Tag: खेल प्रेस

  • एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स तथा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा

    काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ः१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

    सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले उसलाई कुनै दबाब हुने छैन । आठ अङ्कसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।

    विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ । त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौँ गोर्खाज भिड्नेछन् ।

    दिउँसो हुने खेलमा प्लेअफ दौडबाट बाहिरिसकेका चितवन र पोखराबीच प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ । दुवै टोलीको छ खेलबाट चार–चार अङ्क मात्रै रहेको छ ।

  • एनपीएल २: लुम्बिनी र जनकपुरको भिडन्तमा थप दुई टीमको चासो, यस्तो छ ‘प्ले अफ’ को गणित

    एनपीएल २: लुम्बिनी र जनकपुरको भिडन्तमा थप दुई टीमको चासो, यस्तो छ ‘प्ले अफ’ को गणित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्ले अफमा पुग्ने ३ टीमको टुंगो लागिसकेको छ भने बाँकी एक स्थानका लागि चार टीम प्रतिस्पर्धामा छन् । उनीहरुमध्ये सबैभन्दा बलियो दाबेदारी रहेको छ लुम्बिनी लायन्सको ।

    सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किङ्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका हुन् । ६ म्याचमा शतप्रतिशत जित हासिल गरेको सुदूरपश्चिमले क्यालिफायर खेल्ने पक्का गरेको छ । समूह चरणका शीर्ष दुई टीम क्वालिफायरमा भिड्छन् र हार्ने टीमले अर्को एक मौका पाउँछन् ।

    तेस्रो र चौथो स्थानमा रहेका टीमले इलिमिनेटर खेल्नुपर्छ । इलिमिनेटरमा हार्ने टीम बाहिरिन्छ भने जित्ने टीमले पहिलो क्वालिफायरमा हार्ने टीमसँग दोस्रो क्वालिफायर खेल्नुपर्छ । पहिलो क्वालिफायर जित्ने र दोस्रो क्वालिफयर जित्ने टीम फाइनलमा पुग्छन् ।

    आज हुने लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सको म्याचले प्लेअफको छिनोफानो गर्न पनि सक्छ । यदि लुम्बिनीले जित्यो भने बाँकी तीन टीम (जनकपुर, पोखरा र चितवन) को ढोका बन्द हुनेछ । लुम्बिनीले अहिलेसम्म तीन म्याच जितेर ६ अंक बटुलेको छ । दुई-दुई म्याच जितेका पोखरा र चितवनसँग ४ अंक छ भने एक म्याच मात्रै जितेको जनकपुरसँग् २ अंक छ । लुम्बिनीले आज जितेमा उसको ८ अंक पुग्छ र बाँकी तीन टीमको खेल खत्तम हुन्छ ।

    यदि लुम्बिनीलाई जनकपुरले हरायो भने चाहिँ चारवटै टीमको सम्भावना जीवित रहन्छ । जनकपुरले दुई म्याच खेल्न बाँकी छ । दुईमध्ये एक म्याच हारेमा उसले घर फर्किनुपर्छ । दुवै म्याच राम्रो अन्तरालले जितेमा मात्रै उसको सम्भावना रहन्छ ।

    भोली समूह चरणका दुई म्याच हुनेछन् । पहिलो म्याचमा बिराटनगर र सुदुरपश्चिम भिड्नेछन् । यी दुवै प्लेअफमा पुगिसकेका टीम हुन् । सुदुरपश्चिमका लागि यो म्याचको कुनै अर्थ छैन । विराटनगरका लागि भने महत्वपूर्ण किन हुन छ भने ठूलो अन्तरले जितेमा अंकतालिकाको दोस्रो स्थानमा उक्लिएर क्वालिफायरमा स्थान सुरक्षित गर्न सक्छ । हारेमा इलिमिनेटरमा धकेलिन्छ ।

    भोलिको दोस्रो म्याचमा चितवन र पोखरा भिड्नेछन् । आजको म्याचमा लुम्बिनीले जिते यो म्याच अर्थहीन बन्ने छ । लुम्बिनीले हारेमा भने दुवै टीम ठूलो जितको खोजीमा हुनेछन् ।

    पर्सी समूह चरणको अन्तिम म्याचमा जनकपुर र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्लेअफ दौडबाट बाहिरिइसकेको छ । त्यसैले उसका लागि प्रतिष्ठाको विषय मात्र हो । जनकपुरले आजको म्याच हारेमा यो म्याच पनि अर्थहीन बन्ने छ । जनकपुरले आज जितेमा भने पर्सीको म्याचले अन्तिम स्थानको छिनोफानो गर्न सक्छ ।

  • एनपीएलबाटै आकाश चोपडाको भ्लग, टियू मैदान देखाउँदै के के भने ?

    एनपीएलबाटै आकाश चोपडाको भ्लग, टियू मैदान देखाउँदै के के भने ?

    काठमाडौं । भारतका चर्चित क्रिकेट कमेन्टेटर आकाश चोपडा अहिले काठमाडौंमा छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा कमेन्ट्री गर्न ढिला गरी आइपुगेका हुन् ।

    चोपडाले हिजो भएका दुई म्याचमा पहिलोपटक कमेन्ट्री गरे । पहिलो म्याचमा पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज भिडेका थिए भने दोस्रोमा सुदुरपश्चिम रोयल्स र चितवन राइनोज । पोखरा र काठमाण्डुको म्याचपछि मैदानबाटै चोपडाले आफ्नो नियमित भ्लग ‘आकाशवाणी’ का लागि समेत समय निकाले ।

    ढाका टोपी र कालो चश्मामा ‘कुल’ देखिएका चोपडाले आफ्नो भ्लगमा बढी चर्चा भने भारतीय क्रिकेटकै गरे । बिराट कोहलीले १०० सतक लगाउलान् कि नलगाउन् भनेर टियु मैदानबाट विश्लेषण गरिरहँदा त्यति सान्दर्भिक लाग्दैन । यद्यपि, उनले एनपीएल र टियु ग्राउन्डको विषयमा पनि थोरै बोलेका छन् । सवा १२ मिनेटको भ्लगमा उनले नेपालको सन्दर्भमा मुस्किलले एक मिनेट टिप्पणी गरेका छन् ।

    टियु मैदानका दृष्य देखाउँदै उनी भन्छन्- ‘यो मैदान निकै सुन्दर छ । अहिले जुन स्ट्यान्ड देखिरहनुभएको छ, एक वर्षअगाडि घाँस थियो । तपाईंहरूले जुन फ्लडलाइट्स देख्नुभएको छ, यो अघिल्लो वर्ष थिएन । यो प्रतियोगिताको ठिक अगाडि फ्लडलाइट तयार गरिएको हो । म दुई-तीन दिनका लागि एनपीएलमा कमेन्ट्री गर्न आएको छु । यहाँ क्रिकेटको माया बयान गरिनसक्नु छ । एकछिनमा दिपेन्द्रसिंह ऐरी आउनेछन् । उनी आएपछि यहाँ यति होहल्ला हुने छ कि मानौं भगवान् नै धर्तीमा उत्रेर आएका हुन् । म पनि उनको खेल हेर्न आतुर हुँ । मैदानमा उनी आँधिजस्ता छन् । क्या थ्रो मार्छन् । मैले उनको एउटा रिल्स पनि बनाएको छु । अनि मेरो टोपी कस्तो लाग्यो बताउनुहोला ।’

    चोपडाले आफू पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र थप सामग्री प्रस्तुत गर्ने प्रतिवद्धता जनाएका छन् ।

  • एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    एनपीएल : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४:०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ । लुम्बिनीले जितेमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ । जनकपुरले हालसम्म ५ खेलबाट २ अङ्क मात्र पाएको छ।

  • ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना

    ह्यान्डबल सङ्घको अध्यक्षमा तिमिल्सिना

    कास्की । पोखरामा सम्पन्न नेपाल ह्यान्डबल सङ्घको महाधिवेशनबाट सङ्घको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

    महाधिवेशनले आगामी चार वर्षका लागि सुनसरीका तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ खेलकुद विकास ऐन जारी भएपछि सङ्घको पहिलो महाधिवेशन भएको हो । सङ्घको उपाध्यक्षत्रयमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए ।

    यसैगरी महासचिवमा केशव पाठक, सचिवमा महेन्द्रबहादुर पुन र कोषाध्यक्षमा तस्विरा तामाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत निर्वाचित भएका छन् । रिक्त पदाधिकारी तथा सदस्य पद पछि मनोनयन गरिने निर्वाचन समितिका संयोजक कमल अर्यालले जानकारी दिए ।

    महाधिवेशनमा ४८ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए । यसअघि पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समयअघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्यसचिवसमेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म सङ्घको नेतृत्व गरेका थिए ।

    यसअघि महाधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताए । उद्घाटन सत्रमा अन्तरराष्ट्रिय ह्यान्डबल सङ्घका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमालकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

  • सी डिभिजन लिग : दाजुभाइ एफसीलाई बढी गोल दिइएको भन्दै लिखु भुजी क्लबको आपत्ति

    सी डिभिजन लिग : दाजुभाइ एफसीलाई बढी गोल दिइएको भन्दै लिखु भुजी क्लबको आपत्ति

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले सी डिभिजन लिग फुटबलमा हामी दाजुभाइ एफसीलाई बढी गोल दिएको भन्दै लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको छ ।

    मंसिर १० गते खेलका क्रममा बिना कारण रेफ्रीले दाजुभाइ एफसीलाई पेनाल्टी दिएको भन्दै हुम्ला फुटबल एकेडेमीले विरोध जनायो । हुम्ला एकेडेमीका खेलाडीले खेल बहिष्कार गरे ।

    त्यसपछि रेफ्रीले दाजुभाइ एफसीलाई विजयी घोषणा ग¥यो । खेल सकिएको ६ दिनपछि एन्फाले दाजुभाइ एफसी ८–० को गोलअन्तरले विजय हुँदै नकआउटमा प्रवेश गरेको निर्णय सुनायो ।

    एन्फाले सहिद स्मारक सी डिभिजन लिग क्वालिफायर प्रतियोगिता नियमावली बुँदा नम्बर ६.३ अनुसार खेल रोकिँदासम्म हानेको ५ गोल र बहिष्कार गरेको ३ गोल थप गरी दाजुभाइ एफसीलाई विजयी बनाएको उल्लेख गरेको छ ।

    एन्फाको उक्त निर्णयले दाजुभाइ एफसी नकआउट चरणमा प्रवेश ग¥यो । उक्त बुँदामा कुनै पनि अवस्थामा खेल रद्द भएमा, विपक्षी टोलीलाई ३–० स्कोर वा उच्चतम गोल भिन्नताका साथ ३ अंक प्रदान गरिने उल्लेख छ ।

    एन्फाको उक्त निर्णयमा दाजुभाइ एफसी र हुम्ला एकेडेमी रहेको समूह ‘बी’मा रहेको लिखु भुजी रामेछाप युवा क्लबले आपत्ति जनाएको हो । नियमअनुसार ३–० अथवा ५–० को नजिता दिनुपर्नेमा पक्षपातपूर्ण तरिकाले ८–० को नजिता दिइएको भन्दै क्लबले विरोध जनाएको छ ।

  • एनपीएल-२: सुदूरपश्चिमको जितले विराटनगर किंग्स प्लेअफमा

    एनपीएल-२: सुदूरपश्चिमको जितले विराटनगर किंग्स प्लेअफमा

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई हराउँदा विराटनगर किंग्स प्लेअफमा प्रवेश गरेको छ ।

    आज भएको खेलमा सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको थियो । योसँगै ६ खेलबाट ८ अंक जोडेको विराटनगर किंग्स प्लेअफमा पुगेको हो ।

    विराटनगरले लिग चरणको अन्तिम खेल सुदुरपश्चिमसँग खेल्नेछ ।

  • ईंग्ल्यान्डका जोय रुटले शतक हान्दा अष्ट्रेलियाका म्याथु हेडेनलाई राहत !

    ईंग्ल्यान्डका जोय रुटले शतक हान्दा अष्ट्रेलियाका म्याथु हेडेनलाई राहत !

    काठमाडौं । एसेजको दोस्रो टेस्टमा ईंग्ल्यान्डका ब्याट्सम्यान जोय रुटले शतक प्रहार गरेका छन् । उनका लागि यो शतक विशेषरुपमा मूल्यवान् छ ।

    अहिलेसम्म टेस्टमा ४० शतक हानिसकेका रुटको अष्ट्रेलियामा यो पहिलो तीन अंकको स्कोर हो । उनले अष्ट्रेलियाको भूमिमा ३० पटक ब्याटिङ गर्दा शतक हान्न सकेका थिएनन् ।

    रुटको यो शतकले ईंग्ल्यान्डलाई संकटबाट बाहिर निकालेको छ । आजको खेल समाप्त हुँदा उनी २०२ बल खेल्दै १३५ रनमा अविजित छन् । ईंग्ल्यान्डले २६४ रनमा ९ विकेट गुमाएर कमजोर स्थितिमा पुगेको थियो । तर, रुटले ११ औँ नम्बरका ब्याटर जोफ्रा आर्चरसँग मिलेर अविजित ६१ रन जोडे । यो साझेदारीले ईंग्ल्यान्डलाई ठूलो राहत मिलेको छ ।

    राहत ईंग्ल्यान्डलाई मात्र होइन, अष्ट्रेलियाका दिग्गज क्रिकेटर म्याथु हेडेनलाई पनि मिल्यो । उनले गत सेप्टेम्बरमा एउटा अनौठो प्रतिज्ञा गरेका थिए । एक पोडकास्टमा हेडेनले भनेका थिए, ‘यदि आगामी एसेज शृङ्खलामा जोय रुटले अष्ट्रेलियाविरुद्ध पहिलो शतक हान्न सकेनन् भने म एमसीजीको मैदानमा नाङ्गै हिँड्नेछु ।’

    बुबाको यो घोषणाले उनकी छोरी ग्रेस, जो क्रिकेट कमेन्टेटर पनि हुन्, चिन्तामा परेकी थिइन् । उनले ट्विट गर्दै लेखेकी थिइन्– प्लीज जोय रुट एउटा शतक बनाइदेऊ ।’

    नभन्दै रुटले शतक हानेर हेडेनलाई राहत दिए । हेडेनले अब आफ्नो प्रतिज्ञा अनुसार एमसीजीमा नाङ्गै हिँड्नुपर्ने छैन ।

    ३४ वर्षीय रुटको टेस्ट करिअरमा यो ४० औँ शतक हो । सर्वाधिक टेस्ट शतक हान्ने रेकर्ड भारतका सचिन तेन्दुलकरको नाममा छ, जसले ५१ शतक हानेका छन् । सक्रिय ब्याट्सम्यानहरुमा सर्वाधिक शतक हान्ने रुट नै हुन् । तेन्दुलकरको रेकर्ड तोड्न सक्ने अनुमान गरिएको छ ।

  • एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

    एनपीएल-२: वेन र भीमको अर्धशतकमा काठमाण्डुले दियो १६६ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्ससामु १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनायो ।

    काठमाण्डुका लागि ओपनर वेन चार्ल्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।

    बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए । यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान सुनिश्चित गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • एनपीएल : भीम सार्कीले बनाए १९ बलमै अर्धसतक

    एनपीएल : भीम सार्कीले बनाए १९ बलमै अर्धसतक

    काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा काठमाण्डु गुर्खाजका ब्याट्सम्यान भीम सार्कीले १९ बलमै अर्धसतक बनाएका छन् ।

    पोखरा एभेन्जर्सविरुद्धको खेलमा उनले ४ छक्का र ५ चौका प्रहार गर्दै विष्फोटक पारी खेलेका हुन् ।

    सार्की एनपीएलमा सबैभन्दा कम बलमा अर्धसतक बनाउने नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि पहिलो सिजनमा दीपेन्द्रसिंह ऐरीले २२ बलमा अर्धसतक बनाएका थिए ।

  • एनपीएल-२ : काठमान्डुका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

    एनपीएल-२ : काठमान्डुका ओपनर बेन चार्ल्सवर्थको अर्धशतक

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बिहीबारको खेलमा काठमान्डु गोर्खाजका तर्फबाट मैदानमा उत्रिएका ओपनर बेन चार्ल्सवर्थले अर्धशतक पूरा गरेका छन् ।

    त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमान्डुका तर्फबाट बेनले ४८ बलमा ४ चौका र १ छक्कासहित ५१ रन पूरा गरेका हुन् ।

    १५.२ ओभरमा बेनले अर्धशतक पूरा गरे । यसअघि बेनले जनकपुरविरुद्ध ४६ रन जोडेका थिए ।

  • एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    एनपीएल-२ : पोखराविरुद्ध काठमाण्डुले पहिला ब्याटिङ गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयू क्रिकेट मैदानमा काठमाण्डुविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

    यो खेलमा जित निकालेमा काठमाण्डुले प्लेअफमा स्थान पक्का गर्नेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न पोखरालाई आजको खेल जित्नैपर्ने दबाब छ ।

  • एनपिएलः आज दुई खेल हुने

    एनपिएलः आज दुई खेल हुने

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछन् ।

    पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ ।

    पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ ।

    प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् ।

    सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ ।

  • एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

    एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

    काठमाडौं । लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् ।

    विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन् । दोस्रो संस्करणको यो २७औँ अर्धशतक हो । जसमा २३ खेलाडी सामेल छन् ।

    यसअघि, जारी सिजनमा चितवन राइनोजका रवी बोपराले तीन, पोखरा एभेन्जर्सका कुशल भुर्तेल र कर्णाली याक्सका प्रियान्क पन्चालले दुई/दुई अर्धशतक जोडेका छन् ।

    यस्तै, सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, इशान पाण्डे, विराटनगर किङ्ग्सका लोकेश बम, मार्टिन गुप्टिल, बसिर अहमद, पोखराका सुमित वर्माले, जिमी निशम, एडम रोसिङ्टन, चितवनका डेबिड मलान र अर्जुन साउद, काठमाडौँ गोर्खाजका जोन सिम्प्सन, कर्णालीका मार्क वाट, जनकपुर बोल्ट्सका वायन पार्नेल, सञ्जय कृष्णमूर्ति, माज सदाकत, अनिल शाह र आशिफ शेखले एक/एक अर्धशतक बनाएका छन् ।

    कर्णालीका मार्क वाट र पोखराका एडमरोसिङटनले मात्रै जारी प्रतियोगितामा शतक प्रहार गरेका छन् ।

  • एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

    एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग

    काठमाडौँ । एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।

    संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो ।

    प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् ।

    एसिसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै

    प्रतियोगिताका खेलहरू आइसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् ।

    नेपालको पहिलो खेल श्रीलङ्कासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बङ्गलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।

    नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

    यू-१९ प्रिमियर कप : फाइनलमा चुक्यो नेपाल, युएईले जित्यो उपाधि

  • एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

    एनपिएलः आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको खेलअन्तर्गत आज बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीबीच दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।

    विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । विराटनगर आजको खेलमार्फत स्थान सुधार्ने लक्ष्यमा छ । समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ। प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ ।

    अहिलेसम्म सुदूरपश्चिम रोयल्सले प्रतियोगिताको प्लेअफमा स्थान पक्का गरेको छ । अब बाँकी तीन टोली प्लेअफ यात्रा सुरक्षित गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

  • नेपाल चाइनिज ताइपेसँग पराजित

    नेपाल चाइनिज ताइपेसँग पराजित

    इन्डोनेसिया । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ ।

    इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज सम्पन्न खेलमा नेपाली टोली चाइनिज ताइपेसँग १–० गोलले पराजित भएको हो । खेलको दोस्रो हाफमा नेपालविरुद्ध गोल भएको हो ।

    चाइनिज ताइपेको लागि हुङ के सिनले निर्णायक गोल गोल गरिन् । उनले खेलको ५३ औँ मिनेटमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् । फिफा महिला फुटबलको वरियतामा चाइनिज ताइपे ४२ औँ स्थानमा रहँदा नेपाल ८९ औँ स्थानमा रहेको छ ।

    यस त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो । त्यस्तै चाइनिज ताइपेले इन्डोनेसियालाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।

  • आसिफ र भुर्तेलको गज्जब संयोग- लगातार तीन म्याचमा एउटै स्कोर

    आसिफ र भुर्तेलको गज्जब संयोग- लगातार तीन म्याचमा एउटै स्कोर

    काठमाडौं । लामो समयदेखि नेपाली राष्ट्रिय टीमका नियमित ओपनर हुन् आसिफ शेख र कुशल भुर्तेल । नेपाल प्रिमियर लिगमा भने उनीहरूले फरक फरक टीमबाट खेल्छन् । कुशल पोखरा एभेन्जर्सका कप्तान हुन् भने आसिफ जनकपुर बोल्ट्सका ओपनर ।

    एनपीएलको दोस्रो संस्करणमा यी दुवै ब्याटर उस्तै-उस्तै लयबाट गुज्रिरहेका छन् । पछिल्ला तीन म्याचमा त उनीहरूको स्कोरकार्ड दुरुस्तै एउटै छ, मानौं सल्लाह नै गरेर खेलिरहेजस्तो ।

    भुर्तेल पहिलो र दोस्रो म्याचमा उत्कृष्ट लयमा देखिएका थिए । विराटनगरविरुद्धको पहिलो म्याचमा उनले विष्फोटक अर्धशतक बनाए । ३१ बलमा ५९ रन हान्दा उनले ४ छक्का र ५ चौका प्रहार गरेका थिए । २२१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पोखरा कुशल क्रिजमा हुँदासम्म जितको दिशामा थियो । उनी आउट भएसँगै टीम धराशयी बन्यो र ५३ रनको पराजय व्यहोर्‍यो ।

    सुदूरपश्चिमविरुद्धको दोस्रो म्याचमा पनि भुर्तेलले उस्तै आक्रामक अन्दाजमा अर्धशतक बनाए । ३२ बलमा ५२ रन बनाएका उनले ४ छक्का र ४ चौका प्रहार गरेका थिए । यो म्याचप नि पोखराले हार्‍यो ।

    तेस्रो म्याचदेखि भने भुर्तेल फ्लप छन् । जनकपुर र लुम्बिनीविरुद्धको म्याचमा उनी लगातार गोल्डेन डकआउट भए । आज जारी कर्णालीविरुद्धको म्याचमा उनले १८ बलमा १८ रन बनाएर आउट भएका छन् ।

    कुशलजस्तै अवस्थाको छ आसिफको पनि । उनले पनि पहिलो म्याचमा उत्कृष्ट अर्धसतक हान्दै शानदार सुरूवात गरे, तर टीमलाई जिताउन सकेनन् । दोस्रो म्याचबाट भने उनको ब्याट सेलायो । विराटनगरविरुद्धको दोस्रो म्याचमा उनले ११ बलमा १३ रन मात्रै जोड्न सके । त्यसपछिका तीन खेलमा उनको स्कोर ठ्याक्कै कुशल भुर्तेलकै जस्तो छ । पोखरा र सुदुरपश्चिमविरुद्ध लगातार शून्यमा आउट भए । आज चितवन राइनोजविरुद्ध १८ बलमा १८ रन जोडे ।

    जनकपुरले आज सिजनको पहिलो जित दर्ता गरेको छ । यससँगै जनकपुरले पोखरालाई पुछारमा झार्दै सातौं नम्बरमा उक्लिएको छ । दुवै टीम समूहचरणबाट बाहिरिने उच्च जोखिममा छन् ।

    कुशल र आसिफ आउँदो टी-२० विश्वकपमा पनि सम्भवत नेपालका ओपनिङ जोडी हुन् । उनीहरू दुवैको फर्म नेपाली राष्ट्रिय टीमका लागि निकै महत्वपूर्ण छ ।

  • एनपीएल-२ : रोसिङटनको शतकमा पोखराले दियो २०२ रनको लक्ष्य

    एनपीएल-२ : रोसिङटनको शतकमा पोखराले दियो २०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै २०१ रन बनायो ।

    पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।

    बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एकएक विकेट लिए ।

  • एनपीएल-२ : कर्णालीविरुद्ध पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको शतक

    एनपीएल-२ : कर्णालीविरुद्ध पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनको शतक

    काठमाडौं । एनपीएल-२ : पोखरा एभेन्जर्सका ओपनर एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध शतक प्रहार गरेका छन् ।

    उनले ५५ बलमा शतक पूरा गरेका हुन् । उनी एनपीएल सिजन-२ को दोस्रो र एनपीएलको तेस्रो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।

    दोस्रो सिजनमा कर्णालीका मार्क वाटले पहिलो शतक बनाएका थिए ।

  • एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    एनपीएल २: कुशल मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा एक चियरलिडर घाइते बनेकी छन् । चितवन टाइगर्सका ब्याटर कुशल मल्ले छक्का प्रहार गरेको बलले लागेर उनी घाइते बनेकी हुन् ।

    अन्तिम ओभरको तेस्रो र चौथो बलमा कुशलले लगातार छक्का प्रहार गरेका थिए । चौथो बल बाउन्ड्री बाहिर चियर गरिरहेकी युवतीको नाकमा लाग्यो । उनको नाकबाट रगत बग्न थालेपछि स्ट्रेचरमा राखेर निकालिएको छ । उनलाई अस्पताल लगिएको छ ।

  • एनपिएलः आज चार समूह स्पर्धा गर्दै, जकपपुर बोल्टस् र कर्णाली याक्स दबाबमा

    एनपिएलः आज चार समूह स्पर्धा गर्दै, जकपपुर बोल्टस् र कर्णाली याक्स दबाबमा

    काठमाडौँ । काठमाडौँको त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेलमा चार वटा टिम स्पर्धा गर्दैछन् ।

    बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन् । यस्तै दोस्रो खेल अपरान्ह ४ बजे हुने छ र खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

    लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहनु पर्ने बाध्यता छ ।

    चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।

    दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।

    मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

  • एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

    एन्फाले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पुस २५ गतेदेखि राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । आज बसेको बैठकले प्रतियोगिताका लागि सङ्घको विधानअनुसार क्लबका साथै इच्छुक सबै ए डिभिजन क्लबलाई टोली दर्ता गर्न खुला गर्ने निर्णय गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए ।

    प्रतियोगिता सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गरिने पनि उनले बताए । बैठकले राष्ट्रिय लिगको आगामी एक वर्ष र सहिद स्मारक ए डिभिजन लिगको आगामी पाँच वर्षका लागि ‘मार्केटिङ’, ‘टिकेटिङ’, ‘ब्रोडकास्टिङ’, डिजिटल अधिकारको बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ । बोलपत्रका लागि राष्ट्रिय लिगको सात दिने र सहिद स्मारक ए डिभिजन लिगको लागि १५ दिने सूचना जारी गर्ने निर्णयसमेत गरिएको एन्फाले जनाएको छ ।

    फिफा फरवार्ड कार्यक्रमअन्तर्गत धुलिखेल, धनगढीमा नयाँ क्रिकेट घाँसे मैदान निर्माण गर्न र एन्फा कम्प्लेक्स सातदोबाटोको कृत्रिम घाँसे मैदान परिवर्तन गर्न फिफाबाट छनोट भएकामध्ये ‘एडेल ग्रास’लाई छनोट गर्न प्रस्ताव गर्ने निर्णय पनि बैठकले गरेको महासचिव राईले बताए । यस्तै, ‘एएफसी इक्वेल पिच’ कार्यक्रमअन्तर्गत दशरथ रङ्गशालामा ‘हाइब्रिड’ घाँसे मैदान राख्न प्रस्ताव पेस गर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

    बैठकबाट एएफसीको कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको मैदानमा कार्यालयसहित प्यारापिट निर्माणलगायत अत्यावश्यक संरचना निर्माण गर्न जगदम्बा मोक्तान जेभीलाई रु एक करोड २६ लाख ४८ हजार ८१५ मा ठेक्का प्रदान गर्ने निर्णय गरिएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने पोसाक तथा खेल सामग्री खरिद सम्झौता सम्बन्धित कम्पनीसँग अक्टोबर २१, २०२६ सम्म नवीकरण गरिएको छ भने अर्को वर्षदेखि एक वर्षको लागि बोलपत्र आह्वान गर्ने पनि भएको छ ।

    यसैगरी साफ महिला यू-१९ प्रतियोगिता आगामी फागुन महिनामा पोखरामा आयोजना गर्ने र महिला फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । राष्ट्रिय महिला नकआउट प्रतियोगिता उदयपुरमा, सहिद स्मारक राष्ट्रिय महिला लिगका लागि झापा, मोरङ, मकवानपुर र सुनसरी जिल्लासँग समन्वय गरी स्थान तोकिने निर्णय गरिएको एन्फाले जनाएको छ ।

    थाइल्याण्डमा आगामी जनवरीमा आयोजना हुने साफ महिला तथा पुरुष फुटसल प्रतियोगिताका लागि प्रत्येक टोलीलाई रु ७२ लाख ५६ हजार ३४५ दिने गरी अनुमानित बजेट रु एक करोड ४५ लाख १२ हजार ६९० अनुमोदन गर्ने निर्णयसमेत गरिएको महासचिव राईले बताए ।

  • एसीसी यू-१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    एसीसी यू-१९ प्रिमियर फाइनलः नेपालले टस जितेर फिल्डिङ रोज्यो

    काठमाडौं । एसीसी यू-१९ प्रिमियरको ग्राण्ड फाइनलमा नेपाल आज यूएईसँग उपाधिका लागि भिड्दै छ । नेपालका कप्तान अशोक धामीले टस जितेर पहिले फिल्डिङ रोजे ।

    प्रतियोगितामा अपराजित नेपालले सेमिफाइनलमा मलेसियालाई जितेर फाइनलमा स्थान बनाएको थियो । यस्तै यूएईले ओमानलाई सेमिफाइनलमा ८ विकेटले हराएर फाइनमा पुगेको हो ।

    आजको म्याचमा नेपालले सुशील रावल, सिब्रिन श्रेष्ठ र दिलसाद अलीलाई बाहिर राखेको छ ।

    नेपालको प्लेइङ ११ मा कप्तान अशोक सहित निश्चल क्षेत्री, आशिष लोहार, दर्श सोनार, दयानन्द मण्डल, नितेश पटेल, चन्दन राम, रोशन विके, अपराजित पौडेल, वंश क्षेत्री, र निरज यादव रहेका छन् ।

  • एनपिएलः सोमबार विश्राम, मंगलबार दुई खेल हुने

    एनपिएलः सोमबार विश्राम, मंगलबार दुई खेल हुने

    काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज सोमबार कुनै खेल हुने छैन । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।

    लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ ।

    चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ ।

    दुबै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ ।

    मङ्सिर १ गतेदेखि सुरू प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन् । अपराजित सुदूरपश्चिम रोयल्स मात्रै १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

  • ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम, कस्तो रह्यो एनपीएलमा प्रदर्शन ?

    ‘अर्को वर्ष भेटौंला’ भन्दै हिँडे निसम, कस्तो रह्यो एनपीएलमा प्रदर्शन ?

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ खेल्न आएका न्यूजिल्याण्डका अलराउण्डर जिम्मी निसम दुबई लागेका छन् । पोखरा एभेन्जर्समा आबद्ध भएका निसम ४ खेल खेलेर ‘अर्को वर्ष भेटौँला’ भन्दै दुबई लागेका हुन् ।

    पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै जनकपुर बोल्ट्सलाई च्याम्पियन बनाएका निसम आइसीसीको नियमका कारण जनकपुरबाट खेल्न पाएनन् । त्यसपछि उनलाई पोखराले एनपीएल सिजन-२ का लागि अनुबन्ध गर्‍यो । पोखराबाट पनि उनले सबै खेल खेल्न पाएनन् । ४ खेल खेलेर निसम ‘अर्को वर्ष भेटौंला’ भन्दै फर्किए । उनी मंगलबारबाट सुरु हुने इन्टरनेशनल लिग(आइएल) टी-२० खेल्न दुबई लागेका हुन् ।

    निसमले पोखराबाट ४ खेलमा ठिकठाक प्रदर्शन गरे । उनले ब्याटिङमा एक अर्धशतकसहित ९९ रन बनाउँदा बलिङतर्फ ५ विकेट लिन सफल भए । पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ० रनमा आउट भएको जिसमले विकेट पनि लिन सकेनन् । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जिसमले शानदार प्रदर्शन गरे ।

    उनले ब्याटिङतर्फ ४७ रन बनाए र बलिङतर्फ ३ विकेट हात पारे । तेस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङतर्फ एक रन र बलिङमा एक विकेट लिए । चौथो खेलमा लुम्बिनी लायन्सविरुद्ध अविजित ५१ रनसँगै एक विकेट हात पारे । उनको प्रदर्शन ठिकठाक रहे पनि टोलीको प्रदर्शन सन्तोषजनक रहन सकेन । पोखराले ४ खेलमध्ये ३ खेलमा हार बेहोरेको छ ।

    निसमसँगै लुम्बिनीमा अनुबन्ध भएका अफगानिस्तानका अलराउन्डर गुल्बदिन नैब पनि आइएल टी-२० खेल्न दुबई लागेका छन् । लुम्बिनीबाट ५ खेल खेलेका गुल्बदिनले ९० रन बनाउनुका साथै ५ विकेट लिए । लुम्बिनीले ५ मध्ये २ खेलमा मात्रै जित निकालेको छ ।

  • विराटजंग शाहीले गरे एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

    विराटजंग शाहीले गरे एन्फा अध्यक्षमा उम्मेदवारी घोषणा

    काठमाडौं । भूतपूर्व राष्ट्रिय फुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वउपाध्यक्ष विराटजंग शाहीले एन्फा अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

    एक विज्ञप्ति जारी गर्दै उनले संकटग्रस्त अवस्थामा रहेको नेपाली फुटबललाई उकास्न एन्फाको आगामी निर्वाचनमा अध्यक्षको उम्मेदवार बन्न लागेको बताएका हुन् ।

    नेपाली फुटबलको दुरावस्था दर्शाउँदै शाहीले भनेका छन्, ‘हामीले रगत र पसिना बगाएर बनाएको नेपाली फुटबलको साख आज इतिहासकै गम्भीर मोडमा छ । भ्रष्टाचार र अनियमितताका चर्चा व्याप्त छन् । कुशासनको रोगले फुटबललाई कोमामा पुर्‍याइसकेको छ ।

    मैदानबाट पूरा देशलाई जोड्ने फुटबल आज आफैँमा थुप्रै गुटमा विभाजित छ । घरेलु लिगको संरचना अस्तव्यस्त छ । खेल्न नपाएर विदेश जाने खेलाडीको एयरपोर्टमा लर्को लाग्न थालेको धेरै भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागिता अब हार्नका लागि मात्र जस्तो हुन थालिसक्यो । नयाँ पुस्ताले फुटबलमा कुनै क्रेज र आशा देख्न छाडिसके । समर्थकहरूले फुटबलको चासो लिन छोडिसके ।’

    शाहीले यस्तो पीडादायी यथार्थका बीच आफ्नो खेलाडी मन चुप लागेर बस्न नमानेका बताएका छन् । अब पनि नेपाली फुटबललाई यी सबै बेथिति र विसङ्गतिबाट मुक्त नगर्ने हो भने नेपालमा फुटबल इतिहासको पानामा सीमित हुने उनको भनाइ छ ।

    ‘सुशासन स्थापना गर्दै नेपाली फुटबलको ओरालो लागेको यात्रालाई रोक्न र यसको गुमेको गरिमा फर्काउन इमान्दार र सक्षम नेतृत्व पहिलो आवश्यकता हो । नेपाली फुटबलको यही आवश्यकता पूर्तिका लागि म, पूर्वराष्ट्रिय खेलाडी विराटजंग शाही एन्फाको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दछु,’ उनले विज्ञप्तिमा लेखेका छन् ।

  • एकदिवसीयमा दुई वर्षदेखि टस हारेको हारै भारत, लगातार १९ पटक हारको कीर्तिमान

    एकदिवसीयमा दुई वर्षदेखि टस हारेको हारै भारत, लगातार १९ पटक हारको कीर्तिमान

    काठमाडौं । क्रिकेटमा कसले पहिले ब्याटिङ वा बलिङ गर्ने भन्ने निर्णय लिन टस गरिन्छ । दुई टिमका कप्तानले सिक्काको दुई पाटो (हेड वा टेल) मध्ये एउटा रोज्छन् र एकजनाले सिक्का फ्याँक्छन् । जसले रोजेकोतिर पल्टिन्छ, उसले टस जित्छ र बलिङ वा ब्याटिङमा एउटा छान्न पाउँछ ।

    सिद्धान्त छ टस गर्दा कुनै पनि टिमले जित्ने सम्भावना ५० प्रतिशत हुन्छ, किनकि यो क्षमताको नभएर भाग्यको खेल हो । तीन-चार खेलसम्म लगातार टस हार्नु दुर्भाग्य मान्न सकिन्छ । तर, एउटै टिमले लगातार १९ पटक टस हार्‍यो भने त्यसलाई के मान्ने ? हजुर, यही अपत्यारिलो रेकर्ड राखेको छ, एक दिवसीय अन्तर्राष्ट्रियमा हाम्रो छिमेकी भारतले ।

    दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज अन्तरगत पहिलो म्याचमा आज भारतले टस हार्‍यो । यो भारतले लगातार टस हारेको १९ औँ पटक हो । सन् २०२३ मा आयोजित विश्वकप फाइनल यता भारतले एउटा पनि ओडिआईमा टस जितेको छैन । यसको अर्थ दुई वर्षदेखि भारतीय टिमले बलिङ वा ब्याटिङ रोज्न पाएको छैन । गणितीय रूपमा भन्ने हो भने एउटा टिमले लगातार १९ औं पटक टस हार्ने सम्भावना ०.०००१९ प्रतिशत हुन्छ ।

    सन् २०२४ मा भारतले एकदिवसीय मात्र नभएर टी २० र टेस्टमा पनि अधिकांश टस हार्‍यो । तर, पनि २०२४ यता सर्वाधिक टस हार्ने टिम भारत होइन । सबैभन्दा बढी वेस्ट इन्डिजले ५४ पटक टस हारेको छ । दोस्रोमा रहेको भारतले ५१ पटक र तेस्रोमा बंगलादेशले ४५ पटक टस हारेका छन् ।

  • एनपीएल-२ : गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले दियो १५० रनको लक्ष्य

    एनपीएल-२ : गुल्सनको आक्रामक ब्याटिङमा कर्णालीले दियो १५० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको गुमाएर १४९ रन बनायो । कर्णालीका लागि गुल्सन झाले आक्रामक ब्याटिङ गरे । उनले २२ बला अविजित ४९ रन बनाए ।

    मार्क वाट ३०, पवन सर्राफ ३५, नाजिबुल्लह जाद्रान १२, प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १, कप्तान सोमपाल कामी ६, दीपक डुम्रे १० रनमा आउट भए ।

    बलिङमा काठमान्डुका रशिद खानले २, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले एक/एक विकेट लिए ।

  • साविक विजेता जनकपुर बोल्ट्सको बिर्सनलायक प्रदर्शन, समूह चरणबाटै बाहिरिने संघारमा  

    साविक विजेता जनकपुर बोल्ट्सको बिर्सनलायक प्रदर्शन, समूह चरणबाटै बाहिरिने संघारमा  

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सिजनको विजेता जनकपुर बोल्ट्स दोस्रो सिजन भने नराम्ररी लड्खडाएको छ । टीयु मैदानमा जारी प्रतियोगितामा जनकपुरले हिजो लगातार चौथो हार व्यहोर्दै समूह चरणबाटै बाहिरने संघारमा पुग्यो ।

    जनकपुरले अब प्लेअफमा स्थान बनाउन बाँकी सबै तीन खेल जितेर मात्रै पुग्ने छैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ । पहिलो सिजनमा सुरुआतदेखि नै विजय यात्रामा रहेको टिम दोस्रो सिजनमा यो स्थितिमा पुगने अपेक्षित होइन । आखिर किन जनकपुर यस्तो दलदलमा पर्यो त ?

    जनकपुरलाई पहिलो सिजनमा विजेता बनाउन विदेशी खेलाडीहरुको अहम् भूमिका थियो । तीमध्ये एक थिए न्यूजिल्यान्डका जिम्मी निसम । आइसीसीको नियमका कारण निसमलाई चाहेर पनि जनकपुरले रिटेन गर्न सकेन । उनी दोस्रो सिजनमा पोखरा एभेन्जर्समा आवद्ध भएका छन् । पहिला सिजनमा लयमा रहेका हर्ष थाकरलाई पनि जनकपुरले रिटेन गरेन । निशम र हर्षले ब्याटिङ र बलिङ दुवैबाट जनकपुरलाई योगदान दिएका थिए ।

    पहिलो सिजनमा सर्वाधिक रन बनाएका जनकपुरका ओपनर लाहिरु मिलान्था यसपटक खासै चल्न सकेका छैनन् । पहिलो खेलमा काठमाण्डु गोर्खाजविरुद्ध ७ रन बनाएका उनी दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध २३ रनमा आउट भए । दुवै खेलमा जनकपुर पराजित भयो । त्यसपछि उनी बाँकी दुई खेलमा प्लेइङ–११ मा अटाएनन् । जनकपुरले अनुबन्ध गरेका दक्षिण अफ्रिकाका अनुभवी बलर इमरान ताहिर अहिलेसम्म पनि आइपुगेका छैनन् ।

    दोस्रो सिजनको सुरुआती चार खेल हेर्दा जनकपुरको समस्या टपअर्डर ब्याटिङमै देखिन्छ । जनकपुरले कुनै पनि खेलमा राम्रो सुरुआत गर्न सकेको छैन । पहिलो खेलमा ३४ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि थप १२ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमायो । दोस्रो खेलमा १९ रनमा पहिलो विकेट गुमाएको जनकपुरले त्यसपछि पनि विकेट सम्हाल्न सकेन । तेस्रो खेलमा ७ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ४३ रन जोड्दा ६ विकेट गुमाउन पुग्यो । चौथो खेलमा पनि विकेट जाने क्रम रोकिएन । ५ रन जोड्दा पहिलो विकेट गुमाएको जनकपुरले ३५ रन जोड्दा ३ विकेट गुमाउन पुग्यो ।

    पावर प्लेमा रन बनाउन सकेमा त्यसपछि आउने ब्याटरलाई खुलेर खेल्न सजिलो हुन्छ । तर, जनकपुरले पावर प्लेमा धेरै विकेट गुमाइरहेको छ । ४ खेलको पावर प्लेमा मात्रै १० विकेट गुमाएको अवस्था छ । जनकपुरको टप अर्डर यसपटक फ्लप भएको छ । ओपनर आसिफ शेख एउटा खेलमाबाहेक चल्न सकेका छैनन् । अनिलको ब्याटबाट कुनै पनि खेलमा रन आउन सकेको छैन । खराब प्रदर्शनका कारण अघिल्लो म्याचमा उनी स्वयम् टिममा अटाएनन् ।

    ओपनिङसहित टपअर्डर चल्न नसक्दा जनकपुरले विभिन्न प्रयोग गरिरहेको छ । तर, सफल हुन सकेको छैन । पहिलो र दोस्रो खेलमा लाहिरु मिलान्था र आसिफ शेखले ओपनिङ गरे । तेस्रो नम्बरमा कप्तान अनिलकुमार साह आए । तेस्रो र चौथो खेलमा लाहिरुलाई बेन्चमा राख्दै जनकपुरले आसिफ र माज सदाकतलाई ओपनिङमा पठायो । त्यो पनि सफल हुन सकेन । तेस्रो खेलमा तेस्रो स्थानमा शुभ कंशाकारलाई पठायो । त्यो रणनीति पनि काम लागेन । चौंथो खेलमा कप्तान अनिललाई बेन्चमा राख्दै वायन पार्नेललाई कप्तानको जिम्मेवारी दियो । चौथो खेलमा तेस्रो नम्बर पुनः परिवर्तन गर्दै मयन यादवलाई पठायो । तर हारको श्रृंखला टरेन ।

    मिडल अर्डरमा कुनै खेलाडीले विकेट होल्ड गर्न कोसिस गरेपनि अन्य खेलाडीले साथ नदिँदा टोलीले ठूलो स्कोर बनाउन चुकिरहेको छ । पहिलो खेलमा ओपनर आसिफ शेखले ५४ रन बनाए । दोस्रो खेलमा मिडलअर्डरमा आएर जोन निकोल लोफ्टी इटोनले ४१ रन बनाए । तेस्रो खेलमा लोअर्डरमा आएर वायन पार्नेल चम्किए । उनले ३८ बलमा ५० रन बनाए । चौथो खेलमा सञ्जयले ३८ बलमा ५० रन बनाए । तर, लामो साझेदारी हुन नसक्दा स्कोर ठूलो बन्न सकेन । हालसम्मका कुनै पनि खेलमा जनकपुरका ब्याटरले लामो साझेदारी गर्न सकेका छैनन् । चौथो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध सञ्जय र आदित्य मेहताले गरेको ५५ रनको साझेदारी नै जनकपुरको सर्वाधिक ठूलो साझेदारी हो ।

    जनपकुरलाई च्याम्पियन बनाउँदा उत्कृष्ट प्रदर्शन गरेका ललित राजवंशी र किशोर महतो यसपटक चल्न सकेका छैनन् । पहिलो सिजनमा ललित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई र किशोर शीर्ष ४ मा थिए । मोहम्मद मोहसिन र हर्ष थाकर पनि शीर्ष १० मा अटाएका थिए । नेपाली राष्ट्रिय टिमकै भरपर्दा स्पिनर ललित यसपटक फिका देखिएका छन् । पहिलो सिजनमा १० खेलबाट १७ विकेट लिएका ललितले यसपटक पहिलो ४ खेलमा मात्र २ विकेट लिए । दुई खेलमा एकएक विकेट लिँदा दुई खेलमा उनी विकेटविहीन छन् ।

    यस्तै पहिलो सिजनमा १० खेलमा १४ विकेट लिएका किशोर पनि यसपटक महंगो बनेका छन् । ४ खेलमा किशोरले मात्र एक विकेट लिए । ३ खेलमा न विकेट लिन सके न रन गतिमा नियन्त्रण गर्न । ललित र किशोर नचल्दा विदेशी बलरको अवस्था पनि त्यस्तै छ । तेस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध सञ्जय कृष्णमूर्तिले ३ विकेट लिनुबाहेक अन्य बलरको प्रदर्शन खासै देखिँदैन । ब्याटरको रुपमा रहेका अनिल र अलराउन्डर रुपेश सिंहले बरु विकेट लिइरहेका छन् । जनकपुरले कुनै पनि खेलमा कडा चुनौति दिन सकेको छैन । जनकपुरविरुद्ध सबै टिमले एकपक्षीयरूपमा जितिरहेका छन् ।

    यो बिन्दूबाट जनकपुरले कमब्याक गरेर प्ले अफमा स्थान बनाउन चमत्कार नै हुनुपर्छ । दक्षिण अफ्रिकाका इमरान ताहिर आइनपुग्दै उनको सान्दर्भिकता समाप्त हुन लागेको देखिन्छ ।

  • एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।

    सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।

    करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

  • एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

    एनपीएल–२ः सुदूरपश्चिमको अपराजित यात्रा कायमै, जनकपुरको लगातार चौथो हार

    काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार पाँचौं जित निकालेको छ ।

    शनिबार भएको खेलमा जनकपुर बोल्ट्सले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । सुदूपश्चिमको जितका लागि इसान पाण्डेले सर्वाधिक ५६ रन बनाए । इसानले ३५ बलमा ८ चौका र एक छक्का प्रहार गरे । जोश ब्राउन ०, विनोद भण्डारी ४२ र क्रिस लिन १ रनमा आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी १० र हर्मित सिंह २५ रनमा अविजित रहे ।

    बलिङमा जनकपुरका माज सदाकतले २ तथा सञ्जय कृष्णमूर्ति र आदित्य मेहताले एकएक विकेट लिए ।

    त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले अर्थशतक प्रहार गरे । उनले ३८ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

    जोन निकोल लोफ्टी इन्र्टन ३९, माज सदक्वात १२, आसिफ शेख ०, मयन यादव ६, आदित्य मेहता १५, शुभ कंशाकार ० र वायन पार्नेल १४ रनमा आउट भए । रुपेश सिंह १ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका अभिनास बोहराले सर्वाधिक ४ विकेट लिए । स्कट कुइगेलेइन ३ र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
    सुदूरपश्चिमले लगातार पाँचौं जित निकाल्दा साविक विजेता जनकपुर बोल्ट्सले लगातार चौथो हार बेहोरेको छ ।

  • एनपीएलमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने क्यान र एमसीसीबीच सहमति

    एनपीएलमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने क्यान र एमसीसीबीच सहमति

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबन क्रिकेट क्लब (एमसिसी) बीच नेपाल प्रिमियर लिगमा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने सहमति भएको छ ।

    शनिबार त्रिवि क्रिकेट रंगशालामा क्यानका सचिव पारस खड्का र एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले संयुक्त रुपमा उक्त अवार्डको घोषणा गरेका हुन् ।

    उक्त अवार्ड एनपिएलमा क्रिकेटको सम्मान गर्दै खेल प्रदर्शन गर्ने एक टोलीलाई प्रदान गरिने सचिव खड्काले जानकारी दिए ।

    मेरिलेबन क्रिकेट क्लब (एमसिसी)बाट प्राप्त उक्त अवार्डले एनपिएल टीमलाई थप प्रोत्साहन मिल्ने उनले बताए । उनले एनपिएलको आगामी संस्करणमा समेत स्पिरिट अफ क्रिकेट अवार्डले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

    त्यस्तै एमसिसीका क्रिकेट तथा अप्रेशन निर्देशक रोब लिन्चले नेपाली क्रिकेट निकै माथि पुगिसकेको भन्दै आगामी दिनमा थप सहयोग गर्न तयार रहेको बताए ।

    क्रिकेटलाई मर्यादित रुपमा अघि बढाउन एमसिसीले स्पिरिट अफ क्रिकेट अभियान चलाउदै आएको छ ।

  • राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक

    राइजिङ स्टार प्रिमियर लिगको ट्रफी सार्वजनिक

    कैलाली । कैलालीको धनगढीमा हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता राइजिङ स्टार प्रीमियर लिग (आरपिएल) को ट्रफी सार्वजनिक गरिएको छ । आगामी १८ मङ्सिरदेखि पहिलो संस्करणको रूपमा हुन लागेको आरपिएलको एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरिएको हो ।

    राइजिङ स्टार बोर्डिङ स्कुलको आयोजनामा धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता आयोजना हुँदै छ ।

    कक्षा ८ भन्दा तलका विद्यार्थीहरूको सहभागिता हुने प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा ठुलो टेवा पुग्ने आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक कलेन्द्र शाहीले बताए । क्रिकेटको सहरमा क्रिकेटको माहौल कम भएपछि विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

    ग्रास रुटबाट उदाएका क्रिकेट खेलाडीहरू अहिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा पुगेको भन्दै उनले आफूहरूले आयोजना गर्न लागेको प्रतियोगिताले थप खेलाडीहरू उत्पादन हुने विश्वास व्यक्त गरेका थिए ।

    पहिलो संस्करणमा २४ टिम सहभागी हुने उनले बताएका थिए ।

    प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार, उत्कृष्ट ब्याटर र बलरलाई दुई–दुई हजार तथा उदयमान खेलाडीलाई १५ सय प्रदान गरिने छ ।

    ट्रफी सार्वजनिक कार्यक्रममा राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले प्रतियोगिताको तीव्र तयारी भइरहेको भन्दै क्रिकेटको सहरमा अर्को क्रिकेटको उत्सव हुन लागेको बताएका थिए । उनले वर्ष प्रतियोगिता आयोजना गरिने बताएका थिए ।

    बालमिकी स्कुल तथा निसर्ग अस्पतालका अध्यक्ष दिनेश भण्डारी तथा तीर्थराज पन्तले प्रतियोगिताको सफलताको कामना गर्दै आरपिएलले धनगढीको क्रिकेट विकासमा टेवा पुराउने बताएका थिए ।

  • एनपीएलमा आज २ खेल

    एनपीएलमा आज २ खेल

    काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।

    त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।

    रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल नै जितेको छ ।

    लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

    यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आजको जित निकाल्दै पहिलो जित निकाल्ने लक्ष्यमा छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेल नजिते प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ ।

    यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ । यसका साथै गत संस्करणको फाइनलमा जनकपुरसँग हारेको बदला समेत लिने दाउमा सुदूरपश्चिम रहनेछ ।