Tag: क्युवा

  • विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    विश्वका हरेक स्वास्थ्य संकटमा किन अग्रपंक्तिमा छ कम्युनिष्ट देश क्युवा ?

    सन् २०१४देखि २०१६सम्म पश्चिम अफ्रिकालाई इबोला भाइरसले सतायो । भाइरससँग लढ्न धनी देशहरूले पैसा मात्रै सहयोग गरिरहेका थिए । तर, फिल्डमा पैसा हैन स्वास्थ्य सेवा आवश्यक थियो । क्युवाले नेतृत्व लियो । सन् २०१४ को अक्टोबरमा १ सय ६५ स्वास्थ्यकर्मी पठायो । डाक्टर, नर्स र संक्रमण नियन्त्रण विज्ञहरू समेटेर सिरिया लियोनमा क्युवाली टोली छ महिना बसेको सन् २०१४ मै बिबिसीले उल्लेख गरेको थियो ।

    इबोला आतंकको चार वर्षअगाडि हाइटीको हैजा संकटमा उस्तै नाम कमायो क्युवाली मेडिकल मिसनले । सन् २०१० को जनवरी १२ मा हाइटीमा भूकम्प आयो । २ लाख बढी मान्छेको ज्यान गयो । भूकम्प आएको १० महिनापछि अक्टोबर २० मा हैजा देखा पर्‍यो । हैजाले १० हजार बढीको ज्यान लियो । हैजा नियन्त्रणमा क्युवाली मिसन धेरै सफल भयो ।

    ९ सय ८ जनाको क्युवाली मेडिकल मिसनले हाइटीका दुर्गम क्षेत्रहरूका जनताको घरघरमा पुगेर सेवा गरे । हैजाको पहिलो रेस्पोन्स गर्ने देश पनि क्युवा भएको भन्दै बेलायती समाचार एजेन्सी रोयटर्स लेख्छ, ‘हाइटीका ३० देखि ४० प्रतिशत हैजा बिरामी क्युवाली स्वाथ्यकर्मीहरूले उपचार गरेका थिए ।’

    क्युवाको हाइटी सेवाको तारिफ गर्दै रोयटर्सले सन् २०१० को डिसेम्बर ३ मा हेडलाइन बनायो- हाइटी हैजाको अग्रपंङ्तिमा क्युवाली स्वास्थ्यकर्मी एक विशाल शक्ति ।

    कोभिड-१९ महामारीमा पनि क्युवाको स्वास्थ्य सक्रियता उस्तै छ । सन २०२०को अप्रिलसम्ममा मात्रै क्युवाले इटालीदेखि दक्षिण अफ्रिकासम्म १२ सय बढी स्वास्थ्यकर्मीलाई २२ देशको संकट क्षेत्रमा खटाएको बिबिसीले उल्लेख गरेको छ । दक्षिण अफ्रिका सरकारले त क्युवाली डाक्टरलाई सन् २०२१ को नोबेल पुरस्कार दिनुपर्ने प्रस्ताव समेत गरेको थियो ।

    अझ रोचक कुराचाहिँ आफ्नो कट्टर दुश्मन देश अमेरिकालाई संकट पर्दा समेत क्युवाले स्वाथ्य सहायताको प्रस्ताव गरेको थियो । सन् २००५ मा अमेरिकाको गल्फ कोस्टमा हुरिक्यान कट्रिना आउँदा तत्कालीन क्युवान रास्ट्रपति फिडेल क्यास्ट्रोले १ हजार ५ सय ८६ डाक्टर, २७ पाउन्ड औषधि र २६ टन अन्य स्वास्थ्य सहायता प्रस्ताव गरे पनि अमेरिकाले अस्वीकार गरेको सोही वर्ष अमेरिकी च्यानल सिएनएनले समाचार बनाएको थियो ।

    कोरोना संकट : दुई खोप अन्तिम चरणमा, अक्सिजन र भेन्टिलेटरमा आत्मनिर्भर
    दि न्यू योर्क टाइम्सका अनुसार अहिले विश्वमा ९० कोभिड-१९ विरुद्धका खोपहरू बन्दैछन् । त्यसमा पाँच खोप त क्युवाले मात्रै बनाएको छ । क्युवाले विकास गरेका पाँच खोपमा दुई खोप नागरिकहरुलाई लगाउन सुरु भएको छ । खोप विकास गर्ने सबैभन्दा सानो र दुई खोप अन्तिम चरणमा पुर्‍याउने क्युवा एक्लो ल्याटिन अमेरिकी देश हो ।

    ‘सोभेरेन २’ र ‘आब्दाला’ नामक दुई खोप क्युवाले आफ्ना नागरिकहरूलाई दिन थालेको छ ।

    कतिपयले क्लिनिकल ट्रायल नभइकन खोप दिएको भनेर आलोचना गरेका छन् । क्युवाली विज्ञहरूले भने यस अगाडि क्लिनिकल ट्रायल भएका १ लाख ४५ हजारको नजिता राम्रो देखिएकोले दिन थालेको बताएका छन् । क्युवा अगाडि रसिया, चीनले पनि क्लिनिकल ट्रायल गर्नुअघि खोप दिएका थिए । हाल दुवै खोप क्लिनिकल ट्रायल पार गर्दै विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त छन् ।

    क्युवाले आफ्ना एक करोड १३ लाख संख्याका नागरिकलाई आफूले बनाएको खोप लाउने लक्ष्यसाथ यात्रा तय गरेको छ । क्युवाको बायोक्युवाफर्माका सभापति डाक्टर इदुआर्दो मार्तिनेजले दि न्यु योर्क टाइम्सका क्युवा रिपोर्टर इद अगस्टिनसँग भनेका छन्, ‘सम्भवतः आफ्नै खोप सबै नागरिकलाई लगाउने पहिलो देश हामी हौं ।’

    खोप विकासमा क्युवाको अनुभव पुरानो हो । फ्रान्सेली च्यानल फ्रान्स २४ का अनुसार क्युवाले सन् १९८०को दशकपछि आफैं खोप बनाउन थालेको हो । आफूलाइ चाहिने ८० प्रतिशत खोप क्युवाले आफैं उत्पादन गरेको फ्रान्स २४ ले लेखेको छ ।

    कोभिड-१९विरुद्धका खोपहरू मात्रै हैन भेन्टिलेटरदेखि अक्सिजन सिलिन्डर उत्पादनमा पनि क्युवाले आफैं नेतृत्व गरेको छ । सन् २०२० बाट तयार गरेको क्युवाको क्युवान न्युरोसाइन्स सेन्टरका बायोमेडिकल इन्जिनियर, विश्वविद्यालयका अन्वेषकदेखि सरकार तथा निजी क्षेत्रको सहकार्यमा भेन्टिलेटर र अक्सिजन सिलिन्डर उत्पादन भएको चिनियाँ समाचार एजेन्सी सिन्हुवाले उल्लेख गरेको छ ।

    अमेरिकि नाकाबन्दीले ल्याएको क्युवाको स्वाथ्य क्रान्ति
    सन् १९५३ जुलाई २६ बाट क्युवाली क्रान्तीकारी नेता फिडेल क्यास्ट्रोले सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाविरुद्ध आफ्ना अर्जेन्टाइन कमरेड चे ग्वेभारासँग मिलेर क्रान्ति छेडे । आधा दशकपछि नै क्रान्ति सफल भयो । सन् १९५९ को जनवरी १ मा बाटिस्टा भागेर डोमिनिकल रिपब्लिक भन्ने देशमा आए । त्यसको ६ दिनपछि राजधानी हवाना आएर सत्तामा आएका क्यास्ट्रोको दल अहिले सम्म सत्तामा छ । क्युवामा क्यास्ट्रो सत्तामा आउँदा नेपालमा भने प्रथम आम निर्वाचनको तयारी हुँदै थियो ।

    अमेरिकी आडका सैन्य तानाशाह बास्टिस्टालाई अपदस्त गरेपछि फिडेल क्यास्ट्रोमाथि अमेरिकाले नाकाबन्दी लायो । नाकाबन्दीले टापुको देश क्युवालाइ धेरै असहज बनायो । स्वास्थ्य क्षेत्रमा झनै समस्या थोपरिएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् ।

    क्रान्ति सफल भएपछि यसलाई जोगाउन क्यास्ट्रोले सन् १९६० को सेप्टेम्बर २८ मा क्रान्ति रक्षा कमिटी बनाए । छोटकरीमा सिडिआर भनेर चिनिने कमिटीमा हजारौं मजदुर, किसानदेखि युवा विद्यार्थीहरू समेटिए । क्रान्तिको उपलब्धिमा कसैले धावा बोले नबोलेको नियमन गर्न र काउन्टर गर्न कमिटी बनेको थियो ।

    पछि त्यही कमिटीलाई नै सार्वजनिक स्वास्थ्य क्षेत्रमा परिचालन गरियो । फिडेलको मृत्यु भएको एक महिनापछि सन् २०१६को डिसेम्बर अंकमा भारतको म्यागाजिन डाउन टु अर्थमा लेख्दै भारतिय जनस्वास्थ्य अभियन्ता अभय सुक्लाले क्यास्ट्रोलाई सार्वजनिक स्वास्थ्यका नायक भनेका छन् ।

    उनले क्युवाले स्वास्थ्यकर्मी पठाएर धेरै देशहरूलाई सहयोग गरेको, बालमृत्युदर घटाएको, विकाशील देशहरूको विपत्तिमा सहायता गरेको तथा सन् १९९९ मा ल्याटिन अमेरिकन स्कुल अफ मेडिसिन बनाएर सयौँ स्तरीय डाक्टर उत्पादन गरेकोमा तारिफ गरेका छन् ।

    क्युवाको स्वास्थ्य क्षेत्र राम्रो भएकोले त्यसको प्रतिव्यक्ति आयु अमेरिकी र बालमृत्युदर न्युजिल्याण्ड स्तरको भएको स्पेनको अखबार एल पाइसले उल्लेख गरेको छ । एल पाइसका अनुसार मेनिन्जाइटिस बि विरुद्धको पहिलो खोप क्युवाले सन् १९८५ मै बनाएको थियो ।

    यस्तैगरी, सिपिलिस र एड्सलाई आमाबाट बच्चामा सर्न नदिने उपचार पनि क्युवाले बनाएको र सन् २०१५ मा विश्व स्वाथ्य संगठनले तारिफ गरेको एल पाइसले उल्लेख गरेको छ । फिडेल क्यास्ट्रोको भाषामा ‘सेतो कोटधारी सेना’को रुपमा पारिभाषिक क्युवाली डाक्टरले क्युवाको कुटनैतिक शक्तिको काम गरेका छन् ।

    विश्व स्वाथ्य संगठनले समेत क्युवामा पछिल्लो तीन दशकमा स्वास्थ्य क्रान्ति भएको भन्दै आफ्नो आधिकारिक वेबसाइटमा क्युवाले स्वाथ्य क्षेत्रको तारिफ गरेको छ । क्युवाको स्वाथ्य सेवा समुदायमैत्री र गरिबमैत्री भएको भन्दै धेरैले तारिफ गर्छन् ।

    नाकाबन्दी लाएपछि पनि क्युवाले गरेको स्वाथ्य प्रगतिमा अमेरिका सकारात्मक छैन । सन् २००५को कट्रिना हुरिक्यानमा क्युवाको स्वास्थ्य सहायता नलिएको अमेरिका अरु देशलाई पनि नलिन आग्रह गर्छ । क्युवाले डाक्टरहरूको मानव अधिकार हनन गरेको भन्दै यस्तो आग्रह गर्ने गरेको छ ।

    तर, क्युवाको स्वाथ्य सामर्थ्य बुझ्ने देशहरूले अमेरिकी आग्रह अस्वीकार गर्दै आएका छन् । स्पेनिस अखबार एल पाइसका अनुसार हाल विश्वका ६७ देशमा आधा लाख क्युवाली डाक्टर छन् । क्युवाको स्वाथ्य क्षेत्रका समर्थकहरूले भने नाकाबन्दी गरेर आफैं क्युवाली नागरिकलाई दु:ख दिएर मानव अधिकार हनन गर्ने अमेरिकाले मानव अधिकारको कुरा उठाउन नमिल्ने तर्क गर्दै आएका छन् ।

  • ६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

    ६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

    क्युवाको राजधानी हवानामा शुक्रबारदेखि क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन जारी छ । महाधिवेसनमा ८९ बर्षिय पार्टी महासचिव राहुल क्याष्ट्रोले राजीनामा दिने निश्चित भएको कतारी विश्व समाचार च्यानल अलजजिराले उल्लेख गरेको छ ।

    क्यास्ट्रोको राजीनामासँगै क्युवामा क्यास्ट्रो परिवारको सत्ताको कमान्ड गैर-क्यास्ट्रोको हातमा पुगेको छ । क्युवाली राष्ट्रपति मिगेल दियाज कनेल पार्टीका महासचिव हुने भएका छन् । कनेल सन् २०१८ देखी क्युवाका राष्ट्रपति छन् । राहुल क्यास्ट्रोले राष्ट्रपतिबाट राजीनामा दिएपछि कनेल राष्ट्रपति भएका थिए ।

    क्युवाली नजिर : बृद्ध भएपछि सत्ता हस्तान्तरण

    शुक्रबारबाट सुरु भएको क्युवाली कम्युनिस्ट पार्टीको खुल्ला शत्रमा मन्तव्य दिँदै राहुल क्यास्ट्रोले राजीनामा दिने औपचारिक घोषणा गरेका थिए । ‘आफ्नो मिसन पुरा गरेको’ भन्दै संक्षिप्त संबोधनमार्फत राहुलले राजीनामा घोषणा गरेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले उल्लेख गरेको छ ।

    राहुल क्याष्ट्रो

    राज्यको सक्रिय भूमिका भएको रास्ट्रपति पदबाट राजीनामा दिएको तीन बर्षपछि पार्टीको सर्बोच्च पदबाट पनि राहुलले राजीनामा दिने भएका हुन् । क्युवाको आन्तरिक मामिलामा क्यास्ट्रो परिवारमा यो कुनै नौलो प्रचलन भने हैन ।

    यसको सुरुवात राहुलका दाइ तथा क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोले गरेका थिए । सन १९५९ को क्युवाली क्रान्ती सफल बनाएर सत्तामा आएका फिडेलले सन २००८ मा आफूसँगै क्युवाली क्रान्तिमा होमिएका भाइ राहुललाइ राष्ट्रपति पद हस्तान्तरण गरे ।

    राष्ट्रपति पद हस्तान्तरण गरेको तीन बर्षपछि सन २०११ मा पार्टी प्रमुखको पद पनि हस्तान्तरण गरे । संयोगवश फिडेल र राहुल दुवैले तीन बर्षकै अन्तरालमा राष्ट्रपति र पार्टी प्रमुखको पद हस्तान्तरण गरेका छन । फिडेलको भने सन २०१६ मा मृत्यू भएको थियो । अमेरिकी गुप्तचर संस्था सीआइएको पटक-पटकको हत्या प्रयासबाट बाँचेका फिडेलको २०१६ नोभेम्बरमा ९० बर्षको उमेरमा मृत्यु भएको थियो ।

    राहुल क्यास्ट्रो : सैन्य प्रमुखदेखि पार्टी प्रमुखसम्म

    तत्कालिन क्युवाका सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाको सत्ताविरुद्ध फिडेल क्यास्ट्रोले सन् १९५३ जुलाई २६ बाट सशस्त्र क्रान्ति सुरु गरे । उनलाई अर्जेन्टिनाका क्रान्तीकारी चे ग्वेभाराको समेत साथ थियो ।

    क्रान्ति सुरु गरेको साढे पाँच बर्षमै सफलता पायो । फिडेलको समूह राजधानी हवानामा सन १९५९ को जनवरी ७ मा प्रवेश गरे । छ दिन अगाडि जनवरी १ मै सैन्य तानाशाह बाटिस्टा आफ्ना सहयोगीहरुसहित भागेर डोमिनिकन रिपब्लिक भन्ने देशतर्फ शरण लिन पुगे ।

    सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

    अमेरिकी आडमा सत्तामा बसेका सैन्य तानाशाह बाटिस्टालाई हटाएर सत्तामा आएका फिडेलसँग अमेरिकाको सम्बन्ध राम्रो भएन । सन २०१४ मा ओबामा कालमा केही कूटनीतिक सम्बन्ध बने पनि ट्रम्पको समयमा आएर पुनः बिग्रियो । नयाँ अमेरिकी राष्ट्रपति बाइडेनले समेत ट्रम्पको क्युवाली नीतिमा केहि परिवर्तन गरेका छैनन ।

    क्युवाली क्रान्ति सफल हुनासाथ राहुल क्युवाली सैन्य प्रमुख नियुुक्त भए । गुरिल्ला युद्धमा राम्रो कमान्ड गरेका राहुललाई दाई फिडेलले देशकै सैन्य प्रमुख बनाए । प्रमुख बनेपछि उनले बाटिस्टाका सय सैन्य अधिकारीहरुलाई मारे । बायोग्राफी डटकमका अनुसार सैन्य प्रमुखको पदवहाल हुने बित्तिकै हार्डलाइनर छबि बनाएका थिए राहुलले ।

    सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

    दाई फिडेलको स्वाथ्योपचारको क्रममा उनले कार्यवाहक हुने मौका पाएका थिए । त्यसको दुइ बर्षपछि त उनी औपचारिक रुपमा क्युवाको सरकार प्रमुख नै भए । सरकार प्रमुख भएको तीन बर्षपछि सन् २०११ मा पार्टी प्रमुख भए ।

    सैन्य प्रमुख, सरकार प्रमुखदेखि पार्टी प्रमुख सबै हुन पाए राहुलले । क्युवामा पार्टी प्रमुख धेरै महत्वपुर्ण पद हो । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको ल्याटिन अमेरिकी मुलुक क्युवाको क्युवाली कम्युनिस्ट पार्टीमा ७ लाख संगठित सदस्य रहेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले लेखेको छ ।

     मिगेल दियाज कनेल

    को हुन् मिगेल दियाज कनेल ?

    मिगेल दियाज कनेल अब क्युवाली कम्युनिस्ट पार्टीका महासचिवदेखि क्युवाली सरकार प्रमुखसमेत हुने भएका छन् । क्युवाली क्रान्ति भएको ६२ बर्ष भयो । ६० बर्षका कनेल क्युवाली क्रान्तिभन्दा दुइ वर्ष कान्छा छन् । अर्थात् अब क्युवाली नेतृत्वको बागडोर सम्हाल्ने कमान्डर क्युवाली क्रान्तिमा सहभागी नभएका पुस्ताका कनेल छन् ।

    सन २०१३ मा उपराष्ट्रपति भएपछि मात्रै कनेल क्युवाली राजनीतिमा चर्चित भएका हुन् । उपरास्ट्रपति हुनु अगाडि उनी भिल्ल क्लारा र होल्गुइन नामक प्रान्तका पार्टी नेता भएको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । टाइम्सका अनुसार कनेलसँग शिक्षामन्त्री भएकोसमेत अनुभव छ । कनेलले सेनामा पनि तीन बर्ष सेवा गरेको टाइम्सले लेखेको छ । कनेल राजनीतिको मुलधारमा आउनु अगाडि शिक्षण गर्थे ।

    क्युवामा इन्टरनेट सुविधा ल्याउनुपर्ने पक्षमा वकालत गरेका कनेल निजी तथा वैदेशिक लगानी ल्याउनुपर्ने मुद्धामा उदार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सन् २०२० मा ११ प्रतिशत आर्थिक गिरावट आएको क्युवामा अहिले अमेरिकी प्रतिबन्ध छ ।

    अमेरिकी प्रतिबन्ध र आर्थिक गिरावटले तनावग्रस्त क्युवामा केही आशा दिने काम पनि भएका छन् । जस्तो, क्युवाले आफ्नै दुईवटा नयाँ कोभिड–१९ भ्याक्सिन उत्पादन गर्दैछ । दुईवटामा सोभेराना-२ नामक भ्याक्सिन प्रयोगको चरणमा पुग्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । प्रयोग सफल भएमा क्युवा ल्याटिन अमेरिकाका पहिलो भ्याक्सिन सुपरपावर हुनेछ । यसको जस कनेलले समेत लिनेछन् ।