Tag: क्यासिनो

  • मन्त्री आलेको चेतावनीपछि क्यासिनोले तिरे ७६करोड रोयल्टी, एक अर्ब उठाउन ताकेता

    मन्त्री आलेको चेतावनीपछि क्यासिनोले तिरे ७६करोड रोयल्टी, एक अर्ब उठाउन ताकेता

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स खारेज गर्ने चेतावनी दिएपछि १७ वटा कम्पनीले बक्यौता बुझाएका छन् ।

    पर्यटन विभागका अनुसार सोमबार सेन्ट्रल मिडिया प्रालिले पाँच करोडमध्ये चार करोड रुपैयाँ बक्यौता बुझाएसँगै मन्त्री प्रेम आलेको चेतावनीपछि ७६ करोड ४५ लाख रुपैयाँ राजस्व उठेको छ ।

    अब एक अर्ब ११ करोड ८४ लाख ४७ हजार उठ्न बाँकी रहेको विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए । मन्त्री आलेको निर्देशनपछि विभागले क्यासिनो रोयल्टी नतिर्ने क्यासिनो सञ्चालको तीनपुस्ते विवरण सार्वजनिक गरेको थियो ।

    अब ६ वटा कम्पनीले रोयल्टी नवीकरण दस्तुर बुझाउन बाँकी रहेको विभागले जनाएको छ । तीमध्ये एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको दुईवटा होटलमा गरेर १४ करोड छ । बैंक जमानत रहेकाले असूलउपर गर्न समस्या नरहेको जोशीले बताए ।

    त्यस्तै सेन्ट्रल मिडिया प्रालिले १८ करोड ९० लाख छ । ह्याप्पी आवर प्रालि, होटल याक एण्ड यति (क्यासिनो रोयल), रक इन्टरनेशनल, ओरियन्टल होटल्ससमेत गरी जम्मा एक अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।

    यसैबीच मन्त्री आलेले क्यासिनो सन्चालनको रोयल्टीबापत बुझाउने पर्ने ८१ करोडभन्दा बढी राजस्व नतिरी भारतमा लुकेर बसेका क्यासिनो किङ राकेश बाद्वालाई इन्टरपोल लगाएर भए पनि नेपालमा ल्याएर कानूनबमोजिम कारबाही गर्ने बताएका छन् ।

    नेपाल प्रेससँग कुरा गर्दै आलेले अर्बौ रुपैयाँ राजस्व नतिर्नेहरुको विवरण कार्यालयमा पठाइएको र जायजेथाबाट असूलउपर हुने बताए ।

  • रोयल्टी नतिर्ने क्यासिनो संचालकको तीनपुस्ते सार्वजनिक, डेढ अर्ब उठ्न बाँकी

    रोयल्टी नतिर्ने क्यासिनो संचालकको तीनपुस्ते सार्वजनिक, डेढ अर्ब उठ्न बाँकी

    काठमाडौं । क्यासिनो संचालकहरूको उठ्न बाँकी एक अर्ब ५१ करोड २८ लाख ५० हजार रोयल्टी उठाउन सरकारले प्रक्रिया थालेको छ ।

    महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयको तथ्यांकअनुसार वर्षौंदेखि रोयल्टी नबुझाएकाहरूबाट असुलका लागि तीनपुस्ते विवरण संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता रविचन्द्र अर्यालले जानकारी दिए ।

    रोयल्टी उठ्न बाँकीमध्ये नेपाल रिक्रियसन सेन्टर प्रालिका प्रमुख राकेश वाधवाबाट ८३ करोड ४६ लाख ५२ हजार ९९९ रुपैयाँ, होटल याक एण्ड यती प्रालिका सञ्चालक राधेश्याम सराफबाट १८ करोड ५२ लाख ५० हजार रुपैयाँ, ह्याप्पी आवर प्रालिका संचालक सुरेन्द्र सिंहबाट १० करोड ८१ लाख ५० हजार ९०० र दी फूलबारी प्रालि पोखराका सञ्चालक पियुस बहादुर अमात्यबाट ३८ करोड ४७ लाख ९६ हजार १०९ रुपैयाँ रहेको छ ।

    यी क्यासिनो केही हाल बन्द छन् । केही भने स्वामित्व हस्तान्तरण गरेर संचालन गरिँदै आएको छ । हाल होटल म्यारियट र हायत होटलमा मात्र क्यासिनो खेलाइन्छ । नेपालीलाई क्यासिनो खेल्न सरकारले कडाइ गरेको छ ।

    बक्यौताका लागि ताकेता थालिएको भए पनि केही संचालक मुद्दामामिलामा गएकाले प्रक्रियामा विलम्ब भएको प्रवक्ता अर्यालले बताए ।

    यो पनि पढ्नुहोस् : सडक नबनाउने १३ ठेकेदारको तीनपुस्ते सार्वजनिक, १२ करोड बक्यौता उठाइने (सूचीसहित)

    केन्द्रीय तहसिल कार्यालयले विभिन्न समयमा सडक निर्माण जिम्मा लिएर ठेक्का अलपत्र बनाउने १३ जना ठेकेदारबाट उठ्न बाँकी १२ करोड ४६ लाख ३६३ रूपैयाँ पनि असुलीको प्रक्रिया अघि बढाइसकेको छ ।

    सरकारी बक्यौता उठाउन यस कार्यालयको मुख्य जिम्मेवारी रहँदै आएको छ । कार्यालयका अनुसार ५७ वर्षदेखि करिब दुई अर्ब रकम उठाउन बाँकी छ ।

    कार्यालयको तथ्याङक अनुसार सरकारका विभिन्न निकायबाट गरी ६४ जना अर्बौं बेरुजु असुल गर्न बाँकी रहेको जनाएको छ ।