरैको अपेक्षा थियो । जनकपुर पनि दोस्रो संस्करणमा जिम्मीलाई दोहोर्याउन आतुर थियो । तर, आईसीसीको नियमले जिम्मीलाई ल्याउन जनकपुरलाई दिएन ।

    आईसीसीले पहिलो जस्तै दोस्रो संस्करणमा पनि टेस्ट राष्ट्रबाट ४ जना ‘सक्रिय खेलाडी’हरू मात्रै ल्याउन सकिने व्यवस्था गरेको छ । जिम्मी निसम अहिले न्यूजिल्यान्डबाट टी-२० खेलिरहेको हुँदा उनी सक्रिय खेलाडी हुन् ।

    एनपीएलमा जम्मा ८ वटा फ्रेन्चाइजी टीम छन् । जम्मा ४ जना टेस्ट राष्ट्रका सक्रिय खेलाडी ल्याउन पाइने भएपछि ४ फ्रेन्चाइजीले एक-एक जना ल्याउन पाउने भए । बाँकी ४ फ्रेन्चाएजीले पाएनन् । गोलाप्रथाबाट निर्णय हुँदा जनकपुर बोल्ट्सको भागमा परेन । त्यसकारण जनकपुरले जिम्मीलाई चाहेर पनि भित्राउन पाएन । सोही मौका छोपी पोखराले जिम्मीलाई अनुबन्ध गर्‍यो ।

  • बंगलादेशसंग बराबरी खेल्यो नेपाल

    बंगलादेशसंग बराबरी खेल्यो नेपाल

    काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छन् । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको हो ।

    खेलको २९औं मिनेटमा गोल गर्दै रोहित चन्दले नेपाललाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफको सुरुआतमै गोल खान पुग्यो ।

    बंगलादेशका हम्जा चौधरीले ४६औं मिनेटमा गोल गर्दै बराबरीमा फर्काए । त्यसको ४ मिनेटपछि तिनै हम्जाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।

    दोस्रो हाफको इन्जुरी समयमा अनन्त तामाङले गोल गर्दै नेपाललाई हार हुनबाट जोगाए ।

  • टेनिस प्रतियोगितामा भाग लिन दार्जिलिङ गए कमल थापा

    टेनिस प्रतियोगितामा भाग लिन दार्जिलिङ गए कमल थापा

    काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापा भारतको दार्जिलिङ प्रस्थान गरेका छन् । १४ देखि १६ नोभेम्बरसम्म सञ्चालन हुने ‘दार्जिलिङ जिमखाना ओपन टेनिस टुर्नामेन्ट–२०२५ मा सहभागी हुन थापा त्यसतर्फ गएका हुन् ।

    थापाले ६० वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवैमा सहभागिता जनाउने छन् । थापा टेनिसको भेट्रान्स तर्फ नेपालको शीर्ष खेलाडी हुन् । उनले यसअघि पनि धेरै यस्ता प्रतियोगितामा सहभागिता जनाई विजय प्राप्त गरिसकेका छन् ।

  • एभरेष्ट महिला भलिबल लिगः कर्णाली र ललितपुरको जित

    एभरेष्ट महिला भलिबल लिगः कर्णाली र ललितपुरको जित

    काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा कणाली याशविस र पोखरा निन्जाजले जित दर्ता गरेका छन् । राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आज भएको पहिलो खेलमा कर्णालीले ललितपुर युनाइटेढलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

    कर्णालीले पहिलो सेट २५-१५, दोस्रो सेट २५-१२ र तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पा¥यो । यो जितसँगै कर्णालीले फाइनलमा स्थान पक्का गरेको छ ।

    आज भएको दोस्रो खेलमा फाइनल होडबाट बाहिरिएको पोखराले अपराजित रहेको ललितपुरलाई पहिलो हार चखायो । पोखराले ललितपुरलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पोखराले पहिलो सेट २५-२२, दोस्रोे सेट २५-१३ र तेस्रो सेट २५-२० ले जित निकाल्यो । ललितपुर र काठमाडौं स्पाइकर्सबिचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

    पोखरामा भइरहेको लिग भदौं २३ र २४ को जेनजी आन्दोलनका कारण स्थगित भएको थियो । त्यहिँ ठाउँबाट आज काठमाडौंमा सुरु भएको हो ।

  • रोनाल्डोले भने ‘सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ ‘

    रोनाल्डोले भने ‘सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ ‘

    काठमाडौं । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् ।

    क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताएका हुन् ।

    यो निश्चित हो, उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । सोधिएका प्रश्नमा उनले भनेका छन्, सन् २०२६ मेरो विश्वकप खेलका लागि अन्तिम स्पर्धा हुनेछ

    म ४१ वर्षको हुन लागेँ र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हुनेछ ।

    सन् २०२३ मा साउदी अरबको अल नासरमा आकर्षक कार्यकाल सुरु गरेका रोनाल्डोले गत हप्ता आफूले चाँडै नै सन्यास लिने बताएका थिए ।

    सम्भवतः अझै एक वा दुई वर्ष हो म खेलमा हुनेछु, उनले भने ।

    पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले आगामी वर्ष छैटौँ पटक विश्वकप खेलमा प्रतिस्पर्धा गर्ने लक्ष्य राखेका छन् । सन् २००६ मा पोर्चुगल सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो र यो नै उनको नेतृत्वमा पोर्चुगलको उपाधिका लागि सबैभन्दा उत्कर्ष अवस्था थियो ।

    पोर्चुगलले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा छनोट हुन सकेको छैन तर बिहीबार आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले आफ्नो स्थान सुरक्षित गर्नेछ ।

    रोनाल्डो २०२२ को अन्त्यमा दोस्रो पटक म्यानचेस्टर युनाइटेड छोडेपछि अल नासर गएका थिए । उनको आगमनले तेलको धनी राष्ट्र साउदी अरबमा पछिल्लो समय विश्वका प्रसिद्ध खेलाडी आगमनका लागि तयार बनेका छन् ।

    आर्थिक विविधीकरण योजनाअन्तर्गत खेलकुद र मनोरञ्जनमा ठूलो रकम खर्च गरिरहेको साउदी अरबलाई गत डिसेम्बरमा सन् २०३४ को विश्वकप आयोजनाको लागि अवसर दिने फुटबलको सबैभन्दा उच्च अन्तर्राष्ट्रिय समिति फिफाले घोषणा गरेको थियो ।

  • चितवन रंगशालाः पाँचौंपटकको जाँचबुझमा पनि देखिएन कैफियत, तर धुर्मुसलाई अझै दु:ख दिने नियत

    चितवन रंगशालाः पाँचौंपटकको जाँचबुझमा पनि देखिएन कैफियत, तर धुर्मुसलाई अझै दु:ख दिने नियत

    काठमाडौं । धुर्मुस-सुन्तली फाउन्डेसनको पहलमा निर्माण सुरू भएको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशालामा छैटौंपटक प्राविधिक मूल्याङ्‍कन गरिएको छ । पछिल्लोपटक पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानले गरेको जाँचबुझमा पनि कुनै कैफियत भेटिएन ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमा पुल्चोक क्याम्पसको मूल्याङ्‍कनका आधारमा सिर्जित सम्पत्ति खरिद गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकम असार मसान्तमै अर्थ मन्त्रालयबाट भरतपुर महानगरपालिकाको खातामा निकासा भइसकेको छ ।

    यसको कार्यान्वयनका लागि गत भदौ १६ गते पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान, भरतपुर महानगरपालिका र धुर्मुससुन्तली फाउन्डेसनबीच लिखित सम्झौतामा हस्ताक्षर भ प्राविधिक मूल्याङ्‍कन सुरु भयो ।

    संस्थानबाट गठित विज्ञ प्राविधिकको टोलीले मूल्याङ्‍कनपछि महानगरलाई गत कात्तिक ११ गते महानगरलाई प्रतिवेदन बुझाएको छ । इन्जिनियरिङ कलेजका सहायक डीन सहप्राध्यापक सुरज लामिछाने नेतृत्वको मूल्याङ्‍कन समितिमा सहप्राध्यापक नारायणप्रसाद गौतम र इन्जिनियर शिव काफ्ले सदस्य थिए ।

    प्रतिवेदनअनुसार फाउन्डेसनले महानगरलाई हस्तान्तरण गरेको रङ्‍गशालामा भ्याटसहित ५९ करोड ९० लाख १ हजार ८ सय ६६ रुपैयाँको काम भएको देखिन्छ । फाउन्डेसनले गरेको खर्चभन्दा बढी मूल्यको भौतिक संरचना खडा भएको पाइएको महानगर स्रोतले बतायो ।

    महानगरले नै गरेको लेखापरीक्षणमा रङ्‍गशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार रुपैयाँ खर्च भएको देखिएको थियो । यसमध्ये ३९ करोड ८० लाख ३८ हजार रुपैयाँ बराबरको नगदजिन्सी फाउन्डेसनले प्राप्त गरेको थियो भने १८ करोड ४३ लाख रुपैयाँ आपूर्तिकर्ताहरूलाई तिर्न बाँकी (उधारो) रहेको प्रतिवेदनमा उल्लेख छ ।

    फाउन्डेसनले गरेका केही खर्चहरू संस्थानको अध्ययन प्रतिवेदनमा समावेश छैन । निर्माणस्थलमा कालोमाटो ढुवानीमा लागेको २३ लाख ७४ हजार ६४५ रुपैयाँ तथा दुबो रोपिएको ३९ लाख ३७ हजार ९ सय ४७ रुपैयाँ मूल्याङ्‍कन समितिले खर्चमा जोडेन ।

    फाउन्डेसनले दुबो रोपेको, खेलमैदानमा कालोमाटो तथा पीचमा रातो र कालोमाटो हाले पनि त्यसको महानगरले जिम्मा लिएपछि स्याहारसुसार नभएको भन्दै खर्चमा समावेश नगरिएको हो ।

    यस्तै, धुर्मुस सुन्तली फाउन्डेसनले हस्तान्तरणका समयमा निर्माणस्थलमा रहेका दुई करोड ४६ लाख २१ हजार ६ सय ७० रुपैयाँ बराबरका निर्माण सामग्री, निर्माण उपकरण तथा अन्य सामानहरू हिसाब पनि जोडिएको छैन । निर्माण संरचनाभित्र नपर्ने भएकाले नजोडिएको प्रतिवेदनमा जनाइएको छ ।

    प्रतिवेदनमा नमुना खेलमैदान, कम्पाउन्डबाहिर चारवटा कामदार आवास निर्माण गरेको तथा पछि भरतपुर महानगरले डिजाइन परिवर्तन गर्दा यसअघि कमलको फूल आकारको ट्रस्ट बनाउन पिल्लरमा प्रयोग भएका करिब २३ लाख रुपैयाँ बराबरका पाताको खर्च पनि जोडिएको छैन । यो सबै जोड्दा ६३ करोडभन्दा बढीको काम देखिन आएको छ ।

    समितिले गरेको मूल्याङ्‍कनमा ओभरहेड कस्ट (सरकारी निर्माण कार्यमा कम्पनीले नियमानुसार प्राप्त गर्ने १५ प्रतिशत शुल्क) समावेश छैन । फाउन्डेसन गैरनाफामूलक संस्था भएकाले ओभरहेड खर्च नजोडिएको प्रतिवेदनमा उल्लेख छ ।

    फाउन्डेसनको कार्यालय सञ्चालनका निम्ति ४ प्रतिशत सञ्चालन खर्च मात्र लागतमा जोडिएको छ । प्रतिवेदनमा हिसाब नगरिएका (स्टक सामान, माटो ढुवानी, दुबो, नमुना खेलमैदान आदि) करिब ३ करोडको खर्च र ओभरहेड खर्चसमेत जोड्दा करिब ७२ करोडको संरचना महानगरको स्वामित्वमा आएको देखिन्छ ।

    रङ्‍गशालामा विभिन्न नाममा सरकारी छानबिन भएको यो पाचौंपटक हो । सबैभन्दा पहिले भरतपुर महानगरपालिकाले आफैं सघन सहरी विकास परियोजना चितवनमार्फत २०७८ सालमा प्राविधिक मूल्याङ्‍कन र आर्थिक मूल्याङ्‍कन गरेको थियो ।

    त्यसपछि सोही वर्ष युवा तथा खेलकुद मन्त्रालयका सहसचिव विदुरप्रसाद खनालको संयोजकत्वमा गठित समितिले पुन: अध्ययन तथा मूल्याङ्‍न गर्‍यो । तर, चार महिना लगाएर मूल्याङ्‍कन गरे पनि त्यसको रिपोर्ट नै बनाइएन । त्यसपछि २०७९ साल साउनमा सहसचिव इन्जिनियर प्रकिर्ण तुलाधरको संयोजकत्वमा प्राविधिक समिति गठन भई तेस्रोपटक मूल्याङ्‍कन भयो ।

    समितिले मन्त्रीपरिषदमा प्रतिवेदन पेश गरे पनि निर्णयको बुँदा नलेखिएको भनेर यत्तिकै थन्क्याइयो । त्यसपछि फेरि राष्ट्रिय सतर्कता केन्द्रले २०७९ मंसिरबाट अर्को छानबिन गर्‍यो । उक्त रिपोर्टले पनि यसअघि सघन सहरी विकासले दिएको निष्कर्षलाई नै सदर गरेको थियो ।

    यसरी अहिलेसम्म भएका पाँचवटै मूल्याङ्‍कन तथा छानबिन समितिले परियोजनामा एक रुपैयाँ पनि अनियमितता देखाउन सकेको छैन । भरतपुर महानगरका एक कर्मचारीले भने, ‘पटकपटक छानबिनका नाममा उहाँहरूलाई दु:ख दिइएको छ, जबकि अहिलेसम्म एक रुपैयाँ पनि अनियमितता भेटिएको छैन ।’

    २०७८ सालमा धुर्मुसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उक्त उजुरीमा अख्तियारले लामो अनुसन्धान गरेर धुर्मुसलाई २०८१ सालमा ‘क्लिनचिट’ दियो ।

    ७२ करोडको संरचना महानगरलाई बुझाएका धुर्मुसले १८ करोड ४३ लाख रुपैयाँ ऋणको बोझबाट भने अझै मुक्ति पाएका छैनन् । निर्माण कम्पनीहरूलाई तिर्न बाँकी यो रकम फरफारकका लागि उनले ५ वर्षदेखि सरकारी निकायमा ताकेता गर्दै आएका छन् । उनी भरतपुर महानगरदेखि सिंददरबारसम्म लगातार धाइरहे पनि अहिलेसम्म सो रकम भुक्तानी हुन सकेको छैन ।

    रंगशाला शिलान्यासको क्रममा धुर्मुस-सुन्तली ।

    धुर्मुसको लामो सङ्घर्षपछि यसअघिको ‘केपी ओली सरकार’ले उक्त संरचना खरिद गर्ने भनेर बजेटमा रकम समावेश गरेको थियो । बजेटमा पुल्चोक इन्जिनियरिङ कलेजलाई प्राविधिक मूल्याङ्‍कन गर्न दिएर त्यसको प्रतिवेदनका आधारमा सम्पत्ति खरिद गर्ने उल्लेख छ ।

    सोही अनुसार असार मसान्तमै अर्थ मन्त्रालयबाट भरतपुर महानगरमा १५ करोड रुपैयाँ निकासा भएको हो । १८ करोड ४३ लाख रुपैयाँ तिर्न बाँकी भए पनि अहिलेलाई १५ करोड रुपैयाँ मात्रै निकासा भएको छ । तर त्यो पैसा दिन पनि भरतपुर महानगरले आनाकानी गरिरहेको बुझिएको छ ।

    संघीय सरकारबाट पठाइको रकम महानगरको बैठकबाट निर्णय गरेर तत्काल दिइनुपर्ने अर्थ मन्त्रालय स्रोत बताउँछ । संसदबाटै पारित भएको विषयमा यताबाट रकम गइसकेपछि महानगरले सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने मात्र हो । त्यसलाई पनि अल्झाइराख्नु दु:ख दिने नियतबाहेक केही होइन,’ मन्त्रालय स्रोतले भन्यो ।

    महानगरका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सो रकमका विषयमा अर्थ मन्त्रालयलाई पत्राचार गरिएको र त्यसको जवाफ नआइसकेको बताए । अर्थ मन्त्रालयले भने जवाफ दिन आवश्यक नरहेको बताएको छ । अर्थका एक अधिकारीले मन्त्रालयबाट निकासा भइसकेको रकममा सोझै कार्यपालिकाले निर्णय गरेर खर्च गर्न सकिनेमा अनावश्यक जटिलता निम्त्याउन खोजिएको टिप्पणी गरे ।

    यही रसाकस्सीले गर्दा उक्त रकम अहिलेसम्म फाउन्डेसनले पाउन सकेको छैन । महानगरले २०७८ सालमै परियोजनाको स्वामित्व लिएर अहिले ठेकेदारमार्फत थप काम अघि बढाइरहेको छ । धुर्मुस भने सरकारी निकायदेखि अड्डा अदालतको चक्कर लगाइरहेका छन् । उनीमाथि विभिन्न सप्लायर्सले चितवनदेखि काठमाडौंसम्म मुद्दा हालेका छन् ।

  • हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

    हिक्मत महरा सुदूरपश्चिम रोयल्सका आइकोनिक खेलाडी

    सुदूरपश्चिम । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका लागि हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक’ खेलाडी घोषित भएका छन् ।

    धनगढीको क्रिकेट एकेडेमीमा एनपिएलका लागि आइतबार र आज भएको ‘ट्यालन्ट हन्ट’ बाट तीव्रगतिका बलर हिक्मत उत्कृष्ट बन्दै आइकोनिक खेलाडी घोषित भएका हुन् ।

    रोयल्सका प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको टोलीले दुई चरणमा खेलाडी छनोट गरेको छ । ट्यालेन्ट हन्टमा झण्डै ३०० सहभागी थिए । हिक्मतले अब सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने छन् ।

    आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको रोयल्सले जनाएको छ । जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरिएको हो ।

    काठमाडौँमा हुन लागेको एनपिएल प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन,क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन सहभागी छन् ।

  • एन्फाले वार्ता लाइभ गर्न नमानेपछि खेलाडीहरू बहिस्कार गरेर बाहिरिए

    एन्फाले वार्ता लाइभ गर्न नमानेपछि खेलाडीहरू बहिस्कार गरेर बाहिरिए

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रत्यक्ष प्रसारण गर्न नमानेपछि फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासहितको टोलीले वार्ता बहिष्कार गरेको छ । आफ्नो ७ बुँदे मागपत्र पेश गरेर टोलीले वार्ता बहिष्कार गरेको हो ।

    कात्तिक १७ गते एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच अर्को वर्ष होम एन्ड अवेको आधारमा सहिद स्मारक ए डिभिजन लिग अर्को वर्ष गर्ने र यो वर्ष राष्ट्रिय लिग मात्र गर्ने सहमति भएको थियो ।

    एन्फा र ‘ए’ डिभिजन क्लबहरुबिच भएको उक्त सहमतिप्रति असन्तुष्ट जनाउँदै नेपाल फुटबल खेलाडी संघको नेतृत्वमा खेलाडीहरू केही दिनदेखि सडकमा उत्रिएका छन् ।

    सहिद स्मारक ए डिभिजन लिग तथा राष्ट्रिय लिगका सम्बन्धमा उठेका विचार एवम् भावनाहरूलाई संवाद मार्फत नै सम्बोधन गर्ने भन्दै एन्फाले वार्तामा बोलाएको थियो । तर, खेलाडीहरू वार्ता बहिष्कार गरेका हुन् ।

  • पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट विद्यालयमा क्रिकेट कीट दिने

    पोखरा एभेन्जर्सले नेपथ्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट विद्यालयमा क्रिकेट कीट दिने

    पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सले नेपथ्र्यको कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम गण्डकी प्रदेशभित्रका विद्यालयको क्रिकेट विकासमा खर्चिने भएको छ ।

    पोखरा एभेन्जर्सको आयोजनामा शुक्रवार साँझ पोखरा रंगशालामा नेपथ्यको कन्सर्ट गरिएको थियो । उक्त कन्सर्टको टिकटमार्फत उठेको रकमबाट केही रकम विद्यालयको क्रिकेट विकासमा सहयोग गर्ने पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले जानकारी दिए ।

    उनले उक्त कन्सर्टमा ७ हजार ८ सय जनाले टिकट काटेर कन्सर्ट अवलोकन गरेको उल्लेख गरे । यस्तै २ हजार २ सय जना आमन्त्रित पासको रुपमा कन्सर्टमा पुगेका थिए । केही व्यक्तिहरू टिकट नकाटी पुगेकाले करिब १२ हजारले कन्सर्टको अवलोकन गरेको आयोजकको अनुमान छ ।

    कन्सर्टका लागि सुरुआतमा टिकट काट्ने एक हजार जना र विद्यार्थीका लागि ९९९ रुपैयाँ तोकिएको थियो । यस्तै अन्यका लागि १४९९ रुपैयाँ निर्धारण गरिएको थियो । टिकट खरिद गरेबापत एभेन्जर्सले जर्सी दिएको थियो ।

    प्रत्येक टिकटबाट दुई सय जिल्ला खेलकुद विकास समिति र एक सय विद्यालयको क्रिकेट विकासका लागि खर्चिने समझदारी भएको थियो । सोही समझदारीअनुसार करिब ५ लाख र अन्य प्रायोजकबाट थप ५ लाख गरी १० लाख बराबरको क्रिकेट सामग्री गण्डकीका विद्यालयलाई प्रदान गर्ने एभेन्जर्सका अध्यक्ष त्रिपाठीले जानकारी दिए । खेलकुद विकास समिति र क्रिकेट संघसँगको समन्वयमा विद्यालय छनोट गरिने त्रिपाठीले बताए ।

    नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । पहिलो संस्करणमा पोखराले २ खेलमा मात्रै जित निकालेको थियो । यसपटक अघिल्लो संस्करणको कमजोरी सुधार गरेर प्रदर्शन राम्रो गर्ने त्रिपाठीको विश्वास छ ।

  • सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

    सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले आफ्नो मस्कट ‘बड्डाउ’ सार्वजनिक गरेको छ ।

    यो मस्कटको नाम सुदूरपश्चिमको स्थानीय डोटेली भाषामा राखिएको हो । मस्कटले बाघको स्वरूप तथा सो क्षेत्रको संस्कृतिलाई प्रतिबिम्बित गरेको छ । सुदूरपश्चिमले आज धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आयोजित ट्यालेन्ट हन्टको उद्घाटनका अवसरमा यसलाई अप्रत्याशित रूपमा अनावरण गरेको हो ।

    गत संस्करणको उपविजेता टोली सुदूरपश्चिम रोयल्स यसपटक भने उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छ । टोलीले यसअघि नै आफ्नो अफिसियल फ्यान एन्थम पनि सार्वजनिक गरिसकेको छ ।

    हाल धनगढी क्रिकेट एकेडेमीमा जारी रहेको ट्यालेन्ट हन्ट सोमबारसम्म चल्नेछ । सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन छन् । टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ।

  • दक्षिण अफ्रिकाका ४६ वर्षीय इमरान ताहिरले जनकपुरबाट एनपीएल खेल्ने

    दक्षिण अफ्रिकाका ४६ वर्षीय इमरान ताहिरले जनकपुरबाट एनपीएल खेल्ने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटका निकै अनुभवी दक्षिण अफ्रिकाका इमरान ताहिरले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा खेल्ने भएका छन् । मंसिर १ बाट सुरु हुने एनपीएलको दोस्रो संस्कारणका लागि जनकपुर बोल्ट्सले लेग स्पिन ताहिरलाई अनुबन्धन गरेको हो ।

    ताहिरसँग झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ । पाकिस्तानमा जन्मिएका ४६ वर्षीय ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन् । उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन् ।

    उनी २०११ को एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए । उक्त खेलमा उनले ४ विकेट लिएका थिए । ताहिरलाई समावेश गरेपछि जनकपुर बोल्ट्सले आफ्नो बलिङ विभाग अझ मजबुत भएको जनाएको छ ।

    ‘विश्व क्रिकेटमा परिचित नाम इमरान ताहिरको आगमनले हाम्रो टिममा अनुभव, ऊर्जा र विश्वस्तरीय स्तरको आत्मविश्वास थपेको छ । हामी विश्वास गर्छौं, उनको उपस्थितिले हाम्रो युवा टोलीलाई अझ प्रेरित गर्नेछ,’ ताहिरलाई अनुबन्ध गरेपछि जनकपुर बोल्ट्सका प्रवन्ध निर्देशक निरोज खतिवडाले भने ।

    उनले थपे, ‘जनकपुर बोल्ट्सले यसअघि पनि अन्तर्राष्ट्रिय खेलाडीहरूलाई स्वागत गर्दै नेपाली क्रिकेटमा व्यवसायीकता र प्रतिस्पर्धात्मकता बढाउदै आएको थियो । आगामी सिजनमा बोल्ट्स ‘बिल्ट फर भिक्ट्री’ को नारा लिएर मैदानमा उत्रिनेछ ।

    ताहिरले इंग्ल्यान्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन् । बोल्ट्सले यस सिजनको एनपीएलका लागि भित्राइएका ताहिर तेस्रो विदेशी खेलाडी हुन् ।

    यसअघि नै टोलीले पहिलो संस्करण जित्दाका हिरो श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था र भेट्रान दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ । वेस्ट इन्डिजका शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा बोल्ट्स यसपटक मैदानमा उत्रने छ ।

  • शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

    काठमाडौँ । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् ।

    शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा टोलीमा सदस्य थिए । ३७ वर्षीय शरदले नेपालबाट ४ ओडिआई र २० टी–२० आई खेल खेले । ओडिआईमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन् ।

  • लुम्बिनी लायन्सको नयाँ ढाकाको प्याटर्न भएको जर्सी बजारमा

    लुम्बिनी लायन्सको नयाँ ढाकाको प्याटर्न भएको जर्सी बजारमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम लुम्बिनी लायन्सले आफ्नो नयाँ जर्सी बिक्रीको लागि बजारमा सार्वजनिक गरेको छ । यो जर्सीमा नेपालीपन झल्काउने ढाका ढाँचाको प्रयोग गरिएको छ, जसले परम्परा, पहिचान र गौरवको प्रतीकका रूपमा लुम्बिनीको आत्मालाई प्रतिनिधित्व गर्छ ।

    नयाँ जर्सी अहिले अनलाईनमा दराज तथा अन्य छानिएका अनलाइन प्लेटफर्महरूमा उपलब्ध रहेको छ । साथै, लुम्बिनी प्रदेशका प्रशंसकहरूलाई सहज रूपमा पहुँच दिलाउने उद्देश्यले, लुम्बिनी लायन्सले लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा आफ्नो जर्सी बिक्री केन्द्रहरू स्थापना गर्ने तयारी समेत गरेको छ ।

    त्यसैगरी, काठमाडौंमा पनि अनलाइन बिक्रीसँगै आधिकारिक बिक्री केन्द्र स्थापना गर्ने तयारी भइरहेको लुम्बिनी लायन्सले जनाएको छ । उपत्यकाका फ्यानहरूले पनि सहज रूपमा टिमको आधिकारिक जर्सी प्राप्त गर्न सकून् भन्ने उद्देश्यका साथ यसो गर्न लागिएको हो ।

    लुम्बिनी लायन्सले देशभरका आफ्ना आधिकारिक साझेदार र वितरण केन्द्रहरू चयन गर्ने प्रक्रिया अघि बढाइरहेको छ, जसको माध्यमबाट हरेक समर्थकले “गौरवका साथ लुम्बिनी लायन्सको जर्सी पहिरिन सक्ने वातावरण” तयार पारिने लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी ले बताए । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल मार्की रहेको लुम्बिनीले दोस्रो सिजनमा लागि तयारी तिव्र बनाईसकेको छ ।

    भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर र अर्का भारतीय प्रशिक्षक टिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको लुम्बिनीले दुई विदेशी खेलाडी अष्ट्रेलियाका डार्शी सट र इटलीका थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ । बाँकी विदेशी खेलाडी छिटै सार्वजनिक गर्ने टिमले जनाएको छ ।

  • भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ कोप्चेदेखि तावा भञ्ज्याङसम्म

    भोजपुरमा ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ कोप्चेदेखि तावा भञ्ज्याङसम्म

    भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुरको सबैभन्दा होचो स्थान कोप्चेदेखि टेम्केमैयुङ गाउँपालिकाको तावा भञ्ज्याङसम्म ‘मुन्धुम अल्ट्रा ट्रेल रेस’ को आयोजना हुने भएको छ ।

    आगामी मङ्सिर २० र २१ गते दुई दिन ६० किलोमिटरको दूरीमा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक मुन्धुम अल्ट्रा ट्रेल रेस सञ्चालन समितिका सचिव रविन थापाले जानकारी दिए ।

    जिल्लाको मुन्धुम पदमार्ग तथा पर्यटकीय स्थालको प्रचारप्रसार गरी पर्यटन आवागमन सहयोग गर्दै धावक उत्पादन गर्ने लक्ष्यका साथ अल्ट्रा ट्रेलको आयोजना गरिएको सचिव थापाले बताए ।

    जिल्लाको हतुवागढी गाउँपालिका, आमचोक गाउँपालिका र रामप्रसाद राई गाउँपालिकाको आर्थिक सहयोग र स्वीस सरकार विकास सहयोग नियोग, हेल्भेटास नेपाल र पदमार्गमा आधारित पर्यटन विकास परियोजनासँगको समन्वयमा दुई दिने अल्ट्रा ट्रेल रेसको आयोजना गरिएको हो ।

    स्थानीय संस्कृति, परम्परा र मुन्धुम दर्शन तथा संस्कृतिको प्रचार–प्रचार गर्ने, पर्यटन प्रवर्द्धन, स्वास्थ्य तथा शारीरिक स्वस्थता, स्थानीयको आयस्रोतमा वृद्धि, अन्तर्राष्ट्रिय सहभागिता जस्ता उद्देश्य कार्यक्रमको रहेको छ । सो सम्बन्धमा शुक्रबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक पक्षले कार्यक्रम सफल बनाउन सबै पक्षसँग आग्रह समेत गरेको छ ।

    हतुवागढी गाउँपालिकाका अध्यक्ष तथा निर्देशक समितिका संयोजक प्रेम कुमार राईले पर्यटन प्रवर्द्धन, अर्थतन्त्र विकास, किराती संस्कृति तथा परम्पराको प्रवर्द्धन, खेलकुद क्षेत्रको विकासलगायत क्षेत्रका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताए । पुरुष तथा महिला अल्ट्रा ट्रेल रेसमा १०० जनाको सहभागिता हुने आयोजकले जनाएको छ ।

    यो रेसले जिल्लाको पर्यटन, खेलकुद तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको रेस सञ्चालन समितिका अध्यक्ष सन्दीप किरावाले बताए । उनले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक एकता र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार गर्नु हो, साथै प्रतियोगितमार्फत भोजपुरका पहाडी क्षेत्रका सुन्दर पदमार्ग, गाउँघरका सांस्कृतिक सम्पदा र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य लिइएको छ ।’

    प्रतियोगिता तयारीका लागि ट्रेल म्यापिङ, स्वयंसेवक तालिम, सरसफाइ तथा प्रचार अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

  • ‘हाम्रो खेल्ने अधिकार खै ?’ भन्दै एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)

    ‘हाम्रो खेल्ने अधिकार खै ?’ भन्दै एन्फाविरुद्ध फुटबल खेलाडीको धर्ना (तस्बिरहरू)

    काठमाडौं । फुटबल गतिविधि ठप्प भएको भन्दै खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।

    पछिल्लो २ वर्षयता लगातार नेपाली फुटबलको मेरुदण्ड मानिने शहिद स्मारक ए डिभिजन लिगको निरन्तर स्थगन गरेकोविरुद्ध नेपाल फुटबल खेलाडी संघले प्रर्दशन गरेका हुन् ।

    सातदोबाटो, ललितपुरस्थित एन्फा मुख्यालयबाहिर उनीहरुले ‘हाम्रा बुट थन्किएका छन् हाम्रो खेल्ने अधिकार खै ?’लगायतका विभिन्न नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । उनीहरुले एन्फा मुख्यालयमा धर्ना दिएर खेल गतिविधि छिटो भन्दा छिटो सञ्चालन गर्न आग्रह गरेका हुन् ।

    पछिल्लो समय नेपालमा कुनै पनि फुटबल गतिविधि हुन सकेको छैन । साथै कुनै पनि घरेलु लिगहरुसमेत हुन सकेकाे छैन ।  एन्फा पटक पटक लिगहरु  स्थगित गर्दै आइरहेकाे छ ।  जसको कारण नेपालमै खेलमा भविष्य खोज्ने खेलाडीहरु निराश भएका छन् ।