Tag: खानेपानी आयोजना

  • भरतपुर महानगरमा झन्डै चार अर्बकाे खानेपानी आयोजना बनेपछि स्थानीयवासी खुसी

    भरतपुर महानगरमा झन्डै चार अर्बकाे खानेपानी आयोजना बनेपछि स्थानीयवासी खुसी

    चितवन । जनप्रतिनिधि आएपछि भरतपुर महानगरपालिकाभित्र २३ वटा ठूला खानेपानी आयोजना नयाँ निर्माण, विस्तार र मर्मत सुधार भएका छन् । पहाडी क्षेत्रसमेत रहेको महानगरमा खानेपानी विस्तारसँगै स्थानीयवासी लाभान्वित भएका छन् ।

    शुद्ध पानी सहज रुपमा उपभोग गर्न महानगरवासीलाई सहयोग पुगेको छ । महानगरको कविलासमा पानीका लागि भोग्नुपरेको कष्ट टरेको छ । महानगरप्रमुख रेनु दाहालका अनुसार २३ वटा महत्वपूर्ण खानेपानी आयोजनामा तीन अर्ब ७७ करोड सात लाख खर्च भएको छ । सो रकम सङ्घीय सरकार, वाग्मती प्रदेश सरकार, खानेपानी बोर्ड र स्थानीय निकायबाट बजेट जुटाएर आयोजनाहरुमार्फत काम गरिएको हो ।

    उनका अनुसार शारदानगर खानेपानी आयोजनामा ५९ करोड, जखडीमाई सहलगानी खानेपानी आयोजनामा ३२ करोड ८५ लाख, धनगडा सहलगानी खानेपानी आयोजनामा २८ करोड ८८ लाख, पटिहानी–टाउन खानेपानी आयोजनामा २५ करोड २५ लाख, दिव्यनगर खानेपानी आयोजनामा २४ करोड १५ लाख र शिवनगर खानेपानी आयोजनामा २३ करोड २५ लाख खर्च हुँदैछ ।

    त्यसैगरी भरतपुर खानेपानी आयोजना मर्मत सुधारमा पाँच करोड ५८ लाख, सोही आयोजनाको विस्तारमा ११ करोड ३५ लाख, कैलाशनगर– फूलबारी खानेपानी आयोजनामा आठ करोड चार लाख, आनन्दपुर खानेपानी आयोजनामा ६ करोड ६५ लाख, पटिहानी खानेपानी आयोजनामा पाँच करोड ३५ लाख, मङ्गलपुर खानेपानी आयोजनामा ६ करोड ७६ लाख, गीतानगर खानेपानी आयोजनामा चार करोड २७ लाख विनियोजन भई काम भइरहेका छन् । कतिपय काम सम्पन्न भइसकेका छन् ।

    पार्वतीपुर खानेपानी आयोजनामा २२ करोड पाँच लाख, देवनगर खानेपानी आयोजनामा पाँच करोड पाँच लाख, मेघौली साना सहरी खानेपानी आयोजना १७ करोड दुई लाख, शुक्रनगर खानेपानी आयोजना १८ करोड ७५ लाख, जगतपुर खानेपानी आयोजना २१ करोड पाँच लाख, गोलाघाट खानेपानी आयोजना १४ करोड ७५ लाख, भरतपुर खानेपानी विस्तार वडा नं २९ १० करोड दुई लाख, गुञ्जनगर खानेपानी आयोजना १६ करोड ३५ लाख, विजयनगर खानेपानी आयोजना रु आठ करोड तीन लाख र भरतपुर महानगरपालि–१ मा एक करोड खानेपानी आयोजनामा खर्च गरिँदैछ ।

    प्रमुख दाहालले कतिपय आयोजना सम्पन्न भइसकेको, कतिपय काम भइरहेको र कतिपयमा विस्तारको काम गरिएको जानकारी दिए । उनका अनुसार महानगरले आवश्यक ठानेका ठाउँहरुमा खानेपानी आयोजनाका लागि बोर्ड, प्रदेश सरकार र सङ्घीय सरकारले आवश्यक सहयोग गरेका कारण सफलता मिलेको उनको भनाइ छ ।

    खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले महानगरमा जनप्रतिनिधि आउँदा ५७ प्रतिशत महानगरवासीले शुद्ध र सहज रुपमा पानी उपभोग गर्ने गरेकामा अहिले यो प्रतिशत ९० पुगेको बताए। उनका अनुसार बन्दै गरेका आयोजना सम्पन्न हुँदा ९७ प्रतिशत महानगरवासीले आयोजनाहरुको पानी उपभोग गर्न पाउनेछन् ।

    महानगरपालिकाभित्र खानेपानी विस्तारको आयोजना तीव्र गतिमा अघि बढेको उनको भनाइ छ । महानगर बन्नुअघि गाविस रहेको कविलासमा पानी लिन जानका लागि दुई घण्टा उकालो÷ओरालो हिँड्नुपर्ने बाध्यता थियो । अहिले सो बाध्यताबाट स्थानीय मुक्त भएका छन् । घरघरमा खानेपानी पुगेको वडाध्यक्ष मनबहादुर रानामगरले बताए। उनले भने, ‘अब एक महिनापछि हाम्रो डाँडामा खानेपानीको समस्या छ भन्नु पर्दैन ।’

    भरतपुर महानगरपालिका–१९ मा सबैभन्दा ठूलो खानेपानी आयोजना सञ्चालन भइरहेको छ । ५९ करोडको शारदानगर खानेपानी आयोजनाको काम धमाधम भइरहेको वडाध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘अब एक वर्षमा वडावासीले आयोजनामार्फत शुद्ध खानेपानी खान पाउँछन् ।’ उनका अनुसार यो आयोजनाबाट चार हजार ५०० घरधुरी लाभान्वित हुनेछन् । रासस

  • मेलम्ची खानेपानी आयोजना पहिलो चरणको निर्माण छिटै पूरा हुने

    मेलम्ची खानेपानी आयोजना पहिलो चरणको निर्माण छिटै पूरा हुने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पहिलो चरणको निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । आयोजनाअन्तर्गत सुरुङ र पानी प्रशोधन केन्द्र सम्पन्न भएर सञ्चालनमा आइसकेको छ भने ‘हेडवर्क’ को थोरै काम मात्रै बाँकी छ ।

    ‘हेडवर्क’ मा अहिले गेट राख्ने काम भइसकेको र फ्रेम राख्न बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार आयोजनामा अब लामो समयको काम बाँकी छैन । विदेशबाट ल्याउनुपर्ने गेटको सामान ल्याउन मात्रै बाँकी छ । जर्मनीबाट ल्याउने सामान भन्सारमा आइसकेकाले थोरै काम बाँकी रहेको उनले बताए । उनले भने, ‘भन्सारमा आइसकेको छ त्यो आएर जडान भएपछि सकिनेछ ।’

    ‘हेडवर्क’ निर्माणको अवधि केही समय पहिले नै सकिएको थियो । कोभिडका कारण गत आवमा निर्माणमा अवरोध पुगेकाले अवधि थपिएको प्रवक्ता पन्तले बताए । थप भएको अवधि आगामी साउनमा नै सकिँदैछ । त्यतिबेलासम्ममा निर्माण सकिने उनको भनाइ छ । उनले भने, ‘हेडवर्क सकिएप्छि पहिलो चरणको पूरै सम्पन्न हुनेछ ।’

    राष्ट्रिय गौरवको सो आयोजना निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न हुने चरणमा पुगेको हो । आयोजनाले तीन महिना पहिलेदेखि नै सुरुङको परीक्षण गरेर उपत्यकामा पानी झारेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी वितरण गरिरहेको छ । सुरुङको निर्माण गत आर्थिक वर्षमा नै सम्पन्न भएको थियो । गत वर्ष असारमा सुरुङ परीक्षणका क्रममा दुर्घटना भएकाले सुरुङमा आवश्यक त्रुटि सच्याएर पुनः परीक्षण गरिएको हो । दुई वर्ष पहिले नै सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको थियो ।

    सुरुङ परीक्षणकै लागि पानी वितरण केही समय स्थगित गरिने आयोजनाले जनाएको छ । निर्माण कम्पनीसँग ठेक्का सम्पन्न गर्नका लागि एक पटक सुरुङ पूरै खाली गराएर परीक्षण गर्न लागिएको हो । सुरुङमा कुनै समस्या पाइएमा तुरुन्त सच्याएर पानी पुनः वितरण शुरु गरिनेछ । आयोजनाको पहिलो चरणको निर्माण सम्पन्न हुन लाग्दा सरकारले आगामी आर्थिक वर्षमा दोस्रो चरणको समेत निर्माण अघि बढाउने गरी रकम विनियोजन गरेको छ । आयोजनाले दोस्रो चरणको निर्माणका लागि अहिले पहुँच सडकको निर्माण गरिरहेको छ ।
    –रासस